पोखरा: यूनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणी लेखनाथ आधारभुत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । क्लबको १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन सोमबार पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणी लेखनाथ आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी शैक्षिक सामग्री वितरण गरेको हो । शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं २७ का अध्यक्ष पूर्ण कुमार गुरुङले यूनाइटेड क्लब जस्ता पोखरामा सयौंको संख्यामा क्लबहरु रहेको र उनीहरुले मेला महोत्सव आयोजना गर्ने गरेको भएतापनि सामाजिक क्षेत्रमा कुनै काम नगरेको बताउदै यूनाइटेड क्लबले पोखराको अमरसिंहमा स्थापना भएतापनि पोखरा र आसपासमा कार्यक्षेत्र बनाइ प्रतिफल योग्य काम गरेको बताए । यूनाइटेड क्लबले आफ्नो बहुप्रतिक्षित योजना अन्तर्गत पोखरा २७ अर्चलेमा जेहेन्दार बिद्यार्थीहरुलाई लक्षित गरी निर्माण गर्न लागेको आवाशिय छात्राबास निर्माणको लागि वडाको तर्फबाट सक्दो सहयोग गर्ने र आगामी वर्ष उक्त निर्माणस्थलमा पक्की बाटो निर्माण गरिदिने प्रतिवद्धता समेत ब्यक्त गरे । अध्यक्ष गुरुङले अर्चलेमा जन्मेर विभिन्न ठाँउमा बसोबास गर्नेहरुले कवि शिरोमणी आधारभुत विद्यालयको स्तरोन्नतीको लागि सहयोग गर्न समेत आग्रह गरे । यूनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरामा स्थापना भएको यूनाइटेड क्लबले स्थापना कालदेखीनै पोखराको साविक लेखनाथ क्षेत्रलाईनै मुख्य आधार बनाइ काम गर्दै आइरहदा हाल सम्म क्लबले ८० प्रतिशत रकम लेखनाथ क्षेत्रमा खर्च गरिसकेको वताउदै लेखनाथमा चिडियाखाना बाट शुरु गरि विभिन्न विद्यालय हुँदै आफ्नै जग्गा खरिद गरि आवाशिय छात्राबास निर्माणको चरणमा पुगेको बताए । त्यस्तै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बसन्त पौडेलले यूनाइटेड क्लबले विद्यालयको नयाँ सेसन शुरु हुने वेलामा विद्यालयमा अध्ययनरत विद्यार्थी हरुलाई आवश्यक रहेको शैक्षिक सामाग्री प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे । विद्यालयका प्रध्यानाध्यापक गुरु प्रसाद सापकोटाले गरिबका छोराछोरी अध्ययन गर्ने सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री प्रदान गरि यूनाइटेड क्लबले ठुलो सहयोग गरेको बताउदै सामुदायिक विद्यालयलाई सहयोग दाता नपाएको खण्डमा विद्यार्थी लाई पढाउन गार्हाे हुने बताए । सो अवसरमा बोल्दै यूनाइटेड क्लबका प्रथम उपाध्यक्ष तथा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमका संयोजक गणेश तिमिल्सिनाले यूनाइटेड क्लबले स्थापना कालदेखीनै वार्षिकोत्सवको अवसरमा सप्ताहब्यापी कार्यक्रम गर्दै आइरहेको र यो पटक लेखनाथको अर्चलेमा रहेको कवि शिरोमणी लेखनाथ आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी शैक्षिक सामाग्री वितरण गर्न पाउदा खुसी लागेको बताए । सो अवसरमा पोखरा महानगरपालिका २७ बस्ने महेन्द्र पौडेल र उनका आमा देवी माया पौडेलको नाममा स्वर्गीय वुवा माधव प्रसाद पौडेको सम्झनामा १ लाख १ हजार १ सय ११ रुपैयाको अक्षयकोष र यूनाइटेड