झापा: संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको पक्षमा न्याय माग्दै झापामा युवाहरूले प्रदर्शन गरेका छन्। युवाहरूले विर्तामोडको मुक्ति चोकमा अनसनसहितको शान्तिपूर्ण र्याली गरेका छन्। आचार्यको पीडा धेरै नेपालीसँग भएको र यस्तो नदोहोरिन सरकारले कदम चाल्नुपर्ने माग गर्दै विर्तामोड नगरपालिका ४ का माधवकुमार झा मुक्ति चोकमा अनसन बसेका छन्। बिहान ११ बजेदेखि पानी खाने तर अन्न नखाने गरी अनिश्चितकालीन अनसन थालेको झाले बताए। बैंक तथा वित्तीय संस्थाको दबाबको कारण आचार्यले ज्यान आहुती दिएको भन्दै त्यस्ता कर्मचारीहरूको छानबिन गरी आत्महत्या दुरुत्साहनको अभियोग लगाउनुपर्ने उनको माग छ। विर्तामोड र मेचीनगरका स्वतन्त्र युवाहरूले शान्तिपूर्ण दबाब र्याली गरेका छन्। ‘जनता जलिरहेको राज्य आगो तापिरहेको छ, युवा जल्यो व्यवस्थालाई किन पोलेन ?, जलेर मर्नु र मरेर जल्नुमा फरक छ नि सरकार’ जस्ता प्लाकार्डसहित उनीहरूले मुक्ति चोकमा र्याली निकालेका हुन्।
काठमाडौँ: प्रेस काउन्सिल नेपालले पछिल्लो ६ महिनामा ४५ वटा सञ्चार माध्यमलाई आचारसंहिता उल्लङ्घनमा कारबाही गरेको छ । जसमध्ये एउटा अनलाइन कालोसूचीमा परेको छ । अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्दै समाचार लेखेको भन्दै तनहुँको एक पत्रिकालाई २४ घण्टे स्पष्टीकरण मागेको छ । आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरेपछि काउन्सिलले पटक पटक दिएको निर्देशन अवज्ञा गर्ने आइअफनेपाल डटकमलाई कालोसूचीमा राखी थप कारबाही अघि बढाइएको काउन्सिलले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । काउन्सिलका सह–प्रवक्ता एवं सूचना अधिकारी उपप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा अदालतमा विचाराधीन रहेको विषयमा मुद्दा प्रभाव पार्ने किसिमले सामग्री सम्प्रेषण गर्ने तनहुँबाट प्रकाशित प्रादेशिक खबर दैनिकसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको जनाइएको छ । काउन्सिलले गरेको स्वअनुगमनमा आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गर्ने २८ वटा सञ्चार माध्यममध्ये २ वटालाई निर्देशन, ६ वटालाई ध्यानाकर्षण, ११ वटालाई सचेत, ४ वटालाई स्पष्टीकरण र ५ वटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन पत्राचार भएको विज्ञप्तिमा जनाइएको छ । यस्तै, उजुरीका आधारमा दर्ता र सूचीकरण नभएका १६ वटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएको छ । काउन्सिलले पछिल्लो समयमा विज्ञापनको नाममा अनावश्यक दबाब दिने, ‘बार्गेनिङ’ गर्ने र तथ्यहीन समाचार सम्प्रेषण गरेका ६ वटा गुनासा परेको जनाएको छ । यस्तो कार्य प्रचलित कानुन, पत्रकार आचारसंहिता विपरीत र पत्रकारिताको दुरुपयोग भएको भन्दै काउन्सिलले सञ्चार माध्यमलाई सजगता अपनाउन ध्यानाकर्षण गराएको छ । अटेरी गरे कारबाही हुने काउन्सिलले चेतावनी दिएको छ । ‘‘पछिल्लो समय बार्गेनिङ पत्रकारिताविरुद्ध उजुरी पर्न थालेका छन् । हामीले विशेष संयन्त्र बनाएर छानबिन गरिरहेका छौँ’’ काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले भन्नुभयो । काउन्सिलमा २०७९ साउनदेखि हालसम्म विभिन्न मिडियाविरुद्ध नियमिततर्फ ९७ वटा उजुरी, एक जनगुनासो दर्ता भएका छन् । हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको विशेष अनुगमनका १५ वटा उजुरी र अनुगमन भएकामध्ये १ सय ५१ वटा सामग्री आचारसंहिता प्रतिकूल पाइएको काउन्सिलले जनाएको छ । तीमध्ये २९ वटालाई निर्देशन, ५३ वटालाई ध्यानाकर्षण, ३१ वटालाई सचेत, १८ वटालाई मौखिक ध्यानाकर्षण तथा निर्देशन, २७ वटालाई स्पष्टीकरण सोधिएको र ७ वटालाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएको थियो ।
