काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

काठमाडौं:  इजरालयमा प्यालेस्टाइनी समूह हमासको आक्रमणमा पारिएका थप ३ जना नेपालीको शव पहिचान भएको छ ।   इजरायलको तेल अबिबस्थित नेपाली दूतावासले हमासको आक्रमणमा मारिएका थप ३ नेपाली विद्यार्थीको शव पहिचान भएको जानकारी आएको बताएको छ ।   दूतावासका अनुसार पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको पहिचान भएको छ ।     हमासको आक्रमणमा इजरायलमा १० नेपाली मारिएका थिए । तीमध्ये ५ जनाको शव यसअघि नै पहिचान भई नेपाल ल्याइसकिएको छ ।   बाँकी दुई जनाको भने हालसम्म शव पहिचान हुन सकेको छैन ।   आक्रमणमा घाइते भएका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने एक जना नेपाल पुगिसकेका छन् र एक जना इजरायलको नेपाली दूतावासको हेरचाहमा रहेका छन् ।

कास्की: संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस सोमवार पर्यटकीय नगरी पोखरा आउनुहुने भएको छ । नेपालको चार दिने औपचारिक भ्रमणका क्रममा आइतवार काठमाण्डौ आउनुभएका महासचिव गुटेरेसको भ्रमण कार्यतालिकामा पोखरा समावेश गरिएको छ । भ्रमणका क्रममा सोमवार दिउँसो पोखरा आउने कार्यक्रम रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।   महासचिव गुटेरेस मङ्गलवार बिहान अन्नपूर्ण आधार शिविर जाने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ छ । महासचिवको आगमनलाई लक्षित गरी सम्पूर्ण सुरक्षा व्यवस्था मजबुत पारिएको उहाँले जानकारी दिनुभयो ।   सन् २०१७ मा संयुक्त राष्ट्र सङ्घको महासचिव भएपछि पहिलो पटक नेपालको भ्रमण गर्न लागेका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने जनाइएको छ । राष्ट्र सङ्घका महासचिवको झन्डै १५ वर्षपछि नेपालमा हुन लागेको यस भ्रमणलाई निकै महत्त्वका साथ हेरिएको छ । महासचिव गुटेरेसको भ्रमणमा पर्यटकीय नगरी पोखरा समेटिनुले पोखराको गरिमा र महत्त्व अझै बढ्ने विश्वास लिइएको छ ।   अतिविशिष्ट व्यक्तिको पोखरामा हुन लागेको भ्रमण आफूहरूका लागि ठूलो गौरवको विषय भएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताउनुभयो । ‘महासचिव गुटेरेस पोखरा आउने कुरा हाम्रा लागि अत्यन्त खुशीको कुरा हो’, उहाँले भन्नुभयो, ‘पोखराबाट अन्नपूर्ण आधार शिविरमा पुगी उहाँले जलवायु परिवर्तन, यसले पारेको प्रभाव, हिमालको अवस्था आदिको स्थलगत अवलोकनसँगै स्थानीयसँग गर्ने भनिएको छलफल एवम् अन्तरक्रियाले ठूलो महत्त्व राख्दछ ।’ आफूहरू महासचिव गुटेरेसको स्वागतको पर्खाइमा रहेको उहाँले बताउनुभयो ।   महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविर जाने कुराले त्यहाँका पर्यटन व्यवसायी पनि हर्षित छन् । आरोहणका दृष्टिले विश्वकै जेठो हिमालका रूपमा चर्चा कमाएको अन्नपूर्ण हिमालको आधार शिविरमा संयुक्त राष्ट्र सङ्घका महासचिव स्वयम् आउन लागेको विषयले यहाँका पर्यटन व्यवसायी उत्साहित बनेको छोम्रोङ पर्यटन समितिका सचिव दिलीप गुरुङले बताउनुभयो । महासचिवको आगमनले अन्नपूर्ण हिमाल, आधार शिविरसँगै समग्र यस क्षेत्रको विश्वव्यापी प्रवर्धन हुने विश्वास लिइएको उहाँले बताउनुभयो ।   अतिविशिष्ट व्यक्तिको भ्रमणस्थलका रूपमा स्थापित हुँदै पोखरा प्रकृतिको वरदान पाएको पोखरा अतिविशिष्ट व्यक्तिको भ्रमणस्थल बन्दै गएको छ । फ्रान्सका हिमाल आरोही मौरिस हर्जोगले सन् १९५० जुन ३ मा सर्वप्रथम अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँगै अन्नपूर्ण हिमाल र यससँग प्रत्यक्ष जोडिएका पोखरालगायतका गन्तव्यले पर्यटकीय रूपमा महत्त्व पाएका हुन् ।    अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले गरेको अन्नपूर्ण आधार शिविरको पदयात्रापछि पोखरालाई आधार बनाएर अन्नपूर्ण, धवलागिरिजस्ता हिमालका फेरीमा पदयात्रातर्फ पनि आकर्षण बढेको हो ।   सन् १९६० देखि हिप्पी पर्यटकको आगमनले पोखराको पर्यटकीय गतिविधि बढेको पाइन्छ । सन् १९८० को दशकदेखि फस्टाउँदै गएको यहाँको पर्यटनलाई समय समयमा हुने गरेका अतिविशिष्ट व्यक्तिको आगमनले यहाँको गरिमा र महिमा अझै चुलिएको हो ।   इतिहास खोतल्दा यसअघि सन् १९६१ मा बेलायती महारानी एलिजावेथ द्वितीया र सन् १९६३ मा भारतीय राष्ट्रपति राधाकृष्णले पनि पोखराको भ्रमण गर्नुभएको थियो । त्यसयता पोखरामा २०७२ चैतमा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक ९मिनी सार्क सम्मेलन०, त्यसलगत्तै भएको बेलायती राजकुमार ह्यारीको भ्रमणदेखि २०७३ कात्तिकमा भएको भारतीय राष्ट्रपति मुखर्जीसम्मका औपचारिक भ्रमणले यहाँको महत्त्वलाई अझै बढाएको थियो । पोखरामा २०७६ कात्तिकमा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद फेवातालमा डुङ्गा शयरदेखि हिमाल अवलोकन आदि गतिविधिमा सरिक बन्नुभएको थियो ।    पोखरा आउनुभएका अतिविशिष्ट व्यक्तिले सुन्दर सहर, प्रकृतिको वरदान आदि उपमा दिनुले पनि यहाँको प्रवर्धन भइरहेको छ । महासचिव गुटेरेसको भ्रमणलाई पोखरेलीले यहाँको विश्वव्यापी पर्यटन प्रवर्धनका लागि महत्त्वपूर्ण अवसरका रूपमा लिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउनुहुन्छ ।   ‘महासचिवको भ्रमण तालिकामा पोखरा समावेश हुनु नै हाम्रा लागि ठूलो खुशीको विषय हो’, श्रेष्ठले भन्नुभयो, ‘सुन्दर नगरीमा हुन लागेको उहाँको भ्रमण पोखराको विश्वव्यापी पर्यटन प्रवर्धनका लागि कोशेढुङ्गा सावित हुने विश्वास लिएका छौँ, पोखरा महासचिव गुटेरेसको स्वागतको पर्खाइमा छ ।’

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको चारदिने औपचारिक नेपाल भ्रमणबाट राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सम्बन्धलाई थप मजबुद बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । महासचिव गुटेरेससँग आज आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको औपचारिक भेटवार्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय क्षेत्रसँग सम्बन्ध विस्तार तथा सहजीकरण गर्न यो भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उक्त छलफल नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, अल्पविकसित मुलुकबाट स्तरोन्नति र दिगो विकासलगायतका विषयमा केन्द्रित भएको प्रधानमन्त्री दाहालले बताउनुभयो । “निकै सौहार्दपूर्ण वातावरणमा दुईपक्षीय हितका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयमा विश्वासका साथ हामीले छलफल गर्‍यौँ । मुख्यरुपमा जलवायु परिवर्तनको विषयमा गम्भीररुपमा चर्चा भयो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “नेपालमा जलवायु परिवर्तनका नकारात्मक असरको न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायमा संयुक्त राष्ट्रसङ्घको महासचिवको हैसियतले उहाँले खल्नुभएको भूमिकाको उच्च प्रशंसा गर्‍यौँ ।” जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि आगामी दिनमा राष्ट्रसङ्घलगायत द्विपक्षीय तथा बहुपक्षीप अन्तर्राष्ट्रिय निकायबाट सहयोगको अपेक्षा गरेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।   