काठमाडौं- नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीका नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध बागी उम्मेदवारी दिएकाहरुलाई आफ्नो मनोनयन फिर्ता लिन आग्रह गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको हो । सो समयभित्र उम्मेदवारी फिर्ता नलिने बागी उम्मेदवारका साथै उनको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित गरिने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । निर्वाचन आयोगले आज विहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी फिर्ताका लागि समय निर्धारण गरेको छ ।
काठमाडौं- निर्वाचन आयोगले आज उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गर्दैछ । गत आइतबार र सोमबार मनोनयन दर्ता गराएका कुल उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको तयारी छ । आज उम्मेद्वारले नाम फिर्ता लिने र उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । भोली उम्मेद्वारहरुलाइ निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ । आयोगको पछिल्लो तथ्याङक अनुसार एक लाख ५३ हजार दुई उम्मेदवारको मनोनयन दर्ता भएको छ । जसमा प्रमुखमा तीन हजार ५१०, अध्यक्षमा तीन हजार ३८७, उपप्रमुखमा दुई, हजार १६८, उपाध्यक्षमा दुई हजार ४०१, वडाध्यक्ष ३५ हजार ३५३, महिला सदस्य २६ हजार ५३२, दलित महिला सदस्य २३ हजार ९३१ र सदस्यमा ५५ हजार ७२० जनाको मनोनयन दर्ता भएको छ । हालसम्म ७२ जिल्लाका लागि एक करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको आयोगले जनाएको छ ।
काठमाडौँ: नेपालमा प्रजातन्त्रको पुर्नवहाली भएपछि २०४९ सालबाट स्थानीय तहको निर्वाचन सुरु भएको हो । अहिलेसम्म तीन वटा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ भने यही वैशाख ३० गते चौथो पटक स्थानीय तहको निर्वाचनमा मुलुक जुटिरहेको छ । नेपालमा स्थानीय तहको निर्वाचन २०४९, २०५४ र २०७४ साल गरी तीन पटक सम्पन्न भइसकेका छन् । विगतको निर्वाचनलाई हेर्दा सँधै नै दुई वा तेस्रो चरणमा निर्वाचन भएको देखिन्छ । तर यसपटक भने सरकारले एकै पटक वैशाख ३० गते देशभर निर्वाचन गर्न थालेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउनका लागि पहिलो पटक एकै चरणमा निर्वाचन गर्न थालिएको बताउनुभयो । “दुई तीन चरणमा निर्वाचन हुँदा एक ठाउँको मतदाता फेरि अर्को ठाउँमा फर्जी मत खसाल्न जान सक्छन्”, उहाँले भन्नुभयो, “निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउनका लागि एकै चरणमा निर्वाचन गर्न थालिएको हो ।” गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मुलुकको सुरक्षास्थित मजवुद भएकोले एकै चरणमा निर्वाचन गराउन थालिएको बताउनुभयो । “यसपटक कुनै आपराधिक क्रियाकलापमा संलग्न कुनै पनि राजनीतिक दल तथा सङ्घ सङ्घठन छैन”, उहाँले भन्नुभयो, “निर्वाचन बिथोल्ने कुनै गतिविधि नदेखिएकाले एकै चरणमा निर्वाचन गराउन सरकार तयार भएको हो ।” निर्वाचनमा एक लाख ६८ हजार सुरक्षाकर्मी र एक लाख म्यादी प्रहरी परिचालन गर्न थालिएको छ । प्रजातन्त्र पुर्नवहाली भएपछि २०४९ सालमा दुई चरणमा तीन हजार ९९५ गाउँ विकास समिति र ३६ नगरपालिकामा