तनहुँः नेपाली कांग्रेसका नेता शङ्कर भण्डारी तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार भण्डारीले ३० हजार छ सय चार मत प्राप्त गरी विजयी हुनुभएको हो । आज बिहान सम्पन्न मतगणनाअनुसार भण्डारी प्रतिस्पर्धी नेकपा (एमाले)का किरण गुरुङसँग पाँच हजार चार सय ७४ को मतान्तरले विजयी हुनुभयो । गुरुङले २५ हजार एक सय ३० मत प्राप्त गर्नुभएको क्षेत्र नं २ निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गोविन्द उपाध्यायले बताउनुभयो । निर्वाचनमा ६८ हजार एक सय ७३ मत खसेको थियो । विसं २०२५ जेठ १० गते साविक पुर्कोट गाविस हाल भानु नगरपालिका–८ मा जन्मिनुभएका भण्डारी ठूलो दाई छत्रराज भण्डारीको प्रेरणाबाट विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी सङ्घमा आबद्ध हुनुभएको थियो । विसं २०३६ को विद्यार्थी आन्दोलनमा सक्रियरूपमा सहभागी हुनुभएका भण्डारीले विसं २०४० मा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि राजधानी जानुभएको थियो । विद्यार्थी राजनीतिमा सक्रियरूपमा सहभागी हुने क्रममा भण्डारी लौहपुरुष गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलनमा सहभागी हुनुभएको थियो । पार्टीको काममा सक्रिय रहेको अवस्थामा नै विसं २०४६ मा भण्डारी २९ दिन प्रहरी नियन्त्रणमा रहनुभएको थियो । नेविसङ्घको राजनीतिमा सक्रिय हुने क्रममा विसं २०४८ मा त्रिचन्द्र क्याम्पसमा नेविसङ्घको क्याम्पस एकाइ सभापति र २०४९ मा स्ववियु सभापति बन्न सफल भण्डारी विसं २०५३ देखि भने पार्टी राजनीतिमा सक्रिय हुनुभएको थियो । भण्डारी विसं २०५३ मा महाधिवेशन प्रतिनिधि बन्न सफल हुनुभयो । साथै भण्डारीले बालकृष्ण खाणको नेतृत्वमा गठन भएको तरुण दलको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्नुभयो । युवाहरूमाझ लोकप्रिय भण्डारी चितवनमा भएको तरुण दलको महाधिवशेनमा अध्यक्षका लागि चुनावी प्रतिस्पर्धामा उत्रनु भए पनि झिनो मतले पराजित हुनुभयो । पार्टीको १२औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भण्डारीले दुईपटक तरुण विभागको जिम्मेवारी सम्हाल्नुभयो । विसं २०७० को संविधानसभा निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित भण्डारीले वन तथा भू–संरक्षणमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । पार्टीको १३औँ र १४औँ महाधिवेशनबाट पनि भण्डारी केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । भण्डारीले आगामी पाँच वर्षमा यस क्षेत्रको विकासका लागि सबै प्रकारका पूर्वाधार तयार पार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “हामीसँग विशाल फाँटहरू छन्, त्यहाँ बाह्रैमास सिँचाइ सुविधा पु¥याएर कृषिमा कम्तीमा आत्मनिर्भर बन्ने, उपयोगमा नआई खाली रहेका जमिनमा फलफूल, तरकारी, जडीबुटीलगायत कृषि उत्पादन वृद्धि गरी निर्यातसमेत गर्न पहल गरिनेछ”, भण्डारीले भन्नुभयो । आवश्यक विकासका पूर्वाधारहरू पहिचान गर्दै समन्वय र सहकार्यबाट विकास गरी यस क्षेत्रलाई नमूना बनाउन पहल गरिने भण्डारीले बताउनुभयो । “यस क्षेत्रमा सुविधासम्पन्न अस्पताल स्थापना गर्ने, यस क्षेत्रलाई तराईसँग जोड्ने दु्रतमार्ग निर्माण गर्ने, भिमादबाट पूर्व पश्चिम राजमार्ग जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन, औद्योगिक क्षेत्र स्थापना गर्न मेरो पहल रहनेछ”, उहाँले भन्नुभयो । वर्षौँदेखि ओझेलमा परेका यहाँका विकासका मुद्दालाई स्थापित गराउने बताउँदै भण्डारीले आउने नेतृत्वलाई सहज हुने गरी आवश्यक सबै पूर्वाधार यही कार्यकालमा पूरा गर्ने बताउनुभयो ।
