पोखरा: पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा घरेलु टोली गण्डकी प्रदेश लुम्बिनीसँग ५ रनले पराजित भएको छ । लुम्बिनीको जितले नेपाल एपिएफ क्लबले समूह ‘बी’बाट सेमिफाइनलमा स्थान पक्का गरेको छ । समूह‘बी’बाट एपिएफ क्लब रनरेटका आधारमा सेमिफाइनल प्रवेश गर्दा गण्डकी र लुम्बिनी अन्तिम चार पुग्नबाट बञ्चित भए । १०४ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी १८.५ ओभरमा ९८ रनमा नै समेटिएको थियो । लक्ष्य पछ्याउने क्रममा गण्डकीका सुदिप अर्यालले २४ बलमा ४ चौका र दुई छक्का प्रहार गर्दै ३५ रनको यागदान दिए पनि उनले टिमलाई जिताउन सकेनन् । १८ औं ओभरको अन्तिम बलमा छक्का प्रहार गर्ने क्रममा उनी लङ अफमा मोहमद हुसेनको बलमा ध्रुव सुनारको हातबाट क्याच आउट हुने पुगे । गण्डकीका लागि अमृत गुरुङले १९, कप्तान विपिन खत्रीले १९, दिनेश बुढामगरले १३, र कमल परियारले ११ रन बाहेक अन्य खेलाडी क्रिजमा जम्न सकेनन् । लुम्बिनीका लागि मोहमद हुसेनले ३ं.५ ओभरमा ९ रन दिएर ४ विकेट हात पारे । यस अघि टस हारेर पारीको सुरुवात गरेको लुम्बिनीले २० ओभरमा ८ विकेटको क्षतिमा १०३ रन बनायो । टिमका लागि नर कार्की र धुव्र सुनारले समान २३–२३ रनको योदना दिंदा, विराट भण्डारीले १६ र मिर्नाल गुरुङले ११ रन जोडे । वलिङतर्फ गण्डकीका अमृत गुरुङले ३ विकेट र चन्द्र पौडेलले २ विकेट लिए ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली बेइजिङ प्रस्थान गरेका छन्। चाइना एकेडेमी अफ सोसल साइन्सले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आज ज्ञवाली चीनतर्फ प्रस्थान गरेका हुन्। चीनमा रहँदा उनले सिचुवान विश्वविद्यालयमा हुने एक कार्यक्रममासमेत सहभागी हुनेछन्। पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग भेटवार्ता गर्नेछन्। यस अगाडि एमाले महासचिव शंकर पोखरेलले समेत चीन भ्रमण गरेका थिए। गतसाता पनि नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको नेतृत्वमा एमालेका सचेतक महेश बर्तौलासहितको पाँच सदस्यीय टोली चीन भ्रमणमा गएको थियो।
जाजरकोट भेरी नगरपालिका-१ रिम्नामा मोबाइल टावर सञ्चालनको तयारी थालिएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयका प्रबन्ध निर्देशक सङ्गीता पहाडीको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा अनुगमनलगत्तै टावर सञ्चालनको तयारी थालिएको हो । टावर सञ्चालनमा आउने भएपछि उक्त ठाउँमा निःशुल्क सिमसमेत वितरण हुन लागेको नेपाल टेलिकमले जनाएको छ । सदरमुकामअन्तर्गत पर्ने भए पनि फोन नबुझिने समस्या स्थानीयलाई सास्ती भएको थियो । नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा नयाँ टावर निर्माणका लागि पहल थालिएको निर्देशक पहाडीले बताए । उनीसँगै प्राविधिक टोलीले जिल्लाका सबै ठाउँमा स्थलगत अनुगमन गरी फोन लाग्ने र नलाग्ने ठाउँको पहिचान गरेका थिए । भूकम्पबाट बढी प्रभावित भएका जाजरकोट र रुकुम पश्चिमका साथै अन्य जिल्लामा