स्थानीय तहको निर्वाचन भएको थियो । २०४९ जेठ १४ गते र जेठ १८ गते सो निर्वाचन सम्पन्न भएको थियो । जेठ १४ गते दुई हजार ३० गाविस र ११ नगरपालिका तथा जेठ १८ गते एक हजार ९६५ गाविस र २५ नगरपालिकामा निर्वाचन भएको थियो । २०४९ सालदेखि नै १८ वर्ष उमेर पुगेकालाई मताधिकारको प्रयोग गर्न दिइएको थियो । त्यो भन्दा अगाडि २१ वर्ष उमेर पुगेकाले मात्र मतदान गर्न पाउथ्ये । २०४९ सालमा पाँच राजनीतिक दलले निर्वाचनमा सहभागिता जनाएका थिए । यस्तै २०५४ सालमा पनि दुई चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । २०५४ जेठ ४ गते र १३ गते गरी दुई चरणमा निर्वाचन सम्पन्न भएको थियो । त्यतिबेला तीन हजार ९१३ गाविस र ५८ नगरपालिका रहेका थिए । पहिलो चरणमा परेका १८२१ गाउँविकास समिति, २३ नगरपालिका र एक उपमहानगरपालिका तथा दोस्रो चरणमा ३५ जिल्लाका दुई हजार ९१ गाविस, एक महानगरपालिका, दुई उपमहानगरपालिका र ३१ नगरपालिकामा निर्वाचन भएको थियो । यस्तै गणतन्त्र स्थापनापछि झण्डै २० वर्षपछि भएको स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न भएको थियो । २०७४ वैशाख ३१ गते बागमती, गण्डकी र कर्णाली प्रदेश, २०७४ असार १४ गते प्रदेश नं १, लुम्बिनी र सुदूरपश्चिम प्रदेश तथा २०७४ असोज २ गते मधेश प्रदेशमा गरी तीन चरणमा निर्वाचन सम्पन्न भएको थियो । विसं २०४९ मा ४४ हजार ५३९ जनप्रतिनिधि चयन भएका थिए भने २०७४ सालमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकामा गरी ७५३ स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि निर्वाचन भएको थियो । अहिलेभन्दा २०४९ सालमा दुई गुणा बढी उम्मेदवार अहिलेभन्दा २०४९ सालमा दुई गुणा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । त्यतिबेला कूल ४४ हजार ५३९ पदका निर्वाचन भएको थियो भने अहिले ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदैछ । २०४९ सालमा ४४ हजार ५३९ पदका लागि तीन लाख ५० हजार उम्मेदवारले मनोनयन दर्ता गराएका थिए भने अहिले ३५ हजार २२१ पदका लागि निर्वाचनमा एक लाख ५२ हजार ४६५ जनाले मात्र उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै २०५४ सालमा एक लाख ८९ हजार पदका लागि निर्वाचन भएको थियो भने । २०७४ सालमा एक लाख ५१ हजार १९० जना उम्मेदवार मनोनयन भएको थियो । तीमध्ये ९७ जनाको उम्मेदवारी रद्द, दुई हजार ७२३ जनाले उम्मेदवारी फिर्ता गरेका थिए । मतदान केन्द्र विसं २०४९ मा पाँच हजार ७१ मतदान केन्द्र रहेका थिए । यसैगरी २०५४ सालमा पाँच हजार ६९ मतदान केन्द्र र ३१८ उपकेन्द्र रहेका थिए । मतदान केन्द्र, उपकेन्द्र र कर्मचारी खटन पहिलो चरणमा मतदान केन्द्रको सङ्ख्या दुई हजार २३४, उपकेन्द्र ५८ थिए भने दोस्रो चरणमा दुई हजार ८३५ मतदान केन्द्र र २६० उपकेन्द्रहरू थिए । यस्तै २०७४ सालमा १८ हजार ५८३ मतदान केन्द्र र १० हजार ६७१ मतदान स्थल रहेका थिए । अहिले १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र रहेका छन् । मतदाता ५७ लाख बढी २०४९ सालमा रहेका मतदाताभन्दा अहिले ५७ लाख मतदाता बढी रहेका छन् । २०४९ सालमा एक करोड २० लाख मतादाता रहेका थिए । अहिले २०७९ को निर्वाचनमा त्यो सङ्ख्यामा ५७ लाख पुगेको छ । अहिले एक करोड ७७ लाख ३३ हजार ७२३ जना रहेका छन् । २०५४ सालमा एक करोड २५ लाख ३८ हजार २७३ मतदाता, २०७४ सालमा एक करोड ४० लाख ७२ हजार ४२४ मतदाता रहेका थिए । निर्वाचन आयोगका अनुसार पुरुष ७० लाख ७९ हजार १५३, महिला ६९ लाख ९३ हजार १२७ र तेस्रो लिङ्गी १४४ गरी जम्मा एक करोड ४० लाख ७२ हजार ४२४ मतदाता रहेका थिए । निर्वाचन खर्च विसं २०४९ मा भएको निर्वाचन प्रचार–प्रसारमा गाउँ विकास समितिका अध्यक्ष र उपाध्यक्षका लागि अधिकतम रु दश हजार, सदस्यका लागि रु दुई हजार तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि रु २५ हजार र सदस्यका लागि रु १० हजार निर्वाचन खर्चको सिमा तोकिएको थियो । त्यस्तै २०५४ सालमा महानगरपालिकाको प्रमुख र उपप्रमुख उम्मेदवारका लागि रु एक लाख ५० हजार, वडाध्यक्ष र सदस्यका उम्मेदवारका लागि रु २९ हजार, उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले रु ७० हजार, वडाध्यक्ष, वडा सदस्यका उम्मेदवारले रु १५ हजार, नगरपालिका प्रमुख, उपप्रमुखका उम्मेदवारले रु ४५ हजार, वडाध्यक्ष र वडा सदस्यले रु १२ हजार चुनाव प्रचारका लागि खर्च गर्न पाउने गरी निर्वाचन खर्चको हद तोकिएको थियो । यसैगरी २०७४ र २०७९ सालमा उम्मेदवारी खर्चको हद एउटै तोकिएको छ । निर्वाचन आयोग ऐन २०७३ को दफा २४ तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ बमोजिम उम्मेदवारको निर्वाचन खर्चको अधिकतम हद तोकिएको हो । अहिले पनि २०७४ सालको जस्तै महानगरपालिकाका प्रमुख र उपप्रमुखले रु सात लाख ५० हजार खर्च गर्न पाउने व्यवस्था गरेको छ । यसैगरी उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखले रु पाँच लाख ५० हजार, नगरपालिकाका प्रमुख र उपप्रमुखले रु चार लाख ५० हजार तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले रु तीन लाख ५० हजार चुनावी खर्च गर्न पाउने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । यही वैशाख ३० गते हुने निर्वाचनका लागि आयोग आवश्यक तयारीमा जुटेको छ ।
पोखराः नेपाली कांग्रेसको पोखरा माहानगरपालिका वडा १८ र २४ का असन्तुष्टी पक्षले जिल्ला पार्टी कार्यालयमा तोडफेड गरेको छ । आफ्नै पार्टी विरुद्ध सँघर्ष गर्दै दुई वडाका कार्यकर्ताले जिल्लाको पार्टी कार्यालय कबिर ४ बजे तोडफोड गरेको हो । उनीहरुले पार्टी कार्यालयको कुर्ची तथा टेवल लगायतका सामान तोडफोड गरेका छन् । असन्तुष्टी जनाएका उनीहरुले आफ्नो वडामा गठबन्धन नगरीकनै चुनाव जित्ने बताउदै आएका थिए । पोखरा महानगरपालिकाको मेयर र उपमेयर पदकालागि पाँच दलीय गठबन्धनले आयोजना गरेको घोषणापत्र सार्वजनिक कार्यक्रमको अवसरमा गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापालाई गल्ती सच्चाउन आग्रह गरेका थिए । असन्तुष्टी जनाएका कार्यकर्ताले भनेका थिए, ‘कांग्रेस बेच्न पाइदैन । यदी गल्ती नसच्चिए कालो झण्डा देखाउछौ ।’
