जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

सप्तरी:   सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दिनेशकुमार यादव विजयी भएका छन् ।   उनले नेकपा एमालेका ताराकान्त चौधरीलाई पराजित गरेका हुन् । यादवले २६ हजार १६६ मत ल्याउँदा चौधरीले २२ हजार ३०० मत पाए । यादव चौथो प्रयासमा जनताबाट अनुमोदित भएका हुन् । उनी २०६४ देखि प्रतिनिधिसभा सदस्य पदमा चुनाव लड्दै आएका थिए । तर उनले दोस्रो स्थानमा चित्त बुझाउँदै आउनु परेको थियो ।

धनगढी:   कैलाली निर्वाचन क्षेत्र नम्बर १बाट नागरिक उन्मुक्ति पार्टीकी अध्‍यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छिन् । कांग्रेसका उम्‍मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले हराउँदै श्रेष्ठ निर्वाचित भएकी हुन् । श्रेष्ठले ३० हजार ४०४ मत पाउँदा राम जनम चौधरीले १८ हजार ८ मत मात्र पाए । यस्तै नेकपा एमालेका उम्‍मेदवार तपेन्द्र रावलले ५ हजार ९१० मत ल्याए । २०७४ सालमा टीकापुर घटनामा जेल जीवन बिताइरहेका रेशम चौधरीले भूमिगत अवस्थामै ३४ हजार बढी मतले यो क्षेत्रबाट जितेका थिए । कारागारमै रहेका बेला चौधरीले केही महिना अघि मात्र श्रीमती श्रेष्ठको अध्यक्षतामा पार्टी खोलेका थिए । ३० बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पनि चौधरीको पार्टीले क्षेत्र नम्बर १ मा पर्ने टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकामा जितेको थियो । कैलाली प्रदेशसभा (क) मा उन्मुक्ति पार्टीकै कैलाश चौधरी र प्रदेशसभा (ख) मा लक्ष्मणकिशोर चौधरी निर्वाचित भएका हुन् । प्रदेशसभा (१) मा १५ हजार १०१ मतसहित कैलाश चौधरी निर्वाचित भएका छन् ।  उनका प्रतिस्पर्धी माओवादी केन्द्रका दीर्घराज विनाडी  १० हजार ३७७ मत ल्‍याए । यस्तै प्रदेशसभा (२) मा ११ हजार ३१७ मत प्राप्त गर्दै नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी  नेपाली कांग्रेसका डा।रणबहादुर रावलले ८ हजार ५३ मत पाए भने नेकपा एमालेका द्धारिका न्यौपानेले ५ हजार ३२० मत मात्र ल्‍याए ।

 काठमाडौं:   झापा क्षेत्र नं. ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार सकिएको मतगणना अनुसार लिङ्देनले ४० हजार ६४८ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याए । लिङ्देनलाई नेकपा एमालेको साथ थियो भने सिटौलालाई सत्ता गठबन्धनका दलहरुको साथ थियो । २०७४ सालको निर्वाचनमा पनि लिङ्देनले एमालेको साथ लिएर सिटौलालाई हराएका थिए । लिङ्देनले ४४ हजार ६१४ मतसहित निर्वाचित हुँदा सिटौलाको पक्षमा ३१ हजार १७१ मत परेको थियो । २०७० सालमा चाहिँ सिटौलाले लिङ्देनलाई हराएका थिए । लिङ्देनले २०३६ सालबाट राजनीतिक यात्रा सुरु गरेका थिए । तत्कालीन समयमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा आवद्ध भई राजनीति सुरु गरेका थिए । ०४९ सालमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन गठन गरेर त्यसको संस्थापक अध्यक्ष बने । उनको राप्रपाको राजनीति भने ०५१ सालको महाधिवेशन प्रतिनिधिबाट सुरु भएको थियो । पञ्चायत कालमै उनी गोलधाप गाउँपालिकामा वडाध्यक्ष बनेका थिए । २०६१ देखि ०६३ सम्म झापाको जिल्ला विकास समिति सभापति बनेका थिए उनले कमल थापाले राप्रपा विभाजन गरेर राप्रपा नेपाल गठन गर्दा थापालाई साथ दिएका थिए । उनी ०७१ सालमा तत्कालीन राप्रपा नेपालको महामन्त्री बने । ०७८ को मंसिरमा राप्रपा अध्यक्षका लागि भएको निर्वाचनमा कमल थापालाई पराजित गरेर अध्यक्ष चुनिए । लिङ्देनले एक हजार ८४४ मत ल्याई अध्यक्षमा निर्वाचित हुँदा थापाले एक हजार ६१७ प्राप्त गरेका थिए । राप्रपामा नेतृत्व रुपान्तरणको नारा लिएर उनले अध्यक्ष पद जितेका थिए । झापामा आफ्नो चुनाव क्षेत्रमा विकासप्रेमी नेताको छवि बनाएका लिङ्देनले शिक्षा, स्वास्थ्य निशुल्क हुनुपर्ने मुद्धा उठाइरहेका हुन्छन् । झापामा दर्जनौं पुल र सडक निर्माण गरेको उनी दाबी गर्छन् । जंगली हात्ती नियन्त्रणमा ‘लिङ्देन मोडल’ भनी उनले प्रचार गर्दै आइरहेका छन् । उनले सौर्य उर्जाबाट हात्तीलाई करेन्ट लगाएर भगाउने उपाय निकालेका थिए ।

