सुर्खेत: कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले संविधानलाई कागजको खोस्टो बनाइरहेको टिप्पणी गरेका छन् । मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिनेबारेको सैद्धान्तिक छलफलमा शाहीले यस्तो बताएका हुन् । साथै उनले हामी सवै संविधानको विपरित हिँडिरहेको भन्दै आक्रोश समेत पोखे । उनले प्रश्न गरे, ‘ प्रदेशमा एउटा मन्त्री बनाउन पनि केन्द्रको मुख ताक्ने भए प्रदेश आवाश्यक हो वा होइन ?’ साथै उनले यही तरिकाले अघि बढ्ने हो भने संघीयताको अर्थ नरहेको टिप्पणी समेत गरे । साथै केन्द्रमा कांग्रेसले विश्वासको मत दिएपनि प्रदेशमा नदिने बताए । ‘विश्वासको मत दिन मन छ , तर म बस्ने सीट अगाडि विपक्षी दल लेखिएको छ । यस्तो अवस्थामा मैले विश्वासको मत दिनुको के अर्थ ?’ उनले भने, ‘मैले विश्वासको मत दिन त्यो लेखिएको वस्तु झिक्नुपर्छ ।’ साथै उनले मुख्यमन्त्री शर्माले मागेको विश्वासको मतको मन्तव्य गतिलो नभएको भन्दै सल्लाहकार राम्रो राख्न सुझाव समेत दिए । ‘मुख्यमन्त्री ज्यूले विश्वासको मत माग्नुभएको हो की नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो, म अलमलमा परेँ,’ उनले भने ।
काठमाडौैं: नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ । यादवलाई उप सभामुखको उम्मेदवार बनाउन लागिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । सभापति शेरबहादुर देउवा निवासमा शुक्रबार विहान बसेको शीर्ष नेताहरुको बैठकले यादवको नाममा सहमति गरेको थियो । धनुषाकी यादव समानुपातिक सांसद हुन् । १४ औं महाधिवेशनमा यादवले केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएकी थिइन् । संसद सचिवालयले उपसभामुखको मनोनयन दर्ता गर्ने समय शुक्रबार तोकेको छ। उपसभामुखको चुनाव भोलि हुँदैछ । यसअघि कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको थियो ।
काठमाडौँ: सभामुख देवराज घिमिरेले अस्पताल भर्ना भएका माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सभामुखको सपथ लिएसँगै घिमिरे अस्पताल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।घिमिरेसँगै राष्ट्रयसभाका अध्यक्ष गणेश तिमिल्सिना पनि सुमेरु अस्पताल पुगेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि नेता पुन ललितपुरस्थित सुमेरु अस्पताल भर्ना भएका छन् । जण्डिससम्बन्धी समस्याबाट नेता पुन लामो समयदेखि पीडित छन् । केही समयअघि पुनले चीन पुगेर स्वास्थ्य परीक्षण गराएका थिए ।
पोखरा: अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा गायिका तथा मोडल ज्योती मगरको प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका छन । महोत्सवमा बिहीबार लोकदोहोरी गायिका तथा मोडल ज्योती मगरको प्रस्तुतीमा युवा देखी वृद्धवृद्धाहरुले मनोरन्जन लिएका हुन । ज्योती संगै महोत्सवमा जीवन दाहाल, शिवहरी ढुंगाना, शंकर पन्त, सीता परियार, पुजा तामाङ, तुलसा जिसी, माधव चापागाइ, नेत्र खड्का लगायतको दोहोरी प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । त्यसैगरी सांझको लाइभ ब्याण्ड तर्फ सविन राइ एण्ड द फेरोहको प्रस्तुती मार्फत युवाहरुले मनोरन्जन लिए । युवाहरु माझ चर्चित सविन राइले आफ्नो प्रस्तुती राख्दा दर्शकहरु निकै उत्साहित बनेका थिए । नवौ दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकको भीड वड्दै गएको छ । महोत्सवमा दर्शकको भीड संगै कारोबार समेत बढेको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा शुक्रबार लोकदोहोरी तर्फ आलिफ खान, जीवन दाहाल, शिवहरी ढुंगाना, रेशम निर्दोश, ज्योती लोहोनी, कमला गैरे, जुना क्षेत्री, टेक क्षेत्रीको प्रस्तुती रहने छभने नेत्रपाणी बास्तोलाले कार्यक्रम सञ्चालन गर्नेछन । त्यसैगरी हास्य प्रहसन तर्फ राजेन्द्र गिरी जादुगर गुन्द्रुके मुना गिरीको प्रहसन संगै डान्स जादु प्रस्तुती रहन छभने २३ इन्चको मनोज गोर्खालीमार्फत