आचारसंहिता उल्लंघन  गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन्।   आयोगले ३४ जनालाई स्पष्टिकरण सोधेको थियो। त्यसमध्ये अझै १० उम्मेदवारले जवाफ दिएका छैन...

  भरतपुर । धानमा विभिन्न किसिमको रोग देखिए पछि यहाँका किसान चिन्तित बनेका छन् । किसानको दैनिकी अहिले धानको नमूना लिएर कृषि ज्ञानकेन्द्र तथा पालिकामा रहेका कृषि शाखामा जाने र समस्या सुनाउने बनेको छ ।   भरतपुर महानगरपालिका–२१ पार्वतीपुरकी रोसनी ढकाल ओआर धानमा लागेको रोगको बारेमा जानकारी लिन आज ज्ञानकेन्द्रमा नमुना लिएर आइपुग्नुभएको थियो । समयमा युरिया र पोटास मलको कमी भएका कारण उहाँको धानमा पहेंले रोग लागेको देखियो । उहाँले सुनाउनुभयो, “औषधि गर्दागर्दै धान मर्ने हो की भन्ने चिन्ता छ ?”    समयमा मल नपाउँदा धानमा समस्या देखिएको भन्दै ढकालले भन्नुभयो “धान लगाउँदा रु २० हजार खर्च आयो । अब रोगले गर्दा लगानी बराबरको धान उत्पादन हुन्छ की हुँदैन भन्नेमा शङ्का छ ।” उहाँ र आसपासका खेतमा करिब पाँच बिघा क्षेत्रफलको धानमा यो समस्या देखिएको उहाँले बताउनुभयो ।   भरतपुर महानगरपालिका–१४ शिवनगरका किसान दिलबहादुर थापाले एक बिघामा लगाएको धान एक रातमा किराले सखाप पारेको बताउनुभयो । आज बिहान उठ्दा धान किराले काटिसकेको उहाँले गुनासो गर्नुभयो । धान पसाउने समयमा विभिन्न किराका कारण समस्या देखिएको भन्दै उहाँले भन्नुभयो, “समस्या समाधान हुनु पर्यो । नत्र हामी किसान मर्कामा पर्छौं ।”   किसानको बारीमा अहिलेको धानमा शित व्लाइट (पातको फेद डडुवा), नेक व्लाष्ट (घाँटी मरुवा), ह्वाइट फ्लाइ(सेतो झिङ्गा), युरिया र पोटासको कमीका कारण पहेँलो हुने समस्या र धानमा दाना नलाग्ने समस्या देखिएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । ज्ञान केन्द्रकी अधिकृत सुरुची त्रिपाठीका अनुसार अहिले ज्ञान केन्द्रमा दैनिक १० हाराहारी किसान समस्या लिएर आउने गरेका छन् । उहाँका अनुसार जिल्लाका सातै पालिकामा यो समस्या देखिएको छ ।     धानखेती गरिएको २२ हजार नौ सय ७७ हेक्टर क्षेत्रफलमध्ये ४० प्रतिशत क्षेत्रफलमा रोगको समस्या देखिएको केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनमगरले जानकारी दिनुभयो । मगरका अनुसार धेरैजस्तो स्थानमा पोटास मलको कमीका कारण समस्या आएको छ । शित व्लाष्ट रोग मौसमका कारण जमिनमा हावा खेल्न नपाउँदा ढुसी लागेर हुने गर्दछ । नेक व्लाष्ट रोग मौसम अनुकूल भएर बीउमा हुने रोगको सङ्क्रमण भएको उहाँले बताउनुभयो ।   सेतो झिङ्गा जिल्लामा बढी सङ्ख्यामा सावित्री धानमा देखिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो समस्या कृषकको धानमा विगत एक महिनादेखि देखिन थालेको हो । जिल्लामा कतिपय स्थानमा धानमा दाना नलाग्ने समस्यासमेत देखिएको छ । के कारणले दाना नलागेको भन्ने विषयमा अध्ययन सुरु गरिएको कार्यालयले जनाएको छ । प्राविधिकको सल्लाहबमोजिम औषधिको प्रयोग गर्न कार्यालयले सुझाव दिएको छ ।

