काठमाडौं । राष्ट्रियसभाको बैठकले दुई विधेयक संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकले ‘नेपाल इञ्जीनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ पारित गरेको हो । उक्त दुवै विधेयक प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भनी प्रस्तुत भएको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले नेपाल इञ्जीनियररिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ सदनसमक्ष प्रस्तुत गर्नुभएको थियो ।
पोखरा: चौतर्फी विरोधपछि गण्डकी प्रदेश सरकारले सवारी साधनको नवीकरण तथा जरिवानाबापत लिदैं आएको २ सय प्रतिशत शुल्क नलिने निर्णय गरेको छ । आज (बुधबार) बसेको मन्त्रीपरिषदको बैठकबाट उक्त कार्य नागरिकको हितविपरित रहेको भन्दै निर्णय फिर्ता गरेको हो । पत्रकार सम्मेलनको आयोजना गर्दै भौतिक, पूर्वाधार शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले सवारी ऐनलाई संशोधन गरिने बताए । गत साउन १ गतेदेखि नागरिकले २ सय प्रतिशत जरिवाना र चर्काे नवीकरण शुल्क सेवाग्राहीलाई आगामी आर्थिक वर्षमा समायोजन गरिने जानकारी दिए । उनले अब उक्त निर्णय राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयन गर्ने बताए । मन्त्री खड्काका अनुसार यातायात व्यवस्था कास्कीले पहिलेकै अनुसार नै नवीरकण र जरिवानाबापत शुल्क संकलन गर्नेछ । ‘राज्यको हित विपरित भएपछि आज बसेको क्याबिनेटकोे बैठकले चर्काे शुल्क लिने निर्णय फिर्ता गरेको हो, उनले भने, ‘त्यतिमात्र हैन पहिलो ३२ प्रतिशत जरिवाना लिइन्थ्यो भने अब त्यसमा पनि घटाएर १२ प्रतिशत मात्रै लिने निर्णय गरेको हो ।’
काठमाडौँ: वाग्मती प्रदेशसभाको दसौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको दसौँ अधिवेशन गए राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्नुभएको हो । राति नै प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले सूचना जारी गर्दै प्रदेशसभाको दसौँ अधिवेशन अन्त्य भएको जानकारी गराउनुभएको थियो । आव २०७९/८० का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम एवं बजेट तथा केही विधेयकहरु दसौँ अधिवेशनले पारित गरेको छ । प्रदेशसभाको सोमबारको बैठकले विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले स्वीकृत गरेको थियो भने सरकारले प्रस्तुत गरेका अन्य केही विधेयक भने पास हुन सकेनन् ।
गण्डकी प्रदेशसभा सदस्य एवं राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपालको संस्थापक अध्यक्ष मिना गुरुङ नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को संसदीय तथा स्थानीय संयोजन कमिटीको अध्यक्षमा निर्वाचित भएकी छिन् । जिफन्टको राजधानीमा आयोजित आठौं महाधिवेशनले गुरुङ्लाई अध्यक्षमा निर्वाचित गरेको हो । जिफन्टका केन्द्रीय र स्थानीयतहका सदस्यबीच सम्बन्ध विस्तार गर्ने र स्थानीय एजेण्डालाई केन्द्रीयतहसम्म पु¥याउने उद्देश्यले कमिटी निर्माण गरिएको बताइएको छ । अध्यक्षमा निर्वाचित भएपनि कमिटीको बिस्तार पूर्णता दिने काम बाँकी भएको जनाउँदै गुरुङ्दे यससम्बन्धी जिफन्टको अवधारणा अनुसार कसरी अघि बढ्ने भन्ने विषयमा छिट्टै बैठक बस्ने जानकारी दिइन्
