काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

ढोरपाटनः     बागलुङका ग्रामीण क्षेत्र सडक सञ्जालसँग जोडिएको धेरै समय भएको छैन । अझै केही ठाउँमा सडक पुगेका छैनन् । सडक पुगेका गाउँका स्थानीय अहिले घर अगाडि नै गाडी कुद्दा दङ्ग छन् । सडक विस्तार भएपछि अहिले उनीहरुको जीवनस्तर बदलिएको छ । सदरमुकामसँग सिमाना जोडिएका गाउँमा एक दशक अगाडिनै मोटरबाटो पुगेपनि दूर्गम गाउँमा भने स्थानीय सरकार आएपछि मात्रै सडक सञ्जाल र यातायातको सुविधा विस्तार भएको हो ।  जिल्लाको तमान खोला गाउँपालिका–४ का हर्कबहादुर छन्त्याल अहिले ७९ वर्षीय पुग्नुभयो । अहिले उहाँको घरै अगाडि दैनिक गाडी गुड्छन् । आफ्नै आँखा अगाडि आएको परिवर्तन छन्त्याललाई कथा जस्तै लाग्छ । उहाँले आफ्नो जीवनमा भोगेका कैयन वास्तविकता सुनाउँदा साँच्चिनै मुलुकमा धेरै परिवर्तन भएको बताउनुहुन्छ । २०१८ सालदेखि बुटवलबाट खाद्यान्न तथा नून बोकेर उपभोग गर्दै आउनुभएका छन्त्याल अहिले आफ्नै घर नजिक सामान पाउँदा दङ्ग हुनुहुन्छ ।  छन्त्यालले उति बेला स्वास्थ्य उपचार समयमै नपाउँदा धेरैले ज्यान गुमाउनुपरेको भन्दै अहिले गाउँ–गाउँमा स्वास्थ्य उपचार हुने हुँदा खुसी व्यक्त गर्नुभयो । अनेकौँ उतारचढाव पार गर्दै अहिलेसम्म आउँदा आफूले सोँच्दै नसोचेको विकास भएको उहाँको भनाइ छ ।  “गाउँमा यति ठूलो परिवर्तन आयो, गाउँलेहरुले यसरी हाम्रो दिन फेरिएला भन्ने सोचेका थिएनौँ, २०१८ सालमा बटौलीमा नुन लिन गएका बेला मोटर सररर चलेको देख्दा रमिता झै लागेको थियो, बिजुली बलेको देख्दा अचम्म लाग्थ्यो, अहिले त घरै अगाडी मोटर गुड्छ, बिजुलीले घरै झलमल छ, हाम्रा छोरानातिले हामीले जस्तो दुःख भोग्न परेन” छन्त्यालले भन्नुभयो । उहाँ भन्नुहुन्छ–“हाम्रो गाउँमा गाडी आउन पाँच सय वर्ष लाग्छ होला भन्ने अनुमान गरेका थियौँ, तर अहिले गाडी, बिजुलीलगायतको सुविधा उपभोग गर्न पाउदा स्वर्गमा आएजस्तै लागेको छ, पहिला हामीलाई धेरै दुःख थियो अहिलेकाले त्यो कुरा बुझ्दैनन् ।” स्थानीयवासी फूलकुमारी पुनले बुटवलबाट नून लिएर घर आउँदा आधा महिना बित्ने गरेको भन्दै अहिले एकै दिनमा आउनजान सकिने बताउनुहुन्छ । उहाँले नून ल्याउन जाँदा खर्च बोकेर जाने गरेको सुनाउँदै बाटोमै कयौँ रातविताउनु परेको नमिठो अनुभवसमेत सुनाउनुभयो । मोटरबाटोले विकासका अन्य ढोका खोल्ने भन्दै अहिले गाउँका धेरै समस्या समाधान भएको बताउँनुहुन्छ । “अहिलेको जस्तो जामाना थिएन पहिले, गाउँका धेरैजना एकजुट भएर बटौली नून ल्याउन जान्थ्यौँ, बाटोमै खानु पर्ने, सुत्नु पर्ने हुन्थ्योँ तर रमाइलो र  कष्ट पनि हुन्थ्यो,” पुनले भन्नुभयो । “धेरै जना भएर जाँदा बाटोमा गीत गाउदै रमाइलो गरिन्थ्यो, कति साथीले त त्यही समयमा बिहेसमेत गरेका थिए” उहाँले स्मरण गर्नुभयो । उहाँले आफु ४० वर्षको उमेरमा गाडी चड्दाको अनुभव सुनाउँदै अव कसैले पहिलेको जस्तो दुःख भोग्न नपर्ने बताउनुहुन्छ । अहिले त नजिकै पालिकामा जाँदा पनि गाडी चडेर जाने गरेको उहाँले बताउनुभयो । उहाँले गाउँमा मोटरबाटो आएपछि गाउँले बिरामी हुँदा निकै सहज भएको र समयमा नै अस्पताल