पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

पोखरा:    पोखराको रेस्टुरेन्ट सफ्टवेयर कम्पनी रेस्ट्रोएक्स प्रालिले काठमाडौंमा भएको आठौं ‘आइसिटी अवार्ड’मा गण्डकी प्रदेशबाट उत्कृष्ट स्टार्टअप अवार्ड जितेको छ ।  एक दर्जन बढी प्रि–इभेन्ट, ५ महिनादेखिको छनोट प्रक्रिया पूरा गरी विभिन्न १४ विधामा अवार्ड वितरण गरिएको थियो । त्यसबाहेक सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई पनि अवार्ड प्रदान गरिएको थियो । प्रदेश उत्कृष्ट स्टार्टअपमा गण्डकीबाट रेस्ट्रोएक्ससहित कोशी प्रदेशबाट ट्रयाक अन नेपाल, मधेश प्रदेशबाट एड्सबी मिडिया, बागमती प्रदेशबाट हर्टसन टेक्नोलोजी, लुम्बिनी प्रदेशबाट टुना टेक्नोलोजी, कर्णाली प्रदेशबाट बायो कर्णाली एरोमा प्रालि र सुदूरपश्चिम प्रदेशबाट निम इन्फोसिस प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन अवार्डबाट सम्मानित भए । लिभिङ विथ आइसिटीले सन् २०१६ देखि हरेक वर्ष आयोजना गर्दै आइरहेको आइसिटी अवार्ड कार्यक्रम, सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्ड मानिन्छ । रेस्ट्रोएक्सका सिइओ स्वदेश नेपालीले प्रदेशबाट उत्कृष्ट स्टार्टअप सम्मानबाट सम्मानित भएपछि आफूहरुलाई हौसला मिलेको बताए । ‘आइटी क्षेत्रमै केही गरौं भनेर लागिरहेका छौं । यो सम्मानले अझै यसमै केही राम्रो गरौं भन्ने हौसला दिएको छ,’ उनले भने । रेस्ट्रोएक्स प्रालिको मुख्य कार्यालय पोखरा जिरो किलोमिटरमा छ । यो सफ्टवेयर रेस्टुरेन्ट, होटल तथा क्याफेलाई डिजिटल रुपमा व्यवस्थापन गर्न बनाइएको नेपालीले जानकारी दिए । उनका अनुसार हाल उक्त सफ्टवेयर १५ सयभन्दा बढी रेस्टुरेन्टले प्रयोगमा ल्याएका छन् ।   

पोखरा:   यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय (क्वेर समुदाय)ले नागरिकता मुद्दा विषयमा जनप्रतिनिधि र सरोकारवाला निकायसँग गण्डकी प्रदेश स्तरिय नीतिगत संवाद तथा अन्तरक्रिया गरेको छ ।  निल हिरा समाजको आयोजना र युएनडिपी अन्तरगतको द स्केल इनिसिएटिभ ९त्जभ क्अबभि क्ष्लष्तष्बतष्खभ, ग्ल्म्ए० को सहयोगमा आज (शुक्रबार) पोखरामा सरोकारवालाहरुसँग नागरिकता विषयमा संवाद तथा अन्तरक्रिया गरेको हो । कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक अभियानकर्मी भुमिका श्रेष्ठले लैङ्गिक पहिचान, समुदायको परिभाषा, समाजको बुझाईलगाएतको विषयमा प्रस्तुती राखेकी थिइन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्ति पनि अरु नागरिक सरह स्वतन्त्ररुपमा जीवनयापन गर्न पाउने अधिकारलाई साथ दिन उनले आग्रह गरिन् । समाजमा नकारात्मक बुझाईका कारण समुदायका धेरै व्यक्तिले दुःख पाउनु परेको श्रेष्ठको भनाई थियो । पछिल्लो समय समाजले समुदायलाई हेर्ने नजरमा केही सकारात्मक परिवर्तन आएको बताउँदै राज्यस्तरबाटै उचित नीति नियम आवश्यक रहेको उनको भनाई थियो । त्यस्तै निल हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले नागरिकता तथा पहिचानको मुद्दा विषयमा प्रस्तुती राखेकी थिइन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिले