पोखरा:    कास्कीको अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) स्थित पिसफूल लज एण्ड रेष्टुरेन्टमा आगलागी भएको छ ।   स्थानीय पर्यटन व्यवसायी मिकास गुरुङका अनुसार मंगलबार करिब साढे ४ बजे ग्यासको...

पोखरा:   जापानको कोची युनिभर्सिटीका प्राध्यापक डा. ता दासी हारा नेतृत्वको प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग प्रकोप व्यवस्थापन र फेवातालमा जम्मा भएको माटो तथा गेग्र्यान निकाल्ने प्रविधिका विषयमा छलफल गरेको छ ।   नगर प्रमुख आचार्यको कार्यकक्षमा भएको छलफलमा फेवातालमा माथिल्लो तटिय क्षेत्रबाट बगेर आउने नदजन्य सामाग्री रोकथामका लागि मड ड्याम निर्माण तथा फेवातालमा थुप्रिएको माटो लगायतका फोहोरहरू निकाल्ने प्रविधि तथा उपकरणका बारेमा छलफल भएको हो ।   सो क्रममा नगरप्रमुख आचार्यले हालै मात्र पर्यटन राजधानी घोषणा गरिएको पोखराको गहनाका रूपमा रहेको फेवातालको संरक्षणका लागि आफूहरू प्रतिबद्ध रहेको बताउँदै यसमा थुप्रिएको माटो लगायतका नदजन्य तथा फोहोर वस्तुहरू निकाल्न उपयुक्त प्रविधिको खोजीमा रहेको बताउनुभयो ।   यसका लागि प्रविधिमा निकै फड्को मारेको जापानको प्रविधि र विज्ञहरूसँग आवश्यक परामर्श सहित सहकार्य गर्न सकिने उहाँले बताउनुभयो ।   प्रा.डा हारा नेतृत्वको प्रतिनिधि मण्डलले फेवातालको संरक्षण र सौन्दर्यीकरणका लागि आफूहरू काम गर्न तयार रहेको बताएको छ । यसका लागि आफूहरूसँग विज्ञता सहित अत्याधुनिक उपकरणहरू रहेको टोलीले बताएको छ ।   फेवातालमा माथिबाट बगेर आउने माटो तथा गेग्र्यानका कारण यसको भविष्य माथि नै अनिश्चितता उत्पन्न भएको भन्दै आफूहरू स्थानीय सरकारसँग मिलेर काम गर्न चाहेको जापानी टोलीले बताएको छ ।   फेवातालको संरक्षणका लागि माथिल्लो क्षेत्रमा मड ड्याम निर्माण गरी माटो लगायत नदजन्य सामाग्रीहरू रोक्ने र तालको सौन्दर्यीकरण गर्दै थुप्रिएको पानी मुनिको माटो समेत निकाल्ने योजनामा महानगरपालिका रहेको छ ।

मकवानपुरः  चिउरी र चमेरो संरक्षण कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकार र स्थानीय सरकारबीच सम्झौता भएको छ ।   सामाजिक विकास मन्त्रालयमा आयोजित कार्यक्रमकाबीच प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकासमन्त्री कुमारी मोक्तान र प्रदेशका छ स्थानीय तहका प्रमुख-उपप्रमुखबिच सहमति भएको हो ।    चेपाङ समुदायको बाहुल्यता रहेको प्रदेशका तीन जिल्ला मकवानपुर, धादिङ र चितवनका गरी छ वटा पालिकासँग सम्झौता भएको हो ।   जसअनुसार मकवानपुरको राक्सिराङ, धादिङको गजुरी र बेनिघाट रोराङ तथा चितवनको राप्ती, कालिका र इच्छाकामना गाउँपालिकासँग प्रदेश सरकारले सम्झौता गरेको हो ।   प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट कार्यक्रममा नै समावेश गरी सिमान्तकृत जातिको उत्थानका लागि चिउरी र चमेरो संरक्षणको कार्यक्रम अघि सारेको थियो ।    