टेलिकमले नमुना सेवा दिने लक्ष्यसहित स्थलगत अनुगमन गरिएको पहाडीले बताए । भूकम्प प्रभावित क्षेत्रमा रहेका टावरको अवस्था र क्षमताको जाँच गरिएको उनको भनाइ थियो । जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलका प्रमुख एवं नेपाली सेनाका प्रमुख सेनानी विश्वबन्धु पहाडीले यस क्षेत्रमा सञ्चारको समस्य र समाधानका विषयमा निर्देशक पहाडीको टोलीलाई जानकारी गराएका थिए । सडक निर्माणका क्रममा रुकुम पश्चिम र जाजरकोट हुँदै डोल्पा पुग्दा सञ्चार अभावका कारण परेका समस्याबारे जानकारी दिँदै नमुना सेवा विस्तार भए सबैको मन जित्ने उनले विश्वास व्यक्त गरे । सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माको निर्देशन तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको आग्रहमा टेलिकमको उच्चस्तरीय टोली गाउँगाउँमा पुगेको थियो । आवश्यक स्थानमा थप टावर निर्माणका लागि पालिकासँग सम्पर्क गरेर प्राविधिक खटाउने व्यवस्था मिलाइएको जनाउँदै अहिले निर्माण भइरहेका टावरबाट गुणस्तरीय र भरपर्दो सेवा दिन लागिएको पहाडीले जानकारी दिए ।
पोखरा: पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल भने सेमिफाईनल प्रवेश गरेको छ । आज भएको खेलमा लुम्बिनी प्रदेशलाई जित्नै पर्ने दबावमा रहेको गण्डकी प्रदेश ९८ रनमा समेटिदै ५ रनले पराजित हुदाँ सशत्र प्रहरीलाई मौका मिल्यो । सशस्त्र प्रहरी बललाई पराजित गरेको गण्डकीले लुम्बिनीसँग जित निकाल्न नसक्दा यात्रा टुंगियो भने सशत्र प्रहरी बलले अन्तिम चारमा स्थान बनायो । सशस्त्रले लुम्बिनीलाई ८४ रनले पराजित गरेको थियो । रनरेटकै आधारमा सशस्त्र अन्तिम चारमा सुरक्षित हुन पुग्यो । मदन भण्डारी स्पोर्टस एकेडेकीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले गण्डकीलाई ८ विकेटको क्षतिमा पुरा २० ओभर खेल्दै १०३ रनको लक्ष्य दिएको थियो । यद्यपी लक्ष्यलाई गण्डकीले पुरा गर्न सकेनन् । दशौं नम्बरमा आएका सुदीप अर्यालले १६ औं ओभरमा १९ रन जोड्दै जितको आशा जगाएका थिए । उनले २४ बलमा ३५ रन बनाउँदै जगाएको आशा १९ औं ओभर मोहम्मद हुसेनको बलमा क्याच आउट भएपछि गण्डकीको सेमिफाईनल पुग्ने यात्रा टुंगिएको थियो । ओपनर सुशान्त थापालाई शून्यमै गुमाएको लुम्बिनीले तेस्रो नम्बरका महेश रानालाई पनि २ रनमा आउट भएपछि दबावमा परेको थियो । अर्का ओपनर मृनाल गुरुङ ११ रनमा पभेलियन फर्किएपछि लुम्बिनीको इनिङ सम्हाल्ने प्रयास विराट भण्डारी र धुर्व सुनारको काँधमा आयो । भण्डारीले १६ रन बनाए । २२ बल खेल्दै ३ चौका हिर्काए । सुनारले २३ रन बनाउन २१ ब्ल खेले । २ चौका र १ छक्का हिर्काए । नर सार्कीले पनि १७ बलमा २३ रन बनाउँदै स्कोर उकास्ने प्रयास गरे । गण्डकीका अमृत गुरुङले तीन र चन्द्र पौडेलले २ विकेट लिए । गौरभ विक र किरण पौडेललाई दुई ओभरमा गुमाएको गण्डकीले मुस्कान थापालाई पनि एक रनमै आउट भएको हेर्न बाध्य भयो । दिनेश बुढामगरले १३ रनको स्कोर बनाए । कप्तान विपिन खत्रीको नाममा १४ बलमा १९ रन लेखियो । कमल परियार ११ रनमा आउट भए । मोहम्मद हुसैन र अजय लुनियाले समान ३ र रमेश कुर्मीले २ विकेट लिए । लुम्बिनीका मोहम्मद प्लेयर अफ दि म्याच घोषित भए ।
नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ६ सय र चाँदी तोलामा ३५ रुपियाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आजका लागि छापावाल सुनको मूल्य एक लाख १६ हजार नौ सय, तेजाबी सुनको मूल्य एक लाख १६ हजार ३५० र चाँदीको मूल्य एक हजार ४८५ रुपियाँमा कारोबार भइरहेको छ । शुक्रबार एक लाख १६ हजार तीन सय रुपियाँमा छापावाल सुन, एक लाख १५ हजार ७५० रुपियाँमा तेजाबी सुनको कारोबार भएको थियो ।
पोखरा महानगरपालिका वडा नंं. १५ कार्यालयले शनिबार आयोजना गरेको अन्तर विद्यालय सडक दौड प्रतियोगितामा छात्रतर्फ शुभतारा थ्री एन्जल्सका प्रकाश डाँगी र छात्रातर्फ भ्यू पोइन्ट स्कूलकी सजिना सुनार प्रथम भएकी छन् । वडाका १५ विद्यालयका करिब २५० विद्यार्थीले भाग लिएको प्रतियोगितामा छात्रतर्फ केल्स एकेडेमीका देव कुँवर द्वितीय, एसओएस हर्मन माइनरका टिजन बुढामगर तृतीय भए भने गौरब बुढामगर र गणेश भट्टचनले सान्त्वना स्थान प्राप्त गरे । छात्रतर्फ मात्रै करिब १ सय ५० विद्यार्थी सहभागी थिए । यस्तै, करिब एक सय छात्रा सहभागी प्रतियोगितामा शुभतारा थ्री एन्जल्सकी अप्सरा बिक द्वितीय, सिद्ध माविकी रचना चौधरी तृतीय र सिद्धकै श्रेया थापा र कृतिका भण्डारी सान्त्वना भइन् । छात्र तथा छात्रा दुवैतर्फ प्रथम हुनेलाई नगद १० हजार, द्वितीयलाई नगद ७ हजार, तृतीयलाई ५ हजार र सान्त्वनालाई २ हजार साथमा मेडल र प्रमाणपत्रले पुरस्कृत गरियो । प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले वडा नं. १५ खेलकुद गतिवधिमा अग्रपंक्तिमा रहेको बताए । उनले धेरै बजेट खेलकुदमा छुट्याएर विभिन्न प्रतियोगिता गर्दै वडालाई स्वस्थ र युवा, विद्यार्थीमैत्री बनाएकोमा खुशी व्यक्त गरे । सांसद बरालले स्वास्थ्य नै सबैभन्दा ठूलो कुरा भएकाले यसले स्वस्थ समाजसँगै राष्ट्र निर्माणमा टेवा पुग्ने बताए । वडा नं. १५ का अध्यक्ष तोरण बहादुर बानियाँले पूर्वाधार विकासमा मात्र सीमित रहेर मानवीय विकास नहुने भन्दै अबको विकास स्वास्थ्य, शिक्षा, खेलकुद, महिला उद्यमशीलता र युवा स्वरोजगारलाई जोडेर लगे मात्र मानवीय विकास सम्भव हुने बताए। उनले बालबालिकाको सर्वाङ्गिण विकासका लागि घोकन्ते विद्यालाई मात्र अगाडि नबढाई मानसिक, बौद्धिक र शारीरिक विकासमा पनि ध्यान दिनुपर्ने भन्दै यस्ता प्रतियोगिताले वडामा रहेका विद्यालय र विद्यार्थीबीच आपसी सम्बन्ध बढाउने बताए । कार्यक्रमका संयोजक तथा पोखरा १५ का सदस्य आशिष भण्डारीले गत वर्ष पनि संविधान दिवसको अवसर पारेर विद्यार्थीहरूबीच यही प्रतियोगिता गरेको र अहिले पनि निरन्तरता दिएको बताए । यस्ता प्रतियोगिताले समाजमा सकारात्मक प्रभाव पार्नुका साथै भावनात्मक एकतालाई प्रगाढ बनाउँदै स्वच्छ र शान्त वडा बनाउनको निम्ति सन्देश प्रवाह गर्ने उनको भनाइ थियो ।कार्यक्रममा वडा सदस्य तथा कार्यपालिका सदस्य मन्दिरा परियार, सदस्य बलराम पौडेल, सेतीमाया गुरुङ, निवर्तमान वडा अध्यक्ष प्रकाश पौडेल लगायतको सहभागिता रहेको थियो।
