पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

काठमाडौं:   राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनको आज उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ ।   ७ वटै प्रदेश सदरमुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ बताइएकाे छ ।   यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने छन् ।   कानुनी व्यवस्थाअनुरुप प्रदेशसभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावलीमा स्वीकृत भएको छ ।   निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ कायम गरिएको छ ।   उक्त निर्वाचनमा प्रदेशसभा सदस्यको कूल मतभार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार चार सय ६२ रहने छ ।   आयोगका अनुसार मतदाताको अन्तिम नामावली आइतबार प्रकाशन भइसकेको छ ।   यस निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ ।   मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । स्थायी सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्ष पूरा सकिन्छ ।   यस निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ ।

पोखरा:  म्याक्सन फोर डि स्टुडियोको चौथो प्रस्तुती मगर कथानक चलचित्र ‘मिसार’ पोखरामा दोस्रो पटक प्रदर्शन गरिएको छ । पोखराको बाराही हलमा शनिबार मगर कथानक चलचित्र ‘मिसार’ दोस्रो पटक  प्रदर्शन गरिएको चलचित्रका निर्देशक सन्तोष पिठाकोटे मगरले जानकारी दिए ।  ‘म्याक्सन फोर डि स्टुडियो चौथो प्रस्तुती मगर कथानक चलचित्र मिसार गण्डकी प्रदेशको विभिन्न जिल्ला र स्थानमा प्रदर्शन गरेका छौं’, निर्देशक मगरले भने, ‘पोखरामा हामीले पहिले पनि प्रदर्शन गरेका थियौं, अहिले नेपाल मगर संघ कास्कीको समन्वयमा पुनः प्रर्दशन गरेका हौं ।’ उनले मिसार चलचित्रमा मगर समुदायको कला, संस्कृति, भेषभुषासँगै शिक्षा  र व्यवसायलाई समेटेको बताए ।  यता मगर चलचित्र संघका केन्द्रिय अध्यक्ष रहेका भिम रानामगरले मगर कथामा आधारित चलचित्रलाई अन्य चलचित्र जस्तै प्रचारप्रसारमा ध्यान दिन आवश्यक रहेको बताए ।  ‘जति पनि मगर कथामा आधारित चलचित्र बनेका छन्, सबै मगर समुदायमा मात्र केन्द्रित भएर प्रचारप्रसार गरिएको छ’, रानामगरले भने, ‘अन्य चलचित्र जस्तै सबै समुदायमा सम्म पुग्ने गरी चलचित्रको प्रसारप्रचार गर्न आवश्यक छ ।’ उनले मगर चलचित्रलाई नेपाली चलचित्रलाई जस्तै गरी प्रचारप्रसार गर्न आवश्यक रहेको धारणा राखे ।  ‘मगर समुदायमा आधारित चलचित्र भएपनि मेन स्ट्रिमको चलचित्रलाई जस्तै गरेर प्रमोसन गर्न आवश्यक देखिएको छ,’ उनले भने ।  चलचित्र मिसारको लेखन, छायांकन, सम्पादन र निर्देशनमा शेर बहादुर पिठा मगर ‘सन्तोष पिठाकोटे’ ले गरेका हुन् ।  मिवाट पिठाकोटे मगरको प्रस्तुती, भेष गुरुङ्ग र सुजन थापा मगरको सह–निर्देशन रहेका छन् । कलाकारहरु रबिन्द्र थापा मगर, देबेन्द्र थापा मगर, सनम आले मगर, जेनिता थापा मगर, दिपु मगर, प्रतिक्षा राना मगर, भेष गुरुङ्ग, भेष बहदुर पिठाकोटे मगर रहेका छन् ।   त्यसैगरी कोट बहादुर बाचे मगर, निशा थापा मगर र पबित्रा थापा मगर लगायतका कलाकारहरु पनि अभिनय देख्न सकिन्छ ।  