अछामः अछाम क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनअन्तर्गत नेकपा (एकीकृत समाजवादी)का नेता शेरबहादुर कुँवर विजयी हुनुभएको छ । नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सुदूरपश्चिम प्रदेश उपाध्यक्ष शेरबहादुर कुँवर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । अछाम क्षेत्र नं १ बाट १९ हजार पाँच सय ३४ मत ल्याउँदै कुँवर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा ९एमाले०का उम्मेदवार झपट बोहोराले १५ हजार ४५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेपाली कांग्रेसका बागी उम्मेदवार राजन कुँवरले चार हजार तीन सय ९२ मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभा सदस्यको मतगणना सकिएलगत्तै प्रदेशसभा सदस्यको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ४१ हजार तीन सय ९२ मतगणना हुँदा एक हजार नौ सय ७७ मत बदर भएका थिए ।
काठमाडौंः काठमाडौं–१० मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी हुनुभएको छ । निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार उहाँले केसीले १४ हजार चार सय ५८ मतसहित विजयी हुनुभएको हो । प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) हिमेस केसीलाई दुई हजार छ सय ७२ मतले पछि पार्दै केसी यस क्षेत्रबाट तेस्रोपटक निर्वाचित हुनुभएको हो । यद्यपि विजयको औपचारिक घोषणा हुन बाँकी छ । एमालेका केसीले ११ हजार सात सय ८७ मत प्राप्त गर्नुभएको छ । यस निर्वाचन क्षेत्रमा कूल ५३ हजार तीन सय ३६ मत खसेको थियो भने स्वतन्त्रसहित विभिन्न पार्टीका १८ को उम्मेदवारी परेको थियो ।
काठमाडौं : काठमाडौं -७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न प्रतिनिधिसभा उम्मेदवारको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुलीले आठ हजार सात सय ४३ मत ल्याई विजयी हुनुभएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिनुभयो । दोस्रो मत नेकपा (एमाले)का उम्मेदवार श्यामकुमार घिमिरेले प्राप्त गर्नुभएको छ । उहाँले छ हजार आठ सय र लोकतान्त्रिक–वाम गणबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईले छ हजार ६३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो । यस्तै एक हजार पाँच सय ७४ मत बदर भएको छ । कुल २४ हजार एक सय ९८ मतगणना हुँदा काठमाडौँ क्षेत्र नं ७ मा प्रतिनिधिसभामा २९ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो । जसमा १३ जना विभिन्न राजनीतिक दल र १६ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचनअधिकृतको कार्यालयले जनाएको छ । उक्त निर्वाचन क्षेत्रमा २९ स्थानका ७१ मतदान केन्द्रमा मतदान भएको थियो । ६१ हजार दुई सय ९२ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३७ हजार छ सय ३५ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्नुभएको थियो ।
तनहुँः तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका जीतप्रकाश आले विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतपरिणाम अनुसार वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार आले छ सय ४० मतान्तरले विजयी हुनुभएको छ । आलेले १३ हजार आठ सय ६० मत प्राप्त गर्नुभएको तनहुँ क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिनुभयो । प्रतिस्पर्धी नेकपा (एमाले) का केदार सिग्देलले १३ हजार दुई सय २० मत प्राप्त गर्नुभएको छ । प्रदेशसभामा निर्वाचित आले नेपाली काङ्ग्रेसका जिल्ला सभापति हुनुहुन्छ । सिग्देल क्षेत्र नम्बर २ का निवर्तमान प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । विसं २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित सिग्देलले यसपटक प्रदेशसभामा प्र्रतिस्पर्धा गर्नुभएको थियो । उक्त प्रदेशमा २९ हजार आठ सय ९८ मत खसेको थियो । यो प्रदेशमा ऋषिङ, घिरिङ गाउँपालिका तथा भिमाद नगरपालिका पर्दछ ।
