आइसिसी टी-२० विश्वकप अन्तर्गत मलेसियाले दिएको १६६ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो विकेट गुमाएको छ। ओपनर कुशल भुर्तेल ४३ रन बनाएर आउट भएका छन्। ५।३ ओभरमा आउट हुनुअघि उनले २५ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। त्यतिबेला नेपालले १ विकेटको क्षतिमा ४९ रन जोडेको थियो। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ९ विकेटको क्षतिमा १६५ रन जोड्यो। उत्कृष्ट सुरुवात गरेको मलेसियाले पावर प्लेमा १ विकेटको क्षतिमा ६० रन जोडेको थियो। त्यसपछि भने नेपालले मलेसियाको रन रोक्ने कोशिस गरेको थियो। नेपालका लागि पहिलो विकेट अभिनास बोहराले ५।५ ओभरमा लिए। उनले मलेसियाका ओपनिङ ब्याट्सम्यान जुबाइदी जुल्किफीलाई २४ रनमा कुशल मल्लबाट २४ रनमा क्याच गराए। अर्को ओभर नेपालले मलेसियाका कप्तान अमहद फइजलाई ३ रनमा रनआउट गर्यो। दुई रन लिने चक्करमा रहेका उनलाई करण केसीको थ्रोइङमा विकेटकिपर आसिफले रनआउट गरे। त्यसपछि सन्दीप लामिछानेले विरनदीप सिंहलाई ४ रनमा एलबिडब्लूको धरापमा पारे। कप्तान रोहित पौडेलले शर्भिन मुनियान्डीलाई १३ रनमा क्याच गरे। त्यसअघि पाँच बलमा रोहितले १५ रन खर्चिएका थिए। १४औं ओभरमा गुल्सन झाले ६८ रन बनाएर खेलिरहेका ओपनर सयद अजिजलाई कुशल भुर्तेलबाट क्याच गराए। मलेसियाका लागि सबैभन्दा बढी रन बनाएका उनले ४९ बलमा ८ चौका र २ छक्का प्रहार गरे। गुल्सनले अइनूल अफिजलाई पनि रन आउट गर्न विकेटकिपर आसिफलाई बल दिएका थिए। १८औं ओभरमा अभिनासले मोहमद अमिरलाई ८ रनमा बोल्ड गरे। अभिनासले अन्तिम ओभरमा साजरुल इद्रुसलाई कुशल भुर्तेलबाट ७ रनमा क्याच गराउदा फित्रि शामलाई ६ रनमा बोल्ड गरेका थिए। बलिङमा नेपालका अभिनास बोहराले ४ विकेट लिए। अभिनासले ४ ओभरमा २७ रन खर्चिए। सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले १-१ विकेट लिए। समूह एु मा रहेको नेपालले यसअघि सोमबार भएको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो। आजको खेल जिते नेपाल सेमिफाइनल पुग्नेछ। नेपालसँगै ओमान पनि समूहबाट अन्तिम चारमा पुग्नेछ। समूह चरणको आफ्नो अन्तिम खेल नेपालले ओमानसँग पर्सी खेल्नेछ।
राष्ट्रियसभामा ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरिने भएको छ । विधायन व्यवस्थापन समितिको सोमबारको बैठकले उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको थियो । गैरसरकारी विधेयकका रुपमा प्रस्तुत गरिने विधेयकमा मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाअनुरुप राष्ट्रिय मर्यादा क्रमसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ । विधेयकमा अतिविशिष्ट र विशिष्ट व्यक्तिलाई ‘सम्माननीय वा माननीय’ के भनेर सम्बोधन गर्ने भन्ने विषय उल्लेख गरिएको छ । यसमा अति विशिष्ट व्यक्ति राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्ष रहने गरी मर्यादाक्रम मिलाउन प्रस्ताव गरिएको छ । पूर्वराष्ट्रपति, पूर्वउपपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, पूर्वप्रधानन्यायाधीशको