यस्तै कलाकारहरु पवन थापा मगर, अम्बिका पुन मगर, प्रसाद खप्तरी मगर, प्रीती आले मगर, गगन गुरुङ्ग, रेशम आले मगर, यम सारु मगर, उषा गुरुङ्गको स्वर रहेका छन् ।  नृत्य निर्देशनमा राहुल थापा मगर, सृर्जन थापा मगर, केशव आले मगर गोबिन्द पुन मगर रहनुभएको छ । छवि राना मगरको कलरिङ मिक्सिङ र डबिङ रहेको छ । चलचित्र निर्माण गोविन्द थापा मगर, सबिता थापा मगर, मस्राङी ब्रोदर्स हङकङ, कोट बहादुर बाचे मगर, मुक्त गुरुङ, प्रेममाया आले मगर र पबित्रा थापा मगरले गरेका हुन ।

पोखरा:   सवारी ज्यानसम्बन्धी मुद्धामा कार चालक मानबहादुर बानियाँ पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत कास्कीका अदालतका न्यायाधीश ऋषिराम आचार्यको इजलासले बानियाँलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । गत मंसिर २४ गते पोखराको लेखनाथमा बीएए ००४१ नम्बरको कारले ग १३ प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गण्डकी मेडिकल कलेजमा अध्ययनरत् हेमजाकी २३ वर्षीया अनिशा खड्का र जिरोकिमिकी २४ वर्षीया भावना बरालको निधन भएको थियो । यस मुद्धामा अदालतको आदेश आउनु अघि शुक्रबार र आइतबार पीडित पक्षले अदालत परिसरमा नाराबाजी गरेका थिए । उनीहरुले दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका थिए ।

पोखरा:   गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता फागुन १० देखि १२ गते सम्म हुने भएको छ ।  प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव एवं उक्त प्रतियोगिता समन्वय समितिका संयोजक श्रीधर शर्माको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । यस अघि गत कार्तिक १५ गतेको बैठकले प्रतियोगिता यहि पौष २६ देखि २८ गते सम्म गर्ने निर्णय गरेको थियो ।  प्राविधिक कारणले केही जिल्लास्तरीय प्रतियोगिताहरु पूर्व निर्धारित समयमा हुन नसकेका कारण प्रतियोगिता आयोजनाको मिति सारिएको सदस्य सचिव शर्माले जानकारी दिएका छन् । “हामीले पौष १५ गते सम्म जिल्लास्तरीय प्रतियोगिता सम्पन्न गर्न निर्देशन दिएका थियौं” सदस्य सचिव शर्माले भने–“बाग्लुङ, म्याग्दी, लमजुङ, र पर्वतमा समयमा प्रतियोगिता हुन सकेन । त्यसैका कारण हामीले फागुनमा गर्ने निधो गरेका छौं ।”  सम्पन्न बैठकले नवलपुरका विभिन्न ८ वटा पालिकाहरुबाट प्रतिवद्धता भएको रकम माघ १५ गते सम्म प्राप्त भएमा राष्ट्रपति रनिङ शिल्ड नवलपुरमा नै आयोजना गर्ने निर्णय गरेको छ । स्थानिय पालिकाहरुबाट प्रतिवद्धता भएको ३० लाख प्राप्त नभएमा प्रतियोगिता कास्कीमा नै हुने जनाइएको छ । निर्णयमा भनिएको छ–“पालिकाहरुबाट प्रतिवद्धता भएको रकम उपलव्ध गराउन जिल्ला खेलकुद समन्वय समिति नवलपुरलाई आग्रह गर्ने तथा सहयोग रकम उपलब्ध हुनासाथ खेल मैदानहरुको मर्मत सुधार, यातयात तथा होटल ब्यवस्थापनको सम्पूर्ण जिल्ला खेलकुद विकास समिति नवलपुरलाई जिम्मेवारी प्रदान गरिने छ ।” यसै गरी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कार्यविधि समेत संसोधन भएको र खेलाडीहरु समेत थप भएका तथा समय समेत थप्नु पर्ने बाध्यता रहेकोले प्राप्त सर्शत अनुदानको रकम थप गर्न राष्ट्रिय खेलकुद संग थप बजेट माग गर्ने निर्णय समेत गरेको छ ।   राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत ६ वटा खेलहरु आयोजना हुने गरेको छ । प्रतियोगिता अन्तर्गत छात्र–छात्रा एथलेटिक्स, भलिबल, कबड्डी, उशु, कराते र तेक्वान्दो हुने गरेको छ ।  नवलपुरमा प्रतियोगिता आयोजनाका लागि परिषदले गठन गरेको अध्ययन समितिले एथलेटिक्स नवदुर्गा खेल मैदान कावासोती, भलिबल देवचुली, तेक्वान्दो गैंडाकोट, उशु र कबड्डी कावासोतीमा तथा कराते मध्यविन्दुमा गर्ने गरी तय गरेको छ ।   

पोखरा:   नेपाल पत्रकार महासंघ कास्कीले विषयवस्तु लेखन तालिम सुरु गरेको छ । आइतबार देखि महासंघको सभाहलमा सुरु भएको तालिम सोमबार सम्म चल्नेछ । तालिममा प्रशिक्षकका रुपमा राष्ट्रिय समाचार समिति (रासस) का प्रधान सम्पादक एकराज पाठक, दि राइजिङ नेपालका पत्रकार मोदनाथ ढकाल रहेका छन् । तालिमकै समय पोखराबाट पत्रकारिता गरिरहेका क्रियाशिल पत्रकारहरुले आफ्नो अनुभव समेत सुनाउनेछन् ।  आइतबार भएको सेसनमा मोदनाथ ढकालले मिडिया नीति बनाउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । उनका अनुसार समाजले अपेक्षा गरेका विषयवस्तु मिडियामा आउनुपर्छ । प्रतिस्पर्धाले मिडियामा कन्टेन्टको मागलाई सिर्जना गर्ने उनले बताए । पत्रकारमा सबै भन्दा महत्वपूर्ण कुरा लेख्न सक्ने खुबी हुनुपर्ने धारणा उनको छ । फण्डामेण्टल स्किल नै नभएको पत्रकार काम नभएको उनले उल्लेख गरे ।  ‘पत्रकारले के लेख्न सक्छ त्यो महत्वपूर्ण हो’, उनले भने,‘तपाईले सिर्जना गर्ने कन्टेन्टले तपाई बिक्नु हुन्छ ।’ सूचना खोज्न सक्ने खुबी पत्रकारमा हुनुपर्ने ढकालले बताए । स्रोतसँगको सम्बन्ध सबै भन्दा महत्वपूर्ण भएको भनाई उनको छ । पढ्ने, हेर्ने, सुन्ने मान्छेले पत्रकारलाई पत्याउने गरी कन्टेन्ट तयार पार्नुपर्ने उनले बताए ।  पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले विषयवस्तुको लेखन सम्बन्धि तालिम आवश्यक रहेकाले आयोजना गरिएको जानकारी गराइन् । ‘पत्रकारितामा आजको समय भनेको विषयवस्तुको खोजी हो’, उनले भनिन्, ‘जसमा हामी कतिपय पत्रकार कमजोर छौं । यो तालिमले विषयवस्तुको पहिचान र छनोट गर्न सहज बनाउने छ ।’  भण्डारीले पत्रकारितालाई निखार्न विषयवस्तु सम्बन्धि दुई दिने तालिम गरिएको बताइन् । पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेलले विषयवस्तु लेखन सम्बन्धि तालिमको आयोजना गरेर पत्रकार महासंघ कास्कीले सह्रानिय काम गरेको उल्लेख गरे । उनका अनुसार आजको समय विषयवस्तुको छनोट मूल कुरा हो ।  तालिम संयोजक पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले स्वागत गरेको तालिमको पहिलो दिन आज पोखराका क्रियाशिल पत्रकार भरत कोइराला (आदर्श समाज), केशव शरण लामिछाने (अन्नपूर्ण पोष्ट), बासुदेव मिश्र (नेपाल खबर), दिपक परियार (कान्तिपुर) ले आफ्नो अनुभव सुनाएका थिए । तालिममा पोखरामा पत्रकारिता क्षेत्रमा लागिरहेका प्रशिक्षार्थीहरुको सहभागिता छ ।   