उक्त कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकारले गत ११ माघमा बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले ‘चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन निर्देशिका, २०८० स्वीकृत गरेको थियो ।   यस्तै प्रदेश सरकारले उक्त कार्यक्रम कार्यान्वयनका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा ५० लाख बजेटसमेत विनियोजन गरेको छ । कार्यक्रम स्थानीय तहको २० प्रतिशत र प्रदेश सरकारको ८० प्रतिशत साझेदारीमा कार्यान्वयन हुनेछ ।   कार्यक्रममा स्थानीय सरकारले सात लाख ७५ हजार लगानी गर्नुपर्नेछ । सम्झौता कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले चेपाङ समुदायको आर्थिक तथा सामाजिक क्षेत्रको उत्थानका लागि उनीहरुको परम्परादेखि जोडिएको चेपाङ चिउरी र चमेरो संरक्षणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।   सरकारले कार्यविधि नै बनाएर काम सुरु गरेकाले यसमा पालिकाहरुले पनि अपनत्व लिनुपर्ने उहाँको भनाइ छ । 

पोखरा:  ढोलाहिटी फ्रिडमले दोश्रो  संस्करणको एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।   पोखरा रङ्गशालामा बिहीबार भएको फाइनल खेलमा हेटौडा भेट्रान्सलाई ४—२ गोल अन्तरले पराजित गर्दै ढोलाहिटी दोस्रो पटकले च्याम्पियन बन्दै उपाधि रक्षा गरेको हो ।     ढोलाहिटीको जीतमा म्यान अफ द म्याच घोषित भएका प्रकाश राना मगरले २ गोलको योगदान दिए । यस्तै सरोज थापा र राजकुमार केसीले समान १—१ गोल गरे ।   यता फाइनलमा हार व्यहोरेको हेटौंडाको तर्फबाट शशी गौतम र सञ्जय राना मगरले १—१ गोल फर्काए ।   दोस्रोपटक च्याम्पियन बनेको ढोलाहिटीले नगद रु १ लाख ५५ हजार ५ सय ५५, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।   यस्तै उपविजेता बनेको हेटौडाले नगद रु ७७ हजार ७ सय ७७ शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।   प्रतियोगिताबाट ढोलाहिटीका तेजबहादुर गलामी उत्कृष्ट खेलाडी घोषित हुदैं नगद रु १० हजार र ट्रफी प्राप्त गरे ।   प्रतियोगिताका विजेताहरु तथा उपविजेता टिमका खेलाडीहरुलाई गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, अमरसिंह ब्वाइज क्लब एबिसीका अध्यक्ष राजेश गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।   सो अवसरमा बोल्दै समापन समारोहका प्रमुख अतिथिसमेत रहेकी प्रदेश सांसद सरस्वती गुरुङले सरकारी स्तरबाट खेलकुदको विकासका लागि उल्लेख्य काम हुन नसकेको बताउदै खेलकुदको विकासका लागि स्थानिय क्लब, संघ संस्था, ब्याक्तित्वहरुको साथ र सहयोग अपरिहार्य रहेको धारणा राखेकी थिइन् ।  

