पोखरा:    कास्कीको अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) स्थित पिसफूल लज एण्ड रेष्टुरेन्टमा आगलागी भएको छ ।   स्थानीय पर्यटन व्यवसायी मिकास गुरुङका अनुसार मंगलबार करिब साढे ४ बजे ग्यासको...

धादिङ:    धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ पतेनी भन्ने स्थानको पाल्पालीटोलमा गत आईतबार भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।   ट्रक दुर्घटनामा परि घाईते भएका ट्रकका चालक ४० वर्षीय बिष्णु श्रीमलको उपचारका क्रममा मृत्यु भए पछी मृतकको संख्या चार पुगेको हो गम्भिर घाइते भएका चालक श्रीमलको काठमाण्डौ स्थित ट्रमा सेन्टरमा उपचारका क्रममा बुधबार विहान मृत्यु भएको हो ।   जिल्ला अस्पताल धादिङबेशीमा प्रारम्भिक उपचार पछि आईतबार दिउँसो थप उपचारका लागि घाईते ६ जनालाई हेलिकप्टरबाट र एक जनालाई एम्बुलेन्स मार्फत काठमाण्डौं लगिएको थियो ।   काठमाण्डौंमा उपचार गराईरहेका मध्ये १२ बर्षिय प्रितम मजकोटीको सोमबार राती उपचारकै क्रममा केएमसी सिनामंगलमा मृत्यु भएको थियो भने एक जनाको घटना स्थलमा र अर्का एक जनाको जिल्ला अस्पताल धादिङमा उपचारका क्रममा आईतवार नै मृत्यु भएको थियो ।   मृतक र घाईते सबै पतेनी टोलकै हुन् । मृत्यु हुनेमा एकै घर परिवारका तीनजना रहेका छन् । घाइते मध्ये अहिले ट्रमा सेन्टरमा उपचार भईरहेकाहरुमा ३५ बर्षिया हिरा रम्तेल, ११ वर्षीय सुजन रम्तेल, १४ वर्षीय सुजित मजकोटी, ११ वर्षीय बिमल मजकोटी र १३ वर्षीय कृष्ण रम्तेल रहेका छन् ।   गत आईतवार गाई बस्तुको मोल बोकेर खाल्टेको पतेनी टोलबाट पतेनीवेशीतर्फ जाँदै गर्दा बा ३ ख ८९४७ नम्वरको मिन ट्रक दुर्घटनामा परेको हो ।   ट्रक सडकबाट करिव पचास मिटर तल खोल्सामा खस्दा सो दुर्घटना भएको हो ।

काठमाडौंः  परम्परागत विश्व कविता लेखक सङ्गठन (टिपिडब्ल्युएडब्ल्यु)को चौथो अन्तर्राष्ट्रिय कवि सम्मेलन नेपालमा आयोजना गरिएको छ ।   सम्मेलनमा नेपाललगायत दक्षिण कोरिया, चीन, बेलायत र अमेरिकाका कविहरूको सहभागिता थियो ।   उक्त सम्मेलनका अवसरमा नेपालका तीनजना कविहरू क्रमशः भुवनहरि सिग्देल, सीताराम अधिकारी र प्रह्लाद पोख्रेललाई ‘येउ सुङ ग्यो’बाट सम्मान गरिएको थियो ।   सम्मेलन टिपिडब्ल्युएडब्ल्यु सभापति कोरियाली कवि किम बोङ गुन र नेपाल शाखाका सभापति प्राध्यापक रामकुमार पाँडेको संयुक्त अध्यक्षतामा भएको थियो ।   सम्मेलनमा विभिन्न देशका परम्परागत कविताबारे कार्यपत्र प्रस्तुतिका साथै हाइकु र छन्दोबद्ध संरचनाका कविता पनि वाचन गरिएका थिए ।  

सल्यान:    राप्ती राजमार्गअन्तर्गत  दाङ-रुकुम खण्डको थारमारेमा बस दुर्घटना भएको छ। दाङको घोराहीदेखि रुकुमकोट जादै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस सल्यान बागचौर नगरपालिका वडा नं।२ थारमारे ठिनवाङ खोला पुल नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परि केही यात्रु घाइते भएका छ्न । घाइतेको जनप्रिय पोलिकिल्निक र सहज पोलिकिल्निक बागचौरमा उपचार भइरहेको छ। घटनाको थप बिबरण आउन बाकी रहेको छ।

