काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

पोखरा: अनेरास्ववियु पृथ्वीनाराण क्याम्पस कमिटिले क्याम्पसको विभिन्न संकायका भवनहरुमा सुझाव पेटिका राखेको छ ।   क्याम्पसमा अध्यनरत विद्यार्थीहरुको गुनासो, सुझाव र समस्यालाई सहजै संकलन गर्नको लागि सुझाव पेटिका राखिएको अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटिका अध्यक्ष विष्णु पोखरेलले बताए ।  ‘विद्यार्थीको समस्यालाई सहजै प्राप्त गर्नको लागि यो एउटा उदाहरणीय कार्य बन्ने छ, पोखरेलले भने, ‘अब कही कतैबाट डराउनु पर्ने, कसैले समस्या नसुन्दिने जस्ता विविध समस्याहरुको समाधान हुनेछ , तपाइहरुको समस्या हाम्रो समस्या हो ।’ पोखरेलले सुझाव पेटिकाले छिटो छरितोरुपमा विद्यार्थी र अनेरास्ववियुबिच सञ्चारको कार्य गर्ने धारणा राखे ।  अनेरास्ववियुले क्याम्पसको शिक्षा संकाय, मानविकी संकाय, विज्ञान संकाय, कानुन संकाय र व्यवस्थापन संकायको भवनमा पाँच वटा सुझाव पेटिका राखेको हो ।                    

म्याग्दीः    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगामका कृषकले बिक्री नभएपछि सुन्तलाका बिरुवा उखेलेर फाल्न थालेका छन् । फगाम जिल्लाको सुन्तलाको बिरुवाका लागि  स्रोत केन्द्र भए पनि बिक्री नभएपछि नर्सरीका बिरुवा उखेलेर तरकारी लगाउन थालिएको कृषक जोखबहादुर विक बताउनुहुन्छ ।  “गत वर्ष पाँच हजार बिरुवा उखेलेर फालेको थिएँ,” उहाँ भन्नुहुन्छ, “यसपालि हुर्किएका १० हजार बिरुवाले पनि बजार नपाएपछि उखेलेर टनेल हालेर गोलभेँडा लगाउने तयारी गरेको छु ।” सोही स्थानकी डिलकुमारीले पुन पनि बिक्री हुन छाडेपछि सुन्तलाका बिरुवा उत्पादन गर्न छोड्नुभएको छ ।  करिब पाँच रोपनी जमिनमा सुन्तलाको नर्सरी बनाउनुभएकी उहाँ  छिमेकीलाई जग्गा भाडामा दिएर तातोपानी बजारमा झर्नुभएको छ । दुई वर्ष उमेरका सुन्तलाका बिरुवा रोप्न योग्य हुन्छन् । दुई वर्ष नाघेका बिरुवा बिक्री नभएपछि उखेलेर फाल्नुको विकल्प नभएको अर्का कृषक नारायण पुर्जा गुनासो गर्नुहुन्छ ।  “त्यसै लैजाओभन्दा पनि कोही आएनन्,” उहाँ भन्नुहुन्छ “सस्तो भनेर बाहिरबाट रोगी बिरुवा ल्याएर कृषकलाई बाड्दा रोग फैलिएको छ । जिल्ला भित्रै उत्पादन भएको स्वस्थ र हावापानी अनुकुलका बिरुवा नबिकेर फाल्नुपर्ने अवस्था आयो ।” पुर्जासँग ११ हजार सुन्तलाका बिरुवा छन्् ।   बजार बिस्तार हुन नसकेका कारण बिरुवा नबिकेको स्थानीय कृषक दुर्गादत्त सुवेदीको भनाइ छ । वडासदस्य समेत रहनुभएका उहाँका अनुसार फगाममा उत्पादन भएका मध्ये करिब एक लाख सुन्तलाका बिरुवा बिक्री भएका छैनन् । केही वर्षअघिसम्म सुन्तलाको बिरुवाको माग अत्याधिक थियो ।  नयाँ नर्सरी बढेपनि बजार विस्तार हुन नसक्दा बिरुवा बिक्री नभएको हो । मेहनत गरेर नर्सरीमा हुर्काइएका बिरुवा बिक्री गर्न नसक्दा कृषक तनावमा छन् । नौ र १० नम्बर वडाका ४ वटा फार्ममा टिमुरका ५० हजार र वडा नम्बर ३ मा दुई लाख तीस हजार रोप्नका लागि योग्य सुन्तलाका बिरुवाले बजार नपाएको प्रशंसा बहुउद्देश्यीय नर्सरीका सञ्चालक सागर बानिया बताउनुहुन्छ ।  “जिल्लामा उत्पादन भएका बिरुवाले गण्डकी प्रदेशलाई पुग्न सक्छ,” उहाँ  भन्नुहुन्छ “स्थानीय तहले जिल्लाकै उत्पादनलाई प्राथमिकता दिने कृषकमुखी नीति बनाउन नसके कृषक पलायन हुने अवस्था आउँछ ।” जिल्लाका स्थानीय तहहरुले गत वर्ष करिब पचास हजार सुन्तलाका बिरुवा बितरण गरेका थिए ।  बाहिरी जिल्लाबाट ल्याइने बिरुवा सस्तो भएपनि हावापानी नमिलेर मर्ने र रोगकिरा भित्रने गरेको कृषकहरु बताउँछन् ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बेनीस्थित सुन्तला जोन कार्यालयका कृषि अधिकृत बिक्रम बस्याल कृषकहरुलाई सङ्गठित बनाएर बजारको खोजी गर्नुपर्ने देखिएको उल्लेख गर्नुहुन्छ 

