पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

ढोरपाटन:     बागलुङको विभिन्न पाँच पालिकाले अझै भाडाकै घरबाट कार्यालय सञ्चालन गर्दै आएका छन् । जैमिनी , गलकोट, ढोरपाटन, बागलुङ नगरपालिका सहित काठेखोला गाउँपालिकाले भाडाका घरबाट सेवा प्रवाह गरिरहेका छन् ।  निसीखोला, बडिगाड, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाको आफ्नै भवन  छ ।  ती  मध्ये केही पालिकाले अघिल्लो कार्यकालमै भवन बनाएर सेवा दिन सुरु गरेका थिए भने बडिगाड गत वर्ष आफ्नो भवनमा सरेको थियो । जैमिन, ढोरपाटन र गलकोट नगरपालिकाको प्रशासकीय भवन निर्माणाधीन अवस्थामा छन् । काठेखोलाको भने अझैसम्म भवन निर्माण सुरुआत भएको छैन । करिब छ वर्षसम्म स्थानीयको विवादका कारण जग्गा व्यवस्थापन हुननसकेको जनाइएको छ । अघिल्लो वर्ष कार्यपालिकाको बैठकले वडा नं ६ को सामबोटमा भवन निर्माण गर्ने निर्णय गरे पनि निर्माण गर्ने भनिएको स्थान सामुदायिक वन क्षेत्र पर्ने हुँदा बाँकी प्रक्रिया पुर्याइरहेको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । सामबोट सामुदायिक वन उपभोक्ता समितिले भवन बनाउन दिने निर्णय गरी मन्त्रालयमा पठाएपछि भवन निर्माणका काम थाल्ने उहाँको भनाइ छ । भवन निर्माणका लागि माटो परीक्षण गर्ने काम सकिएकाले आगामी आर्थिक वर्षमा भवन निर्माण अगाडि बढ्ने अध्यक्ष थापाले बताउनुभयो । ढोरपाटनले पनि अहिलेसम्म भाडाकै घरमा कार्यालय सञ्चालन गर्दै आएको छ । उसले ढोरपाटनल –ं १ को बुर्तिबाङ बजारमै भवन निर्माण गरिरहेको छ । अहिलेसम्म ७५ प्रतिशत काम सम्पन्न भएको नगरपालिकाका सूचना अधिकारी चण्डिराज पौडेलले जानकारी दिनुभयो । नगरपालिकाले दुईवटा भवन भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको जनाउँदै हरेक महिना मासिक रु एक लाख ३० हजार भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको उहाँको भनाइ छ । गलकोटले पनि भाडाकै घरमा कार्यालय सञ्चालन गरेको छ । गलकोट– ६ स्थित मजुवा फाँटमा करिब रु १४ करोडको लागतमा प्रशासनिक भवन निर्माण गरिरहेको प्रमुख प्रशासकीय अधिकृत रुद्रनारायण सापकोटाले जानकारी दिनुभयो । नगरपालिकाले आठ घर भाडामा लिएर मासिक रु एक लाख ८० हजार भाडा तिर्दै आएको उहाँले बतउनुभयो । भवन विसं २०८१ पुसमा सक्नेगरी सम्झौता भएको जनाइएको छ । जैमिनीले पनि कुस्मिशेरामा चार घर भाडामा लिएर सेवा प्रवाह गरिरहेको उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । करिब रु नौ करोडको लागतमा कुस्मिशेरा बजार नजिकै भवन बनिरहेको उहाँको भनाइ छ । हालसम्म ३५ प्रतिशत काम सकिएको जनाइएको छ । नगरपालिकाले मासिक रु एक लाख ६० हजार घरभाडा तिर्दै आएको छ । निर्माण कम्पनीले सरासर काम सके आगामी वर्ष आफ्नै भवनबाट सेवा सुरु गर्न सकिने उपप्रमुख शर्माको भनाइ छ ।  बागलुङ नगरपालिका विसं २०५३ मा स्थापना भयो । लामो समय बजारमा भाडा तिरेर कार्यालय सञ्चालन गर्यो । लामो समयसम्म बागलुङ –ं ३ स्थित रातमाटामा पक्की भवन बनाएर सेवा प्रवाह गर्दै आएको नगरपालिका आफ्नो कार्यालय छाडेर विसं २०७६ मा बागलुङ बजारमा रहेको कृषि ज्ञान केन्द्रको भवनमा सर्यो । हाल सोही कार्यालयबाट सेवा दिँदै आएको छ । जिल्लाका अन्य नौ पालिका विसं २०७३ मा स्थापना भएका थिए । पहिलोपटक जनप्रतिनिध आएपछि केही पालिकाले पहिलो कार्यकालमै आफ्नै प्रशासनिक भवन बनाएर सेवा सञ्चालन गरे भने केहीले अहिलेसम्म भवन नै बनाउन सकेका छैनन् ।

