रसुवा: रसुवा प्रदेश क्षेत्र नं १ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका प्रभात तामाङ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कुलप्रसाद भट्टले चार हजार सात सय ७२ मत प्राप्त गर्नुभएको छ । तामाङले आफ्ना प्रतिद्वन्द्वीभन्दा तीन हजार चार सय १४ मत बढी प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिनुभयो । उक्त क्षेत्रमा एक स्वतन्त्र महिलासहित आठजना उम्मेदवार हुनुहुन्थ्यो । उक्त क्षेत्रमा १३ हजार ६ सय ५५ मत खसेकामा १३ हजार दुई सय ८७ मत सदर भएको थियो ।
काठमाडौँ: काठमाडौँ क्षेत्र नं १ बाट विजयी हुनुभएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान कार्यान्वयनका लागि राजनीतिक स्थायित्व र सुशासन नै अहिले मुख्य एजेन्डा भएको बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका उहाँले सात हजार एक सय ४३ मत ल्याई निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई एक सय २५ मतान्तरले पराजित गरी प्रतिनिधिसभा सदस्यमा चौथोपटक विजयी बन्नुभएको छ । निर्वाचित भएपछि काठमाडौँ निर्वाचन क्षेत्र १ का मतदातालाई हार्दिक धन्यवाद दिँदै उहाँले यस जितले लोकतन्त्रवादीको शिर माथि उठेको बताउनुभयो । लोकतन्त्रमा जनता सर्वोच्च र निर्णायक हुने र उनीहरुको मतले नै राज्य सञ्चालन हुने हुँदा यसलाई सबैले स्वीकार गर्नुपर्ने बताउँदै स्वच्छ प्रतिस्पर्धाले नै लोकतन्त्रलाई बलियो बनाउँछ भन्नुभयो । आफ्नो सम्पूर्ण जीवन नै लोकतन्त्रका लागि गरेको समर्पण र स्च्छ छविकै कारण यस क्षेत्रका जनताले पटकपटक विजयी गराएका उहाँको भनाइ छ । उहाँले कांग्रेसले जनतालाई जसरी अधिकार दिलाउन तथा संविधान लेख्न र शान्ति प्रक्रियामा नेतृत्व ग¥यो अब त्यसलाई कार्यान्वयन गरेर आर्थिक क्रान्ति गरी समुन्नति र सम्पन्नता हासिल गर्ने अभियानमा पनि पार्टीले नेतृत्व गर्ने दृढता व्यक्त गर्नुभयो । अहिलेको अर्थतन्त्रको सङ्कट समाधान गर्ने र लगानीमैत्री वातावरण बनाउने नयाँ सरकारको मूल दायित्व रहेको बताउँदै उहाँले त्यसका लागि आफूले पहल गर्ने बताउनुभयो । उहाँले तीन तहका सरकारले आफ्नो हिसाबले जनतामा सेवा प्रवाह गर्न नसकेका कारण सङ्घीयता लागू भए पनि केन्द्रीकृत एकात्मक व्यवस्था र सङ्घीयताबीचको भिन्नताबारे मतदाताले प्रश्न गरिरहेको उल्लेख गर्नुभयो । पूर्वउपप्रधानमन्त्री सिंहले भन्नुभयो, “सङ्घीयतामा तीन तहको सरकार सक्रिय हुनुपर्नेमा अहिलेसम्म त्यो भएको छैन । त्यो नभएकै कारण मात्र एकात्मक व्यवस्था र सङ्घीयताको फरक के हो भन्नबारे सर्वसाधारणबाट प्रश्न भएको छ, त्यसलाई अधिकारका साथ काम गरेर देखाउन चाहन्छौँ ।” निर्वाचनको मत परिणामको प्रारम्भिक नतिजाले नेपाली कांग्रेस नै सबैभन्दा ठूलो दलको रूपमा स्थापित हुने दाबी गर्दै उहाँले जनतालाई आवश्यकतानुसारको सेवा र सुविधासहित देशलाई समृद्धिको बाटोमा अगाडि बढाउन पार्टी दृढ रहेको उम्मेदवार बताउनुभयो । नेता सिंहले निर्वाचन घरदैलोका क्रममा मतदाताले राखेका विकास निर्माण, जनजीविकाका सवाल र राजनीतिक स्थिरताका लागि आफूले विगतमा जस्तै एक जिम्मेवार जनप्रतिनिधिको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । विगतमा राजनीतिक अस्थिरताका कारण