काठमाडौंः    मन्त्रिपरिषद बैठकले असारसम्ममा कर तिर्ने शर्तमा क्रसर उद्योग खुल्ला गर्ने निर्णय गरेको छ । सरकारले कर तिर्न बाँकी रहेका क्रसर उद्योगहरुलाई आउँदो असार मसान्तमसम्म तिर्ने शर्तमा खुल्ला गर्ने भएको छ ।  तर दर्ता नभइ संचालन भैरहेका क्रसर उद्योग भने बन्द गर्ने निर्णय भएको छ । क्रसर उद्योग बन्द हुँदा विकास निर्माणका काम नै ठप्प भएको भन्दै निर्माण व्यवसायीहरुले दबाब दिएपछि सरकारले कर तिर्न बाँकीलाई तिर्ने शर्तमा खुल्ला गर्ने निर्णय गरेको हो । यस्तै बैठकले क्रसर उद्योगसँग सम्बन्धित कानुन बनाउने गरी तयारी गर्ने निर्णय पनि गरेको छ । गृह मन्त्रालयले देशभर सञ्चालनमा रहेका अवैध क्रसर बन्द गराउन पुस तेस्रो हप्ता सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो । गृह मन्त्रालयको निर्देशनपछि देशका सबैजसो प्रशासन कार्यालयले अवैध क्रसर बन्द गराएका छन् । सरकारले अवैध क्रसर बन्द गराउँदा वैधरुपमा संचालित क्रसरले पनि उत्पादन बन्द गरेपछि निर्माण सामग्रीको अभाव भएको निर्माण व्यवसायीहरुको गुनासो छ । 

जुम्ला:  हिमपात भएपछि जुम्लामा हवाई सेवा बन्द भएको छ । मंगलबारदेखि निरन्तर हिमपात भएपछि धावन मार्गमा हिउँ जमेको छ । हिउँ जमेकोले विमान अवतरण हुन नसकेको नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजीव श्रेष्ठले बताए । आज जुम्लामा मौसम सफा छ । तर, धावन मार्गमा हिउँ जमेकाले आज पनि हाज अवतरण हुन नसकेको श्रेष्ठले बताए । आज नेपालगञ्जदेखि जहाज आउने तयारी अवस्थामा भएकोले धाममार्ग खुलाउन लागिएको नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाले जानकारी दिए । धावन मार्गमा हिउँ जमेपछि बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले धावनमार्गमा हिउँ फाल्ने काम सुरु गरेको छ । नेपाली सेना २४ नम्बर बाहीनीका बाहिनीपति सोवेन्द्रसिंह महत, नन्दाबक्स गणका गणपति रविन थापा बिहानैदेखि जुम्ला विमानस्थलको धावनमार्ग खुलाउन खटिएका छन् । अहिले धावन मार्गमा प्रमुख जिल्ला अधिकारी मुकेश कुमारी केसरी पनि विमानस्थलमा पुगेका छन् । तीन दिनदेखि हिउँपरेर नेपालगञ्जमा जुम्ला आउने यात्रुहरु अलपत्र परेका छन् । करिब चार वटा जहाँजका यात्रुहरू अहिले नेपालगञ्जमा जुम्ला आउन कुरिरहेका छन् ।

