पोखरा: पोखरा महानगरपालिकाको मेयर, वडा अध्यक्ष लगाएत सदस्यहरुमा उम्मेदवारी दिएको राष्ट्रिय नागरिक पार्टीले चुनावी अभियानलाई तिव्रता दिएको छ । पोखरा महानगरपालिका वडा नं. ९ को खुल्ला सदस्य पदमा उम्मेदवारी दिएका पत्रकार कृष्ण रानाभाटले निर्वाचन आचारसंहितालाई पुर्ण रुपमा पालना गर्दै मतदाताको घरदैलोमा गइ प्रत्यक्ष रुपमा भेटेर आफ्ना एजेन्डा राख्दै प्रचारप्रसार गरेका छन् । उनले पोखराको मुख्य वजार महेन्द्रपुल, साँधुमुख, नयाँवजार क्षेत्रमा घरदैलो गर्दै आफ्नो दलका उम्मेदवारलाई जिताउन चङ्गा चिन्हमा भोट हाल्न आग्रह गरेका छन् । साथै मतदानमा विना संकोच, विना डरत्रास सक्रिय सहभागि भई सहि तरिकाले मतदान गर्न पनि मतदाताहरुलाई अनुरोध गरेका छन् । राष्ट्रिय नागरिक पार्टीबाट पोखराको मेयरमा सृजनादेवि रिजाल कार्की, पोखरा २१ मा वडा अध्यक्ष पदमा लक्ष्मण सुनार, महिला सदस्यमा तुल कुमारी थापामगर, दलित महिला सदस्य नारायणी परियार र खुल्ला सदस्यमा प्रदिप सुनार र विष्णु बहादुर थापाले उम्मेदवारी दिएका छन् ।
पोखरा: पोखरा महानगरमा पाँच दलीय गठबन्धनका मेयर पदका साझा उम्मेदवार धनराज आचार्यले महानगरको विकासका लागि श्रोत र साधनको अभाव नहुने बताएका छन् । पाँच दलीय गठबन्धन निर्वाचन परिचालन समितिले पोखरा १७ मा आयोजना गरेको घरदैलोसहितको कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले फेवाताल, पाताले छाँगो, गुप्तेश्वर गुफा, सेती नदी लगायतका यहाँका सम्पदाको पारदर्शी ढंगले उपयोग गर्ने बताए । सबै सरोकारवालाहरुसँग बसेर उनीहरुको भावनालाई सम्बोधन गरेमा विना विवाद काम गर्नसकिने उनको प्रष्टोक्ति छ । ‘पोखरामा रहेका सम्पदाको उचित संरक्षण र यसको पारदर्शी उपयोगबाट नै धेरै काम गर्न सक्छौं । यहाँ पारदर्शीताको आवश्यकता छ । कयौं काम अध्यारो कोठामा बसेर गरिँदा समस्या आएका छन् । हामी त्यसो हुन दिँदैनौं । पारदर्शी ढंगले सबैको अपनत्व हुनेगरी काम गछौं’, उनले भने । मेयर उम्मेदवार आचार्यले अध्यारो कोठामा बसेर अपारदर्शी ढंगले कुनै निर्णय भएको भए त्यसको समेत छानविन गरिने बताए । आफूहरु महानगरमा केही गर्न र महानगरलाई महानगरको रुपमा विकास गर्न जाने भन्दै उनले महानगर स्तरका सम्पूर्ण सुविधायुक्त संरचना निर्माण गरिने उनले दृढता प्रकट गरे । ‘हामी महानगरलाई महानगरको रुपमा विकास गर्न चाहन्छौं’, उनले भने, ‘त्यसका लागि हाम्रा योजना घोषणा पत्रमार्फत सार्वजनिक गरेका छौं । जे गर्छौं भनेका छौं, त्यो गर्नेछौं र एउटा सभ्य महानगर जो सबै हिसावले महानगर भन्न लायक हुनेछ । यहाँका नगरबासीले त्यसको अनुभव गर्ने र भोग्ने हुन्छ नै बाहिरका मानिसले समेत यहाँ फर्केर आइरहने बनाउँछौं’,उनले भने । महानगरका सहरी क्षेत्रको