काठमाडौं: मध्यराति जाजरकोटमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शुक्रबार राति ११ः ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो। जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का काठमाडौं, पोखरा लगायत देशभर नै महसुस भएको छ। पछिल्लो पटक बझाङको चैनपुर केन्द्रबिन्दु भएर १६ असोजमा गएको ६.३ म्याग्निट्यूडको भूकम्पले मानवीय र भौतिक क्षति भएको थियो। क्षतिको विवरण आउन बाँकी छ।
पोखरा: पोखरामा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । पोखरा लगायत विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ । थप जानकारी आउन बाँकी छ ।
पोखरा: पोखरा महानगरपालिका भित्र रहेका पाँच वर्षसम्मका बालबालिकालाई शुक्रवार भिटामिन ए’ र जुकाको औषधि खुवाइएको छ । शुक्रवार खान छुटेकालाई शनिवार खुवाइने पोखरा स्वास्थ्य महाशाखाले जनाएको छ । आफ्नो घर पायक पर्ने स्वास्थ्य संस्था वा तोकिएका केन्द्रमा पुगेर बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउन महानगरको स्वास्थ्य महाशाखाले सबै अभिभावकहरूलाई अनुरोध गरेको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर यस वर्ष दशैका कारण केही पछि धकेलिएको हो । बालबालिकालाई भिटामिन ए, जुकाको औषधि र बाल भिटा पनि खुवाउने गरिन्छ । जुकाको औषधि एक वर्षभन्दा माथिका बालबालिकालाई मात्र दिने गरिएको छ । छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न सरकारले २०५३ सालदेखि भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्तै १५ बहु सूक्ष्म पोषण तत्त्वले बनेको बाल भिटा छ महिनादेखि २३ महिनाका बालबालिकालाई खुवाउने गरिन्छ । बाल भिटा २०६६ सालदेखि बालबालिकालाई खुवाउन थालिएको हो । यस कार्यक्रममा पोखरा महानगरपालिका भित्रका करिब ३५ हजार बालबालिकाहरूलाई भिटामिन ए र ३० हजार बढी बालबालिकाहरूलाई जुकाको औषधी खुवाइने महाशाखाका जनस्वास्थ्य निरीक्षक लोकराज आचार्यले बताउनुभयो । उहाँका अनुसार बालबालिकाहरूलाई भिटामिन ए’ र जुकाको औषधि खुवाउनका लागि महानगरका ६५६ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र केही स्वयंसेवक गरी ६६५ जना परिचालन गरिएको छ । बालबालिकाहरू सुनौलो भविष्य सुनिश्चितताका लागि उनीहरूको स्वास्थ्य सुरक्षा प्रमुख विषय हुने भएकाले यस कार्यमा महानगरपालिका प्रतिबद्ध रहेको नगरप्रमुख धनराज आचार्यले बताउनुभयो । बालबालिकामा पोषण अभावका कारण हुन सक्ने कुपोषण न्यूनीकरणका लागि नेपाल सरकारले सञ्चालन गरिरहेको राष्ट्रिय भिटामिन ए’ र जुकाको औषधि खुवाउने कार्यक्रमलाई प्रभावकारी बनाइएको प्रमुख आचार्यले बताउनुभयो । “पोखरा महानगरपालिकाका सबै स्वास्थ्य संस्थाहरू, वडा कार्यालयहरू र तोकिएका निश्चित स्थानहरूमा गएर आफ्ना बालबालिकाहरूलाई भिटामिन ए’ र जुकाको औषधि खुवाउनु हुन म सबै नगर बासीहरूमा विनम्र अनुरोध गर्दछु, प्रमुख आचार्यले भन्नुभयो, बालबालिकाहरूको स्वास्थ्य रक्षा नै सुनौलो भविष्य निर्माणको प्रारम्भिक आधार हो ।” कुपोषणमुक्त महानगर निर्माणका लागि बालबालिकाको स्वास्थ्य प्रति गम्भीर बन्न उहाँले आग्रह समेत गर्नुभयो ।
काठमाडौं: नेपाल सरकारले विभिन्न समयमा भएका नेपाली क्रिकेट टोलीले जित्दा घोषणा गरेको पुरस्कार निकासा गरेको छ । तीन प्रतियोगिताको पूर्व घोषित १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिएका छन् । गत बैशाख ५ देखि १८ गतेसम्म भएको एसीसी पुरुष प्रिमियर कपका लागि ७९ लाख, २०७९ साल फागुन १२ देखि १८ गतेसम्म भएको आईसीसी यु–१९ पुरुष विश्वकप एसिया क्षेत्र छनोटको उपाधि, एसिया क्लालिफायरका लागि ४६ लाख र आईसीसी विश्वकप लिग– २ का लागि ३२ लाख ५० हजार नगद पुरस्कार निकासा भएको हो । सदस्य–सचिव घिसिङले पुरस्कार पाउने खेलाडीलगायतलाई बधाइ दिएका छन् । घिसिङले शुक्रबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा युएईलाई ८ विकेटले हराउदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका स्थान बनाउने नेपाली टोलीलाई बधाइ दिएका छन् ।