म्याग्दी:  भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने मूर्ति बनाउनका लागि लैजाने शिलाको विशेष पूजाआजा सहित हस्तान्तरण गरिएको छ । वसन्त पञ्चमीको अवसर पारेर गलेश्वर मन्दिरमा शिलाको पूजाआजा गरी शोभा यात्रा सहित हस्तान्तरण गरिएको हो ।    बिहीबार बिहान ८ बजेको साइतमा बेनी नगरपालिका ९ स्थित गलेश्वर धाम मन्दिरमा पूजापाठ,भजनकृत र विभिन्न जातजातिका झाँकी सहित दुई थान शिला जनकपुरधाम स्थित जानकारी मन्दिरका लागि पठाइएको हो ।    गलेश्वर देखि बेनी बजार सम्म शिला सहित शोभा यात्रा गरिएको छ । १६ र २६ मेट्रिक टन तौल भएका राम र सीता नामकरण गरिएको दुई थान शिलालाई दुई छुटाछुटै ट्रकमा राखिएको छ ।    शिलालाई पोखरा,देवघाट,जनकपुरधाम हुँदै अयोध्या पठाइने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । काली गण्डकीको शिला अयोध्यामा लगेर राम र सीताको मूर्ति बनाउनुले कालिगण्डकी र गलेश्वर क्षेत्रको धार्मिक पर्यटनलाई समेत ठुलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । शिला लिन अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कज सहित  आउनुभएको छ ।     काली गण्डकीको शिला अयोध्या लगेर भगवान् श्रीरामको मूर्ति बनाउँदा धार्मिक र संस्कृति महोत्सव बढ्ने गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । 

काठमाडौं:    राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना दिनुभएको छ। सन्देशमा वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकाप्रति शुभकामना व्यक्त गरिएको छ।     राष्ट्रपति भण्डारीले यस दिनमा गरिने वसन्त श्रवण र सरस्वती पूजा औपचारिकता मात्र नभई हाम्रो जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन सिर्जनाका लागि प्रेरित गरिरहने अवसर पनि हो भन्दै यस पर्वका माध्यमबाट मौलिक संस्कृतिको संरक्षण एवं संवद्र्धनका साथै मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने समेत योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।  शिक्षा र ज्ञानकी आराध्य देवी सरस्वतीको पूजाअर्चना गरी वसन्तपञ्चमी बिहीबार मनाइँदैछ। माघ शुक्ल पञ्चमीका दिन सरस्वती पूजा गरिन्छ। काठमाडौँको वसन्तपुरमा रहेको हनुमानढोकाभित्रको नासलचोकमा राष्ट्र प्रमुखको उपस्थितिमा वसन्त श्रवणको आयोजना गर्नुका साथै विभिन्न स्थानमा रहेका सरस्वतीका मन्दिरमा पूजाअर्चना गर्ने गरिन्छ। यस दिन ललितपुरको लेलेमा रहेको सरस्वतीकुण्ड, काठमाडौँको नील सरस्वती मन्दिर र भक्तपुरको सरस्वती खेलमा रहेको सरस्वतीको मन्दिरमा विशेष मेला लाग्ने गर्छ।  यस दिनलाई अत्यन्तै शुभ दिन मानिने हुनाले विभिन्न धार्मिक अनुष्ठान बिहे, व्रतबन्ध, पास्नीलगायतका शुभकार्यका लागि साइत जुराइरहनु नपर्ने मान्यता छ। त्यस्तै बालबालिकालाई अक्षरारम्भ गर्न, नाक, कान छेड्न पनि यसै दिनलाई उपयुक्त साइत मानिने गरिन्छ।