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा–८, जाल्पारोडको एक होटलबाट पोखरा–९, पृथ्वीचोक बस्ने वर्ष २९ का प्रविन गुरुङ, पर्वत घर भई काठमाडौंको शङ्खमूल बस्ने वर्ष २३ का निर्मल मल्ल र पोखरा–१७, बिरौटा बस्ने वर्ष २६ का राजेश ठकुरीलाई पक्राउ गरेको हो । उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।  पोखरा–८, जाल्पारोडस्थित रहेको काभ्रेली खाजाघरका सञ्चालकले बालिका तथा महिलालाई होटलमा राम्रो काम लगाइदिन्छु भनी सुरुमा सरसफाइको काम लगाएपछि विभिन्न प्रलोभनमा पारी पोखराका विभिन्न होटलमा पठाई यौन शोषण गरेको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले बिहीबार राति १० बजेतिर पर्वत खाजाघरबाट महिलालाई बाहिर लैजान लागेको अवस्थामा एक बालिका र दुई महिलालाई उद्धार गरेको छ । 

काठमाडौं:   टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स रहेको समूह डीमा परेको छ । शुक्रबार सार्वजनिक भएको खेल तालिका अनुसार आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालको पहिलो खेल नेदरल्याण्ड्ससँग जुन ४ मा अमेरिकाको डल्लासमा खेल्ने छ । नेपालले दोस्रो खेल जुन ११ मा श्रीलंकासँग अमेरिकाको फ्लोरिडामा तथा तेस्रो खेल जुन १४ मा दक्षिण अफ्रिकासँग सेन्ट भिन्सेन्टमा र जुन १६ मा बंगलादेशसँग पनि सेन्ट भिन्सेन्टमै खेल्नेछ । भारत र पाकिस्तान भने एउटै समूहमा परेका छन् । उनीहरु रहेको समूह एमा आयरल्याण्ड क्यानडा र अमेरिका छन् । समूह बीमा इंग्ल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान छन् । समूह सीमा न्यूजिल्याण्ड, घरेलु टोली वेष्ट इण्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी छन् । हरेक समूहमा रहेका देशले ४–४ खेल खेल्ने छन् र समूहका शीर्ष दुई टिम सुपर एटमा पुग्नेछन् । जहाँ ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहको शीर्ष दुई÷दुई टोलीले सेमिफाइनल खेल्ने छन् । यसअघि जुन ४ देखि ३० सम्म हुने भनिएकोमा आईसीसीले मिति हेरफेर गरेको छ । अब टी-२० विश्वकप जुन १ देखि २९ सम्म हुनेछ । पहिलो खेल अमेरिका र क्यानडाबीच जुन १ मा डल्लासमा हुनेछ । गत कात्तिकमा काठमाडौंमा भएको टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा यूएईलाई ८ विकेटले सहजै पराजित गर्दै नेपालले १० वर्षपछि टी–२० विश्वकपमा स्थान पक्का गरेको थियो ।