डान्स प्रस्तुती रहने छ । त्यसैगरी सांझको लाइभ ब्याण्ड तर्फ अनुप्रस्थाको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । त्यसैगरी महोत्सवमा जारी विद्यालय स्तरिय लोक नृत्य प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न पहिलो चरणको प्रतियोगितामा अमरसिंह मावि, श्री नव प्रभात सेकेण्डरी स्कुल, मेरिगोल्ड इङलिस बोर्डिङ स्कुल, श्री सिद्ध मावि र बाल कल्याण मावि विच भएको प्रतिस्पर्धामा मेरिगोल्ड बोडिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको हो । विद्यालय स्तरिय लोकनृत्य प्रतियोगितामा माघ ८ गते भ्यु प्वाइन्ट बोडिङ स्कुल, मेट्रोपोलिटन एकेडेमी, कास्की मोर्डनाइज र मेरिगोल्ड बोर्डिङ स्कुल बीच फाइनल प्रतिस्पर्धा हुनेछ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखमा पार्टीका सांसद इन्दिरा रानामगरलाई उठाउने निर्णय गरेको छ । शुक्रबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । उपसभामुखको उम्मेदवारका रुपमा पार्टीका सांसद सोविता गौतम प्रस्तावक रहनुहुने भएको छ । उहाँले भन्नुभयो, ‘‘इन्दिरा रानामगरलाई पठाउने निर्णय गरेका छौँ । जसको प्रस्तावक सोविता गौतम बसेर राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमा नै चिनेको मान्छे उहाँको विज्ञतालाई उजागर गरेर उहाँलाई पठाउने निर्णय गरेको छ । पार्टीले सर्वसम्मत रुपमा निर्णय गरेको हो । अल्पमतमा होइन ।’’ झापाका मगर समानुपातिक सांसद हुनुहुन्छ । उपसभामुखमा यसअघि सांसद सोविता गौतमको चर्चा भए पनि पार्टीले भने मगरलाई अघि सारेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सांसद गौतमले मगर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनिएको र कानुन बारेमा पनि ३३ वर्षे अनुभवका कारण उपसभामुखमा पठाउने सर्वसम्मत निर्णय गरेको बताउनुभयो । त्यस्तै, सांसद इन्दिरा राना मगरले भने आफूले कानुनको अध्ययन नगरेको भए पनि कानुनको क्षेत्रमा ३३ वर्षको अनुभव रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘म यो क्षेत्रमा देशमा केही परिवर्तन गरौँ भनेर आएको हो । म प्रत्येक वर्ष अन्तर्राष्ट्रिय अवार्डहरु दाबी गरिरहेको मान्छे हो । कानुन नपढे पनि जेलदेखि बालबालिका, मानव अधिकारका थुप्रै क्षेत्रको अनुभव ३३ वर्षमा गरेको छु ।’’ उपसभामुखका लागि निर्वाचन शनिबार हुँदैछ, आज (शुक्रबार) उपसभामुखको उम्मेदवारी दिनुपर्नेछ । सत्ता गठबन्धनले उम्मेदवारको टुङ्गो लगाएसँगै प्रतिपक्ष दलहरु पनि उपसभामुखको उम्मेदवार टुङ्गो लगाउन बैठक बसिरहेको छ ।
काठमाडौं: नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । शुक्रबार राष्ट्रपति भवनमा आयोजित शपथ ग्रहण कार्यक्रममा सभामुख घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुभएको हो । शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपराष्ट्रपति नन्दबहादुर पुन, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उच्चपदस्थ अधिकारीहरु सहभागी हुनुहुन्थ्यो । २०६२र६३ को जनआन्दोलनपछि पहिलो पटक सांसदहरूको मतविभाजनबाट सभामुख चयन गरिएको हो । प्रतिनिधि सभाको सभामुखमा बिहीबार नेकपा ९एमाले० का सांसद घिमिरे निर्वाचित हुनुभएको थियो । झापाको अर्जुनधारा नगरपालिका –६ घर हुनुभएका घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले १६७ मत प्राप्त गर्नुभएको छ । उहाँले प्राप्त गर्नुभएको मत सभाको बहुमत भएकाले प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले घिमिरे प्रतिनिधि सभाको सभामुख निर्वाचित हुनुभएको घोषणा गर्नुभएको थियो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत पाउनुभएको छ । उहाँ नेपाली कांग्रेसकी प्रतिनिधि सभा समानुपातिक सदस्य हुनुहुन्छ । मत दिन्न भन्ने पक्षमा एक मत मात्र परेको छ ।
