काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरुलाई आग्रह गर्नुभएको छ । आजदेखि सुरू भएको एमालेक...

काठमाडौँ, चैत २७ गते । स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतदान सामग्री धमाधम आउन थालेका छन् । आयोगले मतदान हुनुभन्दा एक महिनाअघि नै सबै सामग्री बुझाउनेगरी फागुन अन्तिम साता आपूर्तिकर्तासँग सम्झौता गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, “करिब १५ प्रकारका सामग्री आयोगले बुझिसकेको छ, चैत अन्तिमदेखि जिल्लामा ढुवानी सुरु हुँदासम्म सबै सामग्री आइपुग्ने विश्वास गरेका छौँ ।” मतदान प्रयोजनका लागि आयोगले १० वटा प्याकेजमा २३ प्रकारका सामग्री खरिद सम्झौता गरेको थियो । उक्त सामग्री खरिदका लागि आयोगले २७ करोड रुपियाँ खर्चिंदै छ । सम्झौताबमोजिम आपूर्तिकर्ताले मतदान र मतदानस्थलमा प्रयोग हुने साना आकारका सामान आयोगलाई बुझाइसकेको छ । मतदानमा प्रयोग हुने मतपेटिका, छेकबार, लाहा, ‘सेक्युरिटी सिल’ अझै आइसकेको छैन । मतदानमा करिब ९५ हजार मतपेटिका आवश्यक पर्नेछ । प्रवक्ता पौडेलले भन्नुभयो, “२५ हजार मतपेटिका खरिद गर्न लागेका छौँ, ६० हजारभन्दा बढी मतपेटिका आयोगसँग मौज्दात छन् ।” आयोगसँग मौज्दात मतपेटिका भने जिल्लास्थित निर्वाचन कार्यालयमा भण्डारण गरिएको छ । मतपत्रको आकार बढ्दा मतपेटिका थप्नुपरेको आयोगले जनाएको छ । यसअघिको चुनावमा एउटा पेटिकामा करिब पाँच सयभन्दा बढी मतपत्र अटाएका थिए । स्थानीय निर्वाचन–२०७९ मा भने एउटा मतपेटिकामा करिब तीन सय मतपत्र अट्नेछन् । मतदानका लागि १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् । एउटा केन्द्रमा करिब तीनदेखि चारवटा मतपेटिका प्रयोग हुने आयोगले जनाएको छ । “स्थानीय चुनावमा एउटै पानामा स्थानीय तह प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडासदस्यमा मत हाल्नुपर्नेगरी डिजाइन गरिएकाले आकार बढ्न गएको हो,” उहाँले प्रस्ट्याउनुभयो । छेकबार र मतपेटिका चीनबाट आयात गरिँदै छ । मतपेटिका शनिबारै नेपाल आएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । यद्यपि, आयोगले हालसम्म बुझिसकेको छैन । चीनबाट आउने सामग्रीमा ढिलाइ हुन पुगेका कारणबारे प्रस्ट्याउँदै उहाँले भन्नुभयो, “कोभिड–१९ को बढ्दो प्रकोपले समयमै सामान आयात गर्न समस्या आएको हो ।” छेकबार आयात गर्ने आपूर्तिकर्ताले सहजीकरणका लागि आयोगसमक्ष आग्रह गरेको थियो । आयोगले परराष्ट्र मन्त्रालयमार्फत काठमाडौँस्थित चीनको दूतावासलाई पत्राचार गरेर सहजीकरण गर्न आग्रह गरेपछि निर्वाचन सामग्री समयमै आइपुग्ने आयोगले विश्वास गरेको छ । आयोगमा नमुना मतपत्र, स्वस्तिक छाप, कैँची, स्टाम्प प्याड, स्टाम्प मसी, स्टिच, स्टिच पिन, प्लास्टिकका बोरा, प्लास्टिकका थैलो, पन्चिङ मेसिन, स्यानिटाइजर, मास्क, मार्कर, टिनको बक्सा, मतदान गर्न जाँदा नङमा चिह्न अङ्कित गर्ने कलम आइपुगेको छ । अधिकांश सामग्री भारतबाट आयात गरिएका छन् । उक्त सामग्री आयोगपरिसरमा भण्डारण गरिएको छ । सशस्त्र प्रहरीको उच्च निगरानीमा सामग्री राखिएका छन् । निर्वाचनमा कुल ५६ प्रकारका सामग्री प्रयोग हुनेछन् । 

