बागलुङः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निर्वाचनमा जनतासँग गरेको वाचा आगामी पाँच वर्षमा पूरा गर्ने गरी आफू काममा लाग्ने बताउनुभएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री पौडेलले आफ्नो निर्वाचन क्षेत्र बागलुङको ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यवाद दिँदै पाँच वर्षमा जनतासँग गरेको विकास र समृद्धिको वाचा पूरा गर्ने बताउनुभएको हो । उहाँले निर्वाचनमा आफूले सार्वजनिक गरेका विकास र समृद्धिका योजनालाई पाँच वर्षमा पूरा गर्न हदैसम्मको प्रयासमा लाग्ने बताउनुभयो । “अधुरा काम पूरा गर्दै नयाँ विकासे आयोजना थप गर्ने छु, आगामी पाँच वर्षमा जनताको आधारभूत विकास शिक्षा, स्वास्थ्य, खानेपानी र सडकजस्ता योजना हदैसम्म सफल बनाइने छ”, मन्त्री पौडेलले भन्नुभयो, “पाँच वर्षमा बागलुङको पश्चिम क्षेत्रमा धेरै विकासका ढोका खोलिनेछन् ।” उहाँले अबको केन्द्रीय र प्रदेश सरकारसमेत अहिलेको गठबन्धबाटै बन्ने जिकिर गर्नुभयो । चुनावपछि जनताको साझा प्रतिनिधि भएको उल्लेख गर्दै मन्त्री पौडेलले पूर्वाधार विकासमा समान वितरण प्रणली लागू गरिने जानकारी दिनुभयो । उहाँले ढोरपाटन–साल्झण्डी सडक निर्माणलाई तीव्रता दिने, केन्द्रीय प्रसारण लाइनलाई विस्तार गरिने, आफ्नो क्षेत्रका ठूला सडकमा पक्की पुल निर्माण गर्ने र ढोरपाटनको आलुलाई प्रवद्र्धन गर्ने बताउनुभयो ।
पाल्पाः आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा पाल्पाको एक विद्यालयले प्रयोगात्मकसँगै व्यवहारिक ज्ञान, सीप सिकाउने अभियान थालेको छ । कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै सिकाइ पूर्ण हुन नसक्ने वास्तविकतालाई आत्मसात् गर्दै पाल्पाको रामपुरस्थित भूपू सैनिक राइजिङ इङ्लिस स्कुलले विद्यार्थीमा व्यवहारिक ज्ञान, सीप सिकाउने उद्देश्यका साथ परम्परागतरूपमा चलनचल्तीका सीप सिकाउने कार्य गरिरहेको छ । यहाँ गाउँघर, समाजमा दैनिक प्रयोगमा आउने गुन्द्री, दुनाटपरी तयार पार्नेजस्ता सीप सिकाउन थालिएको हो । हाललाई कक्षा ९ का विद्यार्थीलाई मात्रै सिकाउने गरिएको छ । विद्यालयको प्रांगणमा तान लगाएर गुन्द्री बुन्ने, दुनाटपरी तयार पारेको दृश्यले शिक्षक, अभिभावक, विद्यार्थीमा नयाँ कुरा सिक्ने र सिकाउने कार्यमा उत्साह थपिएको छ । बढ्दो आधुनिकताले गर्दा गाउँघरमा सबैले पुराना कुरा बिर्सिंदै गएको अवस्थामा विद्यालयमा सीप सिक्न पाउने अवसर मिलेको छात्रा नमूना गौतमले बताइन् । ‘नियमित प्रयोग गर्दै आएका वस्तुका लागि अहिले बजारका प्लाष्टिकजन्य सामग्रीमा निर्भर रहनुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘आफैंले घरमै तयार पारेर प्रयोग गर्न मिल्ने सामग्री हामी अन्यत्र आश्रित हुनुहुँदैन, विद्यालयले हाम्रो जीवनोपयोगीमा अति उपयोगी हुने सीप सिक्ने वातावरण बनाइदिएको छ ।’ गुन्द्री, दुनाटपरी समाजमा अनिवार्यरूपमा प्रयोग भइरहने वस्तु हुन् । सैद्धान्तिक सिकाइले कण्ठ गर्ने मात्र हुन्छ । छात्रा सभ्यता जिसी घरमा प्रयोग गरिए तापनि सीप सिक्ने मौका नमिलेको अवस्थामा विद्यालमै आएर सिक्न पाउँदा रमाइलो लागेको बताउँछिन् । नेपाली भएर पनि आफ्ना संस्कार, संस्कृतिको जगेर्ना गर्न नसक्दा परम्परागत संस्कृति लोपोन्मुख हुँदै गएको छ । अहिलेलाई कक्षा ९ का विद्यार्थीलाई मात्र सिकाइएको सीप क्रमिकरूपमा अन्यलाई पनि सिकाइनेछ । घरमा प्रयोग हुने गरे पनि सिक्ने समय नमिल्ने अर्थात् नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा अहिले गुन्द्री बुन्ने, दुनाटपरी बुन्नेजस्ता कार्यमा नयाँ पुस्ता अन्योलमा छ । उनीहरूलाई मध्यनजर गर्दै दैनिक प्रयोगमा आउने र पुरानो चलनचल्तीलाई नयाँ पुस्तामा ज्ञान, सीप सिकाउन विद्यालयभित्रै प्रयोगात्मक ज्ञान, सीप सिकाउने गरिएको हो । शिक्षण सिकाइमा प्रयोगात्मक सिकाइअन्तर्गत विद्यार्थीलाई नयाँ कुरा सिकाउने र प्राचीनरूपमा घरमा प्रयोग हुँदै आएको तर अहिलेका पुस्तामा सीप हस्तान्तरण नहुँदा प्रयोग कम हुँदै गएको अवस्थामा विद्यालयमा नै सीप सिकाउने कार्य सुरु गरिएको प्रिन्सिपल गोपी सिग्देलले बताए । ‘विद्यार्थीले असाध्यै उत्साहित भएर ज्ञान, सीप सिक्ने गरिरहेका छन्, अभिभावकले पनि घरमा सिकाउने समय नमिलेको अवस्थामा विद्यालयमा नै सिकाइएको यस सीपलाई सकारात्मकरूपमा लिनुभएको छ, छात्राहरू यससम्बन्धी सीप सिक्न पाउँदा खुसी छन्,’ उनले भने । थोरै समयमा आफ्नो समयतालिकाअनुसार उत्साहित भएर विद्यार्थीले सीप सिक्ने गरेको शिक्षक ईश्वरीदेवी श्रेष्ठ बताउँछिन् । उनका अनुसार दैनिक ४० मिनेटको समय पालैपालो सिकाइने गरिएको छ । लोप भएको कुरालाई उजागर गर्दै विद्यार्थीको पढाइमा असर नपर्ने गरी पुराना सीप जुन अनिवार्य प्रयोगमा आइरहन्छन्, सो सीपलाई सिकाउन थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । अहिलेलाई छात्रालाई दुनाटपरी, गुन्द्री बुन्नेजस्ता सीप सिकाइएको छ । विस्तारै बत्ती काट्ने सीप सिकाउने विद्यालयले जनाएको छ । छात्रलाई वायरिङ, प्लम्बिङजस्ता तालिम सिकाउने विद्यालयले योजना बनाएको छ । कक्षा ९ मा हाल ४० विद्यार्थीमध्ये १३ छात्रा र २७ छात्र अध्ययनरत छन् । मन्टेश्वरीदेखि कक्षा १२ सम्म पठनपाठन हुने यस विद्यालयमा हाल एक हजार २० विद्यार्थी अध्ययनरत छन् । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई विभिन्न खाजा, खानाको परिकार बनाउने कार्य, बिरुवा रोपण, विद्यालय प्रांगणमा करेसाबारी निर्माण, सरसफाइजस्ता कार्यक्रम भइरहेका छन् । विद्यालयको आन्तरिक स्रोत र नेपाल–भारत सहयोगमा दुई स्कुल बस नियमित सञ्चालनमा छन् । विद्यालयमा रामपुरबाहेक स्याङ्जाको दामाचौर, माडी, साँखर र तनहुँको अत्रौली, पुट्टार क्षेत्रका विद्यार्थी दैनिकरूपमा बसमा विद्यालय आउँछन् । स्कुल बसको सुविधा भएपछि टाढाका विद्यार्थी घरबाटै यहाँ पढ्न आउने गरेका छन् । मन्टेश्वरीदेखि कक्षा १ सम्मका विद्यार्थीलाई विद्यालयमा नै एक कर्मचारी व्यवस्था गरी खाजा बनाएर खुवाउने गरिएको छ । यहाँ ५२ शिक्षक कर्मचारी कार्यरत छन् ।