  पाल्पा । निस्दी गाउँपालिका–४ स्थित लामेदमारका ७९ वर्षीय तुलबहादुर सोतीले विद्युत् सेवाका लागि रु सात हजार रकम १४ वर्ष अघि बुझाउनुभयो । रकम बुझाएको लामो समयसम्म गाउँमा विद्युत् सेवा नपुग्दा उहाँलाई बत्ती बाल्न पाइन्छ कि पाइँदैन भन्ने दुविधा थियो ।          धेरै समयको पखाई पश्चात भने अहिले बत्ती बाल्न पाउँदा सोती औधी खुशी हुनुहुन्छ । घरमा आफैँले स्वीच थिचेर बत्ती बलेपछि उहाँको १४ वर्षपछि भए पनि विद्युत् सुविधा उपभोग गर्ने मनको तिर्सना मेटिएको छ । “बत्ती बाल्नका लागि सुरुमा नै पैसा बुझाइयो, तर काममा ढिलाइ हुँदा बत्ती कहिले आउँला भनेर धैर्य गरेर बसेको थिए, मेरो मनको इच्छा पूरा भयो”, उहाँले भन्नुभयो, “अहिले त गाउँका सबै घरमा बिजुली बल्दा रमाइलो देखिएको छ ।”    रम्भा गाउँपालिका–३ अगाहाखोलाबाट ल्याइएको विद्युत् लाइन पूर्वखोला गाउँपालिका–१ सिलुवामा रहेको सव–स्टेशनबाट ल्याइएको विद्युत् लालीगुँरास सामुदायिक विद्युतीकरण सहकारी संस्थामार्फत वितरण भइरहेको छ । लामेदमार, गोडडाँडा, डेलखरक र मतियारडाँडाका ५२ घरधुरीमा अहिले विद्युत् सेवा पुगेको सामुदायिक विद्युतीकरण लामेदमार ट्रान्समिटर उपभोक्ता समितिका अध्यक्ष चित्र सिं आलेले बताउनुभयो । उहाँका अनुसार विद्युत् सेवा नपुगेका पोखरडहर र फोक्सीबासका २९ घर, खोर्मोकमा सात घरमा विद्युत् लाइन पुगिसकेको र केही घरमा वायरिङको काम बाँकी रहेकाले छिटो काम सम्पन्न गरी बिजुली बाल्ने तयारी भइरहेको छ । निस्दी–४ को मुढाबास, डुडीदमारामा विद्युत्को प्रक्रिया अगाडि बढाइएको छ ।          “निस्दीमा २०६६ सालदेखि विद्युतीकरणको काम अगाडि बढाइयो, उपभोक्ताले समितिलाई समयमा नै रकम नबुझाउने, ग्रामीण क्षेत्रमा भनेको समयमा सामान भित्र्याउन नसक्नुलगायत विविध कारणले विद्युत् विस्तारको काममा ढिलाइ हुन पुग्यो”, उहाँले भन्नुभयो ।   विद्युत् सुविधाले यहाँका स्थानीय उत्साहित छन् । पाल्पाकै विकट र दुर्गममा पर्ने सो गाउँका नागरिक विद्युत् अभावमा विभिन्न समस्यासँग जुध्दै जीवन व्यतीत गरिरहेका थिए । बिजुलीको सुविधाले विद्यालयमा पठनपाठनमा आधुनिक प्रविधिका सामग्रीको प्रयोग, घरमा खाना पकाउन, मोबाइल चार्ज तथा बालबालिकालाई पठनपाठनमा राहत पुगेको छ ।    सरकारले डिजेलको मूल्यवृद्धि गरेपछि यहाँका स्थानीयले कुटानीपिसानीमा महँगो शुल्क तिर्नुपर्दा मर्कामा परेको गुनासो छ । अब भने विद्युत् लाइनको सुविधाले धेरै राहत मिल्नेछ । डिजेलको भाउँ बढेसँगै गाउँमा सञ्चालित साना उद्योग धराशायी बन्दै गएका थिए । अब भने यहाँ साना उद्योग तथा व्यावसाय फस्टाउनेछन् ।          विशेष गरी यस क्षेत्रमा उत्पादन हुने सूर्यमुखी र तोरी प्रशोधनका लागि गाउँमा विद्युत् अभावमा यसअघि अरुणखोलामा जानुपर्ने स्थानीयलाई बाध्यता थियो । गाडीमा आवतजावत र प्रशोधन गर्ने ज्यालाले लागत नै उठाउन धौधौ हुन्थ्यो । सोलार बत्ती प्रयोग गर्दा बेला बेलामा ब्याट्री परिवर्तनमा खर्चिलो र आवश्यकताअनुसार प्रयोग गर्न नपाइनेजस्ता समस्या स्थानीयले खेपिरहेका थिए । अब बिजुलीको सुविधाले चौबिसै घण्टा ढुक्कले सुविधा उपभोग गर्न पाइने भएको छ ।         