काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

रुपन्देही:  लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य पदका लागि आज बुधबार उपनिर्वाचन हुँदैछ । रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदमा उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।  नेकपा (एमाले) बाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा माघ २५ गते उपनिर्वाचन गर्न प्रदेश निर्वाचन कार्यालयले मिति तय गरे अनुसार आज  ११ गते उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । एक वर्ष अवधि रहेको राष्ट्रिय सभा सदस्यका लागि नेपाली कांग्रेस र सत्तारुढ नेकपा (एमाले)ले उम्मेदवार सिफारिस गरिसकेका छन् । कांग्रेसले दाङका वीरकेशरी गौतम, रोल्पाका माधवप्रसाद आचार्य र बर्दियाका अरुणप्रकाश रठौरको नाम सिफारिस गरेको कांग्रेस नेता शंकर डाँगीले बताए । तीमध्ये एकजनालाई उम्मेदवार बनाउन सहमति भएको छ । एमालेले भने रोल्पाका कुमार दशौदीलाई उम्मेदवार बनाउने लुम्बिनी प्रदेश कमिटीका सचिव लक्ष्मण आचार्यले जानकारी दिए । दशौदी एमालेका केन्द्रीय सदस्य हुन् । नेकपा एमालेबाट उनको मात्रै नाम सिफारिस भएको छ । आज मनोनयन दर्तापछि माघ १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने र माघ १३ र १४ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरिने प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । माघ १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको छ । राष्ट्रिय सभा सदस्य छनोट गर्न प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् । लुम्बिनीमा प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख, उप्रमुख गरेर जम्मा ३०५ जना मतदाता छन् ।

स्याङ्जाः    पोखरा–सुनौली जोड्ने सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाको पहलमा परामर्शदाताको उपस्थितिमा स्याङ्जाका विभिन्न ठाउँमा आयोजना गरिएका सार्वजनिक सुनुवाइ कार्यक्रममा सरोकारवालाले राजमार्ग स्तरोन्नतिको माग गरेका हुन् । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पोखरा सडकखण्डको एक सय ५७ किलोमिटर सडक   स्तरोन्नतिका लागि वर्षौँदेखि आवाज उठदै आएको छ । स्याङ्जाको गल्याङ, वालिङ, भिरकोट, पुतलीबजारलगायत ठाउँमा सार्वजनिक सुनुवाइ गरी सरोकारवालाको राय तथा सुझाव सङ्कलन गरिएको सडक विभागका प्रतिनिधि युवराज सत्यालले बताउनुभयो । बुटवलबाट पोखरासम्म सुझाव सङ्कलन गरिएको उहाँले बताउनुभयो । “सिद्धार्थ राजमार्ग धेरै पुरानो, साँघुरो र जीर्ण हुँदै गएको छ, यसको स्तरोन्नति गर्नुको विकल्प छैन”, वालिङ नगरप्रमुख कृष्ण खाँण बताउनुहुन्छ । स्याङ्जालीको भविष्यसँगै जोडिएको उक्त राजमार्गको स्तरोन्नति अति अत्यावश्यक भएको उहाँको भनाइ छ । “सडक छेउछाउका बासिन्दा पटक–पटक आतङ्कित भइरहनुभन्दा एकपटक दीर्घकालीन हुने गरी सडक विस्तार गर्नु उपयुक्त हुन्छ”, खाँणले भन्नुभयो । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई जोड्ने उक्त सडकको स्तरोन्नति जरुरी छ ।  सिद्धार्थ राजमार्गको दायाँबायाँ रहेका घरटहरा बचाऔँ सङ्घर्ष समितिका अध्यक्ष पिताम्बर श्रेष्ठ सडक स्तरोन्नति नगरिए यसको प्रयोगमा कमी आउने बताउनुहुन्छ । “वैकल्पिक मार्ग प्रयोग गर्ने बढ्दै छन्, त्यसैले यो सडक स्तरोन्नति आवश्यक छ”, उहाँले भन्नुभयो । सिद्धार्थ राजमार्ग सञ्चालनमा आएको ५२ वर्ष भए पनि अहिलेसम्म स्तरोन्नति हुन नसक्नु दुःखद् भएको उहाँको भनाइ छ । सडकका घुम्ती काट्दा र चौडा बनाउँदा हालको सडकको लम्बाई करिब ३२ किलोमिटर कम हुने दाबी गरिएको छ । घुमाउँरो र साँघुरो भएकै कारण दुर्घटना बढी हुने गरेको पाइएको छ ।  सिद्धार्थ राजमार्ग स्तरोन्नति गरी बाह्रैमास सञ्चालन गर्न सकिने बनाउने योजना छ । भारतसँग जोड्ने व्यापारिक मार्गका रूपमा रहेको उक्त राजमार्गको सबैभन्दा बढी ६७ किलोमिटर क्षेत्र स्याङ्जामा पर्छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने तथा तराईलाई पहाडसँग जोड्ने मुख्य सडकको रूपमा यो राजमार्ग रहेको छ । हाल यो सडक ६ दशमलव ८ देखि ७ मिटर चौडा  छ । अब स्तरोन्नति हुने सडक कुल १० मिटर चौडाइको हुने छ । स्याङ्जा अन्तर्गतको क्षेत्रमा ३७ पुल निर्माण गरिने छन् । विस्तारित सडकखण्डमा ४७ हेक्टर वन क्षेत्र पर्ट । यसमा ४३ सामुदायिक वन र एक धार्मिक वन रहेको बताइएको छ । सडक विस्तारका क्रममा दुई हजार आठ सय ८६ रुख कटान गर्नुपर्ने देखिएको छ । 