पोखरा: पोखरा १३ का विपन्न तथा मजदुरले निशुल्क स्वास्थ्य बिमा कार्ड पाएका छन् । वडा कार्यालय परिसरमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उनीहरुलाई स्वास्थ्य बिमा कार्ड हस्तान्तरण गरिएको हो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक भरत खत्रीको प्रमुख आत्थ्यितामा वडाका १०९ जना विपन्न तथा मजदुरले निशुल्क स्वास्थ्य बिमा कार्ड प्राप्त गरेका छन् । कार्यक्रममा बोल्दै खत्रीले वडाले राम्रो काम गरेको बताए । निशुल्क स्वास्थ्य बिमा कार्ड विपन्न र मजदुरलाई उपलब्ध गराएपछि अब पैसाको अभावमा उपचारबाट वञ्चित हुनुपर्ने अवस्था नआउने उनले उल्लेख गरे । “बिरामी भएपछि पैसा खोज्न जानुपर्ने अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले सरकारले नै नागरिकलाई सामाजिक स्वास्थ्य सुरक्षाको प्रत्याभूति गराएको हो ।”, उनले भने । खत्रीले स्वास्थ्य बिमा कार्डको सदुपयोग गर्नुपर्ने विषयलाई समेत सुझाएका छन् । बिरामी भएको बेला निर्धक्क उपचार गर्न नागरिकले पाउन् भनेर निशुल्क स्वास्थ्य बिमा कार्ड दिइएको उनले बताए । निशुल्क स्वास्थ्य बिमा कार्डको नविकरणबाट नेपाल सरकारको ढुकुटीमा एक अर्ब जम्मा हुने तर खर्च भने १० अर्ब रुपैयाँ रहेको उनले जनाए । नागरिकलाई स्वास्थ्य सुरक्षा दिन सरकार प्रतिबद्ध भएर लागिरहेको भनाई उनको छ । पोखरा १३ का वडाध्यक्ष किरण बरालले स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रमा क्रान्ति ल्याउने उद्देश्य स्वरुप वडाका विपन्न वर्गलाई निशुल्क स्वास्थ्य बिमा कार्ड उपलब्ध गराइएको जानकारी गराए । उनले यसअघि पनि वडाले स्वास्थ्य क्षेत्रका गतिविधि गर्दै आएको उल्लेख गरे । “वडाका प्रत्येक स्थानमा स्वास्थ्य शिविर संचालन गरी नागरिकलाई स्वास्थ्य उपचारमा सहजता प्रदान गर्ने लक्ष्य छ । हाम्रो कार्यकाल सम्म निशुल्क स्वास्थ्य बिमाको कार्यन्वयनलाई प्रभावकारी रुपमा अगाडि बढाइनेछ । पैसाको अभावमा उपचार नपाएर अब कोहि पनि मर्नुपर्ने अवस्था आउने छैन ।”, उनले भने । वडा सँधै नागरिकको साथमा रहेको अभिव्यक्ति उनको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र हिमालयन आँखा अस्पतालमा बिरामीले निशुल्क स्वास्थ्य बिमा कार्ड मार्फत सेवा पाउने वडाले जनाएको छ । दैनिक मजदुरी गरेर पेट पाल्नेहरुका लागि स्वास्थ्य उपचार कठिन हुने भएकाले वडाले निशुल्क स्वास्थ्य बिमा कार्ड हस्तान्तरणको अवधारणा ल्याएको हो । स्वास्थ्य क्षेत्रमा वडाले गरेका काम प्रशंसनिय रहेको स्थानीय भनाई छ । स्वास्थ्य बिमा कार्ड वितरणले निम्न वर्गीय वडाबासीका समस्याको समाधान हुने विश्वास वडाको छ । यस अलवा वडामा भिटामिन “ए” र जुकाको औषधि समेत खुवाइदै छ । शुक्रबार (आज) देखि शनिबार (भोली) सम्म चल्ने उक्त कार्यक्रममा ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन “ए” क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइदै गरेको वडाले जानकारी गराएको छ ।
रुपन्देही: हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तको असर र विश्व शान्तिका लागि विश्वको ध्यान केन्द्रित गर्न बुद्ध जन्मस्थल लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ । नेपाल पर्वतारोहण सङ्घले विश्व शान्तिको कामनासहित जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान केन्द्रित गर्न लुम्बिनीबाट शान्ति दीप सगरमाथाको आधार शिविर कालापत्थरतर्फ हिँडाएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले आज लुम्बिनीस्थित शान्ति दीपमा प्रज्जवलन गरेको दीप सगरमाथाको आधार शिविरतर्फ प्रस्थान गर्न दीप हस्तान्तरण गर्नुभयो । उपाध्यक्ष डा।लामाले पूजा गरेको शान्ति दीप कार्यक्रम संयोजक, विश्व कीर्तिमानी आरोही काजी शेर्पा ९स्पीड०, नेपाल पर्वतारोहण सङ्घका पूर्वसचिव एवम् केन्द्रीय कार्यसमिति सदस्य दिवस पोखेल र सगरमाथा आरोही सङ्घका महासचित शिवबहादुर सापकोटालाई संयुक्तरुपमा हस्तान्तरण गर्नुभयो । उपाध्यक्ष डा।