पु¥याउन सकिएको बताउनुभयो । उहाँले भन्नुभयो–“पहिले गाउँमा गारेटो बाटो मात्रै थिए, अहिले माथिमाथिलेसकेसम्मै मोटरबाटो पुगेको छ, हाम्रा पालाका मान्छे धेरैजसो ३०÷४० कटेपछि मात्रै गाडी देखेका थिए, त्यसबेला नौडाँडाबाट गाडीमा चडेको थियौँ, त्यसभन्दा अगाडि बाटौलीमा नून लिन जाँदा गाडी त देखेको थिएँ तर चढेको थिएन, पहिलो पटक गाडीमा चड्दा निकै मन फुरुङभएको थियो, खुसीले संसारै जितेको जस्तो लागेको थियो, घर फर्किँदा उही गोरेटोमा यात्रा गर्नुपथ्र्यो ।” उहाँले उति बेला गाउँमा उपचारको लागि नजिकै स्वास्थ्य संस्था नभएको, पानीका लागि टाढा जानुपर्ने समस्याको अहिले समाधान भएको, विकासका पूर्वाधारको विस्तार भएर जीवनस्तर सहज भएको बताउनुभयो । “हाम्रो पालामात स्वास्थ्य संस्था थिएनन्, कोही बिरामी भए काठमाडौँ, पोखरा लैजानुपथ्र्यो, समयमा उपचार नपाउँदा कतिले ज्यान गुमाउनु पथ्र्यो,” उहाँले विगतलाई सम्झँदै भन्नुभयो– “अहिले त गाउँमै उपचार हुन्छ, यहाँ हुननसके ठूला अस्पतालमा छिट्टै पु¥याउन सकिन्छ, अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छैन ।” तमान खोला अझै पनि जिल्लाको सबैभन्दा दुर्गम ठाउँ मानिन्छ । स्थानीय सरकार सठन भएपछि विस्तारै सुगम बन्दै गएको छ । भौगोलिक विकटता र सदरमुकाम भन्दा टाढा हुँदा त्यस क्षेत्रका जनताले वर्षौँदेखि सास्ती खेप्दै आएका थिए । गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जनप्रतिनिधि भएर आएको पहिलो कार्यकाल जनताको मुख्य आश्यकतालाई परिपूर्ति गर्ने गरी काम गरेको बताउनुभयो ।  सडकनै विकासको मुख्यआधार भएको भन्नुहुदै अध्यक्ष बुढा भन्नुहुन्छ– “तमानखोला भौगोलिक हिसाबले पछाडि छ, विकासका पूर्वाधारले समेत नजोडिदा यहाँका नागरिकको अवस्था निकै कष्टकर थियो, तर अहिले धेरै परिवर्तन आएको छ, स्थानीयस्तरमा नै प्रशासनिक तथा अन्य काम हुने गरेको छ ।”  गाउँमा सडक र यातायातको विस्तार भएपछि घण्टौँ लगाएर सदरमुकाम जानुपर्ने समस्याको अन्त्य भएको छ । पलिका हप्तादिनसम्म लाग्ने काम अहिले एकैदिनमा गर्न सकिने भएपछि स्थानीय हर्षित भएका छन् ।

काठमाडौं:  कक्षा ९ मा रजिस्ट्रेसन फाराम भरेपछि कक्षा १० सम्म पढ्न पाइन्छ । कक्षा १० पास गरेर ११ मा पढ्दा पुनः रजिस्ट्रेसन फाराम भर्नुपर्ने हुन्छ । जबकि कक्षा ९–१२ लाई माध्यमिक तह मानिएको छ । तर, एउटै तह पास गर्नको लागि दुई पटक रजिस्ट्रेसन फाराम भर्नुपर्ने बाध्यता छ । यो वर्षदेखि भने त्यो बाध्यता अन्य हुने भएको छ ।  यो वर्षदेखि कक्षा ९ मा भरेको रजिस्ट्रेसन फारामले कक्षा १२ सम्म काम लाग्नेछ । कक्षा ९ मा रजिस्ट्रेसन फाराम भरेपछि कक्षा १२ सम्मको लागि हुनेगरी राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको हो ।  बोर्डका अध्यक्ष महाश्रम शर्माले यो वर्ष कक्षा ९ मा रजिस्ट्रेसन फाराम भरेका विद्यार्थीहरूले कक्षा ११ मा पुनः भर्नु नपर्ने बताए । ‘माध्यमिक तहमा छुट्टाछुट्टै भर्न नपर्ने कक्षा ९ मा भरेको रजिस्ट्रेसन नम्बरले कक्षा १२ सम्म लागू हुनेगरी यो वर्षदेखि लागू गर्दैछौं । त्यसका लागि तयारी थालेका छौं,’ उनले भने ।  माध्यमिक तहमा पटक पटक फाराम भर्नुपर्ने बाध्यताको अन्त्य गर्दै यो वर्षदेखि एक पटक मात्र फाराम भने हुने बनाउन लागिएको उनको भनाई छ । जसले गर्दा यो वर्ष कक्षा ९ मा अहिलेसम्म रजिस्ट्रेसन फाराम खुलेको छैन ।  ‘हामी केही व्यवस्थापन गर्दैछौं । सबैलाई सहज हुने खालको व्यवस्था गर्न लागेकाले कक्षा ९ मा रजिस्ट्रेसन फाराम खुल्न ढिलाइ भएको हो । अब छिट्टै खुल्छ,’ उनले भने । 

