गलेश्वर । बाँस र निगालाको चोयाबाट बनाइएका घरायसी प्रयोजनका समाग्रीहरु त हामी सबैले प्रयोग गर्दै आएका छौँ तर शिरदेखि पाउसम्मै चोयाबाट बुनेका पोशाक लगाएर गाउँका मेलापातदेखि सहरमा हुने पर्व, महोत्सवमा पुग्नाका साथै सोही पोशाकबाट आम्दानीसमेत गर्ने कोही व्यक्ति देख्नुभएको छैन भने म्याग्दीको मालिका गाउँपालिका वडा नं २ रुमको बेली गाउँमा जानुहोस् । टोपीदेखि जुत्तासम्म चोयाकै पोशाक लगाएर जीविकोपार्जन गर्दै आउनुभएका व्यक्ति हुनुहुन्छ, रुम बेली तल्लो गाउँका ४९ वर्षीय भरीबहादुर पर्तेल । विगत दुई वर्षदेखि चोयाका पोशाक तयार पारी तिनलाई लगाएर विभिन्न मेला पर्वमा प्रदर्शन गरी उहाँले जीविकोपार्जन गर्दै आउनुभएको छ । जङ्लबाट निगालो ल्याइ त्यसबाट चोया निकालेर उहाँले टोपी,कोट,इस्टकोट,पाइन्ट,जाँगे,जुता,झोला,मनिव्यागलगाएत पोशाकहरु बनाउने र आफूले बनाएका ती पोशाकहरु लगाएर गाउँघर तथा शहरबजारमा पुग्ने गर्नुहुन्छ । आधुनिक युगमा पनि पर्तेलले चोयाँका पोशाक लगाएर डुलेको देख्दा कति मानिसहरु छक्कै पर्ने गर्दछन् भने कतिले उहाँको कलालाई सम्मान गर्दै पैसा दिएर प्रोत्साहन पनि गर्ने गर्दछन् । शौखिन व्यक्तिहरुले पर्तेलले बनाएका चोयाका कपडा किनेर घरमा सजाउने समेत गरेका छन् । “मेरो आम्दानीको श्रोत भनेकै यही कला हो । मैले चोयाबाट शिरदेखि पाउसम्म लगाउने पोशाक बुन्न जानेको छु, उहाँ भन्नुहुन्छ । पर्तेलको घरमा चार छोरा,एक छोरी र श्रीमती छन् । छोराहरु अलग भएर बसेका छन् भने छोरीको विवाह भइसकेकाले घरमा दुई दम्पतिमात्र छन् । बिहान उठेर नजिकको जङ्लमा गई निगालो ल्याउने, चोया बनाउने र त्यसकै पोशाक तथा अन्य कृषि सामाग्रीहरु बुनेर दिन विताउने गर्नुभएका उहाँ चोयाका पोशाक बेचेरै वर्षमा रु एक लाख बराबरको आम्दानी गर्दै आएको बताउनुहुन्छ । चोयाका पोशाक लगाएर गाउँघर र सहर बजार जाँदा मानिसहरुले त्यस्ता पोशाक लगाएको देखेर खशी हुँदै पैसा समेत दिने गरेका र अहिलेसम्म त्यसरी रु ६० हजार भन्दा बढी कमाएको पर्तेलको भनाइ छ । हिजोआज गाउँघरका युवायुवतीले उहाँले लगाउने चोयाका पोशाक मागेर लगाइ टिकटक बनाउने र त्यसबापत रु एक सय दिने गरेका छन् । पर्तेल भन्नुहुन्छ, “अहिले त मेरा चोयाका पोशाक भाडामा समेत जाने गरेका छन्, केटाकेटीहरुले मेरा पोशाक लगाएर मोवाइलमा फोटो खिच्छन्, टिकटक बनाउछन् र बदलामा मलाई पैसा दिने गरेका छन् ।” शनिवार बेलीको जन विकास आधारभूत विद्यालयमा आयोजित एक कार्यक्रममा चोयाका पोशाकहरु प्रदर्शन गरेर नै उहाँले रु तीन हजार भन्दाबढी आम्दानी गर्नुभयो । पर्तेलको सीपको सम्मान गर्नु पर्ने र उहाँलाई प्रोत्साहित गरेर यस्तो कला प्रवद्र्धनमा जोड दिनुपर्ने स्थानीय समाजसेवी विष्णु पुन बताउनुहुन्छ। । पर्तेलले पोशाकका अतिरिक्त चोयाँबाट डोका, नाम्ला, भकारी,थुन्सेलगायत घरायसी कृषि सामाग्रीहरु पनि बनाउने गर्नुभएको छ । यस्ता सामाग्रीहरु गाउँघरमा फाट्ट फुट्ट विक्री हुने गरे पनि यो पेशा व्यवसायिक हुन नसकेकाले आफूले पोशाक बनाएर प्रर्दशन तथा विक्री वितरण गर्न थालेको उहाँको भनाइ छ । आफूले बनाएका चोयाका पोशाक जिल्लाका नेताहरु र प्रशासन प्रमुखहरुलाई उपहार दिने र त्यसको बजारीकरणमा सहयोग गर्न अपिल गर्ने आफ्नो चाहना भएको पर्तेल बताउनुहुन्छ । “चोयाका पोशाक बनाउन सजिलो छैन, निकै मिहिनेत गर्नुपर्छ,” उहाँ भन्नुहुन्छ, “यस्ता पोशाकले हाम्रो पुरानो जीवन र पुर्खाहरुको त्यतिबेलाको अवस्थालाई पनि सम्झाउँछन् ।”स्थानीय सरकार वा सम्वन्धित निकायले सहयोग गरेमा आफूले अझ राम्रा हस्तकलाका सामाग्रीहरु बनाउन सक्ने पर्तेलको भनाइ छ ।
