वालिङः आँधीखोला बहुउद्देश्यीय जलविहार परियोजना निर्माणका विषयमा स्याङ्जाको वालिङ नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) काठमाडौँबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । वालिङस्थित आँधीखोलामा बाँध बाँधेर जलाशय निर्माण गर्ने र सोही जलाशयमा जलविहार गर्ने मुख्य उद्देश्यसहित अगाडि बढाइएको आँधीखोला बहुउद्देश्यीय जलविहार परियोजना निर्माणका लागि वालिङ नगरपालिका र निफ्राबीच बुधबार काठमाडौँमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । वालिङ नगरपालिकाले आँधीखोलामा जलाशय निर्माण गरी जलविहारको व्यवस्था मिलाइ आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्नका लागि सार्वजनिक निजी साझेदारीमा विकास, लगानी, निर्माण एवं सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो । “यो दीर्घकालीन महत्व र वालिङको गौरवको योजना पनि हो”, उहाँले भन्नुभयो, “सरकारी निजी साझेदारी पिपिपि मोडेलअन्तर्गत आँधीखोलामा जलविहार सञ्चालन गर्ने र त्यसका लागि आर्थिक तथा प्राविधिक सहयोगीसँग समन्वय र स्रोतको व्यवस्थापन गर्ने विषयमा निफ्रासँग सहमति पत्रमा हस्ताक्षर भएको हो ।” नगरपालिकाले आँधीखोलामा बाँध बाँधेर जलविहार गर्न सकिने, आँधीखोलाको दुवै किनारमा रहेको कोरिडोरको सौन्दर्यकरणमा जोड दिने, निर्माण भएको जलाशयमा माछा पाल्ने र सीमान्तकृत अवस्थामा रहेको माझी जातीको पेसा व्यवसायको संरक्षण, आँधीखोलाको वातावरणीय संरक्षण साथै पर्यटकीयस्थल बाहुनथानदेखि वालिङ बजार नजिकै जिपलाइन निर्माण गर्नेजस्ता मुख्य कार्य यो परियोजनाअन्तर्गत रहेकाले पूर्वसम्भाव्यता अध्ययन गरिसकेको उहाँले बताउनुभयो । “नगरपालिकाको तर्फबाट पूर्वसम्भाव्यता अध्ययन गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “हाम्रोतर्फबाट गरिएको अध्ययनका विषयमा निफ्रासँग छलफल ग¥यौँ, उहाँहरु यो परियोजनाका विषयमा आकर्षित हुनुभयो ।” नगरपालिकाका तर्फबाट परियोजना स्थलमा गर्नुपर्ने प्रक्रिया र निफ्राका तर्फबाट गरिने कार्य सहमति पत्रमा उल्लेख गरिएको छ । पूर्वाधारका क्षेत्रमा काम गर्दै आएको निफ्राले वालिङ नगरपालिकाले अगाडि सारेको परियोजनालाई ठोस रुप दिनका लागि सहमति पत्रमा हस्ताक्षर गरेको निफ्राको पब्लिक सेक्टर न्यू इनिसियटिभ प्रमुख स्मृति शर्माले बताउनुभयो । सरकारी निजी साझेदारी पिपिपि मोडेलअन्तर्गत रहेर उक्त परियोजनाको थप सम्भाव्यता अध्ययन गर्ने, विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने र अध्ययनबाट सम्भव देखिएमा लगानीको प्रक्रिया अगाडि बढाइने उहाँले बताउनुभयो । वालिङ नगरपालिकाले तयार पारेको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार वालिङ नगरपालिका वडा नं ८ र ९ मा रहेको खेलमैदान नजिकै एउटा बाँध, वालिङ ६ र ९ स्थित मजुवामा एक गरी दुई वटा बाँध बाँधी जलाशय निर्माण गरिने छ । परियोजना निर्माणका लागि करिब रु ४५ करोड लगानी लाग्ने पूर्वानुमान वालिङ नगरपालिकाले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बलेवाः दोलखाका निकेस मानन्धर धौलागिरि आवासीय बहिरा विद्यालयमा तीनवर्षे कम्प्युटर इन्जिनियरिङ ‘कोर्ष’ गर्दैछन् । उहाँको छैटौँ सेमेस्टरको