पोखरा:    कास्कीको अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) स्थित पिसफूल लज एण्ड रेष्टुरेन्टमा आगलागी भएको छ ।   स्थानीय पर्यटन व्यवसायी मिकास गुरुङका अनुसार मंगलबार करिब साढे ४ बजे ग्यासको...

धादिङ:     धादिङको खाल्टेमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते छन् । घाइतेको अवस्था गम्भीर रहेको स्थानीयले जानकारी दिएका छन् । नीलकण्ठ नगरपालिका ५ खाल्टेको पतेनीबाट पतेनीबेसीतर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको ट्रक पिमलखोला नजिकै पाल्पाली टोलमा दुर्घटना भएको हो । घाइते ८ जनालाई उद्दार गरी जिल्ला अस्पताल धादिङतर्फ ल्याइँदै गरेको स्थानीयले बताएका छन् ।   

काठमाडौंः   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आह्वान गर्नुभएको छ ।   ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ नयाँ वर्ष २०८१ को सुरूआतसँगै शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान शुभारम्भ भएको सन्दर्भमा प्रधानमन्त्रीले विद्यालय जाने उमेरका आफ्ना सन्तानलाई पाठशाला पठाउन अभिभावकरूलाई आह्वान गर्नुभएको हो ।   शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएकाले यसलाई कार्यान्वयन गर्न नेपालको संविधान र निःशुल्क शिक्षासम्बन्धी ऐनबमोजिम २०८५ वैशाखभित्र आधारभूत तहको शिक्षा अनिवार्य सुनिश्चित गराउनुपर्ने कार्यभार सरकारसामु रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ ।   “गुणस्तरीय विद्यालय शिक्षामा समान पहुँचका लागि सरकारले विभिन्न प्रयास गर्दै आएको छ । सरकारले बर्सेनि विद्यालय शिक्षामा ठूलो लगानी गरेको छ । शिक्षाको मौलिक हकलाई कार्यान्वयनका निम्ति विकास साझेदार, नागरिक समाज एवं निजी क्षेत्रबाट गरिएको योगदान उल्लेख्य छ”, प्रधानमन्त्रीको आह्वानमा भनिएको छ, “हाम्रासामु एकातर्फ विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना सुनिश्चितता गर्नुपर्ने र अर्कातर्फ बीचमा नै विद्यालय छाड्ने अवस्था अन्त्य गर्नुपर्ने जिम्मेवारी छ । यसका लागि समुदाय तहबाट नै ठोस पहल गर्दै सुधार ल्याउन आवश्यक छ ।”   विद्यालय शिक्षाका निम्ति लगानीका प्रयासलाई सघन तुल्याउँदै थप परिणाममुखी बनाउन सामूहिक प्रयास केन्द्रित हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभएको छ ।   सरकारले सार्वजनिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक, दिवाखाजा, छात्रवृत्तिका साथै उपयुक्त शैक्षिक पूर्वाधार र विद्यालयमा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष जोड दिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विद्यालय शिक्षामा सङ्घ, प्रदेश र स्थानीय सरकारले पनि आफ्नो सामथ्र्यले भ्याएसम्म लगानी गर्दै आएका बताउनुभएको छ ।   शैक्षिक सत्र २०८१ मा पनि देशभरका सबै विद्यालयमा आवश्यक पाठ्यपुस्तक पुगिसकेका बताउँदै प्रधानमन्त्री दाहालले पाठ्यपुस्तकको वितरण सुनिश्चित गर्न स्थानीय सरकार, विद्यालय तथा आमनागरिकमा हार्दिक अनुरोध गर्नुभएको छ ।   यो वर्षको प्रारम्भमा नै सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन हुने पूर्ण विश्वासका साथ सबै नेपालीमा प्रधानमन्त्रीले नयाँवर्षको शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