पोखरा:     यूनाइटेड क्लबले १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथो दिन मंगलबार पोखरा १७ महतगौंडामा रहेको जानकी माविमा अध्ययनरत छात्रालाई लक्षित गरी सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको छ ।   भेन्डिङ मेसिन वितरण गर्दै पोखरा महानगरपालिका वडा नम्बर १७ का वडा सदस्य शिवराम भण्डारीले विद्यालयमा छात्राहरुलाई भेन्डिङ मेसिनले प्याड वितरणमा मितब्यायीता कायम गर्ने बताए । छात्राहरुले महिनावारीको वेलामा अझैपनि आफ्नो समस्याहरु खुलेर भन्न नसक्ने अवस्था आइरहदा अत्याधुनिक मेसिनबाट आफैले प्याड झिक्न सकिने भएकाले पनि यसले छात्राहरुको पढाइलाइ थप उर्जा दिने उनको भनाइ रहेको थियो । विद्यालय ब्यवस्थापन समितिका सदस्य हरि प्रसाद बासतोलाले सेनेटरी प्याड भेन्डिङ मेसिनको मूल्य भन्दा महत्व बढी रहेको बताउदै जानकी माविमा अध्ययनरत विद्यार्थीहरुले सिक्दै कमाउदै कार्यक्रम मार्फत बांसका सामाग्रीहरु निर्माण गर्दै आइरहेको र त्यसको उपयोग र बजारीकरणका लागि यूनाइटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सवमा स्टल राखेर त्यसको प्रवद्र्धन गरिदिन समेत आग्रह गरे । यूनाइटेड क्लबका पुर्व अध्यक्ष सुक बहादुर गुरुङले यूनाइटेड क्लब १४ औं वर्ष सम्म आइपुग्दा पोखरा महानगरको ३३ वटै वडाका विभिन्न विद्यालयहरुमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिसकेका बताए । स्थापनाकालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको क्षेत्रमा काम गर्दै आईरहेकोमा यसपटक पोखरा १७ महतगौडामा रहेको जानकी माविमा अध्ययनरत छात्राहरुलाई लक्षित गरि प्रदान गरिएको सेनेटरी प्याड भेन्डिङ मेसिनले छात्राहरुको स्वास्थ्य संगै अध्ययनमा  सहायता पुग्ने विश्वास ब्यक्त गरे । विद्यालयका प्रध्यानाध्यापक अर्जुन कंडेलले यूनाइटेड क्लबले प्रदान गरेको भेन्डिङ मेसिन मार्फत विद्यालयमा अध्ययनरत छात्राहरुले महिनावारीको समयमा आवश्यक पर्ने सेनेटरी प्याड सहजै प्राप्त गर्न सक्ने भएकाले छात्राहरुलाई कुनै झण्झट ब्योहर्न नपर्ने र उनीहरुको पढाइलाई समेत सहायता पुग्ने वताउदै यूनाइटेड क्लबको सामाजिक कामको प्रशंसा गरे । सो अवसरमा बोल्दै क्लबका कार्यसमिति सदस्य तथा सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण कार्यक्रमका संयोजक जयराम आचार्यले नेपालमै बनेको अत्याधुनिक भेन्डिङ मेसिन खरिद गरी विद्यालयलाई हस्तान्तरण गर्न पाउदा खुसी लागेको वताए । मेसिनको संरक्षण गर्न तर्फ समेत विद्यालय परिवारलाई उनको आग्रह रहेको थियो । यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले यूनाइटेड क्लवले सेती नदी संग जोडिएका वडाहरु संग सहकार्य गरेर आफुहरु सेती नदीमा पर्यटकीय गन्तब्य स्थल निर्माण गर्न तयार रहेको बताउदै त्यसका लागि पोखरा महानगरपालिका वडा नम्बर १७ संग समेत सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ रहेको थियो । 

दाङ:     दाङका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर मनग्य आम्दानी गर्दै आएका छन् । विशेष गरी हस्तकलाका विभिन्न सामग्री बनाएर उनीहरू आकर्षक आम्दानी गर्न सफल भएका हुन् । हस्तकलाका सामग्री उत्पादनका माध्यमबाट आयआर्जनका गतिविधिमा जोडिएपछि घर चलाउन सहजतासँगै बचतसमेत गर्ने गरेको लमही नगरपालिका–५ निवासी सरिता चौधरी बताउँछिन् । हस्तकलासम्बन्धी मेरी हस्तकला उद्योग स्थापना गरेर व्यवसाय गर्दै आएकी चौधरीले कला, संस्कृतिको संरक्षणसँगै आफूजस्ता महिलाका लागि आम्दानीको स्रोत बनेको बताइन् । हस्ताकलाका सामग्री उत्पादन गरेर आम्दानी गर्दै आएकी चौधरीले थारू समुदायसँग सम्बन्धित हस्तकलाका सामग्री खपत राम्रो हुने भएकाले बनाउन सके महिनामा १५–२० हजार रुपैयाँ सजिलै कमाउन सकिने बताइन् । हस्तकला व्यवसाय नगर्दा घरको काम सकेर फुर्सदिलो भएर बस्नुपर्ने भए पनि काम सुरु गरेपछि पछिल्लो समय फुर्सद नहुने गरेको बताइन् । उनले गमला, ढकिया, टोकरी, पेनहोल्डर, हटकेस, थाल टोकरी, ट्रेलगायतका सामग्री बनाउँदै आएकी छिन् । सरिताजस्तै सुमित्रा चौधरी पनि हस्तकलाका सामग्री उत्पादन गरी आम्दानी गर्दै आएकी छिन् । तीन वर्षअघि सीप सिकेर हस्ताकलाका सामग्री उत्पादनमा लागेकी सुमित्राले महिनामा २० हजारसम्म कमाउने गरेको बताइन् । घरको काम गरेर बचेको फुर्सदको समयमा आफूले सामग्री बनाएर बिक्री गर्ने गरेको बताइन् ।  उनका अनुसार काठमाडौँमा धेरै बिक्री हुने सामग्री मागअनुसार उत्पादन गर्दै आएको बताइन् ।

