काठमाडौं: घरेलु टोली नेपालले आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमानसँग टस जितेको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । समान दुई खेलमा ४ अंक भएपनि ओमान नेटरनरेटका कारण ओमान शीर्षस्थानमा छ । दुबै टोली समूह ए बाट सेमिफाइनलमा पुगेका छन् । आजको खेलको विजेता समूहको पनि विजेता बन्नेछ । समूह विजेताले समूह बी को उपविजेतासँग सेमिफाइनल शुक्रबार खेल्नेछ । त्यसैले नेपालको लागि यो खेल निकै महत्वपूर्ण छ । नेपालले आजको खेलमा टोलीमा परिवर्तन गरेको छैन । विवेक यादवलाई नै निरन्तरता दिने निर्णय लिएको छ । नेपालको प्लेइङ ११: आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।
काठमाडौंः देशभरका सबै सरकारी कार्यालय आजदेखि दिउँसो ४ बजेसम्म मात्र खुल्ने भएका छन् । सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सबै सरकारी कार्यालय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै खुल्नेछन् । यो अवधिमा शुक्रवारको दिन भने दिउँसो ३ बजे नै कार्यालय बन्द हुने गृह मन्त्रालयले जनाएको छ । जाडो समयमा दिन छोटो हुने भएकाले हरेक वर्ष तीन महिना कार्यालय समय एक घण्टा घटाउने गरिएको छ । गृह मन्त्रालयका अनुसार सरकारी कार्यालयहरू वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म भने बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछन् ।
काठमाडौं: सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धकोे फैसला आज सुनाउँदै छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज निर्णय सुनाउने जानकारी दिएको हो । संविधान दिवसका अवसरमा गएको असोज ३ गते मन्त्रिपरिषद् बैठकले योगराज ढकालको आममाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको यो सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए । ढकालले हत्या गरेका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिईन्। गएको असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि हिजोका लागि सुनुवाइ निर्धारण भएको थियो । गएको असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ढकाललाई आममाफी दिन सिफारिस गर्नुपर्नाको कारणसहितको सम्पूर्ण सक्कल मिसिल असोज २४ गतेभित्र अदालतमा प्रस्तुत गर्न आदेश दिएको थियो ।
काठमाडौं: आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । नेपालले ओमानसँग समूह ‘ए’ को अन्तिम खेल खेल्न लागेको हो । यो खेल बिहान ९ बजे कीर्तिपुरमा शुरु हुनेछ । प्रतियोगितामा नेपालले सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानले मलेसियालाई ३२ र सिङ्गापुरलाई २२ रनले हराएको थियो । नेपाल र ओमानबीचको खेलले समूह ‘ए’ को विजेता तय गर्नेछ । दुवै टोली सेमिफाइनलमा पुगेका छन् । विश्व कप खेल्न दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण छ । टी–२० मा नेपाल र ओमानबीच चार खेल भएको छ । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ । आज हुने अरु खेलमा समूह ‘ए’ का मलेसिया र सिङ्गापुरबीच दिउँसो साढे १ बजे कीर्तिपुरमा, समूह ‘बी’ का हङकङ र यूएई बिहान ९ बजे तथा बहराइन र कुवेत दिउँसो साढे १ बजे मूलपानीमा खेल्नेछन् ।
पोखरा: गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी पुष २६ देखि २८ सम्म गते देखि हुने भएको छ । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजक समितिको बुधबार पोखरामा बसेको बैठकले उक्त निर्णय गरेको हो । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माको अध्यक्षतामा बसेको बैठकले पुषको दोश्रो साता सम्म सबै जिल्लास्तरिय प्रतियोगिताहरु सम्पन्न गर्ने गरि निर्णय समेत गरेको छ । उक्त प्रतियोगिता आयोजना गर्नका लागि स्थान तय गर्न सदस्य सचिब शर्माको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ । उक्त प्रतियोगिताका लागि ११ वटै जिल्लाबाट जिल्लास्तरीय रनिङ शिल्डबाट विजेता खेलाडी तथा टिमको सहभागिता रहने छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत विभिन्न ६ खेलहरु हुनेछन् । प्रतियोगिता र्मार्शल आर्ट खेल तर्फ छात्ररछात्रा तेक्वान्दो, उशु र कराँते हुनेछन् भने टिम गेमतर्फ छात्र/छात्रा कबड्डी, भलिबल र एथलेटिक्स खेलहरु सञ्चालन हुने प्रावधान रहेको छ । यस वर्ष मार्शल आर्ट खेलमा केही इभेन्ट थप गरिएको छ भने टिम गेममा समेत एक/एक जना खेलाडी थप गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न संघिय सरकारबाट हरेक पालिकाहरुलाई एक–एक लाख, गण्डकी प्रदेशका ११ जिल्लाहरुलाई कुल ४३ लाख र गण्डकी प्रदेशस्तरियका लागि २२ लाख बजेट बिनियोजन गरेको छ भने गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि थप २५ लाख बजेट विनियोजन गरेको सदस्य सचिब शर्माले जानकारी दिएका छन् । सम्पन्न बैठकमा जिल्ला खेलकुद विकास समितिका अध्यक्षहरु, विभिन्न ६ खेलका पदाधिकारीहरु तथा प्रतिनिधीहरु, आयोजक समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।