सिरहाः सिरहाको गोलबजारबाट कटुवा पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् । गोलबजार नगरपालिका–११ बलकवा मैनाबती पुलबाट कटुवा पेस्तोल एक थानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोलबजार–४ बस्ने १९ वर्षीय कृष्णाकुमार यादव र सोही नगरपालिका–११ बलकवा बस्ने २१ वर्षीय मोहम्मद अरमान खान रहेको जिल्ला प्रहरीले सिरहाले जनाएको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई पेस्तोलसहित पक्राउ गरेको हो । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक प्रवक्ता सुवास बुढाथोकीले बताउनुभयो ।
नवलपरासीः नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को धौवादीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । दुर्घटनामा दुई महिला र दुई पुरुष गरी चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी९बर्दघाट सुस्ता पूर्व०का प्रमुख एसपी भुवनेश्वर तिवारीले पुष्टि गर्नुभयो । दुर्घटना परी घाइते भएकाको उद्धार गर्ने क्रममा थप दुईको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको सनाखत भइसकेको छैन । घाइते सात जनालाई उद्धार गरी अस्पताल लगिएको छ । सडकबाट करिब तीन सय मिटर तल खसेको जिप ब्रेक फेल भएका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ । साँझ साढे ५ बजे भएको दुर्घटनामा घाइते तथा मृतकको उद्धार साढे ८ बजेसम्म जारी रहेको थियो । घाइते तथा मृतकको उद्धार गर्न निकै कठिन भएकाले मृतकको सङ्ख्या बढेको जनाइएको छ । घटनास्थल दुर्गम पहाडी क्षेत्र भएकाले उद्धारमा कठिनाइ भएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानाले बताउनुभयो ।
नवलपरासीः नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्युु भएको छ । दलदलेबाट १४ जना यात्रु लिएर डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४–००१ज–०००६ नंको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको र चालकसहित सात जना गम्भीर घाइते भएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानाले जानकारी दिनुभयो । घाइतेहरूको उद्धार गरी उपचारका लागि कावासोती लगिएको छ । अहिले साँझ साढे ५ बजे भएको दुर्घटनामा जिप तीन सय मिटर तल खसेकाले घाइतेको उद्धार गर्न निकै समय लागेको थियो । जिपको ब्रेक फेल भई दुर्घटना भएको अनुमान गरिएको छ । अहिलेसम्म मृतक तथा घाइतेको परिचय खुलेको छैन ।