पोखरा:   २५ औं ल्होछार घलेल महोत्सवमा आयोजितमा घोडा दौडको उपाधि छोम्रोङका दिपेन्द्र गुरुङले जितेका छन् । बौद्ध सृजना युवा क्लबले तमु समुदायको मुख्य पर्व ल्होछारको अवसरमा  आयोजना गरेको घोडा दौडमा छोम्रोङका दिपेन्द्र गुरुङ प्रथम, उल्लेरीका सुमित पुन द्धितिय र छोम्रोङका अमित गुरुङ तृतीय भए । घोडा दौडमा प्रथममा भएका गुरुङले ४० हजार र द्धितीय भएका पुनले २० हजारसहित प्रमाणपत्र प्राप्त गरे ।    कास्कीको माछापुच्छ«े गाउँपालिका ८/९ घलेलमा पुष १५ देखि २० गतेसम्म २५ औं ल्होछार घलेल महोत्सव भएको थियो । ल्होछार घलेल महोत्सवमा खुल्ला गाउँस्तरीय पुरुष भलिबल, पौढ भलिबल, ठेलो, रस्साकस्सी, अन्धानिशान, सामुहिक नृत्य, घोडा दौडे, महिला  कुर्ची दौड प्रतियोगिता सम्पन्न भएको छ ।  

