काठमाडौं: प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ । निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा(एमाले)ले २५ लाख ३४ हजार तीन सय २३ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २३ लाख ९९ हजार आठ सय ३१, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार सात सय १८, नेकपा(माओवादी केन्द्र)ले १० लाख ६२ हजार सात सय ४७ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ४५ हजार छ सय ५६, जनता समाजवादी पार्टीले तीन लाख २६ हजार तीन सय ७२ मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् । थ्रेस होल्ड कटाउनका लागि सङ्घर्षरत दलमा नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टी छन् । आयोगको विवरणअनुसार जनमत पार्टीले दुई लाख ६२ हजार आठ सय २६ मत प्राप्त गरेको छ भने एकीकृत समाजवादीले दुई लाख ५२ हजार २७ मत प्राप्त गरेको छ । बाँकी रहेको मतगणनामा ती दलले थ्रेस होल्ड कटाउने अपेक्षा राखेका छन् । आयोगका अनुसार नागरिक उन्मुक्ति पार्टीले दुई लाख ३७ हजार नौ सय ६२, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख २७ हजार नौ सय १८, नेपाल मजदूर किसान पार्टीले ७२ हजार आठ सय, हाम्रो नेपाली पार्टीले ५२ हजार आठ सय ४३ मत, मंगोल नेशनल अर्गनाइजेशनले ४५ हजार छ सय ६३, राष्ट्रिय जनमोर्चाले ४४ हजार आठ सय ७३, नेपाल सङ्घीय समाजवादी पार्टीले ३१ हजार दुई सय २९ र नेकपा९माले०ले २६ हजार नौ सय ७१ मत प्राप्त गरेका छन् । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कूल ४७ दलले निर्वाचन प्रक्रियामा भाग लिएका थिए । त्यसमध्ये सबैभन्दा अन्तिममा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार छ सय ९४ मत प्राप्त गरेको छ । त्यस्तै आयोगले प्रदेशतर्फको पनि समानुपातिकतर्फको मतगणना जारी राखेको छ । प्रदेश नं १ मा १५ लाख ८४ हजार आठ सय ६९ मतगणना भइसकेको छ । मधेश प्रदेशमा १६ लाख २५ हजार सात सय ५८, वाग्मती प्रदेशमा १५ लाख ९८ हजार चार सय ३४, गण्डकी प्रदेशमा नौ लाख १८ हजार आठ सय ३९, लुम्बिनी प्रदेशमा १८ लाख ५९ हजार ६२, कर्णाली प्रदेशमा पाँच लाख ७७ हजार आठ सय २९ र सुदूरपश्चिम प्रदेशमा आठ लाख सात हजार एक सय ३८ मत गणना भइसकेको छ ।
धनुषा: यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत धनुषा– ४ मा मतगणना जारी रहेको छ । मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लानुभएको छ । मतगणनाको सुरुदेखि नै नेकपा (एमाले)रघुवीर महासेठले अग्रता लिनुभएको थियो । मतगणनाको पछिल्ला विवरण अनुसार यादवले छ सय ८६ मतले अग्रता लिनुभएको छ । उहाँले २७ हजार दुई सय छ मतप्राप्त गर्नुभएको छ भने महासेठले २६ हजार पाँच सय २० मत प्राप्त गर्नुभएको मतदान अधिकृत सुदीप दङ्गालले जानकारी दिनुभयो ।