नागरिकता प्राप्ती गर्न निकै झन्झटीलो प्रावधान रहेको उनले बताइन् । साथै लैङ्गिक पहिचान सहितको नागरिकता दिनुपर्ने जिम्मेवारीबाट राज्य टाढिन खोजेको उनको भनाई थियो । नागरिकता प्राप्तीमा असहजता, राज्यको संरचनामा समुदायको समान प्रतिनिधित्व, समान रोजगारीको व्यवस्था लगाएतको विषयमा राज्य जिम्मेवार हुनुपर्ने उनले प्रस्तुतीमार्फत राखेकी थिइन् । अन्तरक्रियामा जनप्रतिनिधि र सरोकारवाला निकायले समुदायको विषयमा संवेदनशिल रहेको र समुदायको हक अधिकारका लागि हातेमालो गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । अन्तरक्रियामा भक्ति शाह र सुदिप गौतमले क्वेर समुदायकै व्यक्ति भएका कारण समाजमा आफुले भोग्नुपरेको समस्याका बारेमा अनुभव सुनाएका थिए ।

काठमाडौं:     ललितपुरको बालकुमारीमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका अर्का एकजना युवाको  पनि मृत्यु भएको छ। मृत्यु हुनेमा डोटीका वीरेन्द्र शाह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए। उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। सोही घटनामा अर्का घाइते दैलेखका सुजन राउतको मृत्यु भइसकेको छ। अर्का एकजना युवा पनि गम्भीर घाइते अवस्थामा रहेको प्रहरीले बताएको छ। प्रहरीले २३ जना प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको छ। शुक्रबार अपरान्ह भौतिक,पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र गोली चलाएको थियो। सोही क्रममा करिब एक दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन्। उनीहरूको पाटन र किष्ट अस्पतालमा उपचार भइरहेको छ।  कोरियन भाषा परीक्षाको विषयलाई लिएर  विरोध प्रदर्शमा उत्रिएका युवाहरूले मन्त्री सवार गाडीमा आगजनी गरेका थिए। प्रदर्शनकारीहरूले मन्त्री ज्वाला चढेको गाडी रोकेर सुरुमा हावा फुस्काइ दिएका थिए। त्यसपछि आगो लगाएका थिए। आगजनीबाट बा २ झ  ५८६१ नम्बरको गाडी ध्वस्त भएको छ। आगजनीपछि बालकुमारी क्षेत्र तनावग्रस्त बनेको थियो। 

गण्डकी:    झट्ट सुन्दा अचम्म लाग्न सक्छ, पोखराको पृथ्वीनारायण क्याम्पस परिसरभित्रको सङ्ग्रहालयमा विभिन्न ९३७ प्रजातिका पुतली एकै ठाउँमा अवलोकन गर्न सकिन्छ ।      ‘अन्नपूर्ण बटरफ्लाई म्युजियम’का रुपमा रहेको यो सङ्ग्रहालय अन्नपूर्ण प्राकृतिक इतिहास सङ्ग्रहालयका रुपमा पनि परिचित छ । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)को सञ्चालनमा रहेको यस सङ्ग्रहालय २०२३ सालमा अमेरिकी पिसकोरका स्वयंसेवक स्व. डोरोथी मिरोले स्थापना गर्नुभएको हो । तत्कालीन समयमा हाल रहेको सङ्ग्रहालयको कलात्मक भवन मिरोले नै आफ्नै खर्चमा निर्माण गरिदिनुभएको हो ।  