जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

काठमाडौं:   रूपन्देही, सैनामैना नगरपालिका २ रिङरोडस्थित सडकमा लु २ त ६१८५ नम्बरको ट्याक्टरको ट्रलीबाट लडेर सोही नगरपालिका–४ झारबैरा बस्ने ६० वर्षीय ठगे थारुको आइतबार दिउँसो मृत्यु भएको छ । ट्रलीबाट लडेर ट्याक्टरको पछाडिको चक्काले किच्दा गम्भीर घाइते भएका उनको तिनाउ अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   यसैगरी, रूपन्देही, सिद्धार्थनगर नगरपालिका –३ दरखसवा सिता नर्सरीस्थित सडकमा बेलहियाबाट भैरहवातर्फ जाँदै गरेको लु ८९ प २९८६ नम्बरको स्कुटर आफै अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा स्कुटर चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै, रामेछाप, खाँडादेवी गाउँपालिका ३ भिरपानी हुन्दुरखोलास्थित सडकमा पकरबासबाट सिन्धुलीतर्फ जाँदै गरेको ज.१ ह ५०६९ नम्बरको अटो आफैँ अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सिन्धुली कमलामाई नगरपालिका (६ बस्ने ७०  वर्षीय पदम बहादुर तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पताल काभ्रेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै, दुर्घटनामा घाइते भएका अटो चालक सहित ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यता, सिरहा, मिर्चैया नगरपालिका १ महादेवस्थित सडकमा प्र ३ ०२०१३ प ८३६४ नम्बरको मोटरसाइकललाई को १ ख ६९८२ नम्बरको ट्याङ्करले आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरी रुपनी गाउँपालिका ३ कटैया बस्ने १४ वर्षीय उज्ज्वल कुमार मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि मंगलम अस्पताल मिर्चैया हुँदै थप उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुवै सवारी साधन र ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता, जाजरकोट, बारेकोट गाउँपालिका १ काउलीस्थित सडकमा क.प्र.०२००१ त ०२४१ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा ट्याक्टरका सहचालक सोही गाउँपालिका २ ध्यारगाउँ बस्ने १८ वर्षीय राजेश गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौँ:   सोमबार बिहान जुम्लाको न्यूनतम तापक्रम माइनस ३.८ डिग्री सेल्सियस मापन भयो । यो देशकै सबैभन्दा बढी चिसो रहेको मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्क हो । यता न्यूनतम तापक्रम क्रमिक रूपमा सुधार हुँदा चिसो ह्वात्तै बढेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन अनुरोध गरेको छ ।  काठमाडौँ उपत्यकामा समेत तापक्रम घट्ने क्रममा छ सोमबार मात्र उपत्यकाको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस मापन भएको छ । यो यस वर्षको सबैभन्दा चिसो हो । अधिकतम तापक्रम भने २०.६ डिग्री सेल्सियस पुगेको छ । विभागले आगामी २४ घण्टामा तराई भू–भागमा हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सूचना प्रकाशन गरी आग्रह गरेको छ । हाल प्रदेश १ को पहाडी भू–भागमा तथा उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा जनाएको छ । सोमबार दिउँसो प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा जनाएको छ । 