काठमाडौं: उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरु भएको सुनुवाइ हेर्दाहेर्दैमा बसेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा। आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा बुधबार रिट निवेदकहरुले बहस गर्नुभयो । शुक्रबार बहस सकिने छ ।
हिले: भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले धनकुटाको सिंधुवा बजारका आगलागीपीडितलाई आफ्नो मासिक तलबबाट आर्थिक सहयोग गर्नुभएको छ । मन्त्री राईले छथर जोरपाटी गाउँपालिका –६ स्थित सिंधुवा बजारमा पुगेर आठ जना पीडितलाई नगद ५५ हजार रुपियाँ सहयोग गर्नुभएको हो । सहयोग हस्तान्तरणमा बोल्दै मन्त्री राईले आगजनीमा नष्ट भएको घर आफ्नो पहलमा बनाइदिने प्रतिवद्धता जनाउनुभयो । मन्त्री राईले आगलागि पीडितहरु झमक थापालाई १५ हजार, सन्तबहादुर राईलाई १० हजार र लिला थापा, डिकबहादुर खड्का, ललित राई, डम्बरबहादुर थापा, अर्जुन घिमिरे र यमन मगरलाई जनही पाँच–पाँच हजार नगद प्रदान गर्नुभएको हो । गत पुस ३० गते राति आगलागि हुँदा छथर जोरपाटी गाउँपालिका –६ स्थित सिंधुवा बजारका पाँच घर जलेर नष्ट हुँदा ४९ लाख बराबरको क्षति भएको थियो । यसअघि गाउँपालिका, रेडक्रस, सूर्यबहादुर थापा फाउण्डेसन, प्रदेश सांसद ईन्दिरा थापाले पनि आगलागी पीडितलाई नगदसहित बिभिन्न सामग्री प्रदान गरेका छन् ।
हेटौंडा: बागमती प्रदेशका नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । ८ जना मन्त्रीले बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । नेकपा माओवादीबाट गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्री,कुमारी मोक्तान सामाजि विकास मन्त्री र युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री भएका छन् । नेकपा एमालेबाट केशव प्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री,रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री र एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री भएका छन् । राप्रपाबाट यसअघि नै मन्त्री नियुक्त भइसकेका उद्धव थापाले खानेपानी उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । राप्रपाबाट डम्बर तामाङ पर्यटन उद्योग तथा सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री भएका छन् । उनीहरुले पद तथा गोपनीयताको शपथसँगै आजै पदभार ग्रहण गरेका छन् । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित ११ सदस्यीय मन्त्रिपरिषद बनेको छ । यो सरकारलाई समर्थन गरेका नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले भने सरकारमा सहभागिता जनाउने अवसर पाएनन् ।
काठमाण्डौ: जिल्ला प्रहरी परिसर, काठमाण्डौले पछिल्लो समय खुला रुपमा बोतल तथा जर्किनमा भइरहेको पेट्रोलियम पदार्थ बिक्री वितरणमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जिल्ला प्रहरी परिसर, काठमाण्डौले केही पेट्रोल पम्पहरुबाट खुला रुपमा बोतल, जर्किनलगायतका भाँडामा अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थको बिक्री वितरण भएको सूचनामा ध्यानाकर्षण भएको जनाएको हो। परिसरले पेट्रोलियम पदार्थ खुला बिक्री गर्दा तथा असुरक्षित ओसारपसार गर्दा र घर पसलमा भण्डारण गर्दा आगलागी तथा मानवीय एवम् भौतिक क्षति हुने भएकाले संवेदनशील बन्न आग्रह समेत गरेको छ । पेट्रोल पम्पबाट गाडीमा सिधै भर्नेबाहेक खुला रुपमा बिक्री वितरण नगर्न र नगराउन पनि पम्प सञ्चालकलाई प्रहरीको अनुरोध छ। बोतल, जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने प्रहरीको चेतावनी छ । हिजो मात्रै सङ्घीय संसद् भवन अगाडि आफ्नै शरीरमा आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा आज ज्यान गएको छ। गएको माघ ५ गते काठमाण्डौको सुन्धारामा एक युवकले आफ्नै शरीरमा आगो लगाएका थिए । जलेर घाइते उनको काठमाण्डौको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