पोखरा:   गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्र ध्वज जिसीले कृषि मुलुकको आर्थिक मेरुदण्ड भएको बताउनुभएको छ ।  कृषि विकास निर्देशनालय गण्डकी, पोखरा महानगरपालिका, नेपाल सरकार कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घको संयुक्त आयोजनामा पोखरामा आजदेखि सुरु भएको प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री जिसीले मुलुकको आर्थिक मेरुदण्ड भएको बताएका हुन् ।  “हाम्रो देशको सन्दर्भमा भन्ने हो भने कृषि नै हाम्रो लाइफलाइन हो, कृषि नै हाम्रो देशको आर्थिक मेरुदण्ड हो, उहाँले भन्नुभयो, सिङ्गो मुलुकको जिडिपीमा २६ प्रतिशत कृषिको योगदान छ, त्यसका कारण हाम्रो जीवन वृत्तिको प्रमुख माध्यम कृषि नै हो ।” नेपालमा कृषि पेसालाई परम्परागत र निर्वाहमुखीबाट बिस्तारै आधुनिकीकरण र यान्त्रीकरण तर्फ लैजानु पर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।  पोखरा महानगरपालिकाको आर्थिक विकास समितिका संयोजक बोधराज कार्कीले महानगर क्षेत्रका कृषकहरूलाई यान्त्रीकरणमा अनुदान सहायता प्रदान गरिएको बताउनुभयो । कृषि उपजको बजारीकरण सहित सुरक्षित ढुवानीका लागि कृषि एम्बुलेन्स समेत सञ्चालन गरिएको उल्लेख गर्दै उहाँले वडावडाहरुमा कृषि उपज सङ्कलन केन्द्रहरूमा समेत स्थापना गरिएको बताउनुभयो । कृषिको आधुनिकीकरण र यान्त्रीकरणका विषयमा विद्यालय तहदेखि नै अध्ययन अध्यापन गराउनु आवश्यक रहेको पोखरा १४ का वडाध्यक्ष समेत रहनुभएका संयोजक कार्कीले बताउनुभयो । महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरपालिका पछिल्ला केही वर्षदेखि कृषि यान्त्रीकरणको अभियानमा रहेको बताउनुभयो । “हामी कृषिको आधुनिकीकरण र यान्त्रीकरणको अभियानमा छौँ, प्रमुख कडरियाले भन्नुभयो, यसका बाबजुद पनि हामीसँग केही चुनौतीहरू छन्, टुक्रे र भिरालो जमिनका कारण यान्त्रिक उपकरणहरूको उपयोग त्यति सहज छैन, तैपनि यसप्रति कृषकहरूलाई आकर्षण गर्दै अनुदान र लागत साझेदारीमा कृषि यान्त्रीकरणको काम भने निरन्तर भइरहेको छ ।” पोखरा महानगरपालिका भित्रको कृषियोग्य जमिनलाई बाँझो नराख्ने र कृषकहरूको उत्पादनलाई बजार सुनिश्चितताका सकारात्मक अभ्यासहरू महानगरपालिकाको तर्फबाट गरिएको प्रमुख कडरियाले बताउनुभयो ।  परम्परागत र निर्वाहमुखी कृषि प्रणालीको विकल्प आधुनिकीकरण सहितको कृषि यान्त्रीकरण नै हुने व्यवसायीहरूले बताएका छन् । कृषकहरूको उत्पादन लागत कम गर्दै उत्पादनमा उल्लेख्य वृद्धि गर्न यान्त्रीकरण आवश्यक रहेको उनीहरूले बताए । उत्पादन देखी प्रशोधनसम्मका कृषि उपकरणहरू बजारमा उपलब्ध रहेका व्यवसायीहरूको भनाइ छ ।  प्रदर्शनीमा कृषि औजार, उपकरण, प्रविधि उत्पादक उद्यमी व्यवसायीहरू, आयातकर्ता, वितरक, डिलर, सबडिलरहरु, सरकारी एवं गैरसरकारी सङ्घ संस्थाहरू, कृषि विज्ञ, अनुसन्धानकर्ता, शैक्षिक संस्थाहरू, अनुसन्धान संस्थाहरू, सेवा प्रदायक कृषक समूह, सहकारी सङ्घ संस्थाहरू, बैङ्क तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको छ । १० बढी मुलुकबाट कृषि ओैजार, उपकरण तथा प्रविधिहरू प्रदर्शनी एवं बिक्री भइरहेको प्रदर्शनी पोखरा प्रदर्शनी केन्द्रमा पुस २२ गतेसम्म सञ्चालन हुनेछ ।  प्रदर्शनीले नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, औद्योगीकरण, आधुनिकीकरण तथा व्यवसायीकरण गर्न टेवा पुर्‍याउने उद्देश्यले राखेको छ । सो क्रममा कृषि यान्त्रीकरण प्रवर्द्धन सम्बन्धी गोष्ठी, सेमिनार, रैथाने बालीहरूको परिकार प्रदर्शन तथा कृषि जैविक विविधता संरक्षण सम्बन्धी प्रदर्शनी, कृषि जैविक विविधता संरक्षण सम्बन्धी छलफल अन्तरक्रिया हुनेछन् । प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्प खेती, व्यवसायीक तरकारी खेती र प्रशोधन तथा बजारीकरण सम्बन्धी आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामाग्री, बीउ बिजन, आधुनिक सिँचाइ लगायतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीहरूको सहभागिता रहेको छ ।

पोखरा:    पोखरा महानगरपालिका वडा नं. १ मा वृहत् स्वास्थ्य शिविरमा २ सय जनाले सेवा लिएका छन् ।     पोखरा महानगरपालिका वडा नं.१ कार्यालयको आयोजना, मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोग तथा सहरी स्वास्थ्य केन्द्र पोखरा १ को सहकार्यमा नाक, कान र घाँटी परीक्षण सम्बन्धी वृहत्  स्वास्थ्य शिविरमा २ सय जनाले सेवा लिएका हुन् ।  शिविरको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले महानगपालिका नगरवासीहरूको स्वास्थ्य प्रति संवेदनशील रहेको बताउनुभयो ।   नगरवासीहरूको स्वास्थ्य प्रवर्द्धनका लागि महानगरपालिकाले वडा स्तरीय सहरी स्वास्थ्य केन्द्र, महानगरपालिका स्तरीय सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र र अस्पताल समेत सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।  वडा नं.१ का वडा अध्यक्ष सहारा प्रधानले वडामा रहेका नागरिकहरूको स्वास्थ्य परीक्षण गर्ने र उनीहरूलाई स्वास्थ्य प्रति सचेतना जगाउने उद्देश्यले शिविरको आयोजना गरिएको बताउनुभयो ।   उहाँका अनुसार शिविरमा सयौँ वडावासी नागरिकहरूले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् ।