काठमाडौं, चैत २७ गते । नेपाली काँग्रेसले निर्वाचनमा उम्मेदवारी सिफारिस गर्दा विधान तथा नियमावली विपरित कुनै प्रकारको रकम माग नगर्न ध्यानाकर्षण गराएको छ । आइतबार काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सबै जिल्ला कार्यसमितिलाई पत्र लेख्दै यस्तो ध्यानाकर्षण गराउनुभएको हो । मुख्यसचिव पौडेलले पार्टीको विधान २०१७ (संशोधनसहित) तथा नियमावली २०७६ को व्यवस्था बमोजिम पार्टीको क्रियाशील सदस्य तथा लाभको पदमा रहेका पार्टी सदस्यले बुझाउनुपर्ने सदस्यता शुल्कबाहेक अन्य कुनै किसिमको रकम लिन एवम् नउठाउने विषय उल्लेख गरिएको जानकारी पत्रमा गराउनु भएकाे छ । ‘विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियमावली बमोजिम सम्बन्धित पार्टी निकायले लिनु पर्ने सदस्यता शुल्क तथा सहयोग रकम उठाउन बाँकी भए त्यस्तो रकम तत्काल उठाउन हुन जानकारी गराइन्छ', उक्त पत्रमा उल्लेख छ ।  

बेनी, २७ चैत (रासस) : आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीका राजनीतिक दल उम्मेदवारको टुङ्गो लगाउन व्यस्त छन् । ६ स्थानीय तह रहेको जिल्लामा निर्वाचनमा भाग लिन राष्ट्रिय मान्यता प्राप्त ६ तथा मान्यता नपाएका १४ राजनीतिक दल दर्ता भएका छन् । राजनीतिक दलसँगै केही स्वतन्त्र उम्मेदवारले समेत आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । राजनीतिक दलले वडासमितिमार्फत वडा र पालिका समितिमार्फत पालिकामा उम्मेदवार छनोट गर्न थालेका छन् । जिल्लामा अहिलेसम्म औपचारिक रुपमा पालिकाको प्रमुख र उपप्रमुख पदमा दलहरुले उम्मेदवारको टुङ्गो नलगाए पनि वडामा धमाधम उम्मेदवार छान्न थालेका छन् । नेपाली कांग्रेसले १७, नेकपा (माओवादी केन्द्र)ले १४ र नेकपा (एमाले)ले १८ वडामा वडा समितिमार्फत सर्वसम्मत रुपमा वडाध्यक्षको उम्मेदवार छनोट गरेका छन् । केन्द्रीय सत्ता गठबन्धनमा रहेका पाँच दलबीच चुनावी गठबन्धनको घोषणा गरिए पनि भागबन्डाबारे सहमति भइसकेको छैन् । वडामा उम्मेदवार छनोटको क्रम बढेको छ । उम्मेदरवार बन्न यसअघिको निर्वाचनमा भन्दा बढी इच्छुक देखिएका छन् । विसं २०७४ को निर्वाचनमा स्थानीय तहको वडा सदस्य, वडाध्यक्ष र स्थानीय तहको प्रमुख–उपप्रमुखमा विजयी भएका अधिकांशबीच नै पुनः उम्मेदवार बन्ने होडबाजी चलेको छ । छनोट भएका वडाका उम्मेदवार अधिकांश दोहोरिएका छन् । माओवादी केन्द्रले यसअघि वडाध्यक्षमा निर्वाचित दुईजनालाई पुनःनिरन्तरता दिन टुङ्गो लगाएको छ । हाल वडाध्यक्ष रहनुभएका बेनी नगरपालिका–३ मा पद्मा पुन र अन्नपूर्ण गाउँपालिका–२ मा ओमप्रसाद फगामीलाई पुन ः अध्यक्ष पदको उम्मेद्वार बनाएको छ । लोकप्रिय काम गरेकालाई पुन ः उम्मेदवार बनाउन लागिएको माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीले बताउनुभयो । रघुगङ्गा–२ मा माओवादीबाट वडाध्यक्षमा निर्वाचित हुनुभएका रिम कटुवाल गाउँपालिका अध्यक्षको प्रत्यासी हुनुहुन्छ । एमालेले वडा कमिटीमार्फत उम्मेदवारको टुङ्गो लगाउन थालेको छ । वडा कमिटी बैठकबाट सर्वसम्मत भए एक जना र सहमति हुननसके बढीमा तीन आकांक्षीको नाम पालिका कमिटी हुँदै जिल्ला कमिटीलाई सिफारिस गर्न निर्देशन दिइएको एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभयो । वडामा यसअघि विजयी भएका जनप्रतिनिधि धेरैजसो पुनःउम्मेद्वार बन्न इच्छुक छन् । बेनी नगरपालिका–६ मा एमालेबाट निर्वाचित वडाध्यक्ष कृष्णसिंह बानियाँ पुनः उम्मेदवार सर्वसम्मत हुनुभएको छ । एमालेबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचित जनप्रतिनिधि पुनः गाउँपालिकाको नेतृत्वका लागि इच्छुक देखिनुभएको छ ।

