गोरखा: गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ । जिल्लाका ११ पालिकामध्ये पाँच वटा पालिकाले पालिकाभित्र सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने निर्णय गरेका हुन् । गोरखाको भीमसेन थापा गाउँपालिका, अजिरकोट गाउँपालिका, गोरखा नगरपालिका, धार्चे गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाले सूचना जारी गरेर सार्वजनिक पदमा रहेका सबैले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिइसकेका छन् । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारसँगै अभिभावक र बालबालिकाको आर्कषण बढाउन जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्यलगायत सबै सार्वजनिक पदमा रहेका व्यक्तिले बालबालिका सामुदायिक विद्यालयमा पढाउनै पर्ने निर्णय भएको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो । “सामुदायिक विद्यालयलाई व्यवस्थित र प्रभावकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चिता गर्न सहयोग पु¥याउने उद्देश्यले यस्तो निर्णय गरिएको हो”, अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले भन्नुभयो, “सार्वजनिक पदमा रहेका व्यक्तिले बालबालिका बाहिर नपठाएपछि अरुलाई पनि सामुदायिक विद्यालयमा पढाउन हौसला पुग्छ ।” बारपाक सुलिकोट गाउँपालिकाले पनि गाउँसभाको निर्णयबमोजिम सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति लागू गरेको बारपाक सुलिकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोदराज भट्टले जानकारी दिनुभयो । बारपाक सुलिकोटले चालु शैक्षिकसत्र २०८१ देखि यस्तो नीति लागू गरेको हो । गाउँपालिकाको यो निर्णयले शिक्षालाई बालमैत्री, गुणस्तरीय, प्रतिस्पर्धी र नजितामुखी बनाउन सहयोग पुग्ने विश्वास भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले व्यक्त गर्नुभयो । भीमसेन थापा गाउँपालिकाले सवै वडामा सार्वजनिक पदमा रहेका व्यक्तिका बालबालिका कुन(कुन विद्यालयमा अध्ययनरत छन् भन्ने विवरणसमेत पठाउन सबैलाई निर्देशन दिएको उहाँको भनाइ छ । भीमसेन थापा गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न ‘विद्यार्थी खोजौँ र विद्यालय बचाऔँ’ अभियानसमेत सम्पन्न गरिसकेको छ ।
मकवानपुर: मनहरी गाउँपालिका–४ माथिल्लो मसिनेस्थित मध्यवर्ती सामुदायिक वनबाट अवैध लागूऔषध गाँजा १ सय ५० किलोसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–७ बस्ने १९ वर्षीय टिकाराम प्रजा, सोही गाउँपालिका–३ बस्ने १५ वर्षीय किशोर, कैलाश गाउँपालिका–४ बस्ने २८ वर्षीय बम बहादुर चेपाङ, २७ वर्षीय हरि कुमार प्रजा, २७ वर्षीय विरमान प्रजा, मनहरी गाउँपालिका–३ हाडी खोला बस्ने ४४ वर्षीय रामहरी लुईटेल र सोही गाउँपालिका–५ बस्ने ३६ वर्षीय दिपक थापामगर रहेका छन् । पर्सा राष्ट्रिय निकुञ्ज लामिटारका कर्मचारी र सोही निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त टोलीले उनीहरूलाई गाँजा बोरामा बोकेर पर्सा जिल्लातर्फ लैजाँदै गर्दा फेला पारेर जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीटोलीलाई बुझाइएको थियो । सो विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