काठमाडौं: अर्थ मन्त्रालयको गत जेठ १४ गतेको सीसीटीभी फुटेज ‘रिकभर’ भएको छ । सो प्रकरणको छानबिन गर्दै आएको संसदीय विशेष समितिलाई नेपाल प्रहरीको विज्ञ टोलीले जेठ १४ गतेको ५१ वटा भिडियो फुटेज रिकभर गरेर बुझाएको हो । एउटा प्याकेजमा २५ वटा र अर्को प्याकेजमा २६ वटा क्लिपहरु प्रहरीले समितिलाई बुझाएको बताइएको छ । ती क्लिपहरु केही सेकेन्डका छन् । राम्रोसँग स्पष्ट नदेखिने धुर्मैला पनि छन् । मान्छेहरु आउ–जाउ गरेको जस्तो देखिए पनि स्पष्ट देखिंदैन । जेठ १४ गते राति बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएर करको दर हेरफेर गरेको आरोपपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका थिए । सो दिनको सीसीटीभी फुटेज डिलिट भइसकेको जवाफ मन्त्रालयले दिएपछि शर्मा थप आलोचित बनेका थिए ।
काठमाडौँ: नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले व्यवस्था परिवर्तनमा राजनीतिक दलबीचको एकता सफल भए पनि विकास र समृद्धिका विषयमा दलहरु एकजुट हुन नसकेको बताउनुभएको छ । सुर्खेतमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निरन्तरता एमाले भएको दाबी गर्नुभएको छ । “चुनावमा आफूले टिकट पाए ठिक, अरुले पाए बेठिक भन्ने प्रवृत्ति सबैतिर देखियो, टिकट नपाए पनि जिताउँछु भन्नुपर्नेमा उल्टै असहयोग गरेको पाइयो”, उहाँले भन्नुभयो, “आफूले टिकट नपाउँदा घरमै बसिदिने, प्रचार–प्रसारमा नजाने र उम्मेदवारलाई हराउन लाग्ने जस्ता प्रवृत्ति चुनावमा देखियो, यस्तो प्रवृत्ति कम्युनिष्ट आचरणभित्र पर्दैन ।” एमाले स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेलले पार्टी कार्यकर्ता र जनप्रतिनिधिहरु सधैँ जनताको बीचमा देखिनुपर्ने बताउनुभयो । “पार्टीमा पद पाउनासाथ आफ्नो गाउँमा, क्षेत्रमा पाइला नटेक्ने कार्यकर्ताबाट चुनाव जित्न सकिँदैन, जनतामा माझमा पुगेर सुख–दुःखमा जसले साथ दियो उसैले जित्छ”, उहाँले भन्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको पोखरामा आयोजित गण्डकी प्रदेश भेलामा सम्बोधन गर्ने क्रममा पार्टीका सभापति रवि लामिछानेले आम, सर्वसाधरणको जीवन बदल्न राजनीतिमा आएको बताएका छन् । प्रदेशका प्रायः सबै जिल्लाबाट पोखरा सभागृहमा भेला भएका सहभागीबीच अध्यक्ष रविले भने, ‘म टाउकोमा कफन बाँधेर राजनीतिमा आएको छु ।’ पार्टी स्थापनालगत्तै ‘यसलाई राजनीति गर्न आउँदैन’ भनि गरिएको आलोचनाको जवाफ दिँदै लामिछानेले ‘मलाई राजनीति गर्न आउँदैन तर विदेशमा दुख पाएकाहरुको घाउमा मल्हम लगाउन आउँछ’ भनेका छन् । सम्बोधनको सुरुवातमै पोखराले धेरै माया र प्रेरणा दिएको भन्दै उनले भने ‘नमस्कार, मलाई यही आँखाले हेरिरहनुहोला ।’ ‘स्वतन्त्र पार्टीको वाद के हो ? भनि सोधिएको प्रश्नको उत्तरसमेत उनले पोखराबाट जवाफ दिन भ्याए । ‘संवैधानिक समाजवाद’, रविको जवाफ छ । उनले न्यायमा आम जनताको पहुँच नभएको भन्दै राजनीतिक दलको कोटाबाट न्यायाधीश नियुक्त गर्ने परिपाटीको विरोध गरे । उनले यातायात, मालपोत, सडक र रोजगारको क्षेत्र लथालिंग भएको भन्दै आजसम्म नेतृत्वले किन ठिक गर्न सकेनन् भन्दै प्रश्नसमेत गरे । अब प्रश्न सोध्ने कामबाट बिदा लिएको भन्दै अब जवाफ दिने ठाउँमा जाने यात्रा सुरु गरेको भन्दै प्रदेशवासीलाई साथ र समर्थन गर्न आग्रह गरे । उनले सम्बोधनको अन्त्यमा आगामी चुनावमा पार्टीलाई भोट दिन आग्रह गर्दै भने, ‘तपाई अब मन बदल्नुहोस्, छाप बदल्नुहोस्, हामी देश बदल्ने छौं ।’ पार्टीले केहि दिनयता सदस्यता लिन चाहनेकालागि अनलाइन फर्मकोसमेत व्यवस्था गरेको छ ।
पोखराः राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेश भेला शनिबार पोखरामा हुँदैछ । पोखराको सभागृहमा आयोजित कार्यक्रममा पार्टीका सभापति रवि लामिछानेलगायत अन्य केन्द्रीय सदस्यहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस विषयमा जानकारी दिँदै गण्डकी डा. संयोजक ढाकाकुमार श्रेष्ठले पार्टीलाई यस क्षेत्रमा विस्तार गर्ने उद्देश्यले भेला आयोजना गरेको जानकारी दिएका छन् । भेलापश्चात् पर्वत, तनहुँ र स्याङ्जामा पार्टीको सम्पर्क कार्यालय स्थापना गर्ने श्रेष्ठले बताए । पार्टीले केहि दिनयता सदस्यता लिन चाहनेकालागि अनलाइन फर्मकोसमेत व्यवस्था गरेको छ ।
काठमाण्डौँ: प्रतिनिधिसभाको आजको बैठकले ‘ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयक लामो समयपछि आज प्रतिनिधिसभाले पारित गरेको हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सो विधेयक प्रस्तुत गर्नुभएको थियो । त्यसअघि महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रेग्मीले ज्येष्ठ नागरिकको अवस्था जटिल हुँदै गएकाले उनीहरुलाई राज्यका तर्फबाट संस्थागत रुपमा सहयोग उपलब्ध गराउने प्रयास गरिएको बताउनुभएको छ । नेपाली समाजमा प्रचलित ‘मातृ देवोः भव, पितृ देवोः भवको अवस्था’ मा क्रमशः खण्डित हुँदै गएको उल्लेख गर्दै उहाँले घरमै बस्ने वातावरण बनाउनका लागि सरकारले प्रयास गरेको बताउनुभयो । स्थानीय तहको सरकारलाई जिम्मेवार बनाउनका लागि ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ लाई द्रुतगतिमा पारित गरेर कार्यान्वयन गर्न खोजिएको मन्त्री रेग्मीको भनाइ छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुका जिज्ञासाको जवाफ दिँदै उहाँले ज्येष्ठ नागरिकको ज्ञान र सीपलाई मुलुकको विकास र समृद्धिका लागि प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो । ज्येष्ठ नागरिकका बारेमा अन्य देशमा राज्यले नै जिम्मेवारी लिएको तथ्य पेस गर्दै उहाँले सकारात्मक सोच राख्ने छोराछोरी पनि साथमा नहुन सक्ने अवस्था रहेकाले पनि समस्या बढेर गएको उल्लेख गर्नुभयो । ढल्कँदो उमेरमा ज्येष्ठ नागरिकलाई चाहिने स्याहारसुसार प्राप्त हुन नसकेको तथा सँगै रहेका सन्तानले पनि अपहेलना गरेको पाइएकाले सरकारले ‘केयर गिभर’को तालिम दिएर जनशक्तिको प्रबन्ध गर्ने व्यवस्था चालु आवको बजेटमा गरेको मन्त्री रेग्मीको भनाइ छ ।