पोखरा: पोखरामा लागूऔषधसहित स्याङ्जाका दुई युवा प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा पोखराबाट खटिएको प्रहरीको टोलिले स्याङ्जाका दुई युवालाई लागूऔषधसहित प्रकाउ गरेको हो । स्याङ्जाको वालिङ नगरपालिका ५ स्थायी घर भएका २३ वर्षीय किशोर गुरुङ पोखरा ७ माछापुच्छ«े मार्गबाट २ हजार ३ सय ४० चक्की लागूऔषध नाईट्रोभ्याटसहित प्रकाउ परेका हुन् । गुरुङको कोठा खानतलासी गर्दा प्रहरीले लागूऔषध बरामद गरेको हो । । प्रहरीले बरामद गरेको लागूऔषध नाईट्रोभ्याट यस्तै स्याङ्जाको आधिखोला गाउँपालिका ५ स्थायी घर भएका २४ वर्षीय सुनिल पौडेललाई पोखरा १७ बरालफिटबाट लागूऔषधसहित प्रकाउ गरेको हो । प्रहरीले पोखरा १७ हरियाली टोलमा शंकास्पद अवस्थामा हिडिरहेका पौडेललाई खानतलासी गर्दा नाईट्रोभ्याट ५३ चक्की लागूऔषध बरामद गरेको हो । प्रकाउ परेका दुवै युवालाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
बारा: कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक गुडूँ भनिने रुपेश सराफको हत्यामा संलग्न रहेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ । सोमबार दिउँसो कलैया भरतचोक नजिकै सञ्चालक सराफको गोली हानी हत्या गरिएको थियो । सर्राफको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेको पाँच जनालाई बारा प्रहरीले आज (बुधबार) सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका-६ बस्ने राधा गुप्ता, जमिल अख्तर, रियाज अन्सारी र भारत मोतिहारि घोडासहन-१२ बस्ने २३ वर्षे चन्दन यादव र सोही ठाउँका २३ वर्षीय अभिनव कुमार सिंह रहेको प्रहरी उपरीक्षक सुरेश काफ्लेले पत्रकार सम्मेलनमा जानकारी दिए । यसैगरी हत्याका मुख्य अभियुक्त एवम् योजनाकार मनोज गुप्ता भने भारतमा फरार रहेको उनको भनाइ छ । पक्राउ परेका राधासँग दुई पक्षीय प्रेम प्रसङ्ग रहेकाले सराफ र मनोजबिच केही दिन अघि कलैयामा झगडा समेत भएको थियो । राधा सराफले सञ्चालन गरेको स्कुलमा विगत एक वर्षदेखि लेखापालको रूपमा काम गर्दै आएकी थिइन् । दुई पक्षीय प्रेम प्रसङ्गका कारण सर्राफको हत्या भएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए ।
पोखरा: बागलुङको काठेखोला गाउँपालिका–४ तंग्राममा शुभ दिपावली विशेष मेला हुने भएको छ । प्रगतिशील युवा क्लबले शुभ–दिपावली विशेष मेला २०८० को अवसरमा खुल्ला साविक वडा स्तरीय भलिबलसँगै पब्जी प्रतियोगिता आयोजना गरेको हो । प्रगतिशील युवा क्लबका अध्यक्ष धनबहादुर पुनले कात्तिक २४ देखि ३० गतेसम्म तिहार पर्वको अवसरमा शुभ–दिपावली मेला २०८० आयोजना गरेको जानकारी दिए । मेलाको अवसरमा खुल्ला साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला सामुहिक नृत्य प्रतियोगिता, बुद्धिचाल प्रतियोगिता, घैँटो फोर प्रतियोगिता र पब्जी प्रतियोगिता आयोजना गरेको क्लबका अध्यक्ष पुनले बताए । उनका अनुसार खुल्ला साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले ३१ हजारसहित ट्रफी, मेडल र प्रमाण प्राप्त गर्नेछन् । भने, प्रतियोगितामा सहभागि हुन एक समूहलाई ४ हजार ५ सय रुपैयाँ शूल्क कायम गरेको छ । खुल्ला सामुहिक नृत्य प्रतियोगितामा प्रथम हुने समूहले १० हजार, द्धितीय हुने समूहले ५ हजार र तृतीय हुने समूहले ३ हजारसहित प्रमाण पत्र प्राप्त गर्नेछन् । भने प्रतियोगितामा सहभागिता जनाउन ५ सय रुपैयाँ शूल्क कायम गरेको छ । यस्तै बुद्धिचाल प्रतियोगिताको विजेताले ५ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । भने सहभागि हुन ५ सय रुपैयाँ शुल्क कायम गरेको छ । यस्तै घैँटो फोर प्रतियोगिताको विजेताले १ हजारसहित प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् भने, १ सय रुपैयाँ शुल्क कायम गरेको छ । यस्तै क्लबले पहिलो पटक पब्जी प्रतियोगितासमेत आयोजना गरेको छ । क्लबका अध्यक्ष धनबहादुर पुनले शुभ–दिपावली मेलाको अवसरमा पहिलो पटक पब्जी प्रतियोगतालाई समेत आयोजना गरेको बताए । उनका अनुसार प्रतियोगिताको विजेताले १० हजार र उपविजेताले ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । भने प्रतियोगितामा सहभागिता जनाउन ८ सय रुपैयाँ शुल्क कायम गरेको छ । पब्जी प्रतियोगिता पब्जी मोबाइलको नियम अनुसार सञ्चालन गर्ने आयोजकले जनाएको छ ।
झापामा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। हल्दीबारी गाउँपालिका-४ मा बस्ने ४५ वर्षीय डिल्लीकुमार श्रेष्ठ पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो। श्रेष्ठले सोमबार राति घरमा कोही नभएको बेला बालिकालाई बलात्कार गरेको उजुरी परेको थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