पढाइ भर्खर सुरु भयो, तर उहाँ दसैँअघि नै घर फर्किनुभएको छ । सिटिइभिटीबाट मान्यता प्राप्त कम्प्युटर इन्जिनियरिङको कक्षाका लागि सरकारले छात्रवृत्ति दिएको थियो । हरेक महिना प्रतिविद्यार्थी चार हजार रुपैयाँ दिएकाले टाढाबाट आएका विद्यार्थीले डेरा लिएर पढ्न सकेका थिए । कोरोना सङ्क्रमणका कारण समय लम्ँिबदा उनीहरुको अन्तिम सेमेस्टर बल्ल सुरु भयो, तर छात्रवृत्ति आउन भने छाड्यो । छात्रवृत्ति रकम नआएपछि मानन्धर जस्तै उहाँका धेरै साथीले कक्षा छाडेका छन् । उनीहरु घरमा गएर बसेका छन् । यता कक्षा रित्तो बन्न थालेको प्रधानाध्यापक रेशम श्रीषले बताउनुभयो । ‘‘पैसा तिरेर डेरा बस्ने, शुल्क तिर्ने काम गर्न सक्दैनन्, त्यसैले धेरैले विद्यालय छाडेका छन्”, उहाँले भन्नुभयो, “विद्यालयमा अनिवार्य उपस्थित हुन सूचना जारी गरेको छु, तर कति आउने हुन् थाहा छैन ।” विद्यालयले मङ्सिर १५ गतेभित्र सबै विद्यार्थीलाई हाजिर हुन सूचना प्रकाशित गरेको हो । प्राप्त छात्रवृत्तिमा अभिभावकले थपेर सदरमुकाममा डेरामा बस्ने खाने व्यवस्था गरेका थिए । रकम आउन छाडेपछि खानबस्न समस्या भएर अभिभावकले छोराछोरी फिर्ता लगेका हुन् । कोरोना सङ्क्रमणकालमा पढाइ बन्द भएकाले कोर्ष नसकिएको श्रीषले बताउनुभयो । ‘‘अन्तिम सेमेस्टरको पढाइ बल्ल सुरु भएको छ, तर विद्यार्थी छैनन्’’, उहाँले भन्नुभयो, ‘‘अभिभावकलाई फोन गरेर विद्यार्थी फर्काउन भनेको छु ।’’ यति लामो समयसम्म पढाइ सकेका अभिभावकले अन्तिम सेमेस्टर छाडेमा बालबालिकाको भविष्य अन्योल बन्ने उहाँले बताउनुभयो । यो विद्यालयमा देशभरका सुस्त श्रवणयुक्त विद्यार्थी पढ्छन् । कम्प्युटर इन्जिनियरिङ पढ्न पनि देशभरबाट नाम निकालेर आएकाहरु छन् । एउटा कक्षामा ४० जनाको कोटा छ । तीमध्ये अन्तिम सेमेस्टरका एकादुईबाहेक सबै विद्यार्थी घर गएकाले मङ्सिर १५ गतेभित्र हाजिर हुन आउन विद्यालयले सार्वजनिक सूचना जारी गरेको हो । उक्त सूचनापछि केही अभिभावकले चासो राखेर विद्यालयमा सम्पर्क गरेका छन् । तर कतिपयलाई जानकारीसमेत छैन । ‘‘आर्थिक अवस्था कमजोर भएकाले छात्रवृत्तिमा पढ्न गएका थियौँ, अहिले रकम नआएपछि समस्या भएको हो’’, दाङकी दुर्गा शर्मा ओलीले भन्नुभयो, ‘‘पढ्न नसकेपछि रोजगारीको खोजी गर्दैछौँ ।’’ उनीहरुले पढाइ नसक्दै काममा लाग्दा लामो समयको लगानी खेर जाने अभिभावकले बताए । कतिपय विद्यार्थीले काठमाडौँका होटलमा काम खोज्दै भाँैतारिएको बहिरा सङ्घ बागलुङका कोषाध्यक्ष यादव रेग्मीले बताउनुभयो । धौलागिरि बहिरा विद्यालयमा पाँच वर्षअघिदेखि कम्प्युटर इन्जिनियरिङको पढाइ सुरु भएको थियो । यहाँबाट तीनवर्षे ‘कोर्ष’ सकेर दुईवटा समूह छुटिसकेको छ । अहिले पनि एक सय २० विद्यार्थी कम्प्युटर इन्जिनियरिङ पढाइमा छन् । त्यसबाहेक कक्षा एक देखि १० सम्म पनि देशभरका विद्यार्थी पढ्दैछन् । आर्थिक अवस्था कमजोर भएका परिवारका सुस्त श्रवणयुक्त बालबालिका यो विद्यालयमा पढ्छन् । पछि दोभासे चाहिने भएकोले विद्यालयले कूल विद्यार्थीको १० प्रतिशत बालबालिका भने बिपन्न परिवारबाट पनि पढाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले बताउनुभयो । विद्यार्थीको भबिष्यमाथि नै खेलबाड हुने गरी रकम नआएकोप्रति उहाँले सिटिइभिटी र नेपाल सरकारका निकायमा कुरा गर्ने बताउनुभयो ।