काठमाडौं:   चितवन क्षेत्र नंं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन् । हालै सम्पन्न गतगणना अनुसार ढकाल विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । केहिवेरमा मत परिणाम सार्वजनिक गर्ने तयारी छ । ढकालले नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेल र एमाले नेता सुरेन्द्र पाण्डेलाई हराएका हुन् । चितवन क्षेत्र नं. २ बाट पनि हालै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् ।

काठमाडौं:  सातको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण आइतबार र सोमबार बन्द रहेको सेयर बजार मंगलबारदेखि मात्रै खुलेको थियो । मंगलबार र बुधबार लगातार दुई दिन गिरावट भएको बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले बढेर बन्द भएको छ । बिहीबार बजार परिसूचक नेप्से ११.५६ अंक (०.६० प्रतिशत) ले बढेर १९३३.५५ अंकमा बन्द भएको छ । बिहीबार निर्जीवन बीमा बाहेक सबै उपसूचकमा वृद्धि भएका छन् । निर्जीवन बीमा उपसूचक भने ०.०४ प्रतिशतको सामान्य गिरावट भएको छ । बजार परिसूचकमा सुधार भएपनि कारोबार रकम भने १ अर्ब पनि पुग्न सकेन । बिहीबार बजारमा कुल २५ लाख ६९ हजार २२९ कित्ता सेयर किनबेच हुँदा ९२ करोड ५१ लाख ७४ हजारको कारोबार भएको छ । जसमध्ये शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सर्वाधिक ७ करोड ६२ लाख ४८ हजारको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ६ करोड ८० लाख ४१ हजार र एनआईसी एशिया बैंकको २ करोड ९३ लाख ७ हजारको कारोबार भएको छ । बिहीबार बजारमा कुल १९० कम्पनीको सेयर कारोबार हुँदा १२४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ४९ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा १७ कम्पनीको भने स्थिर छ । बिहीबार कारोबार भएकामध्ये घलेम्दी हाइड्रोपावरको सेयर मूल्य सवार्धिक ६.८३ प्रतिशतले वृद्धि हुँदा आरएमडीसी लघुवित्तको ६ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ४.८९ तथा साना किसान लघुवित्तको सेयर मूल्य ४.८१ प्रतिशतले बढेको छ । यता किसान लघुवित्तको सेयर मूल्य २.८९ प्रतिशतले गिरावट हुँदा सिटिजन्स म्युचुअल फण्ड २ को इकाइ मूल्य २।०८ प्रतिशत तथा समता घरेलु लघुवित्तको सेयर मूल्य १।९७ प्रतिशतले गिरावट भएको छ ।

काठमाडौं:  चितवन क्षेत्र नम्बर २ बाट भारी मतान्तरले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू जनतालाई जिताउने जाँच दिन गइरहेको बताएका छन् । चुनाव जितेपछि सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै लामिछानेले राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु नभएको बताएका छन् । ‘यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो । म आजबाट जाँच दिन जाँदैछु, जसको नतिजा पाँच वर्षपछि मात्र आउँछ,’ उनले भनेका छन् । लामिछानेले अहिले कुनै विजय र्‍याली नगर्ने भन्दै चितवन–३ का तीनवटा स्थानमा धन्यवाद र्‍याली गरिने जानकारी दिएका छन् । धन्यवाद र्‍यालीमा आफूलाई फूलमाला र अबीर केही पनि नल्याउन उनले मतदाताहरुलाई आग्रह गरेका छन् । उनले धन्यवाद सभा गरिने भरतपुर–१० गेस्टहाउस चोक, इच्छाकामना गाउँपालिका कार्यालय अगाडिको फुटबल ग्राउन्ड कुरिनटार र कालिका नगरपालिकाको शहीद स्मृति क्याम्पस चौर पदमापुरमा समस्या र सुझाव गरी दुईवटा पेटिका समेत राखिने बताएका छन् । ‘भ्रष्टाचारीका सूचना, मैले गर्नुपर्ने काम, मलाई खबरदारी लेखेर पठाउनुहोला,’ लामिछानेले लेखेका छन्, ‘माला, अबीर, खादामा हामीले गरेको खर्च प्राय: विदेश जान्छ । केही ल्याउनैपर्ने मन भए आफ्नै आँगन वा बाटोको एक थुंगा फूल भए मलाई पुग्छ ।’ उनले छिटोभन्दा छिटो आफू काममा लाग्न चाहेको समेत उल्लेख गरेका छन् ।

