जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

बागलुङ:   पछिल्लो समय ढोरपाटन नगरपालिकाले यस क्षेत्रलाई विकाससँग जोड्न थालेको छ । यस वर्षदेखि वडा नं ९ को ढोरपाटन उपत्यकामा नगर अस्पताल निर्माण गर्न सुरु भएको छ ।  जिल्लाकै सबैभन्दा दुर्गम मानिने ढोरपाटनमा नगर अस्पताल बन्न थालेपछि स्थानीयवासी खुसी भएका छन् । केन्द्र सरकारले विनियोजन गरेको साढे रु १४ करोड ७६ लाख लागतमा अस्पताल निर्माण हुन लागेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक केशव थापाले जानकारी दिनुभयो । पाखाथरमा निर्माण हुन लागेको अस्पताल १५ शय्याको हुने थापाको भनाइ छ । पाँच वर्ष अगाडिसम्म ढोरपाटनमा कुनै पनि स्वास्थ्य संस्था थिएनन् ।  नगरपालिकाले विसं २०७६ मा ढोरपाटन सामुदायिक स्वास्थ्य एकाइ र बर्थिङ सेन्टर स्थापना गरेको स्वास्थ्य शाखा संयोजक थापा बताउनुहुन्छ । त्यसभन्दा पहिले यहाँका स्थानीयवासी उपचारका लागि बुर्तिबाङ नै झर्ने गरेको उहाँको भनाइ छ । थापा भन्नुहुन्छ, “ढोरपाटनमा अहिले प्रसूति सेवाका लागि बर्थिङ सेन्टर छ, बर्थिङ सेन्टरसँगै नगरपालिकाले ढोरपाटन सामुदायिक स्वास्थ्य एकाइ सुरु गरेको छ, अहिले तीन स्वास्थ्यकर्मी र दुई कर्मचारीले सेवा दिइराख्नुभएको छ, हामी यहाँको सेवालाई थप विस्तार गर्ने योजनामा छौँ ।” नगर उपप्रमुख धनबहादुर कायतले नागरिकको सहजताका लागि ढोरपाटनमा नगर अस्पताल निर्माण सुरु गरिएको बताउनुभयो । उहाँले वर्षौँदेखि यहाँका सयौँ नागरिक सामान्य स्वास्थ्य उपचारका लागि पनि बुर्तिबाङ धाउनुपर्ने बाध्यता रहेको जनाउँदै अस्पताल निर्माणपश्चात यहीँ उपचार गर्न पाउने बताउनुभयो ।  ढोरपाटन उपत्यका क्षेत्रमा खास गरी घुम्ती बसाइँ हुने गर्छ । यहाँका वडा नं ६, ७, ८ र ९ का करिब तीन हजार बढी नागरिक बस्ने गर्छन् । यहाँका बासिन्दा हिउँदको समयमा अधिकारीचौर, बोबाङ लगायतका ठाउँमा झर्ने र बर्खाको समयमा ढोरपाटन बस्ने गरेका उपप्रमुख कायत बताउनुहुन्छ । अस्पताल निर्माणपछि ढोरपाटनसँगै रुकुमको तकसेरा र हुकाम मैकोट तथा म्याग्दीको जलजलाका नागरिकलाई उपचारमा सहज हुने उहाँको भनाइ छ । “अस्पताल नजिक नहुँदा केहीले बाटोमै ज्यान गुमाउनुपरेको छ, यहाँ अस्पताल बनिसकेपछि ढोरपाटनका नागरिक मात्र नभइ रुकुम र म्याग्दीका बासिन्दाले पनि सेवा लिन पाउने छन्, अहिले सामुदायिक स्वास्थ्य एकाइबाट सामान्य उपचार हुने गरेको छ”, उहाँले भन्नुभयो । स्थानीय कुलबहादुर विकले अस्पताल नजिकमा नहुँदा धेरैले अकालमा ज्यान गुमाउनु परेको बताउनुभयो । उहाँले अहिले नजिकैमा स्वास्थ्य एकाइ सञ्चालनमा आए पनि सामान्य उचार मात्रै हुने गरेको बताउनुभयो । अस्पताल निर्माणका लागि एसी कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । अस्पताल निर्माणका लागि सम्झौता भएर काम सुरु गरिएको निर्माण कम्पनीका प्रमुख दीपक अदैले बताउनुभयो । उहाँले आगामी २०८१ को असार मसान्तसम्म सक्ने गरी सम्झौता भएको र काम पनि सोहीअनुसार अगाडि बढाइएको जानकारी दिनुभयो । 