त्यस्तै, नेपालको शान्ति प्रक्रिया चाँडै टुङ्गिने विश्वास पनि प्रधानमन्त्री प्रचण्डले व्यक्त गर्नुभयो । “अन्तिम चरणमा रहेको नेपालको शान्ति प्रक्रियालाई टुङ्ग्याउनका लागि अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसङ्घको महासचिवको हैसियतले उहाँको महत्त्वपूर्ण भूमिका रहने विश्वास हामीले लिएका छौँ”, उहाँले भन्नुभयो । नेपालको आर्थिक विकास र समृद्धिका बारेमा पनि छलफल भएको प्रधानमन्त्री दाहालले बताउनुभयो । नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति हुनेक्रममा रहेकाले यो प्रक्रिया सहज बनाउन तथा तोकिएको समयमा दिगो विकास लक्ष्य हासिल गर्नका लागि सहयोग गर्न पनि प्रधानमन्त्री दाहालले राष्ट्रसङ्घ महासचिव गुटेरेससँग आग्रह गर्नुभयो ।   “असाध्यै सकारात्मक छलफल भएको छ । यहाँको राजनीतिक उतारचढाव र शान्ति प्रक्रियाबारे उहाँलाई राम्रो थाहा छ । मौसम परिवर्तनका असरबारे पनि छलफल भयो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “विश्व शान्ति निर्माणका लागि नेपालको शान्ति सेनाले खेलेको भूमिकाको पनि उहाँले मुक्तकण्ठले प्रशंसा गर्नुभयो । हामीले पनि हाम्रो योगदानको सम्मान होस् भन्ने विषय राख्यौँ ।” राष्ट्रसङ्घका महासचिव गुटेरेसले आजै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउँदसँग पनि औपचारिक भेटवार्ता गर्नुभएको थियो । 

पाल्पा:  पाल्पाको बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा संस्कृति संरक्षण गर्ने  उद्देश्यसहित विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।   स्थानीय स्तरमा सक्रिय माउण्ट एभरेष्ट युवा क्लबले विजयादशमीको अवसरमा ‘संस्कृति र पहिचानको जगेर्ना गरौं, पुख्र्यौली इतिहासलाई संरक्षण गरौं भन्ने नारासहित शनिबार विविध सांस्कृति सन्ध्याको आयोजना गरिएको हो ।    सो कार्यक्रमबाट करिब ८० हजार रुपैयाँ संकलन भएको क्लबका अध्यक्ष दान बहादुर रानामगरले जानकारी दिए । उनले संकलित सो रकम  तत्कालका लागि कोषमै सुरक्षित राखिने बताए ।    अध्यक्ष रानामगरका अनुसार मगर समुदायमा प्रचलित कौडा, सालैजो, चुट्का तथा झ्याउरे लगायतका नृत्यहरु स्थानीय कलाकारले प्रस्तुत गरेका थिए ।   ‘हाम्रो गाउँमा शत प्रतिशत मगर जातिको बसोबास छ । त्यसैले मगर भाषा, कला धर्म तथा संस्कृति विगत धेरै समयदेखि जिवितै छ, अध्यक्ष रानामगरले भने, ‘त्यसैले यसको जगेर्ना गर्न हरेक वर्ष विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्दै आएका छौं । यसले गाउँलाई चिनाउन मात्रै नभई पुख्र्याैली इतिहासलाई उजागर गर्न टेवा पुर्याएको छ ।’   उक्त क्लबले संस्कृतिको संरक्षणको क्षेत्रमा मात्रै नभई सामाजिक तथा खेलकुदको क्षेत्रमा समेत काम गर्दै आएको रानामगरले बताए । उनले आगामी मंसिरको १ र २ गते बगनासकाली गाउँपालिकाभित्रका वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको बताए ।    उनका अनुसार ‘स्वास्थ्यका लागि खेलकुद, खेलकुदका लागि माउण्ट एभरेष्ट युवा क्लब’ भन्ने नारासहित सहिद केवल गाहा स्मृति खेलमैदानमा उक्त प्रतियोगिता हुनेछ ।    