राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

  धनुषा:    नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले समाजवाद स्थापनाका लागि कम्युनिष्ट शक्तिबीच एकता आवश्यक रहेको बताउनुभएको छ । जनकपुरधाममा सोमबार आयोजित एमालेका मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले कम्युनिष्ट पार्टी आपसमा फुटेर मुलुकमा समाजवाद आउन नसक्ने भएकाले समाज रुपान्तरण गर्न र समाजवाद ल्याउन सबै कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको बताउनुभयो ।    “अन्य पार्टीसँग एकता वा गठबन्धन गरेर मुलुकमा समाजवाद ल्याउँछु भन्ने कुरा सपनामात्रै हो”, उहाँले भन्नुभयो, “ लक्ष्य प्राप्त गर्न पहिला राज्यसत्ताको नेतृत्व आफ्नो हातमा आउनुपर्छ, अनिमात्रै एजेण्डा पूरा गर्न सकिन्छ ।” स्थानीय तहको निर्वाचनमा भएको कमी–कमजोरीलाई समीक्षा गरी अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिनुहुँदै आपस–आपसमा भिडेर एकअर्कालाई हराउने कामले कसैको भलो नहुने नेता पाण्डेले बताउनुभयो ।   प्रशिक्षण कार्यक्रममा एमालेका सचिव तथा मधेस प्रदेशका इञ्चार्ज रघुवीर महासेठले स्थनीय तहको निर्वाचनको समीक्षा गर्दै संघीय तथा प्रदेश निर्वाचनका लागि तयार रहन कार्यकर्तासंग आग्रह गर्नुभयो  ।    प्रशिक्षण कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य प्रभु साह र पुरुषोत्तम पौडेलले मधेस प्रदेशको शक्ति सन्तुलन र एमालेको भूमिका, आन्दोलनमा एमाले र प्रचार कामलगायतका विषयमा प्रशिक्षण दिनुभयो । एमाले मधेस प्रदेश समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रम प्रदेशका आठवटै जिल्लाका अगुवा नेता कार्यकर्ताको सहभागिता थियो ।  

नेकपा एमालेका महासचिव शंकर पोखरेलले गभर्नर महाप्रसाद अधिकारीको बचाउ गरेका छन् ।    प्रेस चौतारी गण्डकी प्रदेश समितिले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा धारणा राख्दै महासचिव िपोखरेलले कालो धन राखेर छट्पटाएकाहरुले गभर्नर अधिकारीलाई हटाउ अनेक प्रपञ्च गरेको दाबी गरे ।    ‘कालो धनलाई सेतो बनाउन नदिने अडानमा रहेका गर्भनरलाई हटाउन अनेक प्रयास भइरहेको छ’ पोखरेलले भने ‘स्वार्थी समूहको योजना अधिकारी रहुञ्जेल सफल नहुने भएपछि उनलाई हटाउँन खोजिएको छ ।’   एमालेलाई 'एम अधिकारी को हुन् ?' भनेर सोधिएपछि पार्टीले विज्ञप्तीमार्फत स्पष्टरुमा व्यक्ति खुलाइसकेको भन्दै सोही भनाइ नै आधिकारिक भएको उनले प्रष्ट्याए ।    लुम्विनी प्रदेशको पूर्वमुख्यमन्त्रीसमेत रहेका पोखरेलले नेपालको अर्थतन्त्र सुधान गर्न खोज्दा गर्भनरमाथि चौतर्फी आक्रमण भएको धारण राखेका छन् ।   सोहीक्रममा उनले गठबन्धनकै कारण मुलुक संकटको भुँमरीमा फँस्दै गएको धारणा राखे ।