पोखराः प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की–२(१) मा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उम्मेदवार भीमबहादुर कार्की विजयी हुनुभएको छ । पोखरा सभागृहमा आज बिहान सम्पन्न मतगणनामा एमालेका कार्कीले १० हजार पाँच सय ३१ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीले पाँच हजार ८९३ मत ल्याउनुभयो । नेकपा(माओवादी केन्द्र)का विश्वप्रकाश लामिछानेले पाँच हजार पाँच सय ४० र हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले दुई हजार ५९२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका पदमबहादुर गुरुङले चार सय ९३, स्वतन्त्र उम्मेदवारहरू दीपकप्रसाद पौडेल ७२, दुर्गाकुमारी शर्मा ४५ र निशा थापाले ३४ मत ल्याउनुभएको छ । सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए । सो क्षेत्रको प्रतिनिधिसभाको मत गणना जारी छ । पछिल्लो गणनाअनुसार प्रतिनिधिसभामा नेकपा(एमाले)का विद्या भट्टराईले अग्रता बनाउनुभएको छ ।
पोखराः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बुधबार बिहान सम्पन्न मत गणनामा प्रधानमन्त्री देउवा २५ हजार ५३४ मत ल्याई विजयी भएका हुन् । देउवा डडेलधुराबाट लगातार सातौं पटक सांसद चुनिएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाएका छन् । एमाले र बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्ल भने तेस्रो स्थानमा रहे उनले ७ हजार ५३५ मत पाएका छन् ।
म्याग्दीः म्याग्दीको प्रदेशसभा २ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का रेशम जुग्जाली (सुविन) विजयी हुनुभएको छ । जुग्जाली उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार यामबहादुर गर्बुजालाई एक सय एक मतले पछि पार्दै निर्वाचित हुनुभएको हो । जुग्जालीले नौ हजार चार सय ५४ मतसहित विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गर्बुजाले नौ हजार तीन सय ५३ प्राप्त गर्नुभएको छ । माओवादी केन्द्रका म्याग्दी संयोजक रहनुभएका जुग्जाली गत स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिका अध्यक्षमा एमालेबाट पराजित हुनुभएको थियो । उहाँ विसं २०७४ को स्थानीय तहमा मालिका गाउँपालिका–७ विमको वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
पोखराः कास्कीको निर्वाचन क्षेत्र नं ३ मा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका दामोदर बैरागीले छ हजार आठ सय ३९ मतसहित अग्रता लिनुभएको हो । उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले पाँच हजार पाँच सय ७० मतसहित पछ्याउनुभएको छ । यस क्षेत्रमा कूल ६१ हजार चार सय १४ मत खसेकोमा हालसम्म २० हजार आठ सय ७० मतगणना भएको छ । जसमध्ये एक हजार एक सय २० मत बदर भएको छ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा (माओवादी केन्द्र)का रामजीप्रसाद बराल(जीवन)ले चार हजार आठ सय ३८ मत ल्याउनुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद सुवेदीले एक हजार ५० मत ल्याउनुभएको छ । यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा नेकपा एमालेका गणेशमान गुरुङ आठ हजार सात सय ४६ मतसहित अग्रता लिनुभएको छ । उहाँलाई पाँच हजार तीन सय ९९ मतसहित दुर्गादत्त भण्डारीले पछ्याउनुभएको छ । साथै, राष्ट्रिय प्रजातन्त्र पार्टीका केदारनाथ पौडेलले तीन हजार एक सय ४७ र हाम्रो नेपाली पार्टीका खीमप्रसाद तिमिल्सिनाले दुई हजार एक सय २५ मत प्राप्त गर्नुभएको छ । हालसम्म २० हजार आठ सय ६२ मतगणना भएकोमा आठ सय मत बदर भएको छ ।