पोखराः कास्कीको मादी गाउँपालिको हिउँदे अधिवेशन पुष ६ र ७ गते हुने भएको छ । आज (शनिबार) मादी गाउँपालिकाको आठौं कार्यपालिका बैठकले हिउँदे अधिवेशन पुष ६ र ७ गते गर्ने निर्णय गरेको हो । शनिबार मादी २ को पर्यटकिय ठाउँ क्रपु डाडामा कार्यपालिका बैठक बसेको थियो । मादी गाउँपालिका भित्रका पर्यटकीय क्षेत्र एवम् धार्मिक स्थलहरूमा घुम्ती बैठक बस्ने कार्यक्रम अन्तर्गत मादी २ को क्रपु डाडामा कार्यपालिकाको आठौं बैठक बसेको मादी १ वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । कार्यपालिकाको बैठक गाउँपालिका भित्रको विभिन्न पर्यटकीय क्षेत्र र धार्मिक स्थलहरुमा बस्दै आएका छौं, वडाध्यक्ष गुरुङले भने, बैठकले हिउँदे अधिवेशन पुष ६र ७ गर्ने, गाउँपालिका मातहतका उद्यम विकास समिति, योजना तथा कार्यक्रम अनुगमन समिति गठन, ताङतिङ क्रपु डाडाको ग्रामीण सडक स्तरोन्नति गर्ने, सिक्लेस, क्हफुचे हिमताल, त्हि हुदै तारा हिलटप पदमार्गको विकास गर्ने लगायतका निर्णयहरू गरेका छौं । गाउँपालिकाको घुम्ति कार्यपालिका बैठक मादी गाउँपालिकाको धार्मिक स्थल लम्तरी, विश्वकै होचो स्थानमा रहेको हिमताल क्हफुचे, थाकहिल, कोरी, गुरुङहरूको पैतृक थलो क्होलासोथर लगायतका ठाउँहरूमा बैठक बस्ने कार्यतालिका रहेको गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले जानकारी दिए ।
काठमाडौंः भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम अहिले २७ अर्ब रुपैयाँ घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो । निगमले शुक्रवार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले लामो समयदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको उल्लेख गरेको छ । इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट यही १५ मङ्सिरमा प्राप्त खरिद मूल्यअनुसार एलपी ग्यासको मूल्य केही बढेको छ भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा केही घटेर आएको छ । मङ्सिर १५ गते पाएको खरिद मूल्यसूचीबमोजिम एलपी ग्यासमा प्रतिसिलिण्डर ४३ रुपैयाँ ९३ पैसा बढेर आएको छ । एलपी ग्यासमा निगमलाई अहिले प्रतिसिलिन्डर दुई सय ७७ रुपैयाँ २ पैसा घाटा भइरहेको छु, विज्ञप्तिमा भनिएको छ, निगमले इन्डियन आयल कर्पोरेशनलाई अहिलेसम्म तिर्न बाँकी रकम, पुरानो बक्यौता तथा नेपाल सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी करिब २७ अर्ब रुपैयाँ तिर्न बाँकी छ । ग्यास सिलिन्डर बिक्रीबाट मात्र निगमलाई १५ दिनमा ३६ करोड ८५ लाख रुपैयाँ घाटा हुने देखिएको निगमले जनाएको छ । यद्यपि पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा मूल्य घट्दा पनि यथावत् राख्दा १५ दिनमा करिब ५८ करोड रुपैयाँ नाफा हुने निगमले जनाएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पदार्थको मूल्य पुनःघटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सञ्चालन राख्न र इन्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवम् सरकारलाई उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई चुनौती रहेकाले अहिलेलाई पेट्रोलियम पदार्थको खुद्रा मूल्य यथावत् राखिएको छु, विज्ञप्तिमा भनिएको छ ।