पोखराः जहानियाँ राणाशासनको अन्त्य भई २००७ सालमा स्थापित प्रजातन्त्रपछि पोखरामा स्थापित यहाँको पुरानो संस्था हो पोखरा उद्योग वाणिज्य सङ्घ । उद्योग व्यवसायीको हकहितका लागि स्थापित सङ्घ स्थापनायता निरन्तर यहाँको शिक्षा, स्वास्थ्यलगायत विकास निर्माणमा साझेदार बन्दै आएको छ । तत्कालीन समयमा यहाँका व्यापारीले आफ्ना हक तथा अधिकारको संरक्षणका लागि २००८ सालमा स्व टेकबहादुर ढेवाजुको अध्यक्षतामा ३३ जना व्यवसायी सम्मिलित संस्था खोलिएको थियो । उक्त संस्थाले निरन्तरता पाउन नसके पनि उक्त प्रयासकै जगमा २०११ माघ २५ गते स्व अमृतप्रसाद शेरचनको अध्यक्षतामा पोखरा व्यापार सङ्घ विधिवत् स्थापना भएको हो । शेरचनको अध्यक्षतामा गठित अस्थायी समितिलाई २०१२ सालमा सु अन्ङ्गमान शेरचनको प्रयासबाट विधिवत् दर्ता भएको थियो । त्यही व्यापार सङ्घ अहिले पोखरा उद्योग वाणिज्य सङ्घका रुपमा क्रियाशील छ । पोखराका हरेक समाजिक गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गरेको सङ्घले त्यसयता यहाँको औद्योगिक विकाससँगै शिक्षा, स्वास्थ्य, रोजगार प्रवद्र्धन आदिमा विशिष्ट भूमिका खेल्दै आएको पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापति बताउनुहुन्छ । सङ्घकै पहलमा २०३१ सालमा पोखरामा औद्योगिक क्षेत्रका लागि जग्गा अधिग्रहण गरेपछि तत्कालीन पोखरा व्यापार सङ्घले आफूलाई परिमार्जित गर्दै पोखरा उद्योग वाणिज्य सङ्घमा रुपान्तरित भएको हो । सङ्घको स्थापनासँगै व्यवसायीले पोखरा विमानस्थल अगाडि एउटा गोदाम घर निर्माण गरेका थिए । करिब १५ हजारको लागतमा निर्मित गोदाम घरमा विमानस्थलबाट आउने सामान थन्क्याउन थालिएसँगै सङ्घका गतिविधि बढ्दै गएका हुन् । व्यापार सङ्घ गठन हुँदादेखि नै यसले उद्योग व्यवसाय क्षेत्रको विकाससँगै शिक्षा, स्वास्थ्य, आवश्यक पूर्वाधार विकासमा जोड दिएको अध्यक्ष प्रजापतिले बताउनुभयो । पोखरामा २०१७ सालमा पृथ्वीनारायण कलेज चलाउन सङ्घले तत्कालीन अवस्थामा मासिक एक हजार तथा पोखरा विमानस्थलबाट सङ्कलन हुने सेवा शुल्कबाट समेत सहयोग गर्दै गरेको प्रयासको जगले अहिले पोखरा शिक्षाको केन्द्र जस्तै बनिसकेको छ । विसं २०४८ मा वाणिज्य शास्त्रमा स्नातकोत्तरको कक्षा चलाउने निर्णय गरेका अवस्थामा तत्कालीन समयमा सङ्घले दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो । सङ्घकै रु एक लाख ३२ हजार सहयोगमा २०२८ सालमा बालमन्दिरको भवन निर्माण भएको थियो । बालमन्दिरका लागि सङ्घको सहयोग अहिले पनि जारी रहेको छ । पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको व्यवसायीकरणका माध्यमबाट समृद्ध बनाउन सङ्घले ठूलो गुन लगाएको शिक्षा क्षेत्रका जानकारहरू बताउँछन् । सङ्घले २०४४ सालमा पोखरा बहुमुखी कलेज स्थापना गर्दा आवश्यकपर्ने रु तीन लाख रुपैयाँ धरौटीबापतको रकम सहयोग गरेको थियो । पोखरा उद्योग वाणिज्य सङ्घ तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वध्यक्ष आनन्दराज मुल्मी सङ्घले यहाँका हरेक शैक्षिक संस्थामा केही न केही योगदान गरेको बताउनुहुन्छ । पोखरा विश्वविद्यालयको स्थापनाका लागि सङ्घले गरेको पहल महत्वपूर्ण छ । देशमा २०४० सालयता बहुविश्वविद्यालयको अवधारणा भित्रिएसँगै पोखरामा विश्वविद्यालयको आवश्यकता बोध गर्दै सङ्घका तत्कालीन अध्यक्ष हेमबहादुर प्रधानको नेतृत्वको प्रतिनिधिमण्डलले २०४१ सालमा प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको ध्यानाकर्षण गराएको थियो । विसं २०४३ मा सङ्घका तत्कालीन अध्यक्ष रामचन्द्र बाँस्तोलाको संयोजकत्वमा समिति गठनका साथै त्यसयता विभिन्न चरणका छलफल र सुझाव सङ्कलनका काम बढाइएको थियो । पोखरा विश्वविद्यालय सम्पर्क समितिले सोही जगमा टेकेर २०४३ कात्तिक ११ गते स्व राजा वीरेन्द्रसामु विश्वविद्यालय स्थापनाका लागि बिन्तीपत्र प्रस्तुत गरेको थियो । सङ्घको अध्यक्षमा मुल्मी निर्वाचित भएपछि उहाँकै अध्यक्षतामा २०४३ सालमा प्रस्तावित पोखरा विश्वविद्यालय सम्पर्क समिति गठन भयो । विसं २०४६ मा राजाको पोखरा भ्रमणपछि विश्वविद्यालय स्थापनाका निम्ति सरकारलाई निर्देशन दिइएको थियो । विसं २०४७ मा सङ्घको अध्यक्षमा फणिन्द्रमान श्रेष्ठ निर्वाचित भएपछि उहाँकै संयोजकत्वमा प्रस्तावित पोखरा विश्वविद्यालय सम्पर्क समिति गठन भयो । विसं २०४९ मा भएको बृहत भेलाले प्रस्तावित विश्वविद्यालयको नाम पोखरा विश्वविद्यालय राख्ने निर्णय ग¥यो । सङ्घका तत्कालीन अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा एक सय ६१ सदस्यीय मूल समिति गठन गरियो भने १३ सदस्यीय व्यवस्थापन समिति पनि गठन भयो । विभिन्न प्रयाससँगै २०५३ सालमा पोखरा विश्वविद्यालय विधेयक संसद्मा दर्ता भयो । विसं २०५३ मा नै सङ्घका तत्कालीन अध्यक्ष आजाद श्रेष्ठको अध्यक्षतामा २० सदस्यीय तयारी समिति गठन भयो । विसं २०५३ मा संसद्को दशौँ अधिवेशनमा पोखरा विश्वविद्यालय ऐन २०५३ पारित भयो । विश्वविद्यालयको प्रथम उपकुलपतिको रुपमा प्राडा पुरुषोत्तम बस्नेत नियुक्त हुनुभयो । त्यतिबेला विश्वविद्यालयको फर्निचर खरिदका लागि सङ्घले केही रकम सहयोग गरेको थियो । पोखरामा औद्योगिक क्षेत्रको स्थापनार्थ सङ्घको अगुवाइमा २०२७ सालदेखि विभिन्न प्रयास अघि बढाइएकामा २०३१ सालमा तत्कालीन पोखरा महानगरपालिका–१२ कुँडहरमा पोखरा औद्योगिक क्षेत्रको स्थापना भयो । पोखरा औद्योगिक क्षेत्रको स्थापनापछि यहाँका व्यवसायी क्रमशः उद्योग तथा व्यापारतर्फ आकर्षित हुँदै गए । पोखराको व्यावसायिक विकासका लागि विभिन्न संस्थासँगको प्रयासमा सङ्घले गरेका साझेदारीका कार्यक्रम प्रभावकारी बन्दै गएका छन् । पोखराको स्वास्थ्य क्षेत्रका लागि पनि महत्वपूर्ण योगदान गरेको सङ्घले पोखरामा मुटुरोग उपचार केन्द्र स्थापनादेखि यहाँका हरेक स्वास्थ्य क्षेत्रको विकासमा योगदान गरेको छ । पोखरालाई विश्वमाझ जोड्ने दीर्घकालीन लक्ष्यका साथ सङ्घले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि धेरै पहिलादेखि अग्रसरता देखाउँदै आएको छ । विमानस्थलका लागि २०३२ सालमा जग्गा अधिग्रहण भए पनि निर्माणको काम नबढ्दा सङ्घकै अगुवाइमा विभिन्न सङ्घर्षका कार्यक्रम गरिएको थियो । सङ्घकै अगुवाइमा विमानस्थल निर्माणका लागि दबाब दिने उद्देश्यले २०६१ असोज ६ गतेका सम्बद्ध सबै पक्षको उपस्थितिमा सम्पन्न भेलाले सङ्घका तत्कालीन अध्यक्ष रमेश कर्माचार्यको