पोखरा: न्यूरोडमा कस्मिक कम्प्युटिङ एकेडेमी सञ्चालनमा आएको छ । १० वर्ष बढी समयदेखि कम्प्युटर सम्बन्धित समाग्री खरीदविक्री र मर्मत गर्दै आइरहेको स्थापित ब्राण्ड कस्मिक कम्प्युटिङ सोलुसनले आफ्नो क्षेत्र बिस्तार गर्दै अब कम्प्युटर सम्बन्धि सबै तालिम प्रदान गर्ने उद्देश्यसहित एकेडेमीसञ्चालनमा ल्याएको हो । सञ्चालक पुरुषोत्तम कुँवरका अनुसार एकेडेमीमा बेसिकदेखि एडभान्स तहसम्मका कम्प्युटर कोर्स, हार्डवयर ट्रेनिङ, सर्भर तथा नेटवर्किङ, प्रोग्रामिङ तथा कोडिङ, ईथिकल ह्याकिङ, माइक्रोसफ्ट सर्टिफाइड प्रोफेशनल (एमसीपी), सीसीएनए, ग्राफिक डिजाइनिङ, फोटोग्राफी तथा भिडियोग्राफी लगायतका तालिम प्रदान गरिनेछ । कोर्स अनुसारको समयावधि तय गरिएको छ । हरेक दिन कम्तिमा एक घण्टा थ्योरिकल र १ घण्टा प्राक्टिकल हुनेछ । सञ्चालक कुँवरले युवाहरुलाई प्रविधिसम्बन्धी सीप सिकाई घरमै बसेर कमाउन सकिने आधार तयार गरिने प्रयासस्वरुप ट्रेडिङबाट ट्रेनिङतर्फ क्षेत्र विस्तार गरेको बताए । युवालाई प्रविधि क्षेत्रमा स्वरोजगार बनाउन सके विदेशी पैसा पनि तान्न सकिने र विदेश जानबाट युवालाई पनि रोक्न सकिने कुँवरको विश्वास छ । ‘एसईई तथा कक्षा १२ सकिएपछि फुर्सद हुने ३ महिनासम्मको समयमा कम्प्युटरका कोर्सहरु गर्न सकिनेछ । अन्यत्र जस्तो सामान्य कोर्स भन्दा पनि स्वरोजगार बनाउन सक्ने गरी प्राक्टिकल कोर्सहरु हामी प्रदान गर्नेछौँ,’ सञ्चालक कुँवरले भने । अहिलेका किशोरकिशोरीहरु प्रविधिमा धेरै अगाडि पुगिसकेकाले उनीहरुलाई सुहाउँदो कोर्स एकेडेमीमा सञ्चालन हुने कुँवरले बताए । ‘प्रोग्रामिङ, कोडिङ मार्फत् वेबसाइटहरु, नयाँ नयाँ एपसमेत निर्माण गर्न सक्नेछन् । आईटी पढेका जस्तै दक्ष जनशक्ति तयार हुनेछन् । घरमै बसेर ग्राफिक डिजाइनिङ, भिडियो एडिटिङ गरेर पैसा कमाउन सक्नेछन् । सोसल प्लेटफर्ममार्फत् डलर कमाउन सक्नेछन्,’ कुँवरले भने । एमएसआई, डेल, एसर लगायत विश्वप्रसिद्ध ब्राण्डको पोखराका लागि आधिकारिक विक्रेता कस्मिकले प्रोफेशनल, हाइरेञ्ज तथा भ्यालूएडेड सिरिजका कम्प्युटर तथा ल्यापटप पोखरामा उपलब्ध गराइरहेको छ ।
पोखरा: पोखरा महानगरपालिका–७ राष्ट्रबैंक चोकमा स्कार्पियो र हाइस एकआपसमा ठोक्किदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । राष्ट्रबैंक चोकमा आज बिहान सहिदचोकबाट मुस्ताङचोकतर्फ जाँदै गरेको बा १३ च ५१३७ नम्बरको स्कार्पियो र ड्यामसाइडबाट रत्नचोकतर्फ जाँदै गरेको बा १ प ८५५२ नम्बरको हाइस एकआपसमा ठोक्किएका हुन् । स्कार्पियो र हाइस एकआपसमा ठोक्किदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । उनीहरुको अवस्था मध्यम रहेको बैदाम प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय बैदामका अनुसार स्कार्पियो र हाइस एकआपसमा ठोक्किदा हाइसमा भएका १३ जना मध्य ८ जना चिनियाँ नागरिक घाइते भएका हुन् । स्कार्पियोमा भने चालक मात्र रहेको प्रहरीले जनाएको छ । स्कार्पियो