सङ्ग्रहालय परिसरमा पुग्नासाथ सङ्ग्रहालय भवनका बाहिर ठिङ्ग ठडिएका नेपालका विभिन्न जाताजातिका मानिसको स्वरुपमा कुँदिएका खाँमाहरूले छाना अड्याइएको देखिन्छ । उक्त दृश्यले बाहिर पुग्ने जोकोहीलाई भित्र पस्न लोभ्याउने गरेको छ । मिरोको सन् २००० मा निधन भएको थियो । उक्त सङ्ग्रहालय २०४३ सालमा एक्याप स्थापना भएसँगै सोही संस्थाले नै यसको संरक्षण तथा सञ्चालन गर्दै आएको छ । मिरोले स्थापना गर्नुभएको सङ्ग्रहालयमा पुतलीहरूको सङ्कलन भने बेलायतको लण्डन जन्मस्थान भई नेपालको सम्मानार्थ नागरिकता प्राप्त गर्नुभएका स्व. कोलिन फिलिप स्मिथले गर्नुभएको हो । स्मिथले देश तथा विदेशका ठाउँठाउँबाट पुतलीहरू सङ्कलन गरी ल्याउनुुभएको सङ्ग्रहालयका कर्मचारी सुरेन्द्र परियारले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्ग्रहालयमा नेपाल भित्र पाइने ५८७ प्रजातिका पुतली र नेपाल बाहिरका ३५० प्रजातिका पुतली रहेका छन् । मूल प्रवेशद्वारबाट छिर्ना साथ नेपालका विभिन्न भागमा पाइने जीवजन्तुका आकृत्तिहरूले जो कोहीलाई आकर्षित गर्दछ । वाइल्ड लाइफ कक्षका रुपमा रहेको उक्त कक्षभित्र पूर्वी भागमा तराई भूभागमा पाइने जीवजन्तु बारे हेर्ने र जानकारी लिने व्यवस्था मिलाइएको छ । कक्षको उत्तरी कुुनामा नेपालमा पाइने हिमाली जीवजन्तुुबारे जानकारी लिन सकिन्छ । उक्त कक्षको पश्चिममा लोपोन्मुख जनावर र दक्षिणतर्फ रातको सहयमा सकृय हुने जीवजन्तुहरू राखिएको छ । कर्णाली र नारायणी नदीमा पाइने डल्फिल आदिबारे हेर्न र जान्न पाउँदा आउने दर्शकहरू खुसी हुने गरेका छन् । सङ्ग्रहालयको प्रवेशसँगै दर्शकहरूले छुट्टै रोमाञ्चक अनुभूति गर्दछन् ।     त्यस्तै यहाँको अर्को कक्ष चरा र चट्टान कक्ष हो । यस कक्षमा विभिन्न प्रजातिका चराका साथै विभिन्न पत्थरहरू देख्न सकिन्छ । विभिन्न चट्टान, नेपालका काली गण्डकी नदीमा पाइने शालिग्राम तथा खनिजहरू सो कक्षमा राखिएको छ । त्यस कक्षमा राखिएको विभिन्न ७० प्रजातिका चरा, किङ क्रोब्रा, सिंगारे सर्प, धामन सर्प, हिमाली गिद्ध, डाँफे आदिले त्यसबारे जान्न र बुझ्न चाहनेलाई फाइदा पुगेको परियारले जानकारी दिनुभयो ।  यहाँको मुख्य आकर्षण पुतली कक्ष हो । नेपालमा सबैभन्दा ठूलो सङ्ख्यामा पुतलीहरू सङ्ग्रह गरिएको सङ्ग्रहालय भएका कारण पुतलीको अध्ययन अनुसन्धान गर्न आउनेका लागि यो विशेष महत्वपूर्ण रहेको परियारले बताउनुभयो । पुतलीकै कारण यसलाई पुतली सङ्ग्रहालयका रुपमा चिनिन्छ । नेपालमा पाइने ५८७ प्रजातिका र अन्य विभिन्न देशबाट ल्याइएका ३५० प्रजातिका पुतली सङ्ग्रहालयमा अवलोकन गर्न सकिन्छ । विश्वकै सबैभन्दा ठूलो र विश्वकै सबैभन्दा सानो पुतलीका साथै हिमालदेखि तराईसम्मका विभिन्न भूभागमा पाइने पुतली सङ्ग्रहालयमा रहेको बताउँदै परियारले अध्ययनले लद्दाख, सिक्किमदेखि मनाङसम्म पुतलीहरू आएको पाइएको जानकारी दिनुभयो । अध्ययनले पुतलीहरू थोराङ् पास गरेको पाइएको उहाँको भनाइ छ । ठाउँ र परिवेश अनुसार पुतलीहरूमा फरक पन पाउन सकिने उहाँले बताउनुभयो ।  