पोखरा:    यूनाइटेड क्लब पोखराले १४ औं वार्षिकोत्सवको अवसर पारी शनिवार देखी सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन शनिवार एक कार्यक्रमका बिच पोखरा २५ हेम्जामा रहेको मानव सेवा आश्रममा आश्रितहरुलाई भोजन सेवा प्रदान गरेको छ । सो अवसरमा बोल्दै पोखरा महानगरपालिका वडा नं २५ का वडा अध्यक्ष तथा महानगरका प्रवक्ता  मोतीराज तिमिल्सिनाले यूनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहदा १४ औं वार्षिकोत्सव सम्म आइपुग्दा अतिनै श्रहानिय र उदारहणीय काम गरेको बताए । क्लबले महोत्सवको आयोजना गरी महानगर भित्र आर्थिक चलायमान गर्ने काम गरेको बताउदै युनाइटेड क्लबले गर्ने हरेक गतिविधीलाई महानगरले साथ र सहयोग गर्ने समेत प्रतिवद्धता ब्यक्त गरे । यूनाइटेड क्लबले यसअघि पनि मानव सेवा आश्रममा आयोजित महायज्ञ र अन्य अवसरमा पनि सहयोग गरेको आफुलाई अवगत भएको बताउदै तिमिल्सिनाले मानवसेवा जस्ता क्षेत्रमा यूनाइटेड क्लबले गरेको कामको प्रशंसा गरे । सो अवसरमा बोल्दै मानव सेवा आश्रम कास्की जिल्ला संयोजक सदिस पुनले मानव सेवा आश्रममा आश्रितहरुलाई लक्षित गरी यूनाइटेड क्लबले भोजन दान गरेकोमा धन्यवाद ब्यक्त गरे । क्लका पूर्व अध्यक्ष सुक बहादुर गुरुङले यूनाइटेड क्लबले स्थापना कालदेखीनै शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनमा काम गर्दै आइरहेको र हरेक वर्ष स्थापना दिवसको अवसर पारी सप्ताहव्यापी कार्यक्रमहरु गर्दै आइरहेकोमा यो पटक मानवहरुको सेवा गरी साताब्यापी कार्यक्रम सुरु गर्न पाउदा खुसी लागेको बताए । क्लबका कोषाध्यक्ष तथा भोजन सेवा कार्यक्रमका संयोजक सूर्य बहादुर बानियाँले यूनाइटेड क्लबले पोखरा महोत्सव सञ्चालन गरी विभिन्न विद्याका सामाजिक क्षेत्रहरुमा कार्यहरु गर्दै आइरहदा मानव सेवा आश्रममा समेत यूनाइटेड क्लबले भोजन सेवा कार्यक्रमको आयोजना गर्न पाउदा आफ्नो संस्था गौरवान्वित भएको वताउदै अन्य संघ संस्थाहरुलाई पनि साताब्यापी कार्यक्रममा सहयोग गर्ने बताए । यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले हरेक वर्ष आयोजना गर्ने सप्ताहव्यापी कार्यक्रमको शुरुवात पोखरामा रहेका वृद्धाश्रमहरुबाट शुरु गर्दै आइरहेको र यस पटक मानव सेवा आश्रमबाट सप्ताहव्यापी कार्यक्रम शुरु गर्न पाउदा साच्चैनै मानवकै लागि सेवा गरेको आभाष भएको बताए । क्लवले यस पटक मात्र नभइ मानव सेवा आश्रमको भवन निर्माणका लागि आयोजित महायज्ञमा समेत १ लाख ११ हजार १ सय ११  रुपैया सहयोग गरेको र त्यसभन्दा अगाडि पनि पोखराको छोरेपाटनमा रहेको मानव सेवा आश्रममा भाँडाकुँडा र खाद्यान्न सामाग्री वितरण गरेको बताए । क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन क्लबका महासचिव दिनेश सुनारले गरेका थिए । यसैबिच क्लबले शनिवार नै पोखरा १५ मा रहेको राष्ट्रिय परोपकार महासंघ नेपाल वडा इकाई समिति द्धारा सञ्चालित परोपकार जेष्ठ नागरिक मिलन केन्द्र शिद्धेश्वर शिव मन्दिर भजन मण्डलीमा आवद्ध महिला सदस्यहरुलाई पोषक वितरणका साथै केन्द्रमा आवद्धहरुलाई भोजन सेवा प्रदान गरिएको महासचिव सुनारले जानकारी दिए । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आइतबार दोश्रो दिन पोखरा १४ छिनेडाँडा स्थित शुक्रराज वलभद्र माविमा खेलकुद सामाग्री वितरण कार्यक्रम रहेको क्लबले जनाएको छ ।

पोखरा:    १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन आलुको कारोबार बढ्दै गएको छ । महोत्सव मध्येतिर आइरहँदा दर्शक सहभागिताको साथमा आलुको कारोबार बढ्दै गएको हो । महोत्सवको सातौँ दिन बुधबारसम्म २२ लाख आलुको कारोबार भएको छ । २ हजार ११९  घरपरिवार मानिसले आलु किनी लगेको कृषि उपज व्यवस्थापन समितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिनुभयो।  बागलुङ,     स्याङजा, चितवन, तनहुँ लगायतका जिल्लाबाट समेत मानिस महोत्सवमा आई आलु किनी लगेको र हालसम्म न्यूनत्तम १० तथा अधिकत्तम ३ सय केजीसम्म प्रति परिवारले आलु खरिद गरेको संयोजक तिम्सिनाले बताउनुभयो । प्रतिकेजी रु।४० मा आलु बिक्री गरिएको छ । हालसम्म ४० हजार बढी दर्शकले महोत्सव अवलोकन गरिसकेको मूल आयोजक समितिका कोषाध्यक्ष राम सापकोटाले जानकारी दिनुभयो । महोत्सव प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीका लागि ५० रुपैयाँमा टिकट व्यवस्था गरिएको छ । कृषि उपजका नाममा भएको महोत्सव आफैमा महत्वपूर्ण भएकाले परिवार सहित अवलोकन गर्न आउने गरेको महोत्सव अवलोकन गर्न आउने दर्शकको भनाइ छ ।  त्यसका साथै आलु लगायत अन्य स्टलवाट सामग्रीको बिक्रीवितरण हुने क्रम समेत ह्वातै बढेको छ । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत छन्।  

काठमाडौं:    नेपालले ओमनमा जारी एसिसि मेन्स प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ । शुक्रवार मलेसिया माथि जित हात पारेको नेपालले आज भने कतार माथि ३२ रनको जित निकालेको हो । नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले २० ओभरमा विकेट गुमाउँदै १७८ रन मात्र बनाउन सक्यो । कतारका लागि कप्तान मुहम्मद तन्भिरले ३३ बलमा ६ चौका र ४ छक्का सहित सर्वाधिक ६३ रन बनाए । यस्तै मोहम्मद अहनाफले २३ तथा हिमांशु सिंहले २२ रन बनाए । अद्नान मिर्जाले १९ रन जोडे भने ओपनर कम्रान खानले १८ रन जोडे । नेपाललाई जिताउनका लागि ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुलशन झाले समान २(२ विकेट लिए । यस्तै कुशल मल्ल र अविनाश बोहोराले समान १(१ विकेट लिए । त्यसअघि दीपेन्द्र सिंह ऐरीको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले एसिसि प्रिमियर कप अन्तर्गत आफ्नो दोस्रो