काठमाडौं । नेपालीको महानपर्व दसैँ सोमबारदेखि सुरु हुँदैछ । सोमबार घटस्थापनासँगै यस वर्षको दसैँ घरघरमा प्रवेश गर्नेछ । घटस्थापनाको सङ्घारमा कतिपय देवीदेवताका मन्दिरमा रङरोगन, सरसफाइ चलिरहेको छ । मठमन्दिरसहित घरमा घटस्थापनाका लागि आवश्यकपर्ने पूजा सामग्रीका जोहो गर्न थालिसकिएको छ । बजारको चहलपहलले दसैँ प्रवेश गरिसकेको सङ्केत गर्न लागेको छ । तर, दसैँको पर्यायवाची जस्तै बनेको पिङ भने गाउँघरबाट हराउँदै जान थालेको छ । दसैँ प्रवेशको दिन घटस्थापना आइसक्दा पनि गाउँघरमा पिङ राख्ने सुरसार बिरलै देख्न सकिन्छ । “पहिले दसैँ आउनु एक साताअघि पिङका लिङ्गा खोज्ने, बाँस काट्ने, भेटे बजारमा पाउने लठ्ठा नभए, बाबियो काटी डोरी बाट्ने चटारो हुन्थ्यो,” कावासोतीका स्थानीय विनोद सिग्देलले भन्नुभयो, “अहिले सबै नौलो जस्तो बनेको छ, गाउँघरमा पिङ राख्ने चलन घट्दै गएको छ ।” गाउँघरका चोक, चौर, चौतारामा दसैँ लाग्नु अघिनै पिङ राख्ने चहलपलसँगै सबै भेट्ने थलो बन्ने गरेको, बालबालिकामा पिङ खेल्ने उत्साह हुने गरेको उहाँले स्मरण गर्नुभयो । “कति रमाइलो हुन्थ्यो, पिङ राख्ने भनेपछि टोल छरछिमेक सबै जम्मा हुने गार्थौँ, बाहिरबाट आएका पनि जम्मा हुने बहाना बन्थ्यो, बालबालिकाको उत्साह उस्तै हुन्थ्यो,” सिग्देलले भन्नुभोय, “पिङ मात्रै हराएन, पिङसँगै दसैँको रमाइलो पनि हराए जस्तो लाग्न थाल्यो ।” नेपाली संस्कृति परम्परा अनुसार दसैँमा पिङ राख्ने चलन छ । अझ गाउँघरमा दसैँको टीकाको दिन एक पटक भए पनि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने बिश्वास रहिआएको छ । तर, नेपाली संस्कृति बोकेको पिङ आफैमा गाउँघरबाट हराउने अवस्थामा पुगेको छ । कावासोतीका रमाकान्त पौडेलले भन्नुभयो, “सहरबजारमा त केही वर्ष पहिलेनै पिङ हराउदै गएका थिए, अब गाउँघरमा समेत हराउन थाले, यसले दसैँको उमङ्ग पनि घट्दै गएको छ ।” बजार क्षेत्रमा सार्वजनिक स्थानको कमी, मनोरञ्जनका विभिन्न विकल्प, सामाजिक सञ्जालमा रमाउने जमात बढ्दा दसैँमा पिङ राख्ने विषय गौड बन्दै गएको उहाँको भनाइ छ । “सहर बजारमा पिङ राख्ने सार्वजनिक खाली ठाउँ पनि पाउन मुस्किल बन्न थाल्यो, त्यसमाथि मान्छे टिभी, युटुब, फेसबुक र टिकटकमा रमाउन थाले,” पौडेलले भन्नुभयो, “सहरबजारका मानिसको दैनिकी पनि आफैमा व्यस्त हुन्छ, कसले पिङका लिङ्गा खोज्नु, कसले लठ्ठा खोज्नु ।” गाउँघरमा भने युवा जनशक्तिको अभावमा पिङ राख्ने चलनमा कमी आएको होकी भन्ने हुप्सेकोटका रामकृष्ण चापागाईंको ठम्याइ छ । “रोजगारीको खोजीमा युवा जति कोही सहर पसे, कोही विदेश लागे, गाउँ घर रित्तो जस्तो बनेको छ, पिङ राख्न पनि मेहनत चाहिन्छ, जनशक्ति चाहिन्छ,” चापागाईंले भन्नुभयो, “यसैले पहिले जस्तो चहलपहल पनि हरायो, पिङ राख्ने चलन पनि हराउँदै जान थाल्यो ।” फाट्टफुट्ट रुपमा कही कतै पिङ राख्ने गरेको भए पनि पहिलेको भन्दा निक्कै कम भएको चापागाईंले बताउनुभयो । पहिले टोल टोलमा राखिने पिङ अहिले सिङ्गो गाउँमा भेट्न मुस्किल हुने गरेको उहाँको भनाइ रहको छ । पहाडी क्षेत्रसँगै गाउँघरमा पहिले पहिले रोटे पिङ राख्ने गरेकोमा यो भने लोपै हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । दसैँ र तिहार जस्ता चाडमा राखिने पिङसँगै मौलिक परम्परा हराउने हो की भन्ने कतिपय सामाजिक अगुवाले चिन्ता व्यक्त गर्ने गरेका छन् । विभिन्न चाडपर्वसँगै जोडिएका परम्परा, संस्कृतिको मौलिकता गुम्न नदिन पर्वसँगै जोडिएका परम्परागत कार्यकोसमेत जगेर्ना गर्दै जानुपर्ने उनीहरुको भनाइ छ । “हामीले हाम्रा संस्कृति, परम्पराको मौलिकता जोगाउन, विभिन्न पर्वसँगै जोडिएका परम्परागत कार्यलाई समेत जगेर्ना गर्दै जानुपर्छ, यी सबै हराउन सक्छन्, यसका लागि सबै लाग्नुपर्छ”, कावासोती–१७, का अगुवा युक्तप्रसाद गौडेलले भन्नुभयो ।
मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका कृषक व्यावसायिक किबी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । वर्षौ देखि परम्परागतरुपमा लगाउँदै आएको मकै खेती छाडेर उनीहरु किबीबाट मनग्य आम्दानी गर्न थालेका हुन् । सिन्धुपाल्चोकमा किबी खेतीका लागि उपयुक्त वातावरण भएकाले कृषक यस पेसातर्फ आकर्षित हुन थालेका छन् । मेलम्ची नगरपालिका–१ भोटेचौरमा १४ जना कृषक मिलेर किबी खेती गरिरहेका छन् । उनीहरुले हैबुङ कृषि फार्मबाट मेलम्ची–१ भोटेचौर र मेलम्ची–३ हैबुङमा किबी उत्पादन गर्दै आएका छन् । पचास रोपनी बढी जमिनमा उनीहरुले खेती गर्दै आएका हुन् । परम्परागतरुपमा लगाउँदै आएको मकै खेती छाडेर हावापानीअनुसारको खेती गर्न उनीहरु लागिरहेका छन् । मेलम्चीमा किबी खेतीको राम्रो सम्भावना देखेर यो व्यवसायमा लागेको मेलम्ची–१ का कृषक राजेन्द्र दुलालले बताउनुभयो । “करिब १२०० बोट किबी लगाएका छौँ । २०७० साल बाट सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “बजारमा किबीको मूल्य र माग दुवै रहेको छ । किबी रोपेर आम्दानी राम्रो भएको छ ।” “बिरुवा हुर्केर आम्दानी दिन पाँच वर्ष लाग्ने रहेछ । युट्युव र किताब हेरेरै खेती गर्ने प्रक्रिया सिकेका हौँ । सुरुमा रु एक करोडभन्दा माथि लगानी लागेको छ”, उहाँले सुनाउनुभयो । किबी खेती सँगसँगै बिरुवा पनि बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । “जमिन बाँझो भएर बसेको छ । धेरै युवाहरुले वैदेशिक रोजगारी लाई रोज्ने गरेका छन् । हामी गाउँमै आधुनिक खेती गर्नपर्छ भनेर लागीरहेका छौँ । यो खेती गरेपछि पहिलाको जस्तो धेरै बाँदर र बँदेलले पनि दु:ख दिएको छैन । वार्षिक १० लाखभन्दा माथि आम्दानी हुन्छ”, दुलालले थप्नुभयो । किबीखेती गरेमा आम्दानी राम्रो हुने भएपछि आफूले किबी लगाएको मेलम्ची नगरपालिका–१ कुलप्रसाद चौँलागाइले बताउनुभयो । “किबी फल गाउँमा बिरलै सुन्न पाइन्थ्यो, एकजना अग्रज बाट यो फल राम्रो हो भन्ने जानकारी पाएँ । नौ/दश वटा फलमा हुने गुण एउटै किबी फलमा हुने रहेछ भन्ने ज्ञान प्राप्त गरेर हामीले यो फल सुरु गरेका हौँ’, उहाँले भन्नुभयो । किबी फलको भविष्य राम्रो रहेको उहाँले बताउनुभयो । यो व्यवसाय अन्य बाली भन्दा उपलब्धिमूलक रहेको समेत उहाँले बताउनुभयो । सरकारले यो खेतीलाई प्रोत्साहन गर्नुपर्ने उहाँको माग छ । घरपरिवारको जीविकोपार्जन समेत किबी खेतीबाट राम्रो चलाइरहेको उहाँ बताउनुहुन्छ । मेलम्ची नगरपालिकाको वडा नं १, २, ३, ४, ५ र ९ वडाका कृषकले १० हजार किबीको बिरुवा लगाएका छन् । करिब छ सय २५ रोपनी जमिनमा कृषकले किबीखेती गर्दै आएको मेलम्ची नगरपालिकाका कृषि शाखा प्रमुख अमरनाथ आचार्यले जानकारी दिनुभयो । “पचास प्रतिशत लागत साझेदारीमा गतवर्ष १६ वटा फार्मलाई अनुदान दिएको थियो । यस वर्ष पनि प्रदेशको रु १५ लाख अनुदान वडा नं १ र ९ का कृषकलाई दिन लागिएको छ”, आचार्यले भन्नुभयो । सुरुमा एक पटक लगानी गरेपछि ४०/५० वर्षसम्म उत्पादन दिइरहने भएपछि किसान यो खेतीतर्फ आकर्षित भएका हुन् । किबीखेती मौसमका अनुसार पनि मेलम्ची उपयुक्त मानिने हुँदा त्यसतर्फ बढी आकर्षित भएर यो खेतीको सुरुआत गरिएको मेलम्ची नगरपालिकाका कृषि शाखा प्रमुख अमरनाथ आचार्यले जानकारी दिनुभयो । किबी खेती समुद्री सतहबाट एक हजार दुई सय मिटरदेखि दुईहजार चार सय मिटर उचाइमा लगाइन्छ । यसलाई सिँचाइको आवश्यक पर्ने भए पनि वर्षामा पानी जम्न भने हुँदैन । किबी फललाई चाउरीपन, उच्च रक्तचाप, पोषण, छाला तथा मुटुका रोगीका लागि महत्वपूर्ण औषधिका रूपमा लिइन्छ ।