काठमाडौंः मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बन्नुभएको छ काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैजुकी सरस्वती लोहनी अधिकारी । आफ्नै घरमा अचार उत्पादन सुरु गर्नुभएकी अधिकारीले नेपाल र विदेशमा अचार बिक्रीवितरण गरेर तीन वर्षमा रु ५० लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैजुमा ‘माई पिकल हाउस’ सञ्चालन गर्दै आउनुभएकी अधिकारीले कोरोना महामारीको समयमा सुरु गर्नुभएको अचार उद्योगबाट पर्याप्त आम्दानी गर्नुभएको हो । तारकेश्वर उज्वल महिला समूहको सचिव भएको समयमा नगरपालिकाले दिएको अचार बनाउने तालिममा सहभागिता हुनुभएकी अधिकारीले नगरपालिकाकै कारण अचार बनाउन थाल्नुभएको हो । अधिकारी अहिले सो महिला समूहको सल्लाहकार हुनुहुन्छ । “नगरपालिकाले हामीलाई तालिम दिएसँगै अचार बनाउन अग्रसर ग¥यो, सुरुमा बाध्यताले मसहित पाँचजना मिलेर अचार उद्योग सञ्चालन ग¥यौँ, पछि उद्योगको भविष्य राम्रो देखेर एक्लैले उद्योग सञ्चालन गरेकी हुँ,” उहाँ भन्नुहुन्छ । तनहुँ घर र नुवाकोट माइती भएकी अधिकारी विगत २२ वर्षदेखि श्रीमान् राम अधिकारीले काठमाडौँको बागबजारमा सञ्चालन गरेको ‘बिआर प्रिन्टर प्रेस’को काम गर्दैआउनुभएको थियो । अचार बनाउने तालिम लिएसँगै छापाखानाको काम छाडेर हाल आफ्नै अचार उद्योगमा व्यस्त हुनुहुन्छ । उहाँले अचार उद्योग सञ्चालन गर्न परिवारको समेत राम्रो साथ र सहयोग पाउनुभएको छ । विसं २०७६ फागुनदेखि सञ्चालनमा आएको उक्त अचार उद्योगमा पछिल्लो समय छ जनाले रोजगार पाउनुभएको छ । नियमित रुपमा छ जनाले काम गर्दै आए पनि धेरै उत्पादन हुने समयमा कामदारको सङ्ख्या थपघट हुने गरेको उहाँको भनाइ छ । सुरुको समयमा रु ५० हजार लगानी गरेर मेसिन, भाँडाकुँडा, ढकतराजु र अचारलाई आवश्यक पर्ने सामाग्री खरिद गरेर एउटा कोठाबाट सञ्चालन गरिएको उक्त उद्योग हाल ६ कोठामा सञ्चालित छ । मिक्स अचार, टिमुरको छोप र मेथीको टुसाको अचारबाट सुरु भएको उक्त उद्योगमा हाल १५ किसिमका अचार उत्पादन हुँदै आएको अधिकारी बताउनुहुन्छ । हाल उक्त उद्योगमा मिक्स, टिमुर, मेथी, आँप, अकबरे, लप्सी, कागती, मुला, करेला, गुन्द्रूक, भट्टमास, सिद्रा, टिमुर मिक्स, सिद्रामाछा, काँक्रो र तामाका अचार उत्पादन हुन्छन् । माई पिकल हाउसमा उत्पादित अचार हाल काठमाडौँ, भक्तपुर, ललितपुर र चितवन बिक्रिवितरण हुँदै आएको छ । नेपालबाहेक अष्ट्रेलियामा बढी अचार बिक्रि हुने गरेको छ । यस्तै, क्यानडा र अमेरिकामासमेत अचार निर्यात हुँदै आएको सञ्चालक अधिकारीले बताउनुभयो । वैदेशिक रोजगार र अन्य कामका लागि विदेश जाने नेपालीले उद्योगमै आएर अचार लैजाने गरेको उहाँ बताउनुहुन्छ ।
काठमाडौं: दोलखाका विवादित मतदानस्थलमा फेरि चुनाव हुने भएको छ । ४ मंसिरमा भएको मतदानमा बुथ क्याप्चर भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले उजुरी गरेका थिए । त्यसपछि निर्वाचन आयोगले एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो । त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले फेरि मतदान गर्न लागेको श्रोतले बताएको छ । सिवाकोटीले बैत्यश्वरको बैत्यश्वर मावि र वडा कार्यालय पिपलबोट मतदान केन्द्र, तामाकोशीको अमर मावि मतदान केन्द्र, शैलुङको नविन मावि र मेलुङ ४ को जुके प्रावि मा पुन मतदानको माग गरेका थिए । आयोगको बोर्ड बैठकले यी सहितका विवादमा परेका अरु केही मतदानस्थलमा फेरि चुनाव गर्ने निर्णय गरेको हो । आयोगले फेरि मतदान गर्न लागेका मतदानस्थलको सूचि भने आइसकेको छैन । दोलखामा सिवाकोटीसँगै नेकपा माओवादी केन्द्रका गंगा कार्कीसहितका २१ जना चुनावी मैदानमा छन् ।