काठमाडौंः  मुलुकभरका सामुदायिक वनहरूको छाता सङ्गठन सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन)ले वन डढेलोबाट घाइते हुनेहरूको निःशुल्क उपचार र मृतकको परिवारलाई राहत उपलब्ध गराउन  माग गरेको छ ।   फेकोफनले बिहीबार एक विज्ञप्ति जारी गर्दै फेकोफनले घाइतेहरूको उपचार समयमै र निःशुल्क हुनुपर्ने र मृतकको परिवारलाई उचित राहतको व्यवस्था हुनुपर्ने माग गरेको हो ।   विगत केही दिनदेखि मुलुकभर बढ्दो वन डढेलोका कारण व्यापक रूपमा हुन गएको जनधनको क्षतिप्रति सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले आफ्नो गम्भीर रूपमा ध्यानाकर्षण भएको जनाएको छ ।   लामो समयदेखि हिउँदे वर्षाको कमी, निरन्तर तापक्रमको वृद्धि, गर्मी मौसमको सुरुआतलगायतका प्राकृतिक कारण र सचेतनाको कमी, लापरबाहीका कारण वन डढेलो लागेको भन्दै महासङ्घले नियन्त्रणमा पहल नभएको पनि फेकोफनले गुनासो गरेको छ ।   नियन्त्रणसम्बन्धी सामुदायिक तथा सरकारी योजनाहरूको प्रभावकारी कार्यान्वयनको कमी र सम्बन्धित निकायबिच समन्वयको अभाव जस्ता मानवीय कमजोरीका कारण डढेलोका कारण क्षति हुने गरेको फोकोफनको भनाइ छ ।   फेकोफनका अध्यक्ष ठाकुर भण्डारीले  हालै डोल्पाको ठूलीभेरी नगरपालिकाको मस्ता सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका क्रममा मृत्यु हुनेको परिवारलाई राहत र घाइतेलाई निःशुल्क उपचार हुनुपर्ने बताउनुभयो ।   “उक्त स्थानमा डढेलो नियन्त्रण गर्ने क्रममा तीन जना नेपाली सेनाको मृत्यु भएको छ भने कालिकोट, भोजपुर, धनकुटा, ललितपुरलगायतका जिल्लामा वन डढेलो निभाउने क्रममा सामुदायिक वनका उपभोक्ताहरूको मृत्यु भएको छ”, उहाँले भन्नुभयो, “घाइतेहरूको तत्काल निःशुल्क उपचार र आगलागीबाट मृत्यु हुने व्यक्तिका परिवारका लागि उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन सरकारी निकाय र सरोकारवालासँग सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल हार्दिक अपिल गर्दछ ।”  

काठमाडौंः  ठुलो परिमाणको लागूऔषधसहित प्रहरीले १० जना कारोबारीलाई पक्राउ परेको छ ।   अवैध  लागूऔषध खैरो हेरोइन एक सय ९४ दशमलव आठ सय ५० ग्राम, नियन्त्रित लागूऔषध ५ सय ३एम्पुल एवम् मनोनिपक पदार्थ नाइट्रोभेट १ हजार २सय ट्याब्लेटसहित उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको लागूऔषध नियन्त्रण ब्युरोले जानकारी दिएको छ ।    पक्राउ परेकामध्ये दुई जना भारतीय कारोबारीसमेत छन् ।   विशेष सूचनाका आधारमा प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोद्वारा सञ्चालित प्रहरी कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरी लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम कारबाही थालिएको ब्युरोका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो ।   उहाँका अनुसार उपत्यकाका विभिन्न क्षेत्रबाट पछिल्लो १० दिनको कारबाही अभियानमा उनीहरू पक्राउ परेका हुन् ।    बूढानीलकण्डबाट मोरङका नवीन धिताल, ललितपुर महालक्ष्मीबाट सप्तरीका परमानन्द मेहता, विकास कार्की, काठमाडौंबाट भारतीय नागरिक विकास कुमार तथा काठमाडौं चाबहिलबाट सुनसरीका सञ्जय लिम्बू र विकास मण्डललाई पक्राउ गरिएको उहाँले बताउनुभयो । उनीहरू सबैसँग खैरो हेरोइन बरामद गरिएको हो ।   