लामेदमार ट्रान्समिटरअन्तर्गत यहाँको लामेदमार, बेलखरक, गोठडाँडा, खोरमोक, रिपाहा, पोखरादहर र थोक्सिबास गाउँका करिब एक सय घरमा एकै पटक बत्ती बाल्ने योजना छ । केही टोलमा वायरिङको काम नसककिएकाले एकै चरणमा गाउँमा बत्ती बाल्न नपाए पनि छिट्टै बाँकी टोलमा बत्ती बाल्ने कार्यक्रम उपभोक्ता समितिको छ । निस्दीका केही गाउँमा चार  वर्ष अघिदेखि नै बिजुली पुगेको छ । बजारदेखि टाढा र ग्रामीण भेग रहेको हुँदा आवश्यक सामग्री समयमा नै गाउँमा लैजान नसक्दा काममा ढिलाइ भएको हो । कतिपय स्थानमा भने विद्युत् पोल पनि पुग्न नसकिएको अवस्था छ ।          निस्दी गाउँपालिकाका सात वडामध्ये १ र २ बाहेक अन्य सबैमा बिजुली बत्ती पुर्याउने जिम्मा लालीगुँरास सामुदायिक विद्युतीकरण सहकारी संस्थाले लिएको  छ । संस्थामार्फत चरणबद्ध रुपमा विद्युतीकरणको काम अगाडि बढिरहेको सहकारी संस्थाका अध्यक्ष दुर्गाबहादुर सोमैले बताउनुभयो । 

पोखरा:   वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुको साझा संस्था एसिया मानव अधिकार तथा सास्कृतिक विकास मन्च (एशियन फोरम) को १८ औ साधारण सभा तथा ८ औं महाधिवेशनले श्रीकृष्ण अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।   समितिको वरिष्ठ उपाध्यक्षमा मेनका पौडेल, उपाध्यक्षमा मिरा पौडेल, महासचिवमा सन्तोष बोगटी, सचिबमा दिपक राज रेग्मी, कोषाध्यक्षमा रमेश कुमार श्रेष्ठ र सदस्यहरुमा लक्ष्मण बानिया, बिजय गुरुङ, कमल रेग्मी, माया देबि शर्मा, दमन्ता खड्का र जूम बहादुर गुरुङ सर्वसम्मत चयन भएका छन् ।   त्यसै गरि संस्थाको संरक्षकमा संस्थापक अध्यक्ष सिद्दीचन्द्र बराल, संस्थापक तथा पुर्व अध्यक्ष निरज थापा, निवर्तमान अध्यक्ष किस्मतमणी श्रेष्ठ र मनबहादुर श्रेष्ठ चयन भएका छन ।   कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक योजना तथा यातायात मन्त्री कुमार खड्काले उद्घाटन गर्दै नेपालमै कही गर्न खोज्ने युवामैत्री व्यवसायीक योजना वनाउन प्रदेश सरकार लागि परेको वताउँदै कुनै पनि युवा विदेश जानै नपरोस, वाद्यतामा जान परेमा पनि सिप सिकेर मात्र जान आग्रह गर्नुभएको थियो ।   साथै उहाँले वैदेशिक रोजगारी बाट स्वदेश फर्केर ब्यबसायमा संलग्न युवाहरुलाई संगठित गर्न तथा उनिहरुको सिप र क्षमता अनुसारको व्यवसायमा एशियन फोरममा आवद्ध व्यवसायीहरुले सहजीकरण गर्नुपर्ने वताउँनु भएको थियो ।   संस्थापक अध्यक्ष सिद्धिचन्द्र बरालले संस्था स्थापना देखि हालसम्म गरेका कार्यक्रमहरुको बारेमा बताउदै संस्थामा आबद्ध सदस्य तथा कोरिया स्थित दातृ संस्थाहरुलाई आर्भ व्यक्त गर्नु भएको थियो ।   सो अवसरमा पोखरा उद्योग बाणिज्य संघका उपमहासचिव शोभा गौतम, भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तथा पोखरा पर्यटन परिषद्का उपाध्यक्ष तारानाथ पहारी, कालाबाङ घरेडी घरबास कार्यक्रमका अध्यक्ष याम बहादुर गुरुङ लगाएतले कार्यक्रम सफलता शुभकामना व्यक्त गर्दै बिदेश बाट स्वदेश फिर्ता युवालाई राज्यले निति बनाएर देशमै केही गर्ने बाताबरण बनाउन आग्रह गरेका थिए ।   संस्थाका केन्द्रिय अध्यक्ष किस्मत मणि श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत दितिय उपाध्यक्ष मेनका पौडेलले र कार्यक्रम संचालन केन्द्रिय सदस्य मिरा पौडेलले गर्नु भएको थियो ।

