पोखरा: सुदुर पश्चिम प्रदेशको विकट जिल्ला डोटीका भुकम्प पिडितलाई वाइ सर्भिस क्लब अफ पोखरा र वाइ सर्भिस क्लब अफ लुम्बिनीले सम्युक्त रुपमा गत विहिबार राहत वितरण गरेका छन् । गत कार्तिक २३ गते बुधबार राती करिब २ वजेको समयमा डोटी जिल्लाको पुर्वी चौकी गाउँपालिका वडा नं. ७ गैरा गाउँमा केन्द्र विन्दु वनाई गएको ६.६ रेक्टर स्केलको भुकम्पको कारण त्यहाँका ठुलो धनजनको क्षति भएको समाचार माध्यममा प्रशारण भए पछि क्लबले सो स्थानमा गइ राहत वितरण गर्ने सोच बनायो । वाइज मेन इन्टरनेशनल क्लबका साउथइष्ट एशिया रिजनल डिरेक्टर इलेक्ट दिपक भण्डारीको नेतृत्वमा वाइ सर्भिस क्लब अफ पोखराका अध्यक्ष अरुण रानाभाट र क्लबका सल्लाहकार डोटीका स्थानिय समाजसेवी मिनबहादुर वोहराको समुहले राहत सामग्री वितरण गरेको थियो । क्लबले न्यानो कपडा एक सय ५० थान, कम्मल ५० थान, त्रिपाल ४० थान, खाद्यान्न सहयोग गरेको थियो । सो अवसरमा पुर्वी चौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्याय, वडा नं. ७ का वडा सदस्य भिम खड्कालगाएतको रोहवरमा उक्त राहत वितरण गरिएको वाइ सर्भिस क्लब अफ पोखराका अध्यक्ष अरुण रानाभाटले बताए । रिजनल डिरेक्टर इलेक्ट दिपक भण्डारीले पिडितलाई गरिएको सहयोग पहिलो चरणको भएको र दोश्रो चरणमा गाउँपालिकाको सहकार्यमा वाइज मेन इन्टरनेशनलको सहयोगमा पिडितहरुको घर मर्मत, अस्थायी घर निर्माण, शौचालय तथा घर निमार्ण गर्ने योजना रहेको पनि वताएका छन् ।
गलकोटः बागलुङ र म्याग्दी जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । बागलुङ नगरपालिका–४ कुडुँले फाँटदेखि म्याग्दी जिल्लाको बेनी नगरपालिका(१ रत्नेचौर जोड्ने झोलुङ्गे पुल निर्माण भएसँगै यात्रा सहज भएको छ । झोलुङ्गे पुलको जिल्लाका रुपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुङ्गे पुल थपिने क्रम जारी छ । बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झुलुङ्गे पुल थपिएको एक वर्षभित्रै बागलुङ नगरपालिका–४ कुडुँले फेदीबाट म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौर जोड्नेगरी झुलुङ्गे पुल निर्माण सुरु भएको थियो । कुडुँलेदेखि रत्नेचौर जोड्ने पुल निर्माण सम्पन्न भइसकेर हस्तान्तरणको मात्रै काम बाँकी रहेको पुल निर्माणको जिम्मा पाएको थानी हिमशिखर जेभी निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि नरहरि खड्काले जानकारी दिनुभयो । “बागलुङ र म्याग्दी जिल्ला जोड्ने झोलुङ्गे पुलको निर्माण सकिएको छ”, खड्काले भन्नुभयो “पुल हस्तान्तरणको प्रक्रियामा पुगेका छौँ, पुल निर्माण सम्झौता अनुसारको सबै काम सम्पन्न गरेका छौँ ।” सङ्घीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजन काठमाडाँैले म्याग्दीको बेनी नगरपालिका(१ रत्नेचौरदेखि बागलुङ नगरपालिका–४ कुडँुले जोड्ने ढोडेनी खोलामाथि पुल निर्माण गत असोजमा शिलान्यास गरिएको थियो । कुडुँलेदेखि रत्नेचौर जोड्ने उक्त झोलुङ्गे पुल रु तीन करोड ५० लाखमा निर्माण गरिएको छ । उक्त पुल निर्माणसँगै एक घण्टाको बाटो पाँच मिनेटमा छोट्टिएको बागलुङ नगरपालिका(४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्रीले जानकारी दिनुभयो । पुल बनेपछि रत्नेचौरमा उत्पादन हुने तरकारी र दुध बजारीकरण गर्न र पैदलमार्ग हुँदै बेनी–बागलुङ आवतजावत गर्ने सर्वसाधारणका लागि सहज हुने क्षत्रीको भनाइ छ । गत असार मसान्तभित्र काम सक्ने गरी गत वर्षको असोजमा पुल शिलान्यास गरिएको थियो । पुल निर्माण गर्नका लागि बागलुङतर्फ कुँडुले निवासी जयलाल सापकोटा, इन्द्रशर्मा र पशुपति सापकोटा लगायतले करिब डेढ रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो । म्याग्दी जिल्लाको रत्नेचौर, ज्यामरुककोट आसपासका क्षेत्रका बासिन्दाले सदरमुकाम बेनी बजारमा भन्दा बागलुङ बजारमा आर्थिक कारोबार र व्यापार व्यवसाय लगायतका गतिविधि गर्ने भएकाले पुलले आवतजावतमा सहजता थपेको छ । बागलुङ बजार र रत्नेचौरलाई पर्यटनसँग जोडेर विकास गर्न पुलले सहयोग गर्ने स्थानीयवासीको भनाइ छ । बेनीको रत्नेचौर र बागलुङको कुडुँले फाँटमा तोरी फुल्ने सिजनमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेकोमा यसवर्ष पुल निर्माणसँगै पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुने अपेक्षा गरिएको स्थानीयवासी टेकबहादुर रावलले जानकारी दिनुभयो । पुल निर्माणसँगै बागलुङको पञ्चकोट, कुँडुलेमा रहेको सालग्राम सङ्ग्रहालय अवलोकन गर्न आउनेको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ । रत्नेचौर, ज्यामरुककोट लगायतका स्थानीय बासिन्दा प्रशासनिक कामका लागि मात्रै बेनी जाने र अन्य आर्थिक कारोबारका लागि बागलुङ आउने भएकाले सहज हुने भएको छ ।
काठमाडौं: हाल देशमा उल्लेखनीय मौसम प्रणाली नरहेपनि जाडो मौसम (विन्टर सिजन) सुरु हुनै लागेकाले चिसो क्रमशः बढ्दै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार नेपालमा तत्कालै अन्य किसिमको मौसमी प्रणाली विकसित हुने देखिएको छैन । यद्पि, ‘पोष्ट’ मनसुनको अन्त्यमा आइसकेको र ‘विन्टर’ पनि सुुरु हुनेक्रममा रहेकाले चिसो क्रमशः बढ्नेछ । “चिसो बढिरहेको छ, पहाडी र हिमाली भेगमा आंशिक बदलीको सम्भावना छ, तर वर्षा या हिमपातको सम्भावना छैन”, मौसमविद् श्रेष्ठले भन्नुभयो । नेपालमा सामान्यतयाः डिसेम्बर १ देखि फेब्रुअरी अन्तिमसम्मको अवधिलाई जाडो मौसम मानिन्छ । काठमाडौँ उपत्यकामा बिहानीपख हल्का हुस्सु÷कुहिरो लाग्ने गरेकाले पछिल्ला दिनमा बढी चिसो महशुस गरिएको छ । बिहान केही समय कुहिरो लागे पनि एक देखि दुई घण्टामा उक्त कुहिरो हटेर पारिलो घाम लाग्ने गरेको छ । दिनभर घाम लाग्ने र रातमा आकाश खुला हुने भएकाले पनि चिसो बढिरहेको मौसमविदको भनाइ छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै तराई भू–भागमा हुस्सु÷कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध गरेको छ । आज दिउँसो प्रदेश नं १ तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यताया सफा रहनेछ । राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा आंशिक बदली तथा बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ । भोलि मङ्सिर १४ गते पनि देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
काठमाडौं: नेपाल चीन उद्योग वाणिज्य संघ (नेपाल चाइना चेम्बर)को गण्डकी प्रदेश अध्यक्षमा वैभव पौडेल चयन भएका छन् । संघको विधानअनुसार गण्डकी प्रदेश अध्यक्षमा पौडेललाई चयन गरिएको संघले जानकारी दिएको छ । पौडेल नेपाल युवा उद्यमी मञ्चका पूर्वअध्यक्ष र पर्यटन व्यवसायी हुन् । प्रदेश अध्यक्ष पौडेलले संघले प्रदान गरेको जिम्मेवारी निर्वाह गर्दै गण्डकी प्रदेशमा चिनियाँ लगानी आकर्षित गर्ने तथा चिनियाँ पर्यटकको हब बनाउनेतर्फ आफु केन्द्रित रहने प्रतिबद्धता जनाएका छन् ।