पुतलीबारे जान्न र बुझ्न चाहनेका लागि सङ्ग्रहालय पुग्नैपर्ने गन्तव्य जस्तै बनेको बताउँदै परियारले यसको श्रेय बेलायती नागरिक कलिन फिलिप स्मिथलाई नै जाने बताउनुभयो । आफ्नो जीवन नै पुतलीको अध्ययन अनुसन्धानमा विताएका स्मिथ पुतली बाजेका रुपमा चिनिनुहुन्थ्यो । बेलायतमा जन्मिएर नेपाललाई आफ्नो कर्मस्थल बनाउनुभएका उहाँ ८७ वर्षको उमेरमा पोखरामा दिवंगत बन्नुभएको हो । आफ्नो जीवन नै नेपालमा पुतलीको अध्ययन, सङ्कलन र संरक्षणमा विताउनुभएका उर्हाँ नेपालमा पाइने पुतलीहरुको खोज, अध्ययन गरी अभिलेखीकरण र संरक्षणमा विशिष्ट योगदान दिएकै कारण पुतली बाजेका रुपमा नामले प्रसिद्ध बन्नुभएको सङ्ग्रहालयका प्रमुख रमेश श्रेष्ठले बताउनुभयो । जीवनको करिब छ दशक नेपालमा पुतलीकै अध्ययन अनुसन्धानमा विताएका स्मिथलाई नेपाल सरकारले समानार्थ नागरिकता समेत प्रदान गरेको थियो । उहाँ पहिलोपटक २०२२ सालमा बेलायतबाट नेपाल आउनुुभएको थियो । युनिभर्सिटी अफ लण्डनबाट एमएस्सी सकेर त्यहीँको विश्वविद्यालयमा अध्यापन गराउने क्रममा उहाँ ‘युनाइटेड मिसन टू नेपाल’ मार्फत पढाउनका लागि उहाँ नेपाल आउनुुभएको थियो । तत्कालीन समयमा उहाँले गोरखाको विद्यालयमा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, बरिष्ठ चिकित्सक स्व. उपेन्द्र देवकोटालगायत विभिन्न उच्चपदस्थ व्यक्तिहरूलाई  अध्यापन गराउनुभएको थियो ।  तीसवर्षे उमेरमा नेपालमा आउनुुभएका स्मिथले ५८ वर्षको नेपाल बसाइका क्रममा पाँच दशक पुतलीकै अध्ययन अनुसन्धान एवम् अभिलेखीकरणमा विताउनुुभएको थियो । २०२३ सालमा हालको पृथ्वीनारायण क्याम्पस परिसरमा अन्नपूर्ण नेचुरल हिस्ट्री म्युजियममा त्रिभुवन विश्वविद्यालयसँग छ वर्षे सम्झौता गरेर उहाँले करिव २५ हजार पुतली सङ्कलन गर्नुभएको थियो । तत्कालीन सयमा उहाँले नेपालका लगभग ४० जिल्लामा पुगेर पुतली सङ्कलन गर्नुभएको हो । पेशाले शिक्षक भए पनि पुतलीको अध्ययन अनुसन्धनामा उहाँको ठूलो मोह थियो । उहाँले नेपालका हिमाल, पहाड र तराईका अधिकांश जिल्लाबाट सङ्कलन गरिएका पुतली सङ्ग्रहालयमा छन् ।  सन् १९६६ सालमा नेपाल आउनुुभएका स्मिथले लामो समयको प्रयासपछि सम्मानार्थ नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएको थियो । उहाँको गत कात्तिक १८ गते निधन भएको हो । नेपालमा पुतलीकै अध्ययन, अनुसन्धान एवम् सङ्कलनमा जीवन व्यतित गरेका उहाँको सम्मानमा सङ्ग्रहालयमा ‘सम्झनामा कोलिन फिलिप स्मिथ (पुतली बाजे)’ लेखेर एउटा बोर्डमा उहाँका नेपाल बसाइका विभिन्न स्मरण सजाइएको छ । उक्त बोर्डमा राखिएका नागरिकताको खोजीमा जिल्ला प्रशासन कार्यालय पुगेको, नेपाली नागरिकतासँगै लिएर पढ्दै गरेका तस्बिर सहित सम्मान ग्रहण गर्दाका क्षण आदिलाई त्यहा पुग्ने जो कोहीले नियालेर हेर्ने गरेका छन् ।  विश्वमा पाइने १७ हजार पाँँच सय प्रजातिका पुतलीमध्ये नेपालमा मात्रै करिब ६६० प्रजातिका पुतली पाइएका छन् । पर्यावरणीय चक्रमा पुतलीको ठूलो महत्व रहेको छ । कृषिजन्य उत्पादनमा परागसेचनका माध्यमबाट पुतलीले महत्वपूर्ण योगदान पु¥याउने भएकोले किसानको साथीका रुपमा पनि यसलाई लिने गरिन्छ । सङ्ग्रहालयको अर्को कक्षमा विभिन्न देशमा त्यहाँका मानिसले विशेष समारोहमा लगाउने पोशाकमा सजिएका गुडियाहरू सजाइएको छ । त्यहाँ पुग्नेले कुन देशमा कस्तो पहिरन छ भन्ने राम्रोसँग बुझ्न पाउँछन् । सोही कक्षमा विभिन्न जातजातिले प्रयोग गर्दै आएका प्राचीन घरहरू राखिएका