पोखराः कास्कीको मादी गाउँपालिकामा निर्माणधिन सुपर मादी हाइड्रोपावरको शाखा कार्यालयमा प्रभावित स्थानीयले लगाएको ताला चार दिनपछि खुलेको छ । ११ बुँदे सम्झौता कार्यान्वयन नगरेको भन्दै हाइड्रोपावरबाट प्रभावित स्थानीयले सुपर मादी हाइड्रोपावर ताङतिङ शाखा कार्यालयमा लगाएको ताला सम्झौता कार्यान्वय गर्ने सहमति पछि मादी नदी सरोकार समिति, ताङतिङ युवा क्लब, प्रभावित स्थानीयले सयुक्त रुपमा शाखा कार्यालयमा लगाएको ताला खुलाएका हुन् । ताङतिङ युवा क्लबका अध्यक्ष भोजबहादुर गुरुङले सम्झौता कार्यान्वयन गर्ने सहमतिपछि हाइड्रोपावरको शाखा कार्यालयमा लगाएको ताला खुलेको जानकारी दिए । ‘हाइड्रोपावर सञ्चालन पूर्व प्रभावित स्थानीयसँग भएको सम्झौता कार्यान्वयन हुन सकेको छैन्, हाइड्रोपावर निर्माणपछि गाउँमा गर्ने भनेको पूर्वाधारदेखि विभिन्न सम्झौता कार्यान्वयन भएन, गुरुङले भने, ‘सम्झौता कार्यान्वयन गर्न दवाव स्वरुप ताला लगाएका हौ, एक हप्ताभित्र सम्झौता कार्यान्वयन हुने सहमति छ, भएन भने पुनः आन्दोलनमा जान्छौं ।’ शनिबार सुुपर मादी हाइड्रोपावर, मादी नदी सरोकार समिति, ताङतिङ युवा क्लब, प्रभावित स्थानीय र जनप्रतिनिधिहरुको सर्वपक्षीय भेलाले ताला खोल्ने र सम्झौता कार्यान्वयन गर्ने सहमति भएको गुरुङले जानकारी दिए । सम्झौतामा प्रभावित स्थानीयलाई मुआब्जा दिने, सिकलेस ताङतिङको बीचमा मोटरेबल पुल खेलमैदान लगायतका पूर्वाधारका कामहरु अगाडी बढाउने सहमति भएको हो । सुपर मादी हाइड्रोपावर ताङतिङ शाखा कार्यालयमा नदी सरोकार समिति, ताङतिङ युवा क्लब र प्रभावित स्थानीयले माघ ११ गते ११ बुँदे सहमति कार्यान्वयन गर्न ताला लगाएका थिए ।
काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अब बलिदान नभई देशका लागि योगदान गर्नुपर्ने बताएका छन् । लैनचौरस्थित शहीद स्मृति पार्कमा सोमबार शहीद दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले अब देशका लागि योगदान गरेर देखाउनु पर्ने बताएका हुन् । शहीदहरुले भावी सन्ततिका लागि सुनौलो सपना देखेर आफ्नो बलिदान दिएकाले उनीहरुको सपनालाई पूरा गर्ने जिम्मेवारी र दायित्व अहिलेको पुस्ताको भएको उनको भनाइ छ । शान्त, समृद्ध र विकसित नेपाल बनाउसके मात्रै अमर शहीदहरुको आत्माले शान्ति पाउने मेयर साहले बताए । ‘अमर शहीदहरुको त्याग र बलिदानले नै आज स्वतन्त्र स्वाधिन र सार्वभौम राष्ट्र नेपालका नागरिकका रुपमा विश्वसामु परिचित हुन पाएका छौं । । यो दिनलाई मैले महत्वपूर्ण दिनका रुपमा लिएको छु ,’ उनले भने ।
पोखराः पोखरा महानगरपालिका ९ शिव टोल स्थित डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापकले आत्महत्या गरेका छन् । डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक ३८ वर्षीय लेखुराम खातीले आइतबार साँझ ७ बजेतिर घरमै झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। खातीमाथि बचतकर्ताको रकम फिर्ता गर्न नसकेको भन्दै सञ्चालक समिति र सेयर सदस्य दबाब दिएको र ऋणको बोझले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिरक अनुसन्धानमा खुलेको छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ सङ्कल्पित उल्लेख गर्दै उहाँले शहीदका सपना पूरा गर्न आह्वान गर्नुभएको हो । शहीद दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले जीवनपर्यन्त आफ्नो सम्पूर्ण तागत देश र जनताको हितका खातिर समर्पित गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । “शहीदहरूले देखाएको बाटोमा शब्दमा मात्र होइन, कर्ममा