यस्तै नियन्त्रित लागूऔषध नाइट्रोभेट ट्याब्लेट बिक्री गरिरहेको छ भन्ने सूचनाका आधारमा कोटेश्वरस्थित ब्युरोबाट खटिएको टोलीले काठमाडौंको चन्द्रागिरिबाट धिरजकुमार साह र गोकर्णेश्वरबाट भारतीय नागरिक धिरज कुमार तथा गोकर्णेश्वरबाटै सुरेश तामाङ र छिरिङ तामाङलाई पनि पक्राउ गरिएको ब्युरोले जानकारी दिएको छ ।    उनीहरूबाट पनि विभिन्न प्रकारका लागूऔषध बरामद गरिएको छ । उनीहरूलाई चैत १० गतेयताको दश दिनको अवधिमा खोजतलास गरी पक्राउ गरिएको र सबै जनामाथि अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो । 

पाल्पाः  पाल्पाको रामपुर नगरपालिका–६ स्थित कालीगण्डकी कोरिडोर सडक खण्डअन्तर्गत कालीआँप ट्याक्टरले ठक्कर दिँदा स्कुटरमा सवार तीन जना घाइते भएका छन् ।   स्याङ्जाको चापाकोटबाट रामपुर–७ रातमाटातर्फ आउँदै गरेको लु ९२ प ८२५७ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट गइरहेको लु ४ त ४०२ नम्बरको ट्याक्टरले बिहीबार दिउँसो ठक्कर दिएको थियो ।   घाइते हुनेमा स्कुटर चालक चापाकोट नगरपालिका–२ स्याङ्जाका २४ वर्षीय छविलाल श्रेष्ठ, स्कुटरमा सवार रामपुर नगरपालिका वडा नं. ७ रातमाता पाल्पाका ४९ वर्षीय विष्णु कुमारी श्रेष्ठ र बौदीकाली गाउँपालिका–२, डेढगाउँ बस्ने शान्ता श्रेष्ठको ७ वर्षीय छोरा संस्कार श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिनुभयो ।   घाइतेहरूको रामपुर अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।   ट्याक्टर चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

पोखरा:   घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनमा अन्नपूर्ण गाउँपालिका१०/११ घान्द्रुकमा जारी पर्यटन महोत्सवमा भलिबलतर्फ विदान स्पोर्टस् हाउस वालिङ र अन्नपूर्ण युवा क्लब उपाधिका लागि भिड्ने भएका छन् ।   आज (बिहीबार) भएको पहिलो सेमिफाइनल खेलमा ताङ्वे यवा क्लबलाई २५–२३, २५–२१ र २५–१७ को सोझो सेटमा पराजित गर्दै वालिङ फाइनलमा प्रवेश गरेको भलिबल प्रतियोगिता संयोजक अनिल गुरुङले जानकारी दिए ।  उनका अनुसार दोस्रो सेमिफाइनल खेलमा अन्नपूर्ण युवा क्लब किम्चेले देउराली युवा क्लब भुक देउरालीलाई २६–२८, २३–२५, २५–११, २५–१७ र १५–१२ को सेटमा पराजित गर्दै फाइनलमा वालिङसँगको भेट पक्का गर्याे ।   अब उपाधिका लागि भोलि शुक्रबार दिउँसो प्रतिस्पर्धा हुनेछ ।   कुल ६ टिमको सहभागिता (लिगकम नकआउट) रहेको भलिबल प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेताले ७० हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।   यस्तै विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक, उदीयमान खेलाडीलाई पुरस्कृत गरिनेछ ।    खुला बास्केटबलतर्फ भने सेमिफाइनलको समिकरण पूरा भएको अन्नपूर्ण बास्केटबल समितिका अध्यक्ष कृपाश्वर गुरुङले जानकारी दिए ।    उनका अनुसार आज भएको पहिलो क्वाटरफाइनल खेलमा टाइम्स क्लबले दाङलाई ५९–१९ ले पराजित गर्याे । यस्तै दोसो क्वाटरफाइनल खेलमा आर्मी क्लबले घान्द्रुक टिम ‘ए’लाई  ५९–३८ ले हरायो ।   