पोखराः पोखरा महानगरमा पाँच दलीय गठबन्धनका संयुक्त उम्मेदवार धनराज आचार्यले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै गठबन्धनले महानगरलाई हरेक कोणबाट अब्बल बनाउने योजना सुनाएका उम्मेदवार आचार्यले अघिल्लो सरकारले काम नगरेकै कारण गठबन्धनमार्फत चुनावी मैदानमा उत्रिएको बताए । पोखरा महानगरको सांगोपांगो तथ्यांक प्रस्तुत गर्दै उनले प्रत्येक नागरिकले आफ्नो सीप र दक्षताअनुरुप व्यवसायीमुखी हुन घोषणापत्रमा उल्लेखित बुँदाले सघाउ पुग्ने दाबी गरे । ‘प्रत्येक जनले सीप र ज्ञानकाआधारमा वृत्तिविकासको अवसर पाउनेछन्’ आचार्यले भने ‘घोषणापत्र केवल देखाउने कागजमात्र हैन ।’ महानगरको जनसंख्या, गरिबीको मापन, सम्भावना र अवसरको बुँदा समेट्दै गठबन्धनले लोकतन्त्र र नागरिक दुबैको बचाउ गर्ने सम्मेलनमा जानकारी दिइयो । गठबन्धनको भागबन्डामा पोखरा महानगरको मेयर नेकपा एसको भागमा परेको छ । त्यस्तै, उपमेयर कोपिला रानाभाटले गठबन्धन र बाध्यता र समयको माग रहेको प्रष्ट्याउँदै आफ्नो कार्यक्षेत्र र अधिकारभित्र रहेका कामलाई जिम्मेवारीपुर्वक निर्वाह गर्ने वाचा गरिन् । ‘म पूर्णरुपमा राजनीतिमा लागेको मान्छे हुँ, मलाई परिवारको लालनपालन र कमाउनुपर्ने बाध्यता छैन’ रानाभाटले भनिन् ‘म बाट भ्रष्टाचार कदापि हुन सक्दैन ।’ महानगर अन्तरगत न्यायिक क्षेत्रमा काम गर्ने दायित्व हुने भएकाले त्यहाँ आउने मुद्दा मामिलालाई अदालतसम्म पुग्नुपर्ने अवस्था आउन नदिने उनले जनाइन् ।
पोखरा: बिहीबारको बिहान, उत्तरतर्फ भर्खर हिमाल टल्कन सुरु गरेको थियो । सडकमा सवारी कम सुनिन्थे । चिया पसलहरुमा स्थानीय तह निर्वाचन बारेको गफगाफ उम्लदैँ थिए । पोखरा १२ शितलदेवीस्थित नेकपा एमालेको वडा कार्यालयको सटर उघारिइसकेको थियो । माहौल निर्वाचनको छ । एमाले कार्यकर्ताहरु सूर्य अंकित झण्डासहित तयारी गर्दै थिए । आजदेखि नेकपा एमाले वडा कमिटि पोखरा १२ ले औपचारिक रुपमा मतदातासँग भेटघाटको थालनी गरेको छ । बिहान ७ नबज्दै कार्यकर्ता तथा शुभेच्छुकहरु घरदैलो कार्यक्रमकालागि जुटिसकेका थिए । स्थानीय तह निर्वाचनका लागि देखिएको उत्सुकता उनिहरुको ‘बडी ल्याङ्ग्वेज’ले प्रष्ट्याउँथ्यो । करिब ७ः३०मा नेकपा एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङले कार्यक्रमको औपचारिक उद्घाटन गरे । उद्घाटन गर्दै अध्यक्ष गुरुङले कार्यकर्तालाई हौसला दिँदै भने,‘हामिले जित्ने निश्चित छ । प्रक्रियाका लागी मतदानमा सहभागी त हुनै पर्यो । सबैले सूर्यमा मतदान गरी एमालेका हाम्रा उम्मेदवारलाई विजय गराउनुहोला है ।’ सय बढी कार्यकर्ताको उपस्थितीमा वडाका उम्मेदवारहरु घर घर पुगेर मतदातालाई भेटे । युवा उम्मेदवार देखेपछिको चमक हरेक घर पुग्दा आएको प्रतिक्रियाबाट थाहा हुन्थ्यो । मतदाताहरु भन्थे,‘पार्टी जे भएपनि यसपाली त भोट देशभक्त बाबु र नानीहरुलाई नै हो ।’ पोखरा १२ बाट नेकपा एमालेले अध्यक्षमा युवा उम्मेदवार देशभक्त केसीलाई उठाएको छ । यसअघि उनि वडा सदस्य थिए । समाजका हरेक तह तप्कासँग नजिक रहेका केसी पोखरा १२ वासीका प्रिय छन् । अध्यक्षमा केसीसँगै महिला सदस्यमा लक्ष्मी कुँवर(रिमाल), दलित महिला सदस्यमा विष्णु विश्वकर्मा, खुला सदस्यमा निर्मल बहादुर थापा र शान्ती गुरुङ उम्मेदवार छन् ।