सुनसरी: सुनसरी ४ को स्थगित मतगणना अनिश्चित भएको छ । ४ बजे बस्ने भनिएको सर्वदलीय बैठक समेत अनिश्चित हुँदा अन्योलता सिर्जना भएको छ । बिहान ९ बजेदेखि झण्डै ४ घण्टा बसेको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएपछि अर्को बैठक बस्न नसकेको हो । बराहक्षेत्र ८ को मतगणना हुँदै गर्दा ब्यालेटभित्र नभएको ६ सय मत नेकपा एमाललेको पक्षमा जोडिएको आरोप लगाउँदै मतगणना रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माग गरेका थिए । मन्त्री कार्कीले आइतबार बिहानको बैठकमा भएको छलफल र अब के गर्ने भन्ने विषयमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिन मानेनन् । उनले यस विषयमा अहिले केही नबोल्ने बताए। सुनसरीका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले समेत कुनै प्रतिक्रिया दिएका छैनन् । पराजय हुनेदेखेपछि सत्ता र शक्तिको आडमा काङ्ग्रेसले बखेडा झिकेको एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले आरोप लगाएका छन् । नेपाली कांग्रेस पुनः मतगणनाको पक्षमा रहेको छ । एमालेले ६ सय मतलाई निष्क्रिय गरी सहमतिका साथ गणनालाई निरन्तरता दिइनुपर्ने धारणा राखेको छ । एमाले पुनः मतगणना गर्ने पक्षमा छैन । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपसभापति तथा उम्मेदवार जीवनकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै पुनः मतदानको माग गरेका छन् । बराहक्षेत्र नगरपालिकाका १० र ११, भोक्राहाका ७ र ८, हरिनगराका ६ र ७, कोशी गाउँपालिकाका ५ र ६ गरी ८ वटा वडाको मत गणना गर्न बाँकी छ । बराहक्षेत्रका २ वटा वडा, भोक्राहाको ८ नं वडा, हरिनगराको दुई वटै वडा र कोशीको ५ न वडा काङ्ग्रेसको पकड क्षेत्र हो । भोक्राहा ७ र कोशी ६ का दुई वटा वडा एमालेको पकड क्षेत्र हो ।
पोखरा: गण्डकी प्रदेशसभामा स्याङ्जाको क्षेत्र नं २ मा बाहेक सबै निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । कूल ११ जिल्ला रहेको गण्डकी प्रदेशमा प्रत्यक्षमा प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ ३६ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा भएकामा हालसम्म प्रतिनिधिसभातर्फ १७ र प्रदेशसभातर्फ ३४ ठाउँको चुनावी परिणाम घोषणा भइसकेको छ । मनाङको प्रदेश निर्वाचन क्षेत्र९२० मा राजिव गुरुङ निर्विरोध निर्वाचित हुनुभएको थियो । स्याङ्जा क्षेत्र नं २ मा नेकपा एमालेले निर्वाचनमा धाँधली भएको भन्दै पुनः मतदानको माग गरेका कारण त्यहाँ मतगणना सुरु हुन सकेको छैन । हालसम्मको नतिजाले प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो देखिएको छ भने समानुपातिकमा नेकपा एमाले पहिलो देखिएको छ । कांग्रेसले गण्डकी प्रदेशसभामा १६ स्थानमा जित हासिल गरेको छ । यसअघि २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभातर्फ प्रत्यक्षमा नवलपुर क्षेत्र नं १ मा मात्रै विजयी बनेको थियो, भने प्रदेशसभामा जम्मा छ स्थानमा जितेको थियो । उक्त चुनावमा समानुपातिकबाट नौ स्थान गरी कूल १५ सिट हासिल गरेको कांग्रेसले अहिले भने प्रत्यक्षमा नै १६ सिट सुरक्षित गरी पहिलो पार्टी बनेको हो । यस निर्वाचनमा गठबन्धनका कारण कांग्रेसले प्रतिनिधिसभामा १२ निर्वाचन क्षेत्रमा उम्मेदवार बनाएको थियो भने प्रदेशसभामा २२ उम्मेदवार बनाएको थियो । अघिल्लो निर्वाचनमा गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १० सिट गरी २७ सिट हासिल गरेको नेकपा एमाले यस पटकको निर्वाचनमा उक्त जितलाई सुरक्षित गर्न सकेन । यस पटकको निर्वाचन परिणामअनुसार प्रत्यक्षतर्फ एमाले प्रतिनिधिसभातर्फ पाँच स्थानमा विजयी बनेको छ भने प्रदेशसभातर्फ १२ स्थानमा विजयी बनेको छ । एमालेले प्रतिनिधिसभामा १८ वटै क्षेत्रमा र प्रदेशसभामा ३४ स्थानमा उम्मेदवारी दिएको थियो । समानुपातिकमा भने हालसम्मको जारी मतगणनामा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा एमाले पहिलो बनेको छ । अघिल्लो निर्वाचनमा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा तीन स्थानमा जित हासिल गरेको नेकपा माओवादी केन्द्र अहिले भने दुई स्थानमा मात्रै विजयी बनेको छ । कांग्रेस सहितको पाँच दलीय गठबन्धनका क्रममा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ चार स्थानमा उम्मेदवारी दिएको थियो । त्यस्तै अघिल्लो निर्वाचनमा प्रदेशसभातर्फ प्रत्यक्षमा नौ स्थान जितेको माओवादी केन्द्र अहिले पाँच ठाउँमा मात्रै विजयी बनेको छ । अघिल्लो निर्वाचनमा समानुपातिक तीन सहित गण्डकी प्रदेशसभामा माओवादीले १२ सिट सुरक्षित गरेको थियो । अघिल्लो निर्वाचनमा गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ दुई सिटमा निर्वाचित बनेको राष्ट्रिय जनमोर्चाले समानुपातिकबाट एक गरी तीन सिट कायम गरेको थियो । अहिले भने जनमोर्चाले प्रदेशसभामा उम्मेदवार उठाएन । प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङ–१ बाट विजयी बन्नुभएको छ । कांग्रेस सहितको गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी)ले गण्डकीमा जित निकाल्न सकेन । प्रतिनिधिसभातर्फ कास्की–२ र प्रदेशसभातर्फ नवलपुर–१ (२) मा उम्मेदवारी दिए पनि दुवैमा पराजय भोगेको छ । गण्डकी प्रदेशमा समानुपातिकतर्फ एमालेले तीन लाख ४० हजार पाँच सय ३३, कांग्रेसले तीन लाख १७ हजार पाँच सय ९६ र माओवादी केन्द्रले एक लाख १५ हजार तीन सय ६६ मत प्राप्त गरेको छ ।