तेसो क्वाटरफाइनल खेलमा मर्दीखोला क्लबले घान्द्रुक टिम ‘बि’माथि ४६–४१ ले जीत निकाल्यो भने अन्तिम क्वाटरफाइनल खेलमा सेञ्चुरी युवा क्लबले पुन युनाइटेड नदीपुरलाई ६६–५० ले पराजित गर्दै सेञ्चुरी क्लब सेमिफाइनलमा प्रवेश गर्याे ।    अब शुक्रबार पहिलो सेमिफाइनल खेल बिहान ७ बजे विभागीय क्लब आर्मी क्लब र मर्दीखोलका बास्केटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।    यस्तै अर्काे सेमिफाइनल खेल टाइम्स क्लब कामाण्डौं र सेञ्चुरी युवा क्लब छोम्रोङबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि ह्विलचियर बास्केटबलको प्रदर्शन गरिने गुरुङले जानकारी दिए ।    कुल १२ टिमको सहभागिता रहेको खुला बास्केटबलतर्फको विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।   सनमलाई चक्रीय पदमार्ग दौडको उपाधि    घान्द्रुक पर्यटन महोत्सवमा आयोजित चक्रिय पदमार्थ दौड प्रतियोगिताको उपाधि सनम गुरुङले जितेका छन् ।   पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यसहित आयोजित दौड प्रतियोगिताको निर्धारित  ५.५ किमी दुरी  ३२ मिनेट ४६ सेकेन्डमा पार गर्दै सनमले उपाधि जितेका हुन् ।   यस्तै स्थानीय उमेश नेपालीले ३३ मिनेट ३ सेकेन्डमा निर्धारित दुरी पार गर्दै द्वित्तिय बने भने घान्द्रुककै कृष्ण परियारले ३३ मिनेट २० सेकेन्डमा दुरी पार गर्दै तृतीय बनेको महोत्सवका आयोजक संस्थाका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।   उनका अनुसार प्रथम द्वित्तिय र तृतीउ बनेका धावकहरुले क्रमश मेडल तथा प्रमाणपत्रसहित नगद रु १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्राप्त गरे ।    कुल ३६ धावकको सहभागिता रहेको दौडमा १२ वर्षकी बालिकादेखि ५८ वर्षको वृद्धालेसमेत प्रतियोगितामा भाग लिगेका थिए ।   उक्त दौड मेश्रेम बराह माविबाट सुरु भएर चक्रिय पदमार्ग वडा नं. १० को कार्यालय हुँदै पञ्चे, कोटगाउँ, देउराली, बलाथे पार्क, नब्रुथी बराह मन्दीर, कायमा बराह, सात सय घान्दु्रकेले मान्दै आएको ब्रेजे मेश्रे बराह नेगु, चिया बगान, डाडागाउँ, कुमाभ्री, सिल्कु, खोलोभ्रो हुँदै विद्यालयमा आएर टुंगिएको थियो ।   शुक्रबार क्लबस्तरीय पुरुष भलिबल, खुला बास्केटबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता ठेलो प्रतियोगिताको फाइनल गरिने महोत्सवका संयोजक अमृत लामा गुरुङले जानकारी दिए । उनका अनुसार हरेक दिन बेलकी राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुले सांगीतिक प्रस्तुती दिदैं आएका छन् ।   महोत्सवको समापन समारोहका प्रमुख अतिथिका रुपमा  गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बराल रहनेछन् भने बेलुकी चर्चित लोक तथा दोहोरी गायक राजु परियारको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।  