फोहोर सहितको ढल बगेर बिरौटा र छोरेपाटनलाई कुरुप बनाउने गरेको भन्दै यसको उचित व्यवस्थापन गरिने उनले बताए । अझैपनि ४५ प्रतिशत विरुवा फाँट बचेको भन्दै त्यसलाई बचाएर व्यवस्थापन गर्ने तर्फ आफूहरुले ध्यान दिने प्रतिबद्धता उनको थियो । कार्यक्रममा उपमेयर पदका उम्मेदवार कोपिला रानाभाटले आफूहरु जनताको सेवामा केन्द्रीत हुने बताइन् । नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बरालले गठबन्धनका उम्मेदवारलाई नगरवासीले मत दिए सुन्दर र समृद्ध पोखरा आफूहरुले दिने धारणा राखे । कार्यक्रममा पोखरा महानगर वडा नम्बर १७ का वडाध्यक्ष उम्मेदवार देवराज आचार्य, एकीकृत समाजवादीका कास्की उपाध्यक्ष झपिन्द्रराज रेग्मी, कास्की कांग्रेसका पूर्व जिल्ला सदस्य पुण्डरी प्रसाद बराल र एकीकृत समाजवादी पोखरा १७ का अध्यक्ष शिवराज आचार्य लगायतले बोलेका थिए ।
पोखरा: पोखरा महानगरपालिका १२ मा नेकपा एमालेले देशभक्त केसीलाई वडाध्यक्षको उमेद्वार बनाएको छ । उनी यसअघिको निर्वाचनमा वडा सदस्यमा विजयी भएका थिए । सदस्यमा रहेर समाजमा उनले देखाएको सक्रियता र कार्यसम्पादनकै कारण पार्टीले उनलाई वडाध्यक्षमा उठायो । जोश, जाँगरसँगै वडामा समयानुकुल परिवर्तनका लागि युवा अघि बढेको देख्दा यहाँका स्थानीय उत्साहित छन् । पार्टीभन्दा माथि उठेर वडावासीले सहयोग गर्नेमा आशावादी देखिन्छन् देशभक्त । भन्छन्, ‘वडा सदस्य हुनु अघि र भएपछि पनि वडाका हरेक नागरिकसँग प्रत्यक्ष सरोकार रहँदै आयो । प्रशासनिक कार्यका लागि वडा सदस्य भइसकेपछि थप नयाँ अनुभव पाएँ । नहुँदा पनि म समाजका हरेक तह तप्कासँग नजिक छु । आशा छ, पार्टीभन्दा माथी उठेर मलाई सहयोग गर्नुहुनेछ ।’ वडाध्यक्षका उमेद्वार केसीले वडाको समृद्धिका लागि खाका पनि तयार गरेका छन् । तीमध्ये केही प्रतिवद्धता हामीले यहाँ बुँदागत रुपमा प्रस्तुत गरेका छौंः १. वडामा रहेका कच्ची बाटो पक्की बनाइने र मुल सडकमा भएका खाल्डा–खुल्डीलाई तत्काल मर्मत गरी व्यवस्थित बनाइने । २. मुल सडकमा सडकबत्तीको व्यवस्थापन गरी उज्यालो वडा कायम गरिने । ३. धार्मिक तथा ऐतिहासिक महत्व बोकेको श्रीगणेश तथा भद्रकाली मन्दिर परिसर संरक्षण तथा सम्वद्र्धनका लागि मन्दिर व्यवस्थापन समितिसँग समन्वय गरी प्रस्तावित गुरुयोजना कार्यन्वयनका लागि आवश्यक पहल गरिने । ४. वडामा रहेका मठमन्दिर, मस्जिद, गुम्बा, चर्च, चौतारी एवं सार्वजनिक जमिनको संरक्षण र सम्वद्र्धन गरिनुका साथै उपयुक्त खुला सार्वजनिक स्थलमा आधुनिक पार्क निर्माण गरी निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने । ५. वडाभित्र रहेका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न नयाँ प्रविधिको विकास गरी सर्वसुलभ शिक्षाको