लामाले विश्व शान्ति र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लुम्बिनीबाट दीप प्रज्वलन गरेर सगरमाथाको आधार शिविर पुर्याउँदा विश्वभरिनै सन्देश प्रवाह हुने बताउनुभयो । उहाँले विश्व मानव जगतमा जलवायु परिवर्तनको असरसँगै द्वन्द्व पनि बढिरहेको अवस्थामा शान्ति भूमि लुम्बिनीबाट विश्वको सर्वोच्च शिखरमा दीप लैजाने कार्य गैरवको विषय भएको बताउनुभयो । शान्ति दीपमा प्रज्ज्वलन गरिएको उक्त दीपलाई लामा गुरुहरुबाट स्वस्ति शान्ति गरी मायादेवी मन्दिर परिक्रमा गराइएको थियो । लुम्बिनीबाट लगिने उक्त दीप कात्तिक १९ गते साँझसम्ममा काठमाडौँ हुँदै सगरमाथा आधार शिविर कालापत्थर पुर्याइने नेपाल पर्वतारोहण सङ्घले जनाएको छ । नेपालको राष्ट्रिय झण्डा फहराउने र बौद्धबाट ल्याइएको दीपसमेत उक्त स्थानमा प्रज्ज्वलन गरिने छ । कात्तिक २५ दिन एक समारोहका बीच कालापत्थामा सम्पन्न हुन गइरहेको कार्यक्रमबाट विश्वको ध्यान केन्द्रित हुने सङ्घका पूर्वसचिव एवम् केन्द्रीय कार्यसमिति सदस्य दिवस पोख्रेलले बताउनुभयो । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमाल र हिमाली क्षेत्रमा परेको असरबारे राष्ट्र सङ्घको आगामी बैठकमा छलफल गरी कार्बन उत्पन्न गर्ने धनी राष्ट्रहरुले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकाले कालापत्थरमा सम्पन्न हुने कार्यक्रम फलदायी हुने पोखरेलले बताउनुभयो ।
काठमाडौं: नेपालले आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोट उपाधिको लागि ओमानसँग खेल्ने भएको छ । नेपाल र ओमानबीचको फाइनल खेल आइतबार टियु क्रिकेट मैदानमा बिहान–११ बजे सुरु हुनेछ । नेपालले दोस्रो सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै टी-२० विश्वकपमा स्थान बनाएको छ । ओमानले पहिलो सेमिफाइनल खेलमा बहराइनलाई १० विकेटले हराउँदै विश्वकपमा पुगेको हो । नेपाल र ओमान दुबैले २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टि-२० विश्वकप खेल्नेछन् । नेपाल र ओमान समूह ए बाट सेमिफाइनल खेलेका थिए । समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो । नेपालले हालसम्म विश्वकप छनोटको उपाधि जितेको छैन । यसअघि नेपालले २०१८ मा एसिसी इस्टर्न सब रिजन टुनामेन्टको उपाधि जितेको थियो । नेपालले पहिलो पटक २०१४ मा बंगलादेशमा टी–२० विश्वकप खेलेको थियो । त्यसपछि नेपालले विश्वकपमा स्थान बनाउन सकेको थिएन । नेपाल २०१५ र २०२१ मा ग्लोबल छनोटबाट बाहिरिएको थियो । २०१९ मा भने नेपाल एसिया क्षेत्रबाट नै बाहिरिएको थियो ।
स्याङ्जा: स्याङ्जाको गल्याङ नगरपालिका –७ मा रहेको सेतीबेनी शिलाको दर्शन गर्न गएका बेला कालीगण्डकी नदीमा डुबेर आमाको मृत्यु भएको छ । छोराको अवस्था गम्भीर छ । आज बिहान शिला दर्शनका क्रममा पर्वतको विहादी गाउँपालिका-६ का २५ बर्षीया रितु भट्टराईका चार बर्षीय छोरा रियान्स भट्टराई कालीगण्डकी नदीमा खसेका थिए । छोरालाई बचाउन नदीमा हाम फालेकी आमा रितुको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । कालीगण्डकी नदीले बगाएको अवस्थामा शिलाभन्दा केही तलबाट आमा छोरालाई नै उद्धार गरेको भए पनि आमाको उपचारको क्रममा कालीगण्डकी अस्पताल मिर्मीमा मृत्यु भएको प्रहरीको भनाइ छ । छोराको अवस्था गम्भीर रहेको र उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपालले आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको दोस्रो सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वक खेलेको थियो । काठमाडौंमा भएको छनोट खेलबाट ओमान पनि विश्वकपमा छनोट भएको छ । मूलपानी मैदानमा युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे । पहिले ब्याटिङ गरेको युएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशल मल्लले महत्वपूर्ण ३ विकेट लिएका थिए । ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १/१ विकेट लिए ।