काठमाण्डौँ:    नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा सांसद मोहन आचार्यले जनसरोकारका विषयलाई प्राथमिकता दिन स्थानीय जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रसुवाद्वारा स्थानीय तहको निर्वाचन २०७९ मा विभिन्न पदमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गर्न धुन्चेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले  सहभागितामै आयोजनाहरू अगाडि बढाउन जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “स्थानीय सरकारसँग जनताका धैरै अपेक्षा हुन्छन् ।  गाउँको विकासलाई केन्द्रविन्दुमा राखेर योजना बनाउनुपर्छ । ”   कार्यक्रममा पार्टीका जिल्ला सभापति पेम्बा छिरिङ तामाङ, बागमती प्रदेशसभा सदस्यद्वय  प्रभात तामाङ र प्रेम तामाङ, लामा कार्पु तामाङ र उपेन्द्र लम्सालसहितका विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।    कार्यक्रममा उपस्थित नेताहरुले स्थानीय निर्वाचनको समीक्षा तथा आगामी सङ्घ र प्रदेशको निर्वाचन केन्द्रित रहेर सङ्ठन विस्तारलाई तीव्रता दिनुपर्ने धारणा राख्नुभयो ।

   काठमाडौं:    भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका छन् । शुक्रबार भारत भ्रमणमा गएका उनले शनिबार नै भारतीय सुरक्षा सल्लाहकार अजित डोभललगायतसँग भेटवार्ता गर्दैछन् ।   भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नाड्डाको निमन्त्रणामा भारत भ्रमणमा गएका उनले शनिबार विहान भारतमै प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवासँग भेट गरेका थिए ।   प्रचण्डले शनिबार भाजपाका अध्यक्ष जगतप्रकाश नड्डासँग पनि भेटवार्ता गर्ने र आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर प्रचण्ड स्वदेश फर्किने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ ।    

  काठमाडौं:    प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसकी पुष्पा भुसाल निर्वाचित भएकी छन्। एमाले उम्मेदवार विद्या भट्टराईलाई पराजित गर्दै  भुसाल  १४८ मत प्राप्त गरि निर्वाचित भएकी हुन् । भने प्रतिद्वन्द्वी एमालेकी भट्टराईले ९३ मत ल्याइन्।   प्रतिनिधिसभाको एउटै पदमा भुसालले दोस्रोपटकको प्रयासमा उपसभामुख बन्न सफल भएकी हुन्। यसअघि भुसालले २०७४ साल चैत २ गते उपसभामुखको उम्मेद्वारमा दाबेदारि दिएका थिइन् ।    त्यतिबेला नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका उम्मेदवारसँग भुसाल पराजित भएकी थिइन्। वाम गठबन्धनबाट शिवमाया तुम्बाहाम्फे उपसभामुख बनेकी थिइन्। तुम्बाहाम्फेले २०१ मत ल्याउँदा भुसालले ५८ मतमात्रै पाएकी थिइन्।   यो बीचमा एमाले र माओवादीबीच पार्टी एकता भएर नेकपा बन्यो। साथै सभामुख कृष्णबहादुर महराले मुद्दा लागेर पदबाट राजीनामा दिए। एकै पार्टीबाट सभामुख र उपसभामुख बनाउन नमिल्ने कानुन र सभामुख महरा पूर्वमाओवादीबाट भएकाले पूर्वमाओवादीबाट अग्निप्रसाद सापकोटालाई सभामुख बनाउन तुम्बाहाम्फेलाई २०७६ साल माघ ६ गते राजीनामा गराइयो।    तुम्बाहाम्फेको राजीनामापछि खाली भएको उपसभामुख पद नेकपाभित्रको किचलो, संसद विघटन, नयाँ सत्ता गठबन्धनको निर्माण, बजेट निर्माण र स्थानीय निर्वाचनले करिब तीन वर्षसम्म रिक्त रहिरह्यो। मंसिरमा संघीय निर्वाचन गर्ने तयारी रहेका बेला सत्ता गठबन्धनले अकस्मात उपसभामुख चयनको प्रक्रिया अगाडि बढायो। गठबन्धनभित्र आफ्नो भागमा परेपछि कांग्रेसले भुसाललाई नै फेरि उम्मेदवार बनायो। चार वर्षअघि वाम गठबन्धनका कारण १४३ मतान्तरले उपसभामुखमा असफल भुसाल अहिले सत्ता गठबन्धनको बलमा ५५ मतान्तरले विजयी भइन्। पाँचै वर्ष उपसभामुख बन्ने प्रयास असफल भए पनि भुसाललाई चार महिनाका लागि संसदले उपसभामुखको कुर्सीमा सदन चलाउन अनुमोदन गरेको छ।