पोखराः   एघारौं संस्करणको पोखरा महोत्सव २०७९ भब्यताका साथ सफल बनाउन विभिन्न ३७ उपसमितिहरु गठन गरी संयोजक तोकिएको छ ।  युनाईटेड क्लवको आयोजनामा आगामी पुषको २७ देखी माघ ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने पोखरा महोत्सवलाई सभ्य र भब्य ढंगले सम्पन्न गर्नका लागी युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठको संयोजकत्वमा विभिन्न ३७ वटा उपसमिति गठन गरि संयोजक तोकिएको हो ।  हालै सम्पन्न बैठकले मुल आयोजक उपसमिति संयोजकमा राजु श्रेष्ठ, कार्य सम्पादन उपसमिति संयोजक लालकाजी गुरुङ, अतिथि ब्यवस्थापन उपसमिति संयोजक हिमालय बख्रेल, संघ संस्था उपसमिति संयोजक सुक बहादुर गुरुङ, सांस्कृतिक उपसमिति संयोजक लोक बहादुर थापा, सचिवालय उपसमिति संयोजक गणेश तिमिल्सिना, प्रचार प्रसार उपसमिति संयोजक दिनेश सुनारलाई चयन गरिएको छ ।  त्यसैगरी अर्थ ब्यवस्थापन उपसमिति संयोजकमा सूर्य बहादुर बानिया, प्रायोजक ब्यवस्थापन उपसमिति संयोजकमा शान्त बाहादुर थापा, झांकी ¥याली ब्यवस्थापन उपसमिति संयोजकमा पूर्णकला पोख्रेल, स्टल ब्यवस्थापन उपसमिति संयोजकमा सिमा गुरुङ, स्वयंसेवक ब्यवस्थापन उपसमिति संयोजकमा सन्तोष कार्की, सुरक्षा ब्यवस्थापन उपसमिति संयोजकमा विष्णु कुमार गुरुङ, ब्यानर एवं फोटो तथा भिडियोग्राफी उपसमिति संयोजकमा जयराम आचार्य, टिकट तथा सामाजिक सञ्जाल उपसमिति संयोजकमा पूर्ण कुमार श्रेष्ठ, मायाको चिनो उपसमिति संयोजकमा दिवानी सुवेदी, अतिथि सत्कार ब्यवस्थापन उपसमितिमा चन्द्रा पराजुली लाई चयन गरिएको छ ।  त्यसैगरी खानेपानी तथा सरसफाइ ब्यवस्थापन उपसमिति संयोजकमा शिव थापा, खाना तथा खाजा ब्यवस्थापन उपसमिति संयोजकमा बिजय कार्की, मञ्च ब्यवस्थापन उपसमिति संयोजकमा शान्ति सुवेदी, मुल्यांकन उपसमिति संयोजकमा शुसिलराज पराजुली, विद्यालय समन्वय उपसमिति संयोजकमा लिलाधर अधिकारी, यातायात ब्यवस्थापन उपसमिति संयोजकमा रमेश कार्की, अनुगमन ब्यवस्थापन उपसमिति संयोजकमा गोबिन्द घिमिरे, प्रकाशन तथा मुद्रण उपसमिति संयोजकमा सावित्री थापा, मुलद्वार ब्यवस्थापन उपसमिति संयोजक कृष्ण थापा मगर, बिमा ब्यवस्थापन उपसमिति संयोजकमा राजेन्द्र बहादुर थापा, पर्यटन प्रवद्र्धन उपसमिति संयोजकमा गोपाल गुरुङलाई चयन गरिएको छ । त्यसैगरी ट्राफिक ब्यवस्थापन उपसमिति संयोजकमा नविन श्रेष्ठ, पार्किङ ब्यवस्थापन उपसमिति संयोजकमा राम थापा, पृष्ठ पोषण उपसमिति संयोजकमा रिम बहादुर क्षेत्री, विद्युतिय ब्यवस्थापन उपसमिति संयोजकमा हरि श्रेष्ठ, हस्तकला ब्यवस्थापन उपसमिति संयोजकमा सविता श्रेष्ठ रञ्जित, स्वास्थ्य ब्यवस्थापन उपसमिति संयोजकमा नरहरि पनेरु, विद्युतिय सुरक्षा ब्यवस्थापन उपसमिति संयोजकमा राजेन्द्र तिवारी, मिडिया कोअर्डिनेटरमा गिता राना मगर र कार्यालय सचिवमा रेजिना खत्रीलाई चयन गरिएको हो ।  