काठमाडौँ — नेकपा एमालेले मुलुकको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्दै छ । ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन आयोजना गरी एमालेले पार्टीको धारणा सार्वजनिक गर्न लागेको हो । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार तीन जना पूर्व अर्थमन्त्रीहरुको उपस्थितिमा पत्रकार सम्मेलन गरिने छ । पत्रकार सम्मेलनमा एमालेबाट विगतमा अर्थमन्त्री बनेका डा. युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डेले धारणा राख्नेछन् । सोही पत्रकार सम्मेलनबाट अर्थतन्त्र संकटमा परेको बेला गभर्नर महाप्रसाद अधिकारी निलम्बित भएको विषयमा पनि औपचारिक धारणा आउने रिजालले बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले गभर्नर अधिकारीलाई निलम्बन गरिएकोमा विरोध जनाउँदै आएका छन् ।

काठमाडौँ — पाँच दलीय गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्ने भएको समितिको एक सदस्यले जानकारी दिए । बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण हुने भएको छ । निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे पनि छलफल हुने बताए । प्रतिवेदन आउन ढिलाइ हुँदा समितिले काम गर्न पाएको छैन । यसअघि समितिको बैठक २३ चैतमा बसेको थियो । जिल्ला र स्थानीय तहमा भएको दलगत स्थितिबारेको प्रतिवेदन समितिले शनिबारसम्म मागेको थियो । २२ चैतमा बसेको गठबन्धन दलहरूका शीर्ष नेताहरूको बैठकले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन भएको समितिमा गठबन्धनका अन्य दलका नेताहरू पनि सम्मिलित छन् ।

काठमाडौँ – नेकपा एमालेले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्नेगरी थालिएको निलम्बनको कारबाही तुरुन्त फिर्ता लिन चेतावनी दिएको छ । पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलले सरकारले गलत अभ्यास गरेको भन्दै यो कदम तत्काल नसच्याए अर्थतन्त्रको अवस्था थप धराशायी हुने चेतावनी दिनुभयो । पौडेलले गभर्नरमाथिको कारवाहीले अर्थतन्त्र थप संकटमा जाने भएकाले तत्काल सो कदम फिर्ता लिन सरकारलाई चेतावनी दिनुभयो ।