र हाइस एकआपसमा ठोक्किद राष्ट्र बैंक स्थित पार्किङमा रहेको बा २१ प ११५२ नं को स्कुटर र श्याम सुन्दर बरालको घरमा रहेको मनि चेन्जरको सटर र वालमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । दुर्घटनापछि स्कार्पियो र हाइसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पोखरा: यूनाइटेड क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८५ यूनिट रगत संकलन भएको छ । क्लबले १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रम अन्तर्गत पांचौ दिन आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेका हुन । सो कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष राजेश गुरुङले यूनाइटेड क्लबले पोखरा १० मा स्थापना भएतापनि सामाजिक काम मार्फत पोखरा बाहिर समेत पुगेर सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे । जाजरकोटको भुकम्प देखि पूर्व र पश्चिममा विपदमा परेकाहरुलाई यूनाइटेड क्लबले सहयोग गरेको वताउदै यूनाइटेडको हरेक अभियानम आफ्नो साथ र सहयोग रहने उनको भनाइ रहेको थियो । त्यस्तै रक्तसञ्चार केन्द्र पोखराका वरिष्ठ प्राविधिक महेन्द्र केसीले हरेक तीन महिनामा रक्तदान गर्न सके शरिर स्वस्थ बन्ने बताए । रक्तदानले अर्काको जीवन बचाउने मात्र नभइ आफुलाई समेत स्वस्थ बनाउन सहयोग पुग्ने उनको भनाइ रहेको थियो । त्यस्तै क्लबका कार्यसमिति सदस्य तथा रक्तदान कार्यक्रमका संयोजक जयराम आचार्यले यूनाइटेड क्लबले हरेक वार्षिकोत्सवको अवसरमा रगतको अभावलाई मध्येनजर गरी रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको र यो पटक पनि रक्तदान कार्यक्रमको आयोजना गरी रक्त अभावलाई कमी गर्ने अभियानलाई निरन्तरता दिएको बताए । रक्तदान कार्यक्रममा ब्राभो ट्रनिङ सेन्टर, टास्क फोर्स ट्रेनिङ सेन्टर, एबीसी ड्राइभिङ, पिसपोखरा ड्राइभिङ, स्थानिय र क्लबका पदाधिकारी, कार्यसमिति सदस्य, आजीवन सदस्य, सल्लाहकार लगायतले रक्तदान गरेका थिए ।
पोखरा: १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव पोखरा क्षेत्रका अग्रज कृषकलाई सम्मान गर्दै बुधवार सकिएको छ । त्यस अवसरमा आलुको प्रदर्शनीमा उत्कृष्ठता हासिल गर्ने कृषक भीममाया नेपाली, एकबहादुर कार्की, पार्वती बाँनियाँ, हरीमाया रोका तथा कृषि अधिकृत चन्द्रकान्त तिमिल्सीनालाई नगद सहित सम्मान गरिएको हो । कृषक सम्मान गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले महोत्सवमा महानगरको साथ रहेको स्पष्ट पार्दै नगर परिषद्ले महोत्सव व्यवस्थानका लागि रु।१० लाख सहयोग गर्ने निर्णय गरेको जानकारी दिए।उनले आलु महोत्सव किसानको चाड भएको उल्लेख गर्दै सबै हेमजावासी खटेर महोत्सव सफल पारेकोमा प्रशम्सा गरे। महोत्सवकै अवसरमा क्लबको बहुउद्देश्यीय भवन शिलान्यास हुनु अर्को खुशीको कुरा हो भन्दै प्रवक्ता तिमिल्सीनाले महोत्सवमा कृषिका गतिविधिलाई प्राथमिकता दिनुपर्ने औँल्याए । विष्णुपादुका माविका प्रधानाध्यापक दिपकराज पौडेलले छोटो समयको तयारीमा सबैको सहयोगबाट महोत्सव सफल भएको जनाउर्दै हेमजाको उत्पादनको बजारीकरण व्यवस्थाका लागि महानगरको ध्यानाकर्षण गराए ।