पोखरा:    पोखरा महानगरपालिका–१२  चापानीमा जुवातास खेलिरहेका ८ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले प्रकाउ गरेको छ । पोखरा–१२ चायापानीस्थित मैत कुमारी गुरुङले जुवातास खेलाई रहेको गोप्य सूचनाको आधारमा ८ जना जुवाडेलाई शनिबार प्रहरीले प्रकाउ गरेको हो ।  प्रकाउ परेका ८ जना जुवाडेको साथबाट प्रहरीले १ लाख ३५ हजार ९ सय ८५ रुपैयाँसहित ४ बुक तास बरामद गरेको छ ।  प्रकाउ पर्नेमा पोखरा महानगरपालिका १० रामबहादुर बस्ने ५० वर्षीय पञ्चमाया गुरुङ, शिशुवा बस्ने ४० वर्षीय गोपी गुरुङ, फुलबारी बस्ने ५२ वर्षीय पूर्णिमा गुरुङ, दीप बस्ने ४६वर्षीय रुपा गुरुङ, पोखरा १३ बस्ने ५२ वर्षीय देवीबहादुर गुरुङ, फुलबारी बस्ने ४१ वर्षीय धुत प्रसाद गुरुङ, चायापानी बस्ने ५२ वर्षीय मैतकुमारी गुरुङ र मकवानपर हेटौडा स्थायी घर भई पोखरा ११ रानीपौवा बस्ने ५५ वर्षीय कृष्णमायाँ थापालाई जुवातास खेल्दै गरेको अवस्थामा प्रकाउ परेका हुन् ।  प्रकाउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 

पोखरा:  पोखराको लेकसाइडमा रहेको थाउजेन माइल्स ट्राभल्स एण्ड टुरिजम प्रा।लि। दोस्रो बर्षमा प्रवेश गरेको छ ।  ट्राभल्सले टिकेटिङ, टुर, ट्रेकिङको क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको म्यानेजिङ डाइरेक्टर देवेन्द्र अधिकारीले बताए । विश्वभरी नेपालको सौन्दर्य र विविधतालाई फैल्याउनु ट्राभल्सको मुख्य उद्देश्य रहेको र लुकेर रहेका  पर्यटकीय गन्तब्यहरुको पहिचान गरी यात्रा गराउने लक्ष्य ट्राभल्सको रहेको अधिकारीको भनाई छ । नेपालमै बसेर पनि केहि गर्न सकिन्छ भन्ने योजनाका साथ ट्राभल्स सञ्चालन गरिएको र सञ्चालनको एक बर्षमा नै धेरैको मन जित्न सफल हुनुका साथै धेरैको रोजाइमा पर्नै गरेको जनरल म्यानेजर बिजय पौडेलले जनाए । हाल देशका युवा बिदेशिने क्रम बढ्दै गएको समयमा पनि रोजगारी र अवसर देखेर ट्राभल्स सगैँ टुरिजमको क्षेत्रमा कामको सुरुवात गरिएको पौडेलको भनाई छ । अहिले सम्म ट्राभल्सले ५ सय जना बिदेशी र २ सय जना नेपालीलाई सेवा प्रदान गरिसकेको छ ।

म्याग्दी:    म्याग्दी जिल्लाको विद्युत् विकासको ‘गेटवे’ मानिएको राहुघाट जलविद्युत् आयोजना निर्माणले गति लिएको छ । ६५ प्रतिशत भौतिक प्रगति भएको आयोजना आगामी १५ महिनाभित्र सम्पन्न गर्ने कार्ययोजनाअनुसार निर्माणलाई तीव्रता दिइएको हो ।  नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध, सुरुङ र विद्युतगृह निर्माण कार्यले गति लिएको छ ।  सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्सले बाँध, सुरुङ र विद्युतगृह निर्माणको कामलाई एकैसाथ तीव्रता दिएको आयोजनाले जनाएको छ । सरकारी तबरबाट राहुघाट निर्माण सुरु भएपछि म्याग्दीमा निजी क्षेत्रका जलविद्युत् आयोजना भित्रिएका थिए । निजी क्षेत्रका जलविद्युत् आयोजना भित्र्याउने र आकर्षित भएकाले राहुघाट जलविद्युत् आयोजनालाई म्याग्दीको विद्युत् विकासको गेटवे मानिएको हो ।   ९० प्रतिशत सुरुङ निर्माण  राहुघाट जलविद्युत् आयोजनाको छ किलोमिटर २ सय मिटर सुरुङमध्ये अब पाँच किलोमिटर ६३३ मिटर सुरुङ निर्माण सकिएको छ । जलविद्युत् आयोजनामा सुरुङ निर्माणलाई महत्वपूर्ण कार्य मानिन्छ । अब ५६७ मिटर मात्र सुरुङ निर्माण गर्न बाँकी रहेको राहुघाट जलविद्युत् आयोजनाको आयोजना व्यवस्थापक राज विष्टले बताउनुभयो । “अबको दुई महिनाभित्र सुरुङको ब्रेक थ्रु गर्ने लक्ष्य सहित काम भैरहेको छ,” उहाँले भन्नुभयो “बाँध, अँधेरीखोला, पिप्ले र तिल्केनीचौरको चार वटा अडिटबाट सुरुङ निर्माणलाई तिब्रता दिएका छौ ।”  