गलेश्वरः जाडोयाम सुरु भएसँगै हिमाली तथा उच्च पहाडी भेगका चौरी र भेडीगोठ न्यानो स्थानको खोजीमा बेँसी सार्न थालिएको छ । म्याग्दी र मुस्ताङका उच्च पहाडी क्षेत्रका चौरी र भेडीगोठ जाडो बढ्न थालेसँगै रित्तिन थालेका छन् भने तल्लो भेगका खर्क र बेँसीमा चहलपहल बढेको छ । मुस्ताङको थासाङ, निलगिरी साउथ हिमाल फेदीको मार्चे, धौलागिरि हिमाल फेदीको मूलिखर्क, बतासे र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने अन्नपूर्ण साउथ हिमालमुनिको खोप्रा÷खयर तथा बयली लेकका चौरी, रघुगङ्गा र धवलागिरि गाउँपालिकाका उच्च लेकाली क्षेत्रमा चरनका लागि लगिएका भेडालाई बस्ती नजिकैका न्यानो क्षेत्रमा झारिएको हो । मुस्ताङ र म्याग्दीको उच्च लेकाली क्षेत्रमा पालिएका चौँरी र भेडा गर्मीमा लेक तथा जाडोमा बेसी झार्ने गरिन्छ । घुम्ती गोठ बनाएर चौरी र भेडापालन गर्दै आएका मुस्ताङको मूली, बतासे क्षेत्रका चौँरी नाउरीकोट, बोक्सीखोलाका चौरी पालक किसानले चरनका लागि चौँरीलाई गर्मी महिनामा धौलागिरि, निलगिरि र टुकुचे हिमालको फेदमा रहेका खर्कमा लैजाने गर्छन् भने जाडो सुरु भएपछि बेँसी झार्ने गर्दछन् । मुस्ताङका चौरी पालक किसान सहेन्द्र शेरचनले लेकाली क्षेत्रमा अत्यधिक चिसो बढ्नुका साथै हिमपात हुन सुरु भएपछि चौँरीलाई नीलगिरि फेदीका चौँरी चोखोपानी, सौरु, टिटी क्षेत्रमा सारिएको जानकारी दिनुभयो । म्याग्दीको अन्नपूर्ण क्षेत्रका चौँरीलाई लरेनी क्षेत्रमा ओरालिएको चौरीपालक सोभित खोरजाले बताउनुभयो । अहिले बेँसी झारिएका चौँरीलाई वैशाख लागेपछि मात्रै पुनः बुकी ९लेक० फर्काइने उहाँको भनाइ छ । चिसो छल्न बेँसी झरे पनि चौँरीलाई चरनको समस्या रहेको किसानले गुनासो गरेका छन् । “सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रमा चरिचरनलाई रोक लगाएपछि समस्या उत्पन्न भएको छ”, उहाँले भन्नुभयो, “लेकाली क्षेत्रमा चरनको समस्या छैन, तर बेँसीका चरन क्षेत्रमा चरनको अभाव हुने भएकाले चौँरी पाल्ने किसानको सङ्ख्या कम हुँदै गएको छ ।” त्यसैगरी मुस्ताङको मूली लेकका चौँरीपालक किसान सकेन्द्र गौचनले माथि चिसो बढ्न थालेपछि न्यानो बासको खोजीका उँधोतर्फ झर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जाडो बढ्न थालेपछि हामी चौँरीगोठ बेँसीतिर झार्छौँं गर्मी सुरु भएपछि फेरि लेकतिर ल्याउने गर्छौँ, जाडोले पशुचौपाया मात्र नभइ मानिसलाई समेत समस्या हुने भएकाल बेँसी झर्नु बाध्यता हो ।” तेन्जिङ जस्तै यहाँका सबै चौरी किसान बेँसी झर्न थालेका छन् । यहाँका किसान छ महिना लेकतिर र छ महिना बेँसीतिरको खर्कमा चौँरी तथा गाईभैँसी पाल्दै आएका छन् ।