काठमाडौं:   भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । उनी नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन हिजो बिहीवार बिहान नेपाल आएका थिए ।  भारत फर्कनुअघि विदेशमन्त्री जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरे ।  नेपाल भ्रमणमा रहँदा विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।  जयशंकरको नेपाल भ्रमणका क्रममा नेपाल–भारत दीर्घकालीन बिजुली व्यापारलगायत चार वटा सम्झौतामा हस्ताक्षर भएको छ । आज स्वदेश फर्किनु अगाडि जयशंकरले बिहान पशुपतिनाथ मन्दिरमा दर्शन गर्नुका साथै त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयको भनवको उद्घाटन गरे।

काठमाडौं:    सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना मुद्दामा सफाइ दिएको छ । सात वर्ष पुरानो एक अभिव्यक्तिका कारण अवहेलनाको आरोप खेपेका दाहाललाई सर्वोच्च अदालतको संयुक्त इजलासले सफाइ दिएको हो । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले अवहेलनासम्बन्धी उजुरीमा ‘मागदावी नपुग्ने’ भनी निर्णय सुनाएको हो । फैसलाको पूर्णपाठ आउन बाँकी छ । द्वन्द्वकालीन मुद्दाबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७३ जेठमा विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा अदालतको अवहेलनामा कारवाही गरिपाँउ भनी निवेदन दिएका थिए । लामो समयदेखि सर्वोच्चमा अड्किएको मुद्दामा गत असोजमा दुवैतर्फको बहस सकिएको थियो । २०७३ बैशाखको अन्तिम साता राष्ट्रिय सभागृहमा माओवादी कार्यकताको भेलामा प्रचण्डले अदालतमा आफूविरुद्ध षडयन्त्र भएको भनी अभिव्यक्ति दिएका थिए । माओवादी विरुद्ध अदालतलाई प्रयोग गरिएको र दिँउसै रात पार्ने प्रपञ्च भएको भन्दै उनले आक्रोश पोखेका थिए । त्यतिबेला व्यक्ति हत्याको आरोपमा माओवादी कार्यकर्ता छविलाल अधिकारी पक्राउ परेका थिए । त्यही आक्रोशमा दाहालले शान्ति प्रक्रिया विरुद्ध अदालत अघि बढ्दैछ भनी विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिविरुद्ध तत्कालिन अधिवक्ता त्रिपाठीले अवहेलनाको आरोपमा कारवाही अघि बढाउन माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

पोखरा:   प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् ।  शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर उक्त विज्ञापन सच्चाउन निर्देशन दिएका हुन् ।  शुक्रबार छनोट तथा सिफारिस समितिका तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुभएको सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिएका हुन् ।  त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट लगाउनेमा हाम्रो चासो रहेको बताउँदै प्रधानमन्त्रीले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्ण रूपले खुला गरी अर्को विज्ञापन खोल्दै मन्त्रालयमार्फत समितिलाई निर्देशन दिएका हुन् ।  आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिएको बताए ।    प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेको जोकोही योग्य प्राज्ञिक नेपालीले दरखास्त हाल्न सक्ने गरी फराकिलो मापदण्ड नबनाए विश्वविद्यालय सुधार कठिन भएकाले उच्च शिक्षाको गुणात्मक सुधारका निम्ति गम्भीर हुन पनि शिक्षामन्त्रीलाई निर्देशन दिए ।