क्लबका सल्लाहकार रमेश बहादुर कार्की एवं बुहारी सुमित्रा कार्कीले स्वर्गीय बुवा पूर्व प्रधानपन्च रुद्र बहादुर कार्कीको सम्झनामा ५१ हजार १ सय ५१ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन । अक्षयकोषको रकम हस्तान्तरण गर्दै पोखरा २७ का महेन्द्र पौडेलले आफु अध्ययन गरेको विद्यालयमा अध्ययनरत भाइबहिनीहरुको शैक्षिक स्तरोन्नतीको लागि केही गर्नुपर्छ भनेर आफ्नो वुवाको सम्झनामा अक्षयकोष स्थापना गरेको बताए । त्यस्तै अर्का अक्षयकोष दाता रमेश बहादुर कार्कीले अर्चलेमा आफु विभिन्न कामको शिलशिलामा आउदा विद्यालयको वारेमा जान्ने बुझ्ने मौका पाएको र पुरानो विद्यालय भएतापनि अर्चलेका मानिसहरु शहर बसाइ सर्ने र गांउको विद्यालयको लागि कोही कसैले सहयोग गरेको नपाएपछि उनीहरुलाई झक्झक्याउनका लागि अक्षयकोष स्थापना गरेको बताए । आफ्नो ठांउको हरेक क्षेत्रको बिकासको लागि आफुहरुनै लाग्नुपर्ने अर्काको आश भरोसा गर्न नहुने बताउदै अर्चले बासीले पुरानो ऐतिहाँसिक विद्यालयको संरक्षणमा लाग्न समेत उनले आग्रह गरे । यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले सरकारले विदेशमा जसरी सामुदायिक विद्यालयमा चासो दिएको खण्डमा कोही कसैको आस भरोसा नगरी सामुदायिक विद्यालयहरु सञ्चालन हुने वताउदै सरकारी निकायले यसतर्फ ध्यान दिन जरुरी रहेको बताए ।
पोखरा: मिस नेपालको पोखरा अडिसन भोलिदेखि सुरु हुने भएको छ । ‘मिस नेपाल २०२४’ को चितवन अडिसन सम्पन्न भएसँगै पोखरामा भोलिदेखि अडिसन लिन लागेको हो । पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था द हिडन ट्रेजरका प्रमुख दिवाकर राजकर्णिकारले क्षेत्रीय ओरिन्टेसन र अडिसन वाटरफ्रन्ट रिसोर्टमा भोलि ३ बजेबाट सुरु हुने जानकारी दिए । पत्रकार सम्मेलनमा मिस नेपाल सृच्छा प्रधान र मिस नेपाल अर्थ रैना मजगैयाँ पनि सहभागी थिए । हिडन ट्रेजरका प्रमुख राजकर्णिकारले आवेदन खुला भएको जनाउँदै योग्य र इच्छुक युवतीलाई प्रतिस्पर्धामा सहभागी हुन आग्रह गरे । व्यक्तित्व विकास र सशक्तीकरणको लागि मिस नेपालजस्ता प्लाटफर्मले भूमिका खेल्ने उनले बताए । मिस नेपाल सृच्छा र मिस नेपाल अर्थ रैनाले अनुभव सुनाउँदै प्रतिस्पर्धामा आउन युवतीलाई आग्रह गरे। मंगलबार र बुधबार पोखरा अडिसन हुने र छुटेकाले मे १८ मा काठमाडौंमा हुने अडिसनमा सहभागी हुन पाउने हिडन ट्रेजरले जनाएको छ । पोखरासंगै , २२ अप्रिलमा नेपालगञ्ज, २४ अप्रिलमा सुर्खेत, २८ अप्रिलमा वीरगञ्ज, ५ मेमा बिर्तामोड, ७ मेमा इटहरी, १२ मेमा भैरहवा र १८ मेमा काठमाडौंमा अडिसन हुँदैछन् । ४ र्मे जेठ १ गतेसम्मै इच्छुक युवतीले आवेदन दिन सक्ने जनाइएको छ । अडिसनबाट छनोट भएकाले फिनालेको लागि प्रशिक्षण तयारीमा भाग लिनेछन् । आगामी अगस्ट ३ मा गोदावरीको सनराइज कन्भेसन सेन्टरमा फिनाले हुने हिडन ट्रेजरले जनाएको छ । यस्तै पोखरा अडिसनलाई पोखरा जेसीजले समन्य गरेको छ। पोखरा जेसीजका अध्यक्ष जेसी देवराज शर्माले सामाजिक क्रियाकलाप अन्तर्गत मिस पोखरा यही बर्ष आयोजन गर्ने पनि बताए। भोलिको अभिमुखीकरण कार्यक्रम र अडिसनलाई भव्य बनाउने गरि कार्य गरेको कार्यक्रम संयोजक(जेसी किसान सुनारले जनाए।