पोखरा:   स्वाबलम्बन जीवनपद्धती केन्द्र–पोखराले अपाङ्गता भएका बालबालिकाहरू अध्ययनरत स्रोत कक्षाको स्तरोन्नतीका लागि विभिन्न समाग्री हस्तान्तरण गरेको छ ।   ह्याण्डिक्याप ईन्टरनेशनल र विश्व शिक्षासँगको साझेदारी तथा युएसएआइडीको आर्थिक सहयोगमा कास्की जिल्लामा संचालित “सबैका लागि पढाइ कार्यक्रम“ परियोजना अन्तर्गत पोखराका तीन विद्यालयलाई अपाङ्गता भएका बालबालिकाहरुको सिकाइ वातावरण सुधार गर्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको हो ।   पोखरा १२ स्थित अमरसिंह मावि, पोखरा १० स्थित कुँडहर आधारभूत विद्यालयका दृष्टिविहीन विद्यार्थी र पोखरा ३३ स्थित सरस्वती टिका मा.विका बौद्विक अपाङ्गता विद्यार्थीका लागि करिब सात लाख मूल्य बराबरको सामग्री हस्तान्तरण गरिएको केन्द्र अध्यक्ष हेम बहादुर गुरुङले जानकारी दिनुभयो ।   विद्यालयलाई स्मार्ट टिभि, राउण्ड टेबल, पि. फोम म्याट्रेस, जुट कार्पेट, वाटर प्युरिफायर, सिलिङ्ग पंखा, स्टिल दराज, कुसन, शिक्षण सिकाइ तथा खेल सामाग्री लगायत २० प्रकारका सामग्रीहरू प्रदान गरिएको छ । पोखरा महानगरपालिकाकी उप–प्रमुख मञ्जुदेवी गुरुङले ती सामग्री विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो ।   कार्यक्रममा उप–प्रमुख गुरुङले अपाङ्गता भएका व्यक्तिको सहजताका लागि काम गर्नु सरकारको कर्तव्य भएको बताउनुभयो । उहाँले अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच स्थापित गर्न प्रोत्साहन सहितको भर्नालाई प्राथमिकता दिएको र निकट भविष्यमा नै आवश्यक कार्यविधि बनाइ अगाडि बढ्ने दृढता व्यक्त गर्नुभयो ।   पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले हुनेले आफ्नो लागि आफैले गर्न सकेपनि नहुनेका लागि राज्य आवश्यक भएको बताउनुभयो ।   केन्द्रका अध्यक्ष हेम बहादुर गुरूङले महानगरले समावेशी शिक्षा नीति बनाइ अपाङ्गतालगायत कठिनाइमा रहेका सबै बालबालिकाहरूलाई शिक्षाको मूलधारमा ल्याउनुपर्ने कुरामा जोड दिनुभयो ।   कार्यक्रममा ह्याण्डिक्याप इन्टरनेशनलका प्रतिनिधि शिवानी भट्टराई, महानगर शिक्षा महाशाखाका प्रमुख हेम प्रसाद आचार्य, सामाजिक विकास महाशाखाका प्रतिनिधि गीता नेउपानेलगायतको उपस्थिति रहेको थियो ।  

  काठमाडौं । वरिष्ठ पत्रकार केदारमान सिंह श्रेष्ठको निधन भएको छ । लामो समय बिबिसी र एएफपीमा काम गर्नुभएका पत्रकार श्रेष्ठको आज मध्याह्न ८१ वर्षको उमेरमा निधन भएको हो ।    लामो समयदेखि मुटुसम्बन्धी बिरामी उहाँको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका क्रममा आज मध्याह्न १२:०५ बजे निधन भएको उहाँका छोरा सुसनमान श्रेष्ठले जानकारी दिनुभयो ।    काठमाडौँ–२१ भोटेबहाल निवासी मृतक पत्रकारको धर्मपत्नी, एक छोरा र एक छोरी हुनुहुन्छ । नेपालबाट एएफपीमा ४० वर्ष र बिबिसीमा २० वर्ष काम गर्नुभएका पत्रकार श्रेष्ठले पछिल्लो समयमा स्वतन्त्ररूपमा विभिन्न पत्रपत्रिकामा लेख लेख्दै आउनुभएको थियो । 