काठमाडौं:  ललितपुर ३ बाट प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित राष्ट्रिय स्वन्त्र पार्टीकी डा. तोसिमा कार्कीले आफ्नो लागि जीतभन्दा बढी जिम्मेवारी महत्वपूर्ण भएको बताएकी छिन् । ‘यो जीत होइन, जिम्मेवारी हो, जिम्मेवारीको यात्राको सुरुवात भएको छ, सुशासन र जनताले चाहेको अवस्था निर्माण गर्छु,’ उनले मतदाता र समर्थकमाझ भनेकी छिन् । उनले जनताले गरेका आशालाई निराशामा परिणत हुन नदिने बताइन् ।  ‘यो विश्वासलाई विश्वासघात हुन दिने छैन,’ उनले भनिन् । जनताको आशा, विश्वास र भरोसालाई ५ वर्ष सदनमा पेश गर्ने उनको प्रतिवद्धता छ । ‘जनताका मुद्दामा म सधैं साथमा उभिनेछु । मैले गरेका वाचा र तपाईंका आशा पूरा गरेपछि मात्र हाम्रो जीत हुनेछ,’ उनले भनिन्, ‘मलाई निरन्तर खबरदारी गरिदिनुहोला ।’ संसदमा आफ्नो भूमिका राजनीतिको सुसभ्य परिभाषा स्थापित गर्नमा हुने उनको भनाइ छ । ‘संसदमा सांसदले जनता र जनमुद्दाको पक्षमा कसरी उभिने भनेर देखाउने छ। यसमा तपाईको साथ चाहिन्छ ।’ उनले भनिन् ।

रौतहट:   रौतहटबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । उनले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गरेका हुन् । नेपालले ३३ हजार ५२२  मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ५२२ मत प्राप्त गरेका छन् ।

पर्वत:  पर्वतमा प्रतिनिधिसभामा एक र प्रदेश सभामा दुई गरी तीनै सिटमा एमालेका उममेदवार विजयी भएका छन्। बिहीबार बिहान सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार प्रतिनिधि सभामा एमालेका उम्मेदवार पदम गिरीले सत्तारुढ गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई २ हजार २६३ मतान्तरले पराजित गरेका छन्। खसेका कुल मत ६६ हजार २२६ मध्ये गिरीले २९ हजार ८७२ मत पाउँदा जोशीले २७ हजार ६०९ मत पाएका छन्।  जीतसँगै एमालेका केन्द्रीय सदस्य समेत रहेका गिरीले दोस्रो पटक संसदीय यात्रा तय गरेका छन्। २०७४ सालको निर्वाचनमा पनि गिरी र जोशी नै आमनेसामने भएका थिए। गिरीले जोशीलाई १२ हजार ४५६ मतको अन्तरमा पराजित गरेका थिए। गिरीले ३९ हजार २७५ मत प्राप्त गर्दा जोशीले २६ हजार ८१९ मत प्राप्त गरेका थिए। पहिलो पटक २०५६ सालको संसदीय निर्वाचनमा पर्वत क्षेत्र नं १ बाट विजयी बनेका जोशी संविधानसभा निर्वाचन २०६४ मा तत्कालीन नेकपा माओवादीकी उम्मेदवार मनरूपा सुवेदी र २०७० मा माओवादीकै उम्मेदवार नेत्र अधिकारीलाई पराजित गर्दै लगातार तीन पटक संसदीय निर्वाचनमा विजयी भएका थिए। २०७४ सालको निर्वाचनमा चौथो र अहिले पाँचौँपटक संसदीय निर्वाचनमा होमिएका जोशीले दोस्रोपटक संसदीय निर्वाचन लडेका गिरीसँग फेरि पनि पराजित हुनु परेको हो। को हुन् गिरी ? २०३३ साल २८ फागुनमा पर्वतको दुर्लुङमा जन्मिएका पदम गिरीले समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । २०४७ मा अखिल पाँचौंमा संगठित उनी स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पसको सदस्य, उपसभापति हुँदै सभापति भए । २०५४ मा नेकपा (एमाले) दुर्लुङ गाउँ कमिटी सचिवबाट पार्टी राजनीति सुरु गरेका गिरी २०६७ मा पर्वत जिल्ला सचिवालय सदस्य हुँदै २०७२ मा आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।