काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

एभोकाडोको घाँस पशुपन्छीहरुको लागि हानिकारक हुने पाइएको छ । पशुचिकित्सा सम्बन्धी जानकारी दिने जर्नल एमएसडी म्यानुअलमा प्रकाशित अध्ययन प्रतिवेदनमा एभोकाडोको पात, फल, बीउ र बोक्रामा पर्सिन नामको हानिकारक पदार्थ हुने र त्यसले पशुहरुलाई हानि पुर्‍याउने भन्दै पशुहरुलाई नदिन भनिएको छ ।   पातमा सबैभन्दा बढी विषालु पदार्थ पाइन्छ । पर्सिनले गाईभैँसी, बाख्रा, घोडा, खरायो, कुकुर लगायतका पशु र चराहरुलाई पनि असर गर्ने प्रतिवेदनमा उल्लेख छ । एभोकाडोको घाँस खाँदा स्तनधारी जनावरहरुको स्तनग्रन्थीमा समस्या ल्याउनुको साथै कतिपयमा बाँझोपन देखिन्छ । यस्तै पशुहरुमा बान्ता र पखाला पनि लाग्न सक्छ ।   एभोकाडोमा पाइने पर्सिनका कारण समस्या भएपछि उपचारको लागि अहिलेसम्म कुनै व्यवस्था नरहेकोले लक्षणका आधारमा उपचार गर्नुपर्ने हुन्छ । अध्ययन प्रतिवेदनमा पशुहरुलाई एभोकाडोको घाँस तथा फल खुवाउँदा पशुहरुबाट हुने उत्पादन घट्नुको साथै पशु मर्ने सम्म सम्भावना रहेकोले घाास नखुवाउनु नै उपयुक्त हुने पनि प्रतिवेदनमा भनिएको छ ।   नेपालका ग्रामिण भेगमा समेत एभोकाडो रोप्ने क्रम बढ्दै गएको छ । एभोकाडोको घाँस बाख्रा लगायत पशु चौपायले मन पराउने किसानहरु बताउँछन् । 

काठमाडौँ: संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी आज यहाँबाट प्रस्थान गर्नुभएको छ ।   उहाँलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गर्नुभयो । सो अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित हुनुहुन्थ्यो । महासचिव गुटेरेसको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको औपचारिक भ्रमणका लागि यही कात्तिक १२ गते यहाँ आउनुभएको थियो । महासचिव गुटेरेसले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।   साथै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीद्वय खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग महासचिव गुटेरेसको अगल–अलग भेटवार्ता भएको थियो ।   भ्रमणका क्रममा महासचिव गुटेरेस सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रका साथै पोखरा र लुम्बिनीसमेत जानुभएको थियो । उहाँले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नुभएको थियो । भम्रणका दौरान उहाँले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको थियो ।   सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि नेपालको भ्रमणमा आउनुभएका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, गरिबी निवारणलगायत विषयमा छलफल गर्नुभएको थियो । राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा भएको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ ।    महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्रसङ्घका अन्य अधिकारीहरू सहभागी हुनुहुन्थ्यो । रासस

काठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आज दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।   पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने चियापान कार्यक्रमका लागि राजनीतिक दलका नेता, कूटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्तालाई निम्तो गरिएको पार्टी सचिवालयले जनाएको छ ।

चिसो शुरु भए पनि डेङ्गीको जोखिम कायमै छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हुम्ला बाहेक सबै जिल्लामा डेङ्गीका बिरामी भेटिएका छन् । यो वर्ष अहिलेसम्म झण्डै ४४ हजार जना डेङ्गीबाट सङ्क्रमित भएका छन् । डेङ्गीका कारण यसवर्ष अहिलेसम्म २० जनाको ज्यान गएको छ ।   चिसो शुरु हुन थाले पछि डेङ्गीको प्रकोप केही घट्न थाले पनि जोखिम कायमै रहेकाले सचेत हुन आवश्यक रहेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको किटजन्य शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताउनुभयो । उहाँका अनुसार यो महिनाको अन्तिमसम्म नै डेङ्गीको जोखिम उच्च छ । यसपछि पनि सङ्क्रमण हुने सम्भावना भने रहन्छ । तर, अहिलेको तुलनामा जोखिम कम हुने उहाँले बताउनुभयो।    डाक्टर दाहालका अनुसार अहिले कास्की, गोरखा, बाग्लुङ र तनहुँमा डेङ्गीका बिरामी बढेको तथ्याङ्क छ । यी जिल्लाको तुलनामा काठमाण्डौ उपत्यकामा सङ्क्रमित कम छन्, तर जोखिम भने उच्च छ । दशैँअघिको वर्षाका कारण पनि लामखुट्टे सक्रिय भइरहेको उहाँले बताउनुभयो । विज्ञहरू लामखुट्टेको प्रजनन स्थल नष्ट नगरिए अर्को वर्ष डेङ्गी सङ्क्रमण थप भयावह बन्न सक्ने चेतावनी दिएका छन् ।   यसपालि कोशी प्रदेशको सुनसरीमा डेङ्गीको सङ्क्रमण तीव्र गतिमा फैलिएको थियो । डेङ्गी सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल सङ्क्रमण हो । यस्तै, डेङ्गी सङ्क्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई पनि टोक्दा सङ्क्रमण हुन्छ । डेङ्गीको सङ्क्रमण भएमा उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, जीउ दुख्ने, खान मन नलाग्ने, बान्ता हुने, पेट दुख्ने र एकदमै कमजोरी अनुभव हुने जस्ता लक्षण देखिन्छ ।