सुरुङबाट आउने पानीलाई रघुगङ्गागाउँपालिका–३ पिप्लेदेखि तिल्केनीचौरमा निर्माणाधिन विद्युतगृहमा खसाल्ने १९६ मिटर ठाडो सुरुङलाई फिनिसिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ । विद्युतगृह निर्माण स्थलबाट भर्टिकल प्रेसर साफ्टसँग जोड्ने ३२९ मिटर वटम प्रेसर साफ्टको सुरुङ यसअघि नै जोडिएको थियो । अडिट नम्बर ३ देखि भर्टिकल प्रेसर साफ्ट सम्मको ५४१ मिटरमध्य ४५० मिटर सुरुङ निर्माण सकिएको छ ।  बाँध र विद्युतगृहको प्रगति आधाभन्दा बढी  बाँध, विद्युतगृह निर्माणको काम पचास प्रतिशतभन्दा बढी सकिएको छ । रघुगङ्गा गाउँपालिकाको वडा नम्बर ४ र ५ को सिमानामा निर्माणाधीन बाँधमा यसै महिनाभित्र खोला फर्काउने तयारी गरिएको छ । सत्र मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त ९पिआरओआर० प्रविधिको बाँध निर्माणको काम ६० प्रतिशतभन्दा बढी सकिएको आयोजना व्यवस्थापक विष्टले बताउनुभयो । विद्युतगृहको संरचना निर्माण सकेर टर्बाइनका उपकरण जडान गर्न थालिएको छ । विद्युतगृहदेखि पानी बाहिर फाल्ने नहर बनाउन लागिएको छ ।  विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले विद्युतगृहका उपकरण आयात गर्न थालेको छ । भेलसँगको ठेक्का सम्झौताको म्याद सन २०२४ नोभेम्बर महिनासम्म थपिएको छ । ६५ प्रतिशत भौतिक प्रगति  रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको राहुघाट जलविद्युत् आयोजनाको आगामी २०२५ मार्च महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने कार्ययोजनासहित काम भैरहेको जानकारी गराउनुभयो । “अबको १५ महिनाभित्र आयोजना सञ्चालन गर्ने लक्ष्यका साथ निर्माणलाई तीव्रता दिएका छौं,” उहाँले भन्नुभयो ।  यसअघिका दुई वर्ष बुग्लको पहिरोका कारण बर्खायामको चार महिना बाँध निर्माणको काम रोकिएको थियो । यसवर्ष बर्खायाममा पनि बाँध, सुरुङ र विद्युतगृह निर्माणले निरन्तरता पाउँदा प्रगति सन्तोषजनक रहेको उहाँको भनाइ छ ।” घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एक वटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युतगृह र बाँधलाई सिधा सडकले जोडिएको छ ।  उतारचढाव व्यहोरेको आयोजना  चौध वर्षअघि निर्माण प्रक्रीया थालिएको राहुघाट जलविद्युत् आयोजनाले विभिन्न आरोह अवरोह र उतारचढाव ब्यहोरेको छ । भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा २०६६ सालमा सो आयोजना निर्माण सुरु भएको थियो । कमजोर आर्थिक अवस्थाका कारण २०७२ सालमा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो । पहिलेको कार्यतालिका र सम्झौताअनुसार राहुघाट २०७० सालमा निर्माण सकिनुपर्ने थियो तर २०७४ मङ्सिरमा रु छ अर्बमा ठेक्का सम्झौता गरेको भारतको सिभिल ठेकेदार जयप्रकाश एशोसिएट् (जेपी)ले पनि निर्धारित समयभित्र आयोजना निर्माण सम्पन्न गर्न सकेन । ४५ महिनाको ठेक्का सम्झौताको म्याद भएको आयोजना सन् २०२३ जनवरीदेखि सञ्चालन गर्ने लक्ष्य थियो । कोरोना महामारी र विपद्का कारण सिभिल ठेकेदारले लक्ष्य अनुसार काम गर्न नसकेका कारण सन् २०२४ को अक्टोबर १७ सम्म ठेक्का सम्झौताको म्याद थप भएको छ । पुरानो ठेकेदारले आइभिआरसिएलले आठ वर्षमा १० प्रतिशत काम गरेको थियो । सिभिल ठेकेदार २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो ।  