पोखराः ११ औं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय पोखराले उत्कृष्ट तीन करदातालाई सम्मान गरेको छ । कार्यालयले गत आर्थिक वर्ष ०७८/०७९ मा सबैभन्दा बढी कर दाखिला गर्ने सफ्टवयरको कारोबार सेवा प्रदान गर्ने यार्सा ल्याब्स प्रालिका प्रतिनिधि किरण सापकोटा, मोटरगाडीको कारोवार गर्ने अटोवेज प्रालिका प्रतिनिधि नारायण पौडेल, कर्माचार्य वेक्स एण्ड फुड्स प्रालिका सञ्चालक विक्रम कर्माचार्य र उत्कृष्ट कर्मचारीका रुपमा नायब सुब्बा छाँया भट्टराईलाई ११ औं कर सप्ताहको अवसरमा सम्मान गरेको हो । गत आर्थिक वर्ष आन्तरिक राजश्व कार्यालय यार्सा ल्याब्स प्रालिले १ करोड ५३ लाख ७७ हजार २ सय ६९ रुपैयाँ आयकर दाखिला बुझाएको थियो । यस्तै कार्यालयका अनुसार अटोवेज प्रालिले १ करोड १३ लाख ४० हजार ४ सय ९७ रुपैयाँ र कर्माचार्य वेक्स एण्ड फुड्स प्रालिले २६ लाख ४६हजार ५ सय ९६ रुपैयाँ आयकर दाखिला गरेको थियो । कर तिर्नु नागरिकको दायित्व होः करदाता अटोवेज प्रालिका सञ्चालक नारायण पौडलले कर तिर्नु नागरिकको दायित्व भएको बताएका छन् । आन्तरिक राजश्व कार्यालय पोखराले आयोजना गरेको राष्ट्रिय कर दिवसको अवसरमा बोल्दै कर तिर्नु नागरिकको दायित्व भएको बताएका हुन् । ‘कसैले कुनै व्यापार व्यवसाय गर्दा राज्य मेरो सेयर होल्डर हो भनेर सम्झन आवश्यक छ, उनले भने, ‘कसैले व्यापार व्यवसाय गर्दा राज्यलाई कर तिर्नु नागरिकको कर्तव्यको हो । व्यवसायी र नागरिकले कर नतिरेसम्म देश समृद्ध बन्न सक्दैन । त्यसैले देश समृद्ध बनाउन कर तिर्न आवश्यक छ ।’ व्यवसायीले पारदर्शी ढङ्गले राजश्व बुझाए समृद्ध देशको परिकल्पना पुरा हुने धारणा राखे । ‘नागरिक र व्यवसायीले पारदर्शी ढङ्गले राजश्व बुझाउन सके समृद्ध देशको परिकल्पना पुरा हुन्छ, उनले भने, ‘राज्यले बजेट ल्याउँदा व्यवसायी र नागरिकको करबाट ल्याउने हो । जति हामीले कर तिर्न सक्यो त्यति नै देश समृद्ध बनाउने सबैको सपना साकार हुन्छ ।’ यस्तै कर्माचार्य बेक्स एण्ड फुड्स प्रालिका सञ्चालक विक्रम कर्माचार्यले राज्यले विभिन्न उद्योग व्यवसाय सञ्चालन गर्दा छुट दिएको करको विषयमा जानकार नभएको बताए । ‘राज्यले नेपालमा नै उद्योग व्यवसाय गर्दा विभिन्न क्षेत्रमा छुट दिएको छ, उनले भने, ‘ राज्यले देशमा नै कसैले उद्योग, पेशा व्यवसाय सञ्चालन गर्दा विभिन्न क्षेत्रमा करमा छुट गरेको छ तर नागरिकले बुझ्न सकेका छैनन् । व्यापार, व्यवसाय उद्योगसम्बन्धी सरकारले ल्याएको नीति नियम आम नागरिकले अध्ययन गर्न आवश्यक छ ।’ उक्त कार्यक्रममा चेम्बर अफ कमर्श गण्डकीका अध्यक्ष किसान सुनार, कोष नियन्त्रक कार्यालयका प्रमुख रामजी प्रसाद शर्मा, मालपोत अधिकृत प्रमुख राजेन्द्र पौडेल लगायत बोलेका थिए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भर्खरै (बेलुकी ४ः५० बजे) क्यालिब्रेसन फ्लाइट भएको छ । यान्त्रिक परीक्षण भनिने उडानमा साँझ ४ बजेर ५० मिनेट जाँदा थाइ एअर अवतरण भएको हो । विमानस्थलको एयर ट्राफिक कन्ट्रोलसम्बन्धी परीक्षण र भौगोलिक अवस्थाबारे जानकारी लिन आज उटान गरिएको हो । थाइ एअरका चालक दलले दिएको रिपोर्ट अनुसार विमानस्थल सुचारु हुनेछ । नेपाल सरकारको तयारी अनुसार आगामी अंग्रेजी नयाँ वर्षसँगै व्यावसायिक उडान हुनेछ । हाल हाम्रो सहकर्मी विमानस्थलमा रहेको छन् भने विस्तृत आउन बाँकी छ ।