काठमाडौंः पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ ल्याइएका ४८ मध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका फरेन्सिकविद् डा. तुलसी कँडेलले फरेन्सिक र फिङगर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको बताए । ६ जनाको शव अब ‘डीएनए’ परीक्षणबाट पहिचान गरिने उनले बताए । ‘६ जनाको शव अत्यधिक जलेको हुनाले हामीलाई फरेन्सिक र फिङगर फ्रिन्ट विधिबाट पहिचानमा समस्या भयो, त्यसैले डीएनए विधिबाट पहिचान गर्ने प्रक्रिया सुरु गरेका छौँ,’ उनले भने । नेपाल प्रहरीको प्रयोगशालामा शवको ‘डीएनए’ परीक्षण गरिने छ । उनले ‘डीएनए’ परीक्षणका लागि मृतक र मृतकका नातेदारको नमुना संकलन गर्ने कार्य भइरहेको जानकारी दिए। यो विधिबाट शव पहिचान गर्न कम्तीमा २२ दिन लाग्ने छ । विमान दुर्घटनाका ४८ शव फरेन्सिक जाँचका लागि काठमाडौँ ल्याइएको थियो भने पोखरामा २२ शवको जाँच गरिएको थियो । गत माघ १ गते काठमाडौँबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना हुँदा जहाजमा सवार ७२ जनाको मृत्यु भएको थियो ।
कामाडौं: उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यलाई बचाउन नसकेको भन्दै दुःख व्यक्त गरेका छन्। गृहमन्त्री लामिछानेले हिजोदेखिको निराशा र पीडा नै आत्मदाहको मुख्य कारण भएको बताएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै उनले ‘एउटा नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र,भनेका छन्। एउटा नागरिकले आत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ। मलाई थाहा छ,आत्मदाहको निर्णय हिजो देखिको निराशा र पीडाको परिणाम हो। दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन,आशा जगाउन सकेन,आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं,म दोषी छु। प्रेम आचार्य जी,नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईंमा आशा जगाउन सकिनौं,हामीलाई माफ गर्नु होला। तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पीडा सहने शक्ति मिलोस्,ुउनले लेखेका छन्। मंगलबार बेलुका संसद भवन अगाडि आचार्यले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए। घाइते भएका आचार्यलाई कीर्तिपुरस्थित वर्न अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको आज बिहान निधन भएको हो।
पर्वत: पर्वतको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आजदेखि सदरमुकाम कुश्मा बजारमा सातौँ महोत्सव सुरु हुँदै छ । यही माघ २१ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ । गण्डकी प्रदेशस्तरीय व्यापार मेला तथा सातौँ पर्वत महोत्सवको आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । गिरी पर्वतबाट सांसदमा निर्वाचित भएका हुन् । महोत्सवमा दुई सय ५० कक्षमध्ये अधिकांश बुकिङ भइसकेका छन् । महोत्सवमा रु पाँच करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको उद्योग वाणिज्य सङ्घले जनाएको छ । महोत्सवमा विश्वकै अग्लो बञ्जीजम्प, जिपफ्लाइङ, कालीगण्डकी नदीमा र्याफटिङ, नेपालकै अग्ला र लामा झोलुङ्गे पुल, कुश्मा बलेवा यान्त्रिक पुल, गुप्तेश्वर र अलपेश्वर गुफाको अवलोकन, अल्लोको कपडा, लोक्ताको नेपाली कागज, सुन्तलाको जुस, मह, जडीबुटी, अदुवा र लप्सीका परिकारको प्रदर्शनी मुख्य आकर्षण छन् । महोत्सवमा गण्डकी प्रदेश पालिकास्तरीय भलिबलसमेत आयोजना गरिएको छ । विद्यालयस्तरीय लोकनृत्य, रत्यौली, भजन, छेलो, खुला दौड, तीर हान्ने प्रतियोगिता राष्ट्रिय खानाका परिकार, स्थानीय उत्पादनहरूको बिक्री तथा औद्योगिक प्रदर्शनी, शैक्षिक, कृषि र फोटो प्रदर्शनीसमेत गरिने भएको छ । त्यस्तै राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, उत्कृष्ट स्टललाई पुरस्कारको व्यवस्था पनि गरिएको शार्थिक संयोजक ठाकुरबी पौडेलले जानकारी दिए ।

