काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरुलाई आग्रह गर्नुभएको छ । आजदेखि सुरू भएको एमालेक...

पोखराः निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन अपरान्हसम्म नेपाली कांग्रेसबाट  पोखरा महानगरपालिकाको उपमेयरमा सुरेन्द्रमान बिजुक्छेको चर्चा चलेको थियो ।    बिजुक्छेको चर्चामात्र चलेन केही अनलाइनले उनी सिफारिश भइसकेको समाचारसमेत छाप्न भ्याए भने नेवार समुदायका बाहुल्यता भएको नगरभित्रका केही स्थानबाट सामुहिकरुपमा जुलुससहित आयोग जाने तयारीसमेत भएको थियो ।     तर स्वयं बिजुक्छे र अनलाइनहरुले सोचेजस्तो भएन । दिउँसो करिब २ बजेपछि एकाएक बिजुक्छेको नभई कोपिला रानाभाटाको नाम फाइनल भयो ।   कोपिला नेपाली कांग्रेस गण्डकी प्रदेशकी सहमहामन्त्री हुन् ।    गठबन्धनमार्फत चुनावी मैदानमा उत्रिएपछि मेयर नेकपा एसको भागमा परेको थियो । त्यसपछि उपमेयरमा कांग्रेसले उम्मेदवार चयन गर्न निकै दिन लगायो ।   यसबीचमा विभिन्न आकांक्षीको नाम चर्चामा आएपनि कांग्रेसका धेरै शुभचिन्तक एवं कार्यकर्ताले बिजुक्छे चयन भएको जानकारी पाएका थिए । तर उनको चर्चा केही घण्टामै सकिएको छ । 

पोखराः स्थानीय निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने दोस्रो दिन आजपनि गठबन्धनविरुद्ध नेपाली कांग्रेसका अर्का सदस्यले पनि वागी उम्मेदवार दर्ता गरेका छन् ।    नेपाली कांग्रेस कास्कीका पूर्व कोषाध्यक्ष एवं उदीयमान नेताकारुपमा कहलिएका ऋषि काफ्लेले कांग्रेस भएर रुखमा भोट हाल्न नपाएपछि वागी बनेको बताएका छन् ।   ‘गठबन्धनका नाममा कांग्रेसलाई रुख चिन्हमा मतदान गर्नै नपाउने बनाइयो’ काफ्लेले भने ‘पार्टीको सिद्धान्त र नीति विपरित कार्यकर्तालाई जान बाध्य पारिएकोमा उम्मेदवारी दिएको हुँ ।’   यसअघि आइतबार विमलबहादुर कार्कीले पनि मेयरमै वागी उम्मेदवारी दिएका छन् । दुबै उम्मेदवारले नाम फिर्ता नगर्ने बताएका छन् । 

पोखराः सत्तापक्ष गठबन्धनले पोखरा महानगरपालिकामा नेकपा एसबाट धनराज आचार्यलाई मेयरमा अघि सारेपछि असन्तुष्ट बनेका विमलबहादुर कार्कीले वागी उम्मेदवारी दर्ता गराएका छन् । पार्टीमा विद्रोही युवा नेताको छवि बनाएका कार्की कास्की २ का क्षेत्रीय सभापति एवं कांग्रेसको पोखरा नगर समितिका पूर्वसभापति हुन् ।    सभापति शेरबहादुर देउवाले गठबन्धनको नाममा अन्य पार्टीको चुनाव चिन्हमा मतदान गर्न लगाएपछि असन्तुष्टी पोख्दै पोखरा महानगरको मेयरमा वागी उम्मेदवारी दिएको कार्कीको भनाई छ । ‘कालेकाले मिलेर खाउँ भाले शैलीमा पार्टी र गठबन्धन चल्यो’ कार्कीले भने ‘यस्ता प्रवृत्तिविरुद्ध मैले तरुण दलमा हुँदादेखि नै विरोध गर्दै आएको हुँ ।’   सबै मिलेर भागबन्डा गर्ने हो भने किन निर्वाचन गर्ने ? भन्ने प्रश्न गर्र्दै कार्कीले गठबन्धनले मिलेर खाए निर्वाचन गर्ने ६० अर्ब खर्च जोगिने टिप्पणी गरे । ‘म कांग्रेस हुँ तर नेताको मलद्वारलाई हरिद्वार भन्न सक्दिन’ उनले स्पष्ट पारे ।    भरतपुरमा हँसिया हथौडा, पोखरामा कलमलाई मतदान गर्न पार्टीले गरेको अपीललाई आफुले नमान्ने उनले बताए । पार्टीले दबाब दिएपछि उम्मेदवारी फिर्ता त लिनु हुन्न ? भन्ने प्रश्नमा कार्की भन्छन् ‘म गलत प्रवृत्तिविरुद्ध विद्रोह गरेर आएको मान्छे हो, मेरो अडान र मेरो उम्मेदवारी फिर्ता हुनेछैन ।’   निर्वाचन आयोगमा पुगेर उम्मेदवारी दिएका कार्कीको दर्ता नम्बर २ रहेको छ । 