काठमाण्डौँ:    गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीउधनको रक्षा र शान्तिसुरक्षा सरकारको पहिलो दायित्व भएको बताउनुभएको छ ।    राष्ट्रिय प्रजातन्त्र पार्टी महिला सङ्गठनले आज गृह मन्त्रालयमा बुझाएको १३ बुँदे ज्ञापनपत्र बुझ्दै उहाँले महिला, बालबालिका हत्या, हिंसा, र बलात्कारका घटना हुन नदिन सरकार प्रयासरत रहेको बताउनुभएको हो । उहाँले १३ बुँदे मागबारे सुरक्षा निकायसँग छलफल गरी आवश्यक सम्बोधन गर्न पहल गर्ने बताउनुभयो ।    राप्रपा महामन्त्री तथा महिला विभाग प्रमुख कुन्ती शाहीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले महिलाको सुरक्षाका लागि छुट्टै सुरक्षा दस्ता तयार गर्न माग गरेको थियो । यस्तै हिंसामा परेका महिलाको सुरक्षाको व्यवस्था मिलाउन पनि सङ्गठनले माग गरेको छ ।

  काठमाडौं:   उपसभामुख चयनका लागि संसदमा मतदान सुरु भएको छ । उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालकी विद्या भट्टराई उम्मेदवार छन् ।   २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज चुनाव भएको हो ।  भुसाल पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट उपसभामुखमा साझा उम्मेदवार हुन् भने भट्टराई प्रमुख विपक्षी नेकपा एमालेकी उम्मेदवार  हुन् ।   हाल प्रतिनिधि सभामा एमालेको ९८, कांग्रेस ६३, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी २१, लोसपा १३ र अन्य साना दल र स्वतन्त्रसमेत गरी ४ जना सांसद छन् ।

काठमाण्डौँ:    जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईसहित नौ केन्द्रीय पदाधिकारीलाई सबै पदीय जिम्मेवारीबाट मुक्त गरिएको छ ।        वीरगञ्जमा जारी दुईदिने केन्द्रीय समितिको बैठकले पार्टीको हित र विधानविपरीतको कार्य गरेको भन्दै भट्टराईसहितका केन्द्रीय पदाधिकारीलाई पार्टीको पदीय जिम्मेवारबाट मुक्त गर्ने निर्णय गरेको जनाइएको छ ।     जसपा नेपालले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टीको नीति सिद्धान्त तथा विधानविपरीतको कार्य गरेको आरोप लगाउँदै नेताहरु डा भट्टराई, महेन्द्रराय यादव, गङ्गानारायण श्रेष्ठ, प्रसान्त सिंह, रमेश यादव, हिसिला यामी, भगतबहादुर साहसहित नौ जनालाई पदमुक्त गरिएको जानकारी दिनुभयो । उहाँले केन्द्रीय समितिको बैठकले सर्वसम्मतरुपमा पार्टीका वरिष्ठ नेता अशोक राईलाई पार्टीको सङ्घीय परिषद् अध्यक्षमा चयन गरेको बताउनुभयो ।      बैठकले आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन कांग्रेससहितको पाँच दलिय गठबन्धनमै लड्ने निर्णय गरेको जानकारी दिँदै अध्यक्ष यादवले पार्टीको केन्द्रीय समिति पुनर्गठन र विधान संशोधन गर्ने निर्णय गरिएको बताउनुभयो । दुई दिनसम्म सञ्चालन भएको बैठकले आगामी निर्वाचनका लागि सङ्गठनका सबै तहमा तयारी गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।      कारवाही गरिएका व्यक्तिले गल्ती स्वीकार गर्दै आत्मलोचना गरी आए पार्टीको ढोका खुला राखिएको अध्यक्ष यादवले बताउनुभयो । पत्रकार सम्मेलनमा सहभागी रहेका राईले पार्टीको घोषित लक्ष्य तथा उद्देश्यलाई कुनै पनि आँच आउन नदिन केन्द्रीय समिति बैठकले राजनीतिक, नीतिगत तथा सङ्गठनात्मक निर्णय गरेको जानकारी दिनुभयो । उहाँले पार्टी फुटाउने, सङ्गठनलाई कमजोर पार्नेजस्ता गतिविधिले पार्टीलाई कमजोर गर्नुको सट्टा थप बलियो र एकजुट बनाएको आरोप लगाउनुभयो ।

