बर्दिया: बर्दिया क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी हुनुभएको छ । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुरेश पन्थलाई एक सय ३६ मतले पछि पार्दै उहाँ विजयी हुनुभएको हो । चौधरीले २६ हजार पाँच सय २० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादीका पन्थले २६ हजार तीन सय ८४ मत प्राप्त गर्नुभयो । यसैगरी नेकपा (एमाले)का पङ्कजसिँह राठौरले १६ हजार ९० मत प्राप्त गर्नुभयो भने राप्रपाका विनय रावलले १३ हजार दुई सय ९२ मत प्राप्त गर्नुभयो । विजयी चौधरी रेशम चौधरीका बुबा हुनुहुन्छ । रेशमको उम्मेदवारी खारेजी भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्रमा उम्मेदवारी दिनुभएका लालवीर चौधरीलाई सहयोग गरेको हो । क्षेत्र नं २ मा एक लाख ५२ हजार ६२ मतदाता रहेकामा ९२ हजार एक सय ९९ मत खसेको थियोे भने पाँच हजार तीन सय ८७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
काठमाडौं: काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले निर्वाचित भएका छन् । खनालले १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका हुन् । यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मतका साथ तेस्रो स्थानमा छन् ।
कैलाली: कैलाली ३ को प्रदेश सभातर्फका दुवै सिट नागरिक उन्मुक्ति पार्टीले जितेको छ। प्रतिनिधिसभा सदस्यमा सो पार्टीका गंगाराम चौधरी, प्रदेशसभा १ मा घनश्याम चौधरी र प्रदेशसभा २ मा खुसीराम चौधरीले जितेका हुन्। बुधबार सम्पन्न मत गणनामा प्रदेश १ तर्फ घनश्याम चौधरीले १३ हजार ९ सय २३ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज डगौथारुले ११ हजार ५ सय ७२ मत ल्याएका हुन्। प्रदेशसभा २ मा विजयी खुसीराम चौधरीले ७ हजार ५ सय ३९ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अमर साउदले ६ हजार ६ सय १९ मत ल्याए। क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभातर्फ मंगलबार नै नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले २३ हजार १ सय २० मत ल्याएर विजयी भएका छन्। निकटतम् प्रतिद्वन्द्वी माओवादीका कृष्णकुमार चौधरीले १७ हजार ७ सय ४९ मत पाए।
हुम्ला: हिमाली जिल्ला हुम्लामा निर्वाचन सकिएको चार दिनपछि मतपेटिका सदरमुकाम ल्याइएको छ । सर्केगाड गाउँपालिकाको केन्द्रमा थन्किएको १३४ मतपेटिका आज नेपाली सेनाको हेलिकप्टरबाट सदमुकाम सिमकोट पुर्याइएको हो । प्रदेश १ का ३४ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट सदमरमुकाम सिमकोट ल्याइपुर्याएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए । सबै केन्द्रका मतपेटिका संकलन भइसकेकोले आजै दिउँसो सर्वदलीय बैठक बस्ने तयारी गरिएको छ ।
गोरखा: गोरखाका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा गठबन्धन उम्मेद्वार विजयी भएका छन् । गोरखा १ (क) मा माओवादीका कृष्ण धिताल, १ (ख) मा कांग्रेसका नन्दप्रसाद न्यौपाने, २ (क) मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा तथा २ (ख) मा कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भए । गोरखा १ (क) मा धितालले एमालेका सुरेन्द्र थापालाई हराएका हुन् । धितालले १४२७६ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी थापाले ८८०२ मत पाएका छन् । १ (ख) मा न्यौपानेले एमालेका मोहन भट्टराईलाई हराए । न्यौपानेले १६२६५ मत पाउँदा भट्टराईले ७५३३ मत पाए । गोरखा २ (क) मा माओवादीको चुनाव चिन्हबाट लडेका देवकोटाले एमालेका राजु रानालाई पराजित गरे । देवकोटाको १०२४७ मत आउँदा रानाले ४२०४ मत पाए । (ख) मा कांग्रेसका पाण्डे अत्यधिक मतले विजयी भएका छन् । उनले एमालेका बसन्त गुरुङलाई हराएका हुन् । पाण्डेको १५२२९ मत आउँदा गुरुङले ४५२९ मत मात्रै पाए ।
सप्तरी: सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतको जित सुनिश्चित भएको छ । गन्न बाँकी मतभन्दा बढी उनको मतान्तर भएकाले उनको जित निश्चित भएको हो । सप्तरी क्षेत्र नं १ मा जनमत पार्टीका राउत र एमालेको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव प्रतिस्पर्धामा थिए । राउत यादवभन्दा दोब्बर बढी मतले अगाडि छन् । गणना जारी रहँदा राउतले ३१ हजार ९६३ मत पाएका छन्, जबकि उपेन्द्रको मत १५ हजार ५८६ छ । यो समाचार तयार पार्दासम्म यादव १६ हजार ३७७ मत अन्तरले पछि परेका छन् । नेपाली कांग्रेसका जयप्रकाश ठाकुरको मत ६ हजार ३६२ छ । अब गन्न बाँकी मत करिब ६ हजार छ । त्यो सबै मत प्रतिस्पर्धीले पाए पनि सीके राउतको जित निश्चित छ ।