उनले हेमजाको जमिन तथा नहरको क्षयिकरण हुँदै जानु दु:खद् भएको सुनाउँदै त्यसतर्फ सरोकारवाला सबै सचेत बन्नुपर्ने स्पष्ट पारे । क्लबका पूर्व अध्यक्ष महेन्द्रसिंह थापाले आलु महोत्सव मार्फत कृषिलाई सम्मानित पेशाका रुपमा अगाडि सार्न खोजिएको धारणा राख्दै यसलाई आगामि वर्षमा थप परिष्कृत गर्दै लैजानुपर्ने भनाई राखे। यहि चैत २५ गतेबाट सुरु महोत्सवका बीच त्यहाँ प्रतिकिलो ४० रुपैयाँमा आलु बिक्री गरिएकोमा महोत्सव अवधिभर कुल रु.३० लाख ६५ हजार ७ सय २० रुपैयाँको आलु कारोवार भएको छ । त्यहाँ ७५ हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा कुल ३ हजार ४ सय ४५ घरपरिवारले आलु खरिद गरी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए । उनले कास्की, गोरखा, म्याग्दी, मुस्ताङ, स्याङजा, चितवन, बुटबल, बाग्लुङ, तनहुँ, लगायत काठमाण्डौबाट समेत मानिसहरु आलु खरिद गर्न आएको पनि सुनाए।जसअनुसार प्रति घरपरिवारले न्यूनत्तम ५ किलोग्रामदेखि अधिकत्तम ३ सय किलोग्रामसम्म आलु खरिद गरी लगेका छन् ।ग्राहकले हेमजामा फलेको आलु स्वादिलो, छिटो पाक्ने तथा स्वास्थ्यकर मानि बढी खरिद गर्ने गरेको उनको भनाई छ। बुधवार महोत्सवमा कलाकारहरु शंकर विरही गुरुङ, तारापति सुवेदी, प्रेमराज अधिकारी, लक्ष्मी नेपाली, पार्वती गुरुङ, सरस्वती लामिछाने तथा सुभद्रा श्रेष्ठका प्रस्तुतिहरु रहे । त्यस्तै महोत्सव अवधिभर आलु लगायत अन्य सामग्री समेत गरी रु ३ करोड ७० लाखको कारोवार भएको मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए। महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक तथा विज्ञ सम्मान एवम् पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायतका कार्यक्रम भएका छन्। मूल आयोजक समितिका संयोजक सुविन श्रेष्ठले महोत्सवका सहयोगकर्ता प्रति आभार प्रकट गर्दै महोत्सव हेमजाको व्याण्ड बनेको धारणा राखे। ‘सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव भएको हो। हेमजाको कुल १२ हजार पाँच सय हेक्टर क्षेत्रफल मध्ये ५ सय हेक्टरमा यो खेती गरिंदै आइएको छ । जसअन्तर्गत पाँच सय ४० घरपरिवार किसान व्यवसायिक रुपमा आलुखेतीमा आवद्ध छन्।
दमौली: नुवाकोटको विदुर नगरपालिका–११ वासुदेव अवस्थीलाई पहिलोपटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो । मुक्तिनाथ जान हिँडेका ४० जनाको टोलीले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहराको एक घण्टा अवलोकन गरेको थियो । ‘ढुंगामा आकृति बनाएर पर्यटकीयस्थल बनाउने गाउँपालिकाको योजना निकै राम्रो लाग्यो’, अवस्थीले भने, ‘ढुंगामा खोपिएका आकृति हेर्दा मान्छेसँग बोल्लान् झै लाग्ने खालको रहेछ ।’ पहिलो पटक आउँदा नै यस ठाउँले मोहित बनाएको भन्दै उनले घर फर्किसकेपछि आफन्त तथा साथीभाइलाई यस ठाउँको बारेमा जानकारी गराउने बताए । ‘राजमार्गमा यात्रा गर्दा थकाइ मार्ने स्थानको रुपमा विकास भइरहेको रहेछ’, अवस्थीले भने, ‘यस ठाउँको अझ प्रचारप्रसार गर्नका लागि सबैले सहयोग गर्नुपर्छ ।’ प्राकृतिक रुपमा रहेका ढुंगालाई कालीगढले मेहनत गरेर आकृति बनाउँदा यस ठाउँकोस्वरुप नै बद्लिएको उनको भनाइ छ । ऐनापहरामा स्वदेशीका अतिरिक्त विदेशी पर्यटकको समेत आवागमन हुन थालेको छ । फ्रान्सबाट आएकी एक पर्यटकले ऐनापहरा निकै आकर्षक बनेको बताइन् । उनले भनिन्, ‘एकैछिन घुम्दा यहाँको वातावरणले लोभ्यायो । यहाँ बनाइएका संरचना मनमोहक छन् ।’ ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित गाउँपालिकाले यहाँ रहेका ढुंगामा आकृतिक खोपेपछि पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुन थालेको हो । यहाँ दैनिक २ सय भन्दा बढी पर्यटक घुम्न आउने गरेका छन् । पृथ्वीराजमार्ग नजिकै पर्ने ऐनापहरामा रहेको झरनामा घुम्न आउने पर्यटक बढेसँगै गाउँपालिका यसको प्रवर्द्धनमा जुटेको अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उनका अनुसार गत माघदेखि यहाँका ढुंगामा विभिन्न आकृति खोप्ने काम सुरु भएको थियो । ‘यसै रहेका ढुंगालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडि बढाएका हौँ’, चुमानले भने, ‘यसले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्नुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएका छौँ ।’ झरना झरेको ठाउँको ढुंगामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुंगामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ऐनापहरामा उद्यान निर्माणलाई अगाडि बढाइएको चुमानले जानकारी दिए । उनका अनुसार उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा एक करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । उनले भने, ‘ऐनापहरालाई तनहुँको मात्र नभइ गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोच राखेका छौँ ।’ गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको ऐनापहरामा मनमोहक झरना छ । कलकल बगेको पानी, हरियाली जंगल । खोँचबाट झरेको पानीले ऐनापहरा झरना पुग्ने जो कसैको पनि मन लोभ्याउँछ । थकित मुद्रामा यहाँ पुग्नेहरु आनन्दित भएर फर्किन्छन् । पृथ्वीराजमार्गबाट एक मिनेटको दूरीमा पुगिने ऐनापहरा झरना आकर्षक पर्यटकीयस्थलको रुपमा विकास हुँदै गएको छ । राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणको विश्रामस्थलको रुपमा पनि ऐनापहरा झरना विकास भइरहेको छ । काठमाडौँ, चितवनबाट पोखरातर्फ आउने र पोखरातर्फ यात्रा गर्ने सर्वसाधारण सवारीसाधन रोकेरै ऐनापहरा झरनामा रमाउने गरेका स्थानीय बताउँछन् । गाउँपालिकाले यस ठाउँमा स्काई साइक्लिकिङ, सिसाको पुल बनाउने योजना अगाडि सारेको छ । सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ, टिकटक बनाउन सर्वसाधारणको घुइँचो लाग्ने गर्दछ । तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिँउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ । यस ठाउँलाई व्यवस्थित गर्न डीपीआर अनुसार १० करोड रुपैयाँ बजेट आवश्यक पर्छ । डीपीआरमा यहाँ बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने उल्लेख छ ।