अध्यक्षतामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सहयोग समिति गठन गरेको थियो । त्यसयताका विभिन्न चरणका छलफल अन्तक्र्रियासँगै सङ्घर्षका कारण अन्ततः पोखरा विमानस्थल निर्माण सम्पन्न भई यान्त्रिक उडानसमेत भइसकेको छ । विमानस्थल निर्माण हुनुपर्छ भन्ने सङ्घको अगुवाईसँगै २०४७ सालयता होटेल सङ्घ पोखराको पहलमा विमानस्थल सञ्चालनका अवस्थासम्म आइपुगेको होटल सङ्घ एवं पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वध्यक्ष विश्वशङ्कर पालिखेले बताउनुभयो । उद्योग एवं व्यवसायको प्रवद्र्धनका लागि मेला औद्योगिक क्षेत्रको विकाससँगै व्यवसायको प्रवद्र्धनका लागि सङ्घले गर्दै आएको औद्योगिक व्यापार मेलालाई पोखरामा मात्र नभई देशमा नै महत्वका साथ हेर्ने गरिएको छ । यस वर्षको मेला समृद्धि स्टिल्सको मुख्य प्रायोजनमा हुन लागेको र यही मङ्सिर १६ देखि २५ गतेसम्म आयोजना हुन लागेको महासचिव बलराम आचार्यले बताउनुभयो । पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको अध्यक्ष प्रजापतिले बताउनुभयो । ‘लगानीको सम्वद्र्धनः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मूल नारा रहेको मेला गण्डकी प्रदेशको व्यवसाय विस्तारको सम्भावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यसमेत रहेको उहाँको भनाइ छ । सङ्घका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीका अनुसार यस वर्ष हुने मेलाअन्तर्गत डोमतर्फ ७८, अटोका ४५ र अन्य विभिन्न खालका १२० वटा कक्ष गरी करिब २५० कक्ष रहेका छन् । मेलाको आकर्षणका रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको गतिविधिको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, शृङ्गारका सामानको बिक्रीवितरण रहेका छन् । सिटीइभिटीको सहयोगमा कास्की जिल्ला हस्तकला सङ्घले मेला स्थलमा हस्तकलाका सामग्री बनाउने तालिम प्रदान गरिने कार्कीले बताउनुभयो ।
पोखराः पोखरा अन्तराष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोवार नेपाल बैंक लिमिटेड मार्फत हुने सम्झौता भएको छ । पोखरामा नेपाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त र पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रमुख विक्रमराज गौतमका विचमा सो सम्झौतामा हस्ताक्षर भएको हो । हस्ताक्षर कार्यक्रमपछि बोल्दै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पन्तले बैंककातर्फबाट विमानस्थलमा हुने बैंकिङ सम्बिन्ध कारोवारमा कुनै गुनासो नआउने गरि सेवा प्रदान गने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यलय गण्डकीका प्रमुख प्रतिमा श्रेष्ठ लगाएतका अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो । केही दिनअघि परीक्षण उडान सकिएको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा यही पुस १७ गतेदेखि व्यवसायिक उडान सञ्चालन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले घोषणा गरिसकेको छ ।
डोटीः डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गए राति निधन भएको छ । उहाँको हृदयघातका कारण निधन भएको हो । बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा एक्कासी बेहोस भएर ढल्नुभएको पूर्वीचौकी–४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिनुभयो । उहाँको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको हो । उहाँको हृदयघातकै कारण निधन भएको जिल्ला अस्पतालका डा सोहन शाहले बताउनुभयो । जोशी गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो
काठमाडौंः ‘महिला पत्रकारमाथि अनलाइन हिंसाको अवस्था’ सम्बन्धी एक अध्ययन प्रतिवेदनले ८८ दशमलव छ प्रतिशत महिला पत्रकारले आफ्नो जीवनकालमा हिंसा भोगेको जनाएको छ । छापा, विद्युतीय तथा अनलाइन मिडियामा कार्यरत दुई सय ८१ महिला पत्रकारको सहभागिता रहेको अध्ययनमा ८८ दशमलव छ प्रतिशत महिला पत्रकारले हिंसा भोग्नुपरेको देखाएको छ । सन् २०२२ मे महिनादेखि ३१ अगस्टसम्म गरिएको अध्ययनमा हिंंसा गर्ने व्यक्तिबारे सोधिएका प्रश्नमा दुई सय ८१ जना सहभागीमध्ये एक सय १६ जनाले कार्यालयभित्रका सहकर्मीबाट, ८९ जनाले कार्यालय बाहिरका सहकर्मीबाट, ८९ जनाले परिचित व्यक्तिबाट, ६३ जनाले समाचार स्रोतबाट, ५६ जनाले राजनीतिक दलसम्बद्ध व्यक्तिबाट र २६ जनाले सरकारी अधिकारीबाट अनलाइन हिंसा भएको उल्लेख छ । सहभागीमध्ये ५३ प्रतिशतले आफूले भोगेको अनलाइन हिंसा पत्रकारिता पेसासँग सम्बन्धित रहेको बताएका थिए भने २१ दशमलव चार प्रतिशतले अनलाइनबाट सुरु भएको हिंसापछि गएर धम्की र भौतिक आक्रमणसम्म पुगेका बताएका छन् । सहभागीमध्ये ११ दशमलव चार प्रतिशतले आफूले नभई अरुले हिंसा भोगेको सुनाएको प्रतिवेदनमा छ । अध्ययनले सबैभन्दा बढी फेसबुक मेसेन्जरबाट हिंसा हुने देखाएको छ । सहभागीमध्ये फेसबुक म्यासेन्जरबाट ६२ दशमलव तीन प्रतिशत, १५ दशमलव पाँच प्रतिशतले ट्विटर, १२ दशमलव आठ प्रतिशत ह्वाट्सअप, ११ दशमलव सात प्रतिशत भाइवर, छ प्रतिशतले इमेल र चार दशमलव छ प्रतिशतले इन्स्टाग्रामको माध्यमबाट हिंसा भएको देखाएको छ । अनलाइन हिंसामा परेकामध्ये ४० दशमलव दुई प्रतिशत महिला पत्रकारले पेसामा असर परेको र अनलाइन हिंसामा परेकामध्ये ३१ प्रतिशतले पारिवारिक जीवनमा असर परेको बताएको छ । अनलाइन हिंसामा परेकामध्ये ६२ दशमलव तीन प्रतिशतले मानसिक स्वास्थ्यमा असर परेको र मानसिक असर परेकामध्ये २६ दशमलव तीन प्रतिशतले मनोसामाजिक परामर्शको सेवा लिनुपरेको अध्ययनमा छ । मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले आज उक्त प्रतिवेदन सार्वजनिक गर्दै प्रतिवेदनले गहन विषयको उठान गरेको र कानुन निर्माण प्रक्रियामा मन्त्रालयले गम्भीरतापूर्वक समेट्ने बताउनुभयो । “आमसञ्चारमा आएका हिंसाका घटना हेरिन्छ, समाचारभित्रका पात्रहरु कसरी पीडित भइरहेका छन् भन्ने हेरिएको थिएन”, उहाँले भन्नुभयो, “अझ सर्वसाधारणको अवस्था कस्तो होला, कानुनमा पनि केही थप गरेर जानुपर्ने देखिन्छ ।” उहाँले मन्त्रालयले आवश्यक परेमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल पत्रकार पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले अध्ययन महत्वपूर्ण भएको उल्लेख गर्दै भन्नुभयो, “महासङ्घले नीति, नियम वा निर्देशिका बनाउँदा यस विषयलाई समेट्नेछ ।” उहाँले हिंसाको विषय महिलाको मात्र नभएर सबैको भएको भनाइ राख्नुभयो । “सुसूचित गर्ने व्यक्ति नै हिंसामा परेपछि समाजको हिंसा अझ कस्तो होला”, महिलाविरुद्ध हुने विभेद उन्मूलनको