काठमाडौं:   यही मङ्सिर ९ गतेदेखि चलिरहेको ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)’ मा आज भारत र श्रीलङ्काका दुई नाटक, नाटकको पुस्तक विमोचन र साङ्गितिक प्रस्तुति हुँदैछ । इटालीको नाटक इभान हास्टिङ निर्देशित नाटक ‘स्याडो लिवेरेसन’को मञ्चन हुँदैछ ।  छायाँ नाटक र कचहरि नाटकको मिश्रितशैलीमा तयार पारिएको सहभागितामूलक यस नाटकमा यौन उत्पीडनको रोकथामको सन्दर्भलाई विषय बनाइएको छ । नाटकले आघातबारे अन्तक्र्रियामा आधारित अभ्यासको उपयोग गर्दै छाँया माध्यमद्वारा नाट्य थेरापीको प्रयाससमेत गर्दछ । श्रीलङ्काको नाटक ‘राजा मन वहला’ मञ्चन हुँदैछ । ‘राजा म दास हुँ’ भन्ने अर्थ लाग्ने नाटकमा एक दास, राजा, राजकुमार अनि प्रेमथिका नाम गरेको एउटा होनहार केटा नाटकमा एक दास, राजा, राजकुमार अनि प्रेमथिका नाम गरेको एउटा केटाले तीन फरक कथा सुनाउँछन् । पात्रहरुले आफ्नो नियतिको पर्दाफास गर्छन् र अन्त्यमा दर्शकहरुले यी तीनमध्ये श्रेष्ठ नायक को थियो भनेर छान्नुपर्नेछ । ‘नाटकमा शब्दको आकृतिः कस्तो देखिन्छ, कस्तो लेखिन्छ ?’ शीर्षकमा प्यानल डिसकसन समेत आज हुनेछ । त्यहाँ साहित्यकार नयनराज पाण्डे, उपेन्द्र सुब्बा, रङ्गकर्मी विमल सुवेदी, दिया मास्केसँग र लेखक, पत्रकार बसन्त बस्नेतले वार्ता गर्नेछन् । ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ भइरहेको महोत्सवमा छैटौँ दिनको अन्तिम कार्यक्रममा कलाकार हुम विसी र माधव त्रिपाठीले नेपाली लोकबाजाको साङ्गितिक प्रस्तुति दिनेछन् । मङ्सिर १७ गतेसम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन् । महोत्सवमा १८ नाटकका २५ मञ्चन तथा, अन्तक्र्रिया कार्यक्रम, कार्यशाला, सेमिनार हुँदैछ । 

काठमाडौं:  निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना गर्न निर्देशन दिएको छ । यही मङ्सिर ४ गते भएको निर्वाचनमा ती दुई क्षेत्रको मतदान गणना अघि बढ्न सकेको थिएन । त्यहाँ पुनः मतदानमा नजाने निर्णयसँगै अब मतगणना प्रक्रिया सुरु हुने आयोगले जनाएको छ । 