काठमाडौं:    कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु देउवाले उखु किसानले समयमै भुक्तानी प्राप्त गर्ने वातावरण निर्माण गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ । समितिको आजको बैठकमा सभापति देउवाले साना, मझौला र ठूला किसानको पहिचान छुट्याएर आवश्यक अनुदान तथा ऋण उपलब्ध गराउनुपर्नेमा  जोड दिनुभयो । उहाँले किसानलाई अनुदान उपलब्ध गराउनुपर्नेमा जोड दिँदै बजेटको अभावमा किसान कार्यक्रम सञ्चालन हुन नसकेको बताउनुभयो । साथै, उहाँले कृषि क्षेत्रको विकासका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारलाई आग्रह गर्नुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव  रेवतीरमण पौडेलले बैंक तथा वित्तीय संस्थाबाट किसानलाई सहजरूपमा ऋण उपलब्ध हुनुपर्ने बताउनुभयो ।   अर्थसचिव रामप्रसाद घिमिरेले किसानलाई दिएको अनुदान र सहुलियत ऋणबारे समीक्षा गर्न आवश्यक भएको बताउनुभयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले छिमेकी मुलुक भारतलाई चिनीको आयात खोलिदिन भारतलाई आग्रह गरेको बताउनुभयो ।

काठमाडौं:    नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु उनले बताए । निगम व्यवस्थापन समितिको निर्णयअनुसार स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत राख्दै डिजेलको मूल्य घटाइएको छ,’ ठाकुरले भने, ‘अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।’ आईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

काठमाडौं:    सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा फैलाउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमा आक्रामक अभिव्यक्ति दिएर चर्चामा आउने गरेका झापाका खनाललाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो । ब्यूरोका उपनिर्देशक पशुपतिकुमार रायका अनुसार, सेनाले दिएको सूचनाको आधारमा अनुसन्धान गरेर उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान गर्न पक्राउ गरिएको हो । रायका अनुसार, उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनुमतिसमेत दिइसकेको छ ।

काठमाडौं:   संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले दुई शक्ति राष्ट्रका बीचमा रहेको नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको बताउनुभएको छ ।  सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै महासचिव गुटेरेसले भन्नुभयो, “नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न पाउँदा राष्ट्र संघ गौरव व्यक्त गर्दछ, यस क्षणमा म नेपालका शान्ति प्रक्रियामा संलग्न नेताहरुप्रति राष्ट्र संघका तर्फबाट सम्मान व्यक्त गर्दछु ।” नेपालले शान्ति प्रक्रियाअन्तर्गत सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पुर्याउन लागेकामा शुभेच्छा व्यक्त गर्नुहुँदै उहाँले पीडित पक्षको अधिकारको रक्षा गर्दै उक्त प्रक्रियालाई टुङ्गोमा पुर्याउन आग्रह गर्नुभयो । महासचिव गुटेरेसले विश्व आर्थिक मन्दीको चुनौतीका बीच नेपालले लैङ्गिक समताका क्षेत्रमा गरेको प्रगति र परिणाम उल्लेखनीय भएको बताउनुभयो ।  यस्तै, महासचिव गुटेरेसले नेपाली सेनाले राष्ट्रसङ्घीय शान्ति मिसनका लागि गर्दै आएको योगदान अविस्मरणीय रहेको बताउनुभएको छ । सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज सम्बोधन गर्दै महासचिव गुटेरेसले शान्ति मिसनका क्रममा मारिएका नेपाली सुरक्षाकर्मीको सम्मानमा एक मिनेट मौनधारण गर्न प्रस्ताव गर्दा बैठकमा सबै सदस्यहरु आफ्नो स्थानबाट उठेर मौनधारण गर्नुभएको थियो ।

