काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

सर्लाहीको गोडैता – ८ सिसौटियामा ट्याक्टर पल्टिँदा दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।   म‌गलवार राति बाँस बोकेको ना ५ त ६१६२ नम्बरको ट्याक्टर सडक छेउमा अनियन्त्रित भएर पल्टिँदा ट्याक्टर चालक गोडैता नगरपालिका – ७ का ४० वर्षीय अखिलेश्वर पटेल र अर्का गोडैता नगरपालिका – ८ का २८ वर्षीय शंकर पटेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।   त्यसैगरी बाँस लोड गरेर त्यही ट्याक्टरमा चढेका मजदुर गोडैता नगरपालिका – ८ का २० वर्षीय  रुपेश महतो र रौतहट परोहा नगरपालिका – ८ का २४ वर्षीय  जयप्रकाश पटेल घाइते हुनुभएको छ ।   उहाँहरुको प्रादेशिक अस्पताल मलंगवा र वीरगञ्जमा उपचार भइरहेको छ। दुर्घटनामा ज्यान गुमाएका दुवै जनाको  शव पोष्टमाटमको लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ।

गलकोट:    यसै साता विश्व भेगन अर्गनाइजेशनमा आबद्ध छ बाह्य पर्यटक पर्यटकीय गाउँ भकुण्डे पुगे । बागलुङको भकुण्डे गाउँको आतिथि सत्कार होमस्टे (घरबास) मा उनीहरु पाँचौँ पटक पुगेका हुन् । बाह्य पर्यटक पाहुना भएर त्यहाँ पुग्छन् र सहयोगी भएर फर्कने गरेका छन् । यतिबेला घरबास सञ्चालकलाई बाली थन्क्याउने चटारो छ । तर भेगनमा आबद्ध पर्यटक भने घरबास सञ्चालकलाई काममा सघाउँछन् । काम गर्न तथा कामबारे जान्नसमेत मन पराउने भएकाले घरबास सञ्चालकसँगै कतिपयले कोदो टिप्छन भने कतिले साग केलाउने गरेका अतिथि सत्कार घरबासका सञ्चालक याम थापाले बताए । भेगनमात्रै होइन, बाह्य पर्यटकसमेत खेतबारीमा पुगेर काममा सघाउँछन् । हालै कोरियाबाट एउटा समूह घरबास पुगेर फर्किसकेको छ । घरबासमा बढीजसो अमेरिका, क्यानडा, दक्षिण कोरिया, चीनलगायत मुलुकबाट बढी पर्यटक आउने गरेका छन् । बाह्य पर्यटकले घरबासमा अग्र्यानिक खानाका परिकारको स्वाद लिने, पर्यटकीयस्थलको भ्रमण गर्ने र घरबास सञ्चालकलाई काममा सघाउने गरेका थापा बताउँछन् । ‘यतिबेला भकुण्डेमा कोदो भित्र्याउने चटारोमा पुगेका बाह्य पर्यटकले कोदो ठटाउने र केलाउने गरेका छन्, घरबास सञ्चालकसमेत दिउँसो कोदो काट्न पुग्छन् तर भेगनमा आबद्ध पर्यटक रमाइलो गर्न काम गर्छन्’, थापाले भने, ‘बाह्य पर्यटकले कोदोको बाला टिप्ने, साग टिपेर केलाउने गर्नुहुन्छ, उनीहरु यसमै रमाउने गरेका छन् ।’ नेपालको खेतीपाती र कला–संस्कृतिका विषयमा बाह्य पर्यटकलाई चासो हुने भएकाले उनीहरूले परीक्षण गर्ने र खेतीपातीको विषयमा जानकारी दिनसमेत कोदोबारीमा पुगेको आफूले अनुभव गरेको घरबास सञ्चालिका इन्द्रा थापाले बताए । पाँचौं समूहअन्तर्गत अमेरिकाका चार, क्यानडा र जर्मनकीका एक–एक पर्यटक तीन दिन अतिथि घरबासमा रमाएका पर्यटन व्यवसायी महादेव शर्माले जानकारी दिए । बाह्य पर्यटकले त्यहाँका स्थानीयले गर्दै आएका हरेक क्रियाकलापमा सहभागी हुने गरेको उनले बताए । मासु तथा मासुजन्य पदार्थ उपभोग नगर्ने भेगनमा आबद्ध विदेशी पर्यटकले त्यहाँको हरेक काममा आफैं अग्रसर भएर सहयोग गर्दै आफूलाई त्यही काममा रमाइलो मान्ने गरेको उनको भनाइ छ । ‘अहिलेको बाह्य पर्यटकको समूहसँगै भकुण्डेमा पाँच समूह आइसकेको छु, उनीहरू पदमार्ग हुँदै भकुण्डे पुग्छन्’, शर्माले भने, ‘बाह्य पर्यटक हिमाल, दृश्यावलोकन, कला–संस्कृतिसँगै आफैं काम गरेर रमाउँछन् ।’ भकुण्डेबाट बौडैचौर हुँदै बौरसम्मको दुईदिने पदयात्रा मार्ग आफ्नै पहलमा रेखाङ्कन गरिएको शर्माको भनाइ छ । पर्यटनमैत्री पूर्वाधारको खाँचो रहेको उनी बताउँछन् । पुराना पदमार्गमा ढुङ्गा छापेरै जीवन्त दिनुपर्ने शर्माले बताए । जिल्लाकै पहिलो अतिथि सत्कार घरबासमा मगर समुदायका १५ घर समावेश गरिएका छन् । घरबास सञ्चालनमा आएसँगै भुकण्डेले मुहारै फेरेको छ । भुकण्डेको शिरमा रहेको मुलाबारी भ्यूटावर, मध्यभागमा रहेको बराह ताल पर्यटक लोभ्याउने माध्यम बनेका छन् । घरबासमा एक रातमा ८० जना बस्न मिल्ने सञ्चालक प्रेम थापाले बताए । घरबासमा पर्यटकको बसाइ लम्ब्याउन उद्यानसमेत निर्माण गरिएको छ । घरबासमा हेलिकोप्टरमार्फत विदेशी पर्यटक आउने गरेका छन् । बागलुङ बजारबाट तीन घण्टाको पैदल र डेढ घण्टाको यातयात साधनमा पुग्न सकिनछ । घरबास २०७३ सालमा सञ्चालनमा आएको हो । घरबास सञ्चालकले गाउँमै उत्पादित आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक तथा खसी र कुखुराको परिकार पाहुनाको रोजाइअनुसार खुवाउने गरेका छन् । 