काठमाडौंः मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएसँगै कामको खोजीका लागि भारत जाने नेपाली नागरिकको सङ्ख्या बढेको छ । पछिल्लो केही दिन यता पश्चिमी सीमानाका गड्डाचौकी भएर भारत जानेको सङ्ख्या बढेको हो । दैनिक चार सयको हाराहारीमा गड्डाचौकी नाका भएर भारततर्फ गइरहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायव निरीक्षक बहादुर धामीले बताउनुभयो । “चुनाव सकिएपछि अहिले भारततर्फ जानेको सङ्ख्या बढी छ, आउने कम छन्”, उहाँले भन्नुभयो, “दैनिक चार/पाँच सय नेपाली नागरिक भारततर्फ गइरहेका छन् ।” चुनावमा मतदानका लागि आएका नेपाली नागरिक फेरि कामको लागि भारत जान थालेका हुन् । “मतदानको लागि गाउँबाट फोन गरेर बोलाएका थिए, मतदान पनि गरे, स्वदेशमै रोजगारी केही छैन”, अछामका नागेश्र टमाटाले भन्नुभयो, “जीविकोपार्जन गर्नका लागि भारततर्फ जानुपर्छ ।” पाँच वर्षमा आउने चुनावमा मतदानबाट चुनिएका जनप्रतिनिधिले स्वदेशमै रोजगारी सिर्जना गरेर बिदेसिनुपर्ने बाध्यता हटाउने पर्ने अछामका हर्कबहादुर बोहरा बताउनुहुन्छ । “चुनावको लागि बिदा मिलाएर भोट हाल्न आएको थिए, आफ्नो मताधिकारको प्रयोग गरे”, उहाँले भन्नुभयो, “चुनावको उत्सवमा मतदान गर्यौँ तर हाम्रा दुःख कोही देख्दैनन्, नयाँ जनप्रतिनिधिले पनि पुरानै व्यवहार नदेखाउन ।” स्वदेशमै रोजगारी सिर्जना नहुँदा कामको खोजीमा भारत पस्नुपरेको बाजुराका मङ्गल साउदले बताउनुभयो । “स्वदेशमै मजदुरीको काम पनि पाइँदैन, कृषि गर्न खोजे मल, बीउनै पाइँदैन”, उहाँले भन्नुभयो, “त्यसैले घर खर्च चलाउन भारत जानुपर्ने बाध्यता छ ।” संविधान निर्माणपश्चात् स्वदेशमै रोजगारी पाएर विदेश हानिनुपर्ने बाध्यता हट्ने अपेक्षा गरे पनि त्यो पूरा हुन नसकेको बैतडीका सन्तोष पन्तको भनाइ छ । “संविधान बनेपछि स्वदेशमै रोजगारी पाउने र देश विकास हुने अपेक्षा थियो”, उहाँले भन्नुभयो, “तर जनताले अपेक्षा गरेअनुसार सुधार हुन सकेन, अझै पनि कामको लागि विदेश जानुपर्ने बाध्यता छ ।” सडक पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा क्रमिकरुपमा विकास भइरहेको भए पनि युवाले स्वदेशमै रोजगारी नपाउने अवस्था रहेको छ । “अहिलेसम्म भोट दिएर हामीले केही पाएका छैनौँ, जहिल्यै पनि ठगिएकै मात्रै छौँ”, बझाङका दुर्गा बोहराले भन्नुभयो, “नयाँ जनप्रतिनिधिले कामका लागि भारत जाने बाध्यता हटाउनुपर्छ, हामीले परदेशमै जीवन कटायौँ, हाम्रा सन्तानले यो समस्या भोग्नु नपरोस् ।” कामको खोजीमा सुदूरपश्चिम, कर्णालीलगायत ठाउँका नेपाली नागरिक भारतको विभिन्न ठाउँमा जाने गरेका छन् ।
धनुषाः पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको वीरेन्द्रबजारमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । आज बिहान महोत्तरीको पीपरा गाउँपालिका गम्हरियाका जन्ती बोकेर इँटहरीबाट फर्किँदै गरेको बा १ ज ८२९६ नम्बरको जीप वीरेन्द्रबजारमा दुर्घटना भएको हो । ज्यान गुमाउनेमा तीन जना महिला, एक जना बालक र एक जना पुरुष रहेका धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभएको छ । घाइतेहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल धनुषा पठाइएको उहाँले बताउनु भयो । ज्यान गुमाउनेमा महोत्तरीको पिपरा गाउँपालिकाका ११ वर्षीय एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनियाँ तुल्सीयाहीकी ३५ वर्षीया रुविकुमारी साहबाहेक अन्यको परिचय खुलेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पोखराः निल हिरा समाजकी संयोजक पिटर राईले यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायलाई नागरिकता लिन विभेद भएको बताएकी छिन् । निल हिरा समाजद्वारा आज (शुक्रबार) यौनिक तथा लैङ्गीक अल्पसंख्यकबारे मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै निल हिरा समाजकी कार्यक्रम संयोजक राईले नागरिकता लिनलाई यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायलाई विभेद गरेको बताएकी हुन् । ‘नागरिकता लिँदा लिङ्गमा अन्य लेख्न पाइने व्यवस्था भएपनि निकै झन्झटिलो र ठूलो विभेद छ । डाक्टरको प्रमाणपत्र पेश गर्नुपर्ने र निवस्त्र भएर अंगहरु देखाउनु पर्ने जस्ता ठूलो विभेद भएका छन् ।’ उनले भनिन् । यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका व्यक्तिले आफनो पहिचान नहुदै नामसहितको नागरिकतामा महिला वा पुरुषको महलमा राखेर बनाएपछि आफनो पहिचान शारीरिक बनावट परिवर्तन गरेपछि नाम परिवर्तन गर्न नमिल्ने खालको कानुनी जटिलता रहेको छ । तरपनि राज्यले पछिल्लो समय समुदायप्रति चासो व्यक्त गरेको बताईन् । उनले समाजमा सबैलाई सम्मानजनक व्यवहार हुनुपर्नेमा जोड दिईन् ।‘ यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायलाई समाजमा सम्मानजनक व्यवहारको आवश्यकता छ, उनले भनिन् ‘समाजमा समाजमा यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायलाई होच्याउने, अपशब्द बोल्ने, गालीगलौज गर्नेलगायत शारिरिक र मानसिकरुपमा हिंसा हुने गरेको छ । सबै क्षेत्रबाट सम्मानजनक व्यवहार अझै हुन सकेको छैन । यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायले पिडा भोग्नुपरेको परेको छ ।’ संयोजक राईले यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायको मुद्दालाई विशेष प्राथमिकतामा राखेर सञ्चारकर्मीले कलम चलाउन आग्रह गरिन । साथै समाचार लेख्दा गोपनियताको ख्याल राख्दै अध्ययन गरेरै लेखिदिन उनले अनुरोध गरिन । त्यसैगरि संचारकर्मी बविता बस्नेतले यौनिक तथा लैङ्गीक अल्पसंख्यकहरुलाई सम्मानजनक भाषाशैलीको प्रयोग आवश्यक रहेको बताईन । ‘यौनिक तथा लैङ्गीक अल्पसंख्यकहरुलाई सम्मानजनक भाषाशैलीको प्रयोग गर्न आवश्यक छ, उनले भनिन्, ‘यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई स्वतन्त्र जीवनयापन गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायतको सवालमा राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिनुपर्छ । यस समुदायका समस्या, चुनौती र भोग्नुपरेको कानुनी र सामाजिक जटिलतालाई समेत संचारकर्मीहरुले महत्वका साथ उजागर गर्न जरुरी छ ।’ पोखरामा यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायका व्यक्तिहरु आउँदा उनीहरुलाई बस्ने बासको व्यवस्था गर्न सम्मान गृह सञ्चालन गरिएको नौलो बिहानीकी कार्यालय प्रमुख रजनी थकाली ‘फुपु’ले जानकारी दिइन । कुनै काम विशेषले, उपचार गर्न वा आर्थिक समस्या भएका उक्त समुदायका व्यक्तिलाई सहज होस् भनी सम्मान गृह सञ्चालन गरिएको उनको भनाई थियो । हाल नेपालमा करिब ९ देखि १० लाख जना यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायका रहेको तर सबै खुल्न नचाहेको नौलो बिहानी पोखराकी अध्यक्ष बिन्दीया गौतमले जानकारी दिइन् ।
धनगढीः धनगढीमा ग्रेडरको ठक्करबाट साथीको ज्यान गएपछि विद्यार्थीले दोषीलाई कारबाही गर्नुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् । आन्दोलनले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालय धनगढीले घटनास्थल आसपासको क्षेत्रमा हिजो बिहीवारदेखि नै निषेधाज्ञा लागू गरेको छ । विद्यार्थीले निषेधाज्ञा तोडेर प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको छ । प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि स्थानीय र विद्यार्थी तितरबितर भएका छन् । प्रदर्शनमा सहभागी २१ जना विद्यार्थीलाई प्रहरीले पक्राउसमेत गरेको छ । धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउदको सडक निर्माणका क्रममा ग्रेडरको ठक्करबाट हिजो ज्यान गएपछि विद्यार्थी आन्दोलित भएका हुन् । अहिले जिल्ला प्रशासन कार्यालयमा पीडित पक्षसँग छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।