सो प्रतियोगितामा प्रथम, द्वित्तिय र तृतीय हुने टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित क्रमश नगद रु १५ हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछ ।    प्रतियोगिता संयोजक धिरज गाहामगरले सो प्रतियोगिताले स्थानीय स्तरको खेलाडी उत्पादनमा सघाउ पुग्ने बताए । ‘वडास्तरीय गेम गराउँदा उदीयमान भाइहरुले चान्स पाउँछन्, क्लब स्तरीय गराउँदा गेम राम्रो हुन्छ तर आफ्नौ गाउँठाउँका भाइहरुले मौका पाउदैनन्, गाहामगरले भने, ‘त्यसैले यो वर्षपनि तिहारको अवसरमा वडास्तरीय भलिबल प्रतियोगितालाई नै निरन्तरता दिदैंछौ ।’   उनका अनुसार कार्तिक ३० गतेसम्म बगनासकाली गाउँपालिका भित्रको वडाले टिम दर्ता गर्नसक्नेछन् । प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क नगद रु १ हजार ५ सय निर्धारण गरिएको आयोजकले जनाएको छ ।

पोखरा:    पोखरामा नगरबस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । पोखराबाट पुम्दीभुम्दीस्थित शान्तिस्टुपा जाँदै गरेको नगरबस दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् ।  पोखराबाट पुम्दीभुम्दी जाँदै गरेको ग १ ख ८५८५ नम्बरको बस घैयाखेतमा आज दुर्घटना भएको हो । बसमा ३५ जना सवार रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।  बस दुर्घटना हुँदा घाइते भएका सात जना मध्य उत्तम बहादुर गुरुङ, रिमा कार्की र बुद्धिराज सुवेदीको  अवस्था गम्भिर रहेको ट्राफिक कार्यालय कास्कीले जनाएको छ । बसमा ३५ जना सवार रहेको प्रहरीले जनाएको छ ।  घाइतेहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  बसमा सवार यात्रुको नामावलीसहित अनिता थापा, बिनिता न्यौपाने, सीता शर्मा, उत्तम बहादुर गुरुङ, सुस्मिता तिवारी, बिशाल न्यौपाने, अजय त्रिपाठी, सुसान पौडेल, सीता शेर्पा, रेखा बस्नेत, समर बस्नेत, बिनिता पराजुली, मञ्जली सुनार, चन्द्रमा पौडेल, प्रभा पराजुली, तारा पराजुली, सुरक्षा रिमाल, चन्द्र प्रसाद पराजुली, गीता गुरुङ, राधिका थापा, सुरेश निरौला, इसु निरौला, रीमा कार्की, बुद्धिराज सुवेदी, रेवती कार्की, ग्रीस थापा, कल्पना सिग्देल, बिबेक शर्मा, रोशनी बस्नेत, सीता गुरुङ, सृष्टी गुरुङ, सुवाश गुरुङ रहेका छन् । 

पोखरा:   पोखरामा धार्मिक पर्यटक भित्र्याउने उद्देश्यले विश्व शान्ति पूजा हुने भएको छ । खहरे लेकसाइड स्ट्रिट नम्बर २० स्थित पेमा छेछेनलिङ गुम्बामा विश्व शान्ति पूजा हुने भएको आइतवार पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । बैदाम तामाङ सेवा समाजले आयोजना गर्न लागेको उक्त कार्यक्रमलाई गुम्बा राप्ने (प्राण प्रचिष्ठा) —२०८० नाम दिइएको छ । आगामी मंसिर २ गतेदेखि ९ गतेसम्म हुने उक्त पूजा कार्यक्रममा धर्मगुरु ङिमा साङपो आठौं ज्याल्सा रिन्पोछेको उपस्थिति रहने छ । विश्व शान्ति पूजामा प्रज्ञा पारामिता र त्रिपिटक काग्युर पाठ वाचन हुने बैदाम तामाङ समाजका अध्यक्ष ज्याक तामाङले बताए । उनका अनुसार उक्त कार्यक्रमलाई सफल पार्न कास्कीमा रहेका तामाङ समुदायको साथ रहनेछ । देश तथा विदेशका १०८ जना लामा गुरुबाट लगातार ८ औं दिनसम्म पूजा चल्नेछ । पूजामा संलग्न भई पाठ वाचन गर्दा मानव जाती र पृथ्वीको सबै प्राणीहरुको कल्याण हुने धार्मिक विश्वास रहेको नेपाल तामाङ लामा घेदुङका केन्द्रिय अध्यक्ष पाल्देन लामाले बताए ।   