गुल्मीमा जाँड–रक्सी खाएर सुरक्षाकर्मीलाई अभद्र व्यवहार गर्ने १२ जना पक्राउ परेका छन् । बिहीवार मालिका गाउँपालिका–४ अर्खबाङ्गमा जाँड–रक्सी खाएर होहल्ला गरिरहेका युवालाई सम्झाउँदा उनीहरूले प्रहरीलाई नै अभद्र व्यवहार गरेका गुल्मीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो । पक्राउ पर्नेहरूमा मालिका गाउँपालिका–२ का केशव खड्का, मालिका ३–का सन्तबहादुर थापा, अनिल थापा, विशाल थापा, विकल्प थापा, नरेन्द्र थापा, भरत थापा, नारायण पाण्डेय, विपिन थापा, गुञ्जबहादुर थापा, मालिका–८ का साहिल जिसी र रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ का अनिल ठकुरी रहेका छन् । पक्राउ परेकाहरूलाई शान्ति सुरक्षा खलबलाएको कसुरमा सार्वजनिक मुद्दा चलाउने तयारी गरिएको प्रहरी उपरीक्षक प्रधानले बताउनुभयो ।
काठमाडौं: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आज बिहान खुम्बु पासाङल्हामु गाउँपालिका–४ का स्थानीय समुदायसँग जलवायु परिवर्तन र यसले स्थानीयको जनजीवनमा पारेको विषयका सम्बन्धमा अन्तर्क्रिया गरेका थिए । सो अवसरमा महासचिव गुटेरेसले जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ९कोप–२८०मा स्थानीयका सुझावसहित जलवायुले हिमालमा परेको असरबारे ध्यानाकर्षण गराउने उल्लेख गरेका थिए । उनले विश्वको प्रदूषण वृद्धिमा धनी देशको भूमिका रहेको तर खुम्बु पासाङल्हामु गाउँपालिकाजस्ता दुर्गम स्थानमा नकारात्मक असर पर्नु दुःखद् भएको बताएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए । महासचिव गुटेरेसले जलवायु परिवर्तनबाट उत्पान्न हुने समस्या कम गर्नका लागि के गर्न सकिन्छ भनेर पहल गर्ने र उक्त सन्देश विश्वभरि लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए । भेटमा स्थानीय समुदायले हिमनदी पग्लिनेक्रम बढेको, जलवायुजन्य हानि नोक्सानी बढेको, पानीका स्रोत सुक्दै गएको, स्थानीय बालीनालीमा जलवायुको असर परेको, नाङ्गा हिमालमा पानी पर्दा पहिरो जाने समस्या बढेको जस्ता विषय महासचिव गुटेरेसलाई अवगत गराएका अध्यक्ष अधिकारीले जानकारी दिए । साथै स्थानीयले गाउँमा ऊर्जाको अभाव रहेको र लघु जलविद्युत् आयोजना निर्माणमा सहयोगका लागिसमेत आग्रह गरेका थिए । महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्र सङ्घका अन्य अधिकारीहरू सहभागी छन् । महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान यहाँ आइपुगेका हुन् । उनले भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । साथै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँग महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता भएको थियो । भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्त्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गरेका थिए । प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गरेका थिए । भ्रमणका क्रममा उनी सगरमाथा क्षेत्र र पोखराका साथै अन्नपूर्ण आधार शिविर र लुम्बिनी जाने छन् । यही कात्तिक १४ गते मङ्गलबार अपराह्न उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री दाहालको निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आएका हुन् ।
बारा: बाराको कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ। प्रधानाध्यापक रुपेश सराफमाथि अज्ञात समूहले टाउको र छातीमा गोली हानेको प्रहरीले जनाएको छ। बाल एकता बोर्डिङ स्कुलनजिकै मदर्सा टोलमा सराफमाथि गोली प्रहार भएको स्रोतको भनाइ छ। बारा प्रहरीका अनुसार सराफको टाउको र छातीमा गोली प्रहार गरिएको छ। घटनास्थलमा प्रहरी पुगेको र गोली प्रहार गर्ने अज्ञात समूहको खोजी भइरहेको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले जनाए।