पोखरा:  सहचालकले चलाएको हुँदा पोखरा महानगरपालिका २५ स्थित सुइखेतमा यात्रुवहाक बस दुर्घटना भएको खुलेको छ ।     म्याग्दीको बेनी नगरपालिका ६ बस्ने ३२ वर्षीय बस चालक राजकुमार गैरेलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा सहचालक  बेनी नगरपालिका ४ तातोपानी का २५ वर्षीय विनोद दर्जीले चलाएको कारण बस अनियन्त्रित भई दुर्घटना भएको कास्की प्रहरीले उल्लेख गरेको छ ।   दुर्घटनापछि घाइते भएका सहचालक दर्जीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि वडा प्रहरी कार्यालय बगरले नियन्त्रणमा लिएको छ ।    सो दुर्घटनामा परि घाइते भएकामध्ये सहचालक सहित ७ जना डिसचार्ज भइसकेका छन् भने  म्याग्दीको मालिका  गाउँपालिका १ दरवाङका ७२ वर्षीय नर बहादुर पुन र बेनी नगरपालिका ७ का ६१ वर्षीय टेक बहादुर कार्कीको उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।   आज विहान करिब ३ बजे काठमाण्डौबाट बेनीतर्फ जाँदै गरेको ग २ ख १६३० नम्बरको  बस हेमजानको सुइखेलमा अनियन्त्रित भइ दुर्घटना भएको थियो ।  

म्याग्दी :   म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले किसानलाई परिचयपत्र वितरण गर्न शुद्धीकरण अभियान सुरु गरेको छ ।   गाउँपालिकामा सञ्चालित किसान सूचीकरण कार्यक्रमअन्तर्गत सहजकर्ता छनोट गरी उनीहरुलाई तालिम दिइएको हो ।   किसानलाई कृषि पेसामा प्रोत्साहन गर्ने, अनुदान, सहयोग तथा अन्य सेवासुविधालाई कृषकमैत्री बनाउने उद्देश्यले सञ्चालित कार्यक्रमअन्तर्गत गाउँपालिकाका आठवटै वडाका तीन हजार छ सय घरधुरीमा पुगेर सहजकर्ताले विवरण सङ्कलन गरेपछि वडा कार्यालयले प्रमाणीकरण गरेसँगै परिचयपत्र वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । “कृषकको पहिचान आवश्यक छ, अब परिचयपत्र पाएका कृषकलाई मात्रै अनुदान वितरण गरिनेछ”, उहाँले भन्नुभयो ।    गाउँपालिकाले बुधबार कृषकको पहिचानका लागि छनोट भएका सहजकर्तालाई तालिम दिएर पालिकाभित्रका सबै घरधुरीमा स्थलगत तथ्याङ्क सङ्कलनका लागि परिचालन गरेको छ । तालिमका अवसरमा गाउँपालिका उपाध्यक्ष दिवाकुमारी पुनले सूचीकरण अभियानले व्यावसायिक कृषकको पहिचान गरी कृषिलाई व्यावसायिक गर्न सघाउने बताउनुभयो । “कृषिकर्ममा लागेकाको वास्तविक तथ्याङ्क आउँदा आगामी दिनमा कार्यक्रम बनाउन सहज हुन्छ, एक जना पनि कृषक नछुट्ने गरी तथ्याङ्क ल्याउने गरी सहजकर्ता परिचालन गरेका छौँ”, उहाँले भन्नुभयो ।   कृषकलाई उत्साहित गर्न उन्नत बीउबिजन, सिँचाइ, सिँचाइ, प्रविधि हस्तान्तरण, मलखाद एवम् किसान बजार व्यवस्थापन प्रोत्साहनका लागि सघाउने गाउँपालिकाले जनाएको छ । सरकारको मापदण्डमा आठ आना वा सोभन्दा बढी जग्गामा कृषि गर्नेलाई सूचीकरण गरी किसान परिचयपत्र लिनुपर्ने प्रावधान रहेको छ ।   सहजकर्तालाई गाउँपालिकाकी कृषि शाखा प्रमुख कृति आचार्यले सहजीकरण गर्नुभएको थियो । सहजकर्ताको तथ्याङ्कलाई वडा कार्यालयबाट प्रमाणीकरण भएपछि चालु आवमै परिचयपत्र वितरण गर्ने तयारीमा रहेको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ ।   किसान भएरपनि परिचयपत्र नपाउँदा पहिचानविहीन बनेका किसानले परिचयपत्रको माग गर्दै आइरहेका छन् ।