मर्यादा क्रमशः कायम गरिएको छ । त्यसैगरी, संविधानसभाका अध्यक्ष, प्रतिनिधिसभाको पूर्वसभामुख, व्यवस्थापिका संसद्को पूर्वसभामुख, राष्ट्रियसभाको पूर्वअध्यक्ष र प्रतिनिधिसभाको विपक्षी दलको नेतालाई मर्यादाको सातौँ नम्बरमा रहने गरी मर्यादा क्रम कायम गर्न प्रस्ताव गरिएको छ । त्यसै, उपप्रधामन्त्री र प्रदेश प्रमुखको मर्यादा आठौँ नम्बरमा कायम गर्न प्रस्ताव गरिएको छ । प्रस्तावित विधेयकमा नेपाल सरकारकामन्त्री, प्रतिनिधिसभाको उपसभामुख, राष्ट्रियसभाको उपाध्यक्ष, राष्ट्रियसभाका सत्तापक्ष दलको नेता, राष्ट्रियसभाको विपक्षी दलको नेता, सत्तापक्ष संसदीय दलको उपनेता, विपक्षी दलको संसदीय दलको उपनेता, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य दलका नेता, राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने अन्य दलका नेता, पूर्वउपप्रधानमन्त्री, पूर्वप्रदेश प्रमुख, संविधानसभाको उपाध्यक्ष, पूर्वउपसभामुख र राष्ट्रियसभाको पूर्वउपाध्यक्षको मर्यादा क्रम नवौँ नम्बरमा छ । सङ्घीय संसद्को विषयगत समितिको सभापति, प्रतिनिधिसभाको मुख्य सचेतक, राष्ट्रियसभाको मुख्य सचेतक, प्रतिनिधिसभाको विपक्षी दलका प्रमुख सचेतक, राष्ट्रियसभाको विपक्षी दलको प्रमुख सचेतक, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य दलका प्रमुख सचेतक, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलको सचेतक, प्रदेशसभाको सभामुखलाई मर्यादा क्रमको दशौँ नम्बरमा राख्न सिफारिस गरिएको छ । प्रस्तावित विधेयकमा नेपाल सरकारको राज्यमन्त्री, सर्वोच्च अदालतको न्यायाधीश, नेपाल सरकारको सहायकमन्त्री, सङ्घीय संसद्को सदस्य, न्यायपरिषद्को सदस्य, संवैधानिक निकायको प्रमुख, नेपालरत्न पाउने महानुभाव, महान्यायाधिवक्ता, सवैधानिक निकायको सदस्य, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, उच्च अदालतको मुख्य न्यायाधीश, नेपाल सरकारको पूर्वमन्त्री, पूर्वमुख्यमन्त्री, सङ्घीय संसद्का पूर्वपदाधिकारी ९नेता, सभापति, संचेतक०लाई मर्यादा क्रमको एघारौँ नम्बरमा राख्न सिफारिस गरिएको छ । त्यस्तै, प्रदेश सरकारको मन्त्री, प्रदेशसभाको उपसभामुख, नेपाल सरकारको पूर्वराज्यमन्त्री, नेपाल सरकारको पूर्वसहायकमन्त्री, प्रदेशसभाका पूर्वसभामुख, संविधानसभाको सदस्य, पूर्वसांसदलाई मर्यादा क्रमको बाह्रौँ नम्बर प्रस्तावित विधेयकमा व्यवस्था गरिएको छ । नेपाल सरकारको मुख्य सचिव, सङ्घीय संसद्को महासचिव, सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार, प्रधानसेनापतिलाई मर्यादा क्रमको तेह्रौँ नम्बरमा राखिएको छ । प्रदेशसभाको विपक्षी दलको नेता, प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य दलको नेता, प्रदेशसभाको विषयगत समितिको सभापति, प्रदेशसभाको मुख्य सचेतक, प्रदेशसभाको विपक्षी दलको प्रमुख सचेतक, प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य दलको प्रमुख सचेतक, प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य दलको