खेलमा कतार विरुद्ध विशाल योगफल खडा गरेको छ । अल अमेरातमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन जोडेको हो । नेपालका लागि दीपेन्द्रले अन्तिम ओभरमा ६ छक्का सहित २१ बलमा ६४ रन बनाए । उनले कुल ३ चौका र ७ छक्का प्रहार गरे । २०औं ओभरमा दीपेन्द्रले कम्रान खानको ओभरमा ६ छक्का प्रहार गरेका हुन् । यस्तै ओपनर आशिफ शेखले ४१ बलमा ६ चौका सहित ५२ रन बनाए । ओपनर कुशल भुर्तेलले आज पनि लामो इनिङ खेलमा सकेनन् । तेस्रो ओभरको पाँचौं बलमा उनी १२ रन बनाएर अमिर फरूकको।बलमा क्याच आउट भए । कप्तान रोहित पौडेलले भने मध्यम सुरुवात पाएका थिए । तर १८ रनमा रहेको अवस्थामा उनलाई हिमांशु राथोडले क्याच आउट गराए । कुशल मल्लले भने विष्फोटक सुरुवात गरेका थिए । १८ बलमा २ चौका र ३ छक्का सहित ३५ रन बनाएर कुशल मल्ल मुसावर शाहको बलमा मोहम्मद इर्सादद्वारा क्याच आउट हुन पुगे ।   सुरुवाती समयमा तीन जीवनदान पाएका आशिफ शेख आउट हुने चौथो ब्याटर थिए । कतारले उनको क्याच दुई पटक छोडेको थियो भने उनी एक पटक क्याच आउट हुँदा थर्ड अम्पाएरले नोबल दिएका थिए । सन्दिप जोरालाई पनि मुसावरले ७ रनमा क्याच आउट गराए । मलेसिया विरुद्ध अन्त्यमा जित दिलाएका गुलशन झालाई हिमांशुले ५ रनमा रहेको अवस्थामा बोल्ड आउट गरे । आज टोलीमा आएका विवेक यादव पनि ५ रनमा मुसावरको बलमा आउट भए । सोमपाल कामी शून्यमा नटआउट रहे । कतारका लागि हिमांशु राथोड र मुसावर शाहले ३/३ विकेट लिए भने आमिर फरूकले १ विकेट लिए । कतारको यो लगातार दोस्रो हार हो । कतार हिजो हंगकंग विरुद्ध पराजित भएको थियो । नेपालले भने मलेसिया माथि ५ विकेटको जित निकालेको थियो । समूह बी मा युएई, कुवेत, ओमान, बहराइन र कम्बोडिया रहेका छन् । ओमान र युएईले हिजो नै भएका खेलमा जित हासिल गर्दै विजयी सुरुवात गरेका थिए । ओमानले बहराइन विरुद्ध ३ रनले र युएईले कुवेत माथि ७ विकेटको जित निकालेको थियो । युएईले भने आज बहराइन माथि जित हासिल गर्दै लगातार दोस्रो जित दर्ता गरेको समेत छ । कुवेतले पनि आज कम्बोडिया माथि सहज जित दर्ता गर्यो । दुवै समूहबाट शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेता मात्र एसिया कपका लागि छनोट हुनेछ ।

पोखरा:    स्याङ्जा राम्चेली गडाभाई तमु समाज पोखराले नववर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन गरेको छ । स्याङजाको वालिङ्ग नगरपालिका वडानम्बर ३ राम्चेबाट पोखरा आई बसोबास गरेका राम्चेलीहरुको संस्था राम्चेली गडाभाई तमु समाज पोखराले शनिबार अमरसिंहस्थित एनएन क्याफेमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । कार्यक्रममा समाजका सल्लाहकार, पदाधिकारी, सदस्यहरुले सामुहिक रुपमा यस वर्षको भित्तेपात्रोको विमोचना समेत गरिएको हो । समाजका अध्यक्ष भुपेन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ सल्लाहकार तथा संस्थापक अध्यक्ष ओम गुरुङ, काहुँडाडा होमस्टे संचालक जमान सिंह गुरुङ सल्लाहकार सदस्य सुवेदार लोक बहादुर गुरुङ, समाजका सदस्य चुत्र गुरुङ, समाजका सदस्य रुपक गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।  