त्यसैगरी क्लवको बैठकले पोखरा महोत्सव २०७९ को लागि विभिन्न सल्लाहकारहरु चयन गरेको छ । महोत्सव सल्लाहकारहरुमा सम्मर बहादुर श्रेष्ठ, क्या. फत्ते बहादुर गुरुङ, पवित्रादेवी गुरुङ, श्याम कृष्ण श्रेष्ठ, विश्व प्रकाश लामिछाने, तीर्थलाल श्रेष्ठ, मुक्षेत्र गुरुङ, सेती थापा, मेजर हितमान गुरुङ, लिला जिसी, सन्तोष बास्तोला (अध्यक्ष वडा नं. १२), राजेश गुरुङ (अध्यक्ष वडा नं. १०), किरण बराल (अध्यक्ष वडा नं. १३), तोरण बानिया (अध्यक्ष वडा नं. १५), प्रेम कर्माचार्य (अध्यक्ष वडा नं. ११), बोधराज कार्की (अध्यक्ष वडा नं. १४), प्रेम छिरि शेर्पा, भरत केसी, राजेन्द्र बहादुर कार्की, शिव बहादुर वराल, तेज बहादुर गुरुङ, कृष्ण कुमारी थापा, सु. जस बहादुर गुरुङ, दिपक बहादुर थापा, गुप्त बहादुर कार्की, दया बराल, दान बहादुर गुरुङ र शंकरनाथ पौडेल रहेका छन ।   

दोलखाः   दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गङ्गा कार्की निर्वाचित हुनुभएको छ ।  एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै कार्की विजयी हुनुभएको हो । कार्कीले ३६ हजार ९ सय ९५ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी शिवाकोटीले ३६ हजार ४ सय ७७ मत पाउनु भएको छ । उहाँहरुबीचको मतान्तर ३ सय १८ रहेको छ ।

 काठमाडौं:  नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले ४ मंसिरको चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गरेर १५ पुसभित्र विवरण पठाउन प्रदेश र जिल्लाको अनुशासन समितिलाई निर्देशन दिएको छ । आइतबार एक विज्ञप्ति जारी गरी कांग्रेस केन्द्रीय अनुशासन समितिका सचिव प्रेम केसीले चुनावमा पार्टी र सत्ता गठबन्धनका उम्मेदवारलाई असहयोग गरेको भनी जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीमाथि चाँडै निर्णय गरेर केन्द्रमा पठाउन भनेको हो । यदि जिल्ला र प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी कारबाहीको निर्णयसहित १५ पुसभित्र केन्द्रीय अनुशासन समितिमा पठाउन आग्रह गरिएको छ ।  

काठमाडौं:   जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदमा बहुमत पुर्‍याउन आफूहरु निर्णायक हुने बताएका छन् । राष्ट्रिय समाचार समितिसँगको अन्तर्वार्तामा उनले सरकार गठनका लागि आफ्नो पार्टीले पाएको सिट संख्या निर्णायक हुने बताएका हुन् । ‘जनमत पार्टीले अहिले ल्याएको सिट सङ्ख्या निर्णायक छ । सरकार गठनका लागि संसद्मा बहुमत पुर्‍याउनका लागि हाम्रो छ सिट निर्णायक हुन्छ । प्रदेशमा पनि जनमत पार्टीको समर्थन बेगर सरकार बन्नसक्ने अवस्था रहन्न’ उनले भने । जनमत पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सिट