काठमाडौंः मैतीदेवी बस्ने ३५ वर्षीय रामनारायण परियार फुर्सदका समयमा पुराना पत्रिका पढ्न काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय जानुहुन्छ । इतिहासका कुरा थाहा पाउन उहाँ त्यहाँका पत्रपत्रिका अध्ययन गर्नुहुन्छ । “यहाँ निःशुल्क पढ्न पाइन्छ । समय मिलेमा म त्यहाँ पुगिहाल्छु”, उहाँ भन्नहुन्छ, फुर्सद निकालेर त्यहाँ पढ्न पाउँदा मलाई खुसी लाग्छ । वरपर खाजा खाने राम्रो ठाउँ नभएकाले आफैँ खाजा लिएर भृकुटीमण्डपस्थित पुस्तकालयमा प्रायः आइरहन्छु ।” बानेश्वरका भोजराज कार्की पनि विद्यालय बिदा भएका दिन सधैँ सो पुस्तकालयमा जाने गर्नुहुन्छ । “बानेश्वरदेखि धेरै टाढा पनि छैन, त्यसैले स्कुल भएका दिन म यहीँ जाने गर्छु । छुट्टीका दिन धेरै विद्यार्थी आउने गरेकाले ठाउँ पाउनै मुस्किल हुन्छ”, बाह्र कक्षा अध्ययनरत कार्की भन्नुहुन्छ, “घरमा पढ्न गाह्रो हुन्छ, टिभी हेर्न मन लाग्छ, मोबाइलमा गेम खेल्न मन लाग्छ, तर यहाँ टिभी पनि छैन, साथीहरूलाई देखेर पनि पढ्न मन लाग्छ ।” सबैका हातमा मोबाइल र ल्यापटप कम्प्युटर नाचिरहेका बेला सो पुस्तकालयमा भने परियार र कार्की जस्तै अध्ययनार्थीको भिड देखिन्छ । पुस्तक पढ्ने शान्त वातावरण खोज्दै पाठक उक्त पुस्तकालय पुग्ने क्रम बढ्दो छ । लोकसेवा आयोगका परीक्षा तयारी गर्नेदेखि कलेजका विद्यार्थीसहित दैनिक करिब ५० जना उक्त पुस्तकालय पुग्छन् । पुस्तकालयमा अपाङ्गता भएका, बालबालिकालगायत हरेक उमेर समूहका मानिस किताब पढिरहेका देखिन्छन् । आफूले खोजेका किताब÷पत्रपत्रिका निःशुल्क पढ्न पाउने भएपछि पुस्तकालयमा मानिसहरूको सधैँ भरिभराउ हुन्छ । मोबाइलमा फिल्म हेरेर र गेम खेलेर बिताउने पुस्ता पनि पुस्तकालयमा पुगेर ज्ञान बटुलिरहेको हुन्छ । पुस्तकालयमा इतिहास, साहित्य, राजनीतिकका साथै अनेक विषयका नेपाली र अङ्ग्रेजी भाषाका पुस्तक राखिएको छ । विभिन्न देशका राजदूतले पुस्तकालय अवलोकन गरेर सहयोग पनि दिने गरेका छन् । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, माधवकुमार नेपाल, बाबुराम भट्टराई र पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता सुवास नेम्वाङले पनि पुस्तकालय अवलोकन गर्दै सहयोग गर्नुभएको थियो । पुस्तकालयले भने अझैसम्म आफ्ना लागि स्थायी घर भेटेको छैन । चारैतिर बजार क्षेत्र भए पनि पुस्तकालयलाई असर गरेको छैन । एकातिर किनमेलका लागि आउने मानिस हुन्छन् भने अर्कातिर किताब पढ्नैका लागि खाजा बोकेर आउने पनि छन् । कोलाहलयुक्त वातावरण नभएकाले शान्तसँग बसेर पढ्नैका लागि पुस्तकालय मानिसको आकर्षणको केन्द्र बनेको छ । राम्रो सुविधा भनेको पुस्तकालयको सदस्य बनिसकेपछि घरमै लगेर पनि पुस्तक पढ्न पाउनु पनि हो । यहाँ बाहिरबाट पुस्तक बोकेरसमेत पढ्न आउनेहरू छन् । लोकसेवा आयोगको परीक्षाको तयारी गर्दै गर्नुभएका ब्रज पटेल भन्नुहुन्छ, “म घरबाट किताब लिएर आउँछु, दिनभरी यहाँ मज्जाले पढ्न पाइन्छ । कोठामा अरू साथीहरू पनि बस्छन्, घरमा पढ्ने वातावरण हुँदैन । त्यसैले बिहान खाना खाएर आउँछु, दिनभरी किताब पढेर साँझ मात्रै कोठा फर्किन्छु ।” स्थापनाको कथा विसं २०६० मा वर्तमान परराष्ट्रमन्त्री डा नारायण खड्काबाट रु १० लाख योगदान