प्रमुख सचेतक, प्रदेशसभाको प्रतिनिधित्व गर्ने अन्य दलको सचेतक, प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको सचेतक, नेपाल राष्ट्र बैंकको गभर्नर, राष्ट्रिय योजना आयोगको सदस्य, नेपाल प्रज्ञाप्रतिष्ठानको कुलपति, विश्वविद्यालयका कूलपति र सह कुलपति ९प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने विश्वविद्यालय बाहेक० विश्वविद्यालयको उपकुलपतिलाई उक्त विधेयकको चौध नम्बर मर्यादा क्रममा राख्न सिफारिस गरिएको छ । प्रस्तावित विधेयकमा प्रदेश सरकारको राज्यमन्त्री, प्रदेश सरकारको सहायकमन्त्री, प्रदेशसभा सदस्य, प्रदेश लोकसेवा आयोगको अध्यक्ष, प्रदेश सरकारको पूर्वमन्त्री, प्रदेशसभाको पूर्वउपसभामुखलाई मर्यादा क्रमको पन्ध्रौँ नम्बरमा राख्न सिफारिस गरिएको छ । नेपाल सरकारको सचिव एवम् राजपत्राङ्कित विशिष्ट श्रेणी वा सोसरहको अधिकृत प्रतिनिधिसभाको सचिव, राष्ट्रियसभाको सचिव, प्रदेश सरकारको प्रमुख सचिव, प्रदेशसभाको सचिव, राष्ट्र गौरव पाउने महानुभाव, नेपाली राजदूत, नेपालस्थित विदेशी राजदूत, सार्कका महासचिव, नेपालस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक, प्रदेश लोकसेवा आयोगको सदस्य, रथी, प्रहरी महानिरीक्षक सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकलाई मर्यादा क्रमको सोह्रौँ नम्बरमा राख्न सिफारिस गरिएको छ । उच्च अदालतका न्यायाधीश, मुख्य न्यायाधिवक्ता, प्रदेश योजना आयोगको उपाध्यक्ष, जिल्ला समन्वय समितिको प्रमुख, महानगरपालिका प्रमुखका प्रमुख, नेपाल प्रज्ञाप्रतिष्ठानको उपकुलपति, विश्वविद्यालयका प्राध्यापक, उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी(अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त अनुसन्धान निर्देशक, प्रदेश योजना आयोगको सदस्य, प्रदेश सरकारको पूर्व राज्यमन्त्री, प्रदेश सरकारको पूर्व सहायकमन्त्री, प्रदेशसभाको पूर्वसदस्यलाई मर्यादा क्रममको सत्रौँ नम्बरमा राखिएको छ । प्रस्तावित विधेयकमा जिल्ला समन्वय समितिको उपप्रमुख, जिल्ला समन्वय समितिको सदस्य, उपमहानगरपालिका प्रमुख, महानगरपालिका उपप्रमुख, नगरपालिका प्रमुख, उपमहानगरपालिका उपप्रमुखलाई मर्यादा क्रमको अठारौँ नम्बरमा राख्न सिफारिस गरिएको छ । सहायकरथी, प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी नायब महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान निर्देशक, गाउँपालिका अध्यक्ष, नगरपालिका उपप्रमुख, नेपाल सरकारको सहसचिव एवम् राजपत्राङ्ति प्रथम श्रेणी वा सो सरहको अधिकृत, प्रदेश सरकारको सचिव, जिल्ला न्यायाधीश, प्रमुख जिल्ला अधिकारी (राजपत्राङ्कित प्रथम श्रेणी), नेपालस्थित विदेशी कन्सुल जनरल, विश्वविद्यालयका सहप्राध्यापक, महासेनानी, प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक, प्रदेश सरकार तथा स्थानीय तहबाट नियुक्त राजपत्राङ्ति प्रथम श्रेणीको तहमा कार्यरत अधिकृत, माध्यमिक तह प्रथम श्रेणीका शिक्षक, सार्वजनिक संस्थानका प्रमुख कार्यकारीलाई मर्यादा