  मेलम्ची ।  ‘मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ’ गायक पशुपति शर्माको यो गीतलाई इन्द्रावतीका एक युवाले चरितार्थ बनाउनुभएको छ । जागिर छाडेर पशुपालनमा लाग्ने रहर थोरैलाई मात्र लाग्ने गर्छ । ती थोरैमध्येका एक हुनुहुन्छ रविन्द्रविक्रम थापा । सशस्त्र प्रहरीको जागिर चटक्कै छाडेर उहाँले अहिले पशुपालन तथा कृषि फार्म दर्ता गरेर सञ्चालन गरिरहनुभएको छ ।       इन्द्रावती–४ का रविन्द्र विक्रम थापाको दैनिकी आजकल फाममै बित्ने गर्दछ । उहाँको दिनचर्या बिहान ५ बजेदेखि सुरु हुन्छ । उहाँले आफ्नो फार्ममा भएका भैँसी, बाख्रा र कुखुराको रेखदेख र स्याहारसुसारमै दिन बिताउने गर्नुभएको छ । व्यावसायिकरुपमा सञ्चालित फाममा उहाँले केही सहयोगीहरु राख्नुभएको छ । तर पनि उहाँलाई सबै ठाउँमा एकपटक भए पनि पुग्नैपर्ने बानी नै लागिसकेको छ । बिहानदेखि साँझसम्म उहाँलाई फार्ममै भेट्न सकिन्छ ।       सशस्त्र प्रहरीमा कार्यरत उहाँले सेवा अवधि नसकिँदै बीचैमा जागिर छोड्नुभयो । तेह्र वर्षमै जागिर छोडेर १८ महिनाअघिदेखि पाल्चोकी कृषि तथा पशुपक्षी फार्म दर्ता गरेर बाख्रापालन सुरु गर्नुभयो । उहाँलाई एकपटक वैदेशिक रोजगारमा जान्छु भन्ने सोच नआएको पनि होइन तर कोरोना महामारीका कारण विदेश जान पाउनुभएन । “म कसैको मातहतमा रहेर जागिर खान मन नलाग्ने मान्छे । कि आफैँ केही गर्छु, कि एकपटक विदेश गएर आउँछु भन्ने सोच आयो तर जान पाइएन”, उहाँले भन्नुभयो ।    वैदेशिक रोजगारीको यात्रा सफल नभएपछि दिदी भिनाजुको सल्लाहबमोजिम नै उहाँले नेपालमै केही गर्ने सोच बनाउनुभयो । गाउँमा केही गरौँ भन्ने सोच लिएर कृषि तथा पशुपक्षी फाम दर्ता गर्नुभयो । सामाजिक सञ्जालमा बढी चाख राख्ने उहाँले त्यहीँबाट बाख्रापालनका बारेमा सिक्नुभयो ।       गाउँपालिकामार्फत दुईदिने कुखुरापालनको तालिमसमेत लिनुभयो । त्यसले पनि उहाँलाई व्यावसायिक उद्यमतिर लाग्न प्रेरित गर्यो । सुरुमा रु एक लाख ८० हजार रुपैयाँमा १२ वटा बाख्रा किनेर फार्मको सुरुआत गर्नुभयोे । उहाँको फाममा अहिले ३६ वटा बाख्रा छन् । बाख्रासँगै उहाँले स्थानीय जातका कुखुरा, एक हजार ५०० ब्रोइलर कुखुरा, तीन वटा र्भँसी र एउटा गाई पनि पाल्नुभएको छ । व्यावसायिक पशुपालनबाट अहिले मासिक रु ६०÷७० हजार आम्दानी हुने गरेको उहाँको भनाइ छ ।      करिब १२ रोपनी क्षेत्रफलभित्र रहेको उहाँको फाममा सात वटा टहरा छन् । हालसम्म संरचना निर्माणदेखि पशुपक्षीसम्ममा उहाँले रु २४ लाख लगानी गरिसक्नुभएको छ । “आफ्नो परिश्रमसहित हिसाब गर्ने हो भने रु ४० लाख लगानी भएको छ”, उहाँले भन्नुभयो । कतिपय आफैँले गर्नसक्ने कामहरु उहाँ आफैँ पनि गर्नुहुन्छ ।       जागिरे जीवन छाडेर व्यावसायिक बाख्रापालन सुरु गर्नुभएका थापाको मेहनत र कर्म निकै लोभलाग्दो छ । देशमा ‘अवसर’ नदेखेका युवाका लागि उहाँ प्रेरणाको स्रोत बन्नुभएको छ । आफ्नै गाउँमा बसेर पनि केही गर्न सकिन्छ भन्ने उदाहरण उहाँले दिनुभएको छ ।      