काठमाडौं: आईसीसी टी-२० विश्व कप क्रिकेटको एसिया छनोटको उपाधिका लागि आज नेपाल र ओमान खेल्दैछन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुनेछ । नेपालले यूएई र ओमानले बहराइनलाई हराउँदै फाइनलमा पुगेका हुन् । समूह ‘ए’ मा रहेका दुवै टोली लिग चरणमा समेत भेटेका थिए । लिग चरणको खेलमा ओमानले नेपाललाई हराएको थियो । ओमानसँग ५ रनले पराजित भएको नेपाल समूह उपविजेता बनेर सेमिफाइनल पुगेको हो । सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराएर फाइनल प्रवेश गरेको नेपालले उपाधिका लागि पुन: ओमानसँग खेल्न लागेको हो । प्रतियोगिताको फाइनल प्रवेश गरेका नेपाल र ओमान दुवै टोली अर्को वर्ष वेस्ट इन्डिजमा हुने टी-२० विश्व कपमा छनोट भइसकेका छन् ।
डोटी: कैलालीको धनगढीबाट बाजुरा तर्फ जाँदै गरेको जीप डोटीमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् । बाजुराको हिमाली गाउँपालिका–५ का २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, धनशोभाका ६ वर्षीय छोरा कविन्द्र र विमला मलालकी ८ महिनाकी छोरी प्रार्थनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको हो । घाइतेहरुको डोटी दिपायलमा रहेको शैलेश्वरी अस्पताल पिपल्लामा उपचार भइरहेको छ । गएराति कैलालीको धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको जीप के आईसिंह राजमार्ग अन्तर्गतको अडेउल भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार गएराति २ बजे दुर्घटनामा परेको हो ।
पोखरा: गएराति जाजरकोट केन्द्रबिन्दु बनाई गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको छ । पोखरा महानगरपालिकाले उद्धार, राहत र पुनर्स्थापनाका लागि ५० लाख सहयोग गर्ने भएको छ । मेयर धनराज आचार्यले ५० लाख सहयोगको घोषणा गरेका हुन् । जनप्रतिनिधिले भूकम्प प्रभावितका लागि एक महिनाको पारिश्रमिक पनि दिनेछन् । पहिलो चरणमा महानगरका नगरप्रमुख, उपप्रमुख लगायत अध्यक्ष तथा कार्यपालिका सदस्यहरूको १ महिनाको पारिश्रमिकबाट सोघभर्ना हुने गरी १३ लाख १५ हजार बराबरको राहत सहयोग पठाइएको आचार्यले बताए । थप सामाग्री र सहयोग महानगरपालिकाको बिपद् कोषबाट खर्च बेहोरिने भएको छ ।
बुटवल: लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका लागि डेढ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । शनिबार तुलसीपुरमा बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले डेढ करोड सहयोग गर्ने निणर्य गरेको प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए । उक्त रकम प्रदेश विपद् कोषबाट निकासा गरी कर्णाली प्रदेश सरकारलाई दिइने छ । यसअघि सुदुरपश्चिम प्रदेश सरकारले १ करोड सहयोग गर्ने निर्णय गरिसकेको छ । यस्तै बुद्ध एयरले प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा १ करोड जम्मा गर्ने निर्णय गरेको छ । साथै लुम्बिनी प्रदेश सरकारले प्रभावित जिल्लामा उद्धारका लागि गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा उद्धारकर्ताको एक टोली पठाउने निणर्य समेत गरेको छ ।
