काठमाडौं: आईसीसी टी-२० विश्व कप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले मलेसियासँग खेल्दैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो साढे १ बजे हुने छ । पहिलो खेलमा नेपालले हिजो सिङ्गापुरलाई आठ विकेटले पराजित गरेको थियो । यस्तै, आज कीर्तिपुरमा बिहान नौ बजे ओमान र सिङ्गापुर खेल्नेछन् । यस्तै, मूलपानी क्रिकेट मैदानमा हुने खेलमा बिहान नौ बजे बहराइन र हङकङ तथा दिउँसो साढे १ बजे कुवेत र यूएई खेल्दैछन् । नेपाल रहेको समूह ’ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह ’बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्व कप खेल्न पाउने छन् । त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्ने छ ।
काठमाडौं: नेकपा (एमाले)ले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले सङ्गठन विभागका सचिव माधवप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । एमालेले भर्खरै मात्रै सात प्रदेश कमिटीको अधिवेशन सम्पन गरेको छ । पार्टीले सबै जिल्ला र पालिका तहलाई माघसम्म सम्पन्न गर्ने गरी कार्ययोजना बनाउनसमेत निर्देशन दिएको उहाँले बताउनुभयो । पार्टीका जनसङ्गठनको प्रदेश तथा जिल्ला तहका अधिवेशन आगामाी मङ्सिर र वडा कमिटीको अधिवेशन चैत मसान्तभित्र आयोजना गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । पार्टीले वडा कमिटीको अधिवेशनसँगै पुनः फागुन र चैत्रमा पार्टी सदस्यता नवीकरण अभियान सञ्चालन गर्ने भएको छ । गत साउनमा गरिएको पार्टी सदस्यता अभियान र नवीकरणमा करिब पाँच लाख ५० हजार पार्टी सदस्यता पुगेका छन् । केन्द्रीय सङ्गठन विभागबाट प्रमाणीकरण गरिएको नवीकृत सदस्यहरूको सूचीमा रहेका पार्टी सदस्यले मात्र स्थानीय पार्टी अधिवेशनको प्रक्रियामा सहभागी हुन पाउने छन् । यस्तै साउनदेखि रोकिएको सदस्यता स्थानान्तरण कार्यलाई पनि खुला गर्ने निर्णय गरेको विभागका सचिव ढुङ्गेलले जानकारी दिनुभयो । सदस्यता स्थानान्तरण गर्न चाहने सदस्यले सम्बन्धित जिल्लाको अधिवेशनको मिति नतोकिँदासम्म आफ्नो सदस्यता स्थानान्तरण गर्न पाउने छन् । पार्टीले विभिन्न कारणले कारबाहीमा परेकालाई लिखितरुपमा आत्मालोचना गरेको अवस्थामा पार्टी काममा फर्काउने समेत निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
पर्वत: कुश्माको ‘द क्लिफ’मा ८४ वर्षीय क्यानेडियन नागरिक मिसेल जुत्रासले बञ्जी गरेका छन्। उनले बञ्जी तथा स्विङका साथै स्काई साइक्लिङ, स्काई ग्लाइडिङलगायत अन्य साहसिक खेलहरूको मज्जा लिएको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए। ८४ वर्षीय मिसेलले बञ्जी गरी क्लिफमा सबैभन्दा बढी उमेर समूह अन्तर्गतको रेकर्ड कायम गरेका छन्। यस अघि ६६ वर्षीय विदेशी महिलाले क्लिफमा बञ्जी गरेकी थिइन्। बञ्जीपछि निकै उत्साहित रहेका क्यानेडियन नागरिक मिसेलले क्लिफमा आफूले निक्कै मज्जा लिएको बताए। राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बञ्जी जम्प निर्माण गरिएको छ। बञ्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो व्यवसायिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सञ्चालनमा छन्।
काठमाडौं: नागरिक एपबाटै देखाएको सवारी चालक अनुमति पत्रलाई समेत ट्राफिक प्रहरीले मान्यता दिने भएको छ। सोमबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नागरिक एपले यो सेवा देशैभर लागू भएको जानकारी दिएको हो। मन्त्रिपरिषद्को निर्णय अनुसार नागरिक एपमा चालकले अन्तरआवद्ध गरेको सवारी चालक अनुमति पत्रलाई चेकजाँचका क्रममा मान्यता दिन थालिएको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ। नागरिक एपले ट्राफिक नियम उल्लङ्घन नगरी सवारी चलाउँदाको हकमा मात्र नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्र मान्यता हुने बताएको छ। ‘ट्राफिक नियम उल्लङ्घन नगरी सवारी चलाउँदाको हकमा मात्र नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्र मान्य हुन्छ। चेकजाँचका क्रममा कारबाही परे एपबाट देखाइएको लाइसेन्सले काम गर्दैन।’ नागरिक एपका कम्प्युटर इन्जिनियर प्रवीण चौहानले भने। नागरिक एपले नागरिक एपमा सवारी चालक अनुमति पत्र लिंक गर्न चालकहरुलाई अनुरोध समेत गरेको छ।