काठमाडौं: युएईले आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा बहराइनलाई पाँच विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । समूह बी मा युएईले दुई महत्वपूर्ण अंक जोडेको हो । जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको युएईले १८।२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । युएईको जितमा युवा अलराउन्डर अली नासिर २६ बलमा ४ चौका र ३ छक्कासहित ४८ रनमा नट आउट रहे । बासिल हामिद ८ बलमा १ चौकासहित ११ रनमा नट आउट रहे । ओपनर मोहम्मद वासिम १२, अर्यांश शर्मा ९, वृत्य अरविन्द शून्य, आसिफ खान २३ र एलिशान शराफु २७ रनमा आउट भए । बहराइनका तीव्र गतिका बलर मोहम्मद रिजवान बटले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । अब्दुल मजिद र सचिन कुमारले एक एक विकेट लिए । त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रन बनायो । बहराइनका हैदर अलीले ४३ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५९ रनको अविजित इनिङ खेलेपनि जितको लागि पर्याप्त हुन सकेन । जुनैद अजिज २५ र सोहेल अहमेद २८ रनमा आउट भए । अन्य बहराइनका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । युएईका जुनैद अजिज र आयन खानले २–२ विकेट लिए । युएईले मंगलबार कुवेत र बिहीबार हङकङसँग खेल्नेछ ।
दाङ: दाङमा शौचालयबाट फरार भएका कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्याइएका विवेक नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । दाङको घोराही १८ स्थित रझेना विद्यालय आसपास नजिकैबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल चेकजाँचका लागि पुर्याइएका उनी सोमबार बिहान फरार भएका हुन् । मोबाइल चोरेको आरोपमा ३ दिनअघि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
काठमाडौं: घरेलु टोली नेपालले आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सिंगापुरलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । उपाधि दाबेदार नेपालले अंक तालिकामा दुई महत्वपूर्ण अंक जोडेको हो । जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले ४८ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ७४ रन बनाए । उनले टी–२० आई करिअरको सातौं अर्धशतक २६ बलमा पूरा गरेका थिए । टोलीलाई जितको लागि चार रन चाहिँदा अनन्त कृष्णलाई ठूलो सर्ट खेल्ने धुनमा कुशल लङअफमा क्याच आउट भएका थिए । रोहित पौडेल २४ बलमा २ चौका र २ छक्कासहित ३५ रनमा क्रिजमा रहे । पहिलो बल खेलेका कुशल मल्लले छक्का हान्दै खेल सकाएका थिए । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ९.१ ओभरमा ८४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । अक्षय पुरीको बलमा आसिफ बोल्ड आउट भएका थिए । आसिफले २६ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाए । सिंगापुरका लागि अनन्त कृष्ण र अक्षय पुरीले १/१ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो । सिंगापुरका ओपनर रोहन रंगराजनले ३० बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाएका थिए । डेब्यू खेल खेलेका आर्यवीर चौधरीले २६ बलमा ५ चौकासहित ३७ रनको योगदान दिएका थिए । तीव्र गतिका बलर करण केसीले दोस्रो बलमै सिंगापुरका कप्तान अरित्र दत्तलाई शून्यमा बोल्ड आउट गरेका थिए । त्यसपछि दोस्रो विकेटका लागि रोहन रंगराजन र सुरेन्द्रन चन्द्रमोहनले ५२ रनको साझेदारी गरेका थिए । स्पिनर सन्दीप लामिछानेले सातौं ओभरको पाँचौं बलमा चन्द्रमोहनलाई ६ रनमा बोल्ड आउट गरेका थिए । सन्दीपले आउट गर्नुअघि सिंगापुर ६.४ ओभरमा ५२–१ को अवस्थामा थियो । एकतर्फबाट उत्कृष्ट प्रदर्शन गरेका रंगराजन सन्दीप जोराको उत्कृष्ट क्याच आउट शिकार बनेका थिए । गुलशन झाको आठौं ओभरको पहिलो बलमा मिडअफमा सन्दीप जोराले एक हातले उत्कृष्ट क्याच लिदै उनलाई पेभेलिएन फर्काएका थिए । गुलशन झाले आमथ्र्य कौललाई शून्यमा कट एण्ड बोल्ड यसै ओभरमा गरेपछि नेपाल खेलमा फर्किएको थियो । राम्रो सुरुवात गरेको सिंगापुरले दुई रन जोड्न तीन विकेट गुमाएपछि ५२–१ को अवस्थाबाट ५४–४ को अवस्थामा पुगेको थियो । ११ औं ओभरको दोस्रो बलमा सन्दीपले सिंगापुरका अलराउन्डर जनक प्रकाशलाई ७ रनमा एलबीडब्लू आउट गरे । एक समय १०.