पोखराः निर्वाचनको दिन कास्कीमा सवारी पास बिना चलाइएका १सय २० बढी सवारीसाधनलाई प्रहरीले होल्डमा राखेको छ । निर्वाचनको दिन विना पास चलाइएका १ सय २० बढी दुईपाङ्ग्रे र केही चार पाङ्ग्रे सवारीसाधनलाई होल्डमा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुन्दर तिवारीले जानकारी दिए । होल्डमा राखिएको सवारीसाधनलाई साँझ ५ बजेपछि छोड्ने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की लगायत देशैभर आज अत्यावश्यक तथा पास लिएका सवारीसाधन मात्र सञ्चालन भइरहेका छन् । आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन भएकाले सवारी साधन संचालनमा रोक लगाइएको हो । अत्यावश्यक तथा पास लिएका सवारी साधन बाहेक अन्य सवारी साधन आज दिनभर नचलाउन चालकलाई ट्राफिक प्रहरीले अनुरोध समेत गरेको छ ।
कास्की: गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रहेका रामजी बरालले लज सञ्चालनमा ल्याएका छन् । गतवर्षदेखि पोखरा महानगरपालिका २२ पुम्दीकोटमा ‘जय शम्भो पुम्दीकोट लज एण्ड रेष्टुरेन्ट’ सञ्चालनमा रहेको बरालका छोरा कुलप्रसादले जानकारी दिए । उनका अनुसार हाल प्राविधिक कारणले एक महिना सेवा बन्द गरिएको छ । सो लज आफुले हेर्दै आएको बताउदै पारिवारिक लगानी रहेको कुलप्रसादले बताए । ‘हामी कोही पनि छुट्टिएका छैनौं, उनले भने, ‘त्यसैले पारिवारिक लगानी नै भन्न मिल्छ र म माननीय कै छोरा हो नि ।’ लज स्थापनाको मूख्य उद्देश्य धार्मिक र आन्तरिक पर्यटनलाई बढावा दिने रहेको उनले जनाए । यससँगै पर्यटनमार्फत आत्मनिर्भर र उद्यमी हुनपनि व्यवसायले सघाउ पुग्ने उनको धारणा छ । करिब डेढ करोड रुपैयाँ लगानी रहेको लजमा एक डिलक्ससहित पाँच कोठा, रेष्टुरेन्ट र ६० जना अट्ने सेमिनार हल रहेको छ । शिव मन्दिरबाट सो लज पाँच मिनेटको पैदल दूरीमा रहेको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता एवम् मन्त्री बराल आसन्न निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् ।
पोखरा: गुरुङ चलचित्रकर्मीहरुको साझा संस्था गुरुङ फिल्म एसोसियसन नेपाल (जिफान) द्वारा आगामी मंसिर २४ गते ‘जिफान साँझ’ आयोजना गरिने भएको छ । बिहिबार पोखरामा पत्रकार सम्मेलन गर्दै जिफानका अध्यक्ष गुन्ज बहादुर गुरुङले संस्थाको जग्गा खरिद तथा भवन निर्माणको लागि आर्थिक संकलन गर्ने हेतुले कार्यक्रम आयोजना गर्न लागेको बताए । पोखरा सभागृहमा हुन लागेको उक्त कार्यक्रममा गुरुङहरुको सभ्यता र विकासक्रमसंग सम्बन्धित नाटक, लोक तथा पौराणिक नृत्यहरु, गुरुङ चलचित्रका कलाकारहरुको आकर्षक नृत्यहरु प्रस्तुत गरिने कुरा अध्यक्ष गुरुङले बताए । उनले झण्डै ५ करोड संकलन गर्ने योजना सहित कार्यक्रम आयोजना गरिएको र यसमा गुरुङ चलचित्रलाई माया गर्ने सम्पूर्णको साथ दिने कुरा बताए । ‘हाम्रो आफ्नै भवन निर्माण भएपछि यसबाट निकै लाभान्वित हुने विश्वास लिएको छु। यसले सम्पूर्ण चलचित्रकर्मी, भाषा, कला र सस्कृतिको प्रवर्द्दन एवम् संरक्षणमा टेवा पुग्ने छ ।’ उनले भने । संस्थाका महासचिव लब्सन गुरुङले जिफानले विभिन्न चलचित्र तथा गीतसंगीत मार्फत गुरुङ समुदायको भाषा, कला र सस्कृतिलाई जोगाउन उलेखनीय भूमिका खेलेको बताए । ‘२७ वर्ष देखि हामीले यस क्षेत्रबाट आफ्नो कला र सस्कृति जोगाउन लागिपरेका छौं। त्यसकारण हाम्रो योगदानको मुल्यांकन तमु धिं जस्ता गुरुङको अग्रणी संस्था, तमु पें ल्हु संघ तथा विभिन्न संघ संस्थाले गर्ने विश्वास लिएको छु। ’ उनले भने, ‘उहाँहरुले हाम्रो यस कदममा साथ अपिल गर्न चाहान्छु ।’ महासविचले स्थापनाकालदेखि विभिन्न समस्या र चुनौतीका बाबजुद चलचित्र मार्फत गुरुङ समुदायको गरिमा र प्रतिष्ठालाई उच्च बनाउन महत्वपूर्ण भूमिका खेलेको जिफानको यस अभियानलाई सफल बनाउन देश तथा विदेशमा अरु कार्यक्रमपनि गर्ने योजना भएको सुनाए । त्यसै गरि संस्थाका उपाध्यक्ष सन्तोस कोन्मेले कार्यक्रममा २०५२ साल देखि हालसम्म निर्माण भएर जिफानमा दर्ता भई प्रदर्शन भएका चलचित्रहरुको पोष्टर प्रोजेक्टर तथा बोर्ड मार्फत प्रदर्शन अनि लोकप्रिय गायक गायिकाद्वारा गीत प्रस्तुत गर्ने कुरा जनाए । यस्ता कार्यक्रम आयोजना हुँदा कोभिड पछि सुस्त भएको गुरुङ चलचित्र तथा गीतसंगीतको गतिविधि पनि बढ्ने कोन्मेको भनाई छ । विधिवत् रुपमा २०६५ सालमा स्थापना भएको जिफानमा हाल सम्म १६० वटा चलचित्र दर्ता भएको छ । २०५२ सालमा पाते निर्माण गरेपछि सुरु भएको गुरुङ चलचित्र देशको दोस्रो ठुलो बजारको रुपमा लिइन्छ ।
पोखरा: राजनीतिमा निष्ठापूर्वक निरन्तर लाग्यो भन्ने एक दिन अवश्य मुल्यांकन हुन्छ भन्ने उदाहरण हुन् दुर्गादत्त भण्डारी । स्वयम भण्डारीलाई पनि लागेको थिएन कि यसपटक पार्टीले निर्वाचनमा उम्मेदवार बनाउला भन्ने । तर भण्डारीलाई उनको पार्टीले प्रदेशसभाको उम्मेदवार बनायो र उनको राजनीतिक योगदानको कदर गरेको छ । आफ्नो चार दशकको राजनीतिक आवद्धतापछि भण्डारीको पार्टी नेकपा(माओवादी केन्द्र)ले उनलाई विश्वास गरेर आसन्न निर्वाचनमा कास्की क्षेत्र नं.३(१)मा प्रदेशसभाको उम्मेदवार बनाएको छ । भण्डारी अहिले माओवादीको मात्र उम्मेदवार बनेका छैनन् उनलाई नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा लगायका दलहरुको पनि दरो साथ छ । शिक्षण र निजामति सेवामा गरी ३० वर्ष बिताएका भण्डारी वि.