पोखरा:   एघारौं पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको उपाधि मेरिगोल्ड ईङ्लिस बोर्डिङ स्कुलले हात पारेको छ । उपाधि संगै मेरिगोल्ड ईङ्लिस बोर्डिङ स्कुलले नगद ४० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्न सफल रह्यो । त्यसैगरी प्रतियोगितामा कास्की मोर्डनाइज एकेडेमीले दोश्रो स्थान हासिल गर्दै नगद २५ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी मेट्रोपोलिटन एकेडेमीले तेश्रो स्थान हासिल गर्दै नगद १५ हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्न सफल भएभने भ्युप्वाइन्ट बोर्डिङ स्कुलले शान्तवना स्थान हासिल गर्दै नगद ७ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्न सफल भए । प्रतियोगितामा २० स्कुलको सहभागीता रहेको थियो । प्रतियोेगितामा बिजयीहरुलाई पुरस्कार प्रायोजक यु एन आई एक्सपर्ट एलइडी लाइटिङका सञ्चालकहरु पियुस कठारी, वीर बहादुर कंडेल र चन्द्र बहादुर थापा, महोत्सव आयोजक युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठ, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, संस्थाका संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापा, द्धितिय उपाध्यक्ष गणेश तिमिल्सिना लगायतले नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए । महोत्सवको बाह्रौ दिन दर्शकको उल्लेख्य सहभागीता रहेको थियो । महोत्सवमा उपस्थित दर्शकहरुलाई चर्चित लोकदोहोरी गायक राजु परियार, शिवहरी ढुंगाना, सुरेन्द्र गुरुङ, प्रदिप त्रिपाठी, करण तामाङ, मधु चापागाइ, रामजी पौडेल, सिता केसी, रिता कुंवर लगायतको एकल तथा दोहोरी मार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए । त्यसैगरी सांझको लाइभ कन्सर्टमा दीक्षिता कार्कीको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिएका थिए । महोत्सवको तेह्रो दिन लोकदोहोरी तर्फ श्याम राना, अस्मिता डल्लाकोटी, जीवन दाहाल, शिवहरी ढुंगाना, मधु थापा मगर, किसन नेपाली, सानु बिकास, कमला सुनार लगायतको प्रस्तुती रहने छनभने सांझको लाईभ ब्याण्ड तर्फ अन्तराष्ट्रिय ख्यातिप्राप्त ब्याण्ड मन्त्रको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । यसैविच माघ ९ गते सम्म आयोजना हुने भनिएको महोत्सव एक दिन थप गरिएको आयोजकले जनाएको छ । माघ १ गते पोखराको सेती खोंचमा भएको यती एयरलायन्सको विमान दुर्घटनाको दिनमा आयोजकले महोत्सव स्थगित गरेका कारण महोत्सवको अवधि एक दिन थप गरिएको महोत्सव आयोजक युनाइटेड क्लवका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । महोत्सवको माघ १० गते कास्की क्षेत्र नम्बर १ का सांसद माननीय मन बहादुर गुरुङको प्रमुख अतिथ्यतामा समापन हुने आयोजकले जनाएको छ । 