भाेजपुरः आगमी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता साझेदार दलले जिल्लाका सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेका छन् । केन्द्रको निर्णयबमोजिम शनिबार यहाँ बसेको स्थानीय पाँच दलको बैठकले जिल्ला समन्वय समिति, नौ स्थानीय तह र ८१ वटैमा वडामा तालमेल गरेर अघि बढ्ने निर्णय संयुक्त विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन् । बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझी, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य अजम्बर काङमाङ राई, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा सङ्घीय सांसद सुदन किराँती, कांग्रेस भोजपुरका सभापति विनोद बान्तावा, नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य रमेश शाक्यको उपस्थिति थियो । त्यस्तै जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य रामसिंह राई, एकीकृत समाजवादी भोजपुरका अध्यक्ष वीरजङ्ग राई र जनता समाजवादी पार्टी नेपाल भोजपुरका अध्यक्ष आशकुमार राईलगायतको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाण्डौंः निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि शुक्रबार मध्यरातदेखि आचारसंहिता लागु गर्ने भएको छ । आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलको हस्ताक्षर गराइसकेको आयोगले मतदानको दिनसम्म आचारसंहिता कार्यान्वयन गर्न लागेको हो । आचारसंहिता सरकार, निजी क्षेत्र, संवैधानिक निकाय, राजनीतिक दल, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार माध्यम, गैरसरकारी संस्था, विद्यालय, विश्वविद्यालय, शिक्षक, कर्मचारी तथा मतदातालाई लागू हुने आयोगले जनाएको छ । आचारसंहिता लागु भएपछि कुनै पनि दल वा उम्मेदवारको पक्षमा भड्किलो प्रचार प्रसार गर्न पाइँदैन । योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण लगायतका काम गर्न पनि पाइँदैन । यसै गरी कुनै कर्मचारी नियुक्ति, सरुवा, पदस्थापन लगायतका काम गर्न पनि पाइँदैन, गर्नै परे निर्वाचन आयोगको अनुमति लिनुपर्छ । निर्वाचन प्रचारप्रसारको काम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइन्छ । यसपटक स्थानीय तहको निर्वाचनको प्रचार प्रसारका लागि हेलिकप्टर प्रयोग गर्न पाइने छ भने साइकल, रिक्सा, ठेलागाडा, बयलगाडा, टाँगालगायतका सवारी साधन प्रयोग गर्न नपाइने निर्वाचन आचारसंहितामा उल्लेख छ ।

कास्कीः गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपाली जनताको स्वतन्त्रता एवं हितका लागि विसं २००७ यता विभिन्न समयमा भएका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ । गण्डकी प्रदेश प्रमुखको कार्यालयद्वारा नव वर्ष २०७९ का अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उहाँले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतन्त्रको रक्षा एवं संविधानको कार्यान्वयन सबैको साझा कर्तव्य भएको बताउनुभयो । नव वर्ष २०७९ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गर्दै प्रदेश प्रमुख गुरुङले नयाँ वर्षमा नेपाली समाजको विविधताबीचको एकता कायम हुने धारणा पनि व्यक्त गर्नुभयो । यसैगरी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नयाँ वर्ष २०७९ उत्साहको वर्ष हुने अपेक्षा गर्दै आसन्न निर्वाचन भयरहितरूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयोे । उहाँले दलहरूबीचको एकता आगामी वर्षमा अझै बलियो बन्ने विश्वास व्यक्त गर्नुभयो । शुभकामना आदानप्रदानले सत्तपक्ष तथा प्रतिपक्ष सबैलाई एक ठाउँमा ल्याउने र आपसी सद्भाव एवं भाइचारा अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले नयाँ वर्ष राजनीतिक उत्सवको वर्ष बन्ने र संविधानप्रदत्त अधिकारको कार्यान्वयनका लागि पनि यो वर्ष सफल हुने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेश सरकारमा मन्त्रीहरू तथा प्रदेशसभा सदस्यले नयाँ वर्षले सबैमा उमङ्ग ल्याउने अपेक्षा गर्नुभयो ।