भई स्थापित पुस्तकालयले अहिले सरकारबाट वार्षिक रु ५० लाख अनुदान पाउने गरेको छ । काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापितले राष्ट्रियसभा गृहमा एउटा कोठा उपलब्ध गराएर सो पुस्तकालय सुरु गराउनु भएकामा पछि भृकुटीमण्डपमा सारी विस्तार गरिएको हो । ब्रिटिस स्कुल र ब्रिटिस काउन्सिलले आठ हजारभन्दा बढी पुस्तक उपलब्ध गराएपछि यसले अझै धेरै पाठकलाई तान्न सक्यो । पुस्तक बढेसँगै पुस्तकालयले ज्ञानको विस्तार पनि गर्न पायो । त्यस्तै एसिया फाउन्डेसनले पनि सुरुआती अवस्थादेखि नै किताब उपलब्ध गराई सहयोग गरेको थियो । प्रविधिको विकाससँगै हाल पुस्तकालयलाई कम्युटराइज्ड पनि गरिएको छ । विसं २०६४ मा पुस्तकालयको सदस्यता दिने निर्णय भएको थियो । अहिले रु एक हजार धरौटी राखेर सदस्य बन्ने नियम बनाइएको छ । हाल दुई हजार दुई सय जनाले यसको सदस्यता लिएका छन् । वार्षिक रु ३०० शुल्क तिरेपछि घरमा लगेर किताब पढ्न पाइने सुविधाले धेरैलाई आकर्षित पनि गरेको छ । सो अभियान सुरु गरिएपछि सदस्यता लिनेहरू बढ्दै गएको पुस्तकालयका व्यस्थापक जुजुभाइ डङ्गोल बताउनुहुन्छ । साठी जना साधारण सदस्य रहेको उक्त पुस्तकालयमा दुई–दुई वर्षमा कार्यसमितिको चुनाव गरेर नेतृत्व छनोट गरिन्छ । हालको आठ सदस्यीय कार्यकारी समितिका अध्यक्षमा मन्त्री डा खड्का, उपाध्यक्षमा पूर्वराज्यमन्त्री याङ्किला शेर्पा, महासचिवमा मोहनकुमार इङ्नाम र कोषाध्यक्षमा महेशकुमार अग्रवाल रहनुभएको छ । चुनौती दैनिक पाठकको भिड लाग्न थालेपछि अहिले यहाँ ठाउँ अभाव भई नयाँ पाठकलाई राख्न समस्या भएको व्यवस्थापक डङ्गोल गुनासो गर्नुहुन्छ । सुरुमा भवनको भाडामा ७५ प्रतिशत छुट भएकामा अहिले १०० प्रतिशत भाडा तिर्दा आर्थिक चुनौती थपिएको छ । यहाँ शनिबार सबैभन्दा धेरै भिड हुन्छ । आइतबार भने बन्द हुन्छ । व्यवस्थापक डङ्गोल भन्नुहुन्छ, “हामी विद्यार्थीलाई चिसो मौसमा तातोपानीसमेत उपलब्ध गराउँछौँ । सकेसम्म धेरै पढ्न सहज वातावरण बनाएका छौँ । चिसो मौसममा मिलेसम्म चिया पनि दिन्छौँ, तातोपानी छुटाउँदैनौँ, “सकेसम्म धेरै पढ्ने वातावरण मिलाएका छौँ तर हामीसँग जनशक्तिको अभावले समस्या भएको छ ।” “कोरोनाको महामारीभन्दा अगाडि हरेक महिनाको १५ गते यहाँ डा सनतकुमार बस्ती सम्मिलित ‘सिर्जना संवाद’ कार्यक्रम हुने गरेको थियो तर अहिले स्थान अभावका कारण त्यसलाई निरन्तरता दिन सकेका छैनौँ”, उहाँले भन्नुभयो ।
