काठमाडौं:  जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सो पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । ...

पोखरा:  कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ५६१ मत पाएका छन् ।   नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले ४९७ मतसहित कँडेललाई पछ्याइरहेकी छन् । राप्रपाका सुवर्णराज पन्त ३६० मतसहित तेस्रो स्थानमा हुँदा सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल ३०२ मतसहित चौथो स्थानमा छन् ।

मुस्ताङ​:  मुस्ताङमा प्रतिनिधि सभा सदस्यमा काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली जितको नजिक पुग्नुभएको छ । एक हजार ४३७ मत गणना गर्न बाँकी रहँदा काँग्रेसको ६३५ ले अग्रता कायम गरेको छ ।  मुस्ताङमा हाल सम्म पाँच हजार ८२० मत गणना गरी सक्दा नेपाली काँग्रेसको रुख चुनाव चिन्हमा ३ हजार १५६, नेकपा एमालेको सूर्य चुनाव चिन्हमा २ हजार ५२१, राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्हमा ६६, राप्रपा नेपालको तीर चुनाव चिन्हमा ६ र बदर ७१ मत भएको निर्वाचन कार्यालयले जनाएको छ ।  प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार अहिलेसम्म घमी, छैरो, नेफुक गुम्बा, ठिनी, घिलिङ, साङ्ता, ढाकमर, झोङ, स्याङ, घाँसा, छोन्हुप चिमाङ, लेते, मराङ, लोमन्थाङ, चराङ, फलेक, मार्फा, सौरु, छोसेर, जोमसोम, टुकुचे, ढि, घ्याकर, किमलिङ, यारा, चुम्जुङ, कोबाङ, झारकोटको मत गणना भएको छ । यस पटक निर्वाचनमा प्रत्यक्षतर्फ सात हजार दुई सय ५७ मत खसेको थियो ।

पर्वत:  पर्वतमा मतगणनाका लागि सर्वपक्षीय बैठक सकिएको छ । बैठकले सोमबार दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका प्रबक्ता राजु ढुंगानाले जानकारी दिए  । मतगणनास्थलसम्म मतपेटिका ल्याउन ढिलाइ भएका कारण आज बिहान मात्रै सर्वपक्षीय बैठक बसेको उनले बताए । यस पटक पर्वतमा ५५ प्रतिशत मत खसेको छ । पर्वतको कुल मतदाता संख्या १ लाख २२ हजार ६ सय ४९ मध्ये ६६ हजार २ सय ७३ मत खसेको हो ।

काठमाडौँ:     काठमाडौँ क्षेत्र नं ६ को मतगणना शुरु भएको छ । सो क्षेत्रको मतगणना स्थल धर्मस्थलीमा आज बिहान १० बजेदेखि मतगणना शुरु भएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिनुभयो । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आइतबार सम्पन्न भएको हो । सो क्षेत्रमा नेकपा (एमाले) का सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका भीमसेनदास प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललगायतका उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै केही बेरअघिदेखि काठमाडौँ क्षेत्र नं १ को पनि मतगणना शुरु भएको छ । त्यस क्षेत्रमा कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राप्रपाबाट रवीन्द्र मिश्र र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमलगायतका उम्मेदवार हुनुहुन्छ ।  

काठमाडौं:  आइतबार भएको निर्वाचनमा दिउँसो साढे ३ बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगका अनुसार चुनाव रोकिएका १५ मतदान केन्द्रमा मतदान सुरु गर्न प्रयास भइरहेको छ । अन्य केन्द्रमा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले एक सूचनामार्फत जानकारी दिएको छ । राजनीतिक दलका प्रतिनिधिहरुबीच विवाद, मतपत्र प्रयोगमा विवाद लगायतका कारणले मतदान स्थगित भएका छन् ।

झापा:    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मध्याह्नसम्म मतदाताको सहभागिता उत्साहपूर्ण नरहेको बताएका छन् । झापाको हल्दिबारी गाउँपालिका(१ को वडा कार्यालयमा मतदान गरेपछि उनले मतदाताको उत्साहपूर्ण सहभागीता नरहेको बताएका हुन् । अध्यक्ष लिङ्देनले भने, ‘१२ बजेसम्म मतदानको माहोल उत्साहपूर्ण छैन । अब बढ्दै जान्छ भन्ने अनुमान हो ।’ उनले नेपाली कांग्रेसका पूर्वमहानमन्त्री कृष्णप्रसाद सिटौलासँग चुनावमा प्रतिस्पर्धा गर्न पाउनु आफ्नो लागि ठूलो कुरा भएकोसमेत बताए । २०७४ को निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा सिटौलालाई हराएका लिङ्देन यसपटक पनि सिटौलासाग प्रतिस्पर्धामा छन् । दलका नेताहरुसँग असन्तुष्ट भएर धेरैजना स्वतन्त्र उम्मेदवार बनेको बताउँदै अध्यक्ष लिङ्देनले यस्तो हुनुको कारणबारे समीक्षा गर्ने बताए ।

गोरखा:   नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मतदान गरेका छन् ।   पालुङटार नगरपालिका.१ खोप्लाङ स्थित अन्नपूर्ण माविको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । मतदानका लागि आजै गोरखा आएका भट्टराईले बिहान ११ बजेर ५ मिनेटमा मतदान गरेका हुन् ।

मनाङ:   प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो १२:३० बजेसम्म ५१ प्रतिशत मत खसेको छ ।  जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १२:३० बजेसम्म यहाँ ५१ प्रतिशत मतदान भएको हो ।  कुल २९ वटा मतदान केन्द्र रहेको मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन् । यहाँ कुल छ हजार सात सय ७९ मतदाता छन् ।

काठमाडौं:  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकाको बालकोटमा मतदान गरेका छन् । उनले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गरेका हुन् । ओली झापा ५ बाट प्रतिनिधि सभाका उम्मेदवार हुन् । चुनाव प्रचारका लागि झापामा रहेका ओली मतदानका लागि बालकोट आएका हुन् । उनी बालकोटमा नै स्थायी रुपमा बस्दै आएका छन् ।