काठमाडौं: वैदेशिक रोजगारमा लिथुआनिया पठाउने भन्दै रु ११ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका–८ का ३६ वर्षीय समय गौतम रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी लिथुआनिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेपश्चात विदेश नपठाई सम्पर्कविहीन भएको पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो”, पक्राउ परेका निज गौतमलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।
तनहुँ: १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १ युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भानु नगरपालिका–१३ चनौटे बस्ने १९ वर्षीय निर्मल पाण्डे रहेका छन् । उनलाई मंगलबार बिहान इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनिविरुद्द ति बालिकालाई सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको परेको थियो । पक्राउ परेका पाण्डेविरुद्ध प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौंः काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले काठमाडौँको कोटेश्वरबाट नौ एमएमको पेस्तोलसहित आज एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३२ स्थित नरेफाट बस्ने ३३ वर्षीय सनराइज खड्का रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोटेश्वर क्षेत्रमा हतियारको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा हाम्रो टोलीले होटल विश्पुलबाट निज खड्कालाई पक्राउ गरेको हो ।” पक्राउ परेका खड्काको साथबाट प्रहरीले एक थान नौ एमएमको पेस्तोल, त्यसमा लाग्ने एक थान म्याग्जिन र नौ राउन्ड गोली समेत बरामद गरेको जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले बताउनुभयो ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित आन्नद साईलाई पक्राउ गरेको छ । प्रहरीले साईलाई मंगलबार पोखरा–१ कस्केरीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए । ‘पोखरा–१ कस्केरी बस्ने साईले लागूऔषधको कारोवार गर्ने गरेको सूचना पाएका थियौं’, सूचना अधिकारी शर्माले भने, ‘मंगलबार जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखाले साईको घरकोठा खानतलासी गर्दा लागूऔषधसहित नियन्त्रणमा लिएको हो । उनका अनुसार प्रहरीले साईको कोठाबाट डाईजापाम ४८ एम्पुल, फेनेरागन ४४ एम्पुल, नुर्फिन २० एम्पुल, ब्रुर्फिन नर्फिन २१ एम्पुल गरी १ सय ३३ एम्पुल र ३ सय ग्राम लागूऔषध गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका साईको कोठाबाट प्रहरीले बरामत गरेको लागूऔषध पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौँ: भक्तपुरमा बाबुछोरा मृत अवस्थामा फेला परेका छन् । सोमबार बिहान जिल्लाको सुर्यविनायक नगरपालिका २ बालकोट फिकाधारा टोलमा चार वर्षदेखि डेरा गर्दै आएका खोटाङ रुपाकोट मजुवागढी १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रविन आचार्य मृत फेला परेका हुन् । उनीहरु छुट्टाछुटै २ वटा कोठामा बाहिरबाट ताला लगाएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
काठमाडौं: सहकारी ठगी आरोपमा काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ का वडा अध्यक्ष नुच्छेबहादुर महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उहाँलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलका क्रममा अभद्र व्यवहार गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटी आदर्श गाउपालिकाका २१ वर्षीय अशोक साउद र डोटी दीपायल सिलगढी नगरपालिकाका १९ वर्षीय गणेश साउद रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । नेपाल क्रिकेट सङ्घको आयोजनामा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा यही पुस ६ गते भएको जनकपुर बोल्ट्स र सुदुरपश्चिम रोयल्सबीचको खेलपछि केही व्यक्तिहरुबीच झगडा भएको थियो । त्यसक्रममा केही व्यक्तिले अपमानजनक शब्द प्रयोग गर्ने, साम्प्रदायिक सद्भाव बिगार्न खोज्ने तथा विभिन्न व्यक्तिलाई अभद्र व्यवहार गरेको सम्बन्धमा बिभिन्न निकाय तथा सञ्चारमाध्यममार्फत र पीडितका जाहेरीका आधारमा अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी जारी रहेको उहाँले जानकारी दिनुभयो ।