काठमाडौं:    संघीय संसद भवनअगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको बुधबार बिहान ५:०० बजे निधन भएको डा। किरण नकर्मीले जानकारी दिनुभयो । डा. नकर्मीले भन्नुभयो, ‘‘उहाँलाई बचाउन सकिएन  । उहाँको ८०प्रतिशत भाग जलेको थियो । उपचारको क्रममा आज बिहान मृत्यु भयो ।’’ नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो सल्काएर आचार्यले आत्मदाहको प्रयास गरेका थिए । शरिरमा आफै आगो लगाएका आचार्यलाई उपचारको लागि मंगलबार नै बर्न अस्पताल लगिएको थियो । आचार्यको स्वास्थ अवस्था बुझ्न स्वास्थ्य राज्यमन्त्री डा। तोषिमा कार्की समेत मंगलबार कीर्तिपुर अस्पतालमा पुग्नुभएको थियो । 

स्याङ्जाः   फुटबल सञ्चालन भइरहेको अनुमति विना नै हेलिकप्टर अवतरण गर्ने प्रभु हेलिकप्टरका पाइलन रनेश डंगोल निलम्बित भएका छन् ।  स्याङ्जाको वालिङस्थित खेल मैदानमा हेलिकप्टर अवतरण गर्ने प्रभु हेलिकप्टरका पाइलट डंगोललाई नागरिक उड्डयन प्राधिकरणले निलम्बित गरेको छ। माघ ५ गते वालिङस्थित खेल मैदानमा खेल भइरहेकै अवस्थामा बिनाअनुमति हेलिकप्टर अवतरण गरेको ठहर गर्दै पाइलट डंगोललाई कारबाही गरिएको प्रधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। ‘अहिलेलाई पाइलटलाई ग्राउन्डेड गरिएको हो। कति समयलाई भन्ने अहिले तोकिएको छैन। अर्को व्यवस्था नभइञ्जेललाई हो,’ निरौलाले भने, ‘अब पाइलटलाई सोधपुछ र छानबिन गरेपछि के गर्ने भन्नेबारे अर्को सूचना जारी गर्छौं।’ उनले अहिले पाइलट डंगोल घाइते भएपछि आराम गरिरहेको हुँदा ठिक भएपछि अनुसन्धानको काम सुरू गर्ने जनाए। डंगोल उक्त घटनामा स्थानीयको कुटाइबाट घाइते भएका थिए । पाइलट डंगोलमाथि कुटपिटमा संलग्न ६ जनालाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ। माघ ५ गते दिउँसो साढे २ बजेतिर प्रभुको हेलिकप्टरमा पाइलट डंगोल तीन जना यात्रु लिएर पोखराबाट वालिङका लागि उडेका थिए। सोही क्रममा हेलिकप्टर वालिङस्थित खेल मैदानमा खेल भइरहेकै अवस्थामा अवतरण गरेको थियो। पछि अनुसन्धानको क्रममा हेलिकप्टर कुनै अनुमतिबिना अवतरण गरिएको पाइएपछि प्राधिकरणले कारबाही प्रक्रिया अगाडि बढाएको थियो।

काठमाडौं:  काठमाडौंको बालाजुस्थित रसुवा गंगाजल गेष्ट हाउसमा सेनाको जवान मृत अवस्थामा भेटिएका छन् । नेपाली सेनामा कार्यरत २५ वर्षीय विनय कार्की रसुवा गंगाजल गेष्ट हाउसमा झुण्डिएको अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेराज मैनाली बताए । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको एसपी मैनालीले बताए ।