गोरखा:   उत्तरी गोरखामा भारी हिमपात भएको छ । आजदेखि साम्दोलगायतका क्षेत्रमा भारी हिमपात भएको चुमनुब्री गाउँपालिका–१ साम्दोका स्थानीयवासी निमा दोर्जेले जानकारी दिनुभयो ।  “मौसममा आएको परिवर्तन र चिसो बढेपछि बिहानैदेखि हिमपात भइरहेको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म जमिनमा झण्डै एक फिटसम्म हिउँ जमिसकेको छ ।” उत्तरी गोरखाका सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार र सिर्दीबासलगायतका उच्च हिमाली क्षेत्रमा आजदेखि हिमपात सुरु भएको हो । हिमपातका कारण मानिसलाई घर बाहिर निस्कन तथा आवतजावतमा समेत समस्या भएको उहाँको भनाइ छ । “पशुबस्तुलाई घाँसपात गर्न र चरणका लागिसमेत अहिले समस्या भएको छ”, स्थानीयवासी दोर्जेले भन्नुभयो, “केही दिनका लागि त जसोतसो व्यवस्था गर्न सकिएला धेरै दिन प¥यो भन्ने यहाँका बासिन्दालाई ठूलो सास्ती हुन्छ ।” अघिल्ला वर्षको तुलनामा यो वर्ष ढिलो गरी हिमपात परेको दोर्जेले बताउनुभयो । “यो वर्ष ढिलो गरि हिमपात भयो”, उहाँले भन्नुभयो, “हिउँ पर्न थालेपछि स्थानीय सर्वसाधारण भने खुसी भएका छन् ।” हिउँ परेपछि खेतीपाती राम्रो हुने भएकाले स्थानीयवासी खुसी भएका उहाँले जानकारी दिनुभयो । “हिमपात भएपछि सुकेका घाँसपात पलाउने तथा खेतीबालीलाई पनि राम्रो हुन्छ”, दोर्जेले भन्नुभयो, “वातावरणसमेत सफा हुने भएकाले पनि हिउँ परेको राम्रो मानिन्छ ।”

काठमाडौं:  नेपाल आयल निगमले पेट्रोलियम पदार्थ खुला रुपमा नबेच्न आग्रह गरेको छ। निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न आग्रह गरेको हो।  निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अति प्रज्वलनशील पेट्रोलियम पदार्थ खुल्ला रुपमा बोतल, जर्किन लगायतका भाँडामा बिक्री वितरण, असुरक्षित ओसारपसार तथा घर, पसलमा भण्डारण गर्दा आगलागी र मानवीय एवं भौतिक क्षति समेत हुने संवेदनशील विषय भएकोले पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्नुरनगराउनु हुन सूचित गरिन्छ।’ जिल्ला प्रहरी परिसर, काठमाडौंले पेट्रोलियम पदार्थको सुरक्षित बिक्री वितरण सम्बन्धमा मिति २०७९र१०र११ गते सूचना समेत प्रकाशित गरेकाले सोही अनुसार गर्न पनि निगमले आग्रह गरेको छ।  सुरक्षा संवेदनशीलतालाई अवज्ञा गरी खुल्ला रुपमा बोतल, जर्किन लगायतका भाँडामा पेट्रोलियम पदार्थको बिक्री वितरण गरेको पाइएमा कारबाही हुने निगमले जनाएको छ।  

विराटनगर:  विराटनगर महानगरपालिका–३ स्थित ढाटमा बुधबार दुर्घटना हुँदा प्रदेश १ को प्रदेशसभा सचिवालयका एक अधिकृतको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा संसद सचिवालयकाmअधिकृत सुनसरी धरान उपमहानगरपालिका–८ घर भएका प्रेमबहादुर श्रेष्ठ रहेका छन् ।  धरानबाट विराटनगरस्थित संसद सचिवालयतर्फ आउने क्रममा श्रेष्ठ दुर्घटनामा परेका थिए । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०४–००१ ब ०००७ नम्बरको मोटरसाइकल र उत्तरतर्फ जाँदै गरेको को ३८ प ५३८७ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा बिहान ८ः५५ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा अपरान्ह उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कुटर चालक बूढीगंगा गाउँपालिका–२ का ३५ वर्षीय रोशन विक र पछाडि सवार विराटनगर–४ का २५ वर्षीय विशाल प्रसाईं सामान्य घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।