मंसिर २ गते शान्तिको दिप प्रज्वलन(कु राप्ने) बुद्ध प्रतिमाको प्राण प्रचिष्ठा ८ दिने बुद्ध वाचन त्रिपिटक (काग्युर पाठ)महायज्ञ विश्व शान्ति पूजाको व्यानर उद्घाटन सहित ताम्बाले डम्फु, टुङ्ना, गितले स्वागत गर्ने र लामा गुरुहरुबाट (बार्छे सिल्नोन) शान्तिको नृत्य, रिन्पोछे श्रद्धय धर्म गुरुबाट दिर्घायुको अभिषेकको साथ औपचारिक कार्यक्रम प्रारम्भ हुने बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले जानकारी गराए। उनका अनुसार कार्यक्रमको उदघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नेछन् । मंसिर ४ गते विश्व ग्रह शान्ति पूजा हुनेछ । मंसिर ६ गते विश्व शान्ति रिवासाङ्ग, लामाछाम धर्मपाल गणचक्र पूजा धर्मगुरु ङिमा साङ्पो आठौं ज्यालसा रिन्पोछेद्वारा हुने जनाइएको छ । मंसिर ७ र ८ गते सम्पूर्ण लामा गुरुहरु वाङ्लु रिन्पोछेद्वारा पूजा हुनेछ । मंसिर ९ गते भने उपस्थित भक्तजनहरुलाई ङिमा साङ्पो ज्यालसा रिन्पोछेद्वारा छेरिङ्ग वाङ आर्शिवाद प्राप्ती हुने आयोजकले जनाएको छ । बुद्ध वाचन, आर्य तारा (डोल्मा),तनागोसुम पूजा,गण चत्र (रिव साङ) पूजा,लामा छ्याम(लामा नृत्य),राप्ने (प्राण प्रचिष्ठा),वाङ(अभिषेक) लगायतका कार्यक्रमको आयोजना गरिएको छ । बुद्ध धर्ममा आस्था राख्ने देश विदेशका मानिसलाई पोखरा भित्र्याउने लक्ष्यका साथ विश्व शान्ति पूजाको आयोजना गरिएको पाल्देन लामाले बताए । २०७२ मंसिर २० गते स्थापना भएको पेमा छेछेनलिङ गुम्बा करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको छ । गुम्बामा राखिएको भगवान गौतम बुद्धको मुर्ती बेसबाट २८ फिट अग्लो रहेको जनाइएको छ । गुम्बा वरिपरिका संरचनाहरु अहिले पनि निर्माण हुँदैछन् । विभिन्न पवित्र स्थलबाट सामग्री संकलन गरी ८ करोड ८ लाख ८ हजार ८ सय ८ बुद्ध मन्त्रको साथमा बुद्धको प्रतिमा तयार गरिएको गरिएको छ । 

महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनुषामा एक झाँक्रीलाई नियन्त्रणमा लिएको छ। बिरामी महिलालाई झारफुक गरी निको पार्ने भन्दै मसानघाट पुर्‍याएर बलात्कार गरेको आरोपमा प्रहरीले सबैला नगरपालिका वडा नम्बर ११ का ३२ वर्षीय विष्णुदेव ठाकुरलाई पक्राउ गरेको हो।   गत कात्तिक ५ गते अष्टमीको राति ती महिलालाई झाँक्री ठाकुरले मसानघाटमा लगेका थिए। भूतप्रेत लागेकोले महिला बारम्बार बिरामी भइरहेको भन्दै झारफुक र तन्त्रमन्त्रका लागि झाँक्री ठाकुरले महिला र उनका श्रीमानलाई मसानघाट लगेका थिए।   ‘तन्त्रमन्त्र र पूजा गर्ने ठाउँमा श्रीमान् बस्न मिल्दैन भनेर झाँक्रीले भनेका रहेछन्। महिलामाथि बलात्कारको जाहेरी परेपछि झाँक्री ठाकुरलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गर्दैछौं,’ जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले भने।   ठाकुरविरुद्ध जवरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको उनले बताए। 

ढुंगा प्रहार गरी बुबाको हत्या गरेको आरोपमा कैलालीमा एक युवक पक्राउ परेका छन्।   जानकी गाउँपालिका-३ का ४५ वर्षीय हिरा सिंह चौधरीको हत्या गरेको आरोपमा उनका २४ वर्षीय छोरा गणेश चौधरी पक्राउ परेका हुन्। गणेशलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले शनिबार राति पक्राउ गरेको हो।   घरायसी विवादमा गणेशले ढुंगा प्रहार गर्दा हिराको घटनास्थलमै मृत्यु भएको थियो। घटनाबारे सूचना प्राप्त हुनसाथ घटनास्थल पुगेको प्रहरीले गणेशलाई सोही स्थानबाट पक्राउ गरेको हो। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।