नबिल बैंक लिमिटेडले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत सामग्री उपलब्ध गराएको छ । प्रभावित क्षेत्रको जनताको उद्धार तथा राहतका लागि बैंकले एक करोड रुपियाँ बराबरको राहत सामग्री वितरण गर्ने निर्णय गरेको हो । जिल्ला विपद् व्यवस्थापन समिती जाजरकोटद्वारा सञ्चालित एकद्वार राहत सङ्कलन र वितरण केन्द्रलाई बैंकको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत कृष्ण सुवेदीले सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत हस्तान्तरण गरेका छन् । गत शुक्रबार मध्यरात जाजरकोटलाई केन्द्र बनाएर ६।४ रेक्टर स्केलको भूकम्प जाँदा पश्चिम नेपालमा ठूलो धनजनको क्षति भएको थियो । प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्ने नबिल बैंकको आकस्मिक निर्णयसँगै राहत उपलब्ध गराइएको हो । प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाका अनुसार बैंकले खाद्यन्न, त्रिपाल, ब्लाङ्केट, औषधिलगायतका एक करोड बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ । ‘‘हामीले भूकम्प प्रभावित क्षेत्रका जनताको घाउमा मलम लगाउन सहयोग पुगोस् भनेर यो राहत उपलब्ध गराएका हौँ, यो हाम्रो सामाजिक उत्तरदायित्व पनि हो,’’ उहाँले भन्नुभयो । उहाँले जाजरकोट र रूकुम पश्चिम दुवै क्षेत्रमा राहत सामग्री उपलब्ध गराउने जानकारी दिनुभयो । राहत सामग्री बोकेर नबिल बैंकको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत सुवेदी तथा रारा क्लस्टर प्रमुख तपेन्द्र कुँवर जाजरकोट पुग्नुभएको थियो । नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न समयमा भइरहेको दैविक प्रकोप पीडितलाई राहत उपलब्ध गराउँदै आएको छ ।
पोखरा: बडा दशैं सकियो । अब तिहारको रमझम आउँदै छ । प्राय शैक्षिक संस्थाहरु अहिले बन्द नै छन् । एक महिनाको बिदामा कलेज पढ्ने विद्यार्थीहरु नयाँ नयाँ गन्तव्यको स्वाद फेर्न निस्किरहेका छन् । खासगरी पछिल्लो समय शाहसिक पदयात्रामा रम्ने संस्कार बढेको छ । बाह्य पर्यटकको तुलनामा अहिले आन्तरिक पर्यटकलाई ट्रेकिङमा देख्न पाइन्छ । पोखरा घुम्न आउनेहरु अचेल एक रात बिताउन घान्दु्रक, सिक्लेस, ल्वाङघलेल जस्ता पर्यटकीय गाउँमा उक्लिन्छन् । तर साँच्चिकै पदयात्रामा रम्ने हो भने उनीहरु उल्लेखित गाउँबाट केही माथि ठडिनु पर्छ । त्यसका लागि सिकलेसबाट कपुचे, ल्वाङघलेलबाट मर्दी र घान्दु्रकबाट टाडापानी–इसरू हुँदै कास्कीको अन्नपूर्ण गाउँपालिका ११ मा मुल्डे पुग्न सकिन्छ । जहाँ ३ वटा हाेटलकाे व्यवस्था छ । साे ठाउँ समुन्द्र सतहबाट ३ हजार ६ सय ३७ मिटरमा रहेको छ । घान्द्रुकहुँदै पुनहिल–घोरेपानी जोड्ने रुटमा पर्ने मुल्डे दोबाटोबाट २० मिनेटमा पुग्न सकिन्छ । पयटकीय स्थल मुल्डेमा भ्यू पार्कसँगै चौरी गोठहरु रहेका छन् । मौसम अनुसार त्यहाँ चौरी, बनैभरी लालाीगुँरासहरू पनि देख्न सकिन्छ । घान्द्रुकबाट एकै दिनमा पुग्न सकिने भएपनि एक रात टाडापानीमा बस्न उचित मानिन्छ । अर्काे दिन इसरु हुँदै दोबाटो पुगिन्छ । जहाँबाट २० मिनेटको दुरीमा रहेको मुल्डे भ्यू पार्कबाट अन्नपूर्ण साउथ, हिमचुली, माछापुच्छ्रे, मर्दी हिमाल, बौद्ध हिमाल, गणेश हिमाल, गन्दर्भचुली, मुस्ताङको निलगिरी, टुकुचे पिक, धवलागिरी, म्याग्दीको गुर्जा हिमाल लगायतका हिमशृङ्खला देख्न सकिन्छ । मुल्डे भ्यूपार्कका संयोजक तथा होटल व्यवसायी राजमानगुरुङका अनुसार मुल्डेबाट रुकुम रोल्पा, बागलुङ, मुस्ताङ, लमजुङ, बुटवल,स्याङ्जा, नवलपुर,चितवन, काठमाडौं लगायतको भू–भाग देख्न सकिन्छ भने कास्कीको विभिन्न पर्यटकीय स्थल फेवाताल, धम्पुस लगायतका स्थानपनि मुल्डेबाट अवलोकन गर्न सकिन्छ । सुनगाभा न्यूजको लेन्सबाट हेर्नुहोस्, मनमोहक मुल्डे:- तस्बिर: अमृत लामा गुरुङ