कालीकोट:  गत असोजमा परेको वर्षाले झोलुंगे पुल क्षतिग्रस्त भए पनि चार महिना वित्दा पनि पुल मर्मत हुन सकेको छैन । पुल मर्मत नहुँदा स्थानीयलाई आउजाउ गर्न समस्या भएको छ । जितेगडा बजारसहित झोलुंगे पुलको केही केही भाग वर्खाको भेलले बगाएको थियो । वारपार गर्न गाह्रो भएपछि स्थानीयले दुई लाख रूपियाँ खर्च गरेर तिलानदी र कर्णाली तर्ने पुलबीचमा काठको भर्‍याङ बनाएका थिए । नरहरिनाथ, सान्नीत्रिवेणी, रास्कोट, पचालझरना र पलाँता जोड्ने जितेपुल क्षतिग्रस्त हुँदा कर्णाली राजमार्गमा गाडी चढ्न आउने यात्रुलाई हिँड्न समस्या परेको थियो।  स्थानीय नरजंग मल्लका अनुसार तिला नदीको आधा भागमा फलामे पोलमाथि काठ बाँधेर बनाइएको पुलको बीचभागमा काठको भर्‍याङ हालेपछि अस्थायी रूपमा नदी वारपार गर्न सहज भएको थियो । काठको भर्‍याङ बनाउन यातायात समिति र स्थानीय व्यवसायीले सहयोग गरेका थिए । तिला नदीको शिव मन्दिर नजिक र कर्णालीको लालीघाटमा झोलुंगे पुल भए पनि बाटो भिरालो र पाखाबाट ढुङगा खस्ने समस्या भएकाले स्थानीयले पुल मर्मत गरेर सञ्चालनमा ल्याएका  थिए ।  कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले पुलमा पुग्न भर्‍याङ बनाएर सचेत नागरिकले बिपदमा स्थानीयले सहयोग गरेको बताउनुभयो । प्रजिअ शर्माले यसलाई अन्यथा मान्न नहुने चर्चा गर्नुभयो । पुल जोखिमपूर्ण छ, तत्कालका लागि नदी वारपार गर्ने उपाय भए पनि त्यसलाई चाँडै मर्मतको आवश्यकता रहेको उहाँले बताउनुभयो ।  पुल मर्मतका लागि जिल्ला बिपद ब्यस्थापन समितिले गत कात्तिक ४ गते नै लेखी पठाएको थियो । बेमौसमी वर्षाले कालीकोटमा घर, सडक, पुल, विद्यालय, खानेपानी, सिँचाइ कुला लगायत संरचनामा ठूलो क्षति भएको थियो । जितेमा बाढीले सय जनाले मात्र वारपार गरिरहेका छन् । राष्कोटका हंश सन्ज्यालले जोखिमपूर्ण पुलमा बृद्वबृद्वा, बालबालिकालाई आउजाउ गर्न कठिन भएको स्थानीयको भनाइ छ ।  मान्म जाने वा मान्मबाट रास्कोट नगरपालिका, पलाँता, पचालझरना र नरहरीनाथ गाउँपालिका जानेहरू यसै पसलवाट आउजाउ गर्छन् । पुल मर्मत नभएपछि स्थानीयहरु जोखिम मोलेर आवतजावत गरिरहेका छन् । 

काठमाडौं:  नेपालकी सूस्मा तामाङ थाइल्यान्डमा जारी एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्नुभएको छ । आइबार भएको ४८ केजी तौल समूहको सेमिफाइनलमा सुस्माले मङ्गोलियाकी जनारगुली बाइस्येनबाइलाई आरएससीको आधारमा पराजित गर्दै फाइनलमा स्थान बनाउनुभएको हो । फाइनलमा सुस्माले बुधबार ज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग प्रतिस्पर्धा गर्नुहुनेछ । च्याम्पियनसिपमा नेपालबाट तीन पुरुष र तीन महिला गरी ६ खेलाडीको सहभागिता रहेको छ ।  यस च्याम्पियनसिपमा कम्बोडिया, चीन, इन्डोनेसिया, इराक, काजकिस्तान, कुवेत, किर्गिस्तान, लाओस, मलेसिया, मङ्गोलिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, साउदी अरब, सिंगापुर, श्रीलङ्का, ताजिकिस्तान, आयोजक थाइल्याण्ड, उज्बेकिस्तान र भियतनाम गरी २० देशको सहभागिता रहेको छ ।