जनअपेक्षा पूरा गर्न नसकिएको भन्दै नेता सिंहले अब आफ्नो सम्पूर्ण ध्यान स्थायित्व कायम गर्दै जनताको जीवनयापन सरल बनाउन सक्रिय हुने बताउनुभयो । विसं २०४६ को जनआन्दोलनका कमान्डर गणेशमान सिंह र नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहका छोरा उहाँ सानो उमेरदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहनुभएको थियो । २०१२ सालमा जन्मनुभएका उहाँ २०३४ सालमा नेविसङ्घको केन्द्रीय सदस्य बन्नुभयो भने २०३६ सालमा अध्यक्ष बन्नुभयो । २०४७ देखि निरन्तर १० वर्षसम्म नेपाली कांग्रेसको काठमाडौँको सभापति रहनुभयो भने नेपाली कांग्रेसको विभाजनपछि नेपाली कांग्रेस (प्रजातान्त्रिक)को उपसभापति बन्नुभयो । २०६४ मा पार्टी एकीकरणपछि २०६७ मा भएको १२औँ महाधिवेशनबाट उहाँ महामन्त्रीमा निर्वाचित हुनुभयो । उहाँले २०५३ सालमा राष्ट्रियसभा सदस्य भएर छ वर्षको कार्यकाल पूरा गर्नुभयो । २०६४ सालमा भएको पहिलो संविधानसभा र त्यसपछिका तीनवटै आम निर्वाचनमा उहाँले काठमाडौँ–१ मा क्षेत्रबाट विजय हासिल गर्दै आउनुभएको छ । उहाँ सुशील कोइरालाको मन्त्रिमण्डलमा उपप्रधानमन्त्री, स्थानीय विकास तथा सङ्घीय मामिलामन्त्री हुनुभएको थियो । पार्टी र सरकारमा रहँदा सधैँ इमान्दार र निष्ठा राख्नुहुने उहाँ विकासप्रेमी नेताका रुपमा चिनिनु हुन्छ ।
प्रतिनिधि सभामा समानुपातिकतर्फ जारी मतगणना नेकपा एमालेले १ लाख मत कटाएको छ। अहिलेसम्म गणनाभएको ३ लाख ५० हजार सदर मतमध्ये पहिलो स्थानमा रहेको एमालेले १०१६६५ मत पाएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८७२२५ मत पाएको छ। तेस्रो स्थानमा घन्टी चुनाव चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ४६३५२ मत पाएको छ। यो अहिलेसम्म गणना भएको सदर मतको १३।२२ प्रतिशत मत हो। चौथो स्थानमा रहेको माओवादी केन्द्रले ३८२८८ मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले २५९९८ मत पाएको छ। जसपाले ८१३४, जनमत पार्टीले ७४६२ मत पाएका छन्। नागरिक उन्मुक्ति पार्टीले ७४६२, नेपाल मजदुर किसान पार्टीले ५४३४, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ५०८३ ले मत पाएका छन्। अन्य दलहरूले पाएको मत १९४३० छ।
चितवन: चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिनुभएको छ । लामिछानेले चार हजार ४१५ र नेकपा (एमाले) उम्मेदवार कृष्णभक्त पोखरेलले तीन हजार ९७८ मत प्राप्त गर्नुभएको छ । साथै कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले तीन हजार ५६१ मत पाउनुभएको छ ।
हुम्ला: हुम्ला जिल्लाका ३४ मतदान केन्द्रबाट मतपेटिका संकलन नहुँदा मतगणना सुरू हुन सकेको छैन । प्रदेश सभा २ का २५ मतदान केन्द्रका मतपेटिका सदरमुकाम सिमकोट पुगे पनि प्रदेश सभा १ का ३४ मतदान केन्द्रका मतपेटिका नपुगेपछि मतगणना सुरु नभएको हो । नाम्खा गाउँपालिका ६ स्थित लिमीका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याइएको थियो । २२ मतदान केन्द्रका मतपेटिका गाडी र पैदलमार्गबाट सदरमुकाम ल्याइएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए । प्रदेश २ का ३४ वटा मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमा ल्याउने पहल भइरहेको निमित्त निर्वाचन अधिकारी रानाले बताए । दिउँसो दुई बजेबाट मतपेटिका ओसार्न भनिए पनि अहिलेसम्म केही टुंगो देखिएको छैन । ३४ वटा मतदान केन्द्रका मतपेटिका सर्केगाड गाउँपालिकाको केन्द्रमा थन्क्याइएको छ ।