दोलखाः दोलखामा मतपत्र हराएपछि रोकिएको मतगणना पुनः सुरु भएको छ । प्रतिनिधिसभातर्फको मतगणनाको क्रममा १४७ वटा मतपत्र नभेटिएपछि केहीबेर मतगणना रोकिएको थियो । सर्वपक्षीय छलफलपछि दलीय सहमतिमा मतगणना अगाडि बढाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एउटा गाउँपालिकाको वडा नम्बर १ को १४७ वटा मतपत्र नभेटिएको एक प्रतिनिधिले बताएका छन् । मुचुल्कामा उल्लेख मतपत्रको संख्याभन्दा कम भेटिएपछि नेकपा एमालेले आपत्ति जनाएको थियो । प्रदेशसभातर्फको मतगणना जारी छ ।
काठमाडौंः नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा चार लाख ८८ हजार रुपैयाँ चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीकलकण्ठ नगरपालिका–१० आसपासका क्षेत्रमा चोरी गर्ने गोकर्णेश्वर नगरपालिका–४ सुन्ताखानका ४२ वर्षीय राजु गुरुङलाई हिजो बेलुका पक्राउ गरेको हो । गुरुङ यसअघि पनि पटक–पटक चोरी गर्ने कार्यमा संलग्न रहेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । गुरुङ यसअघि २०६९ सालमा जिल्ला प्रहरी परिसर ललितपुरबाट चोरी मुद्दामा २५ लाख रुपैयाँ धरौटीमा छुटेको, २०७२ मा प्रहरी वृत्त स्वयम्भूबाट सार्वजनिक अपराध मुद्दामा पक्राउ, २०७५ मा प्रहरी वृत्त बौद्धबाट चोरी मुद्दामा पक्राउ परी अदालतबाट १८ लाख रुपैयाँ धरौटीमा छुटेको र गएको साउनमा प्रहरी वृत्त बानेश्वरबाट चोरी मुद्दामा पक्राउ परी अदालतबाट तीन लाख रुपैयाँ धरौटीमा छुटेका व्यक्ति हुन् । गुरुङबाट एक हजार दरको नोट चार सय नौ थान, पाँच सय दरको नोट ८० थान, एक सय दरको नोट एक सय ७५ थान, ५० दरको नोट एक सय ७५ थान, २० दरको नोट तीन सय ५० थान, १० दरको नोट चास सय ४० थान र पाँच दरको नोट एक सय ८० थान बरामद गरेको छ । पक्राउ परेका गुरुङलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–२० को चोरीसम्बन्धी कसुर मुद्दामा काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताउनुभयो
कपिलवस्तुः कपिलवस्तुको चाकरचौडामा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । कपिलवस्तुको मायादेवी गाँउपालिका–४ चाकरचौडामा भारतीय नागरिकमाथि गोली प्रहार भएको हो । चाकरचौडासँग सीमा जोडिएको सिद्धार्थनगर जिल्लाको अलिगढवाका बिहीबार राति ३५ वर्षीय ईरशाद खानमाथि दुई गोलि प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले नेपाली सीमा क्षेत्रको चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खानमाथि दुई जना अज्ञात व्यक्तिले गोली प्रहार गरेको खुल्न आएको जानकारी दिनुभयो । उहाँका अनुसार खानलाई काँध र कम्मरमा गरी दुई गोली लागेको छ । गोली लागेर घाइते हुनुभएको खानलाई उपचारका लागि भारतको नौगढ लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि गोरखपुर मेडिकल कलेज लगिएको छ । घटनाबारे भारतीय प्रहरीसँगको समन्वयमा अनुसनधान अगाडि बढाइएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिनुभयो । अहिले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको अनुसन्धान टोली घटनास्थलमा रहेका छन् ।