पोखरा:  कास्कीमा यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब पाँच प्रतिशत मत बदर भएको छ । तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा कूल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाता रहेकामा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ एक लाख ७८ हजार आठ सय छ मत खसेकोे थियो । त्यसमध्ये सदर मत एक लाख ७० हजार तीन सय ४४ र बदर मत आठ हजार चार सय ६४ रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।  त्यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ तीनवटै निर्वाचन क्षेत्रमा गरी छ हजार सात सय ३८ मत बदर भएको छ । जिल्लाको प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ छ हजार २० मत बदर भएको छ भने समानुपातिकतर्फ १० हजार तीन सय ८५ मत बदर भएको छ ।

काठमाडौं:   पुँजीबजारको आजको कारोबारमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज तीन दशमलव ५१ अङ्कले घटेर एक हजार नौ सय ४९ दशमलव ८५ अङ्कमा कायम भएको हो । आज दुई सय ३८ वटा कम्पनीको कूल २३ लाख ५५ हजार आठ सय ४५ कित्ता शेयर खरिद–बिक्री हुँदा कारोबार रकम भने रु ८४ करोड २६ लाख ९५ हजार तीन सयमा खुम्चिएको नेप्सेले जनाएको छ । आज ६४ वटा कम्पनीको शेयर मूल्य बढ्दा एक सय २४ वटा कम्पनीको भने घटेको छ । लघुवित्त र व्यापार समूहको उपसूचक क्रमशः शून्य दशमलव २७ र १६ दशमलव ४२ अङ्कले बढ्दा अरु सबै समूहको उपसूचक घटेको छ ।  सबैभन्दा बढी विकास बैंक समूहको उपसूचक १८ दशमलव ८५ अङ्कले घटेको छ । त्यस्तै, उत्पादन समूहको उपसूचक १८ दशमलव ३७, वित्त समूहको उपसूचक १७ दशमलव ८४, जीवन बीमा समूहको उपसूचक १७ दशमलव ५४, अन्य समूहको उपसूचक ९ दशमलव ७६ र निर्जीबन बीमा समूहको उपसूचक ७ दशमलव ५० अङ्कले घटेको छ । बैंकिङ समूहको उपसूचक शून्य दशमलव ३१, होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव ३८, जलविद्युत् समूहको उपसूचक दुई दशमलव २९, लगानी समूहको उपसूचक शून्य दशमलव २३ र म्युचुअल फन्डको उपसूचक शून्य दशमलव १२ अङ्कले घटेको छ । आजको कारोबारमा ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता चार दशमलव १७ प्रतिशतका दरले कमाएका छन्भने सबैभन्दा धेरै गुमाउनेमा लक्ष्मी इक्विटी फन्डका लगानीकर्ताले प्रतिकित्ता पाँच दशमलव ७६ प्रतिशतका दरले गुमाएका छन् । आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको रु चार करोड ७९ लाख ३४ हजार चार सय २३ बराबरको कारोबार भएको छ । कारोबार सङ्ख्याका आधारमा भने नविल बैंक लिमिटेडको शेयर चार सय ९६ पटक कारोबार भएको छ ।

काठमाडौं:   सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ । मङ्गलबार प्रतितोला रु ९७ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९७ हजार छ सय तोकिएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार नौ सय थियो ।  त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु पाँचले बढेर रु एक हजार दुई सय ९० पुगेको महासङ्घले जनाएको छ ।