पहुँच प्रदान गरिने । ६. वडाभित्र सञ्चालित सामुदायिक माध्यमिक विद्यालयमा वडा र विश्वविद्यालयको साझेदारीमा उच्च शिक्षा अध्ययनका लागि पहल गरिने । ७. वडा नं १२सँग जोडिएका सिमा सडक, ढल, बत्ती लगायत भौतिक पूर्वाधार निर्माण तथा मर्मत सम्भारका लागि छिमेकी वडासँग समन्वय गरी साझेदारी कार्यक्रम सञ्चालन गरिने । ८. आवश्यकता र समानुपातिक विकास गर्न वडाभित्र रहेका टोल विकास संस्था र आमा समुहसँग समन्वय गरी योजना तथा कार्यक्रम सञ्चालन गरिने । ९. वडाबासी ननागरिकलाई प्रदान गरिने सेवाप्रवाहलाई बिना भेदभाव सरल, सहज र पारदर्शी बनाई वडालाई भ्रष्टाचार मुक्त, सुशासनयुक्त नमुना वडा बनाइने । १०. फरक क्षमता भएका नागरिकको तथ्यांक संकलन गरी उनीहरुको समस्या समाधानका लागि पहल गरिने । पोखरा १२ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा केसीसँगै महिला सदस्यमा लक्ष्मी कुँवर (रिमाल), दलित महिला सदस्यमा विष्णु विश्वकर्मा, खुला सदस्यमा निर्मल बहादुर थापा र शान्ती गुरुङ उमेद्वार छन् ।
पोखरा: कास्कीको मादी गाउँपालिका नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष रुद्र रानाभाट नेकपा (एमाले) मा प्रवेश गरेका छन् । मादी १० भाचोकमा मंगलबार आयोजित कार्यक्रममा मादी ३ निवासी रानाभाट एमालेमा प्रवेश गरेको एमाले मादी सचिव सुवास सापकोटाले जानकारी दिएका हुन् । उपाध्यक्ष रुद्रसँगै माओवादी मादी गाउँपालिका कमिटी सदस्य सोमबहादुर रानाभाट पनि एमाले प्रवेश गरेका छन् । माओवादीकै मादी वडा १० कमिटी अध्यक्ष रामराज पौडेलले पनि एमाले रोजेका छन् । त्यस्तै कांग्रेस मादी १० का इकाइ सहसचिव कृष्णबहादुर खत्री, कांग्रेसकै निमप्रसाद परियार, अमृत भुजेल, रोशन नेपाली र विशाल नेपाली पनि एमाले प्रवेश गरेका छन् । नवप्रवेशीलाई एमाले स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारी, मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र), उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङलगायत पालिकाका एमाले नेताले स्वागत गरेका थिए । एमाले प्रवेश गरेपछि बोल्दै उपाध्यक्ष रानाभाटले कास्कीमा अब माओवादी केन्द्रको भविष्य नरहेको बताए । ‘देशमा भन्दिनँ, कास्की र मादी गाउँपालिकामा अब माओवादी केन्द्रको भविष्य छैन ।’ उनले थपे, ‘५ दलीय गठबन्धनको पनि भविष्य छैन, मलाई राम्रो ठाउँ रोजेको भनेर धेरै शुभकामना आइरहेको छ ।’ उनले एमालेसँग एक्लै लड्न नसकेर ५ दलले गठबन्धन गरको सुनाए । ‘माओवादी खोला हो । लक्ष्यमा पुग्न नदीमा पुग्नुपर्छ । एमाले नदी हो ।’ उनले भने, ‘अबको माग नेकपा एमाले हो । एक्लै एमालेसँग लड्न नसक्ने भएर गठबन्धन गर्न सकेका छैनन्, आफ्नो पार्टीको अस्तित्व राख्न नसकेपछि किन बस्नु ?’