समेत अनवरत रूपमा लामबद्ध हुन, उहाँहरूको त्याग र प्रेरणा राष्ट्र र जनताको विकास एवं समृद्धिका लागि खर्चिने सङ्कल्प गर्न म आम जनसमुदायमा हार्दिक अपिल गर्दछु”, सन्देशमा भनिएको छ । प्रधानमन्त्री दाहाललले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध र समुन्नत बनाउन शहीदहरूको सपना तथा योगदान सधैँ प्रेरणादायी हुनेछ भन्ने विश्वास पनि लिनुभएको छ । उहाँले दिवसको ऐतिहासिक दिनले देश र जनताको समुन्नत भविष्यका लागि सहकार्य गरी अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामनासहित शहीदको सपना पूरा गर्न हातेमालो गर्दै अघि बढ्न सबैमा आह्वान गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “तानाशाही र निरङ्कुश व्यवस्थाका विरूद्ध सङ्घर्षका क्रममा उच्च बलिदानी गर्नुहुने महान् शहीदहरूको बलिदानी भएको दिनलाई हामीले शहीद दिवसका रूपमा स्मरण गर्दै आएका छौँ, आजको दिन नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने शहीदहरूप्रति विशेष सम्मान व्यक्त गर्ने दिन हो ।” प्रधानमन्त्री दाहालले परिवर्तनका पक्षमा भएका सम्पूर्ण आन्दोलनमा आफ्नो जीवन अर्पण गर्ने महान् शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण बेपत्ता योद्धाहरुको स्मरणसहित उच्च सम्मान व्यक्त गर्नुभएको छ । उहाँले आन्दोलनका क्रममा घाइते हुनुभएका योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घायुको कामना गर्नुभएको छ । “राणाकाल सुरु हुनुपूर्वका विभिन्न आन्दोलन, सङ्घर्ष, राणाकाल विरूद्धका चरणबद्ध आन्दोलन, २००७ सालको परिवर्तन, पहिलो र दोस्रो जनआन्दोलन, १० वर्षे जनयुद्ध, मधेस आन्दोलन लगायतका आन्दोलन, जनआन्दोलन तथा सङ्घर्षमार्फत नेपालले जे–जति उपलब्धि प्राप्त गरेको छ, ती महान् शहीदहरूको सङ्घर्ष र बलिदानीबाट मात्र सम्भव भएको हो”, सन्देशमा उल्लेख छ । शहीदहरूको बलिदानको उच्च सम्मानका साथ उहाँहरूको सपनालाई साकार पार्ने कार्यमा हामी सबै आ–आफ्नो ठाउँबाट निरन्तर प्रयत्नशील रहनु आवश्यक रहेको उहाँको भनाइ छ ।
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायपूर्ण, समतामूलक एवं सुसंस्कृत समाज र समृद्ध राष्ट्र बनाउने शहीदको सपनालाई मूर्त रूप दिन आआफ्नो तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकालाई इमानदारीसाथ पूरा गर्न आग्रह गर्नुभएको छ । शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सो आग्रह गर्नुभएको हो । शहीदको बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ । यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीदहरूको सपना पूरा गर्न हातेमालो गर्दै अघि बढ्न आह्वान गर्नुभएको छ । उहाँले चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ सङ्कल्पित रहेको बताउनुभएको छ । शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले आजको दिन नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने शहीदहरूप्रति विशेष सम्मान व्यक्त गर्ने दिन भन्दै उहाँले परिवर्तनका पक्षमा भएका सम्पूर्ण आन्दोलनमा आफ्नो जीवन अर्पण गर्ने महान् शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुका साथै सम्पूर्ण बेपत्ता योद्धाहरूको स्मरणसहित उच्च सम्मान तथा आन्दोलनका क्रममा घाइते भएका योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घायुको कामना गर्नुभएको छ । यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै देश र लोकतन्त्रको हित रक्षाका निमित्त सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रूपान्तरणका लागि सङ्कल्प गर्न सबैसँग आग्रह गर्नुभएको छ ।