नदीजन्य निर्माण सामग्रीको अभाव  विपद् र कोरोना (भाइरस)को महामारीका कारण निर्माणमा ढिलाइ भएको राहुघाट जलविद्युत् आयोजनालाई कार्ययोजनाअनुसार निर्माण सम्पन्न गराउन नदीजन्य निर्माण सामग्रीको अभाव प्रमुख चुनौती देखिएको छ । सर्वोच्च अदालतको २०७८ असारको आदेशका कारण कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन् गर्न नपाउँदा गण्डकी प्रदेशका कालीगण्डकी नदी आसपासका जिल्लाहरुमा नदीजन्य निर्माण सामग्रीको अभावका कारण विकास आयोजना प्रभावित भएका छन् ।  कालीगण्डकीबाट नदीजन्य निर्माण सामग्री उत्खनन गर्न नपाउँदा निर्माण प्रभावित बनेको जयप्रकाश एसोसिएट्सको राहुघाट जलविद्युत् आयोजना व्यवस्थापक हरीश अग्रवालले बताउनुभयो । “ठेक्का सम्झौताका क्रममा कालीगण्डकी नदीको सामग्री प्रयोग गर्ने उल्लेख छ । तर अदालतको आदेशका कारण तीन वर्षदेखि कालीगण्डकी नदीबाट सामग्री निकाल्न पाएका छैनौ,” उहाँले भन्नुभयो “यस वर्ष हामीलाई पचास हजार घनमिटर नदीजन्य कच्चा पदार्थ आवश्यक छ । गिटी, बालुवा र ढुङ्गा नपाउँदा सुरुङ, विद्युत्गृह र बाँध निर्माणको काम प्रभावित हुन थालेको छ ।” बेनी नगरपालिका क्षेत्रमा कालीगण्डकी बाहेकको बगरबाट १० हजार घनमिटर मात्र व्यवस्थापन गरिएको छ । म्याग्दी, राहुघाट र अन्य बगरबाट नदीजन्य वस्तुको आपुर्ति गराउन पहल गरिएको गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले बताउनुभयो ।  ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली, प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, प्रदेश सांसद भण्डारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले हालै आयोजना निरीक्षण गरेर नदीजन्य निर्माण सामग्रीको आपूर्ति सहज बनाउन स्थानीय तह र प्रशासनसँग सहजीकरण गर्नुभएको छ ।  यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक रु। २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न कालीगण्डकी कोरिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा जोड्न लुप इन लुप आउट (लिलो)को चार टावर तयार भएको छ ।  विकटमा विकास गतिविधि बढ्यो  जलविद्युत् आयोजना भित्रिएसँगै म्याग्दीको राहुघाट नदी आसपासका छ वटा वडामा विकास गतिबिधी बढेको छ । ऊर्जा खोलामा परिणत हुन थालेको राहुघाटको पानीले विकट गाउँमा सम्भावना र अवसरको ढोका खोलिदिएको रघुगङ्गा गाउँपालिका–७ का बासिन्दा ध्रुवकुमार पाइजाले बताउनुभयो । “राहुघाट नदी आसपासका पिप्ले, दग्नाम, दर्मीजा, झिँ, पाखापानी र कुइनेमंगलेका छ वटा वडाका करिब एघार हजार नागरिकको दैनिकी र जीवनयापनमा जलविद्युत् आयोजनाले नसोचेको परिवर्तन ल्याएको छ,” उहाँले भन्नुभयो “राहुघाटमा निर्माणाधीन जलबिद्युत आयोजना, गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको साझेदारीमा