चितवनः भरतपुर भम्रण वर्ष २०२४ को प्रर्वद्धनका लागी देवघाट–हलेसी सगरमाथा मोटर र्याली सुरु भएको छ । मोटर टुरिजम तथा मोटर स्पोर्टस प्रर्वद्धन गर्ने उद्दश्यले नेपाल अटोमोवाइल एसोसिएसन (नासा) वाग्मती प्रदेश र चितवन अटोमोवाइल डिलर्स एसोशियशन काडाद्वारा संयुक्त रुपमा मोटर र्यालीको सुरुवात गरिएको हो । र्याली दुई रात र तीन दिनको हुनेछ । र्यालीको उद्घाटन गर्दै भरतपुर महानगरका नगर उप प्रमुख चित्रसेन अधिकारीले भरतपुर भ्रमण वर्षलाई सफल बनाउन यस्ता खालका र्यालीहरु अति नै महत्त्वपूर्ण रहने बताए । उनले भने,देवघाट–हलेसी सगरमाथा जस्ता अति पवित्र क्षेत्रहरुको बिकास र प्रबर्द्धन गर्न र त्रिकोणात्मक पर्यटन ट्रयाक निर्माण गर्न र्याली फलदायी हुने बताउनुभयो । भरतपुर देवघाटदेखि सुरु भएको र्याली हेटौंडा, सिन्धुली, खुरकोट, घुर्मी, हिलेपानी, हलेसीसम्मको करिब ३ सय २७ किमि ट्रयाकमा सेल्फी टिडिएस र्याली प्रतियोगिता हुने नासा नेपाल बाग्मती प्रदेश सघं तथा चितवन अटोमोवाइल्स डिलर्स एसोशियशन (काडा चितवन) का अध्यक्ष राजन पियाले जानकारी दिनुभयो । प्रतियोगितामा २५ देखि ३० वटा गाडी सहभागी भएका छन् । यस्तै खोटाङ्गको हर्कपुर, सुनकोसीको किनारमा अटो जिमखाना प्रतियोगिता संचालन गर्ने तयारी समेत गरिएको छ। ‘मोटर लिको रेसिंगको विधा अन्र्तगत टिडिएस र्याली अन्तर्गत गन्तव्यसम्म पुग्नको लागि विभिन्न चेक प्वान्इटहरु निर्धारण गरी बाटोको प्रकृति अनुसार अधिकतम गति दिएको हुन्छ’ अध्यक्ष पियाले भन्नुभयो । सहभागिहरुमध्ये गन्तव्यमा आयोजकले दिएको अधिकतम गति समयमा जो पुग्छ खेल उसैले जित्नेछ । सो कार्यक्रमका विजेताले शिल्ड, प्रमाणपत्र र आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । कार्यक्रममा ड्राइभर्स, मार्शल र अन्य प्राविधिकहरुको सहभागिता रहने छ । प्रतियोगिताको समापन भने ओखलढुङ्गाको ढापमा हुनेछ । एक दशकदेखि नेपालमा र चितवनमा समेत सुरुवात भएको मोटर स्पोट्र्सको दर्जनौ इभेन्टहरु हाल नेपाालमा भइरहेका छन् भने चितवनबाट यस प्रकारको कार्यक्रम पहिला पनि चितवन मुक्तीनाथ मोटर र्याली नेपाल अटो जिमखाना प्रतियोगीता सफलतासाथ सम्पन्न भएको थियो । त्यस्तै मोटर रेसिंङ्गको सर्ट सर्किट विधा अटो जिम खाना छोटो र सांगुरो अस्थाई सर्किट डिजाइन गरि कलात्मक हिसाबले तयार गरिन्छ । जहाँ ड्राइभरहरुले आफ्नो कला, साहस र सृजना प्रस्तुत गर्नेछन् ।
काठमाडौं: गायिका एलिना चौहानले बुधबार विवाह गरेकी छन् । झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित वैवाहिक समारोहमा उनले प्रेमी विष्णु सापकोटालाई वरमाला पहिराइन् । बेहुला बेहुलीको पहिरनमा ठाँटिएका उनीहरुले खुसी हुँदै औंठी साटासाट गरे । आफन्त र एलिना निकट कलाकारहरु रचना रिमाल, मेलिना मैनाली लगायत विवाहमा उपस्थित थिए । विष्णु बागलुङको घरबाट जन्ती लिएर मंगलबार बेलुका झापा पुगेका थिए । अहिले उक्त पार्टी प्यालेसमा विवाह समारोह चलिरहेको छ । भव्य सजावटसहित आयोजित समारोहमा सांगीतिक माहोल पनि चलिरहेको छ ।