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताउनुभएको छ । गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तक्र्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताउनुभयोे । “कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र सहास मसँग छ”, पौडेलले भन्नुभयो, “मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाट उम्मेदवार बन्ने भएकाले मलाई यसपटक सहयोग गर्नुहोस् ।” वरिष्ठ नेता पौडेलले कांग्रेसको १४औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले भेटेर देशलाई तपाईको आवश्यकता छ, स्वास्थ्य ठीक राख्नुस् भनेको स्मरण गर्नुभयो । निर्वाचनको दिन नजिकिँदै गरेकाले कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनका उम्मेदवारलाई विजयी गराउने हिसाबले तयारी गर्न पौडेलले आग्रह गर्नुभयो । “गठबन्धन देशको आवश्यकता हो, संविधान र लोकतन्त्र बचाउनका लागि गठबन्धन गरेका हौँ, गठबन्धनलाई सफल बनाउनुपर्छ”, उहाँले भन्नुभयो । कांग्रेसभित्रका नेताहरुलाई पनि व्यवस्थापन गरेर निर्वाचनमा जाने पौडेलको भनाइ थियो । छलफलमा सहभागी व्यवसायीले जिल्लामा ठूलो उद्योग स्थापना गर्नेतर्फ ध्यान दिन पौडेलको ध्यानाकर्षण गराउनुभयो । जनताका कुरा सुन्न सधैँ जनताका माझ जानुपर्ने बताउँदै व्यवसायीले तनहुँमा कांग्रेसका नेताबीच देखिएको बेमेलले कांग्रेस कमजोर रहेको बताएका थिए ।
तनहुँ । बन्दीपुर गाउँपालिकाले ‘एक विद्यालय, एक कम्प्युटर’ अभियानअन्तर्गत १८ विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिकाले ती विद्यालयलाई कम्प्युटर प्रदान गरेको हो । गाउँपालिकाभित्र ३१ सामुदायिक विद्यालय छन् । चालु आवमा १२ र गत आवमा छवटा कम्प्युटर प्रदान गरेको हो । बाँकी रहेका १३ विद्यालयलाई पनि क्रमशः कम्प्युटर प्रदान गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । शैक्षिक गुणस्तरका आधारमा दण्ड तथा पुरस्कारको नीति अवलम्बन गरेको सो गाउँपालिकाले जनाएको छ । पालिकाका सबै जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र शिक्षकले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा अनिवार्य पढाउनुपर्ने नीति लिइएको छ । ‘एक विद्यालय, एक विज्ञान प्रयोगशाला’ विकासको अवधारणाअनुरुप क्रमश: सबै विद्यालयमा विस्तार गर्दै लैजाने कार्यलाई पनि निरन्तरता दिइएको उहाँले बताउनुभयो । गाउँपालिकाले सामुदायिक विद्यालयलाई अपाङ्गतामैत्री, आधारभूत खानेपानी तथा शौचालययुक्त र शिक्षा सिकाइलाई सहयोग पुग्ने सुरक्षित पूर्वाधार विकासमा जोड दिँदै आएको छ । गाउँपालिकामा रहेका सामुदायिक विद्यालयको संरक्षण र संवद्र्धनका लागि गाउँपालिकामा मर्मतसम्भार कोषको स्थापना गर्ने योजना बनाएको छ । आधारभूत तहसम्मको शिक्षालाई प्रवद्र्धन गरी विपन्न, कमजोर तथा पिछाडिएका वर्गका बालबालिकालाई विद्यालय पहुँचमा पुर्याउन विपन्न लक्षित कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाभित्र रहेका गरिब तथा जेहेन्दार कक्षा १२ उत्तीर्ण गरेका छजना विद्यार्थीलाई वार्षिकरूपमा छात्रावृत्ति प्रदान गर्ने नीति अवलम्बन गरिएको छ । प्राविधिक शिक्षालाई प्राथामिकता दिँदै गाउँपालिकाका सबै सामुदायिक विद्यालयका दिवाखाजा कार्यक्रमलाई निरन्तरता दिँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिनुभयो । शैक्षिक सुधारका लागि एकाइ परीक्षाको नीति लिएर अघि बढिएको गाउँपालिकाले जनाएको छ ।
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुस्थित हुप्सेकोट –५, राम्चेका श्यामबहादुर राईलाई आफूले लगाएको धानले मुस्किलले चार महिनामात्रै खान पुग्थ्यो । पहाडी क्षेत्रमा धानखेत खासै छैन र हुँदैन पनि । भएको खेतमा लगाएको धानले केही महिनामात्रै गर्जो टथ्र्यो । तर कबुलियती वनमा अम्रिसो खेती गरी आम्दानी हुन थालेपछि, अहिले वर्षभरी चामल कहाँबाट ल्याउने भन्ने पिर उहाँलाई छैन । अम्रिसो खेतीबाट आएको आम्दानीले चामल खरिद गरेर वर्षभरि खान पुग्ने भएको छ । “धान लगाउने खासै ठाउँ छैन, सबै पाखैपाखो छ, लगाएको धानले बढीमा चार महिना चल्थ्यो, त्यसपछि अरु आम्दानी पनि नहुने, के खाने कसरी खाने भन्ने पिर हुन्थ्यो” उहाँले भन्नुभयो, “तर जहिलेदेखि पहाडको पाखामा अम्रिसो खेती सुरु गरियो, अहिले त्यसबाट हुने आम्दानीले साँझ–बिहान के पकाउने