काठमाडौं:    नेपालले आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा मलेसियामाथि ६ विकेटको सानदार जितका साथ सेमिफाइनलमा स्थान बनाएको छ । समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका हुन् । समान चार अंक भएपनि नेपाल नेटरनरेटका कारण दोस्रोस्थानमा छ । जितको लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कुशल मल्ल ३४ बलमा २ चौका र ७ छक्कासहित सर्वाधिक ६५ रनमा आउट भए । नेपाललाई ओपनर कुशल भुर्तेलले २५ बलमा ४ चौका र ४ छक्कासहित ४३ रन जोड्दै सहज जितको आधार तय गरेका थिए । ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ५.२ ओभरमा ४९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । कुशल पवनदीप सिंहको बलमा मिडअफमा शार्विन मुनिआन्दीबाट क्याच आउट भएपछि लगातार तेस्रो अर्धशतक बनाउन चुकेका थिए । दोस्रो विकेटका लागि कुशल मल्ल र आसिफ शेखले ६७ रनको साझेदारी गरेका थिए । आसिफ २३ बलमा १ चौका र २ छक्कासहित ३२ रनमा कट एण्ड बोल्ड आउट भए । रोहित पौडेल २ रनमा आउट भए । सन्दीप जोरा १६ बलमा २ चौकासहित १८ र विवेक यादव २ रनमा अविजित रहे । मलेसियाका अमिर अजिमले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । पवनदीपको नाममा १ विकेट रह्यो । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । मलेसियाका ओपनर सैद अजिजले ४९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६८ रनको योगदान दिएपनि जितको लागि पर्याप्त हुन सकेन । तर मलेसियाको सुरुवात भने नेपालविरुद्ध ड्रिम थियो । ओपनर अहमद जुबैदी र सैद अजिजले ५।५ ओभरमा ५८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । अभिनाश बोहराको छैटौं ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने धुनमा टप एज लागेर जुबैदी कुशल मल्लबाट क्याच आउट भए । जुबैदीले १६ बलमा ३ चौकासहित २४ रन बनाए । त्यसपछि नेपाल खेलमा फर्किएको थियो । तीव्र गतिका बलर करण केसीको चौथो ओभरको पाँचौं बलमा जुबैदीको क्याच रोहित पौडेलले मिडअफमा ब्यक्तिगत १४ रनमा क्याच छाड्न पुगेका थिए । त्यो जीवनदान नेपाललाई त्यति धेरै भारी परेन । सातौं ओभरको अन्तिम बलमा दुई रन लिनेक्रममा अहमद फैज ३ रनमा रन आउट भए । सन्दीप लामिछानेले ११ औं ओभरको पहिलो बलमा विरनदीपसिंह ४ रनमा एलबीडब्लू आउट गरेका थिए । कप्तान रोहित पौडेलले शार्विन मुनिआन्दीलाई १३ रनमा कट एण्ड बोल्ड आउट भए । मोहम्मद आमिरलाई अभिनाश बोहराले ८ रनमा बोल्ड आउट गरेका थिए । फिर्ती साम ६ र विजय उन्नीले १३ रन बनाए । नेपालको जितमा तीव्र गतिका बलर अभिनाश बोहराले ४ ओभरमा २७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । गुलशन झाले ३ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । रोहित पौडेलले २ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । करण केसीले ४ ओभरमा ४२ रन खर्चिए । सोमपाल कामीले २ ओभरमा १८ रन खर्चेका थिए । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । उता ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो । समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । ओमान २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । ओमानको नेटरनरेट १.३५० र नेपालको १.३२२ छ । समूह ए मा नेपालले अन्तिम खेल बिहीबार ओमानसँग खेल्नेछ । उक्त खेलले समूह ए को विजेता र उपविजेता निर्धारण गर्नेछ । समूह ए को विजेता टोलीले समूह बी को उपविजेता र समूह ए को उपविजेता टोलीले समूह बी को विजेतासँग खेल्नेछ । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप खेल्न पाउनेछन् । समूह बी मा युएई २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । बहराइन २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ दोस्रो स्थानमा छ । हङकङ २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । कुवेत दुबै खेलमा हारका अंक विहीन हुँदै पुछारमा छ ।