२ ओभरमा ७०-५ को अवस्थामा पुगेको सिंगापुरलाई विकेटकिपर मनप्रीत सिंह र अर्यावीर चौधरीले छैटौं विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए । करण केसीको १७ औं ओभरको तेस्रो बलमा ठूलो सर्ट खेलेका मनप्रीत लङअफमा रोहित पौडेलबाट क्याच आउट भएका थिए । उनले २६ बलमा ३ चौकासहित २४ रन बनाए । अक्षय पुरी ८ बलमा १ चौका र १ छक्कासहित १३ रनमा नट आउट रहे । नेपालका गुलशन झाले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । करण केसीले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा १ मेडनसहित ४४ रन खर्चेर ३ विकेट लिए । नेपालले दोस्रो खेल मंगलबार मलेसिया र तेस्रो खेल बिहीबार ओमानसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके सेमिफाइनल खेल्नेछ । समूह ए मा नेपाल, मलेसिया, सिंगापुर र ओमान छन् । समूह बी मा युएई, हङकङ, बहराइन र कुवेत छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप खेल्न पाउनेछन् ।
नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अभ्यासका क्रममा घाइते भएपछि आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्तग एसिया छनोटको पहिलो खेल गुमाएका छन्। उनको खुट्टामा चोट लागेको कारण सोमबार कीर्तिपुस्थित त्रिवि मैदानमा सिंगापुरविरुद्धको खेल गुमाएका छन्। उनको खुट्टा मर्किएको नेपाली टिमको मेडिकल विभागले जनाएको छ। उनको स्थानमा विवेक यादवले सिंगापुरविरुद्धको खेलमा स्थान बनाएका छन्। अघिल्लो साता नेपालमै भएको हङकङ र युएईविरुद्धको टी-२० सिरिजमा दीपेन्द्रले उत्कृष्ट खेल देखाएका थिए। उच्च लयमा रहेको बेलामा घाइते भएसँगै दीपेन्द्र टी-२० छनोटमा नेपाली टिममा फर्कनेमा शंका बढेको छ।
बलेवा: सिङ्गल स्पान’ प्रविधिमा विश्वकै लामो झोलुङ्गे पुल निर्माण भएको कालीगण्डकी नदीमाथि अर्को लामो पुल तयार भएको छ । बागलुङ र छिमेकी जिल्ला पर्वत जोड्ने गरी सिङ्गल स्पान प्रविधिको विश्वको दोस्रो लामो पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने गरी चार वर्ष पहिला एक टापुदेखि अर्को टापु सीधा जोड्ने विश्वकै लामो पुल तयार भएको थियो । पाँच सय ६७ मिटर लामो पुलको बागलुङ नगरपालिकाले गण्डकी स्वर्णिम झुला नामकरण गरेको छ । लामो पुल तयार भएको चार वर्षपछि बागलुङकै बागलुङ –४ देखि पर्वतको जलजला गाउँपालिका–८ जोड्ने गरी दोस्रो लामो पुल तयार भएको हो । झोलुङ्गे पुलको जिल्लाको नामले परिचित बागलुङ जिल्लामा कालीगण्डकी नदीमाथि पुल बन्ने क्रम जारी छ । बागलुङ–४ गौरीधामदेखि पर्वतको जलजला –८ नाग्लिवाङ जोड्ने गरी कालीगण्डकी नदीमाथि पुल तयार भएको हो । पाँच सय २४ मिटर लामो एक सय ८५ मिटर अग्लो सिङ्गल स्पानको विश्वकै दोस्रो लामो झोलुङ्गे पुलले यस क्षेत्रमा धार्मिक तथा आन्तरिक पर्यटक आकर्षित गर्ने पुल निर्माण गरिरहेको निर्माण कम्पनी प्रतिनिधि वसन्त घर्ती मगरले बताउनुभयो । अहिले निर्माण भएको पुलले पर्वत र बागलुङ लामो यात्रा छोटिनेछ । यसले धार्मिक र आन्तरिक पर्यटक तान्न सफल हुनुका साथै कृषिउपज बिक्री वितरण गर्नसमेत सहज हुने स्थानीय बताउँछन् । २०७९ भदौ ४ गते सो पुल निर्माण थालनी भएको थियो । काम सुरु भएको एक वर्षभित्र करिब ९५ प्रतिशत काम सम्पन्न गरिसकेको छ । पुल निर्माण गर्न रु आठ करोड २३ लाखमा ठेक्का सम्झौता गरेको थियो । निर्माणको म्याद झण्डै एक वर्ष बाँकी छ । पुल निर्माण गर्नका लागि पुलको मुखमा पर्ने जग्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रबहादुर जिसीले करिब पाँच आना जग्गा निःशुल्क प्रदान गर्नुभएको थियो । बागलुङ-१ बाङ्गेचौरदेखि पर्वत पाङ जोड्ने विश्वकै सबैभन्दा लामो पाँच सय ६७ मिटरको झोलुङ्गे पुल चार वर्ष अगाडि नै बनिसकेको छ । यसभन्दा अघि स्विट्जरल्याण्डमा चार सय ९७ मिटर लामो सिङ्गल स्पानको झोलुङ्गे पुल विश्वकै सबैभन्दा लामो थियो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक दिनको २ः३० बजे पार्टी कार्यालय बालकुमारीमा बस्दै छ । मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने विषयमा आजको बैठकमा छलफल हुने पार्टी सचिवालयले जनाएको छ । बिन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको हो । साथै बैठकमा पार्टीको सङ्गठन विस्तार तथा सुदृढीकरण सम्बन्धी ३ महिने अभियानबारे समेत समीक्षा हुने एजेन्डा रहेको जनाएको छ ।