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले फेवातालका डुङ्गा चालकहरुको मापसे जाँच गरेको छ । पोखरा महानगरपालिका–६ लेकसाइड बाराही घाटमा आज (सोमवार) फेवातालका डुङ्गा व्यवसायी तथा चालकहरुसँग अन्तरक्रिया कार्यक्रमसँगै २५ जना डुङ्गा चालकको मापसे जाँच गरिएको हो । फेवातालका २५ जना डुङ्गा चालकको मापसे जाँच गर्दा एकजनाले मादक पदार्थ सेवन गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना र वडा प्रहरी कार्यालय बैदामको सहकार्यमा फेवातालका डुङ्गा व्यवसायी र चालकहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
पोखरा: पोखरामा स्वीकृति बिना नै माटो ओसारपोसार गर्ने ४ वटा टिप्परलाई प्रहरलिे नियन्त्रणमा लिएको छ । अवैध रुपमा पामेबाट माटो लिएर राष्ट्रबैंकचोकतर्फ आउँदै गरेको ४ वटा टिप्परलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा आवश्यक कागज तथा स्वीकृती नलिई अबैध रुपमा माटो ओसार पसार गरी रहेको अवस्थामा ग १ क ४१६०, ग १ क ४२८६, ग १ क ४२९४ र ग १ क ४०८९ नं. को टिप्परलाई फेलापारी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । नियन्त्रणमा लिइएको टिप्परहरुलाई आवश्यक अनुसन्धान एंव कारवाहीको लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाईएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: कास्कीका माछापुच्छ«े गाउँपालिका घर भएका जगत पुन सेती नदीमा मृत फेला परेका छन् । बैशाख १ गतेदेखि हराइरहेका जगत पुन आज (सोमबार) सेती नदीमा मृत फेला परेका हुन् । कास्कीका माछापुच्छ«े गाउँपालिका–१ करुवा बस्ने अन्दाजी २५ वर्षीय जगत पुन वैशाख १ गतेदेखि कसैको सम्पर्कमा नआएपछि आफन्तले खोजतलाज गर्ने क्रममा आज सेती नदी किनारामा उनको कपडा देखेपछि प्रहरीलाई खवर गरेका थिए । खोजतलाज गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण पोखराबाट खटिएको सशस्त्र प्रहरी बल तथा गोताखोर टोलीले जगत पुनलाई मृत फेला पारेको थियो । शवलाई स्थलगत मुचुल्का तयार गरेर पोष्टमार्टमको लागि मणिपाल शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को तेस्रो खेलमा हङकङलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । अल अमेरत मैदानमा जितका लागि १ सय १५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाउँदै १३ औं ओभरमा लक्ष्य पूरा गर्यो । सुरुवाती जोडीले आक्रामक सुरुवात दिलाएपछि नेपालले प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गर्न सफल भएको हो । यस जितसँगै नेपाल ३ खेलमा ६ अंक जोड्दै सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले अन्तिम खेल बुधबार साउदी अरबसँग खेल्नेछ । हङकङ भने ३ खेलमा २ अंकका साथ प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ । नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ७० रनको आक्रामक साझेदारी गरे । कुशलले छैटौं ओभरको तेस्रो बलमा एलबीडब्लु आउट हुनुअघि १९ बलमा ३२ रन जोडे । उनले ३ चौका र २ छक्का प्रहार गरे । आसिफ पनि अर्को ओभरमा पेभेलियन फर्किए । उनले १८ बलमा समान ३(३ चौका र