काठमाडौं: आज शहीद दिवस । प्रजातन्त्र स्थापना एवम् पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा आज विविध कार्यक्रम गरी मनाइन्छ । विसं २०१२ सालदेखि हरेक वर्ष शहीदको सम्झनामा माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गरिन्छ । जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा हरेक माघ १६ गते शहीद दिवस मनाइन्छ । पछिल्ला वर्षहरुमा शहीद दिवसको दिन अन्य जनआन्दोलनमा प्राण आहुति दिने योद्धाहरूको पनि सम्मान गरिन्छ । अहिले बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी हुँदैछ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपाससम्मिलित टोलीले लैनचौर पुगेर ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नेछ । यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गरेका शहीदको सम्झनामा काठमाण्डौको गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय शहीद स्मारकमा पनि आज कार्यक्रम हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोकर्णको शहीद स्मृति स्तम्भमा शहीद तथा बेपत्ता अभिलेख शुभारम्भ र राष्ट्रिय शहीद स्मारक उद्घाटन गर्ने तयारी छ । २०६३ सालअघि शहीद दिवसका दिन राज्यका तर्फबाट शहीदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरमा रहेको शहीद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । शहीदगेटमा पनि विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् । पछिल्लो समय नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा शहीदप्रति श्रद्धाञ्जली गर्ने स्थल राखिने घोषणा गरिएको छ । तर, त्यो सञ्चालनमा आउन सकेको छैन । शहीदको स्पष्ट परिभाषा नगरि पछिल्लो समय जो सुकैलाई घोषणा गरिँदा शहीदको गरिमा नै घटेको टिप्पणी पनि हुने गरेको छ । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाण्डौको टेकुमा रहेको पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।
बागलुङ: बागलुङको विद्या मन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिएको छ । प्रेस सेन्टर नेपाल बागलुङले १९ औँ स्थापना दिवसको अवसरमा आयोजित निःशुल्क शिविर सञ्चालन गरेको हो । शिविरमा कक्षा १ देखि १२ सम्म अध्ययनरत १३६ जना विद्यार्थीको आँखा जाँच गरिएको छ । आँखा परीक्षण गरिएका विद्यार्थीमध्ये ११ जनामा कम देख्ने, टाढा र नजिकको नदेख्ने समस्या पहिचान भएको नेत्र सहायक गणेश महतोले जानकारी दिनुभयो । उनीहरुलाई समस्याअनुसार चश्मा तथा औषधी प्रयोग गर्न सुझाइएको छ । विद्यार्थीको उज्यालो भविष्यका लागि शिविर आयोजना गरेको प्रेस सेन्टर बागलुङका अध्यक्ष थामन थापाले बताउनुभयो । सो अवसरमा माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा परी मृत्युवरण गर्नुभएका पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा ‘पत्रकार त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गर्ने घोषण गरिएको छ । पौडेल पत्रकार महासंघ गण्डकी प्रदेशको संस्थापक अध्यक्ष तथा हालको केन्द्रीय सदस्य र प्रेस सेन्टर नेपालको केन्द्रीय उपाध्यक्ष हुनुन्थ्यो । हरेक बर्ष एक जना पत्रकारलाई पुरस्कृत गर्नेगरी पुरस्कार घोषण गरिएको सेन्टरले जनाएको छ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको एक नेताले जानकारी दिए । रविले आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको थियो । सँगै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट पदमुक्त भएका थिए भने उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गुमेको थियो ।
