पोखरा:    कास्कीको अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) स्थित पिसफूल लज एण्ड रेष्टुरेन्टमा आगलागी भएको छ ।   स्थानीय पर्यटन व्यवसायी मिकास गुरुङका अनुसार मंगलबार करिब साढे ४ बजे ग्यासको...

बागलुङ:      चैत्राष्टमी मेलाको अवसरमा आयोजित कालीका कप भलिबल प्रतियोगिताको उपाधि विभागिय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । बिहिबार भएको फाइनल खेलमा आर्मीले बागलुङ घुम्टे रेष्टुरेण्टलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो । चार भारतीय खेलाडी सहित मैदान प्रवेश गरेको घुम्टेका विरुद्धमा आर्मीका खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । आर्मीले पहिलो सेट २५–१८ ले जित निकालेको थियो । दोस्रो सेटमा सुरुवातदेखि अग्रता लिएको आर्मीले सहज रुपमा २५–१२ ले जित्यो । तेस्रो सेटमा केही प्रतिस्पर्धा बनेपछि अन्तिम समयमा २५–२२ ले जित निकाल्दै आर्मीले उपाधि रक्षा गर्यो । यस्तै बिहिबार नै भएको तेस्रो स्थानको खेलमा कस्तुरी युवा क्लबले कालिका युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । कस्तुरी युवा क्लबले २५–२१, २५–२२ र २५–१२ ले आफ्नो पक्षमा पार्यो । उपाधि जितेको आर्मीले नगद ३ लाख रुपैयाँ, उपविजेता बागलुङ घुम्टे रेष्टुरेण्टले १ लाख ५० हजार रुपैयाँ र तृतीय भएको कस्तुरी युवा क्लबले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । यस्तै विधागत पुरस्कारमा पनि आर्मीका खेलाडीको वर्चस्व रह्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीका शरण सामरी क्षेत्री बनेका छन् । यस्तै आर्मीका धनपति कुँवर उत्कृष्ट स्पाइकर, कप्तान हरि बहादुर भण्डारी उत्कृष्ट ब्लकर, सम्राट भण्डारी उत्कृष्ट सेटर र नरेन्द्र गिरी उत्कृष्ट प्रशिक्षक बनेका छन् । यस्तै उत्कृष्ट सर्भर बागलुङ घुम्टेका राजनेश सिंह र उत्कृष्ट डिफेन्डर कस्तुरी युवा क्लबका निरज थापा घोषित भए ।

काठमाडौं:     राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका छन् ।  राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेको राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा उल्लेख छ । गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा शाक्यलाई मनोनीत गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो ।  नेपालको संविधानको धारा ८६ को उपधारा २ (ख)मा राष्ट्रियसभामा सरकारको सिफारिसमा कम्तीमा एक महिलासहित तीन जना मनोनीत गर्ने व्यवस्था छ ।

धनुषा:     जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।  उनका अनुसार युवतीको शव नजिकै एक बालिकाको जीवितै उद्धार गरिएको थियो । “स्थानीयले खबर गरेपछि कपिलेश्वर महादेव मन्दिरदेखि अन्दाजी पाँच सय मिटर दक्षिणतर्फ पोखरीको छेउमा एक युवतीको जल्दै गरेको शव र अन्दाजी आठ महिनाको बालिकाको जीवितै उद्धार गरिएको छ”, उनले भने ।  उनका अनुसार जीवितै उद्धार गरिएकी बालिकाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुने युवती महोत्तरी मनरासिसवाका अन्दाजी २२ वर्षीया प्रियंका महतोको रहेको डिएसपी अवाले बताए । युवतीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ । 

काठमाडौं:     सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो । तामाङको शव केही दिनअघि राजधानी लिस्बनको तेरेइरो डो पासोस्थित फेरि टर्मिनल नजिकैको समुद्री किनारमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष एवं नेपाली पत्रकार प्रबल भट्टराईले जानकारी दिए । शव भेटिए पनि उनको पहिचान बुधबार मात्र खुलेको थियो । बेपत्ता उनको खोजी भइरहेको थियो । गत अप्रिल ६ मा मोन्तिजोस्थित समुद्रमा सामुद्रिक खाना (सि फुड) खोज्ने क्रममा टेकबहादुर बेपत्ता भएका थिए भने उनीसँगै समुद्रमा गएका धादिङ नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको समुद्रमा डुबेर मृत्यु भएको थियो । परिवारको आग्रहमा दुवै जनाको शव नेपाल पठाउन लागिएको र यसका लागि कागजीलगायतका आवश्यक प्रक्रियाको तयारी भइरहेको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलकी वरिष्ठ उपाध्यक्ष एवं विपद् व्यवस्थापन उपसमितिकी संयोजक दीपा काफ्लेले जानकारी दिए । वैदेशिक रोजगारीको सिलसिलामा चार महिनाअघि क्रोसिया आएका टेकबहादुर एक महिनाअघि मात्रै पोर्चुगल आएका थिए भने धनबहादुर फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए । नाताले काकाभतिज पर्ने दुवै जना लिस्बन नजिकैपर्ने मोन्तिजोमा सँगै बस्दै आएका थिए । अहिले यी दुवैको शव लिस्बनस्थित साओ जोसे अस्पतालमा राखिएको छ ।