कञ्चनपुरमा बेपत्ता महिला मृत अवस्थामा फेला परेकी छन् । आइतबारदेखि बेपत्ता भएकी शुक्लाफाँटा नगरपालिका-७ कि नारूदेवी जोशी मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जोशी सोमबार बिहान मध्यवर्ती सामुदायिक वनमा उनी मृत अवस्थामा भेटिएको जानकारी दिए । उनका अनुसार मृत भेटिएकी महिलाको घाँटीमा निलडाम रहेकाले हत्याको आशंका गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र)ले मंसिर २२ गते काठमाडौंमा गर्ने भनेको जनप्रदर्शन स्थगित गरेको छ। जाजरकोटको रामीडाँडा केन्द्र गरी ६।४ म्याग्नेच्युडको भूकम्प गएकाले अहिलेको परिस्थितिलाई मध्यनजर राख्दै मंसिर २२ को जनप्रदर्शन स्थगित गर्ने निर्णय गरिएको माओवादी केन्द्रका महासचिव देव गुरूङले बताए। ‘मंसिर २२ को काठमाडौंको जनपरिचालनमात्र स्थगित गरिएको छ। स्थानीय पालिका र वडास्तरका जनपरिचालन भने यथावत् छन्,’ महासचिव गुरूङले भने। माओवादी केन्द्रले बागमती प्रदेश, जवससम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा काठमाडौं केन्द्रित जनप्रर्दशन गर्ने सर्कुलर गरेको थियो। ‘अभियानकै क्रममा पार्टीको बागमती प्रदेश, जनवर्गीय संगठनसम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा यही मंसिर २२ गते काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढिकरण, राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोध आदि विषयलाई लिएर जनप्रदर्शन गर्न र गराउन पहल गर्ने निश्चित गरिएको छ,’ सर्कुलरमा भनिएको थियो।
दाङमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको ज्यान गएको छ । बा ३३ प ३६३४ नम्बरको मोटरसाइकलले दाङको लमही नगरपालिका वडा नम्बर ८ सतबरीयामा साइकललाई ठक्कर दिँदा साइकलयात्री स्थानीय ५५ वर्षका भीमसेन थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मोटरसाइकल चालक रसुवा कालिकास्थान नगरपालिका वडा नम्बर ५ का २३ वर्षका राजेश देवकोटा घाइते भएका छन् ।
रुकुम पश्चिममा भूकम्प परी जिल्ला बाहिरका तीन जना व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट कामको सिलसिला रुकुम पश्चिमको आठविसकोट नगरपालिकमा रहेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका मृत्युहुनेमा बर्दियाका दुई र रोल्पाका एकजना रहेका छन् । उहाँका अनुसार मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय खड्क विक र ३६ वर्षीय अनिल विक रहेका छन । उनीहरुको आठविसकोट–१४ को छेपारेमा मृत्यु भएको हो । त्यस्तै रुकुम पूर्व बस्दै आउनुभएका रोल्पाका ३० वर्षीय किस्मत पुनमगरको पनि भूकम्पमा परी मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । पुनमगर पुनःनिर्माण कम्पनीको गाडी चालक हुनुहुन्थ्यो । रुकुम पश्चिममा भूकम्पमा परी तीन जना जिल्ला बाहिरका सहित ५२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भूकम्प पीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आज आइतवार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले पार्टीको तर्फबाट २५ लाख र पार्टीका सङ्घीय सांसद र प्रदेशसभा सदस्यको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा पार्टीको तर्फबाट सहयोग गर्न जाजरकोटका प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीको संयोजकत्वमा र रुकुम पश्चिमका