काठमाडौं:  प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ संविधान अन्तर्गत अहिले देश नयाँ राष्ट्रिय एकताको प्रक्रियामा रहेको बताउनुभएको छ।  आइतबार २८५९ औं सोनाम ल्होछार पर्वको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा शुभकामना दिनुहुँदै उहाँले नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक विविधता भएको राष्ट्र भएको र यी सबै राष्ट्रिय संस्कृति, पर्वको समुच्चमा नै नेपालको राष्ट्रिय संस्कृति रहेको बताउनुभयो।  प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक विविधता भएको राष्ट्र हो। यी राष्ट्रिय संस्कृतिको पर्व नै नेपालका राष्ट्रिय संस्कृति हुन्। विगतमा नेपालमा एउटै जात, भाषा, संस्कृतको वर्चश्व कायम गर्ने र नेपालको इतिहासमा परापूर्वकालदेखि विकसित हुँदै आएको राष्ट्रियता, राष्ट्रिय संस्कृति, भाषालाई कही न कही विभेद र दमन गर्ने प्रक्रिया थियो। यही ल्होछार पर्व पनि विशाल रुपमा मनाउने वातावरण थिएन। तर अहिले त्यो छैन।” उहाँले ठूलो संघर्ष र बलिदानपछि नयाँ संविधानले नयाँ राष्ट्रिय एकताको प्रक्रिया अगाडि बढेको दाबी गर्नुभभयो। “लामो संघर्ष र बलिदानपछि उत्पीडित जाति, समुदायको हक, अधिकारका लागि ठूलै संघर्ष र बलिदानपछि अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा समानुपातिक र समावेशीको मान्यता  अनुसार हामी नयाँ राष्ट्रिय एकताको प्रक्रियामा छौं”, प्रधानमन्त्रीले भन्नुभयो। उहाँले ल्होछार तामाङको मात्र पर्व नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्व भएको बताउनुभयो। उहाँ भन्नुभयो, “तपाईंहरुको संस्कृति र परम्परा नेपालमा मात्र होइन, संसरका धेरै देशमा यसलाई मान्ने गर्छन्। तामाङको राष्ट्रिय पर्व त हुँदै हो, हामी नेपालीको पनि महान् राष्ट्रिय पर्व  हो। अन्तर्राष्ट्रिय पर्वको रुपमा पनि विश्वविख्यात छ। यसलाई यही रुपमा आत्मसात् गर्न तपाईंहरु समक्ष अपिल गर्दछु।” प्रधनमन्त्री प्रचण्डले नेपालका राष्ट्रिय संस्कृतिमा वैदेशिक सांस्कृतिक हस्तक्षेप बढ्दै गएकोसमेत बताउनुभयो छ। उहाँले भन्नुभयो, “नेपालभित्रै भएका भाषा, संस्कृतिका जातजातिभित्र दमन गर्ने प्रक्रिया बढ्दै गएको छ। अहिले विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, दबाबद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई प्रवर्द्धन गर्न नदिने चेष्टा भइरहेको छ।” राम्रा संस्कार र परम्परालाई विकसित गर्नु सबैको दायित्व भएको उहाँको भनाइ छ।  यसैगरी, उहाँले नेपाल सरकारको तर्फबाट छिट्टै नेपाल टेलिभिजनमार्फत् तामाङ भाषाको कार्यक्रमका लागि बजेट विनियोजन गर्नेसमेत जानकारी गराउनुभएको छ। 

पोखरा:   यती एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका हेमजाका ४ जनाको शव मध्ये दुईजनाको अत्येष्टी गरिएको छ । भगवती कुँवर, जितेन्द्रबहादुर कुँवर दम्पत्तीको शव पोस्टपार्टमपछि हेमजा मर्दी दोबिल्ला घाटमा आज (आइतबार) अन्त्येष्टी  गरिएको हो ।  कुँवर दम्पतीको अन्त्येष्टी  गरिएपनि अनिशा बाँनिया र राजन सापकोटा शवको पहिचान हुन बाँकी छ ।    गत माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलान्इसको विमान पोखराको सेती खोँचमा दुर्घटना हुँदा विमानमा सवार हेम्जामा ४ जनाको मृत्यु भएको थियो ।  यतीको कलसाइन नाइन एन–एएनसी विमान पोखराको सेती खोंचमा दुर्घटनामा हुँदा विमानमा चालकदलका ४ जना र ६८ यात्रुको ज्यान गएको थियो ।