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिकामा अध्यक्षको उम्मेदवारी दिएका युवराज कुँवरसहित काँग्रेसका उम्मेदवारहरु घरदैलोको क्रममा छन् । घरदैलोमा पुग्दा यसअगाडी कुँवर नेतृत्वमा रहँदा गाउँपालिकाले गरेका कामहरुको प्रशंसा मतदाताहरुले गरेका छन् । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा कुँवरको नेतृत्वले राम्रो काम गरेकोले यसपालि पनि पुनः कुँवरलाई नै अध्यक्षको रुपमा निर्वाचित गराउने मतदाताहरुले बताएका छन् । घरदैलो अभियानकै क्रममा मंगलबार नेपाली काँग्रेसको उम्मदेवारको टोली गाउँपालिकाको झिनु, तौली र छोम्रोङ लगाएतको स्थानमा पुगेको थियो । ‘हामीले काम गर्दा कहिल्यै जनतालाई धोका हुने गरि काम गरेनौँ । र, त्यसैले यहाँका जनताको साथ र समर्थन मेरो अनि काँग्रेसको नेतृत्वप्रति कायम रहन सकेको हो ।’ अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष उम्मेदवार युवराज कुँवरले भने–‘यो क्षेत्रको विकास र सम्बृद्धि नै आगामी दिनमा पनि हाम्रो कार्ययोजना हो ।’ गाउँपालिकाको अध्यक्षमा युवराज कुँवर र उपाध्यक्षमा खेमकुमारी गुरुङ नेपाली काँग्रेसको तर्फबाट प्रत्यासी छन् । त्यस्तै वडाअध्यक्ष उम्मेदवार ललित गुरुङसँगै वडा सदस्य उम्मेदवारहरु तारादेवी पौडेल, मनमाया बिक, गोपाल आले, मिलन गुरुङ लगाएत अहिले सो क्षेत्रको घरदैलोमा सहभागी छन् । घरदैलो कार्यक्रममा प्रचारप्रसार समितिका सँयोजक मनपति भण्डारी, महासमिति सदस्य आइबहादुर गुरुङ, दीपक गुरुङ, क्षेत्रीय सभापति मनोज गुरुङ, महाधिवेशन प्रतिनीधि पोषनाथ शर्मा, लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचन, नेपाली काँग्रेस अन्नपूर्ण ११ का सभापति विशाल गुरुङ, उपसभापति हितमान गुरुङ लगाएत सहभागी थिए । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा हाल १ हजार ८ सय ४० मतदाता रहेका छन् ।
पोखरा: माछापुच्छ्रे गाउँपालिका अध्यक्षका उम्मेदवार मिन बहादुर गुरुङले युवाहरुका लागि ‘गाउँ फर्क अभियान’ नै सञ्चालन गर्ने बताएका छन् । गाउँपालिकालाई सबै क्षेत्रमा आत्मनिर्भर बनाउने उद्धेश्यसहित युवाहरु राजेगारी र विकासका लागि शहर केन्द्रित हुन नपर्ने उनले बताए । नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष उम्मेदवार गुरुङले भने,‘हाम्रो नेतृत्वले युवाहरुलाई गाउँमै फर्काउने छ । विकासका कुरा होस् या रोजगारीका कुरा, त्यो वातावरण हामी यहिँ सिर्जना गर्ने गरि योजना अघि बढाउने छौँ ।हाम्रो नेतृत्वले युवाहरुलाई गाउँ फर्कन लालायित बनाउने छ ।’ अथाह सम्भावना भएको पर्यटन क्षेत्रलाई चलायमान बनाउँदै पालिकाबासीको आर्थिक स्तरोन्नतीमा प्रत्यक्ष भूमिका खेल्नेगरि योजना तयार भएको उनको भनाई छ । कृषिमा पालिकालाई पूर्ण आत्मनिर्भर बनाउने अठोट रहेको बताउँदै उम्मेदवार गुरुङले वाचा गरेका हरेक काम समयमा नै कार्यान्वयन हुने प्रतिवद्धता ब्यक्त गरे । यस्तै, गाउँपालिका उपाध्यक्ष उम्मेदवार सिता अधिकारीले गाउँपालिकाको विकासका लागि कुनै हालतमा नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको बताइन् । नेतृत्व परिवर्तन नभए पालिका थप ५ वर्ष पछाडी धकेलिने उनको जिकिर थियो । ‘अहिलेको नेतृत्वको कमिकम्जोरी धेरै भए । यहिँ अवस्था अब पनि आइलाग्यो भने, फेरी तपाई विकास सूशासन लगायतका कुरामा ५ वर्ष पछाडि धकेलिनु हुनेछ । पछि पछुताउनु भन्दा अहिले सहि निर्णय लिनुस्’ उनले भनिन् । गाउँका महिलाहरुको स्वास्थ्यमा आइपर्ने समस्याबारे सम्बोधन गर्दै उनले स्थानीय सरकारले नै सहजिकरण गर्नेगरि काम अघि बढाइने प्रतिवद्धता जनाईन् । उपाध्यक्ष उम्मेदवार अधिकारीले भनिन्,‘कतिपय महिलाहरु आफ्नो स्वास्थ्य समस्या लुकाएर बस्नुपर्ने अवस्था छ । कति उपचार गर्न नसक्ने अवस्थामा पनि हुनुहुन्छ होला । पालिकाको नेतृत्व लिँदै गर्दा हामीले महिलाको स्वास्थ्यप्रति संवेदनशिल रहँदै समस्याको पहिचान र उपचारमा सहजिकरण गर्ने छौँ ।’