उहाँले स्थानीय जातको बाख्रापालनमा विषेश जोड दिनुभएको छ । धेरैले उन्नत जातको बाख्रापालनलाई प्राथमिकता दिए पनि उहाँलाई स्थानीय जातकै बाख्रापालन गर्न रहर लागेको बताउनुहुन्छ । “उन्नत जातको भन्दा स्थानीय जातको बाख्रापालन गरेर मैले राम्रो आम्दानी गरिरहेको छु”, उहाँले थप्नुभयो । स्थानीय जातको बाख्रापालन गर्दा खर्च पनि कम हुनुका साथै स्थानीय हावापानीमा सुहाउँदो हुने हुनाले पनि स्थानीय जातको बाख्रापालन गरिरहेको उहाँको भनाइ छ ।      स्थानीय जातको भनेपछि व्यापारीले घरघरबाटै खसी, बोका लैजाने गरेको उहाँ बताउनुहुन्छ । बाख्रा सँगसँगै कुखुराबाट पनि उहाँले राम्रो आम्दानी गर्नुभएको छ । दश पटक ब्रोइलर कुखुरा बेच्दा रु छ लाख फाइदा भएको उहाँको भनाइ छ । उहाँले १८ महिनाको अवधिमा रु १३ लाख आम्दानी गरिसक्नुभएको छ । उहाँले छोटो समयमा नै यति धेरै प्रगति गरेको देखेर गाउँका कतिपय युवाहरु पनि व्यावसायिक उद्यमतर्फ लाग्न उत्साहित भएका छन् ।       बाख्रा र कुखुराबाट मात्र नभई गाई, भैँसीबाट पनि राम्रो आम्दानी गरिरहेको उहाँ बताउनुहुन्छ । उहाँको फार्ममा दुई वटा दुहुनो भैँसी र एउटा दुहुनो गाई छ । दूध बेचेर पनि राम्रो आम्दानी भइरहेको उहाँ बताउनुहुन्छ । “दूध बेचेर मात्रै पनि घरखर्च चलेको छ”, उहाँले भन्नुहुन्छ ।       कम्पोष्ट मल प्रयोग गरेर अर्गानिक तरकारीसमेत उहाँले लगाउनुभएको छ । आफूलाई खान पुग्ने तरकारी आफँै लगाउनुभएको छ । उहाँको फार्म वरिपरि लटरम्मै फर्सी फलेका छन् । केही समयअघि उहाँले च्याउखेतीसमेत गर्नुभएको थियो । च्याउबाटसमेत रु ८० हजार आम्दानी भएकोे उहाँ बताउनुहुन्छ । “भेन्टा पनि हुकिँदै छन्, गोलभेंडा पनि लगाएको थिएँ, त्यसबाट पनि राम्रो आम्दानी भएको थियो”, उहाँले भन्नुभयो ।       मौसमअनुसारको तरकारी पनि फलाउने गरेको उहाँले बताउनुभयो । व्यवसायमा उहाँलाई घर परिवारबाट राम्रो साथ र सहयोग रहेको छ । “हामी श्रीमान् श्रीमती मिलेर काम गर्छौं, एकअर्काको साथ सहयोगले गर्दा यहाँसम्म आएका हौँ”, उहाँले भन्नुभयो, “म बाख्रा चराउन गएका बेला उनी गाई, भैँसी र कुखुराको स्याहार गर्छिन् ।” उहाँहरुले कुटानीपिसानी मिलसमेत सञ्चालन गर्नुभएको छ । बिहान बेलुकाका समयमा धान कुट्ने, मकै र मसला पिँध्नेसमेत गर्नुभएको छ । यसबाट वरिपरिका स्थानीयलाई समेत सहज भएको छ ।     सरकारको यसरी नै गाउँघरमा बसेर काम गरिरहेका युवालाई सहयोग गर्ने हो भने कृषिउपजमा आत्मनिर्भर बन्न सकिने उहाँले बताउनुभयो । स्थानीय सरकारले कृषिमा अनुदानका कार्यक्रम सँगसँगै आधुनिकीकरण गरेर लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । खोर व्यवस्थापन, आधुनिक खेती प्रणालीजस्ता कुराको तालिम सरकारले उपलब्ध गराउनसके कृषकहरुमा थप ऊर्जा थपिने थापाले बताउनुभयो । त्यसो गर्न सकेमा कृषक आफैँ उत्साहित हुने उहाँको भनाइ छ ।      “कृषिमा युवा नआएसम्म परिवर्तन सम्भव छैन । सरकारले सहयोग गरेन भने हामीले केही गर्न सक्दैनौँ । सरकारी सहयोग नभएमा युवा विदेश जान बाध्य हुनुपर्ने अवस्था छ । सरकारले युवा व्यवसायमैत्री नीति बनाउनसके युवा विदेश पलायन हुनबाट रोकिन्छन् र स्वदेशमै उत्पादन बढ्न जाने उहाँको तर्क छ । 