काठमाडौं: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक सयले घटेर रु ९७ हजार चार सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार पाँच सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार नौ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार दुई सय ८५ कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।
पोखराः पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिले निजी क्षेत्र विकासको साझेदार भएको बताउनुभएको छ । नेपाली सेनाको सैनिक कलेज तथा स्टाफ तालिम केन्द्रद्वारा सञ्चालित सिसं २९ कमाण्ड तथा स्टाफ तालिमका सहभागीसँग सोमबार भएको अन्तक्र्रियामा उहाँले सङ्घले गरेका विभिन्न सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गरेको छ भन्नुभयो । पोखराको शिक्षा र भौतिक निर्माणमा सङ्घले ठूलो योगदान गरेको उल्लेख गर्दै उहाँले लगानी गरेपछि नाफा–घाटा दुवैको जोखिम रहने उल्लेख गर्नुभयो । राज्यले दिएको अधिकार प्रयोग गर्दै राज्यलाई कर तिरेर नाफा कमाउनु नै उद्यमशीलता भएको उहाँको भनाइ छ । सङ्घका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने हो भने सुरक्षा निकायले सर्वप्रथम स्वदेशी उत्पादन उपभोग गर्नुपर्ने बताउनुभयो । सरकार र सरकारी निकायले व्यापार गर्ने नभएर निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । महासेनानी जयन्द्र केसीले तालिमको औचित्यमाथि प्रकाश पार्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीका तीन, विदेशी छ जनासमेत ४२ प्रशिक्षार्थी तालिममा सहभागी रहेको जानकारी दिनुभयो । सेनानी प्रसन पुनले नेपालको आयात–निर्यातको अवस्था तथा निर्यात प्रतिस्थापनका उपायबारे जिज्ञासा राख्नुभयो भने सेनानी सावित्री जिसीले आयातित वस्तु नियन्त्रण र स्वदेशी उत्पादनको उपभोग बढाउन गर्नुपर्ने प्रयास सम्बन्धमा प्रश्न गर्नुभएको थियो । सेनानी सन्तोष चन्दले नेपाली सेनाले आर्थिक समृद्धिको लागि निजी क्षेत्रसँग कहाँ सहकार्य गर्न सक्छ भन्ने जिज्ञासा व्यक्त गर्नुभयो । उक्त अवसरमा सेनानी राजविक्रम ठकुरी, उमेश खड्का, सशस्त्रका प्रहरी नायब उपरीक्षक आनन्द थापामगर, मेजर वेदबहादुर खड्का, दीपेन्द्र भण्डारी, पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव बलराम आचार्यलगायतले बोल्नुभएको थियो ।
पोखरा: राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ । पोखरा विमानस्थल सञ्चालनयोग्य भएसँगै मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या तीन पुगेको छ । विमानस्थलमा एकसाता लामो यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सफलतापूर्वक सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । “पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक उडान सफलताका साथ सम्पन्न भइसकेको छ”, उहाँले भन्नुभयो, “यान्त्रिक उडानको प्रतिवेदन १५ दिनभित्र आएपछि सार्वजनिक गरिनेछ ।” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि मुलुकभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । त्यसको छ महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनयोग्य भएको हो । एरोथाई कम्पनीको जहाजले यही मङ्सिर ५ देखि ११ सम्म यान्त्रिक उडान गरेको थियो । यान्त्रिक उडान विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे÷नगरेको परीक्षणका लागि गरिन्छ । यान्त्रिक उडानमार्फत पोखरा विमानस्थलमा रहेका एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरण परीक्षण गरिएको क्यानले जनाएको छ । यान्त्रिक परीक्षण सफल भएपछि