पाल्पा: पाल्पा निर्वाचन क्षेत्र १ बाट नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गाहालाई १० हजार ८ सय ४७ मतान्तरले पराजित गर्दै आचार्य निर्वाचित भएका हुन् । आचार्यले ३१ हजार १ सय ३ मत पाउँदा कांग्रेसका गाहाले २० हजार २५६ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै स्वतन्त्र उम्मेदवार विपिन कँडेलले दुई हजार आठ सय ६३, जनता समाजवादी पार्टी नेपालका मेहरमान रानाले ८५, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर सिंजालीले दुई सय ५२, मङ्गोल नेशनल अर्गनाइजेशनका थमनबहादुर बुढामगरले एक हजार नौ सय १६ र राष्ट्रिय जनमुक्ति पार्टीका उजरसिं दर्लामीले ११५मत ल्याए । आयोगका अनुसार स्वतन्त्र उम्मेदवारहरु नारायण न्यौपानेले २७, राजु सुनारले ६८ र डोलराज तिमिल्सिना (पुतली चिह्न) ले १० मत प्राप्त गरे । पाल्पा १ मा ९६ हजार ३३ मतदाता रहेकोमा निर्वाचनमा ५८ हजार चार सय ९१ मत खसेको थियो । जसमध्ये १ हजार ४०७ मत बदर भएको छ ।
गोरखा: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलका नेतृत्वहरुले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । गोरखा २ बाट चुनाव जितेका उनले सदरमुकाम गोरखामा भएको धन्यवाद एवं शुभकामना आदान प्रदान कार्यक्रममा अहिलेको निर्वाचनमा राजनीतिक एजेण्डा र विचारको अवमूल्यन किन भयो भनेर दलहरुले सोच्नुपर्ने बेला आएको बताए । ‘नेपाली जनताले पाएको लोकतान्त्रिक अधिकार र वडासम्म पुगेको सिंहदरबारको अधिकारलाई उल्ट्याउने कतै न कतैबाट चेष्टा भइरहेको छ, यो निर्वाचनको क्रममा पनि त्यस्ता चेष्टा भएको देखियो,’ उनले भने, ‘कुनै राजनीतिक सिद्धान्त, विचार र एजेण्डामा नभइ आवेगमा आएर भ्रमित पार्ने संकेत देखिएकाले दलका नेतृत्वहरु गम्भिर भएर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ ।’ कसैलाई आलोचना गर्नु र आरोप लगाउनुभन्दा एक पटक आफैँभित्र फर्केर आफ्ना कमजोरी केलाउन दलका नेतृत्वहरुलाई उनले आग्रह गरेका छन् । उनले यसपटकको निर्वाचनमा अपेक्षा अनुसारको नजिता आउन नसकेको उनले स्वीकार गरे । ‘परिणात्मक रुपमा गठबन्धन सफल भयो, गोरखामा गठबन्धनका सबै उम्मेदवार विजयी भए तर जस्तो आशा र अपेक्षा थियो त्यो देशभर देखिएन, त्यसका लागी गठबन्धनका दलहरुले केही अभ्यास गर्नुपर्ने भएको छ,’ उनले भने ।
चितवन: राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जनताका पक्षमा एकपक्षीय भएर लाग्ने बताउनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ निर्वाचित प्रमाणपत्र वितरण कार्यक्रममा उहाँले देशहित, नागरिक र जनजीविकाका लागिसँगै अघि बढ्ने बताउनुभयो । समाजलाई टेवा दिने र मुलुकवासीका लागि काम गर्ने आफ्नो उद्देश्य हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी निर्वाचित सांसद फरक फरक पार्टीको भए पनि एउटै कित्तामा छौँ ।” जनजीविकाको मुद्दामा एकै ठाउँमा उभिएर सहकार्य गर्न आफू तयार रहेको उहाँले बताउनुभयो । निर्वाचनमा आफ्नो पार्टीले कसैसँगै गठबन्धन नगरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “देश हितका लागि, नागरिकका लागि आवश्यक चिजमा गठबन्धन आवश्यक परे खुलेर साथमा हुनेछौँ ।” कार्यक्रममा चितवन क्षेत्र नं २ (१)बाट निर्वाचित प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवाल र २(२) बाट निर्वाचित उत्तम जोशीले देश तथा जनताको पक्षमा आफूहरु निरन्तर लाग्ने बताउनुभयो । सो अवसरमा मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले प्रमाणपत्र वितरण गर्दै निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