पाल्पाः बगनासकाली गाउँपालिका ५ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसबाट धिरज गाहा मगरले उम्मेदवारी दिएका छन् । आम नागरिकलाई सातै दिन सेवा प्रवाह गराउने एजेण्डा सहित युवा नेता धिरज गाहामगर चुुनावी मैदानमा होमिएका हुन् । ‘वडाबाट दिईने सेवाहरु सातै दिन दिने मेरो पहिलो एजेण्डा हो, गाहामगरले सुनगाभा न्यूजसँग कुरा गर्दै भने, ‘किनभने सेवाग्राहीले चाँहेजस्तो सेवा लिन नपाएको विगत छ । त्यसैले मैले जितेको खण्डमा सातै दिन सेवा दिने प्रण गर्दछु । हुनत अहिले विकासको कुरा गर्नु औचित्य देखिदैन । त्यो दास्रो कुरा हो ।’ उनले वडामा हुने बेथितीको विरुद्धमा नागरिकमैत्री काम गर्नको लागि आफ्नो उम्मेदवारी दिएको समेत बताए । ‘अब नेतृत्वमा युवाहरु पनि आउँनुपर्छ भन्ने सबैको मान्यता छ । हामीहरु बेथितीको विरुद्धमा जहिल्यै उभिएका छौ । त्यसैले सबै अस्तव्यस्त कुराहरुलाई ठीक पार्न र आम नागरिकलाई समान किसिमको सेवा प्रवाह गर्न नै मेरो नेतृत्वमा टिम अगाडी बढेका छौ ।’ उनले चुनावी प्रचारप्रसार अभियान तिन चरणमा गर्ने जानकारी दिए । गाहामगरका अनुसार पहिलो चरणमा स्थानीय क्षेत्रमा सामान्य रुपमा भेटघाट हुनेछ । दास्रो चरणमा वडा सभापति, स्थानीय नेताहरुको उपस्थितिमा उम्मेदवारी टोलीले एजेण्डा सहित घरदैलोमा गर्नेछ । भने अन्तिम चरणमा जिल्ला र प्रदेश स्तरीय नेताको उपस्थितिमा निश्चित स्थानमा चुनावी सभा आयोजना हुनेछ । अध्यक्ष पदमा उम्मेदवारी दिएका गाहा मगर पेशाले शिक्षक हुन् । उदीयमान युवा नेताको रुपमा रहेका ३० वर्षिया उनलाई भोट दिन स्थानियको पनि आग्रह छ । ‘अब नेतृत्वमा युवाहरु नै आउँनुपर्छ । पुरातन सोच भएकाहरुले विकास र नागरिकमैत्री सेवा दिन सक्दैनन्, स्थानीय मनबहादुर गाहामगर भन्छन्, ‘पंखा मुनी बस्दा निमोनिया लाग्नेहरुले वडाको विकास गर्न सक्दैनन् । त्यसैले नेतृत्वमा युवाको बाहेक अरुको विकल्प छैन । त्यसैले युवाहरुलाई नै भोट दिनुुहुन मेरो अपिल छ ।’ उक्त वडाको अध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी एमोलेबाट ओमप्रकाश गैरे र नेशनल मंगोल अर्गनाइजेशनबाट दिपक खाम्चामगरले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विसं २०७४ को स्थानीय निर्वाचनदेखि अहिलेसम्म खेर गएको पाँच वर्षको जिम्मेवारी तत्कालीन समयको नेतृत्वले बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ जिल्ला सम्पर्क समन्वय समितिले आज यहाँ आयोजना गरेको ‘स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरूको भूमिका’ विषयक कार्यक्रममा उहाँले पाँच वर्षको नेतृत्व गरेको दलले गन्तव्यमा नलगी बीचमा छोड्दा देश र जनताको समय खेर गएको बताउनुभयो । “यसैले अबको पाँच वर्ष कांग्रेसले काम गर्ने जिम्मेवारी प्राप्तिका लागि सङ्कल्प पत्र लिएर जनतामा आएका छौँ, अबको पाँच वर्षमा हामीले पनि जिम्मेवारी पूरा नगरे तल झार्नुस्, अबको पाँच वर्ष स्थानीय तहमा कांग्रेसले असल शासन, जवाफदेहिता, पारदर्शिताजस्ता विषयलाई पूर्णरुपमा पालना गराउनेछ”, महामन्त्री थापाले भन्नुभयो । पैसा खर्च गरेर चुनाव जिती स्थानीय सरकारबाट उठाउने चाहना नराख्न पनि उहाँले पार्टीका तर्फबाट चुनाव लड्न लागेका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । स्थानीय तह निर्वाचनमा जित्ने जनप्रतिनिधिलाई राखेर घोषणापत्रमा उल्लेख भएअनुसार काम गराउन कार्यशाला गोष्ठी गरी जिम्मेवारी दिने गरी प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा कार्यक्रम बनिसकेको जानकारी पनि महामन्त्री थापाले गराउनुभयो । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको टिप्पणीप्रति भन्नुभयो, “घोषणापत्रमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीका झुटलाई चुनौती दिइएको छ ।” एमाले अध्यक्ष ओलीलाई प्रशंसामात्र सुन्ने बानी परेकाले सत्य पचाउन गाह्रो भएको उहाँको टिप्पणी थियो । ओलीका झुटको पर्दाफास घोषणा पत्रमा गरिएकाले रिसाएको बताउनुहुँदै थापाले वृद्ध शरीरको ख्याल गर्न सल्लाह दिनुभयो । पूर्वप्रधानमन्त्री ओलीको समृद्धिमा भ्युटावरको अहङ्कार रहेको उल्लेख गर्नुहुँदै कांग्रेसले अघि सारेको समुन्नतिमा भुँइबाट देश प्रेमको भावना रहेको घोषणापत्र निर्माण समिति संयोजकसमेत रहनुभएका उहाँको भनाइ थियो ।
पाेखराः पोखरा महानरपालिका वडा नम्बर २१ मा यस पटकको स्थानिय चुनावमा पनि विगत जस्तै नेकपा एमालेले भारी मतान्तरले जित्ने नेकपा एमाले जिल्ला कमिटि कास्कीका सदस्य तथा पोखरा–२१ ईन्चार्ज अर्जुन गिरीले बताएका छन् । गत स्थानिय तह चुनावमा एमालेले विजय हात पारेर वडामा उल्लेखनीय विकासको काम गरेकाले यस पटक अझै धैरै मतान्तरले एमाले विजय हुने ईन्चार्ज गिरीले बताएका हुन् । ‘गत स्थानीय चुनावमा हामीले वडा अध्यक्षको हकमा १६ सय भन्दा बढि मतान्तर र मेयरको हकमा २ हजार बढि मतान्तरले विजय भएका थियौं,’ इन्चार्ज गिरीले भने, ‘यस पटक वडाध्यक्षको हकमा २ हजार बढि मतान्तर र मेयरमा २५ सय मतान्तरले विजय हुने पक्का छ ।’ वडामा भएका विकासका काममा एमालेले नै नेतृत्व गर्दै आएको गिरीले सुनाए । ‘एमाले मात्र एउटा यस्तो पार्टी हो जसले पोखरा–२१ मा विगत र वर्तमानमा विकासको निम्ती अतुलनीय योगदान दिदै आएको छ,’ उनले त्यहाँ भएको कामको बारेमा जानकारी दिँदै भने, ‘विगत र वर्तमानमा गरेको कामकै मुल्याङ्कन गर्दै त्यहाँका जनताले यसपटक भारी मत अन्तरले एमालेलाई स्थान दिने छ ।’ शिक्षा, स्वास्थ्य, खेलकुद,यातायात लागयतका क्षेत्रमा भएको आमुल परिवर्तन नै एमालेको जित्ने मुल आधार रहेको गिरीले सु्नाए । ‘गत चुनावमा एमालेको तर्फबाट जितेका वडाध्यक्ष खगराज आचार्य र सदस्यहरुले नै राम्रो काम गरेका छन्, जुन विकास पोखरा–२१ मा आएपछि छर्लङ्ग देख्न सकिन्छ,’ उनले थपे,‘हाम्रो एमालेको उम्मेदवार चुनावको बेलासम्म मात्र हाम्रो हुन्छन् , चुनाव जितेपछि जनताको साझा व्यक्तित्व हुन्छन् । एमालेको उम्मेदवारलाई हामीले स्पष्ट भनेको हुन्छौँ कि जनताको काम नै पार्टीको साझा काम हो ।’ एमालेका उम्मेदवारलाई जिताउन ११ सय २१ सदस्य निर्वाचन परिचालन कमिटि सबै लागि परेको नेकपा एमाले पोखरा–२१ कमिटिका अध्यक्ष राजेन्द्र थापाले बताए । ‘हाम्रो पार्टी भाषणमा भन्दा काममा विश्वास राख्छ,’ अध्यक्ष थापाले भने, ‘त्यही कामको आधारमा हामी घरदैलो गर्दै छौं ।’ चुनावमा मात्र नभएर अरु बेलामा जनताको समस्य र गुनासो सुन्न बेला बेलामा टोलटोलमा पुग्ने गरेको नेकपा एमाले पोखरा–२१ कमिटिका सचिव रोशन भट्टराईले बताए । ‘हामीले हाम्रो वडामा धेरै काम गरेको छौ,’ उनले भने, ‘केही काम बाँकी छन, त्यसलाई पनि पुरा गर्छौँ ।’