  काठमाडौं । नेपाल पत्रकार महासङ्घले मुलुकको संविधानको सबैले अक्षरशः पालना गर्नुपर्ने बताएको छ ।       महासङ्घले संविधानले निर्दिष्ट गरेको सीमा र मर्यादाभित्र रही सबै पक्षले संवैधानिक व्यवस्थाको पालना गर्नुपर्नेमा जोड दिएको हो ।         महासङ्घका महासचिव रोशन पुरीद्वारा आज जारी विज्ञप्तिमा संविधानको मर्म र भावनाको उच्च कदर गर्दै संवैधानिक सर्वोच्चता कायम गर्ने विषयमा महासङ्घ सर्धँ क्रियाशील रहँदै आएको उल्लेख गरिएको छ । 

  बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाले वडा–वडामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गर्नेदेखि गरिब, विपन्न परिवारको उपचारका लागि  सहयोगसमेत गर्दै आएको छ ।   नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने योजना बनाएको पालिकाले यसवर्ष मात्रै दुई हजार पाँच सय जनाको निःशुल्क बीमा गर्दैछ । आगामी पाँच वर्षसम्म करिब २० हजार नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने लक्ष्य राखेको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । उहाँले स्वास्थ्य बीमाका लागि गाउँपालिकाले कार्यविधि तयार गरिसकेको र केही समयमै काम सुरु गर्ने जानकारी दिनुभयो ।   “हामी निर्वाचित भएर आएपछि स्वास्थ्य क्षेत्रमा केही सुधारका प्रयास भएका छन्, गाउँ–गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेका छौँ, यसबाट नागरिकले भरपुर सेवा लिन सक्छन्, यो एक महिनामा एक पटक मात्रै होइन, यो त पालिकाका १० वटै वडामा निरन्तर चल्छ” उहाँले भन्नुभयो “स्वास्थ्य संस्था पुगेर उपचार गराउन नसक्नेको थोरै भए पनि पैसा बचेको छ, रोग लुकाएर बसेकाको उपचार भएको छ, उहाँहरुले थोरै भए पनि राहत महसुस गर्नुभएको हामीले पाएका छौँ ।”   अध्यक्ष अधिकारीले अति विपन्न, गरिब, एकल महिला, एकल पुरुष, दीर्घरोगी, ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्ति र न्यून आर्थिक अवस्था नागरिकलाई प्राथमिकतामा राखेर निःशुल्क स्वास्थ्य बीमा गरिने बताउनुभयो । उहाँले महिला स्वास्थ्य स्वम्सेविकालाई ५० प्रतिशत पालिका र ५० प्रतिशत केन्द्र सरकारले बीमा गरी दिने बताउनुभयो ।   “निःशुल्क स्वास्थ्य बीमा सबै नागरिकका लागि होइन, एउटा मापदण्ड बनाएका छौँ, सोही मापदण्डभित्र पर्ने नागरिकको मात्रै निःशुल्क स्वास्थ्य बीमा हुन्छ, हामीले बनाएको मापदण्डभित्र अति विपन्न, गरिब, एकल महिला, एकल पुरुष, दीर्घरोगी, ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्ति र न्यून आर्थिक अवस्था भएका नागरिक पर्छन्” उहाँले भन्नुभयो “उपचारमै मान्छेले हजरौँ खर्च गरेका हुन्छ, गरिब विपन्नले उपचार गर्न नसक्ने भएको हुँदा कम्तीमा पालिकाले बीमा गरिदियो भने उनीहरुलाई सहुलियत हुने हुँदा हामीले यो कार्यक्रम ल्याएका हौँ, कार्यविधि तयार छ, अब केही समयमै बीमाको काम सुरु हुन्छ ।”   