काठमाडौँ: पिठ्युँमा झोला, बायाँ हातमा पासपोर्ट र दायाँ हातले सुटकेस समातेर विमानस्थल पस्दै गर्दा बिदाइ गर्न आएका छोरा, छोरी र श्रीमतीले गरुङ्गो मनले हात हल्लाए । सङ्खुवासभा बानाका द्रोण कोइराला (३८)ले पनि हात हल्लाउँदै बिदाइको जवाफ फर्काउनुभयो मन गरुङ्गो बनाउँदै । यही मङ्सिर ४ मा भएको आम निर्वाचनको सरगर्मीमा रमाउँदै आफ्नो कर्मथलोतर्फ उहाँ लाग्नु भएको हो । कोइरालासँगै खाडी मुलुक जाने अन्य युवा श्रमिकहरु पनि त्यसरी नै हात हल्लाउँदै विमानस्थलभित्र पसे । सबैका आँखा रसिला थिए, व्यथा एउटै थियो । परिवारसँगै बसेर रोजगारी गर्ने चाहना हुँदाहुँदै केही उपाय नदेखेपछि घर व्यवहार चलाउन उनीहरु विदेशी भूमिमा पसिना बगाउन हिँडेका थिए । श्रमिकका रुपमा मलेसियामा आठ वर्ष बिताएपछि केही महिनाअघि कोइराला नेपाल फर्कंदा मुलुकभर चुनावको माहोल गर्मराउँदै थियो । उहाँको गाउँ सङ्खुवासभाको बाना पनि राजनीतिक दलका चर्का चुनावी नाराले गुल्जार बन्दै थियो । केही समयपछि उहाँ मलेसिया फर्कने समय आयो । गाउँमा चुनाव पनि आयो, आफन्त, छिमेकीहरु कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने छलफलमा जुट्दै गर्दा उहाँलाई भने खल्लो अनुभव भयो । कारण उहाँ मतदाता हुनुहुन्थेन । त्यसैले भोट हाल्न पाउनु भएन । लामो समय परदेश बसेकाले उहाँले मतदाताको सूचीमा नाम लेखाउन पाउनु भएन । विदेशबाटै नाम लेखाउने व्यवस्था थिएन । “चुनावका दिन मत हाल्न नपाउँदा मन खिन्न त भयो नि”, उहाँले भन्नुभयो, “मत हाल्न नपाए पनि केही छैन, तर राम्रो उम्मेदवारले जीत हासिल गर्न सकोस् भन्ने उहाँको चाहना थियो ।” बुधबार दिउँसो एयर अरेबियाको विमानबाट मलेसिया जाने तरखरमा कोइराला लाग्दै गर्दा मुलुकभर जोडतोडका साथ मतगणना चलिरहेको छ । मतपेटिकाभित्र देशभरबाट सङ्कलित मतपत्रमा उहाँ र उहाँ जस्तै कैयन युवाले दिएको मत भने परेको थिएन । मतको तथ्याङ्कमा उहाँहरुको हिस्सा नभए पनि बुधबार श्रमका लागि विदेशिने करिब १५ सयको सूचीमा उहाँहरुको नाम सरकारले सुरक्षित राखेको छ । किनभने सरकारले त्यही सूची हेरेर अर्को महिना रेमिट्यान्स बढ्ला कि घट्ला भन्ने प्रक्षेपण गर्नेछ र सोहीअनुसार नीति बनाउने छ । चुनावका दिन भोट हाल्न नपाउँदा मन खिन्न भए पनि मतगणना हुँदै गर्दा देखिएका सुरुआती नतिजाले भने उहाँलाई खुसी बनाएको छ । “पुराना नेताले केही गरेनन्, यो चुनावबाट नयाँ नेता आइदिएहुन्थ्यो भन्ने लागेको थियो, त्यस्तै हुन्छ कि भन्ने लागेको छ”, उहाँले भन्नुभयो, “नयाँ नेताले यहीँ बस्ने र काम गर्ने वातावरण बनाइदिए उताभन्दा आधा तलब भए पनि आफ्नै देशमा काम गर्न पाए पुग्थ्यो ।” कोइरालासँगै श्रम गर्न मलेसिया जाँदै गर्नुभएका जनकपुरका दिलचन मुखियालाई पनि चुनावमा मतदान गरेर खाडीमा श्रमदान गर्न जानपुर्दा निको लागेको छैन । “हामी त भोट न हाल्ने हो, नेतालाई भोट चाहिएको छ र हामीलाई नोट”, मुखियाले भन्नुभयो, “हामीसँग भएको भोट दियौँ, अब नोट कमाउन मलेसिया जाँदैछु ।” उहाँको भाइ स्वास्थ्य सहायक विषय पढ्दैछन् । मलेसियामा कमाएको केही पैसा उनको पढाइ खर्च र बाँकी परिवारलाई पठाइदिने उहाँले सुनाउनुभयो । पाँचथर निक्लाजुङ–६ का