पोखरा: स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा विभिन्न पार्टीका उम्मेदवारले आफ्नो प्रतिवद्धता सहित चुनावी प्रचारप्रसार तिव्र पारेका छन् । पोखरा महानगरपालिका १० मा नेकपा एमालेका उम्मेदवारले पनि मतदाता भेटघाट अभियानलाई व्यापक बनाएको छ । अध्यक्ष पदका उम्मेदवार पवित्रादेवी गुरुङ सहितको टोलीले बुद्धचोक, रक्षामार्ग, इन्द्रमार्ग, पिपलडाली लगायतको क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । उक्त घरदैलो कार्यक्रमको केही अंश सुनगाभा न्यूजले तस्बिरमा समेटेको छ ।
काठमाडौँ, वैशाख २० गते । स्थानीय तह निर्वाचन, २०७९ मा हालसम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । आयोगले सोमबार दिउँसोसम्म प्राप्त सूचनाका आधारमा ३५३ जना निर्वाचित भएको जनाएको हो । स्थानीय निर्वाचनको तयारीबारे जानकारी गराउन आयोजना गरिएको नियमित पत्रकार भेटघाट कार्यक्रममा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले हालसम्म ३५३ उम्मेदवार निर्विरोध निर्वाचित भएका र यो सङ्ख्या अझै बढ्ने बताउनुभयो । स्थानीय निर्वाचन २०७४ मा भने ४१२ उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए । सहायक प्रवक्ता अर्यालले निर्विरोध निर्वाचित भएको घोषणा गरिए पनि प्रमाणपत्र भने मतगणनापछि निर्वाचित उम्मेदवारसँगै हस्तान्तरण गरिने प्रस्ट्याउनुभयो । निर्विरोध निर्वाचित हुनेमा गठबन्धनतर्फका १९० जना छन् । गठबन्धनतर्फ नेपाली काँग्रेसबाट १०१, नेकपा (माओवादी केन्द्र)का ५४, नेकपा (एकीकृत समाजवादी)का ३४ तथा जनता समाजवादी पार्टी नेपालका एक उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का १२३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । स्थानीय निर्वाचन २०७९ मा कुल ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदै छ । निर्विरोध निर्वाचित भएको पदमा भने मतदान हुनेछैन । आयोगका अनुसार हालसम्म १७० दलित सदस्यमा उम्मेदवारी परेको छैन । यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा १७६ दलित उम्मेदवारका लागि उम्मेदवारी परेको थिएन । ती स्थान रिक्त थिए । निर्वाचन ऐनबमोजिम देशभरिका सबै छ हजार ७४३ वडामा एक/एक जना दलित महिला सदस्य अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था छ तर उम्मेदवारी नै नपरेपछि उक्त पद यस वर्षको चुनावबाट समेत रिक्त नै हुने भएको हो । सहायक प्रवक्ता अर्यालले उक्त सङ्ख्या अन्तिम भने नरहेको प्रस्ट्याउँदै बढ्न सक्ने बताउनुभयो ।
काठमाडौं- नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिबद्धतासहित सक्रिय रहने वागी उम्मेदवारउपर पार्टी विधानबमोजिम हुने कारबाहीमा पुनः विचार गर्न सकिने जनाएको छ । कांग्रेसले एक विज्ञप्तिमार्फत यही वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थकको कारबाहीमा पुनः विचार गर्न सक्ने जनाएको हो । पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक बनेका पार्टी सदस्यले आफ्नो उम्मेदवारीप्रति पुनः विचार गरेर सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी उम्मेदवारी निष्क्रिय गराउन कांग्रेसले आग्रह गरेको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुन निर्देशानुसार अनुरोध गरिएको छ । उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोगले वैशाख १६ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म समय निर्धारण गरेको थियो । उक्त समयमा कतिपय स्थानीय तहका उम्मेदवार स्वयंले आफ्नो उम्मेदवारी फिर्ता लिएका र कतिपय उम्मेदवारको उम्मेदवारी प्राविधिक कारणवश फिर्ता लिएका/गरिएका उम्मेदवारको नाम पनि उम्मेदवारको सूचीमा कायमै रहेको देखिएको कांग्रेसको भनाइ छ । विद्रोही उम्मेदवारी दर्ता गराएका र फिर्ता लिनुपर्ने समयावधिसमेत गुज्रिसकेको परिस्थितिमा त्यस्ता सदस्यको पार्टी सदस्यता स्वतः समाप्त भई पार्टीबाट निष्कासित हुने वैधानिक व्यवस्था रहेको सन्दर्भमा कांग्रेसले यो आग्रह गरेको हो ।