पाल्पा:   पाल्पाको तिनाउ नदीमा डुबेर एक जना युवतीको मृत्यु भएको छ । भारत उत्तरप्रदेश मगहरकाजिपुर घर भई नेपाल घुम्न आउनुभएकी शाहिस्ता प्रविनको नदीमा डुबेर मृत्यु भएको हो ।   मङ्गलबार दिउँसो भारतबाट शैक्षिक भ्रमणका क्रममा पाल्पा आएका प्रविनको तिनाउ नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्लाको तिनाउ गाउँपालिका –३, स्थित ड्यामनजिकै साथीहरूसँगै फोटो खिच्ने क्रममा तिनाउ नदीमा लडेपछि डुबेर युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । 

पोखरा:    युवा उद्यमी मञ्च पोखराले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रवाभित क्षेत्रका लागि आर्थिक सहयोग पठाएको छ ।   गत १७ गते शुक्रबार राति गएको भूकम्पद्वारा प्रभावित क्षेत्रका लागि गण्डकी सरकारमार्फत आर्थिक सहयोग पठाएको हो ।   साे रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी युवा उद्यमी मञ्चका अध्यक्ष निरज केसी लगायतले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्राराज पाण्डेलाई हस्तान्तरण गरे ।    सो अवसरमा बोल्दै केसीले सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यसहित आर्थिक सहयोग गरेको बताएका थिए । यस्तै मुख्यमन्त्री पाण्डेले मञ्चले उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।   

काठमाडौं:    नेपाललाई २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा पुर्‍याउने नेपाली क्रिकेट टोलीका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नगद पुरस्कार दिन सिफारिस गर्ने भएको छ । राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो । १५ खेलाडी तथा समान १–१ मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि २ करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय भएको छ । प्रति खेलाडी १३ लाख, मुख्य प्रशिक्षकका लागि ३ लाख ९० हजार, सहायक प्रशिक्ष, व्यवस्थापक र फिजियोका लागि १ लाख ९५ हजार नगद पुरस्कार सिफासिर गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले पनि क्रिकेट टोलीलाई ५० लाख पुरस्कारले सम्मान गर्ने जनाएको थियो। नेपालले टी–२० विश्वकप छनोट एसिया समूह चरणमा सिंगापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानसँग समूह चरण र फाइनल दुबैमा हारेको थियो । समूह चरणमा पाँच रन र फाइनलमा सुपर ओभरमा पराजित भएको थियो । गत आइतबार नेपालले सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान बनाएको थियो ।