लागि पार्टीका सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहको संयोजकत्वमा जनपरिचालन गर्ने निर्णयसमेत गरेको छ । यस्तै बैठकले पार्टीले भूगोल केन्द्रित जिम्मेवारी कार्यक्रममध्ये जाजरकोट र रुकुम पश्चिमका कार्यक्रम आउँदो मङ्सिर १५ गतेसम्मका लागि र आमसभा, विरोधसभा तथा प्रदर्शनका कार्यक्रम कात्तिक मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रविन्दु भएर गएको शुक्रवार राति गएको छ दशमलव चार रेक्टर स्केलको भूकम्पले जाजरकोट तथा रुकुम पश्चिममा भएको जनधनको क्षतिप्रति राप्रपाले दुःख प्रकट गरेको छ ।
काठमाडौं: सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि नेपाल प्रहरी र टिकटकबिच छलफल भएको छ । सामाजिक सञ्जालनमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन र दोषीमाथि कारबाही गर्न नेपाल प्रहरीको साइवर ब्युरोलगायत सरकारी निकाय र टिकटकको कार्यालय, सिंगापुरबिच शुक्रबार छलफल भएको हो । उक्त छलफलबाट टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरूको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरू हटाउन र त्यस्ता कार्य गर्ने व्यक्ति पत्ता लगाएर कारबाहीको दायरामा ल्याउन सहज हुने गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘जिम्मेवार नागरिकको रूपमा कानुनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नबिगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानूनी कार्य गरेबापत हुने कानुनी कारबाहीबाट बच्न सम्बन्धित सबैमा अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
काठमाडौं: ओमानले आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा घरेलु टोली नेपाललाई सुपर ओभरमा हराउँदै उपाधि जितेको छ । सुपर ओेभरमा जितको लागि नेपाललाई २२ रन चाहिँएको थियो । तर ओमानका बिलाल खानले १० रन दिँदै नेपालबाट उपाधि लगेका थिए । सुपर ओभरमा नेपालबाट ब्याटिङ गर्न कुशल भुर्तेल र गुलशन झा आएका थिए । ओमानका बिलाल खानले बलिङ गरेका थिए । बिलाल खानले पहिलो बलमा कुशल भुर्तेललाई पहिलो बलमै क्याच आउट गरेका थिए । कुशल मल्ल ब्याटिङमा आएका थिए । दोस्रो बल कुशललाई योर्करमा डट राखे । तेस्रो बलमा एक रन लिएका थिए । चौथो बलमा गुलशनलाई एक रन दिएपछि नेपालको जितको सम्भावना समाप्त भएको थियो । पाँचौं बलमा कुशल मल्लले चौका हाने । अन्तिम बलमा चौका लिएपनि जितको लागि पर्याप्त थिएन । सुपर ओभरमा नेपालका अभिनाश बोहराले २१ रन दिएका थिए । ओमानका अकिब इल्यास र नसिम खुसी ब्याटिङमा आएका थिए । अभिनाशले पहिलो बल अकिबलाई एक रन दिएका थिए । दोस्रो बलमा खुसीले डिप मिडविकेटमा छक्का हाने । तेस्रो बल उनले डट राखेका थिए । चौथो बलमा खुसीले पुन डीप स्क्यायर लेगमा छक्का हाने । पाँचौं बल वाइड फ्याँले । सुरुवाती चार बलमा १४ रन जोडेको थियो । पाँचौं बलमा खुसीले काउकर्नरमा छक्का हाने । पाँच बलमा २० रन बटुलेको थियो । अन्तिम बलमा एक रन जोडेपछि सुपर ओभरमा २१ रन बनाएको थियो । नेपालले समूह चरणमा सिंगापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानसँग भने नेपाल ५ रनले पराजित भएको थियो । नेपालले सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै २०१४ पछि पहिलो पटक टि२० विश्वकपमा स्थान बनाएको थियो । उता ओमानले समूह चरणमा सबै खेल जितेको थियो । सेमिफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको थियो । ओमानले २०१६, २०२१ र २०२४ मा गरि तेस्रो पटक विश्वकपमा स्थान बनाएको हो ।