काठमाडौं:    एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण अन्तर्गत आज नेपालले साउदी अरबसँग खेल्दैछ । समूह चरणको अन्तिम खेल आज नेपाल र साउदी अरबबीच हुन लागेको हो । नेपाल र साउदी अरेबियाबिचको खेल नेपाली समय अनुसार बिहान ११:४५ बजे सुरु हुनेछ । नेपाल अहिलेसम्म अपराजित बन्दै सेमीफाइनलमा पुगिसकेको छ । यो खेलमा हार वा जितले नेपालको अघिल्लो यात्रामा कुनै फरक पर्ने छैन ।।

पोखरा:    नेपाली साहित्य क्षेत्रमा ‘प्रकट दाइ’ का रूपमा परिचित साहित्यकार प्रकट पङ्गेनी ‘शिव’को मंगलबार दिउँसो निधन भएको छ। पङ्गेनीको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो।  बुधबार दिउँसो सवा १२ बजे मणिपाल शिक्षण अस्पतालबाट शवयात्रासहित सेती नदीको फूलबारी घाटमा पगेनीको दाहसंस्कार गरिने भएको छ। ६८ वर्षीय पङ्गेनी निमोनिया लगायतका समस्याबाट पीडित थिए ।  सोमबार साँझबाट मणिपाल शिक्षण अस्पतालको भेन्टिलेटरमा राखी उनको उपचार भएको थियो। कास्कीको रुपा गाउँपालिकाको देउराली घर भए पनि उनी लामो समयदेखि पोखराको बाटुलेचौरमा बस्दै आएका थिए ।  पङ्गेनीका जुनको चिठी जुनालाई, प्रणय वेदका ऋचाहरू लगायतका कृति प्रकाशित छन्। उनको परिवारमा पत्नी, छोरा र छोरी छन् ।  

बैतडी:     भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि बन्द हुने भएको छ ।  भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो । अप्रिल १९ तारिख (वैशाख ७ गते) उत्तराखण्ड राज्यमा लोकसभाका लागि निर्वाचन हुँदैछ । उक्त निर्वाचनलाई मध्यनजर गर्दै आज साँझ ६ बजेदेखि वैशाख ७ गते साँझ ७ बजेसम्म झुलाघाट नाका बन्द रहने प्रजिअ शर्माले बताउनुभयो । सीमा बन्द रहेको अवधिमा आकस्मिकरुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ ।  नाका बन्द गर्नका लागि भारतीय अधिकारीसँग यसअघि नै समन्वय भइसकेको छ । कुनै देशमा चुनाव हुँदा  सीमा बन्द गर्ने चलन छ ।

बर्दियाः  सशस्त्र प्रहरीले बर्दियाको सीमा इलाकाबाट करिब २३ किलो चरेशसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी नयाब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार पक्राउ पर्नेमा रुकुम पश्चिमको सानोभेरी गाउँपालिका–५ स्थायी वतन भएका वर्ष ३४ का बमबहादुर पुन छन् ।   मङ्गलबार बिहान ३ः४५ बजे बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–२ फुटाहास्थित सीमा इलाकामा शङ्कास्पद हर्कत गरिरहेका पुनलाई शङ्का लागी चेकजाँच गर्दा उनको साथमा रहेको दुई वटा झोलाबाट प्लास्टिकले बेरेको ३९ वटा प्याकेटमा रहेको करिब २३ किलो लागू औषध चरेश सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) फुटाहा बर्दियाले बरामद गरेको हो ।   पुन उक्त समानसहित नेपालबाट भारततर्फ जान लाग्दा पक्राउ परेका हुन् । पुनलाई बरामद सामानसहित थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।