पर्वत:   विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाउनुभएको छ ।  कुश्मास्थित जिपलाइनमा उहाँले मङ्गलबार साइकल कुदाउनुभएको हो ।  जिपलाइनमा साइकल कुदाउने काम पहिलो भएको बराल बताउनुहुन्छ । “अहिलेसम्म जिपलाइनमा साइकलबाट कसैले पनि यात्रा गरेको छैन”, उहाँले भन्नुभयो । साइकल हावामा कुदाएको जस्तो अनुभव भएको बरालले बताउनुभयो ।  पर्यटकीय सहर पोखराको लेकसाइडका बासिन्दा ३४ वर्षीय बरालले १० वर्षकै उमेरमा पोखराबाट काठमाडौँसम्म साइकलबाट यात्रा गरेपछि उहाँलाई साइक्लिङको नसा चढेको हो । त्योबेला पोखराबाट चार दिनमा काठमाडौँ पुगेपछि साइकलबाट यात्रा गरेरै बरालले विश्व घुम्ने योजना बनाउनुभयो । बरालले अहिलेसम्म विश्वका ७१ देशको साइकलबाटै यात्रा गर्नुभएको छ ।  बराल साइकल लिएर प्याराग्लाइडिङ, तिलिचो तालबाट कास्कीको सिक्लेसमा रहेको कपुचे ताल, कुरीडाँडा र लमजुङको दूधपोखरी पनि साइकलमा नै पुग्नुभएको छ । उहाँले एकै दिन साइकलबाट तीन सय किलोमिटर यात्रा तय गर्नुभएको छ ।    साहसिक पर्यटनका लागि नेपालकै पहिलो रोजाइको गन्तव्य बन्दै गएको पर्वतको कुश्मामा एकपछि अर्को साहसिक र रोमाञ्चक खेल थपिने क्रम जारी छ । बरालको जिपलाइनमा गरेको साइकलयात्राले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने जिपलाइनका कार्यकारी निर्देशक सुनिल बानियाँको विश्वास छ ।

 विराटनगर:  ‘मानवीय सेवामा योगदान गरौँ’ भन्ने नाराका साथ यही मङ्सिर १६ गते शुक्रबार विराटनगरको हाटखोलामा पहिलो पटक नेपथ्य लाईभ कन्सर्ट हुने भएको छ ।    विगत एक दशकदेखि सडकआश्रित व्यक्तिलाई  उद्धार गर्दै आइरहेको मानवसेवा आश्रमले नेपथ्य ब्याण्डसँगको सहकार्यमा उक्त कन्सर्ट गर्न लागेको हो ।  विराटनगरस्थित एक भाडाको घरमा आश्रित महिला, बालबालिका तथा बद्धबृृद्धाहरूका लागि निर्माण गर्न लागिएको भवन पूरा गर्न  आर्थिक सहयोग पुगोस् भन्ने उदेश्यले कन्सर्ट गर्न लागिएको उक्त आश्रमको प्रदेश नं. १ का संयोजक नवराज केसीले जानकारी दिनुभयो । आश्रमका लागि  आपतकालीन कोष स्थापना पनि गर्ने उद्देश्यले साङ्गीतिक यात्रा कार्यक्रम आयोजना गर्न लागिएको  उहाँले बताउनुभयो  ।      उक्त आश्रममा  हाल १९ जिल्लाका २४ वटा शाखामा १७ सय बढी बेसहारा, असहाय र घरपरिवार तथा समाजबाट परित्याग व्यक्ति बस्दै आएकामा  विराटनगरको उक्त आश्रममा भने ९० पुरूष, ६५ महिला र पाँच  बालबालिका गरी एकसय ६० आश्रित छन्।        मानवसेवा आश्रमको हित र विकासका लागि विराटनगरबाट सुरू हुन लागेको  उक्त कन्सर्ट विरगन्ज, हेटौंडा , चितवन ,नेपालगन्ज , धनकुटा , सुर्खेत , पोखरा तथा काठमाडौलगायत मुख्य सहरमा तीन–तीन दिनको फरकमा आयोजना गरिने आयोजकले जनाएको छ ।    फरक शैलीका गीतका कारण देश विदेशमा आफ्नो  छुट्टै परिचान  बनाएको नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’ को लाईभ कन्सर्टका लागि टिकट बिक्री वितरणे भइरहेको श्रमका अभिभावक प्रविण खड्काले जानकारी दिनुभयो  । 