पोखराः अटेरी अभियानका प्रवर्तक पोखरा १४ निवासी गनेस पौडेलले आज पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।   प्रस्तावक अप्सरा अधिकारी र समर्थक सरोज जिसीसहित निर्वाचन आयोगको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।    आयोगका अनुसार पौडेलमा सबैभन्दा पहिला उम्मेदवारी दर्ता गराएका हुन् । दर्ता नम्बर १ रहेको अटेरीले शुभसाइत पनि १ अंकलाई नै रोजेको छ । पौडेलका अनुसार दर्ता समय पूर्वान्ह ठिक ११ः११ बजे रहेको छ ।     

वालिङ, वैशाख ९ गते । स्याङ्जाका ७३ मतदान केन्द्र सुरक्षाका दृष्टिले अतिसंवेदनशील केन्द्रको सूचीमा परेका छन् । स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा जिल्लास्थित सुरक्षा समिति स्याङ्जाले जिल्लाका मतदान केन्द्रको वर्गीकरण गरेको हो ।   अतिसंवेदनशील, संवेदनशील र सामान्य संवेदनशील मतदान केन्द्रका रूपमा जिल्लाका मतदान केन्द्रलाई वर्गीकरण गरिएको छ । जिल्लाका १९९ मतदान केन्द्रमध्ये ७३ मतदान केन्द्र अतिसंवेदनशील सूचीमा परेका छन् । त्यस्तै, ७३ मतदान केन्द्र संवेदनशील र ५३ मतदान केन्द्र सामान्य रहेका छन् ।   २०७४ को स्थानीय तह निर्वाचनको अवस्था हेरेर मतदान केन्द्रको वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।    “भौगोलिक विकटता, मतदान केन्द्रको सुरक्षा चुनौती र यातायातको सहज पहुँचका आधारमा मतदान केन्द्रलाई अतिसंवेदनशील केन्द्रका रूपमा वर्गिकरण गरिएको छ ।” पौडेलको भनाइ छ ।    जिल्लामा स्थानीयतहको निर्वाचन सम्पन्न गर्न आवश्यक सुरक्षा जनशक्ति अभाव छ । स्याङ्जामा एक हजार ६२४ म्यादी प्रहरी भर्ना गरिएको छ । म्यादी प्रहरीलाई १० दिनको तालिम दिएर परिचालन गर्ने अन्तिम तयारी गरिएको छ ।   सबै मतदान केन्द्रमा प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा रहेको सुरक्षा समितिको टोली पुगेर सुरक्षा चुनौतीको अनुगमन गरिरहेकोको प्रशासनले जनाएको छ ।    निर्वाचनलाई स्वतन्त्र, भयरहित र शान्तिपूर्ण रूपमा अघि बढाउन जिल्ला सुरक्षा समितिले हरेक विकल्प अपनाउँदै आएको प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । कार्यालयका अनुसार संवेदनशीलतालाई आधार बनाएर सुरक्षाकर्मी खटाउने काम अन्तिम चरणमा पुगेको छ । ५ नगरपालिका र ६ गाँउपालिका गरी ११ पालिका रहेको स्याङ्जामा सबैभन्दा धेरै मतदानस्थल र मतदाता वालिङमा रहेका छन् । 