पर्वत: पुस्तौँदेखि खानेपानीको लागि कष्ट भोग्दैआएका पर्वतको फलेवास नगरपालिका –३ सङ्करपोखरीका बासिन्दाको खानेपानी समस्या अहिले आएर पूरा हुनेभएको छ । गाउँमा खानेपानीको स्रोत नहुँदा गाउँभन्दा तल रहेको लमाय खोलाको पानी लिफ्ट प्रणालीबाट गाउँमा लगिएपछि खानेपानीको समस्या समाधान भएको हो । लमाय खोलाबाट करिब १७ सय मिटर उचाइमाथि लिफ्टिङ गरी मैदानस्थित लिमिकोटमा पानी पुर्याइएको आयोजनाका सचिव कमल भुसालले जानकारी दिनुभयो । यसरी ल्याइएको पानी फलेवासको २ र ३ नम्बर वडाका १३ सय ४१ घरधुरीमा वितरण गरिने उहाँले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको सहयोगमा उक्त आयोजना सञ्चालन भएको हो । आयोजनाको ट्याङकी निर्माण, विद्युतीकरण, मुख्य पाइपलाइन बिस्तार लगायतको काम पुरा भइसकेको र वितरण पाइप जडान पछि घर–घरमा खानेपानी वितरण गरिने सचिव भुसालले जानकारी दिनुभयो । उपभोक्ता समितिका अनुसार आयोजनाको परीक्षण सफल भइसकेकाले पहिलो चरणमा पुरानो खानेपानी आयोजनाको लाइनमार्फत वितरण गरिनेछ । आयोजनाको मुख्य काम सकिए पनि घरघरै पाइपलाइन बिस्तार गरी उपभोक्तामा विद्युत मिटरसहितको धारा जडान गर्न अझै केही समय लाग्ने भुसालले बताउनुभयो । आर्थिक वर्ष २०७५–७६ देखि सुरु भएको आयोजनाको १८ करोड ८८ लाख ८५ हजार रुपियाँ लागत स्टिमेट गरिएको छ । आयोजनाबाट पाँच हजार ७२ उपभोक्ता लाभान्वित हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अन्तर्गतको इकाई कार्यालय कुश्माका प्रमुख इन्जिनियर शिवकुमार शाहले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म चार करोड तीन लाख रुपियाँ मात्र खर्च भएको छ । आयोजनाको भौतिक प्रगति धेरै भए पनि मन्त्रालयले पर्याप्त बजेट विनियोजन नगर्दा वित्तीय प्रगति २१.३४ प्रतिशत मात्रै भएको कार्यालयले जनाएको छ । बाँकी काम गर्न बजेट अभाव भएको इन्जिनियर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार धेरै जनसङ्ख्या लाभान्वित आयोजना भएकाले प्रदेश सरकारले समेत विशेष महत्त्वका साथ हेरेको र आवश्यक बजेट समयमै विनियोजन गर्ने प्रतिबद्धता आएकाले छिटो काम सम्पन्न गर्नेगरी बजेट विनियोजन हुने गण्डकी प्रदेश सरकारको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव सन्तोष कैनीले बताउनुभयो । उहाँले आयोजनाको काम छिटो सक्नेगरी कार्यविधिले मिल्नेसम्म बजेट थप गर्ने प्रतिबद्धता जनाउनुभयो । संवैधानिक अधिकारभित्रै पर्ने स्वच्छ खानेपानीको पहुँच आम सर्वसाधारणसम्म पुर्याउन मन्त्रालयले समेत सक्दो सहयोग गर्ने बताउनुभयो । मन्त्रालयले २०७५ फागुनमा लमाय खोला लिफ्ट खानेपानी आयोजना सुरु गरेको थियो । बजेट अभावका कारण उक्त आयोजनाको पानी बस्तीसम्म ल्याउन समस्या परेको थियो । आयोजनामा आवश्यक पर्ने विद्युत ल्याउन विद्युत प्राधिकरण लगायतका विभिन्न निकायसँग समन्वय र सहकार्य गरी काम अघि बढाउनुपर्ने भएकाले आयोजनाको काम केही ढिलाइ भएको उपभोक्ता समितिले जनाएको छ । लमाय खोलाको पानी मैदानमा ल्याएर घरघरै वितरण हुने भएपछि पुस्तौँदेखिको समस्या सहज हुने भन्दै उपभोक्ताहरू खुसी भएका छन् । सङ्करपोखरीको डाँडामा पानीको समस्याका कारण यहाँका स्थानीयहरू १ घण्टा लगाएर एक गाग्री पानी बोक्न बाध्य थिए । खानेपानी समस्या समाधानका लागि डहरे लेकबाट पनि पानी ल्याएको भए पनि दिगो रूपमा सञ्चालन हुन नसक्दा आकाशे पानीको भरमा बस्नुपरेको स्थानीय चित्राकुमारी क्षेत्रीले बताउनुभयो ।