ताप्लेजुङः  ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ । यहाँको मुख्य नदी तमोरमा १६ वटा आयोजना निर्माणाधीन छन् । विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा निर्माणाधीन छन् ।    ती आयोजनाबाट एक हजार छ सय ५४ दशमलव ५१ मेगावाट बिजुली उत्पादन हुनेछ । मिक्वाखोला गाउँपालिका हुँदै बग्ने मेवाखोलाबाट चार जलविद्युत आयोजना निर्माणाधीन छन् । मेवाखोलामा निर्माण भइरहेका आयोजनाबाट एक सय ७८ दशमलव ४२ मेगावाट विद्युत् उत्पादन हुनेछ । काबेली खोलामा चार वटा आयोजना निर्माण भइरहेका छन् ।    ती आयोजनाबाट ९५ दशमलव ४३ मेगावाट बिजुली उत्पादन हुनेछ । यसै गरी, पालुङखोलामा निर्माणाधीन दुई आयोजनाबाट ५१ मेगावाट विद्युत् उत्पादन हुनेछ । सोना खोलामा हिमाली हाइड्रोपावरले नौ मेगावाट बिजुली उत्पादनका निम्ति प्रारम्भिक चरणका काम पूरा गरेको छ । सिदिङ्वा गाउँपालिका–१ इवा खोलामा तीनजुरे हाइड्रोपावरले चार दशमलव ६ मेगावाट क्षमताको आयोजनालाई द्रुतगतिमा अघि बढाएको छ । 

काठमाडौंः  सरकारले आज वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ ।   भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ ।   भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने तयारी गरिएको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।   भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटाइँदै छ । कार्यक्रमसँगै सोही दिन खोप लगाउन छुटेका बालबालिका खोप पनि लगाइने छ ।   सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।  

काठमाडौं:     फिल्म ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको दोस्रो फिल्म ‘मनसरा’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।  सामाजिक कथामा आधारित फिल्मको ४ मिनेट लामो ट्रेलरमा दुई अलग समुदायका पात्रको कथा देख्न सकिन्छ । जसमा विवाहित ब्राह्मण पुरुष र लिम्बू महिलाबिचको प्रेमलाई प्रस्तुत गरिएको छ ।    कबड्डी फिल्मस् र बाँसुरी फिल्मस्ले निर्माण गरेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाँकार शैलेन्द्रध्वज कार्की हुनुहुन्छ । यस्तै, विष्णुकुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह(निर्माता हुनुहुन्छ । फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रङ संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र शुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन रहनेछ । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहनेछन् । एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्ने फिल्म आगामी वैशाख २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

काठमाडौं:     नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशनको मिति सारेको छ । बुधबार बसेको सचिवालय बैठकले यसअघि जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनेको महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको हो ।  आन्तरिक तयारी र व्यवस्थापनका कारण महाधिवेशन सार्नुपर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । उनले भने, ‘पार्टीले यही जेठ ३ गतेदेखि ७ गतेसम्म सम्पन्न गर्न लागेको १० औं राष्ट्रिय महाधिवेशन हाम्रो धेरै आन्तरिक तयारीका कारणले संगठनको तलबाट माग भएबमोजिम जिल्लाबाट जिल्लाहरुले माग गरे बमोजिम र केन्द्रले विश्लेषण गर्दा त्यसलाई उपयुक्त ठहर्‍याएअनुसार १० औं राष्ट्रिय महाधिवेशनलाई असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेका छौं ।’ यसैबीच एकीकृत समाजवादीका सबै जिल्ला कमिटीले साङ्गठनिक गतिविधिको कार्य प्रगतिको विवरण केन्द्रमा पठाएको छ । पार्टीको आगामी राष्ट्रिय महाधिवेशनको तयारी पूरा गर्न मातहतका जिल्ला कमिटीले वडादेखि सम्बन्धित कमिटीको अधिवेशन, सञ्चालन गरेका सङ्गठन सुदृढीकरण तथा सदस्य बिस्तार, प्रशिक्षणलगायतका प्रगतिको विवरणको प्रतिवेदन केन्द्रमा पठाएको सचिव जीवनराम श्रेष्ठले जानकारी दिएका छन् । महाधिवेशन प्रतिनिधि छनौटका लागि नयाँ सदस्यता थपेको विवरण अद्यावधिक गरी प्रतिवेदनका साथै महाधिवेशन केन्द्रित अभियानमा सञ्चालित राजनीतिक कार्यक्रम केन्द्रमा बुझाएको हो । त्यसको विस्तृत अध्ययन गरिएपछि यही वैशाख अन्तिम साताभित्र प्रतिनिधि चयन गरिने बताइएको छ ।

दाङ:     सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ ।  मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–४ निवासी ४६ वर्षीय विक छन् । विक सो दुर्घटनाग्रस्त बसका बसधनीसमेत थिए । बुधबार बिहान करिब ११ बजेतिर दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घाइते विकको उपचारका क्रममा बुधबार राति राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।   यो पनि पढ्नुहोस   सल्यान बस दुर्घटना अपडेट: १४ जना घाइते   दाङबाट पूर्वीरुकुममतर्फ जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुवाहक बस सल्यान बाघचौर नगरपालिका–२ ठिनबाङ खोलाको पुलबाट खसेको थियो । बस दुर्घटनामा परी २२ जना घाइते भएका थिए । तीमध्ये गम्भीर घाइते चारलाई कोहलपुर अस्पताल पठाइएको थियो । अरु घाइतेको दाङमा उपचार भइरहेको छ । सो दुर्घटनामा परी गम्भीर घाइते रहेका तीनजना यात्रुको हाल शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । सामान्य घाइते भएका अधिकांश उपचारपछि घर फर्किसकेका छन् ।