बाजुरा:  मंगलबार गएको भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौमुल गाउँपालिका–२ की जमुना रोकाया रहेकी छन्। घाँस काट्न गएकी उनको भूकम्पपछि आएको ढुंगा लागेर मृत्यु भएको हो।  यसैगरी जिल्लाको गौमुल गाउँपालिका(१ का रामदल बोहोरा घाइते भएका छन्। भूकम्पले घर भत्किँदा उनको टाउको, हात र खुट्टामा चोट लागेको छ।  घाइते बोहोराको स्वास्थ्य चौकीमा उपचार भइरहेको स्थानीय सुभाष रोकायाले बताए। यसैगरी बझाङको जयपृथ्वी नगरपालिका(११ भोपुरमा पनि एक वृद्धा घाइते भएका छन्।  बाजुरा केन्द्रविन्दु भएर ‍५‍।९ म्याग्नेच्युडको भूकम्प गएको हो। दिउँसो २ बजेर ४३ मिनेट भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

 जुम्ला:  जुम्लासहित कर्णालीका हिमाली जिल्लामा भारी हिमपातका कारण हवाई सेवा प्रभावित बनेको छ । सोमबार रातिदेखि जुम्ला मुगु, हुम्ला र डोल्पामा हिमपात भएपछि नेपालगञ्ज सुर्खेतदेखि उडान भर्ने सीता, समिट, तारा, नेपाल एयरलाइन्ट लगायत हवाई सेवा अवरुद्ध भएको नागरिक उडान प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकारीले बताए। एक्कासि हिमपात भइ हवाई सेवा बन्द हुँदा जिल्लादेखि तराई झर्ने सुर्खेत नेपालगञ्जबाट माथि जिल्लातिर जाने यात्रुहरु अलपत्र परेका छन् । जुम्लाको विमानस्थलमा एक फिटभन्दा बढी हिउँ जमेको छ अझै पर्ने क्रम जारी छ । उनले मंगलबार सुर्खेत नेपालगञ्जदेखि कुनै पनि हवाई उडान नभएको जनाए ।

स्याङ्जा:  नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु एयरको हेलिकोप्टरलाई उडानमा रोक लगाएको छ । स्याङ्जाको वालिङ खेलमैदानमा खेल चलिरहेको अवस्थामा माघ ५ गते अनुमति विना हेलिकोप्टर अवतरण गर्दा क्याप्टेन रनेश डङ्गोलले कुटाइ खानुभएको थियो ।  क्यामरुन र वालिङ रातो खेलिरहेको अवस्थामा खेलको ४० औँ मिनेटमा एकाएक प्रभु एयरको हेलिकोप्टर खेल मैदानमा अवतरण भएको थियो ।  उड्डयन प्राधिकरणले अनुसन्धानका लागि पोखराबाट सेवा दिने प्रभु एयरका छ वटै हेलिकोप्टर उडानमा रोक लगाएको प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयो ।  प्रभु एयरलाई के कसरी घटना भएको हो र कसको गल्ती हो भन्ने बारेमा लिखित स्पष्टीकरणका लागि माग गरिएको र सत्य तथ्य नआउँदासम्म हेलिकोप्टर चलाउन रोक लगाएको निरौलाले बताउनुभयो । उडानका लागि एयरपोर्ट र स्थानीय प्रशासनसँग अनुमति र शान्ति सुरक्षाको प्रत्याभूति भएपछि मात्र उडान तथा अवतरण गर्नुपर्नेमा सो नदेखिएको बताइएको छ ।  यस्तै, हेलिकोप्टर अवतरण गर्दा कुटाइ खाएका क्याप्टेन रनेश डङ्गोलले वडा प्रहरी कार्यालय वालिङमा चार्टर गर्ने र आफूलाई कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै मुद्दा दर्ता गर्नुभएको छ । डङ्गोलले हवाई उडान सुरक्षाविरुद्ध कसुर र अभद्र व्यवहार मुद्दा दर्ता गराएर कारबाहीको माग गर्नुभएको हो ।  क्याप्टेनको उजुरीसँगै प्रहरीले हेलिकोप्टर चार्टर गर्ने विनोद गैरे, सुशील गिरी, खिमबहादुर थापा, उज्ज्वल थापा तथा कुटपिट गर्ने विष्णु गुरुङ र सुरेश श्रेष्ठलाई पक्राउ गरेको छ ।  पक्राउ परेका छ जनालाई म्याद थपेर अनुसन्धान अगाडि बढाएको र भिडियोमा पहिचान गरी थपलाई पक्राउ गरिने सूचना अधिकारी प्रहरी निरीक्षक पदम थापाले बताउनुभयो । 