अक्करे अजिङ्गरको भिरमा मार्ग खोलेर मौवाफाँटदेखि कुइनेको छहरीसम्म करिब २० किलोमिटर सडक निर्माण गरेपछि पूरै दिनको यात्रा चार घण्टामा छोटिनुका साथै ढुवानीमा सहज भएको छ ।” जलविद्युत् आयोजनाहरुले पहुँचमार्गमा बनाएको चार वटा बेलिब्रिजबाट स्थानीयबासीले पनि लाभ लिएका छन् । प्रशारण लाइन, सबस्टेशन निर्माण र सडकको पहुँच विस्तार तथा ऊर्जाको अन्तरराष्ट्रिय बजार खोजी हुन थालेपछि जलविद्युत् आयोजनाले गति लिन थालेका हुन् । जलविद्युत् आयोजना भित्रिएसँगै राहुघाट कोरिडोरका आसपासका बस्तीमा अन्य विकास गतिबिधिले तीव्रता, आयआर्जन र रोजगारीको अवसर सिर्जना भएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । जलविद्युत् आयोजनासँगै भित्रिएको सम्भावनालाई अवसरमा रुपान्तरण गरी स्थानीयबासीको जीवनस्तर सुधार गर्न जोड दिएको उहाँको भनाइ छ ।  एघार आयोजना निर्माणाधीन  राहुघाट आयोजनासँगै म्याग्दीमा तीन सय ५३ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । निर्माण शुरु भएपछि भित्रिएका तीन वटा आयोजना सञ्चालनमा आइसकेका छन् । थप छ वटा निर्माणको अन्तिम चरणमा छन् । विद्युत् विकास विभागका अनुसार ६३ मेगावाट क्षमताका चार वटा जलविद्युत् आयोजना सञ्चालनमा आइसकेको म्याग्दीमा ७००.८३ मेगावाट क्षमताका १७ आयोजनाले निर्माणका लागि अनुमति लिएका छन् । कूल ३४६.०३ मेगावाट क्षमताका छ वटा आयोजना निर्माणको तयारी र प्रक्रियामा छन् । त्यस्तै ८३.५ मेगावाट क्षमताका तीन आयोजनाले निर्माणका लागि अनुमति मागेका छन् । जिल्लाभर १४०.१३ मेगावाट क्षमताका १४ आयोजना सर्वेक्षणको क्रममा छन् ।

पोखरा:  रोटरी क्लब अफ गण्डकीले आयोजना गरेको निशुलक स्वास्थ्य शिविरमा ३ सय १२ जनाले सेवा लिएका छन् ।  रोटरी क्लब अफ गण्डकीले शनिबार पोखरा महानगरपालिका–१७ छोरेपाटनमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ३ सय १२ जनाले स्वास्थ्य जाँच गराएका हुन् । निशुल्क स्वास्थ्य शिविरमा नेपाल आयुवेद औषधी व्यवसायी संघ कास्की र लाईफकेयर डाइनोस्टिक एण्ड रिसर्च सेन्टर प्रा.लिले प्राविधिक सहयोग गरेका थिए ।  क्लबका अध्यक्ष किसान सुनारले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बताए ।  ‘रोटरी क्लबले सामाजिक उत्तरदायित्वमा रहेर काम गर्दै आएको छ, मेरो कार्यकालमा पनि सामाजिक उत्तरदायित्वमा रहेर नै काम गर्ने प्रतिवद्धता गरेको छु’, सुनारले भने, ‘आजको स्वास्थ्य शिविर आर्थिक अवस्था कमजोर भएका स्थानीयहरुलाई मध्यनजर गरेर सञ्चालन गरेका छौं ।’ उनका अनुसार निशुल्क स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नशा सम्बन्धी, श्वास कास शिर रोग, स्त्री तथा प्रसुति रोग, पेट सम्बन्धी रोग र गुद्द्धार सम्बन्धी रोगको निशुल्क जाँच तथा औषधी वितरण गरिएको थियो ।  रोटरी क्लब अफ गण्डकीले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरको उद्घाटन रोटरी डिस्ट्रिक ३२९२ का पूर्व गभर्नर पिडिजी किरणलाल श्रेष्ठले गरेका थिए । पोखरा महानगरपालिका–१७ वडा कार्यालय,बाराही टोल सुधार समिति र पुल्चोक टोल सुधार समितिको स्थानीय व्यवस्थापनमा स्वास्थ्य शिविर सम्पन्न भएको थियो ।