मात्रै व्यावसायिक उडान सञ्चालन गरिने अन्तराष्ट्रिय अभ्यास छ । क्यानले आगामी पुस १७ देखि पोखरा विमानस्थलमा व्यावसायिक उडान सञ्चालन गर्ने घोषणा गरिसकेको छ । प्राधिकरणकको राष्ट्रिय गौरवका आयोजना निर्देशक बाबुराम पौडेलले यान्त्रिक परीक्षणको प्रतिवेदन क्यानले स्वीकृत गरेपछि एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन (एआइटी) मा प्रकाशन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिवेदनका आधारमा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुमा विमानस्थल सम्पूर्ण हिसाबले उडानका लागि तयार भएको जानकारी लिन्छन् र पोखरा गन्तव्यमा उडान गर्नसक्छन् ।” पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले आफूहरु विमानस्थल सञ्चालनको तयारीमा लागेका र कुनै पनि किसिमका कमजोरी हुन नदिन विमानस्थल प्रतिबद्धताका साथ लागेको बताउनुभयो । हाल विमानस्थल सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको छ । अध्यागमन, भन्सार, मेडिकल, सुरक्षा व्यवस्थालगायत सम्पूर्ण तयारी एक महिनाभित्र पूरा हुने उहाँले जानकारी दिनुभयो । तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै २२ अर्ब लागतमा निर्माण भएको छ । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाई र ४५ मिटर चौडाइको धावनमार्ग रहेको छ । उडान सञ्चालनअघि विमानस्थलको पूर्वपट्टि पर्ने रिट्ठेपानी डाँडा कटानको पहिलो चरणअन्तर्गत १६ मिटर कटान कार्य सकिएको प्राधिकरणले जनाएको छ । धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले ४० मिटर डाँडा काटेर समतल बनाइनेछ । बाँकी २४ मिटर काट्न बाँकी छ । ठेकेदार कम्पनी उमा एण्ड गाल्भा जेभीसँग वैशाखसम्ममा डाँडा कटान गरिसक्नुपर्ने सम्झौता छ । विमामनस्थल सञ्चालनका लागि चुनौतिका रुपमा रहेको ल्यान्डफिल साइटमा मङ्सिर १८ बाट फोहर फाल्न बन्द गर्ने जानकारीसहितको पत्र पोखरा महानगरपालिकाले विमानस्थल आयोजनालाई पठाइसकेको छ । हाल विमानस्थलबाट दुई किमि टाढा रहेको ल्यान्डफिल साइट रिट्ठेपानी डाँडा कटानबाट निस्किएको माटोले पुर्ने काम भइरहेको महानागरले जनाएको छ । पहिलो उडान बुद्ध एयरको नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि बुद्ध एयरले आवश्यक तयारी गरिरहेको छ । यसका लागि बुद्ध एयरले क्यानसमक्ष उडान अनुमतिका लागि निवेदन दिएको छ । कम्पनीले पोखरादेखि भारतका बनारस, दिल्ली र देहरादुनमा उडान गर्ने योजना बनाएको छ । जसअन्तर्गत पोखरा विमानस्थलबाट हुने पहिलो उडानका रूपमा बुद्ध एयरले पोखरा–बनारस–पोखरा उडान गर्नेछ । विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ‘सिङ्गल अप्रोच’ बाट हुनेछ । पूर्वपट्टिबाट मात्रै अन्तर्राष्ट्रिय जहाजले उडान र अवतरण गर्नेछन् । आन्तरिकतर्फ रन–वेको दुवैतर्फबाट उडान तथा अवतरण गर्न मिल्छ । विमानस्थलमा साना र ठूला गरी ११ जहाज पार्किङ गर्न सकिनेछ । आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ ६ वटा उडान तथा अवतरण गर्ने क्यानको तयारी छ । विमानस्थलसँग वार्षिक आठ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमता छ ।