भन्ने पिर हुन छाड्यो, अम्रिसोबाट हुने आम्दानीले चामल किनेर राख्यो खायो ।” किसान राई जस्तै बुलिङटार–४ देउरालीका मीनबहादुर आलेको अवस्था पनि उस्तै छ । “घरपरिवारको खर्च कसरी चलाउने भन्ने पिरले सताउँथ्यो, नियमित आम्दानी केही थिएन”, उहाँले भन्नुभयो, “अहिले त कम्तीमा अम्रिसो पाखामा फुलेपछि पैसा आउने बेला भयो भन्ने हुन्छ ।” किसान राईले वार्षिकरूपमा करिब रु ९५ हजार र आलेलेले करिब रु ६० हजार अम्रिसो बेचेर आम्दानी गर्ने गर्नुभएको छ । “पैसा कति भन्ने हुँदो रहेनछ, गर्जो कति टर्यो भन्नेले ठूलो अर्थ राख्ने रहेछ, कम्तीमा वर्षभरि खान पुग्ने चामल किन्ने खर्च, यही पाखोमा फुलेको अम्रिसोले दिएको त छ”, आलेले भन्नुभयो । नवलपुरका पहाडी पाखा यतिबेला अम्रिसोले ढाकिएका छन् । पहाडका बासिन्दाको आम्दानीको बलियो स्रोत अम्रिसो बन्दै गएको छ । केही वर्ष पहिलेसम्म नाङ्गा पाखाका रूपमा रहेको पहाड अहिले आम्दानीको स्रोत बनेका छन् । पहाडी क्षेत्रको जीविकोपार्जनमा अम्रिसो बरदानजस्तै बनेको कबुलियती वन जिल्ला सुपरभाइजर तुलबहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको पहाडी क्षेत्रलाई चार भागमा विभाजन गरी यहाँ रहेका कबुलियती वनमा अम्रिसो खेती लगाउने गरिएको छ । यसअनुसार राम्चे क्षेत्रमा १९ वन समूह छन् । यी वन समूहमा अम्रिसो खेती गर्ने घरधुरी सङ्ख्या एक सय ९० रहेको छ । रुचाङ क्षेत्रका २५ वन समूहमा दुई सय २८ घरधुरी, बुलिङटार क्षेत्रका २५ समूहमा तीन सय २५ र हुप्सेकोट क्षेत्रका २५ समूहमा तीन सय २५ घरधुरी अम्रिसो खेतीमा आवद्ध रहेका छन् । चार क्षेत्रमा गरी एक हजार ६८ घरधुरी कबुलियती वनमा आवद्ध भएर अम्रिसो खेती गर्दै आएका छन् । सामूहिकरूपमा अम्रिसो खेती गर्ने र आएको रकम दामासाहीरूपमा प्रतिघर बाँड्ने गरेको उहाँले बताउनुभयो । अम्रिसोबाट भएको आम्दानीमध्ये केही वन समूहमा राख्ने र समूहमा आवद्ध सदस्यलाई न्यून ब्याज प्रतिशतमा बिनाधितो छ महिनासम्म ऋण लगाउने गरिएको उहाँले बताउनुभयो । बैंक र वित्तीय संस्थाको पहुँच नभएका पहाडी क्षेत्रमा आफूले गरेको आम्दानीबाट बचत भएको रकम खाँचो पर्दा लिन सकिने हुँदा स्थानीयलाई थप राहत पुगेको रानाले बताउनुभयो । “आफ्नो आम्दानी त छँदै छ, वन समूहमा भएको बचतले अप्ठ्यारो परिस्थितिमा खाँचो टार्नसमेत सहयोग पुगेको छ”, सुपरभाइजर रानाले भन्नुभयो, “अहिले वन समूहले कम्तीमा रु ५० हजारदेखि चार लाखसम्म बचत गरेका छन् ।” प्रत्येक वर्ष जेठ अन्तिमदेखि असार १५ सम्म अम्रिसो लगाउने गरिन्छ । मङ्सिरदेखि फागुनसम्म अम्रिसो काट्ने बेला हुने रानाले बताउनुभयो । नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको अम्रिसो व्यापारीले खरिद गरी भारत, बङ्गलादेशसम्म निर्यात गर्ने गरेको उहाँले बताउनुभयो । यसबाहेक स्थानीय बजार कावासोती, दलदले, नारायणगढ, बुटवलमा अम्रिसोको कुचो बिक्री हुने गरेको उहाँले बताउनुभयो । गत वर्ष पहाडी क्षेत्रमा रहेका कबुलियती वनमा लगाइएको अम्रिसोबाट एक सय ५२ दशमलव सात सय १३ मेट्रिक टन अम्रिसोको कुचो उत्पादन भएको थियो । जसबाट गत वर्ष रु एक करोड ९८ लाख ५२ हजार आम्दानी भएको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिनुभयो । डिभिजन वनले वनमा आश्रित घरपरिवारलाई आयमूलक पेशामा जोड्नका लागि पहाडी क्षेत्रमा अम्रिसो खेतीलाई प्रोत्साहन गर्दै आएको सूचना अधिकारी गौतमले जानकारी दिनुभयो । डिभिजन वन कार्यालयले यसै वर्ष ५५ हजार बोट अम्रिसोको बिरुवा पहाडी क्षेत्रमा वितरण गरी रोपेको छ । यसले थप क्षेत्रफल बढ्ने र क्रमशः अम्रिसोबाट हुने आम्दानी बढाउँदै लैजाने उहाँले बताउनुभयो ।