काठमाण्डौँ:     गृहमन्त्री बालकृष्ण खाणले नेपालको संविधानको मर्म र भावनाअनुसार नै सरकारले संसद्मा नागरिकता विधेयक पेस गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ माथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले नेपाली नागरिक नागरिकता पाउने अवस्थाबाट वञ्चित नहुने र गैरनेपाली नागरिकले नागरिकता नपाओस् भन्ने अवधारणाका साथ विधेयक पेस भएको जानकारी दिनुभयो ।      “कुनै पनि गैरनेपालीले नागरिकता नपाओस्, नेपाली नागरिकले नागरिकता पाउनबाट वञ्चित नहोस् । नेपाली नागरिकले नागरिकता प्राप्त गर्ने पर्दछ, यो संविधानको मूल अवधारणा हो । कुनै पनि नागरिकलाई नागरिकताबाट वञ्चित गरिँदैन भन्ने संविधानको भावना छ । सोही अवधारणाका आधारमा विधेयक अगाडि बढाइएको छ ।” उहाँले भन्नुभयो ।       नेपाली नागरिक नागरिकताको अधिकारबाट वञ्चित नहोस् भन्ने सरकारको प्रतिबद्धता रहेको जनाउँदै उहाँले संविधानलाई आधार मानेर नै विधेयक अगाडि बढाइएको बताउनुभयो । “संविधान परिवर्तनीय छ, त्यसको आफ्नो प्रक्रिया र पद्धति छ, समय आएपछि संविधान पनि परिस्कृत हुँदै जान्छ”, गृहमन्त्री खाणले भन्नुभयो, “जबसम्म संविधानमा जे प्रावधान र जस्तो व्यवस्था छ, त्यो व्यवस्थाको आधारशिलामा उभिएर विधेयक ल्याउनुपर्ने हुन्छ, सोही आधारमा ऐन बनाउनुपर्छ ।”     संविधानको भाग २ मा रहेको नागरिकतासम्बन्धी प्रावधानको आधारमा रहेर तथा संविधानका आधरभूत प्रावधानलाई ध्यानमा राखेर विधेयक बनाइएको उहाँले स्पष्ट पार्नुभयो ।  लामो समयदेखि नागरिकताविहीन भएर जीवनयापन, व्यवसाय सञ्चालन, अध्ययन तथा यात्रामा असुविधा व्यहोर्दै आएका नेपालीलाई छिटो नागरिकता दिने उद्देश्यले सरकारले विधेयक प्रस्तुत गरेको गृहमन्त्री खाणले जानकारी दिनुभयो । “सबै नेपालीले नागरिकता प्राप्त गरून् भन्ने सबैको साझा सङ्कल्प हो”, उहाँले भन्नुभयो, “सबै सांसदको सक्रिय सहभागिता, रचनात्मक  सहयोग र सकारात्मक भावनाले विधेयक पास भएर कार्यान्वयनमा जानेछ, कार्यान्वनका क्रममा आएका समस्यालाई फेरि सम्बोधन गर्दै लगिनेछ ।”     सो प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले कोही पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित हुन नहुने र कुनै पनि गैरनेपालीले नागरिकता प्राप्त गर्ने अवस्था ल्याउन नहुने बताउनुभयो ।