क्रममा उन्नाईस नम्बरमा राख्न भनिएको छ । गाउँपालिका उपाध्यक्ष, नेपाल सरकारको उपसचिव एवम् राजपत्राङ्ति द्वितीय श्रेणी वा सो सरहको अधिकृत, प्रमुख सेनानी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको उपअनुसन्धान निर्देशक, विश्वविद्यालयका उपप्राध्यापक, सेनानी, प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको प्रमुख अनुसन्धान अधिकृत, प्रदेश सरकार तथा स्थानीय तहले नियुक्त गरेको राजपत्राङ्ति द्वितीय श्रेणी वा सो सरहको तहमा कार्यरत अधिकृत, माध्यामिक तह द्वितीय श्रेणीको शिक्षकलाई प्रस्तावित विधेयकमा मर्यादा क्रमको बीसौँ नम्बरमा राख्न प्रस्ताव गरिएको छ । नेपाल सरकारको शाखा अधिकृत एवम् राजपत्राङित तृतीय श्रेणी वा सो सरहको अधिकृत, सहसेनानी, प्रहरी निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, उपसेनानी, राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत, वडाध्यक्ष, प्रदेश सरकार वा स्थानीय तहले नियुक्त गरेको राजपत्राङित तृतीय श्रेणी वा सोसरहको तहमा कार्यरत अधिकृत, माध्यमिक तह तृतीय श्रेणीको शिक्षक, सहायक सेनानीलाई मर्यादा क्रमको २१ औँ नम्बरमा राख्न सिफारिस गरिएको छ । रासस
शिक्षक सेवा आयोगले माध्यामिक तहमा ७१८ शिक्षक सिफारिस गरेको छ । आयोगले माध्यमिक तृतीय श्रेणी पदको खुला प्रतियोगितात्मक परीक्षाको लिखित परीक्षा र अन्तर्वार्ताबाट छनौट भएका शिक्षकलाई नियुक्तिका लागि सिफारिस गरेको हो । आयोगले अन्तर्वार्ता परीक्षा उतीर्ण गरेका उम्मेदवारहरुको नाम स्थायी नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरेर पठाएको जनाएको छ । आयोगले मावि तहको शिक्षक पदको लागि २५ पुस २०७९ सालमा विज्ञापन खुलाएको थियो । विज्ञापन अनुसार १८ चैत २०७९ सालमा सामान्य परीक्षा र ९ असार २०८० मा विषयगत परीक्षामा सफल उम्मेदवारको गत असोजमा अन्र्तवार्ता सञ्चालन गरेको थियो ।
कैलालीमा दशैंका बेला महिलालाई ठक्कर दिएर भागेका कार चालकलाई प्रहरीले पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तरगत गौरीगंगा नगरपालिका-६ को बनबेहडामा दशैंको भोलिपल्ट नम्बर नखुलेको कारको ठक्करबाट घाइते गोदावरी नगरपालिका-९ की ६० वर्षीय मनादेवी रावतको मृत्यु भएको थियो । गम्भीर घाइते भएकी रावतको सोही दिन उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो तर ठक्कर दिएर भागेको कारको पहिचान हुन सकेको थिएन । इलाका प्रहरी कार्यालय मालाखेतीले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि महेन्द्रनगरसम्म जडान गरिएका सीसीटीभी क्यामेराको फुटेजका आधारमा ठक्कर दिने कार पत्ता लगाएर नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बरालले सीसीटीभी फुटेजमा घटनाको समयमा उक्त क्षेत्रमा देखिएका कारको बनावट बनाएर अनुसन्धान गर्ने क्रममा महिलालाई ठक्कर दिने कार पत्ता लागेको जानकारी दिए । उनकाअनुसार रूपन्देहीको तिलोतमा नगरपालिका-११ महुबारी बस्ने ५० वर्षीय ज्ञानराज पाण्डेले चलाएको बा १५ च ८४७० नम्बरको कारले