काठमाडौं: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ दशमलव ४३ अङ्कले उकालो लागेर एक हजार नौ सय ६५ दशमलव ९८ मा पुगेको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३४ अङ्कले उकालो लागेर तीन सय ८६ दशमलव २६ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषबाहेक अरु सबै उपसमूहको शेयर मूल्य उकालो लागेको छ । नेप्सेका अनुसार कूल दुई सय ३३ कम्पनीका ४२ लाख २३ हजार आठ सय ६७ कित्ता शेयर रु दुई अर्ब दुई करोड ५४ लाख ८९ हजार ५२ मूल्यमा कारोबार भए । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब २७ अर्ब ९४ लाख ७२ हजार आठ सय ६९ मा पुगेको छ । कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४५ करोड चार लाख सात हजार एक सय १९ बराबरको कारोबार भयो । नबिल बैंक रु १२ करोड तीन लाख २१ हजार नौ सय ८८, नेपाल दूरसञ्चार कम्पनी रु नौ करोड ७९ लाख ६३ हजार आठ सय ३३, शिवम् सिमेन्ट रु आठ करोड १८ लाख एक हजार चार सय २५ र नेष्डो समृद्धि लघुवित्त रु छ करोड छ लाख पाँच हजार दुई सय २९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार डिप्रोक्स लघुवित्त आठ दशमलब २१, जीवन विकास लघुवित्त सात दशमलव ४३, कुमारी बैंक छ दशमलव ७७, ग्रीनलाइफ हाइड्रोपावर छ दशमलव ५७ र नेष्डो समृद्धि लघुवित्तका लगानीकर्ताले छ दशमलव ५४ प्रतिशतले कमाएका छन् । त्यस्तै एनएमबी हाइब्रिड फण्ड पहिलो तीन दशमलव ११, प्रभु सेलेक्ट फण्ड दुई दशमलव २६, एनआइसी एशिया ब्यालेन्स फण्ड दुई दशमलव शून्य दुई, कुमारी बैंकको ऋणपत्र दुई र लक्ष्मी बैंकको ऋणपत्रका लगानीकर्ताले पनि दुई प्रतिशतले गुमाएका छन् ।
पोखरा: सूचनाको हकका लागि पोखरा महानगरको वडा सञ्जाल विस्तार अभियान अन्तर्गत ६ नं वडा सञ्जाल विस्तार एव प्रशिक्षण कार्यक्रम शनिवार पोखरामा सम्पन्न भएको छ । प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न ६ का अध्यक्ष विष्णु बहादुर भट्टराईले वडाभित्र भए गरेका सार्वजनिक काम कार्यको सूचना माग्न आउने जो कोहीलाई पनि सूचना दिन वडा सधैं तत्पर रहेको र यसले वडाका जनप्रतिनिधिहरूलाई जनताप्रति उत्तरदायी रहन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकोमा खुशी व्यक्त गरे । वर्तमान राजनिति परिवर्तनको राजनिति भएकाले समाज र राष्ट्र भ्रष्टचार मूक्त अभियान तर्फ उन्मुख रहेको बताउदै अध्यक्ष भट्टराईले सूचनाको हकले समग्र नेतृत्व पंतिलाई नै खबरदारी गरिरहेकोमा अभियन्ताहरूको प्रशंसा समेत गरेका थिए । सूचनाको हकका लागि जिल्ला सञ्जाल कास्कीका उपाध्यक्ष शिवराज बस्ताकोटी शिव दाईले वडा नं ६ का टोल विकास संस्थाका प्रतिनिधिहरूलाई सूचनाको हक सम्बन्धि प्रशिक्षण दिएका थिए । कार्यक्रममा महिला वडा सदस्य पवित्रा थापा, टोल विकास संस्थाका प्रतिनिधिहरू जुना अधिकारी र सुशिला वाग्लेले सूचनाको हकको विषयमा बोलेका थिए । सञ्जालले दुर्गा प्रसाद तिमिल्सीनाको संयोजकत्वमा १६ सदस्यीय वडा सञ्जाल समेत गठन गरेको छ । नव गठित सञ्जालमा माधव पहारी, भिष्मा नेपाली, बुद्धिनाथ पाण्डे, रामेश्वर न्यौपाने, सुशिला वाग्ले, रेणु लामिछाने, जुना अधिकारी, नविन त्रिपाठी, आविस्कार तिमिल्सिना, कबिन नेपाली, शंकर तिवारी, मुक्तिराज रेग्मी, पशुपति तिमिल्सिना, दिलिप आचार्य, बिष्णु देवकोटा र धनेश थापा रहेका छन । सूचनाको हकका लागि पोखरा महानगरका अध्यक्ष अनिल थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष टिका आचार्य सुवेदी र कार्यक्रम सञ्चालन संस्थाका सचिव सागर कार्कीले गरेका थिए ।