काठमाडौं:  राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले गुणस्तरहिन औषधि उत्पादन र बिक्री वितरणमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मङ्गलबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले बजारमा गुणस्तरहिन औषधिको उत्पादन र बिक्री वितरण भइरहेको बताउनुभयो । उहाँले यस्तो गतिविधिले नागरिकको स्वास्थ्यमा असर पर्ने भन्दै सम्बन्धित निकायले औषधिको चेकजाँच गर्नुपर्ने औंल्याउनुभयो । गुणस्तरहिन औषधिलाई विक्री वितरण रोक्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘अहिले बजारमा गुणस्तरहिन औषधि उत्पादन तथा बिक्री वितरण भइरहेको भन्नेकुरा सुन्नमा आइरहेको छ । यो खालको गतिविधिले आम नागरिकको स्वास्थ्यमा गम्भीर असर पर्ने हुँदा सम्बन्धित निकायले औषधिको चेकजाँच गर्ने, यस्ता खालका औषधिलाई बिक्री वितरणमा रोक लगाउनतर्फ आवश्यक पहलको लागि ध्यानाकर्षण गर्न चाहान्छु ।’’ राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलबासेले महिला र बालबालिकाहरुमाथि नराम्रो व्यवहारका घटनाहरु घटिराखेको भन्दै उनीहरुमा सुरक्षा जोखिम बढेको बताउनुभयो । उहाँले महिला र बालबालिकाको शान्ति सुरक्षामा ध्यान दिन सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘महिला र बालकालिकामाथि नराम्रो व्यवहार भएको घटनाहरु घटिराखेको छ । सुरक्षाको जोखिम बढीराखेको हो कि भन्ने देखिइराखेको छ । शान्ति सुरक्षाको व्यवस्था कायम गरियोस् भन्ने माग गर्न चाहन्छु ।’’ राष्ट्रिय सभा सदस्य तुलसाकुमारी दाहालले बञ्चरेडाँडाँमा फोहोर व्यवस्थापनको समस्या बल्झिन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, ‘‘शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले समन्वय गरेर बञ्चरे डाँडामा जुन फोहोरको व्यवस्थापन गरेको थियो । यो समस्या फेरी बल्झिने समस्या आइरहेको छ । त्यसकारण बेलैमा यसतर्फ सोचियोस् र हिजोजस्तो जनता र सुरक्षाकर्मीका बीचमा झडप नहोस् ।’’ राष्ट्रिय सभा सदस्य भवगती न्यौपानेले सरकारी अस्पतालको स्तरन्नोती गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले आम नागरिकले सरकारी अस्पतालमा बेड पाउन समेत नसक्ने भन्दै यसलाई सहज गराउनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘‘सरकारी अस्पतालमा बेड पाउन सकिएन । प्राइभेट अस्पतालमा उपचार गर्ने आर्थिक हैसियत छैन । भन्ने समस्या छ । सरकारी अस्पतालमा वर्षौंदेखिको स्तरोन्नति हुन सकेको छैन । बेड उपलब्ध हुन सक्दैन । सस्तो सुलभ सहज रुपले देशले उपचार गर्नसक्छ भनेर एउटा गरिबले महशुस कहिले गर्ने ? राज्यले यस विषयमा सोच्नु जरुरी छ । राज्यको ध्यान जाओस् ।’’ राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले राष्ट्रिय सभामा प्रश्तुत भएका विधेयकहरु निस्क्रिय हुने गरेको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले राष्ट्रिय सभामा उठेका प्रश्नहरुको जवाफ मन्त्रीहरुले नदिने गरेको भन्दै यसको जवाफ दिन मन्त्रीहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘यहाँका विधेयकहरु निस्क्रिय हुन्छन् । जिरोमा जान्छन् । यसको मान्यता कमजोर छ । राष्ट्रिय सभामा उठाएका जवाफहरु मन्त्रीहरुले दिनुपर्दैन । जनतासँग यसको सरोकार रहँदैन । यसको कुरा के हो मन्त्रीहरुले जवाफ दिनुपर्छ ।’’ राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले देशभर शितलहर चलेका कारण जनजीवन प्रभावित भएको भन्दै गरिब, निमुखा र जेष्ठ नागरिकलाई न्यानो कपडा राहतको रुपमा दिन सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘अहिले देशैभर शितलहर चलिरहेको छ । यस जाडोमा गरिब, निमुखा, ज्येष्ठ नागरिक, बालबच्चाहरु अत्यन्तै पीडित छन् । तिनीहरुलाई खाना, न्यानो लुगा कपडाको राहत दिन अध्यक्षज्युमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’’ राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले घुस रकमसहित पक्राउ परेका त्रिभुवन विमानस्थलका कर्मचारीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘त्रिभुवन विमानस्थलमा भर्खरै कर्मचारीले आठ लाख र केही रक्सीका बोतलहरुसहित पक्राउ परेको कुराहरु समाचारमा आइराखेको छ । यस्ता भ्रष्टाचारीहरुलाई कडाभन्दा कडा कारबाही गरियोस् भन्ने माग गर्न चाहन्छु ।’’ राष्ट्रिय सभाको मङ्गलवारको बैठकमा सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल भइरहेको छ ।