भरतपुर । चितवनका थारू समुदायले आज यमोसा (पितृ औँसी) पर्व मनाउँदैछन् । सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ । पूर्वी चितवन, पश्चिम चितवन र माडीमा थारू समुदायको बाक्लो बसोबास छ । यमोसा पर्व दुई दिनसम्म मनाइने थारू कल्याणकारी सभा चितवनका अध्यक्ष ललित चौधरीले जानकारी दिनुभयो । सोह्रश्राद्ध सकिने औँसीको दिनमा थारू समुदायले यमोसा मनाउने उहाँले बताउनुभयो । यमोसा पर्वको अघिल्लो दिन पर्वका लागि तयारी गरिन्छ । थारू समुदायका मानिस अघिल्लो दिनलाई मछुवारी भन्छन् । यस दिन व्यक्तिगत वा सामूहिकरूपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा माछा मार्ने र गाउँघरमा खसीबोका काट्ने चलन रहेको अध्यक्ष चौधरीले बताउनुभयो । यमोसामा चाहिने माछा अघिल्लो दिन नै मार्ने चलन छ । दोस्रो दिन अर्थात् यमोसाको दिन बिहानै पुरुष आफूले देखेका दाभी ९सिरु० काटेर ल्याउँछन् । त्यसलाई केलाएर करिब एक हात लामो कुचो बनाउँछन् । कुचोलाई धोई पखालेर घर अगाडि गाईको गोबरले लिपपोत गरी पिर्का वा कुर्सीमा उक्त सिरुको मुठा राखी पितृ स्थापना (पहुनी बेठोइ) गरिन्छ । पहुनीलाई विभिन्न थरिका फूलहरूले सिङ्गारिन्छ । घाम नलागोस् भनी छाता वा छतिया ओढाइन्छ । पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, सुर्ती, चुरोट, रक्सी र पानी राखिन्छ । त्यस दिन बिहानै बालबच्चादेखि बूढाबूढी सबैजना नुहाई कुशपानीले पितृगणलाई तर्पण गरिन्छ । त्यसपछि गच्छेअनुसार नयाँ कपडा वा सफा कपडा लगाएर पहुनीको अगाडि बसेर प्रत्येकले रक्सी र पानीको केही थोपा चढाउने (छाकी चढोइ) गरिन्छ । यदि त्यस वर्षमा परिवारका कुनै सदस्यको मृत्यु भएको छ भने यमोसाकै दिन बोका काटेर रगत चढाउने प्रचलन रहेको छ । छाकी चढाइसकेपछि मात्र खानपिन सुरु हुन्छ । सर्वप्रथम छोरी, ज्वाइँ वा कुनै पाहुना बोलाइ खातिरदारीकासाथ चौरासी व्यञ्जन खुवाइन्छ । यसरी पाहुनालाई खुवाउनुलाई ‘पितरी बेठोइ’ भनिन्छ । पाहुनालाई खुवाइसकेपछि मात्र आफूले खाने गरिन्छ । खानपिनपछि पाहुनाको कपालमा तेल लगाइ काइँयोले कोरिदिने र फूल सिउरीदिने चलन छ । त्यसपछि नाङ्लो वा बेनामा पानी राखी पाहुनालाई छम्केर शीतलता प्रदान गरिन्छ । त्यसलाई ‘पितृपित्राइन बिदाइ’ भनिन्छ । उक्त दिन घरमा जो कोही आए पनि पाहुना नै भनिन्छ र पाहुनालाई खुवाएरै पठाइन्छ । यमोसाको दिन पाहुनालाई पितृगणको रूपमा हेरिन्छ । यसरी खानपिन दिनभरि नै चलिरहन्छ । यस्तै यमोसकै दिन गाउँका सबै जना एकै ठाउँमा भेला भइ पिङ खेलेर (बरहा झुलके) रमाइलो गरिन्छ । पहिले पहिले एउटै रुखमा पाँच– छ वटा पिङ लगाइन्थ्यो । यस्तै युवाहरूले साँझपख गाउँको बाटोमा ‘म्वार्हा’ गाड्छन् र ठूलाबडाले त्यसलाई उखेल्ने प्रयास गर्छन् । बेलुकीपख बालबालिका तथा युवायुवतीहरू समूह–समूहमा मिलेर घर–घरमा ‘यमोसा’ खान जान्छन् । हरेक घरमा विभिन्न किसिमका अनेकौँ परम्परागत गीत गाउँदै यमोसा खान्छन् । पछिल्लो समय मौलिक थारू लोकगीत, ती म्वार्हा र बरहा, पितरी र पितृपत्रायन, ती पहुनी र छाकी सबै लोप हुन थालेको छ । चितवन र नवलपरासी दुई जिल्लामा थारूको जनसङ्ख्या करिब दुई लाख हाराहारीमा छ । यसै पर्वको अवसरमा पूर्वीचितवनको रत्ननगर नगरपालिकाले सार्वजनिक बिदासमेत दिएको छ । तराई क्षेत्रमा थारूहरुको बसोबास छ । यमोसा चितवन र नवलपुरका थारूहरुले मात्रै मनाउँछन् । चितवनमा पूर्वी क्षेत्रमा यमोसाको ठूलो रौनक छ । “यही पर्व मनाउन भनेर विदेश गएका व्यक्ति पनि घर फर्कन्छन्”, थारू अगुवा कारी महतोले भन्नुभयो । थारू समुदायको मुख्य पर्वभित्र परे पनि अचेल यो पर्व ओझेल पर्न थालेको उहाँले बताउनुभयो । चितवन र नवलपुरका मूल आदिवासी थारू समुदायले सांस्कृतिक र धार्मिकरूपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृऔँसी लोप हुने अवस्थामा पुगेकाले यो पर्वलाई संरक्षण र प्रवद्र्धन गर्नका अभियानसमेत थालिएको छ ।