निलम राई पनि बुधबार विमानस्थलभित्र पस्ने श्रमिकहरुको लाइनमा भेटिनुभयो । उहाँ श्रम भिसामा दोस्रो पटक दक्षिण कोरिया जाँदै हुनुहुन्थ्यो । कोरियाको कमाइले सन्तुष्ट मिले पनि दुःख सम्झँदा थोरै तलब भए पनि देशमै बसौँ भन्ने लाग्छ उहाँलाई । “कोरियामा त दुःख कति छ भनेर कुरा नगरौँ होला, त्यही तलब चार लाखसम्म हुन्छ भनेर मात्रै चित्त बुझाउने हो”, उहाँले भन्नुभयो । राई चुनावपछि बन्ने नयाँ सरकारले आफू जस्ता युवाका लागि स्वदेशमै जागिर खाने नीति ल्याइदिए हुन्थ्यो भन्ने आशा राख्नुहुन्छ । “मुलुक रेमिट्यान्सले धानेको छ, रेमट्यिान्स आएन भने पेट्रोलदेखि खाद्यान्न किन्ने पैसा पनि हुन्न, यही रेमिट्यान्सले गाडीदेखि सबै किन्नु परेको छ,” राईले भन्नुभयो, “अबको सरकारले सस्तो ब्याजदरमा ऋण दिएर उद्यमशीलताका लागि काम गरे हुन्थ्यो, जागिर खाने वातावरण बनाइदिए हामी जस्ता युवा विदेशिन पर्दैनथ्यो होला ।” राईजस्तै दोस्रो पटक कोरिया जान लाग्नुभएका बाग्लुङ भिमपोखराका विष्णुप्रसाद शर्मा (३१)ले आफू रहरले नभई बाध्यताले विदेश जानु परेको बताउनुभयो । “गाउँमा चुनावको माहोल बढ्दै थियो, तर मङ्सिर १ मा काठमाडौँ आउनु परेकाले मतदान गर्न पाइन”, उहाँले भन्नुभयो, “मतदान गर्न पाएको भए रमाइलो हुन्थ्यो तर केही छैन कोरियामा श्रमदान गरेर भए पनि देशका लागि सहयोग पुर्याउने छु ।” पाँचथरका राईको जस्तै सोच रामेछापका सूर्यबहादुर कार्कीको पनि छ । चार वर्ष मलेसियामा कमाएको १० लाख रुपैयाँ खर्चेर गोकर्णेश्वरमा सुरु गरेको गोलभेडा खेतीमा लगानी डुबेपछि उहाँ बुधबार फेरि मलेसिया जान लाग्नु भएको थियो । “अघिल्लो वर्ष कोरोना महामारीले केही गर्न सकिएन भने गत वर्ष समयमा बिउ पाइएन”, उहाँले भन्नुभयो, “समयमै काम हुन नसक्दा उत्पादन कम भयो, त्यही उत्पादनले पनि बजारमा राम्रो भाउ पाएन, अनि लगानी डुब्यो ।” बुधबार एयर अरेबियाको विमानमार्फत् मलेसिया जान लागेका २७ जनाको समूहका कार्की कृषिमा राम्रो गर्न सकिने भए पनि सो अनुसारको सरकारले वातावरण बनाउन नसकेको बताउनुहुन्छ । “अर्बौं रकमको डलर खर्चेर तरकारी खानु परेको छ, त्यही पैसा कमाउन हामी विदेश हिँडेका छौँ तर स्वदेशी उत्पादनलाई प्रोत्साहन नै गरेको देखिन्न”, उहाँले भन्नुभयो, “सकेसम्म विदेश नजाऔँ यतै केही गरौँ भनेर व्यावसायिकरुपमा गोडभेंडा खेती सुरु गरेँ तर काम गर्ने उपयुक्त वातावरण नहुँदा बीचमै व्यवसाय छाडेर विदेश पलायन हुनुप¥यो ।” परिस्थितिले खाडी जाने श्रमिकका पीडा बुझ्न खोज्ने नेताहरु नभएको कञ्चनपुरका नरेश बोहोराको बुझाइ छ । मलेसिया जान अघिल्लो दिन मात्रै काठमाडौँ आउनुभएका उहाँले भन्नुभयो, “हाम्रो कुरा राजनीति गर्नेले बुझ्दैनन्, बुझ्ने भए यसरी विदेशिनु पर्ने बाध्यता नै हुँदैन होला ।” बोहोरा चुनावलाई लिएर त्यति उत्साही पनि हुनुहुन्न । “चुनाव त आउँछ जान्छ, नेताहरु फेरिन्छन्, सरकार बनाउनेहरु फेरिन्छन्,” उहाँले भन्नुभयो, “तर हाम्रा दुःख फेरिन्नन्, विदेश जानुपर्ने अवस्था बदलिन्न ।” चुनावपछि मतगणना चलिरहँदा राजनीतिक दलहरुबीच कसले सरकार बनाउने भन्ने गृहकार्य सुरु भइसकेको छ । तर विमानस्थलमा झोला बोकी पैसा कमाउन विदेशिने श्रमिकहरुका बारेमा कमैले ध्यान दिएको पाइन्छ । चुनावका दिन मतदान गरेर श्रमदान गर्न विदेशिने युवाहरु अबको सरकारले आफ्नाबारेमा पनि ध्यान देओस् र स्वदेशमै बस्ने वातावरण बनाइदिओस् भन्ने चाहेका छन् ।