काठमाण्डौ: प्रतिनिधि सभाको उपसभामुखका लागि आज शुक्रवार मनोनयन दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयले हिजो बिहीवार सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ । भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा मतदान प्रक्रिया हुनेछ । सत्ता गठबन्धनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने समझदारी भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले आज ९ बजे संसदीय दलको बैठक बस्ने र पार्टीको उपसभामुख उम्मेदवारबारे निर्णय गर्ने बताउनुभएको छ । रास्वपाबाट उपसभामुखको उम्मेदवारमा सोबिता गौतमको चर्चा छ । सभामुख र उपसभामुखमध्ये एक जना महिला अनिवार्य निर्वाचित गर्नुपर्ने संविधानको बाध्यात्मक व्यवस्था छ । सभामुखमा हिजो एमालेका देवराज घिमिरे निर्वाचित हुनुभएको छ । घिमिरेले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।
काठमाडौं: सर्वोच्च अदालतले सिक्लेश अन्नपूर्ण संरक्षण क्षेत्रमा केबुलकार आयोजना वा अन्य कुनै भौतिक संरचना निर्माण कार्य नगर्न÷नगराउन अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले विषयवस्तुको गम्भीरतालाई ध्यानमा राख्दा दुवै पक्षबीच छलफल गरेर मात्र निष्कर्षमा पुग्नुपर्ने ठहर गर्दै अल्पकालीन अन्तरिम आदेश गरेको हो । आदेशमा भनिएको छ, “दुवै पक्षबीच छलफल नभएसम्म निवेदनमा उल्लेखित क्षेत्रमा कुनै केबुलकार आयोजना वा अन्य कुनै भौतिक संरचना निर्माण कार्य नगर्नु÷नगराउनु भनी विपक्षीहरुको नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ ९२०९ख० बमोजिम अल्पकालीन अन्तरिम आदेश दिइएको छ ।” अविधक्ता पदमबहादुर श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालयलगायतलाई विपक्षी बनाइ रिट निवेदन दायर गर्नुभएको थियो । नेपालको संविधानको धारा ३०, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र नियमवली विपरीत गत मङ्सिर १३ गते सिक्लेश अन्नपूर्ण केवलकार (छ दशमलव चार सय १६ किमी) आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन पारित गर्न गरेको निर्णय र सो निर्णयसँग सम्बन्धित अन्य नेपाल सरकार वा अन्य निकायको सरकारी निर्णय, विभिन्न पत्रसमेत उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको थियो । रिट निवेदनमा संरक्षण क्षेत्रका रुपमा घोषण भएको सिक्लेश अन्नपूर्ण संरक्षण क्षेत्रमा कुनै भौतिक संरचना बनाउने कार्य नगर्नु÷नगराउनु भन्ने विपक्षीको नाउँमा परमादेशको आदेश माग गरिएको थियो । साथै अब उपरान्त यस्तै प्रकारको संरक्षण क्षेत्र घोषणा भएका अन्य संरक्षित क्षेत्रमा कुनै पनि प्रकारको विकासको आयोजना सञ्चालन गर्न माग भइआएमा कुनै पनि आयोजना पारित गर्ने कार्य नगर्नु÷नगराउनु भन्ने परमादेशको आदेश माग गरिएको थियो । रिट निवेदनमा नेपालको संरक्षण क्षेत्रभित्र कस्तो–कस्तो प्रकारको संरक्षण तथा विकास योजना कुन–कुन संरक्षित क्षेत्रभित्र दिने हो सोसम्बन्धी यकिन गर्न विज्ञहरुसँग समेत छलफल गरी एक वैज्ञानिकयुतm गुरुयोजना बनाई तथा कार्यविधि बनाई प्रकाशितसमेत गर्नु भन्ने विपक्षीको नाउँमा परमादेश जारी गर्न मागसमेत गरिएको थियो ।
हुम्ला: हिमाली जिल्ला हुम्लामा गए रातिदेखि हिमपात सुरु भएको छ । विगत वर्षमा मङ्सिर र पुसमा पनि यहाँ हिउँ पर्ने गरेको थियो । हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ । यसअघि गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परेको थियो । सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ । लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय बिहानैदेखि रमाइलो गर्न थालेका छन् । गए रातिदेखि लगातार हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीको जनजीवन कष्टकर बनेको छ । लिमी, मुचु, खगालगाउँ, तिल, जाङ गाउँलगायत स्थानमा बढी हिमपात भएको छ । बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन् । हिमपात हुँदा कोदो, चिनु, फापरलगायत कात्तिके बाली सप्रिने आशामा हुम्लाका किसान छन् ।