काठमाडौं:   जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । १३ दिनदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी वर्ष २२ को विष्णु साहको हत्या भएको हो । मृतक दुवैजना एकै परिवारका हुन् । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका थिए । गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरबाट फोन आइरहेको र सुरुमा २० लाख मागेको अपहरणकारी विष्णुसँग कुरा नगराए पनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका आफन्तहरुले बताएका छन् । विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि अपहरणकारीले ५० लाखको माग गरेको विष्णुका हजुरबुबा रामकिशोर साहले बताउनुभयो । अपहरणकारीले २० लाखसहित सर्लाहीको मलङ्गवा नाकामा बोलाएका र विष्णुका परिवारले प्रहरीलाई जानकारी गराएपछि मङ्गलवारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेको जानकारी उहाँले दिनुभयो । भारतीय प्रहरीले भारतको सोही क्षेत्रमा दुई शव भेटेपछि आइतबार बिहान मृतक युवाका आफन्तलाई खबर गरिएपछि परिवार शोकमा डुबेको छ । विष्णु र रोहित परिवारको एक्लो छोरा थिए । क्याम्पस पढ्दै गरेका विष्णुका श्रीमती र एक छोरी छन् । मृतक दुवै जनाको परिवार यसअघि वडा नं. १३ मै एकैठाँउ बस्दै आएको भए पनि अंशबण्डापछि अलगअलग भएका थिए । शव अहिले भारतको बेला परिहार पर्सास्थित प्रहरी चौकीमा राखिएको र नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ । मृतकका परिवारसँगै शव पहिचानका लागि घटनास्थलमा पुगेका मृतकका छिमेकीहरुले मृतकका परिवारजनले शव चिनेको र नेपाल ल्याउने तयारी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले पनि भारतमा भेटिएको शव सोही दुई युवाहरुको रहेको बताउनुभएको छ ।

पोखरा:  सोनाम लोसारका अवसरमा बैदाम तामाङ सेवा समाजले अपांगमैत्री समाज कास्कीका दृष्टिविहिनहरूलाई खाद्यान्न सहयोग गरेको छ । समाजले शनिबार एक कार्यक्रमक बिच लेखनाथको भण्डारढीमा रहेको समाजको कार्यालयमा पुगी १५ हजार बराबरको खाद्यन्न सहयोग गरेको समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए । समाजका अध्यक्ष तामाङ र सचिव निमा तामाङले अपांगमैत्री समाजका अध्यक्ष दण्डपाणी ढकाललाई सो सहयोग हस्तान्तरण गरेका हुन् । विगतका बर्षहरुदेखि बैदाम तामाङ समाजले ,समाजका दृष्टिविहिनहरूलाई सहयोग गदै आएको समाजका अध्यक्ष तामाङले बताए । सो अवसरमा मिस तामाङ पोखरा–२०२३ की विजेता रोश्मा तामाङले ५ हजार रुपैया प्रदान गरिन् । उनले मिस तामाङ को बिजेता हुदा सोधिएको प्रश्नमा समाजसेवा गर्ने आफ्नो चाहाना स्वरुप सहयोग गरेको बताइन् । तामाङ समुदायले आइतबार धुमधामका साथ लोसार मनाउँदै छन् । लोसारका अवसरमा सरकारले भोलि सार्वजनिक विदा दिएको छ ।