सं २०४२ देखी आफ्नो पेशागत कामसँगै राजनीतिमा समेत आवद्ध भएर पार्टीका काममा जोडिएका थिए । निष्ठा र इमानका धनी भण्डारीले २८ वर्ष स्वयंसेवामा पनि आफ्नो समय खर्चिए । मानवीय हितमा क्रियाशील नेपाल रेडक्रस सोसाइटी जस्ता संस्थामा उनले स्वंयमसेवा गरे । कास्की ३ (१) का जनताले उनलाई ‘पार्टी आन्दोलनका तपस्वी, जनताका हितैषी’ को रुपमा पनि चिन्ने गरेका छन् । निरन्तर राजनीति र स्वयंसेवामा क्रियाशील भण्डारी अहिले जनताको अवस्था बदल्ने अठोट सहित चुनावी मैदानमा होमिएका छन् । राजनीतिक व्यवस्था बदलिएपनि जनताको अवस्था ज्यूँकात्युँ रहेको भन्दै भण्डारी जनताबाट चुनिएर अवस्था बदल्ने मिसनमा छन् । उनलाई अहिले जनताको अवस्था बदल्ने हुटहुटीले मात्र उनलाई सताउँछ । त्यसैले त उनी यसपटक उम्मेदवार बनेर जनताको अवस्था बदल्ने योजना सुनाउँदै मत मागिरहेका छन् । जनताका विकास निर्माण लगायतका समस्याहरु टिपोट गर्दै उनले आफू विजयी भएको खण्डमा जनतासँगै जोडिएर ती समस्या समाधानका लागि काम गर्ने भण्डारीको चुनावी प्रतिवद्धता छ । पूर्वाधार, पर्यटन, कृषि क्षेत्रको विकासँगै जनतालाई राहत दिने उनको एजेण्डा छ । सरकार र राज्यका तर्फबाट महंगीका मारमा परेका जनतालाई उनले सरकारबाट राहत दिलाउन लागि पर्ने प्रतिवद्धता जनाएका छन् । शिक्षण पेशामा लामो समय बिताएकाले मसेत आफ्नो निर्वाचन क्षेत्रमा धेरैसँग परिचित छन्, उनी । सबै जातजाति, भाषा, धर्म, संस्कृतिको समानताबाटनै राष्ट्रिय एकता बलियो हुन्छ भन्नेमा उनी दृढ छन् । सोझा र ईमान्दारिताका प्रतिमूर्ति भण्डारी पार्टीभित्र (निर्भिक) उपनामले समेत चिनिन्छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ का स्थायी बासिन्दा हुन् । २०१२ साल कात्तिक १२ गते जन्मिएका भण्डारीले शिक्षा शास्त्रमा स्नातक उत्तिर्ण गरेका छन् । ०४२ सालमा ने.क.पा. (मशाल)बाट राजनीतिक यात्रा शुरु गरेका उनी पार्टीको संस्थापन पक्षमा सदैव सतिसाल झैं उभिदै आएका छन् । उनी मशाल पुनः नामाकरण हुँदै ने.क.पा.(माओवादी केन्द्र) सम्म आईपुग्दा पनि यहि पार्टीका ईमान्दार सिपाही बनेर देश र जनताको सेवामा लागिरहेका छन् । नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य रहेका भण्डारी अन्नपूर्ण गाउँपालिकाका ईञ्चार्जसमेत हुन् । उनी माओवादी निकट बुद्धिजीवी संगठनको केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संयोजकपनि छन् । जनताको अवस्था बदल्ने भिजन र मिसन लिएर चुनावी मैदानमा होमिएका भण्डारीले त्यसका लागि केहि योजना बनाएका छन् । उनी जनताको अवस्था बदल्ने हो भने उद्यमशिलताको विकास गर्दै स्वरोजगार सिर्जना गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, “हुँदा खाने र हुनेखाने बीचको खाडल तोड्नुपर्ने माओवादीको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्नका लागि म चुनावी मैदानमा छु । जनताको अवस्था बदल्नेनै मेरो मुख्य एजेण्डा हो ।” भण्डारीले शिक्षा, स्वास्थ्य, तालिम, अनुसन्धान लगायतलाई निःशुल्क बनाउने अभियानको थालनी गर्ने दृढ संकल्प लिएर चुनावी घरदैलोमा रहेका भण्डारीले दैनिक उपभोग्य वस्तु तथा साधनको व्यवस्थापनमा जोड दिएका छन् । देशको समृद्धि उर्जा र पर्यटनबाट सम्भव देखेका उनी