पोखरा: पोखरामा सोमबारदेखि अन्तर्राष्ट्रिय आइटिएफ जुनियर–५ टेनिस प्रतियोगिता शुरु भएको छ । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा शुरु उक्त प्रतियोगिताको खेलकुद परिषद् गण्डकीका सदस्य सचिव घनश्याम पौडेलले प्रतियोगिता निर्देशक अजय विष्टलाई खेल सामग्री हस्तान्तरण गर्दै उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै सदस्य सचिव पौडेलले पोखरामा टेनिस खेलले छोटो समयमै ठूलो उपलब्धी हाँसिल गरेको बताए । टेनिस संघका पदाधिकारी तथा खेलाडीहरुको उत्साहलेनै यस्तो सम्भवन भएको पौडेलको भनाई थियो । खेल विकासका लागि भौतिक पूर्वाधार महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै प्रदेश सरकारले यसका लागि प्रयाप्त बजेट विनियोजन गर्नुपर्नेमा पौडेलले जोड दिए । समारोहमा बोल्दै कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँले पोखराले टेनिसमा खेल आयोजनासंगै उत्कृष्ट खेलाडीहरु समेत उत्पादन गरेको भन्दै खुसि व्यक्त गरे । नेपाल टेनिस संघका केन्द्रिय उपाध्यक्ष विनोद कायस्थले पोखरामा टेनिस विकासका लागि धेरै वर्ष पहिला आफुले देखेको सपना साकार हुँदै आएको उल्लेख गरे । आयोजक संघ कास्कीका अध्यक्षले प्रतियोगिता अन्तर्गत सर्किट १ खेल्न विभिन्न ९ राष्ट्रका ९८ खेलाडी पोखरा आएको जानकारी दिए । प्रतियोगिताकै दोश्रो सर्किटमा पनि झण्डै यतिनै खेलाडीको सहभागिता रहने अपेक्षा प्रकट गर्दै टेनिसले पोखराको खेल पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिंका निर्वाह गरेको जनाए । यस्ता प्रतियोगिताहरुको प्रवद्र्धनमा महानगर तथा प्रदेश सरकारले पनि ध्यान दिनुपर्ने गुरुङ्गको भनाई थियो । संघका उपाध्यक्ष नविन चालिसेले कार्यक्रम सञ्चालन गरेका थिए । दुई साता सम्म चल्ने प्रतियोगितामा १३ देखि १८ वर्ष सम्मका महिला तथा पुरुषका एकल र डबल्स इभेण्टमा प्रतिस्पर्धा हुनेछ । यसैविच प्रतियोगिताको उद्घाटन खेलमा भारतका बंश नन्दालले नेपालका सक्षम विक्रम शाहलाई ६–१,६–२ को सोझो सेटमा पराजित गरे । अर्को खेलमा नेपालका राजबिर प्रधानले भारतका विभु चलाङगुन्डलालाई ७–५ र ६–१ को सेटमा पराजित गरे । पहिलो दिनका अन्य खेलहरुमा भारतका सिद्धान्त सर्माले कोरियाका जिवान पार्कलाई, रसियाका फेडोर सोसेड्कीनले भारतका देवर्शी सेनलाई, नेपालका आर्यन गिरीले भारतका धनुष बर्मालाई, भारतका श्रीनिधि बालाजीले अमेरिकाका समिक्षा अनिमलाई, नेपालका रायन शाहले भारतका दिभिजा मनेनीलाई, श्रीलंकाका भिष्मी ओनेथ्रा शेरासिंगेले भारतका ऋदेशी पाइलाई पराजित गरेका छन् ।
मुगु: हिमाली क्षेत्रका कृषकको जीवनस्तर सुधार गर्ने र आर्थिकरुपमा सबल बनाउने उद्देश्यले अगाडि सारिएका कार्यक्रममा नै भ्रष्टाचार भएको पाइएको छ । स्थानीय सरकारले हिउँदे फलफूलका बिरुवा स्याउ, दाँते ओखर, च्याउको बीउ तथा जैविक विषादी उपलब्ध गराउने कार्यक्रम अगाडि सारेको छ । सोही कार्यक्रममा नै भ्रष्टाचार गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको छ । मुगुको छायाँनाथ रारा नगरपालिकाले आर्थिक वर्ष २०७५र७६ मा सञ्चालन गरेको कार्यक्रममा तोकिएको कार्यक्रमअनुसार बिरुवा नल्याइ झुठो बिल भर्पाई बनाएर भ्रष्टाचार गरेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । बिरुवा खरिदका लागि वास्तविक लागतभन्दा बढीको नक्कली बिल बनाएको तथा किसानबाट उठाएको रकम हिनामिना गरेको पाइएको छ । आयोगका आयोगका प्रवक्ता भण्डारीका अनुसार सो नगरपालिकाका तत्कालीन निमित्त प्रशासकीय अधिकृत पीताम्बर सारु र लेखा अधिकृत लोकेन्द्र रावतविरुद्ध रु एक लाख ६१ हजार बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरिएको हो । आयोगले नगरपालिकाका प्राविधिक सहायक उमाकान्त भण्डारीविरुद्ध रु दुई लाख २३ हजार एक सय बराबरको बिगो दाबी गरेको छ ।