काठमाडौं । नयाँ बसपार्क क्षेत्रका होटलमा अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने भएको छ । नेपाली होटल व्यवसायी सङ्घले होटल क्षेत्रको सुरक्षा र होटलमा हुनसक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने बताएको हो । सङ्घका अध्यक्ष गणेश ढकालले सङ्घभित्र आवद्ध होटलहरुको निरन्तर अनुगमन गरी व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सतर्कताका बारेमा जानकारी दिँदै सबै होटलले अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्न निर्देशन दिइएको जानकारी दिनुभयो । यस्तै वडा कार्यालय र अन्य ठाउँमा दर्ता नभएका होटललाई दर्ता गर्न लगाई मर्यादित ढङ्गले सञ्चालन गर्नसमेत आग्रह गरिएको छ । कानुनले नदिएका अनैतिक क्रियाकलापलाई रोक्नका लागि होटलमा आउने पाहुनाको अनिवार्यरूपमा रेकर्ड राख्नुपर्ने भएको छ । होटल व्यवसायीको हक, हित र अधिकारका लागि लड्ने उद्देश्यले विसं २०५७ मा स्थापना भएको सङ्घमा हाल नयाँ बसपार्क, सुन्धारा, बाँसवारीलगायतका क्षेत्रका चार सयभन्दा बढी होटल व्यवसायी आवद्ध छन् ।
सुर्खेत । कैलाली अत्तरियाका युवराज आचार्य तीनवर्षे ‘भेटेरेनरी जेटिए’ पढिरहनुभएको छ । माध्यामिक शिक्षा परीक्षा (एसइई) पास गरेर रोजगारीका लागि भारतको हिमाञ्चल हानिएका उहाँ अहिले सुर्खेतको बराहताल गाउँपालिका–५ बड्डीचौरस्थित जनज्योति माध्यमिक विद्यालयमा अध्ययन गरिरहनुभएको छ । पढाइ सँगैसँगै उहाँले सोही विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत विद्यालयले दिएको ऋणले १२ बङ्गुर र एक सय ५० बट्टाइपालन गरिरहनुभएको छ । आचार्यसहित छ विद्यार्थीले बङ्गुर र बट्टाइबाटै विद्यालयको शुल्क र ऋण तिरिरहनुभएको छ । “स्कुलको ऋण तिरेर पनि फाइदा हुन्छ”, उहाँ भन्नुहुन्छ, “पढाइ खर्चबाट बचेको पैसा घरमा पठाउँछु ।” उहाँका अनुसार विद्यार्थीले लिएको ऋणको ब्याज तिर्नुपर्दैन । विद्यालय छाड्ने बेलासम्म साँवा रकममात्रै तिरे पुग्ने उहाँले बताउनुभयो । सोही विद्यालयमा तीनवर्षे भेटेरेनरी जेटिए अध्ययन गरिरहनुभएका सुर्खेतकै दीपक शाही विद्यालयको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत बट्टाइको चल्ला ह्याचरी सञ्चालन गर्नुहुन्छ । यसबाट उहाँले आफ्नो पढाइ खर्चसँगै घरपरिवारलाई खर्च पठाउने गर्नुभएको छ । अहिले उहाँलाई विभिन्न ठाउँबाट चार हजार दुई सय चल्लाको माग आएको छ । दीपक जनज्योतिमा पढेर उद्यम गरेकै कारण विद्यालयको सिफारिसमा उहाँका आमाबुवालाई कृषि गर्नका लागि बैंकले सहुलियतमा रु १० लाख ऋण दियो । सैद्धान्तिकसँगै प्रयोगात्मक गर्दा बुझ्न सहजता हुनुका साथ पढाइ प्रभावकारी भएको आचार्य र शाहीको अनुभव छ । विद्यालयले तीन वर्षदेखि ‘पढ्दै–कमाउँदै’ कार्यक्रम सञ्चालन गरिरहेको छ । विद्यार्थीलाई आत्मनिर्भर हुन प्रेरित गरिरहेको छ । विद्यालयमा अध्ययन गरिरहेका सबैले ऋण लिएर कृषि व्यवसाय गर्न सक्छन् । ‘पढ्दै–कमाउँदै’ गर्न चाहने विद्यार्थीका लागि ऋण दिनुका साथै आवश्यक संरचना पनि उपलब्ध गराउने गरेको जनज्योति माविका प्रधानाध्यापक नारायण सिग्देलले जानकारी दिनुभयो । “विद्यार्थीले काम गर्ने जाँगर मात्रै देखाउनुपर्यो”, उहाँले भन्नुभयो, “उनीहरूलाई समूह वा व्यक्तिगतरूपमा सानोतिनो व्यवसायका लागि ऋण दिइरहेका छौँ ।” विद्यालयमा प्राविधिक विषयसमेत पढाइ हुन्छ । भेटेरेनरी र कृषितर्फ १८ महिने र तीनवर्षे कक्षा सञ्चालन भइरहेको छ । विद्यालयबाट ऋण लिएर सामूहिक व्यवसाय गर्न चाहने विद्यार्थीले पहिले समूह गठन गर्छन् । त्यसमा कुन व्यवसाय रोजेर कक्षा शिक्षकलाई प्रस्तावना दिन्छन्, त्यसअनुसार शिक्षकले ऋण दिन विद्यालयलाई सिफारिस गर्छन् । विद्यार्थीलाई पाँच हजारदेखि रु एक लाख २० हजारसम्म ऋण दिइरहेको प्रअ सिग्देलले जानकारी दिनुभयो । “विद्यार्थीलाई सर्च–रिसर्च र खर्चको विधि अपनाएर व्यवसायमा संलग्न गराएका छौँ”, उहाँले भन्नुभयो, “यसबाट विद्यार्थीले कतिसम्मको व्यवसाय गर्न सक्छु भनेर पहिचान