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटन गर्दै उहाँले नेपालको प्राचीन वस्तु तथा स्थापत्यकला, मूर्तिकला, चित्रकला र सङ्गीत एवं नाट्य स्वदेशमा मात्र नभएर विदेशमा पनि उत्तिकै प्रसिद्ध र लोकप्रिय रहेको बताउनुभयो । कला साधक र सर्जक देशका अमूल्यनिधि भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले कलाकारले सिर्जना गरेका कलाकृति देशका अमूल्य सम्पत्ति एवं मुलुकको पहिचानका महत्वपूर्ण प्रतीक भएकाले यसको संरक्षण गरिनुपर्नेमा जोड दिनुभयो । “कला र संस्कृतिको सिर्जनाको संरक्षण र सम्वद्र्धन गर्दै विश्व मानचित्रमा नेपालको विशिष्ट पहिचान बनाउँदै कला संस्कृतिको सम्वद्र्धनबाट आर्थिक सामाजिक विकासमा योगदान पु¥याउन हामी सबै प्रतिबद्ध हुन आवश्यक छ, ललितकला क्षेत्रको संरक्षण र सम्वद्र्धन, यस क्षेत्रमा अध्ययन अनुसन्धानलाई प्रवद्र्धन गर्ने तथा कलाकारको सिर्जना र प्रतिभालाई देश, विदेशमा प्रचारप्रसार गर्ने लगायतका उद्देश्यले प्रतिष्ठानको स्थापना भएको हो”, उहाँले भन्नुभयो । नेपाली कलाकारले बनाएका कलाकृति विश्वका विभिन्न देशका सङ्ग्रहालय तथा ग्यालरीमा रहेको जानकारी गराउनुहुँदै प्रधानमन्त्री देउवाले नेपाल विशिष्ट कलाकारको जन्मभूमिका रुपमा स्थापित भएको बताउनुभयो । छ÷सात सय वर्षअघि नेपालमा जन्मिएका प्रतिभाशाली कलाकार अरनिकोले नेपाली कलाकारको नेतृत्व गर्दै छिमेकीमुलुक चीन पुगेर थुप्रै कलाकृति सिर्जना गरी नेपाली वास्तुकलालाई व्यापक बनाएको प्रसङ्ग पनि उहाँले स्मरण गर्नुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “अरनिकोले चीनमा बनाएका कलाकृति आज पनि जीवन्त रहेर नेपाललाई चिनाइरहेको छ । कला, संस्कृतिलाई देशको मात्र नभई विश्वकै सम्पत्ति मानेर संरक्षण र सम्वद्र्धन गर्ने प्रचलन सुरु भएको छ । युनेस्कोलगायत अन्तर्राष्ट्रिय संस्थाले यसका लागि सहयोगसमेत गर्दै आइरहेका छन् ।” प्रतिष्ठानले पनि युनेस्कोलगायत यस सम्बन्धमा काम गर्ने अन्य संस्थासँग सहकार्य गर्दै अघि बढ्नुपर्ने उहाँको सुझाव छ । कला, संस्कृति र सम्पदाको संरक्षणबाट अहिलेको पुस्ताले मात्र नभई भावि पुस्ताले पनि फाइदा उठाउनसक्ने भएकाले विशेष ध्यान दिन प्रधानमन्त्री देउवाले आग्रह गर्नुभयो । यस क्षेत्रका सीप र प्रतिभालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रतिष्ठानले जोड दिनुपर्नेमा उहाँले जोड दिनुभएको थियो । कलाकार अरनिकोको १७ फिट अग्लो मूर्ति निर्माणलाई सम्पन्न गर्न आवश्यकपर्ने बजेट सरकारले व्यवस्था गर्ने उहाँको प्रतिबद्धता छ । नेपालभर छरिएर रहेका कलाकारको खोजी गरी व्यक्तिवृत्त तयार गर्ने, तिनका कलाकृतिको संरक्षण गर्ने र सिर्जित कलाकृतिलाई स्वदेश तथा विदेशमा व्यवस्थित तवरले प्रचारप्रसार गर्न आवश्यक रहेकामा प्रधानमन्त्री देउवाले जोड दिनुभयो । यसमा प्रतिष्ठानले ध्यान दिनुपर्ने बताउनुहुँदै उहाँले सरकारले पनि यस काममा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