जितेको छ भने समानुपातिकतर्फ आइतबार दिउँसोसम्म १ करोड ४ लाख २० हजार मत गन्दा ३ लाख ९४ हजार ५२३ मत पाएको छ । त्यस्तै प्रदेश २ मा प्रत्यक्षमा ६ सिट र समानुपातिकमा कांग्रेस र एमालेपछि तेस्रो स्थानमा छ । २० लाख ८६ हजार मत गणना हुँदा जनमत पार्टीले ३ लाख २९ हजार मत पाएको छ । आफूहरुको समर्थनविना सरकार नबन्ने अवस्थामा डेडलक हुन नदिने राउतले बताए । ‘हामी नजाँदा सरकार नै बन्दैन, त्यो भनेको ‘डेड्लक’को अवस्था हुन्छ । हाम्रो जिम्मेवारी भनेको निकास दिनु हो, हामी दिन्छौं । जसले हाम्रो शिक्षा, स्वास्थ्य र रोजगारीका माग र मुद्दालाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्छन् उसलाई नै हामी पनि समर्थन गर्छौं’ उनले भने । निर्वाचनबाट कसैको पनि बहुमत नआउँदा पार्टीहरुमा अहंको स्थिति भने नदेखिने र एक अर्कामा सहकार्यको सम्भावना बढाएको राउतले बताए । ‘सबैलाई मिलाएर जानुपर्छ, सानाभन्दा साना दल र आवाजका मुद्दालाई समेटेर जानुपर्छ भन्ने सन्देश दिएको छ’ उनले भने । मतदाताले परिवर्तनका लागि आफूहरुलाई मत दिएको भन्दै अध्यक्ष राउतले त्यसलाई खेर जान नदिने बताए । नागरिकले मतदानमार्फत व्यक्त गरेको परिवर्तनको आवाजलाई अन्य दलले पनि सुन्नुपर्ने उनको भनाइ छ । ‘जनताले निर्वाचनमार्फत अहिले परिवर्तन खोज्न दिएको सन्देश आत्मसात् गर्नुस् । अन्यथा गरिए राजनीतिक दलहरुप्रति विद्रोह र वितृष्णा अझ बढेर जान सक्छ । अहिले सच्चिने मौका छ । सबैले जनमतको कदर गरौँ । सेवा प्रवाह र जनताका माग मुद्दालाई केन्द्रित भएर अघि बढौं’, अध्यक्ष राउतले भने । उनले आफूहरुको माग र मुद्दाप्रति सकारात्मक दलसँग मिलेर सरकारमा जाने पनि बताए । ‘हामीले पाएको जनमत एक्लै निर्णायक छैन । कसै न कसैसँग सहकार्य गरेरै सरकार बनाउनुपर्ने हुन्छ । त्यसकारण सहकार्य गर्ने सम्भावना जोसँग पनि हुन्छ । मूल विषय भनेको हाम्रा माग र मुद्दाप्रति सकारात्मक हुनुपर्‍यो । हामी केबल मन्त्री बन्न र सरकारमा जानैका लागि मात्रै आएका हैनौँ । जनताका लागि काम गर्ने उपयुक्त वातावरण बनाउन सक्नुपर्छ’ अध्यक्ष राउतले भने ।

काठमाडौं:  साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । आइतबार बजार परिसूचक नेप्से २.१६ अंक (०.११ प्रतिशत) ले वृद्धि भएर १९६३.२२ अंकमा बन्द भएको छ । अधिकांश उपसूचकमा वृद्धि भएपनि बैंकिङ, विकास बैंक, वित्त कम्पनी र उत्पादनमुलक उपसूचकमा गिरावट भएको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै घट्दा अधिकांश उपसूचक बढेपनि नेप्सेमा सामान्यमात्रै वृद्धि देखिएको छ । आइतबार जीवन बीमा उपसूचक भने १.९८ प्रतिशतले वृद्धि भएको छ । नेप्सेमा सामान्य वृद्धि हुँदा कारोबार रकम पनि डेढ अर्ब नाघेको छ । ३६ लाख ९४ हजार ८४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५६ करोड १७ लाख २ हजारको कारोबार भएको छ । जसमध्ये नबिल बैंकको सर्वाधिक १९ करोड ८० लाख ६७ हजारको कारोबार हुँदा नेस्डो समृद्धि लघुवित्तको ८ करोड ७७ लाख १५ हजार र फस्ट माइक्रोफाइनान्सको ७ करोड ११ लाख १८ हजारको कारोबार भएको छ ।   