ठक्कर दिएको खुलेको हो । भारतको नैनीताल घुम्न गएका उनी महिलालाई ठक्कर दिएर भागेका थिए । घटनापछि कञ्चनपुरको सीमावर्ती बजार वनबासामा कार मर्मत गरेर बुटवल फर्किएको पाइएको प्रहरीले जनाएको छ । पाण्डेलाई बुटवल प्रहरीको सहयोगमा आइतबार पक्राउ गरिएको डीएसपी बरालले बताए । कारसहित नियन्त्रणमा लिइएका पाण्डेमाथि थप अनुसन्धान भइरहेको छ । डीएसपी बरालले राजमार्ग क्षेत्रमा जडान गरिएका सीसीटीभी क्यामेरा सवारी दुर्घटना तथा अन्य अपराधिक घटनाको अनुसन्धानमा सहयोगी बनेको बताए तर सीसीटीभी क्यामेराबाट सवारी साधनको नम्बर र मानिसको हुलिया स्पष्ट नदेखिंदा केही समस्या हुने गरेको छ ।
बारा: गोली प्रहारबाट हिजो मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सराफको मङ्गलवार हिन्दू परम्पराअनुसार दाह संस्कार गरिएको छ । पसहा खोलमा उहाँको अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । यसअघि एन प्यापसनका पदाधिकारीले संस्थाको झन्डा ओढाई सराफमा श्राद्धञ्जली अर्पण गरेका थिए । मृतक सराफको श्रीमतीसहित दुई छोरा छन् । उहाँलाई श्रद्धाञ्जली अर्पण गर्न ठूलो सङ्ख्यामा शुभचिन्तकहरु कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित उहाँको निवासमा पुगेका थिए । कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साह, नेकपा माओवादी केन्द्रका युवा नेता मुकेश साह, नेपाली काँग्रेसका युवा नेता लुकेश सिहलगायत विभिन्न राजनितिक दलका ब्यक्ति नागरिक अगुवा, निजी तथा सामुदायिक विद्यालयका शिक्षक शिक्षिका, आफन्तजन, पत्रकार, सुरक्षाकर्मीलगायतले सर्राफको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए । उपमहानगरपालिका भित्रका शिक्षक तथा पेशागत विभिन्न सङ्घ–सङ्गठनहरुले घटनाको निन्दा गर्दै शोक मनाउने निर्णय गरेका छन् । यस्तै बारा उद्योग वाणिज्य सङ्घले पनि एक विज्ञप्ति जारी गर्दै हत्याको विरोधमा बजार बन्द गर्न आह्वान गरेको छ। सङ्घका अध्यक्ष राजकुमार साहद्वारा जारी विज्ञप्तिमा मङ्गलवार साँझसम्म बजार बन्द गरी सहयोग गर्न उद्योगी तथा व्यापारीहरुसँग अपिल गरिएकाले अहिले बजार पूर्णरूपमा बन्द छ । एन प्याब्सनले पनि सोमवार नै विज्ञप्तिमार्फत उक्त घटनाको निन्दा गर्दै दोषीलाई कार्यवाहीको दायरामा ल्याउन माग गर्नाका साथै २४ घन्टाभित्र वास्तविक अपराधी समात्न नसके चरणबद्ध आन्दोलन गर्ने जनाएको छ । कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल सर्राफमाथि सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले ती वटा गोली प्रहार हत्या गरेकाले जिल्लाबासीमा त्रासको वतावरण छाएको छ । कलैयास्थित मदर्शा टोलमा दुईवटा नेपाली मोटरसाइकलमा आएका चारजना अज्ञात व्यक्तिले तीन राउण्ड गोली सर्राफलाई हानेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो । हत्या गरिएको ठाउँ जिल्ला प्रहरी कार्यालयभन्दा पाँच मिनेटको दूरीमा पर्दछ । गोली लागेर सख्त घाइते सराफलाई कलैया प्रादेशिक अस्पताल उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको र उपचारका क्रममा उहाँको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । प्रेम सम्बन्धका कारण सराफको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यसअघि गत साउन २८ गते कलैयाको एक होटलमा सर्राफको हत्याको प्रयास गरिए पनि त्यति बेला उहाँ बाँच्न सफल भएको पक्राउ परेकाहरुले प्रहरीसमक्ष बयान गरेको दिएको अनुन्धानमा खटिएका एक प्रहरीले जानकारी दिए । घटनामा संलग्न एक युवतीसहित तीन नेपाली र तीन भारतीयलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । सो घटनामा अन्य थप दुईजनाको पनि संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ । अहिले दस जनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा सुक्षमरुपमा अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जंगली च्याउँ खाँदा गुल्मीमा तीन जना बिरामी परेका छन्। बिरामी पर्नेमा जिल्लाको इस्मा गाउँपालिका–६ बुल्मका ३९ वर्षीय सरिता कुमाल, ११ वर्षीय विमल र आठ वर्षीया सुस्मा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। उनीहरु तीनै जनाको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिएका छन्। उनीहरु घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा सोमबार बिरामी परेको सरिताका श्रीमान् वृषबहादुरले बताए।
स्याङ्जा: स्याङ्जाको चापाकोटका एक व्यक्तिले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । चापाकोट नगरपालिका–७ खासा बस्ने करिव ५५ वर्षीय देवबहादुर विकले ४६ वर्षीया श्रीमती पार्वती विकलाई बन्चरो प्रहर गरेर हत्या गरी आफूले पनि आत्महत्या गरेको चापाकोट इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिए । श्रीमानले श्रीमतीको घाँटीमा बञ्चरो प्रहार गरी हत्या गरेको र त्यस लगत्तै आफू पनि घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको हुनसक्ने घटनाको प्रकृतिले देखाएको उनले बताए । साँझ खाना खाएर सुत्न कोठामा गएकी छोरी बिहान उठ्दा आमा बुवा उठेको नदेखेपछि कोठामा हेर्दा आमाको हत्या भएको र बाहिर निस्केर हेर्दा घर नजिकैको रुखमा बुवा झुण्डिरहेको देखेपछि छोरीले छिमेकीलाई खबर गरेको प्रहरी निरीक्षक यादवको भनाइ थियो । यसअघि पनि बेलाबखत श्रीमतीलाई कुट्ने र झैझगडा हुने गरेको जानकारी पाइएको र हिजो साँझ खाना खाएपछि राति कुन समयमा सो घटना भयो भन्नेबारे यकिन नभएको उनले बताए । कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरेपछि दुवै शवलाई पोष्टमार्टमका लागि चापाकोट अस्पताल ल्याउने तयारी भईरहेको र घटनाबारे थप अनुसन्धान सुरु भएको निरीक्षक यादवले बताए।