पोखरा: नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषदका सदस्य दलबहादुर गुरुङ नेकपा एमाले प्रवेश गरेका छन् । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित कमिटीको शपथ ग्रहण समारोहमा एसका केन्द्रीय सल्लाकार परिषद्का सदस्य गुरुङ सहित ८५ जना एमालेमा प्रवेश गरेका हुन् । सोही कार्यक्रममा नेकपा एसका कास्की जिल्ला सचिवालय सदस्य पदम गुरुङ,बाबुराम भण्डारी,युवा संघ कास्कीका अध्यक्ष असिम गुरुङलगायत विभिन्न पार्टीका ८५ जना कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।
पोखरा: नेकपा एमालेका अध्यक्ष केपी ओलीले २०८४ को निर्वाचनमा हरेक वडामा एमालेको ५१ प्रतिशत मत ल्याउने गरी काम गर्न नवनिर्वाचित गण्डकी प्रदेश कमिटीलाई निर्देशन दिएका छन् । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित कमिटिको शपथ ग्रहण कार्यक्रममलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले एमालेको सरकार निर्माण गर्न स्वच्छ र निष्पक्ष ढङ्गले चुनाव जित्न हरेक वडामा एमालेको ५१ प्रतिशत मत ल्याउने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिए । ‘हामीले बुट कब्जा गरेर चुनाव जित्दैनौ, जनताको मन जितेर चुनाव जित्ने हो’, अध्यक्ष ओलीले भने, ‘२०८४ को चुनावमा हरेक वडामा एमालेको ५१ प्रतिशत मत आउने गरी काम गर्नुहोला ।’ उनले मिसन ०८४ मा एमालेको बहुमतसहित सरकार बनाउन कार्यकर्ता, नेताले इमान्दार भएर काम गरे सम्भव भएको उल्लेख गरे । ‘हामी चुनाव जित्न नेता कार्यकर्ता इमान्दार हुनुपर्छ, चुनाव जित्नका लागि एकता चाहिन्छ’, उनले भने, ‘जनताको मन जित्न अनुशासित, इमान्दार र सक्रिय भएर लागे मात्र हामी सफल हुन्छौ ।’ अध्यक्ष ओलीले कम्युनिष्ट एकता नचाहेकाहरुले दुईतिहाइको सरकार ढालेर कांग्रेसको करेसाबारीमा बास मागेको समेत आरोप लगाएका छन् । उनले दुईतिहाइको सरकार ढालेर नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले नेकपाको दुईतिहाईको सरकार ढालेको आरोप लगाएका थिए ।
पोखरा: संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुग्नुभएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका महासचिव गुटेरेस सोमबार दिउँसो पोखरा आइपुग्नुभएको हो । नेपालको औपचारिक भ्रमणमा रहनुभएका महासचिव गुटेरेस नेपाली सेनाको विशेष विमानमार्फत पोखरा आउनुभएको हो । गुटेरेस सवार विमान पोखराको पुरानो विमानस्थलमा अवतरण भएको हो । उहाँलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे लगायतले स्वागत गर्नुभयो । महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्र सङ्घका अन्य अधिकारीहरू सहभागी हुनुहुन्छ । महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान १ बजे यहाँ आइपुग्नुभएको हो । उहाँले भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । साथै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँग महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता भएको थियो । भेटवार्तापछि उहाँले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गर्नुभएको थियो । प्रधानमन्त्रीले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नुभएको थियो । भ्रमणका क्रममा उहाँ सगरमाथा क्षेत्र र पोखराका साथै अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानुहुनेछ । यही कात्तिक १४ गते मङ्गलबार अपराह्न ४ बजे उहाँले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको औपचारिक भ्रमणमा आउनुभएको हो । महासचिव गुटेरेस नेपाल भ्रमण सम्पन्न गरी कात्तिक १५ गते (१ नोभेम्बर) काठमाडौंबाट प्रस्थान गर्नुहुनेछ । साभार गोरखापत्र
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको बाल एकता बोर्डिङ अज्ञात समूहको गोली लागेर घाइते भएका स्कुल सञ्चालक रुपेश सराफको उपचारको क्रममा निधन भएको छ। मोटरसाइकलमा आएका नचिनेका मानिसको समूहले ३५ वर्षका सराफमाथि दुई राउन्ड गोली प्रहार गरेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । गोली लागेका सराफको वीरगञ्जमा रहेको बयोदा सिटी अस्पतालमा पुर्याएको केहीबेरमै ज्यान गएको हो । उहाँको घाँटी र छातीमा गोली लागेको अस्पतालले जनाएको छ । बजार क्षेत्रमा मोटरसाइकलमा यात्रा गरिरहेकै बेला सराफमाथि गोली प्रहार भएको हो । घटनास्थल प्रहरी चौकीबाट नजिकै पर्छ । गोली हान्ने व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