काठमाडौं: सिरहा–३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित भएका छन् । शुक्रबार दिउँसो सकिएको मतगणना अनुसार श्रेष्ठ २८ हजार ६४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धीे नेकपा माओवादी केन्द्रका विश्वनाथ साहले २६ हजार ८८२ मत पाए । तेस्रो स्थानमा रहेका जनमत पार्टीका दिनेशकुमार यादवले ११ हजार १४६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोवद्र्धनदास तत्माले १ हजार २५९ मत पाए । यो क्षेत्रबाट २०७४ सालमा एमालेका लीलानाथ श्रेष्ठ नै निर्वाचित भएका थिए ।
पोखरा: अवसर आएर पनि सफलता आफ्नो पक्षमा पार्न नसक्ने ‘अभागी’ नेताको विम्ब बोकेका थिए एमाले नेता दामोदर बैरागीले । २०७४ सालको निर्वाचनमा जिल्ला समन्वय समिति कास्कीको प्रमुख हुने चाहना थियो, तर मतदाताले वडा सदस्यमै हराइदिए । बैरागी २०७८ सालमा एमालेको कास्की जिल्ला अध्यक्ष बन्ने प्रतिस्पर्धामा थिए । तर एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीचको प्रतिष्ठाको लडाइँको चेपुवामा परे । कास्की जिल्ला अध्यक्ष पृथ्वीसुब्बा समूहका मनबहादुर गुरुङले जिते । माघ २०७७ मा भूमिसम्बन्धी समस्या समाधान आयोगको कास्की जिल्ला अध्यक्षमा नियुक्त भएका बैरागी शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि ६ महिनामै फालिए । लामो समयदेखि राजनीतिमा सहभागी भएर पनि कुनै लाभको पदमा पुग्न नसकेका बैरागी यसपटक भने प्रतिनिधिसभा सदस्यमा चुनिए । यसअघि वडा सदस्यमै पराजित बैरागीलाई यसपटक कास्की क्षेत्र नम्बर ३ का मतदाताले संघीय सांसदमा जिताएका छन् । कर बढाएको भन्दै जनस्तरमा आलोचित गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बरालप्रति मतदाताको विकर्षण र सत्तारुढ गठबन्धनको असन्तुष्ट पक्षको मत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले पाउँदा एमालेका बैरागीले चुनाव जिते । बैरागीले २२ हजार ९८० मत ल्याउँदा बरालले १७ हजार ५३५ मत पाए । उनीहरुबीचको मतान्तर ५ हजार ४४५ रह्यो । राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १८० मत ल्याए । सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँटका क्रममा कास्की–३ मा कांग्रेसको दाबी थियो । तर माओवादी केन्द्रले पाएपछि पार्टीभित्र असन्तुष्टि थियो । अर्कोतर्फ शहीदपुत्री अनिता भूर्तेलले बरालकै विरुद्धमा बागी उम्मेदवारी दिएकी थिइन् । उनले उल्लेख्य मत प्राप्त गर्न नसके पनि रामजीका विपक्षमा माहौल बनाउन सहयोगी बन्यो । अर्थमन्त्री बराल चुनावी घरदैलोमै रहेका बेला निर्वाचन आयोगले गण्डकी सरकारलाई चुनावको मुखमा घटाइएको करको दर सच्याउन निर्देशन दियो । यसले पनि बराललाई थप दबाबमा पार्यो । फलस्वरुप जनस्तरमा बढेको असन्तुष्टिको मत राष्ट्रिय स्वतन्त्र पार्टीले पायो भने एमालेले आन्तरिक असन्तुष्टिको केही मतबाहेक ठूलो जनमत जोगाउन सफल भए । अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट एमालेका जगत विश्वकर्माले चुनाव जितेका थिए । यसपटक कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतको पाँच दलीय गठबन्धन हुँदा माओवादी केन्द्रक बरालले जित्न सक्ने आँकलन नेताहरुको थियो । तर २०७४ सालमा प्रदेशसभामा बराललाई नै निर्वाचित गराउन खटिएका बैरागीले यसपटक उनलाई नै पराजित गरे । मजदुर संगठनको कामबाट राजनीतिमा परिचय बनाएका ५६ वर्षीय बैरागी २०३६ को विद्यार्थी आन्दोलनपछि राजनीतिमा आकर्षित भएका थिए । अनेरास्ववियु (एकता पाँचौं) को सहप्रारम्भिक कमिटी सदस्य हुँदै अध्यक्ष भएका उनी २०३९ मा नेकपा (माले) मार्फत् कम्युनिस्ट पार्टीमा लागेका हुन् । उनले २०४० देखि २०४३ सालसम्म अखिल नेपाल किसान संघमा र करिब तीन वर्ष भूमिगत बनेर पार्टीको काम गरेका थिए । २०४५ देखि १० वर्ष नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मार्फत मजदुर आन्दोलनमा सक्रिय उनी २०५३ मा एमाले कास्कीको सदस्य बने । पार्टीका विभिन्न तह र पदमा रहेर काम गरेको बैरागी २०७० मा एमाले कास्कीको सचिव बनेका थिए । अहिले उनी एमालेको गण्डकी संगठन कमिटीको सचिवालय सदस्य छन् ।
काठमाडौं: नेपाली कांग्रेस पार्टीमा बौद्धिक नेताको छवी बनाउनुभएका नेता डा चन्द्रकान्त भण्डारी दोस्रो पटक सदन प्रवेश गर्ने हुनुभएको छ । उहाँ गुल्मी १ बाट नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । कूल ६९ हजार छ सय ८३ मत खसेकामा भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी ज्ञवालीले ३२ हजार एक सय ५२ मत प्राप्त गर्नुभयो । पिता ईश्वरीप्रसाद र माता हरिकला भण्डारीको कोखबाट गुल्मीको हुँदा ७ मा २०१८ मा जन्मनुभएका उहाँले स्नातकोत्तरसम्मको शिक्षा हासिल गर्नुभएको छ । कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका भण्डारी सङ्घकै महामन्त्री हुनुभएको थियो । त्रिभुवन विश्वविद्यालयबाट उहाँले चार वर्षअघि समाजशास्त्रअन्तर्गत ‘राष्ट्र निर्माणमा भूमण्डलीकरणको प्रभाव’ विषयमा विद्यावारिधि गर्नुभएको हो । राजनीतिक यात्राका क्रममा नेता भण्डारीले पाँच वर्षभन्दाबढी जेल जीवन बिताउनुभएको छ । यसअघि उहाँ २०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । कांग्रेसको १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित नेता भण्डारी पार्टीको १४औँ महाधिवेशनमा उपसभापतिको उम्मेदवार हुनुहुन्थ्यो ।
गुल्मी: गुल्मी क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा नेपाली कांग्रेसका डाक्टर चन्द्र भण्डारी निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका भण्डारीले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई १ हजार ५९२ मतान्तरले पराजित गरेका हुन् । आधिकारीक रुपमा विजेता घोषणा हुन भने बाँकी रहेको छ । भण्डारीले ३३ हजार ७४४ मत ल्याउँदा ज्ञवालीले ३२ हजार १५२ मत ल्याए । ०६४ सालदेखि नै यी दुई नेता बीच चुनावी प्रतिस्पर्धा हुँदै आएको छ । ०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा भण्डारी र ज्ञवाली बीच नै प्रतिस्पर्धा भएको थियो । त्यतिखेर भण्डारी ज्ञवालीसँग पराजित भएका थिए । ०७० सालमा सम्पन्न दोश्रो संविधानसभा निर्वाचनमा पनि ज्ञवाली भण्डारीसँग नै पराजित भएका थिए । ०७४ सालको निर्वाचनमा भने भण्डारी ज्ञवालीसँग पराजित भएका थिए ।
महोत्तरी: महोत्तरी २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार शरत सिंह भण्डारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् । भण्डारीले २५ हजार १९० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार १२० मत ल्याए । यस्तै नेकपा एमालेका राम परीक्षण यादवले १० २५८ मत, जनमत पार्टीका उमेशकुमार यादव ५ हजार ९७१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका पवन कुमार झाले ३६० मत मात्र पाए ।