छक्कासहित ४० रनको योगदान दिए । कप्तान रोहित पौडेल २५ रन र सन्दीप जोरा १९ रनमा नटआउट रहे । हङकङका यासिम मुर्तजा र एहसान खानले १÷१ विकेट लिए । त्यसअघि टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएको नेपालले उत्कृष्ट बलिङ र फिल्डीङ प्रदर्शन गर्यो । वर्षाका कारण केही ढिलो सुरु भएको खेल १८ ओभरमा झारिएको थियो । तर हङकङ इनिङको १ बल बाँकी रहँदै १ सय १४ रनमा अलआउट भयो । ओपनर मार्टिन कोट्जीलाई ८ रनमा तेस्रो ओभरमा गुमाएको हङकङले त्यसपछिको दुई विकेट भने रनआउटमा गुमायो । दीपेन्द्रसिंह ऐरीले निजाकत खानलाई सिंगल लिने धुनमा रनआउट गरे । उनले ११ बलमा १२ रन जोडे । त्यसपछि राम्रो खेलिरहेका अंशुमन रथलाई गुलशन झाले डिप बाउन्ड्रीबाट डाइरेक्ट थ्रोमा रनआउट गरे । उनले २६ बलमा ४ चौका र १ छक्कासहित ३४ रनको योगदान दिए । त्यसपछि हङकङले नियमित विकेट गुमायो । अंशुमन हुँदा एक समय ६१(२ को अवस्थामा रहेको हङकङ त्यसपछि भने सस्तोमा समेटियो । हङकङका लागि जिशान अलीले १४, बाबर हायात ६, एजाज खान ७ र यासिम मुर्तजा २ रनमा आउट भए । नसरुल्ला रानाले ६ तथा एहसान खानले ११ रन बनाए । धनन्जय राव पहिलो बलमा बोल्ड भएका थिए । नेपालका लागि अभिनाश बोहोराले ३ तथा ललित राजवंशीले एक मेडनसहित २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले अन्तिम २ बलमा २ विकेट तथा करण केसीले १ विकेट हात पारे । आज समूह बी अन्तर्गत खेलमा ओमान र यूएई तथा कुवेत र बहराइन भिड्दैछन् ।
काठमाडौं: नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ब्रेक ‘थ्रू’ भएको छ । आज एक औपचारिक कार्यक्रमका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुङ आरपार भएको घोषणा गर्नु भएको हो । दुवै तर्फ छेडिएको सुरुङ मार्गको औपचारिक ब्रेक थ्रुका लागि आज कार्यक्रम आयोजना गरिएको थियो ।औपचारिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागि हुने कार्यक्रम रहेको छ । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ६७ मिटर रहेको छ । आयोजनाको ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ ।आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने जनाइएको छ । आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ । त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान ,अक्सिजन पाइप जडान लगायतका काम बाँकी नै रहेको आयोजनाले जनाएको छ ।
तनहुँः राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरमा अवस्थित ऐतिहासिक खड्गकालिका मन्दिरको आज उद्घाटन गर्नुभएको छ । सप्ताहव्यापी विश्वसम्पदा दिवसका अवसरमा आज तनहुँमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले उक्त मन्दिरको उद्घाटन गर्नुभएको हो । पुरातत्व विभागको आर्थिक सहयोगमा वि. सं २०७८ चैतदेखि पुनर्निर्माण सुरु भएको ऐतिहासिक महत्वको मन्दिर उद्घाटनका लागि पौडेल आजै गृह जिल्ला आइपुग्नुभएको थियो । कार्यक्रममा संविधानसभाका सदस्य रामचन्द्र पोख्रेल, गण्डकी प्रदेशसभाका सदस्य अशोककुमार श्रेष्ठ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायत सहभागी हुनुहुन्थ्यो । सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले शासन गरेको तनहुँसुरमा जीर्ण अवस्थामा रहेको खड्गकालिका मन्दिर रु ५० लाखको लागतमा पुनर्निर्माण सुरु गरिएको थियो । तनहुँसुरमा रहेको दरबारको वि. सं २०७६ मा पुरातत्व विभागले उत्खनन् गरेको थियो । सोही दरबारको नजिकै रहेको खड्गदेवी मन्दिरको पुनर्निर्माण गरिएको हो । जीर्ण अवस्थामा रहेको मन्दिर पुरानै शैलीमा पुनर्निर्माण गरिएको वडाध्यक्ष दलबहादुर दुराले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त मन्दिरमा तत्कालीन सेन वंशीय राजाले पूजाआजा गर्ने गरेको किंवदन्ती छ । खड्गकालिकाको शेषका रुपमा तनहुँको व्यास–४ दमौलीमा पनि तनहुँ कालिका मन्दिर निर्माण गरिएको छ । तनहुँ जिल्लाको नाम तनहुँसुरबाट अप्रभंस भएर रहेको भन्ने किंवदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका आठ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ । तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरु, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्यायनिसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिंढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैँचा, भगवती पानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन् ।
पोखरा: पोखरा महानगरपालिका–१५ नयाँ गाउँमा प्रभु बैंक लिमिटेडले शाखा विस्तार गरेको छ । नयाँ गाउँमा शाखा विस्तार गर्दै प्रभु बैंकले गण्डकी प्रदेशमा ५४ औं शाखा सञ्चालनमा ल्याएको हो । प्रभु बैंक नयाँ गाउँ शाखाको उद्घाटन प्रभु बैंक गण्डकी प्रदेशका व्यावसायिक केन्द्र अधिकृत शान्ति शेरचनले गरिन् । प्रभु बैंक लिमिटेडको नयाँ गाउँमा शाखा विस्तार गर्दै देशभर ३ सय २ औ शाखा सञ्चालन गर्न सफल भएको छ । नयाँ गाउँ शाखाको उद्घाटनपछि बोल्दै प्रभु बैंक गण्डकी प्रदेशका व्यावसायिक केन्द्र अधिकृत शेरचन गौचनले सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैैंकिङ सेवा विस्तार गर्ने लक्ष्य अनुरुप नयाँ गाउँमा शाखा विस्तार गरेको बताईन् । ‘सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गर्ने लक्ष्य सहित पोखराको नयाँ गाउँमा शाखा विस्तार गरेका छौं’, शेरचनले भनिन्, ‘देशको आर्थिक विकासमा सकारात्मक टेवा पु¥याउन बैंकिङ क्षेत्रको योगदान छ, आशा छ तपाईहरुले हामीलाई अझै विश्वास गर्नुहुनेछ ।’ पोखरा महानगरपालिका–१५ का वडाध्यक्ष तोरण बाँनियाले वडाभित्र नै बैंकको शाखा विस्तार हुँदा सर्वसाधारणदेखि स्थानीयहरुलाई बैंकिङ कारोवारमा सहज हुने बताए । प्रभु बैंक गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले सबल अर्थतन्त्र बिकासको सहयात्री, अग्रणी बाणिज्य बैंकको यो शाखाले समाजको प्रत्येक सदस्यलाई उत्कृष्ट गुणस्तर सहितको वित्तिय उत्पादन तथा सेवाहरु उपलब्ध गराएर आर्थिक समृद्धिको लागि योगदान दिनेमा बिश्वास लिएको बताए । प्रभु बैंक लिमिटेडले पोखराको बगर, हरिचोक, रत्नचोक, अघौंचोक, बाजापाटन, तालचोक, विरौटा, न्यूरोड र नयाँ गाउँमा शाखा सञ्चालन ल्याएको छ । यस्तै बैंकले कास्कीको माछापुच्छ«े गाउँपालिकामा समेत शाखा विस्तार छ ।