११ देशका खेलाडीको सहभागिता रहेको अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस सम्पन्न भएको छ । जसमा पोखरा एन्ड्युरोको उपाधि इन्डोनेसियाका रामा तेगु अदि प्रतामाले हात पारेका छन् । उनले ५ स्टेज (ट्रयाक)को ११.९२० किमीको दुरी ९ मिनट ५९ सेकेण्ड ५२ मिलिसेकेण्डमा पार गरे । विभिन्न ७ विधामध्ये इलिट पुरुष तर्फको उक्त विधामा उपाधि हात पार्दै रामाले नगद रु ५० हजार सहित प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । त्यसैगरि सोही बिधामा युकेका क्रिस्टोफर किलिङले दोस्रो र नेपालका प्रचित थापा मगरले तेस्रो स्थान बनाउन सफल भए । किलिङले सोही दुरी १० मिनट १६ सेकेण्ड ९७ मिलिसेकेण्डमा पार गरेभने प्रचितले १० मिनट ३६ सेकेण्ड १३ मिलिसेकेण्डमा पार गरे । यससँगै किलिङले नगद रु ३० हजार सहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरे भने प्रचितले नगद रु २० हजार सहित प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरे । त्यस्तै महिला तर्फ भने नेपालकी लक्ष्मी मगरले प्रथम, नेपालकै मिङ्गमा याङ्जी सेर्पाले दोस्रो र सिंगापुरकी इभोना सियाले तेस्रो स्थान हासिल गर्न सफल भए । उनीहरुले १० किमी ५०० मिटरको दुरी क्रमशः ९ मिनट ५३ सेकेण्ड ४८ मिलिसेकेण्ड, ११ मिनट २५ सेकेण्ड ३१ मिलिसेकेण्ड र १५ मिनट ३५ सेकेण्ड ३६ मिलिसेकेण्डमा पार गरे । योसँगै उनीहरुले क्रमशः नगद रु ३५ हजार, २५ हजार र १५ हजार सहित प्रमाणपत्र, मेडर र गिफ्ट ह्याम्पर प्राप्त गरे । अर्को विधा १८ वर्षसम्मका पुरुष जुनियर तर्फ नेपालका बिपुल थापा प्रथम हुन सफल भए । उनलाई पछ्याउदै अमेरिकाका एलिजा स्टेवार्ड दोस्रो र नेपालका दिपेश थापा तेस्रो भए । उनीहरुले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे । त्यस्तै ३० देखि ३९ वर्ष समुहका लागि मास्टर्स ‘क’ विधामा राजन भण्डारी प्रथम, मंगल लामा दोस्रो र कुंगा वोसेर तेस्रो हुन सफल रहे । तीनै जना नेपालका खेलाडीले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे । त्यसैगरि अर्को विधा ४० देखि ४९ वर्षसम्मका लागि मास्टर्स ‘ख’ विधामा सुरज पाण्डेले प्रथम, रवि कार्कीले दोस्रो र नारायण मानन्धरले तेस्रो स्थान बनाउन सफल भए । उनीहरु सबै नेपाली हुन् । उनीहरुले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे । त्यस्तै ५० वर्षभन्दा माथीका समूहका लागि भेट्रान विधा तर्फ लाल आले, सुलोचन राजभण्डारी र सैशव प्रधान क्रमशः प्रथम, दोस्रो र तेस्रो भए । नेपालका उनीहरुले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे । नेपालमै पहिलो पटक आयोजना भएको ‘इ–बाइक’ विधामा प्रशन्न गौतम प्रथम हुन सफल भएभने विश्वास मोदी दोस्रो भए । उनीहरुले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा तीन दिनसम्म पोखरा महानगरपालिका वडा नं. १३ को आर्बा–बिजय डाँडा (महाप्रभु धाम)मा प्रतियोगिता सम्पन्न भएको हो । विगत ४ वर्षदेखि आर्वामा तयारी गर्दै आएको थियो । उक्त स्थानमा प्रतियोगितालाई निरन्तरता दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालसहिति ११ देशका ५६ खेलाडीले सहभागिता जनाएका प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले बताए । उक्त प्रतियोगितालाई पोखरा महानगरपालिका, कास्की जिल्ला साइक्लिङ संघ, पोखरा खेलकुद विकास समिति तथा पोखरा १३ को वडा कार्यालयले समन्वय गरेको थियो ।
पाेखरा: मणिपाल अस्पतालमा उपचारका क्रममा असोज ८ गते ५७ वर्षीया सुकमाया दुराको मृत्युपछि भएको तोडफोडमा संलग्न मानिएका १० जना आरोपीलाई कास्की प्रहरीले अझै फेला पार्न सकेको छैन । लमजुङ सुन्दरबजार निवासी दुराको उपचारकाक्रममा निधन भएपछि उनका आफन्तजन आक्रोशित भई विरोधमा उत्रिएका थिए । आफन्तलाई साथ दिँदै अस्पताल तोडफोड गरेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले १९ जनालाई दोषी करार गरेको थियो । उक्त १९ जनामध्ये ९ जनालाई पक्राउ गरी कास्की प्रहरीले मुद्धा चलाएको थियो । जसमध्ये सातजना धरौटीमा छुटिसकेका छन् भने २ जना पुर्पक्षमा रहेका छन् । जिप्रका कास्कीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी श्रवणकुमार विकले १० अझै फरार रहेको बताए । फरारको सूचीमा पोखरा ८ का गौरव बराल, पोखरा २ का गिरे हिपहप भनिने गिरबहादुर पुन, पोखरा १५ का प्रेमलाल पुन, पोखरा ६ का सागर परियार, पोखरा १७ का पशुपति भट्टराई, पोखरा ९ का हम्पे भनिने नवीन लामा, पोखरा ३ का सुजन अधिकारी, पोखरा १० का चुमन गुरुङ, पोखरा ११ का पागल अर्थात आशिष भनिने कार्लोस गुरुङ र पोखरा २३ का उत्तम भण्डारी रहेका छन् । अस्पताल तोडफोडपछि पीडितका आफन्त र चिकित्सक पक्षबीच अस्पताल प्रशासनको रोहबरमा ६ बुँदे सहमति भएको थियो । त्यसका बाबजुद कास्की प्रहरीले असोज ८ गते असोज १२ तथा अन्य मितिमा गरेर ९ जनालाई पक्राउ गरेको थियो । मणिपाल प्रकरणमा १९ जना दोषी देखिएपछि कास्की प्रहरीले जिल्ला अदालतबाट १९ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । यसैबीच, मणिपालको सोही प्रकरणमा चिकित्सक कुटिएको घटनामा जिल्ला अदालत कास्कीले गरेको आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन परेको छ । उच्च सरकारी वकिलको कार्यालयले चिकित्सक कुटपिट गर्ने ७ जनालाई धरौटीमा छाड्न जिल्ला अदालतले दिएको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएको हो । जिल्ला अदालतले ७ जनालाई पुर्पक्षका लागि पठाउने पर्याप्त आधार हुँदाहुँदै धरौटीमा छाडिएको भन्दै मंसिर ७ गते उच्च अदालत पोखरामा निवेदन परेको हो । उक्त निवेदन उपर आदेश गर्दै शुक्रबार उच्चका न्यायाधीश धनसिंह महराको इजलासले जिल्ला अदालतसँग कैफियत माग गर्ने आदेश गरेको उच्चका उप–रजिस्ट्रार तथा सूचना अधिकारी विश्व अर्यालले जानकारी दिए ।