पोखरा: इ.अ.स पश्चिमाञ्चल क्याम्पस, लामाचौर पोखरामा शनिबार पूर्वविद्यार्थीसँग पुर्नमिलन कार्यक्रम (२०७९) सम्पन्न भएको छ । पश्चिमाञ्चल क्याम्पसको ३५ औं वार्षिक उत्सवको पूर्वसन्ध्यामा क्याम्पस प्रशासनद्धारा स्थापनाकालदेखि अहिलेसम्म क्याम्पसमा अध्ययन गरेका सम्पूर्ण विद्यार्थीहरूसँग पुनर्मिलन गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा पूर्वविद्यार्थी मञ्च, पश्चिमाञ्चल क्याम्पस तदर्थ समितिका सचिव उमेश रुपाखेतीले पूर्वविद्यार्थी मञ्चका लागि विधान तयार गरी जिल्ला प्रशासनमा ‘पूर्व विद्यार्थी मञ्च, पश्चिमाञ्चल क्याम्पस’ दर्ता प्रक्रियालाई अघि बढाएकोमा आफूहरू हर्षित रहेको जानकारी गराउनु भएको थियो । क्याम्पसका सहायक क्याम्पस प्रमुख ई. सुरेश तिमिल्सिनाले क्याम्पसका गतिविधिहरू र भावी कार्ययोजनाका बारेमा गहन प्रस्तुति दिनुका साथै देशका विभिन्न क्षेत्रका नीति निर्माता, सफल व्यवसायी तथा प्राविधिकका रूपमा रहेका पूर्वविद्यार्थीहरू क्याम्पसलाई गतिशील गराउने गौरवका आधार भएको वताउनु भयो । क्याम्पसका पूर्वविद्यार्थी उर्जा सचिव श्री रामकुमार श्रेष्ठ र ई. दामोदर तिवारीको पहलमा क्याम्पसको नवनिर्मित भवनमा २० किलोवाटको सोलार उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय, गण्डकी प्रदेश सरकारको सहयोग प्राप्त भएको, त्यसैगरी पूर्वविद्यार्थी ई.राम पराजुली, ई. सोभियत खड्काको पहल तथा पूर्वविद्यार्थी निवर्तमान भौतिक योजना तथा सहरी विकास पुर्वाधारमन्त्री कुमार खड्काको सहयोगमा क्याम्पसको सिभिल एकेडेमिक ब्लकको मल्टिमिडिया हल निर्माण कार्य भइरहेको तथा पूर्वविद्यार्थीहरू ई.धुब्र भट्टराई र ई.नविन गौतमको पहलमा क्याम्पस परिसरभित्र ओपन जिम निर्माण कार्य पोखरा महानगरपालिकाको सहयोगमा सम्पन्न भएकाले सम्बद्ध सबैप्रति क्याम्पस परिवार आभारी रहेको वताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि निवर्तमान माननीय मन्त्री कुमार खड्काले यस क्याम्पसमा आफूले अध्ययन गर्दाको समयभन्दा अहिले क्याम्पस स्तरोन्नति भई नयाँ नयाँ कार्यक्रमहरू थपिएकाले आवश्यकताहरू पनि बढ्दै गईरहेको वताउनुभयो । त्यसैले गर्दा पनि क्याम्पसमा अध्ययन सम्पन्न गरेर कार्यक्षेत्रमा लागेका विद्यार्थीहरू आफैले मनन् गरी क्याम्पसलाई आवश्यक सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । क्याम्पसका क्याम्पस प्रमुख ई. निर्मलप्रसाद बरालले क्याम्पसका लागि अत्यावश्यक भौतिक पूर्वाधारको विकासमा पूर्वविद्यार्थीहरूको अविस्मरणीय योगदान रहँदै आएको र आगामी दिनहरूमा पनि साथ सहयोग आवश्यक रहने वताउँदै उपस्थित सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । क्याम्पस प्रमुख बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ईलेक्ट्रोनिक्स तथा कम्प्युटर विभागका उपप्राध्यापक होमनाथ तिवारीले स्वागत् मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन क्याम्पसका पुर्वविद्यार्थी तथा सिभिल विभागमा कार्यरत उपपा्रध्यापक नारायणप्रसाद दवाडीले गर्नुभएको थियो ।