काठमाडौँ, वैशाख ४ गते । निर्वाचन आयोग र राजनीतिक दलका गतिविधि स्थानीय तह निर्वाचन केन्द्रित रहेकाले मुलुकको वातावरण निर्वाचनमय बनेको निर्वाचन आयोगको भनाई छ । राजनीतिक दलका पछिल्ला प्रत्येक बैठक, छलफल, अन्तरक्रिया र भेला निर्वाचनसम्बन्धी विषयमा केन्द्रित छ भने आयोगले निर्वाचनका लागि  आवश्यक सामग्रीको व्यवस्थापन र तालिम प्रशिक्षण करिब पूरा गरेको जनाएको छ । निर्वाचनसम्बन्धी गतिविधि र कार्यक्रम अब केन्द्रबाट प्रदेश हुँदै स्थानीय तहतर्फ उन्मुख भइसकेको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बताउनुभयो । राजनीतिक दलहरू उम्मेदवार सिफारिशको अन्तिम तयारीमा जुटेका छन् । केही दलले केही ठाउँमा उम्मेदवारबारे निर्णय गरिसकेका छन् भने केही दलले उम्मेदवार तय गर्न आन्तरिक छलफलमा व्यस्त छन् । आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचत अधिकृत र जिल्ला निर्वाचन अधिकारीका लागि मुलुकका ८ स्थानमा निर्वाचन  सञ्चालन तथा व्यवस्थापन प्रशिक्षक प्रशिक्षण सम्पन्न गरिसकेको छ । आयोगले यसअघि विराटनगर, धुलिखेल, पोखरा र नेपालगञ्जमा गत चैत ३० गते र  जनकपुर, हेटौडा, बुटवल र धनगढीमा वैशाख २ गते प्रशिक्षण सम्पन्न गरिसकेको छ । राजनीतिक दलले पनि यसबीचमा स्थानीय तहमा भेला र प्रशिक्षणका अधिकांश कार्यक्रम पूरा गरिसकेका छन् । वैशाख ३० गते शुक्रबार देशका सबै स्थानीय तहमा एकै चरणमा हुने निर्वाचनका लागि निर्वाचन अधिकृतलाई गत चैत २९ गतेदेखि लागू हुनेगरी आयोगले नियुक्ति दिइसकेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । निर्वाचन सम्पन्न गर्न आयोगले आफ्ना सबै संयन्त्र परिचालन गरिसकेको उहाँको भनाई छ । निर्वाचन अधिकृतहरु कार्यक्षेत्रतर्फ प्रस्थान गरी पूर्वतयारीको काममा जुट्ने कार्य शुरु भइसकेको छ । दुर्गम जिल्लामा खटिएका कतिपय अधिकृत केन्द्रबाट त्यसतर्फ प्रस्थान गरिसकेको आयोगले जनाएको छ । तालिम प्रशिक्षण लिएका निर्वाचन अधिकृतले मुलुकका सबै स्थानीय तहमा वैशाख ८ गते विधिवतरुपमा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याउने कार्यक्रम रहेको छ ।  स्थानीय तह निर्वाचनका लागि  निर्वाचन अधिकृतको कार्यालयमा कम्तिमा नौ जनाका दरले मुलुकभर करिब २ लाखको संख्यामा कर्मचारी खटिएका छन् । आयोग, प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको समन्वय र सहकार्यमा यसबीचमा सञ्चारकर्मीका लागि निर्वाचन आचारसंहितासम्वन्धी प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न भएका छन् । निर्वाचन सफल बनाउन मिडियाको भूमिका महत्वपूर्ण रहने आयोगको बुझाई छ ।