कार्यक्रमका वक्ताहरुले नयाँ पुस्तालाई पढाइमा लगनशिल बनि आफ्नो भविष्यप्रति सजग बन्नुपर्नेमा जोड दिए । उनिहरुले समाजमा एक अर्का प्रति सदैव एकता र सद्भाव कायम गर्न सकोस् भन्ने शुभकामना दिए । कार्यक्रममा भित्तेपात्रो प्रकाशित गर्न सहयोग गर्ने संस्थापक सचिव आशिष गुरुङ सक्रिय सदस्य रुपक गुरुङ र पलमान गुरुङ र कार्यक्रम सफलताको लागि आर्थिक सहयोग गर्ने सक्रिय सदस्य चुत्र गुरुङ, चेत बहादुर र काहुँडाडा होमस्टे संचालक जमान सिं गुरुङ लगायतलाई सम्मान समेत गरिएको थियो । समाजका सह–सचिव रूपसिङ गुरुङले संचालन गरेको कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष, शैक्षिक व्यक्तित्व तथा एल.आई. सी. नेपाल प्रालि वालिङ शाखाका म्यानेजर औ बहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए । 

पोखरा:   हेमजामा चैत २९ गते बिहान बस दुर्घटना हुँदा गम्भिर घाइते भएका नरबहादुर पुनको उपचारको क्रममा मृत्यु भएको छ ।  काठमाडौंबाट म्याग्दी जाँदै गरेको बस चैत २९ गते दुर्घटना हुँदा घाइते भएका ८ जना मध्ये नरबहादुरको आज उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ  ।  काठमाडौंबाट म्याग्दीका लागि छुटेको ग १ ख १६३० नम्बरको बस चैत २९ गते बिहान सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा ८ जना घाइतेका थिए ।    यो पनि पढ्नुहोस   काठमाडौंबाट बेनी जाँदै गरेको बस पोखरामा दुर्घटना, ७ जना घाइते घाइते भएका ८ जना मध्य ७ जना सोही दिन उपचार पछि डिस्चार्ज भएको कास्की प्रहरीले जनाएको छ । घाइते मध्य म्याग्दीको मालिका गाउँपालिका–१ दरवाङ घर भएका ७२ वर्षीय नरबहादुर पुनको उपचारको क्रममा मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार काठमाडौंबाट म्याग्दी जाँदै गरेको बस सह–चालक चलाएको खुल्न आएको बताएको छ । बस दुर्घटनापछि प्रहरीले बस चालक र सह–चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।   

पोखरा:   हिमाली सांस्कृतिक परिवारले संस्कृतिविद् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङलाई संरक्षकत्व अर्पण गरेको छ ।  हिमाली सांस्कृतिक परिवारले आज (शनिबार) प्राज्ञ डा. गुरुङको जन्मथलो याङ्जाकोट पुगेर संरक्षकत्व अर्पण गरेको हो ।  हिमाली सांस्कृतिक परिवारका संस्थापक संरक्षक नरबहादुर शेरचनले संस्कृतिविद् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, नेपाल ऋषि प्राज्ञ डा। जगमान गुरुङलाई जन्मथलो याङ्जाकोट पुगेर एक कार्यक्रमकाबीच संरक्षकत्व अर्पण गरे ।  सो अवसरमा बोल्दै प्राज्ञ डा। गुरुङले साँस्कृतिक परिवारप्रती आभार प्रकट गरे । उनले याङ्जाकोटमा आफ्नै कारणले साहित्यिक र सांस्कृतिक गतिविधि बढेको बताए ।  ‘मैले आफ्नो विज्ञापन गरेको होइन, म गाउँमै बस्न मन पराउँछु । गाउँकै अर्गानिक खाना खान्छु मलाई प्राय सबैले भेट्न गाउँमै आउँछन्’, प्राज्ञ गुरुङले भने, ‘मलाई कवि, लेखक, साहित्यकारहरुले गाउँमै भेट्न आउँदा गाउँमा साहित्यिक र सांस्कृतिक गतिविधि बढेको छ ।’ उनले अबका दिनमा हिमाली सांस्कृतिक परिवारले याङ्जाकोटमा प्रत्येक वर्ष सांस्कृतिक कार्यक्रम गर्नुपर्ने आशय व्यक्त गरेका थिए ।  यस्तै मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले गाउँपालिकामा साहित्यिक र सांस्कृति गतिविधि बढाउन हिमाली सांस्कृतिक परिवारसँग सहकार्य गर्ने तयार रहेको बताए ।  उनले स्थानीय तहमा प्रज्ञा प्रतिष्ठान गठन गर्न गाउँपालिकाको कार्यपालिकाको बैठकमा छलफल भइरहेको समेत बताए ।  कार्यक्रमकै अवसरमा हिमाली सांस्कृतिक परिवारले प्रमुख सल्लाहकारमा कवि, लेखक तथा साहित्यकार प्रकाश शायमीलाई मनोनित गरेको छ ।  यस्तै पृथ्वीमान गुरुङ, हरीचन्द्र रञ्जित, सोभित बुद्धचार्य र सुशान ताङ्वेलाई आजीवन सदस्य प्रदान गरेको छ ।   संरक्षक अर्पण तथा नयाँ वर्ष शुभकामना साँझमा हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।  कार्यक्रम हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मानार्थ सदस्य टिकाबहादुर कार्कीले स्वागत मन्तव्य र संस्थाका सल्लाहकार एवम् पत्रकार दिपेन्द्र श्रेष्ठको कार्यक्रम सञ्चालन गरेका थिए ।

 पोखरा:      हेमबहादुर पुन स्मृति प्रतिष्ठान र समाजिक कल्याण प्रतिष्ठान नेपालले नयाँ वर्ष २०८१ का अवसरमा आज पोखरा महानगरपालिका वडा नं ३२ स्थित राधाकृष्ण बृद्धाश्रममा खाद्यान्न सहयोग गरेका छन् ।      बृद्धाश्रममा आज आयोजित एक कार्यक्रमका बीच हेमबहादुर पुन स्मृति प्रतिष्ठानका सदस्य एवम् पूर्व मन्त्री उत्तम बहादुुर पुन, प्रतिष्ठानका अध्यक्ष क्या.रविन्द्र पुनले राधाकृष्ण बृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष प्रेम लिगललाई खाद्यान्न हस्तान्तरण गर्नुुभएको हो ।      कार्यक्रममा पूर्व मन्त्री उत्तम पुनले राधाकृष्ण बृद्धाश्रमले ज्येष्ठ नागरिकको सेवामा महत्वपूर्ण योगदान गरिरहेको बताउँदै सहयोग गर्न पाउँदा आँफूहरूलाई खुसी लागेको बताउनुुभयो । गरिब तथा असहायको सहयोगमा आँफू निरन्तर लागिरहेको बताउँदै उहाँले यस किसिमका सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुुभयो ।      हेमबहादुुुर पुन स्मृति प्रतिष्ठानका अध्यक्ष क्या.रविन्द्र पुनले बृद्धाश्रमको व्यवस्थापन राम्रोसँग चलिरहेको पाइएको बताउँदै सहयोगलाई अवसरमा रुपमा लिएको धारणा राख्नुुभयो ।      राधाकृष्ण बृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले विभिन्न संघ, संस्था तथा व्यक्तिको सहयोगले बृद्धाश्रम सञ्चालनमा सहयोग पुुगेको बताउँदै आगामी दिनमा यस्तै किसिमको साथ र सहयोग पाउने विश्वास व्यक्त गर्नुुभयो ।      कार्यक्रममा करिब ५० हजार रुपैयाँ बराबरको दाल, चामल आलु लगायतका खाद्यान्न हस्तान्तरण गरिएको सामाजिक कल्याण प्रतिष्ठान नेपालका महासचिव सूूर्यप्रसाद बास्तोलाले जानकारी दिनुुभयो ।