पोखरा:   बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आइएसएमटी कलेजले भूकम्प पीडित लागि ५ लाख आर्थिक सहयोग गर्ने भएको छ ।    भूकम्प पीडितहरुकालागि सहयोगको भावना जागृत गराउने उद्देश्यसहित सामाजिक उत्तरदायित्व अन्तरगत ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।   गएको कात्तिक १७ गते शुक्रबार मध्यरातमा गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा धनजनको क्षति भएको थियो ।    अहिले सो क्षेत्रका लागि देशभरबाट राहातहरु जुटिरहेको छ भने उद्धारमापनि सुरक्षाकर्मीहरुसँगै निजी क्षेत्रका व्यक्तिहरु खटिरहेका छन् ।      यसैबीच सामाजिक उत्तरदायित्व बहन गर्दै आइएसएमटी कलेजले भूकम्प प्रभावितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको कलेजका अध्यक्ष योगश उप्रेतीले बताए ।    ‘गएको शुक्रबार मध्यरात गएको भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएको छ’, अध्यक्ष उप्रेतीले भने, ‘विपद्को समयमा पीडितसमक्ष सहयोग पुर्‍याउन प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेका छौं ।’   कलेजले भूकम्पमा परी मृत्यु भएकाहरुप्रति हाद्धिक श्रन्दाजली व्यक्त गर्दै घाइते भएकाहरुको स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।    बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आइएसएमटी कलेजले हाल काठमाडौं, चितवन, पोखरा, बुटवल र विराटनगरमा कलेज सञ्चालन गरिरहेको छ ।   आइएसएमटी कलेज पोखराले यस वर्षदेखि बिएचएम कार्यक्रमपनि थप गरेको छ ।  

पोखरा:   नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको संसदीय दलको तर्फबाट प्रदेश सांसदहरुको एक हप्ताको पारिश्रमिक भूकम्प पीडित राहत कोषमा सहयोग गर्ने भएको छ ।  नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका संसदीय दलका प्रमुख सचेतक कुसुम बुढा पुनले सांसदको एक हप्ताको पारिश्रमिक रकम भूकम्प पीडित राहत कोषमा जम्मा गर्ने निर्णय भएको बताईन् ।  यस्तै भूकम्प पीडितका लागि नेपाली कांग्रेस गण्डकी प्रदेशका सांसदहरुले १५ दिनको तलव सहयोग गर्ने भएको छ । नेकपा माओवादी केन्द्र र एमालेका सांसदहरुले एक÷एक हप्ताको पारिश्रमिक भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरेका हुन् ।  ६० सदस्य गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेको २२, माओवादी केन्द्रको सभामुख बाहेक ७,राप्रपाको २ सांसद र स्वतन्त्र निर्वाचित हाल एकिकृत समाजवादी प्रवेश गरेका एक जना सांसद रहेका छन् । कात्तिक १७ गते शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प जाँदा ठूलो क्षति भएको छ ।   

नेपाली कांग्रेसले महासमिति बैठक फेरि सारेको छ।   मंगलबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पुस १६ गते उद्घाटन गर्ने गरी महासमिति बैठकको नयाँ मिति तोकिएको जानकारी गराएका छन्।   सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा गत आइतबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले पुस २९, ३० र पुस १ र २ गते महासमिति बैठक गर्ने निर्णय गरेको थियो।   त्यसअघि मंसिर १३ गतेदेखि १५ गतेसम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिबाट निर्णय भएको थियो। ‘राष्ट्रिय मेलमिलाप दिवस पुस १६ गते उद्घाटन गर्ने गरी महासमिति बैठक तोकिएको छ,’ प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘ललितपुरको गोदावरीस्थित हलमा बैठक हुन्छ।’

पोखरा:   नेपाली कांग्रेस गण्डकी प्रदेशको संसदीय दलको बैठकले प्रदेश सांसदहरुको १५ दिनको तलव भूकम्प पीडित राहत कोषमा सहयोग गर्ने भएको छ ।  पोखरामा आज (मंगलबार) बसेको नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको पदाधिकारीको बैठकले नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसदहरुको १५ दिनको तलव भूकम्प पीडित राहत कोषमा पठाउने निर्णय गरेको हो ।  नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जारी गरेको विज्ञप्तीमा भूकम्प पीडित राहत कोषमा प्रदेश सांसदको १५ दिनको तलव सहयोग गर्ने उल्लेख गरिएको छ । यस्तै नेकपा एमालेका गण्डकी प्रदेश सांसदहरुले एक हप्ताको पारिश्रमिक भूकम्प पीडितलाई सहयोग गर्ने बताएका छन् ।  कात्तिक १७ गते शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प जाँदा ठूलो क्षति भएको छ ।