कास्की: ट्रेक गर्न मन पराउने विरलै व्यक्तिहरु अन्नपूर्ण आधार शिविर (एबिसी) पुगेको हुनुपर्छ । किनभने यो विश्वकै लोकप्रिय पदमार्ग अन्तरगत पर्छ । त्यसैले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पनि नेपाल भ्रमणको क्रममा एबिसी पुगे । उनले उक्त स्थानको अवलोकनपछि प्रकृतिविरुद्वको लडाई रोक्न विश्वलाई सन्देश दिने बताएका थिए । पछिल्लो समय जलवायु परिवर्तनकै कारण एबिसीको बस्ती उच्च जोखिममा रहेको छ । त्यसैले यस्तो हिश्रृङ्खला तथा हिमालयहरुको संरक्षणमा गुटेरेसले चाँसो देखाएका थिए । कास्कीमा करिब आधा दर्जन नाम चलेका पदमार्गहरु छन् । मर्दी पदमार्ग, कोरी पदमार्ग, खुमै पदमार्ग, तथा हिडनलेक पदमार्ग पनि गण्डकीको राजधानी कास्की मै पर्छ । एबिसी पदमार्गको दुरी लामो भएकाले अन्य पदमार्गको तुलनमा बढी खर्चिलो मानिन्छ । पैदलयात्रीका लागि कम्तिमा ५ देखि ७ दिनसम्म (एक हप्ता) समय लाग्छ । पोखरादेखि विरेठाटी हुदैँ झिनुसम्म सवारी साधनमा पुग्न सकिन्छ त्यसपछि पैदलयात्रा सुरु हुन्छ । पहिलो दिनको बसाई छोम्रोङमा हुन्छ । जहाँ १८ वटा होटलको व्यवस्था छ । यस्तै सिनुहामा १०, व्याम्बुमा ६, दोभानमा ४, हिमालयमा ३, देउरालीमा ५, एमबीसीमा ६ र एबिसीमा ६ वटा होटलहरु रहेका छन् । तस्बिर: पुकार पुर्जा
काठमाडौं: शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १३८ पुगेको छ । नेपाली प्रहरीले दिउँसो २ बजेसम्मको अवस्थालाई जानकारी अनुसार १३८ जनाको मृत्यु भएको छ भने १६६ जना घाइते भएका छन् । जसमा जाजरकोटमा भूकम्पबाट १०० जनाको निधन भएको छ भने ८१ जना घाइते भएका छन् । यसैगरी, रूकुम पश्चिममा ३८ जनाको निधन भएको छ र ८५ जना घाइते भएका छन् । थप विवरण आउने क्रम जारी छ । घाइते मध्ये ७ जनालाई थप उपचारका लागि नेपाल एयरलाइन्सको उडान मार्फत काठमाडौं ल्याइन लागेको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीले भूकम्प प्रभावित क्षेत्रमा ८ सय ५९ जना प्रहरी प्ररिचालित गरेको जनाएको छ ।
कास्की: माछापुच्छ्रे गाउँपालिकाले अघिल्लो शुक्रबार पालिकाभित्र रहेका पर्यटकीयस्थलमा पदमार्ग जान आन्तरीक र बाह्य पर्यटकलाई शूल्क तोकेपछि त्यसको कार्यान्वयन हुन थालेको छ । गाउँपालिकाले दिएको जानकारी अनुसार शुक्रबारमात्रै २८ हजार २ सय रुपैैयाँ करवापत शूल्क उठेको छ । जसमध्ये ५ सय रुपैयाँकादरले बाह्य पर्यटकबाट १२ हजार ५ सय र आन्तरीकबाट १५ हजार ७ सय रुपैयाँ कर उठेको पालिका ८ का वडाध्यक्ष राम गुरुङले जानकारी दिए । उक्त कर अनुसार शुक्रबार २५ बाह्य र १ सय ५७ जना आन्तरिक पर्यटक पालिकाको आकर्षण मानिएको मर्दी हिमालतर्फ लागेका छन् । पालिकाले शूल्क लिने भएपछि यसको पक्ष र विपक्षमा प्रतिक्रिया आइरहेका छन् । तर पालिकाले भने पर्यटककै सुरक्षामा उक्त रकम खर्चिने जनाएको छ । विशेषतः सूचना र जानकारीमा विशेष ध्यान दिइने गाउँपालिकाले जनाएको छ । उक्त शूल्क बुझाएपछि पर्यटकलाई प्रत्येक दिन कहाँ, कस्तो अवस्थामा रहेको जानकारी लिइने र पदमार्गमा कुनै समस्या आए त्यसको समाधानमा जुट्ने वडाध्यक्ष गुरुङले बताए । ‘पर्यटक पदमार्गमा अघि बढेपछि उनीहरुको जानकारी लिइन्छ, कुनै अप्ठेरो परे तत्काल समाधानको पहल गरिन्छ’ गुरुङले भने ‘बेलुकी कुन होटलमा बसे र त्यहाँ मूल्य अनुसारको सेवा पाए वा पाएनन् त्यसको जानकारी लिइनेछ ।’ त्यस्तै, पदयात्राका दौरान कुनै संकट आइपरे गाउँपालिकाले तत्काल उद्दार र राहतमा पहल गर्ने उनको भनाई छ । यसैबीच आज शनिबार भने पदमार्गमा पर्ने हाइक्याम्पमा स्थानीय होटल व्यवसायीहरुले पालिकाद्वारा तोकिएको करप्रति असन्तुष्टी व्यक्त गरेका छन् । व्यवसायीका अनुसार पालिकाले बिनाजानकारी कर उठाएको भन्दै पदयात्रीलाई कर नतिर्न भनेका छन् । व्यवसायीहरुको यस्तो रवैयाबारे जानकारी पाएपछि पालिकाको एक टोली त्यता लागेको छ । व्यवसायहीहरुले सार्वजनिक जमिनमा होटल सञ्चालन गरेको र हालसम्म कर पनि नतिरेको भन्दै पालिकाले कडा कदम चाल्ने बताएको छ । यता, काठमाण्डौबाट मर्दीतर्फ लागेको एक समूहले भने सय रुपैयाँमा पदयात्रीको पुरै ख्याल राख्ने र पलपलको जानकारी लिने काम प्रशंसनीय भएको प्रतिक्रिया दिएको छ । मर्दी पदयात्रा जाने पर्यटकबाट लो क्याम्पमा डेस्क राखेर शूल्क उठाइँदैछ ।
बागलुङ: कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ र उपसभामुख यसोदा न्यौपाने सवार साधनले बागलुङमा मोटरसाईकललाई ठक्कर दिँदा एक जना घाईते भएका छन् । शनिबार विहान बागलुङको भिमगिठेबाट बुर्तिबाङ तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२ ००१ झ ००९३ नम्बरको गाडीले विपरित दिशाबाट आउँदै गरेको ग ११ प १५७ नम्बरको मोटरसाईकललाई ढोरपाटन नगरपालिका–२ मल्कटिबाङ स्थित मध्यपहाडी लोकमार्ग सडक खण्डमा ठक्कर दिएको थियो । स्कर्पियोको ठक्करबाट मोटरसाईकल चालक निसीखोला गाउँपालिका–२ तल्लो ब्याङ्ग्री बस्ने १ बर्षीय बिमल खत्री घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवान प्रकाश पौडेलले बताए । प्रहरी जवान पौडेलले घाईते खत्रीको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ लगिएको जानकारी दिए । दुर्घटनामा स्कर्पियो र मोटरसाइकल दुवैमा क्षति पुगेपनि स्कर्पियोमा सवार सभामुख र उपसभामुख सहित मोटरसाइकलमा सवार अन्य एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपाल प्रहरीले भूकम्प पीडितहरूका नाममा आर्थिक सहयोग गर्दा ध्यान दिन आग्रह गरेको छ । प्रहरी केन्द्रीय कार्यालयले शनिबार सूचना जारी गर्दै इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा संघ–संस्था आधिकारिक हो कि होइन निश्चित गरेर मात्र सहयोग गर्न आग्रह गरेको छ । इन्टरनेटबाट हुने ठगी र आर्थिक शोषणबाट जोगिन प्रहरीले आग्रह गरेको छ । आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउनेहरुले भूकम्पपीडितका नाममा आफूखुसी चन्दा उठाउन सुरु गरिसकेका छन् । यस्तो अवस्थामा इन्टरनेटको विभिन्न माध्यममार्फत ठगी गर्ने गिरोहसमेत सक्रिय हुन सक्ने भएकाले प्रहरीले सचेत गराएको हो ।