काठमाडौं: नेपालले आइसिसी टि२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा मलेसियासँग टस हारेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा मलेसियाका अहमद फैजले टस जितेर पहिला ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङको निम्तो दिएको छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो । घरेलु टोली नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । नेपाल आजको खेलमा विजयी भएमा सेमिफाइनलमा पुग्नेछ । आजको पहिलो खेलमा ओमानले सिंगापुरलाई २२ रनले हराएको थियो । नेपाल विजयी हुँदा समूह ए बाट ओमान पनि सेमिफाइनलमा पुग्नेछ । नेपालले आजको खेलमा कुनै परिवर्तन गरेको छैन । नेपालका दीपेन्द्रसिंह ऐरी खुट्टामा चोटका कारण टोलीमा छैनन् । दीपेन्द्रको स्थानमा विवेक यादवलाई निरन्तरता दिएको छ । टोलीमा नेपालले कुनै परिवर्तन गरेको छैन । नेपालको प्लेइङ ११: आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।
अर्थमन्त्री डा.प्रकाशशरण महत र बेलायतका ट्रेजरी लर्ड्स मन्त्री बारोनेस पेनबीच लण्डनमा रहेको अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ । हिजो भएको भेटका क्रममा अर्थमन्त्री डा महतले बेलायतका तर्फबाट नेपालको नवीकरणीय ऊर्जामा लगानीका लागि आग्रह गर्नुभयो । उहाँले बेलायत नेपालको एक प्रमुख विकासको साझेदार देश रहेको स्मरण गर्दै हरित ऊर्जामा दीर्घकालीन वित्तीय स्रोत उपलब्ध गराउनसमेत आग्रह गर्नुभयो । त्यसैगरी उहाँले बेलायतको तर्फबाट जलवायु परिवर्तनको न्यूनीकरणका लागि गरिँदै आएको लगानी नेपालमा थप वृद्धि गर्न पनि अनुरोध गर्नुभएको अर्थमन्त्री डा महतको सचिवालयले एक विज्ञप्ति प्रकाशन गरी जनाएको छ । ट्रेजरीमन्त्री पेनले नेपालको आर्थिक विकासमा बेलायतले सहयोग गर्दै आएको र यसलाई निरन्तरता दिने बताउनुभयो । उहाँले ‘ग्रीन फाइनान्स’ क्षेत्रमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै बेलायतको निजी क्षेत्रलाई नेपालको हरित ऊर्जाको क्षेत्रमा लगानी बढाउन प्रोत्साहन गर्ने बताउनुभयो । भेटमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र नियोग उपप्रमुख रोशन खनालको पनि सहभागिता थियो । लण्डनमा रहेको नेपाली राजदूतावासले गर्न लागेको लगानीसम्बन्धी उच्चस्तरीय सम्मेलनमा भाग लिन लण्डन आउनुभएका मन्त्री डा महतले नेपाली राजदूतावासको आयोजना र डोल्मा फाउण्डेशनको सहकार्यमा सोमवार भएको नेपालको नवीकरणीय ऊर्जाको विकासमा दीर्घकालीन वित्तीय विकल्प विषयक अन्तरक्रियामा सहभागी हुनुभएको थियो । मन्त्री डा महतले नेपाल सरकारले विदेशी लगानीको सुरक्षाको प्रत्याभूति गर्ने बताउँदै वैदेशिक लगानीकर्ताले लाभांश फिर्ता लैजाने प्रक्रियालाई सरल बनाउनेतर्फ नेपाल सरकार लागेको जानकारी दिनुभयो । उहाँले लगानीको वातावरण सुधार गर्न देशको कन्ट्री क्रेटिड रेटिङ्गको प्रक्रिया शुरु भइसकेको पनि जानकारी दिनुभयो । डोल्मा फाउण्डेशनका टिम गोचर र जापनिज बैंक एमयूएफजीका क्रिस्टोफर मार्कसले कर्पोरेट ग्रीन बन्डको बारेमा आफ्नो धारणा राख्नुभएको थियो । यसैगरी स्टाण्डर्ड चार्टर्ड बैंकका आदिल अन्सारीले सोभरियन बन्ड र नवनिर्वाचित लर्ड मेयर प्रो माइकल मेनिलीले पोलिसी पर्फमेन्स बन्डका बारेमा धारणा राख्नुभएको थियो । राजदूत आचार्यले लगानीका लागि नेपाल उर्बरभूमि रहेकाले लगानीकर्तालाई निर्धक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।