यसको विकास, बिस्तार र प्रवद्र्धन गर्नुपर्ने बताउँछन् । त्यसका लागि राज्यले नै स्पष्ट नीति, योजना र कार्यक्रम बनाउनुपर्ने भन्दै यसमा आफूले भूमिका खेल्ने उनको भनाई छ । उनले जनताको सुविधाका लागि सुइखेत खोलामा तटबन्ध निर्माण गर्ने, सुईखेतहुँदै पोखरा–२४ जोड्ने बाटो कालोपत्रे गर्ने, अन्नपूर्ण–१, घट्टेखोला र लखनेजादे–धम्पुस देउराली मोटरबाटो कालोपत्रे गर्ने, सेदीदेखी ग्यारजाती सडकको स्तरोन्नती गर्ने । पोखरा–१८ मा पर्ने कृषि सडकलाई कालोपत्रे गर्नेलगायतका योजनापनि अघि सारेका छन् । त्यस्तै, लामाचौर–बाटुलेचौरहुँदै छहरेपानी पुग्ने बाटो कालोपत्रे गर्ने, लामाचौर–भुनपहरे–चितेपानी–चुरुङ सडकको स्तरोन्नती गर्ने, तल्लाकोट–भुजुङ सडक काल्पत्रे गर्ने, मिलनचोक–लाहाचोक– घाचोक–माछापुछ्रे सडक खण्ड कालोपत्रे गर्ने, मिलनचोक–खोराकोमुख–संदीघट्ट–ल्वाङघलेल खण्ड कालोपत्रे गर्ने, खोराकोमुख–रिभान मोटरबाटो स्तरोन्नती गर्ने लगायतका योजनापनि ल्याएका छन् । उम्मेदवार भण्डारीले विध्यवासिनी–सराङ्कोट–कास्कीकोट सडकखण्ड चक्ल्याउने, विन्ध्यवासिनी–पोखरा बेसी सडक कालोपत्रे गर्नेलगायतका महत्वकांक्षी योजना यसअघि नै सार्वजनिक गरिसकेका छन् । कास्की क्षेत्र नं ३(१)को विकासमा मुख्य गरी पर्यटन र कृषिमा जोड दिनुपर्ने उनी बताउँछन् । यसका साथै सेती, मर्दी, इदी लगायतका नदीनालाहरुबाट प्रशस्त विद्युत उत्पादनको सम्भावना रहेकाले जलविद्युत उत्पादनलाई समेत उनले समृद्धिको आधारका रुपमा लिएका छन् ।
पोखरा: विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीले पोखरामा आयोजना गरेको आसन्न निर्वाचनलक्षित संसदीय चुनावको भण्डाफोर तथा सडक सभा कार्यक्रममा बालबालिका प्रयोग भएको पाइएको छ । पोखरामा आज (बुधबार) भएको सडक सभामा लेखनाथस्थित बेलचौतारा लगायत स्थानका बालबालिकाहरुलाई र्यालीमा सहभागी गराइएको थियो । विहान १० बजे घरदेखि निस्केका बालबालिकाहरुलाई कार्यक्रम अवधिभर राखिएको थियो । उनीहरुलाई सो कार्यक्रमको नाचगानमासमेत प्रयोग गरिएको थियो । कुनैपनि पार्टीले बालबालिकालाई प्रयोग गर्न नपाउने कानूनी प्रावधान रहेको छ । पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड)को प्रमुख वक्ताका रुपमा सम्बोधन गरेका थिए ।
पोखराः निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका तीन गन्तव्यमा उडान सुरु गर्ने भएको छ । बुद्ध एयरका अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका बनारस, दिल्ली र देहरादुनमा उडान गर्न लागिएको हो । “नागरिक उड्डयन प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ को जनवरीदेखि सञ्चालनमा आउने जानकारी दिएको छ”, कम्पनीले भनेको छ, “त्यहाँबाट हुने पहिलो उडानका रुपमा बुद्ध एयरले पोखरा–बनारस–पोखरा उडान गर्नेछ ।” पोखरा–बनारस–पोखराको उडान सातामा तीन दिन आइतबार, मङ्गलबार र बिहीबार हुने कम्पनीको भनाइ छ । एयर ट्राफिक रुटका लागि नेपाल सरकारले भारत सरकारसमक्ष पहल गरिरहेको भन्दै भारत सरकारबाट रुट र स्लट प्राप्त भएपछि पोखरा–दिल्ली–पोखरा रुटमा दैनिक दुई उडान गरिने कम्पनीको भनाइ छ । कम्पनीले पोखरा–देहरादुन–पोखरा रुटमा सातामा तीन वडा उडान गर्ने जानकारी दिएको छ । हाल बुद्ध एयरले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको बनारसमा उडान गर्दै आएको छ ।