तनहुँ: तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पछि परेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले १३२ मत अन्तरले पछि पारेका हुन् । ९ हजार ७५६ मत गणना हुँदा रानाले ३ हजार ३४२ र कांग्रेस नेता पौडेलले ३ हजार २१० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले १ हजार २९० र राप्रपाका विनोद कुमार घर्तीले हलो ५२२ मत पाएका छन् ।
काठमाडौं: काठमाडौं निर्वाचन क्षेत्र नं ९ मा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । एमाले केन्द्रीय सदस्य समेत रहनुभएका नेता श्रेष्ठले स्वतन्त्र उम्मेदवार टेकबहादुर पोखरेललाई पराजित गर्नुहुँदै निर्वाचित हुनुभएको हो । नेता श्रेष्ठका स्वकीय सचिव विवेक महर्जनका अनुसार श्रेष्ठले ११ हजार ९५६ मत ल्याएर विजयी हुनुभयो । उहाँको निकटतम प्रतिस्पर्धी घण्टी चुनाव चिन्हका पोखरेलले १० हजार ९६१ मत ल्याउनुभयो । यसैगरी गठबन्धन उम्मेदवार माओवादी केन्द्रका नेत्री कल्पना धमलाले ६ हजार ४०२ मत ल्याउनुभयो । नेता श्रेष्ठ यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि निर्वाचित हुनुभएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा श्रेष्ठ शिक्षा तथा शहरी विकासमन्त्रीको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । नेता श्रेष्ठ निर्वाचित हुनुभएपछि अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत उहाँलाई बधाई ज्ञापन गर्नुभएको छ । सोहीअनुसार एमालेका नेता कार्यकर्ताहरु श्रेष्ठको विजयीसँगै विजयी र्याली प्रदर्शन गर्नुभएको छ । नेता श्रेष्ठ निर्वाचित भएको विजयोत्सव भए पनि आयोगले आधिकारिक रुपमा घोषणा गर्न बाँकी रहेको स्वकीय सचिव महर्जनले बताउनुभयो ।
चितवन: चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्। पछिल्लो मत परिणामअनुसार लामिछानेले ४००७ मत पाएका छन् भने अहिलेसम्म अग्रता लिइरहेका एमालेका कृष्णभक्त पोखरेलले ३८७९ मत पाएका छन् भने तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३४१० मत ल्याएका छन्।
आमनिर्वाचनको हालसम्म प्राप्त मतगणना अनुसार समानुपातिकतर्फ नेकपा एमाले पहिलो स्थानमा रहेको छ । एमालेले ८४ हजार ८१५ मत पाएको छ । त्यस्तै, ७१ हजार ५२५ मत ल्याउँदै नेपाली कांग्रेस र ३६ हजार १०९ मतकासाथ राष्ट्रिय स्वतन्त्र पार्टी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । नेकपा माओवादी केन्द्रको ३२ हजार ७२५ रहेको छ भने पाँचौ स्थानमा २० हजार ५४ मतकासाथ राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ । यसैगरी, जनता समाजवादी पार्टीले हालसम्म ५ हजार ६५५ मत ल्याएर छैठौं स्थानमा रहँदा नेपाल मजदुर किसान पार्टीले ४ हजार ५०७ मतकासाथ सातौं स्थान ओगटेको छ । समानुपातिकको रोजाइमा नागरिक उन्मुक्ति पार्टी रहेको छ । पार्टीले ३ हजार ७७६ मत प्राप्त गरेको छ । यसैबीच, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले ३ हजार ४४५ मत ल्याएर नवौं स्थानमा रहेको छ । मतगणना जारी छ ।