म्याग्दीः म्याग्दीमा टिमुर टिप्नका लागि जर्मन प्रविधि भित्र्याइएको छ । टिमुर टिप्न र बोट काँटछाँट गर्नका लागि जर्मनीमा विकास भएको सिकेचर र आरा भित्र्याइएको हो । काँडाबाट जोगिन किसानले हाँगा र बोटलाई काटेर फल टिप्दा बिरुवा नै नासिने खतरा बढेको थियो । बेनी नगरपालिका–९ को भूमेसिद्ध टिमुर सञ्जालमा आवद्ध किसानलाई बुधबार टिमुर टिप्ने मिल्ने सिकेचर र करौटी वितरण गरिएको छ । समूहका अध्यक्ष सागर बाँनियाले आधुनिक औजारले टिमुर टिप्न र काँटछाँट गर्न किसानलाई सहज, छिटो भएको र बिरुवा संरक्षणमा सहयोग पुग्ने बताउनुभयो । “फल टिप्दा काँडाले घोचेर घाउ बनाउने समस्या थियो,” उहाँले भन्नुभयो, “हाँगा काट्ने र बोटनै ढलाउँदा बिरुवा मासिने जोखिम बढेको थियो । यो औजार भएपछि काँडाबाट बच्न र बिरुवा जोगाउन सहज हुनेभएको छ ।” जर्मनीको गार्डेना कम्पनीले उत्पादन गरेका ४० थान सिकेचर र करौटी लुपथान्सा एअरलाइन्सले इको हिमाल अस्ट्रिया र इको हिमाल नेपालमार्फत् निःशुल्क उपलब्ध गराएको हो । इको हिमाल नेपालका कार्यकारी प्रमुख एकनारायण ढकालले रु दश लाख मूल्य बराबरका औजार उपलब्ध गराइएको बताउनुभयो । “म्याग्दीमा टिमुर खेतीको सम्भाव्यता अध्ययन गरी जर्मनीको प्रयोगशालामा परीक्षण गरेर अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सघाएका थियौँ,” उहाँले भन्नुभयो, “अहिले ल्याएका औजार प्रभावकारी भयो भने थप ल्याउन पहल गर्छौँ ।” इको हिमाल अस्ट्रियाका अध्यक्ष कुर्ट, इको हिमाल नेपालका कार्यकारी प्रमुख ढकाल, डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले बेनपा–९ का वडा सदस्य झलक विक र सारदा विकमार्फत् औजार वितरण गर्नुभएको थियो । बेनी नगरपालिका–९ को तोरीपानी, धावा, धुपीबोट, ढोलथानका करिब एक सय ५० घरधुरीले व्यावसायिक टिमुर खेती गर्छन् । म्याग्दीमा २५ हेक्टर क्षेत्रफलमा टिमुर खेती भएको डिभिजन वन कार्यालयले जनाएको छ । सहायक वन अधिकृत सापकोटाका अनुसार हाल वार्षिक करिब ६ मेट्रिकटनको हाराहारीमा टिमुर उत्पादन हुन्छ । केही वर्षअघि वन डिभिजन कार्यालयले भूमेसिद्ध किसान समूहलाई टिमुर प्रशोधनका लागि रु दश लाख मूल्य बराबरको औजार उपलब्ध गराएको थियो । फूल खेल्ने समयमा परेको असिनाले यसपाली टिमुर उत्पादनमा कमी आएको किसानले बताएका छन् । म्यादीमा उत्पादन भएको टिमुर बेनी, पोखरा, काठमाडौँ, नारायणघाटलगायत बजारका साथै तिब्बत, जापान, बेल्जियम र कोरियामा निकासी हुन्छ । टिमुरलाई दाल र चटनीमा मसलाको रुपमा प्रयोग गरिन्छ । रमरम गर्ने स्वाद पाइने, शरीर न्यानो बनाउने र वास्नादार टिमुर प्रतिकिलो रु दुई हजार पाँच सयदेखि चार हजारका दरले बिक्री हुन्छ । बेनी नगरपालिका–९ धुपीबोटकी रसिला परियारले गत वर्ष १४ केजी टिमुर रु दुई हजार पाँच सयका दरले बिक्री गरेको बताउनुभयो । विगतमा असोज कात्तिकमा टिमुर टिप्ने उहाँले यसपाली पकाएर मङ्सिर लागेपछि मात्रै टिप्न थालेको बताउनुभयो । वार्षिक २० केजीको हाराहारीमा टिमुर उत्पादन गर्ने धुपीबोटकी रैमति परियारले पाखो, बारीको कान्ला र खेतबारीको छेउमा बारको रुपमा लगाएको टिमुर बेचेर घरखर्च चलाउन सहयोग पुगेको बताउनुभयो ।