गर्दछन् ।” धेरै लगानी गरेर व्यवसाय गर्नुपरे बैंकिङ प्रक्रियाबाट भए पनि ऋण उपलब्ध गराउँछौँ ।” प्राविधिक शिक्षा पढ्ने विद्यार्थीले पहिले रु पाँच हजार धरौटी राख्छन् । त्यही कोषमा जम्मा भएको रकमबाट विद्यालयले ऋण दिन्छ । कर्णाली प्रदेश सरकारले रु ५० लाख उपलब्ध गराएको छ । उक्त रकमबाट रु ३५ लाखको लागतमा विद्यालयले तीन हजार कुखुरा, ५० बङ्गुर र २० माउ बाख्रा अट्ने खोर बनाएको छ । प्रअ सिग्देलका अनुसार रु ३० लाखमा अर्को कोष बनाएर विद्यार्थीलाई आवश्यकतानुसार ऋण दिँदै आएको छ । प्राविधिक शिक्षाअन्तर्गत प्रयोगात्मक कक्षाका लागि आवश्यक पर्ने सबै संरचना विद्यालयको आफ्नै छ । आफूसँग भएको जग्गा नपुगेपछि विद्यालयले पाँच रोपनी जग्गा भाडामा लिएको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार भाडामा लिएको जग्गामा पनि विद्यार्थीले माछा, बङ्गुर, कुखुरा तथा मौरीपालन गरिरहेका छन् । तरकारी र च्याउलगायत खेती पनि गरिरहेका छन् । विद्यालयले सञ्चालन गरेको ‘पढ्दै–कमाउँदै’ कार्यक्रमले विद्यार्थीलाई कापी, कलममात्रै होइन विद्यार्थीले उत्पादन गरेको कृषिजन्य सामग्री लिएर विद्यालय आउन–जान पनि सिकाएको छ । कार्यक्रम सञ्चालनपछि जनज्योतिका विद्यार्थी हरेक दिन विद्यालय आउने समयमा अण्डा, मह, तरकारी, कुखुरा ल्याएर विद्यालयको कृषि तथा पशु व्यवसाय प्रवद्र्धन सेवा केन्द्रमा जम्मा गर्छन् । कुन विद्यार्थीले के ल्याए भनेर सेवा केन्द्रमा बसेका शिक्षकले तथ्याङ्क सङ्कलन गर्छन् । विद्यालयले बजारमा वस्तु बिक्री गरेर विद्यार्थीलाई पैसा दिन्छ । प्रअ सिग्देलका अनुसार विद्यार्थी खाली हात आउन नपाउने गरी विद्यालयले नियम बनाएको छ । विद्यालयले ३ कक्षामुनिका बालबालिकाका अभिभावकसँग कृषिमा कसरी बालबालिकालाई जोड्न सकिन्छ भनेर अन्तक्र्रिया गर्छ भने ४ देखि १२ कक्षासम्म प्रत्येक कक्षामा ४० जनाका दरले विद्यार्थीलाई कृषि विषय पढाइन्छ । जनज्योतिले ल्याएको ‘पढ्दै, कमाउँदै’ कार्यक्रमलाई सरकारले गत वर्ष मात्रै नीति तथा कार्यक्रममा समावेश गरी यसलाई कार्यान्वयनमा ल्याएको हो । जनज्योतिले त्यसअघि नै कार्यान्वनमा ल्याइसकेको थियो । विद्यालयमा दुई सय ५० विद्यार्थी १८ महिनेदेखि तीन वर्षे कृषि तथा भेटेनरी जेटिए अध्ययन गर्दैछन् । यस वर्ष एक सय ६० भर्ना हुँदैछन् । ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई प्रदेश सरकारले सहयोग गरेको छ । पहिलो चरणमा कर्णाली प्रदेश सरकारले विद्यालयलाई रु ५० लाख दिएको थियो । सोही रकमबाट विद्यालयले अध्ययनसँगै कृषि, पशुपालन र सीप विकासमा विद्यार्थीलाई केन्द्रित ग¥यो । देशका विभिन्न ठाउँबाट कृषि अध्ययन गर्ने जनज्योतिमा अवलोकनका लागि आउने गर्छन् । पैसा नभएर पढ्न नसकेका विद्यार्थीले पनि पढ्न पाइरहेका छन् । अहिले विद्यालयले जङ्गलमा खेर जाने थाकलका पातबाट विद्यार्थीलाई टोपी र झोला बनाउने तालिम दिन थालिएको छ । विभिन्न व्यक्ति र सङ्घ संस्थाको सहयोगमा विद्यालयले विद्यार्थीलाई यो सीप सिकाएको हो । अहिले विदेशबाट नौँ लाख झोला र टोपीको माग आएको छ । त्यहीँ परिपूर्ति गर्नका लागि विद्यालयले तालिमलाई निरन्तरता दिएको छ । त्योसँगै विद्यालयले चुरापोते, चप्पललगायत सीपमूलक तालिम सञ्चालनमा ल्याएको सो विद्यालयका प्रअ सिग्देल बताउनुभयो । “सर्टिफिकेट भएर मात्र केही हुनेवाला छैन, सीपको विकास नै महत्वपूर्ण शिक्षा हो”, उहाँले भन्नुभयो, “अहिले हाम्रा विद्यार्थी पढ्दै कमाउँदै छन्, यसबाट समुदायको पनि विकास भएको छ ।” अहिले विद्यालयमा अध्ययनरत एक हजार दुई सय ९७ विद्यार्थी कुनै न कुनै माध्यमबाट कृषि तथा पशुपालनमा जोडिएका छन् । कुनाथरी गाउँका प्रत्येक कुना–कुनामा लोकल कुखुराका चल्ला वितरण गर्ने र मौरीपालनको तालिम चलाएर गाउँलाई नै मौरी हबको रूपमा विकास गर्ने विद्यालयको योजना छ ।