कारण हाम्रो पुरानो संस्कार र संस्कृति बुझ्न मद्दत पुगेको छ । सङ्ग्रहालयको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) बारे जान्न र बुुझ्न अर्को छुुट्टै कक्ष राखिएको छ । त्यस कक्षमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा समेटिएका गाउँहरू, त्यहाँको जनजीवन, भूगोल आदिबारे जान्ने बुुझ्ने व्यवस्था मिलाईको छ । एक्यापको स्थापनापछि त्यहाँको जनजीवन र चेतनाको स्तर परिवर्तन भएका कुरालाई उक्त कक्ष पुगेर जान्न र बुझ्न सकिन्छ । सङ्ग्रहालयमा छिरिसकेपछि पुतलीका साथै हाम्रो जनजीवन तथा परिवेशका धेरै कुराहरू एकसाथ जानकारी पाउन सकिने पृथ्वीनारायण क्याम्पसका विद्यार्थी दिनेश सुवेदीले बताउनुभयो । “पुतली मात्रै नभएर हाम्रो समाज र परिवेशको पनि सङ्ग्रहालयमा चित्रण गर्न खोजिएको छ”, उहाँले भन्नुभयो, “यस्ता सङ्कलनले अनुसन्धानकर्ताका साथै जो कोही विद्यार्थीलाई पर्यावरणबारे बुझ्न योगदान गर्दछ ।” सङ्ग्रह गरिएका पुतली एवम् अन्य समाग्रीलाई वर्षौंसम्म जोगाउने किसिमले संरक्षण गर्न पनि जरुरी रहेको उहाँले बताउनुभयो । सङ्ग्रहालयमा विभिन्न प्रजातिका बोटबिरुवा, चराचुुरुङ्गी, जनावर, सर्प आदिले वनस्पति एवम् पशुपंछी अध्ययन गर्न चाहने जो कोहीलाई फाइदा पुग्ने गरेको सङ्ग्रहालयका प्रमुख रमेश श्रेष्ठ बताउनुहुन्छ । “हामी सङ्ग्रहित सामग्रीलाई कसरी जोगाउने भन्नेमा छौँ”, उहाँले भन्नुभयो, “सङ्ग्रहित हरेक सामग्री अति नै संवेदनशील छन्, यी सामग्रीलाई वर्षौंसम्म जोगाउनु ठूलै चुनौतीका रुपमा रहेको छ ।” सङ्ग्रहालयमा स्वदेशी एवं विदेशी पर्यटकका साथै विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरू पुग्ने गरेका छन् । अघिल्लो वर्ष कुल छ हजार ५३५ जनाले सङ्ग्रहालयको अवलोकन गरेका थिए । यसमध्ये तीन हजार ५१९ जना नेपाली, ५२२ जना विदेशी र दुई हजार ४९४ जना विद्यार्थी रहेको सङ्ग्रहालयले जनाएको छ । सङ्ग्रहालयमा पुगेर त्यहाँ राखिएका पुतली तथा अन्य जीवजन्तु आदिको अवलोकन गरिसकेपछि एकपटक पुग्नैपर्ने गन्तव्यका रुपमा चित्रण गर्ने गर्दछन् । 

काठमाडौं:    ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ । किष्ट मिडिकल अस्पतालका प्रमुख अमिष पाठकका अनुसार जुम्ला जिल्ला घर भएका २३ वर्षीय सुजन राउतको उपचारका क्रममा निधन भएको हो । राउत हाल भक्तपुरमा बस्दै आएका थिए । गोली लागेपछि अचेत अवस्थामा रहेका राउतलाई १२:४० बजे अस्पताल ल्याइपुर्याएकोमा १:१७ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । राउतको छातीमा रातो–निलो डाम रहेको प्रमुख पाठकले जानकारी दिए ।  शुक्रबार रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले बालकुमारीमा प्रदर्शन गरेका थिए ।