सिन्धुली: सिन्धुली निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार लेखनाथ दाहाल (राजन) प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँ पाँच हजार आठ सय ३० मतान्तरले विजयी हुनुभएको हो । दाहालले २७ हजार पाँच सय १७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो । दाहालका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मनोजजङ्ग थापाले २१ हजार छ सय ८७ मत प्राप्त गर्नुभएको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहाल तेस्रो हुनुभएको छ । उहाँले एक हजार पाँच सय ५३ मत प्राप्त गर्नुभएको छ । राप्रपाका भीष्मराज श्रेष्ठ एक हजार तीन सय ४० मत प्राप्त गरेर चौथो हुनुभएको छ ।
डोल्पा: मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको लागि माथिल्लो डोल्पामा खटिएका कर्मचारी फर्कने साधन नहुदा रोकिएका छन् । उनीहरुको उद्धार गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले निर्वाचन आयोगलाई आग्रह गरेको छ । माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो, छार्काताङ्साङ र डोल्पोबुद्धका २२ मतदान केन्द्रमध्ये १२ मतदान केन्द्रका कर्मचारीलाई हेलिकप्टरबाट उद्धार गर्नुपर्ने अवस्था रहेकाले डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्सिर ४ गतेको निर्वाचनका लागि उनीहरुलाई हेलिकप्टरमै ती मतदान केन्द्रमा पुर्याइएको थियो । “गएको आइतबार सम्पन्न निर्वाचनका लागि डोल्पामा पाँच सय ११ कर्मचारी खटिएका थिए,” उहाँले भन्नुभयो, “२२ केन्द्रमा खटिएकामध्ये तल्लो क्षेत्रका केही कर्मचारी फर्किए पनि १२ मतदान केन्द्रमा खटिएका एक सय ३५ कर्मचारी थुनिएका छन् ।” आज बिहान हेलिकप्टरले तीन मतदान केन्द्रको मतपेटिकासहित १० कर्मचारीको उद्धार गरेको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताउनुभयो । उक्त क्षेत्रमा हिउँ परेकोले चिसो पनि बढ्दै जादा केही कर्मचारी बिरामी भएको खबर आएकोले उनीहरुको छिटो उद्धार गर्नुपर्ने उहाँको भनाइ छ । कर्मचारीको जीवन सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको भन्दै उहाँले प्रमुख निर्वाचन आयुक्तलाई जतिसक्दो चाँडो उद्धार गर्न आग्रह गरेको बताउनुभयो । उहाँका अनुसार माथिल्लो डोल्पाबाट कर्मचारी आउन नसके मतगणनामा समेत जनशक्तिको अभाव हुनेछ । माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिका– १ कोवासस्थित शहीद दशरथचन्द आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा खटिएका कर्मचारी कमल बोहोराले चिसोका कारण पाँच कर्मचारी बिरामी परेको राससलाई जानकारी दिनुभयो । कर्मचारीलाई चिसोका साथै खान र बस्न पनि समस्याका भएको छ,” उहाँले भन्नुभयो, “समयमै सदरमुकाम दुनै नझारिए धेरै कर्मचारी बिरामी हुने खतरा बढेको छ ।” उनीहरुलाई टाउको दुख्ने, वाक्वाकी लाग्ने र सास फेर्न गाह्रो भएको बोहोराले जनाउनुभयो । उहाँका अनुसार चुनावका लागि खटिएका दुई महिलासहित ४३ कर्मचारी, ४४ प्रहरी र ४८ जना म्यादी प्रहरी मङ्सिर १ गतेदेखि चिसोका कारण रोकिएका छन् । डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले आज बिहान डोल्पाका बाँकी मतपेटिका र १० जना कर्मचारीलाई हेलिकप्टरबाट ल्याइएपछि बाँकी कर्मचारी ल्याउने तयारी भएका तर, हुम्ला प्रदेश सभा २ मा एक सय ३६ मतपेटिका ढुवानीका लागि गएकोले अलपत्र कर्मचारीको उद्धार हुन नसकेको बताउनुभयो । त्यसको लागि पहल भइरहेको पनि उहाँले बताउनुभयो ।
सर्लाही: सर्लाही निर्वाचन क्षेत्र नं १ को प्रतिनिधि सभा र प्रदेश सभाको दुवै तर्फ गठबन्धनका उम्मेदवाको अग्रता रहेको छ । वामलोकतान्त्रिक गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामप्रकाश चौधरी नौ हजार तीन सय ८३ मतका साथ अग्रस्थानमा रहनुभएको जिल्ला निर्वाचन कार्यालय निर्वाचन अधिकारी निर्मल पोखरेलले जानकारी दिनुभयो । उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मानबहादुर खड्का आठ हजार एक सय ७२ मतका साथ दोस्रो स्थानमा रहनुभएका छन् । यता सर्लाही निर्वाचन क्षेत्र नं १ (१) मा प्रदेशसभा तर्फ वामलोकतान्त्रिक गठबन्धनका तर्फबाट लोसपाका उम्मेदवार उपेन्द्र महतो अग्रस्थानमा रहनुभएको छ । त्यस्तै सर्लाही निर्वाचन क्षेत्र नं १ (२)मा प्रदेशसभा तर्फ गठबन्धनका तर्फबाट नेकपा एसका उम्मेदवार बेचि लुङ्गेलीको जीत नजिक पुग्नु भएको छ ।