गाउँपालिकाले बिरामीको अवस्था र रोगको प्रकृति हेरेर १० देखि २० हजारसम्म भत्ता दिने गरेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । दश वडा रहेको बडिगाडमा स्वास्थ्य चौकी सात, आधारभूत स्वास्थ्य सेवा केन्द्र तीन र सामुदायिक स्वास्थ्य इकाई ६ रहेको स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाले ग्वालीचौरमा ‘फार्मेसी’समेत सञ्चालन गरेको अध्यक्ष अधिकारीले जानकारी दिनभयो । नागरिकलाई सहज र सुपथ मूल्यमा औषधि उपलब्ध गराउनका निम्ति फार्मेसी सम्भालन भएको उहाँको भनाइ छ ।    गाउँपालिकाले तीन स्थानमा प्रयोगशाला सेवा, भिडियो एक्सेरे र कुपोषण भएका बालबालिकाको उपचारका लागि उपचार केन्द्रसमेत सञ्चालनमा ल्याएको छ ।

भरतपुर । सानै काम भए पनि निरन्तर लागिरह्यो भने सफलता मिल्छ भन्ने एक उदाहरण यहाँका सुरेश ठाकुरले देखाउनुभएको छ । परिश्रम गर्नसके स्वदेशमा नै काम गर्न सकिन्छ भन्ने उदाहरण ठाकुरले देखाउनुभएको हो । कपाल काटेरै उहाँले भरतपुरमा तीन तलाको घर बनाउनुभएको छ ।       त्यसो त उहाँका एक छोरा चार्टर एकाउन्टेन्ट उत्तीर्ण गरी काममा लागेका छन् । अर्का एक छोरा र एक छोरीले पनि उच्च शिक्षा हासिल गरिसकेका छन् । यो सबै ठाकुरको मेहनतको कमाइ हो । कलैया जिल्लाको देउताल गाउँपालिका–४ पिप्राडीका स्थायी बासिन्दा ठाकुरले स्थानीय विद्यालयबाट कक्षा १० उत्तीर्णपछि यो पेसामा लाग्नुभएको हो । स्थानीयस्तरमा काम सिकेर छ महिना उहाँले भारतको दिल्ली पुगेर तालिम लिनुभएको हो ।       विसं २०५० मा भरतपुरको तत्कालीन जिल्ला विकास समितिको जग्गामा रहेको सटरमा उहाँले कपाल काट्न सुरु गर्नुभयो । त्यतिबेला उहाँको उमेर १८ वर्षको थियो । उहाँले भन्नुभयो, “म मेरो फूपाजु रामकुमार ठाकुरसँग कपाल काट्ने कामका लागि चितवन आएँ ।” २६ वर्ष त्यहीँ ठाउँमा कपाल काटेपछि उहाँ अहिले केही पर सर्नुभएको छ ।      यहाँ आएर सुरुमा नै आफैँले व्यापार थालेको उहाँ सम्झनुहुन्छ । त्यतिबेला दाह्री र कपाल काटेको रु १० लिने गरिन्थ्यो । अहिले यो मूल्य बढेर रु एक सय ७० पुगेको छ । त्यतिबेला दैनिक ५० जना सम्मको दाह्री कपाल काटेको उहाँलाई अनुभव छ ।      अहिले यो सङ्ख्या ३०÷३५ छ । आम्दानी हुँदै गएपछि बसाइँ चितवन बनाउने रहर उहाँमा जाग्यो । यहाँ कमाएको पैसाले वीरगञ्जमा जग्गासमेत किनिसक्नुभएको थियो । सन्तान हुर्कंदै गएपछि त्यहाँको घडेरी बेचेर भरतपुर महानगरपालिका–१२ मा घडेरी किन्नुभयो । सोही घडेरीमा उहाँको तीन तलाको घर ठडिएको छ । ४५ वर्षीय ठाकुरका जेठा छोराले स्नातक गरेर जागिर खान थाल्नुभएको छ । कान्छो छोराले भारतको चण्डीगढबाट सिए उत्तीर्ण गरेर यही लेखापरीक्षण सुरु गर्नुभएको छ । उहाँका छोरी कक्षा १२ पढ्दै हुनुहुन्छ । अहिले पनि निरन्तर कपाल काट्दै आउनुभएका ठाकुर मेहनत ग¥यो भने यही कमाइ हुने बताउनुहुन्छ ।      जीवनको झण्डै तीन दशक यो पेसामा सङ्घर्षरत ठाकुरले भन्नुभयो, “मेहनत गरेर काम गर्नुस् विदेशिनु पर्दैन ।” कर्मथलो चितवन बनाउनु भएका ठाकुरको मेहनतको कमाइले स्थायी बसोबास भरतपुर बनेको हो । अहिले पनि उहाँको आफ्नै कमाइले परिवार धानेको छ । छोरीबाहेकको पढाइ खर्च घटेपछि र छोराको आम्दानी सुरु भएकाले अबका दिन यस्तै परिश्रम गरिरहनु नपर्ने उहाँ बताउनुहुन्छ ।