पोखरा:   आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको मिति तय भएको छ। आयोजक सहारा क्लब पोखराका महासचिव रामजीप्रसाद अधिकारीले प्रेस विज्ञप्ती जारी गर्दै आहा राराको २३ औं संस्करण  माघ ९ गते देखि २० गतेसम्म सन्चालन गर्न अखिल नेपाल फुटबल संघ(एन्फा)बाट अनुमति प्राप्त भएको जनाएका छन् । पोखरा रंगशालामा सन्चालन हने आहा रारामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखराको टिम सहभागिता रहने बताइएको छ । फाइनलमा अमेरिकाको भुटनिज युथ स्पोर्ट्सलाई‌ हराउँदै ए डिभिजन टोली संकटा क्लबले २२औं संस्करणको आहा १ राराको उपाधि जितेको थियो। त्यति बेला विजेताले १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गरेको थियो । प्रतियोगितालाई पहिलो संस्करण देखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गर्दै आएको छ । पोखरा महानगरपालिकाको प्रवर्द्धन रहेको प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, जिल्ला फुटबल संघ कास्की, सहारा यु।के।, सहारा क्लब हङकङ, सहारा क्लब अस्ट्रेलिया र सहारा क्लब हंगकंगका सल्लाहकार एंव कानुन व्यवसायी देव गुरुङ बिशेष सहयोग हुन् । प्रतियोगिताको अफिसियल बैंक( लुम्बिनी विकास बैंक, अफिसियल एयरलाइन्स (बुद्ध एयर रहँदै आएका छन् ्र उत्कृष्ट पांच विधाको पुरस्कार सुर्य बहादुर के।सी।को स्मृतिमा प्राजोजन गरिएको छ । राष्ट्रिय सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार सहारा क्लबका मानार्थ सदस्य खेम बहादुर गुरुङले प्रायोजन गर्दै आएका छन् ्र म्यान अफ द म्याच ट्रफी, नगद र मेडल हरु सहारा यु।के।द्वारा सौजन्य दिँदै आएको छ । २३ वर्ष देखि निरन्तर सञ्चालन भएको प्रतियोगितामा वचत हुने रकम सूर्य बहादुर के.सी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लबले जनाएको छ । गण्डकी प्रदेश, पोखरा–१७, दोविल्लामा २०६१ साल देखि आवासिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण दिदै आएको सहारा फुटबल एकेडेमीमा हाल चौथो व्याचमा ८ जिल्लाका १४ जना बालकहरु आश्रित छन् । एकेडेमीको संञ्चालनको मुख्य श्रोत नै प्रतियोगिता रहेको सहाराले जनाएको छ।

काठमाडौं:    प्रहरीले  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । रोजगार अनुमति प्रणाली (इपीएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनले भने, ‘आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँच जनालाई पक्राउ गरेका छौँ, मन्त्री ज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्‍याएको छ ।’ ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए ।

काठमाडौं:  ईपीएस परीक्षाको विषयलाई लिएर आन्दोलनरत युवाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको गाडी जलाएका छन् ।  रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई दिएर युवाहरूले बालकुमारीमा प्रदर्शन गरेका थिए । त्यसक्रममा उनीहरुले मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका ज्वाला मन्त्री क्वाटरबाट पार्टीको केन्द्रीय समिति बैठक जान हिँडेका थिए । बालकुमारी क्षेत्रमा प्रदर्शनकारीले रोके । गाडीमा उनीसँगै दुई जना निजी सुरक्षा अधिकृत थिए । तर प्रदर्शनकारीहरुले गाडीलाई घेरा हालेपछि उनीहरुले गाडीबाट बाहिर निस्किएका थिए । मन्त्री र पीएसओ गाडीबाट हटेपछि प्रदर्शनकारीहरुले आगजनी गरेका थिए ।