पोखराः मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको कास्कीमा सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार निर्वाचन सामग्री र कर्मचारी व्यवस्थापनको सम्पूर्ण तयारी पूरा छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख हुमबहादुर पराजुलीले चुनावका लागि आवश्यक सामग्री व्यवस्थापन र कर्मचारी व्यवस्थापनको काम पूरा भएको कात्तिक ३० गतेदेखि मतदान अधिकृतलाई सामग्री बुझाएपछि मङ्सिर १ गते साँझसम्ममा सम्पूर्ण मतदानस्थलमा सामग्री पुगिसक्ने बताउनुभयो । उहाँले निर्वाचनका लागि आवश्यक ७० थरिका सामग्रीलाई मतदान केन्द्रमा पठाउनका लागि प्याकिङ गरेर तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । त्यसैगरी कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा खटिने सम्पूर्ण मतदान अधिकृत, सहायक अधिकृतलाई मतदान पूर्व र मतदानपश्चात् गर्नुपर्ने सम्पूर्ण प्रक्रियाका बारेमा अभिमुखीकरणसहितको तालिम सम्पन्न भएको छ । कास्कीमा कूल दुई लाख ९१ हजार पाँचसय ६८ मतदाता रहेका छन् । गत स्थानीय निर्वाचनमा भन्दा अहिले १० हजार मतदाता बढेका छन् । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक सय ५० मतदानस्थल र तीन सय ४४ मतदान केन्द्र रहेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो । उहाँले कास्कीमा करिब १० हजारको हाराहारीमा कर्मचारी र सुरक्षाकर्मी स्वयंसेवक परिचालन हुनेछ । एक मतदान केन्द्रमा २० देखि २५ जना जनशक्ति खटिने छन् । विगतको अवस्थालाई हेरेर मत बदर नहोस् भनी मतदाता शिक्षालाई विशेष जोड दिइएको न्यौपानेले बताउनुभयो । त्यसैगरी आचारसंहिता उल्लङ्घन, विभिन्न कर्मचारी, जनप्रतिनिधिका विरुद्ध परेका उजुरीका सन्दर्भमा पनि निर्वाचन कार्यालयले प्रक्रियागत रुपबाट कारबाही अगाडि बढाएको उहाँको भनाइ छ । यसैगरी चुनावलाई स्वच्छ निष्पक्ष र भयरहित तरिकाबाट सम्पन्न गर्न आवश्यक सम्पूर्ण गृहकार्य पूरा भएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मतदान केन्द्र र भौगोलिक र अन्य अवस्थाको विश्लेषण गरेर अतिसंवेदनशील, संवेदनशील र सामान्य गरेर वर्गीकरण गरेका छौँ । यही आधारमा सुरक्षाकर्मीको परिचालन हुनेछ ।” उहाँले निर्वाचनलाई भयरहित र स्वतन्त्ररुपमा आफ्नो मताधिकारको प्रयोग गर्न आमनागरिकलाई आग्रहसमेत गर्नुभयो । उहाँका अनुसार नेपाल प्रहरी, नेपाली सेना, म्यादी प्रहरी गरेर तीन हजार सुरक्षाकर्मी मतदानस्थलमा खटिनेछन् । उहाँले मतदानपछि मतगणना र मतपरिणामसम्मको अवस्थालाई दृष्टिगत गरी सुरक्षाको प्रबन्ध मिलाइएको जानकारी दिनुभयो ।