पोखरा:   विभिन्न कसुरमा जेल सजाय र पुर्पक्षमा बन्दी जीवन व्यतीत गरिरहेका कास्की कारागारका २१ महिलाले उत्साहसाथ कुकिङ बेकिङ तालिम सिकिरहेका छन् । जीवनमा जान अन्जानमा भए÷गरेका गल्तीमा प्रायश्चित गर्दै कैद भुक्तानपछि जीवनलाई सुन्दर बनाउने उद्देश्यसहित उनीहरु तालिममा  व्यस्त छन् ।       आर्थिक लेनदेनको विवादमा पुर्पक्षका लागि तीन महिनादेखि थुनामा रहनुभएकी नवलपरासीकी ४२ वर्षीया सञ्जु केसी (नाम परिवर्तन)ले तालिम निकै फलदायी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले बन्दी जीवन बिताइरहँदा आयआर्जनका लागि सीप सिक्ने अवसर पाएकी छु, मेरो मुद्दाको टुङ्गो लागेर र यहाँबाट निस्केपछि यो काम पनि मैले गर्न सक्छु ।”       बिएड अध्ययनरत उहाँ बाँकी जीवनलाई अब सृजनात्मक र व्यावसायिकतातिर लाने सोच रहेको छ भन्नुहुन्छ । त्यसैगरी एक वर्षका लागि कैद फैसला भुक्तानमा रहनुभएकी कास्की घाचोककी ४३ वर्षीय शर्मिला शर्मा (नाम परिवर्तन) ले पनि तालिम निकै उपयोगी भएको बताउनुभयो ।      “अझै केही समय छ, यहाँभित्र हुने तालिम सिकेर अब आत्मनिर्भर हुने बाटो खोज्नेछु”, अरूभन्दा प्रभावकारी कुकिङ बेकिङको तालिम लागेको उहाँको भनाइ थियो । पोखरा पर्यटकीय क्षेत्र भएको र आफूले पनि यसमा दक्षता हासिल गर्न सके सहज जीवन बाँच्न सक्ने आशा पलाएको उहाँको भनाइ छ ।        पोखरा व्यावसायिक महिला क्लब पोखरा–१ बगरको आयोजनामा इन्टरनेसनल होटल ट्रेनिङ सेन्टरले यहाँ तालिम प्रदान गरेको हो । प्रशिक्षक झङ्क ढकालले कारागारका महिलाले निकै उत्साहसाथ तालिममा सहभागी भएको बताउनुभयो । “अरू तालिममा भन्दा उहाँहरुको रुचि यसमा अलि बढी छ । स्वादिलो खाना बनाउन र विभिन्न परिकार बनाउन सिक्न साथै बनाएको परिकारको स्वाद लिन पनि पाइने भएकाले उहाँहरु को रुचि बढी देखिन्छ ।” प्रशिक्षक ढकालका अनुसार ४५ दिनमा कुकिङ बेकिङका ४५ भन्दा बढी परिकार बनाउन सिकाइनेछ ।       जिल्ला कारागारका सूचना अधिकारी झङ्कनाथ पौडेलले एकै प्रकारको दैनिकीमा रहँदा उहाँहरुलाई नैराश्यता आउन सक्ने भएकाले विभिन्न रचनात्मक एवम् सृजनात्मक कार्यका लागि तालिमहरु प्रदान गर्दै आएको बताउनुभयो । पौडेलले भन्नुभयो, “कतिपय लामो र कतिपय छोटो समयका लागि बन्दी जीवन व्यतीत गरिरहनुभएको छ । तालिमले उहाँहरुलाइ रिफ्रेस साथै यहाँपछि आयआर्जनमा जोडिन सहयोग पुग्ने विश्वास छ ।”       कारागारका कैदीबन्दीलाई विभिन्न सङ्घसंस्थाको सहकार्यमा विभिन्न सीपमूलक तालिम दिइन्छ ।  कारागारको क्षमता चार सय २० जनाको भए पनि भौतिक संरचना अभावमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । पौडेलका अनुसार आठ सय ३१ जनाले बन्दीजीवन बिताइरहेका छन् । जसमा महिला ३९, पुरुष सात सय ९२ र तीन आश्रित नाबालक छन् ।