पोखरा: पोखरामा धारिलो हतियार देखाएर एक वृद्धाको सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले गत मंसिर २३ गते पोखरा महानगरपालिका–३१ बेगनास गैह्राघर बस्ने ७९ वर्षीय बेदुनाथ अधिकारीको श्रीमतीलाई कुटपिट गरी उनले लगाएका सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा तनहुँको रिसिङ गाउँपालिका २ काउँशिवपुर घर भई पोखरा १५ रामबजार बस्ने ३७ वर्षीय मोहन भन्ने मधुसिंङ थापामगर, बागलुङ तमानखोला घर भई पोखरा ६ लेकसाइड बस्ने ३९ वर्षीय प्रकाश थापा र रोल्पा घर भई पोखरा मालेपाटन बस्ने ३२ वर्षीय गोपाल नेपाली छन् । उनीहरुले गत मंसिर २३ गते अधिकारीको घरमा नकाव लगाएर धारिलो हतियार देखाई उनकी श्रीमतीले लगाएको १ थान औंठी, कानका २ वटा रिङ चोरी गरेर फरार भएका थिए । लुटपाट गर्न प्रयोग गरिएको धारिलो हतियार । फोटो: कास्की प्रहरी पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
नेपालगञ्ज: प्रहरीले बाँकेमा गत मङ्सिरमा मात्रै लागुऔषध ओसारपसारविरुद्धको कारबाहीमा ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले १६१ ग्राम ९५० मिलिग्राम ब्राउनसुगर, प्रतिबन्धित औषधि ८० ट्याब्लेट, नाइट्राजेपाम र ४३६ ट्याब्लेट ट्रामाडोलसहित १६ जना ओसारपसारकर्तालाई पक्राउ गरेको जानकारी दिएको छ । जिल्लाभरबाट अवैध तस्करी बरामदतर्फ रु नौ लाख ३३ हजार ७६० बराबरको अवैध सामग्रीसमेत बरामद भएको र बरामद गरिएको सबै सामग्रीलाई नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो । जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले मङ्सिरमा ५४ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । उनीहरुलाई ७ वर्ष २ महिना २० दिन कैद र रु ८ लाख ६३ हजार ८०० जरिवाना असुल उपर गरिएको प्रहरीले जनाएको छ । प्रहरीले बाँकेमा दर्ता भएका जम्मा ८४ मुद्दामा ५२ व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएकामा पर्खाइमा रहेका ३८ मुद्दालाई फछर्यौट गरिएको जानकारी दिएको छ । ठाडो उजुरीतर्फका ४२८ मुद्दामा ४१६ फछर्यौट भएको र १२ वटा बाँकी निवेदन फछर्यौट प्रक्रियामा रहेका छन् । जिल्लाभरमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने चार ट्याक्टर नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएर रु ४६ हजार जरिवाना गराइएको छ । जिल्ला प्रहरी कार्यालयमा महिला बालबालिकासँग सम्बन्धित छ मुद्दा दर्ता हुँदा छ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छभने घरेलु हिंसासम्बन्धी दर्ता भएका ५० उजुरीमा ३६ उजुरी फछर्यौट गरिएको छ । १४ उजुरी अनुसन्धानको प्रक्रियामा रहेको प्रहरीले जानकारी दिएको छ । हराएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फको १० निवेदनमा छ जनालाई फेला पारी अभिभावकको जिम्मा लगाइएको र बाँकी खोजतलासको क्रममा रहेका छन् । ट्राफिक प्रहरीको कारबाहीतर्फ मङ्सिरमा मात्रै दुई हजार ८८६ सवारी साधनलाई कारबाही गर्दै रु २४ लाख ७१ हजार ५०० राजस्व सङ्कलन गरिएको छ । जिल्ला प्रहरी कार्यालयले मङ्सिर २८ गते मात्रै १५० ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको थियो ।