समिति ९सिड० कमिटीका सदस्य बन्दना राणाले भन्नुभयो, “पुरुषलाई पनि हिंसा भएको होला, त्यो कुन स्तरमा भएको छ अध्ययन हुनुपर्छ ।” म्यागका संस्थापक अध्यक्ष बबिता बस्नेतले उक्त प्रतिवेदन प्रस्तुत गर्दै अनलाइन हिंसा रोक्न पर्याप्त कानुनकोे व्यवस्था गर्नुपर्ने र मानवीय व्यवहार सुधार गर्न जरुरी भएको बताउनुभयो । म्यागका अध्यक्ष अनिता विन्दुले संस्थागतरुपमा महिलाहिंसा न्यूनीकरण गर्न र डिजिटल सुरक्षामा खतरा बढ्दै गएको हुँदा राज्यले कानुनीरुपमै व्यवस्था गर्न ध्यानाकर्षण गर्ने उद्देश्यले उक्त अध्ययन गरिएको जानकारी दिनुभयो । नेपालमा महिलामाथि शारीरिक, मानसिक, मनोवैज्ञानिक, आर्थिक, सामाजिक, सांस्कृतिक, यौनजन्य, प्रथा र परम्पराजनितलगायत हिंसा हुँदै आएका छन् । सूचना प्रविधिका बढ्दो प्रयोगसँगै प्रविधिबाट हुने हिंसा बढ्दै गएको छ । नेपाल प्रहरीको साइबर ब्युरोमा आर्थिक वर्ष २०७७/०७८ मा साइबर अपराधसँग सम्बन्धित तीन हजार नौ सय छ उजुरी परेका छन् । तीमध्ये महिलामाथि भएको दुव्र्यवहारसम्बन्धी दुई हजार तीन, पुरुषका एक हजार चार सय ७१ र अन्य लिङ्गीका दुई सय २४ रहेका छन् । यो तथ्याङ्कलाई हेर्दा अनलाइन हिंसा बढ्दो क्रममा देखिन्छ । यसलाई सम्बोधनका लागि कानुन, संयन्त्र र व्यवहार सुधारमा ध्यान दिनुपर्ने जरुरी देखिन्छ ।
पोखराः कास्कीको पर्यटकीय क्षेत्र मादी गाउँपालिका १ सिक्लेस जाने अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको छ । हिजो (मंगलबार) अपह्रान्ह करिब ४ बजे खसेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएको थियो । पोखरा–सिक्लेस ग्रामीण सडकखण्ड अन्र्तगत खिलाङ र चिप्लीगाउँबीचको खोलामा सुख्खा पहिरोसहित ठुलो ढुङ्गा खस्दा सडक अवरुद्ध भएको सडक सञ्चालनमा आएको मादी गाउँपालिका १ का वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । मादी गाउँपालिका, मादी ६ र १ को समन्वयमा सडक सञ्चालनमा आएको जानकारी दिए । सडक सञ्चालन गर्न मादी ६ को सडक निर्माण गरिरहेको एक्सभेटरको मद्धतमा सडक सञ्चालनमा ल्याएको हो । मंगलबार अपह्रान्ह करिब ४ बजे झरेको सुख्खा पहिरोले सडक अवरुद्ध भएपछि सिक्लेसबाट पोखरा आउने र पोखराबाट सिक्लेस जाने यात्रु तथा पर्यटकहरुले सवारी परिवर्तन गरेर गन्तव्यमा पुगेको थिए ।
पोखरा: पोखरामा हुने २० औं संस्करणको ‘समृद्धि स्टिल्स् औद्योगिक व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी १६ देखि २५ गतेसम्म नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने मेलाको तयारी ९० प्रतिशत पुरा भएको आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । संघका महासचिव बलराम आचार्यले उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगको बताए । ‘हाम्रो तयारी अन्तिम चरणमा पुगेको छ । आजसम्म ९० प्रतिशत काम सकिएको अवस्था छ, उनले भने, ‘बाँकी काम अबको दुई दिनमा सकिनेछ ।’ उनका अनुसार अधिकांश स्टलहरु बुकिङ भइसकोका छन् । उनले करिब २ सय ५० वटा स्टलहरु रहको जानकारी दिदै ४० बढी अटोका स्टलहरु रहेको जानकारी दिए । यसैगरि संघका अध्यक्ष पवन प्रजापतिले स्थानीयस्तरमा उत्पादन भएका समाग्रीको विक्री तथा वितरण कृषिजन्य, हस्तकलाको प्रदर्शनी, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतको प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पुर्याउने उद्देश्यसहित मेला आयोजना गरिएको बताए । ‘यस व्यापार मेला नाफामूलक मेला नभइ यस क्षेत्रको समग्र पर्यटन प्रर्वद्धन, औद्योगिक उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट गराउने महान उत्सव हो ।’ उनले भने । उनले कोरोना भाइरसको महामारीका कारण २ वर्ष मेला आयोजना गर्न नपाएको बताए । ‘औधोगिक मेला २०४२ सालबाट निरन्तररुपमा आयोजना हुदै आएको छ । तर कोभिड १९ ले गर्दा २ संस्करणहरु आयोजना गर्न सकिएन, प्रजापतिले भने, ‘कोभिड १९ ले हाम्रो अभियान रोकियो र संघको वार्षिक कार्यक्रमको रुपमा रहेको व्यापार मेलालाई यस वर्षदेखि फेरि निरन्तरता दिन लागेका छौं ।’ उक्त कार्यक्रमको समुद्घाटन गण्डकी प्रदेशका निवर्तमान कानून, सञ्चार तथा प्रदेशसभा मामिालामन्त्री विन्दु थापाले गर्नेछन् । उनका अनुसार सो मेलामा सर्वसाधारणका लागि १ सय र विधार्थीका लागि ६० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ ।
पोखरा: पोखरामा जारी आइटीएफ जे–५ टेनिस प्रतियोगितामा शिर्ष वरियताकी सर्भानी श्रेष्ठले महिला डबल्सतर्फ मंगलबारको खेलमा जित हाँसिल गरेकी छन् । भारतकी इशी महेश्वरीलाई पार्टनर बनाएकी नेपालको तेश्रो वरियाता प्राप्त सर्भानी जोडीले भारतकै पद्मा मनिकोण्डा र संस्कृती भाडाकट्टु जोडीमाथि ६–०, ६–० को सहज जित निकाल्दै दोश्रो चरणमा प्रवेश गरे । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत महिला डबल्सतर्फ भारतका सेली ठाक्कर र साक्षि ठाक्करको जोडीले श्रीलंकाकी भिस्मी ओन्थेरा सेरासिंगे र भारतकी श्रीथिका रेडिको जोडीलाई ६–३,६–४ को सोझो सेटमा जित निकाले । त्यस्तै, कोरियाकी डोङ हेयुन युम र केगान जोनाथनको जोडीले भारतका आर्यन अरोरा र मायंका सर्माको जोडीलाई पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए । भारतकै श्रीनिधी बालाजी र लक्ष्मीश्री डन्डुको जोडीले भारतका देवांशी गोहिल र नेपालका रायना शाहको जोडीलाई पराजित गरे । भारतका ऐरा सिद्धार्थ चेत्नानी र दुर्गाशीको जोडीले कोरियाका युन्जी जोङ र नेपालका आध्या पौडेल जोडीलाई पराजित गरेका छन् । मंगलबार पुरुष डबल्सतर्फ भारतका सिद्धान्त सर्मा र रसियाका फेडोर सोसेड्किन जोडीले नेपालका राजविक्रम प्रथान र सक्षम विक्रम शाहको जोडीलाई ६–४, ६–१ को सेटमा पराजित गरे । अर्को खेलमा भारतका सागर कुमार र स्वस्तिक सर्मा जोडीले जर्मनीका यस बाहाल्कर र ताइवानका चेन हुई हो जोडीमाथि ६–१, ६–२ को नजिता निकाले । त्यस्तै, नेपालका आर्यन गिरी र भारतका बंश नन्नदल जोडीले भारतका विभु चालागुण्डला र श्रीनिकेत कन्नन जोडीलाई ६–४, ६–२ को सेटमा पराजित गरे । मंगलबार महिला एकलतर्फ भएको खेलमा भारतकी आकृती सेन्कुसारे नारायनले रसियाकी लैला अख्मेटोभालाई ७–५, ६–४ ले, ताइवानकी के हाउ हङले भारतकी तनुसा गिल्ड्याललाई ६–४, ६–३ ले, ताइवानकी चेन हुई हो ले भारतकी सर्भामन्यु सिंहलाई २–६, ६–२ र ६–४ ले, भारतकी जान्भी असावाले कोरियाकी युन्जी जेयोङलाई ६–०, ६–४ ले तथा भारतकी आर्जन खोराकिवालाले भारतकै हर्सिनी विश्वानन्दलाई ६–४, ६–२ ले पराजित गरिन् ।