आइतबार नेप्सेमा कुल १९९ कम्पनीको सेयर कारोबार हुँदा ९७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै १३ कम्पनीको सेयर मूल्य स्थिर छ । धौलागिरी लघुवित्तको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा ओरियन्टल होटलको सेयर मूल्य ६.५७ प्रतिशत र खप्तड लघुवित्तको सेयर मूल्य ६.०७ प्रतिशतले बढेको छ । यता नेस्डो लघुवित्तको सेयर मूल्य ६.११ प्रतिशतले गिरावट हुँदा नबिल बैंकको ३.४० प्रतिशतले गिरावट भएको छ । यस्तै पोखरा फाइनान्सको सेयर मूल्य २.८३ प्रतिशतले गिरावट भएको छ ।

ढोरपाटन:  जिल्लाको तमानखोला गाउँपालिका सबै विद्यालय सुविधासम्पन्न बनेका छन् । आधारभूत र माध्यमिक तहसम्म पढाइ हुने विद्यालयमा त आधुनिक प्रविधिमार्फत पठनपाठनसमेत हुन थालेको छ । अहिले गाउँपालिकाले प्राथमिक तहबाहेक सबै विद्यालयमा इन्टरनेट विस्तार गरेको छ । गाउँपालिकामा तीनवटा माध्यमिक विद्यालय छन् । तमानखोला गाउँपलिका–३ को धन गौ ज्योति माध्यमिक विद्यालय, वडा नं ५ को शान्ति माध्यमिक विद्यालय र वडा नं १ को जनजागृति माध्यमिक विद्यालयमा इन्टरनेट जडान भएको छ । धन गौ ज्योति र जनजागृति माविमा गत वर्ष र शान्ति माविमा दुई वर्ष अगाडि इन्टरनेट जडान भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए । गाउँपालिकाले यसै वर्ष वडा नं २ को जनज्योति आधारभूत विद्यालयमा पनि इन्टरनेट विस्तार गरेको उनको भनाइ छ । शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यअनुसार पालिकाले विद्यालयमा इन्टरनेट विस्तार गरेको उनले बताए । उनले अहिले चार विद्यालयमा मात्रै इन्टरनेट विस्तार गरेको भन्दै अब विस्तारै अन्य विद्यालयमा विस्तार गर्ने योजना रहेको पनि सुनाए । अध्यक्ष बुढामगरले भने, ‘हाल पालिकाका तीन मावि र केही आधारभूत तहका विद्यालयमा इन्टरनेट विस्तार गरेका छौँ, अन्य विद्यालयमा पनि विस्तारै जडान गर्ने योजना छ, प्रविधिको विकाससँगै अब दुर्गमका विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्ने हाम्रो प्रयास हो ।’ विद्यालयमा इन्टरनेट जडानपछि शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बन्दै गए पनि केही समयदेखि अवरुद्ध हुँदा शिक्षण सिकाइमा समस्या भएको जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक भविन्द्र पुनले बताए । उनले अहिलेको युगमा इन्टरनेट अतिआवश्यक भएको जनाउँदै यसले पठनपाठनमा निकै सहजता प्रदान गरेको पनि बताए । ‘इन्टरनेट जोडेको केही महिना राम्रोसँग चल्यो अहिले अवरुद्ध भएको छ, अहिलेको जमानामा इन्टरनेटबिना शिक्षण सिकाइ अपूरो हुन्छ’, प्रअ पुनले भने, ‘शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउनका लागि इन्टरनेटको विकल्प छैन, सबै विद्यालयमा यो विस्तार हुन जरुरी छ ।’ उनले इन्टरनेट जडानपछि विद्यार्थीलाई सिक्न रुचि राखेको विषय प्रत्यक्ष देखाएर सिकाउन सकिने भन्दै तत्काल देश–विदेशका घटनाका सूचना सजिलै प्राप्त गर्न सकिने उनको भनाइ छ । कोभिडको समयमा अनलाइन कक्षा सञ्चालनमा समेत ठूलो टेवा पुगेको उनले जानकारी दिए । तमानखोलाका उपाध्यक्ष हीराकुमारी छन्त्यालले सूचना प्रविधिको विकाससँगै शिक्षालाई पनि प्रविधिमैत्री बनाउनका लागि विद्यालयमा इन्टरनेट विस्तार गर्न थालेको बताइन् । सुरुमा वडा कार्यालयमा इन्टरनेट जडान गरेकामा अहिले विद्यालयमा समेत विस्तार गर्न थालेको उनले जानकारी दिइन् । ‘हामीले केटमाइन इन्टरनेट सेवा प्रदायकसँग सम्झौता गरेर वडाहरूमा इन्टरनेट विस्तार गर्‍यौँ, विद्यालयहरूमा पनि यसको अतिआवश्यक हुँदा अहिले माध्यमिक तहका विद्यालयमा जडान गरेर सुरुआत गरेका छौँ”, उपाध्यक्ष छन्त्यालले भनिन्,’शिक्षा प्रविधिमैत्री बनाउने हिसाबले इनटरनेट जडानको कामलाई अगाडि सारिएको हो, यसले पक्कै पनि विद्यार्थीको सिकाइमा केही नयाँपन ल्याउने र प्रभावकारी बनाउने छ ।’ तमानखोलामा २४ विद्यालय छन् । ती मध्ये माध्यमिक विद्यालय तीन, आधारभूत विद्यालय नौ र प्राथमिक विद्यालय १२ छन् । विद्यालयमा इन्टरनेट जडानपछि विद्यार्थीसमेत हर्षित बनेका छन् । कक्षा १० मा पढ्ने रोहित बुढामगरले विद्यालयमा इन्टरनेट जडान भएपछि कम्प्युटर सिक्न र नयाँ ज्ञान, सीप सिक्न सहज भएको बताउनुभयो ।

काठमाडौं:   कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका डिपोमा ४२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको जनाएको छ । आइतबार मलको उपलब्धताबारे विवरण सार्वजनिक गर्दै मन्त्रालयले चालु आर्थिक वर्ष (आव) को ४ महिनामा ८६ हजार २४६ मेट्रिकटन रासायनिक मल बिक्री वितरण भएको र अझै ४२ हजार ९८३ मेट्रिकटन मल मौज्दात रहेको जनाएको हो । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलकाअनुसार कृषि सामग्री कम्पनीसँग ३५ हजार ४४९ मेट्रिकटन र साल्ट ट्रेडिङसँग ७ हजार ५३४ मेट्रिकटन मल मौज्दात छ । कृषि सामग्री कम्पनीसँग युरिया १५ हजार १७९ मेट्रिकटन, डीएपी १८ हजार ४३२ मेट्रिकटन र पोटास १ हजार ८३७ मेट्रिकटन मौज्दात छ । यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनसँग ६ हजार ५८४ मेट्रिकटन युरिया, ८५४ मेट्रिकटन डीएपी र ९५ मेट्रिकटन पोटास मौज्दात छ । चालु आवको कात्तिकसम्म कृषि सामग्री कम्पनीले ५७ हजार २१२ र कृषि सामग्री कम्पनीले २९ हजार ३३ मेट्रिकटन रासायनिक मल बिक्री गरेको जनाएको छ । यस्तै ४५ हजार मेट्रिकटन युरिया मल आयातको चरणमा रहेको मन्त्रालयले उल्लेख गरेको छ ।१५ हजार मेट्रिकटन युरिया मल आयात भइरहेको र भारतसँग जीटूजीमा खरिद गरेको ३० हजार मेट्रिकटन युरिया मल पुस पहिलो हस्तासम्म आइपुग्नेगरी हाल प्याकिङ भइरहेको पनि मन्त्रालयले जनाएको छ ।