काठमाडौँ: पाँच दलीय गठबन्धनले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाहरुका प्रमुख र उपप्रमुख पदमा उम्मेदवारको सिट बाँडफाँट टुङ्ग्याएका छन् ।   प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको गठबन्धनका शीर्षनेताको बैठकले सो सहमति गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गठबन्धन दलबीच कांग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिकाको प्रमुखमा तथा वीरगञ्ज, भरतपुर र पोखराको उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ ।   यसैगरी कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाको प्रमुखमा तथा जितपुर–सिमरा, घोराही र हेटौँडा उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने बैठकको सहमति छ । नेकपा (माओवादी केन्द्र)का तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुखमा र ललितपुर महानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ । यस्तै माओवादी केन्द्रले जितपुर–सिमरा र घोराही उपमहानगरपालिकाको प्रमुख तथा धरान र धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिनेछ ।   गठबन्धनको अर्काे घटक नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगरपालिकाको प्रमुख तथा काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिनेछ । एकीकृत समाजवादीले हेटाँैडा उपमहानगरपालिकाको प्रमुख तथा इटहरी, बुटवल र तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ ।   यस्तै जनता समाजवादी पार्टी नेपालले वीरगञ्ज महानगरपालिकाको प्रमुखमा र विराटनगर महानगरपालिकाको उपप्रमुखमा तथा जनकपुर उपमहानगरपालिकाको प्रमुख तथा कलैया र नेपालगञ्ज उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ । पाँचदलीय गठबन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावनाअनुरुप सम्बन्धित समितिहरुको बैठक बसी अविलम्ब सिट बाँडफाँट तथा उम्मेदवारहरुको चयन गर्न निर्देश गरेको छ । साथै, सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्धन भित्रै मित्रवत् प्रतिस्पर्धा गर्न सकिनेसमेत समझदारी भएको छ ।   सो सहमतिमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धारित मितिमै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने बताउनुभएको छ । जनकपुरधाममा आज आयोजित स्थानीय तह निर्वाचन–२०७९ ‘मिडिया अभिमुखीकरण’ कार्यक्रममा उहाँले अब निर्वाचनको मिति सार्न सक्ने अवस्था नरहेकाले निर्धारित समयमै निर्वाचन आयोगले स्वच्छ र निष्पक्ष निर्वाचन गराउने बताउनुभएको हो । । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको मितिलाई तलमाथि वा अन्य तरिकाले सारेमा मुलुकमा दुर्घटना निम्त्याउन सकिने उल्लेख गर्दै निर्धारित समय वैशाख ३० गते नै निर्वाचन हुने र निर्वाचनबाट कसैले डराउन नहुने बताउनुभयो । निर्वाचनको क्रम भङ्ग गर्ने अवस्था नरहेको बताउँदै उहाँले स्थानीय तहको निर्वाचनसँगै यसै वर्ष प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसमेत सम्पन्न हुने दाबी गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई लोकतन्त्रको सबैभन्दा ठूलो गहना भनिने गरेको उल्लेख गर्दै पछिल्लो समय निर्वाचन विपरित हुने खालको अभिव्यक्ति आइरहनु दुःखद् भएको जिकिर गर्नुभयो । निर्वाचन आचारसंहितालाई सामान्यरुपमा नलिन आग्रह गर्दै यसको उल्लङ्घन गरे कारबाही हुने र केही सँग स्पष्टीकरणसमेत सोधिसकेको जानकारी दिनुभयो ।

सत्तासाझेदार दलले प्रदेश राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । नेपाली कांगे्रसका नगर सभापति उपेन्द्र खड्काका अध्यक्षतामा आइतबार बसेको नगरस्तरीय संयन्त्रको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा साझेदार दलबीच तालमेल गरेर जाने निर्णय गरेको हो । बैठकले पाँच दलको केन्द्र, प्रदेश र जिल्लाको निर्देशन अनुसार स्थानीयस्तरमा गठबन्धनको मर्म तथा भावना अनुसार व्यवहार गर्ने निर्णय गरेको छ । कांगे्रस नगर सभापति खड्काले पार्टीका नगर कमिटीका प्रमुखहरु सम्मिलित संयन्त्र निर्माण गरी नियमित बैठक बस्ने, आवश्यकताका आधारमा अन्य प्रतिनिधिलाई संयन्त्रमा बोलाउने निर्णय गरिएको जानकारी दिनुभयो । बैठकमा नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष रत्न गाहा, नेकपा (एकिकृत समाजवादी) का लोकप्रसाद चालिसे, राष्ट्रिय जनमोर्चाका विष्णु शर्मा र जनता समाजवादी पार्टीका फत्तेबहादुर सोती मगर सहभागी हुनुहुन्थ्यो । यसअघि सुर्खेतस्थित ती दलहरुको बैठकले निर्वाचनमा जिल्लाका नौ वटै पालिकामा उम्मेदवारीमा तालमेल गर्ने र पालिकास्तरीय संयन्त्रलाई क्रियाशिल बनाउने लगायतका निर्णय गरेको थियो ।