प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। ललितपुर महानगरपालिका वडा नम्बर ५ लगनखेल बसपार्कबाट एक जनालाई नक्कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले बताए। प्रहरीले मकवानपुरगढी गाउँपालिका घर भई ललितपुरको झरूवासी बस्ने ३२ वर्षीय कुमार वाइबालाई आइतबार बेलुकी पक्राउ गरेको हो। उनलाई प्रहरी प्रभाग लगनखेलबाट खटिएको टोलीले पक्राउ गरेको हो। वाइबाको साथबाट एक हजारका नक्कली नोट ११ वटा बरामद भएको हो। वाइबा नक्कली नोट लिएर लगनखेलको खुद्रा व्यवसाय गर्ने एक पसल पुगेका थिए। उनले त्यहाँ चुरोट किन खोजेका थिए। तर पैसा नक्कली परेको थाहा पाएपछि पसलेले प्रहरीलाई खबर गरेका थिए।त्यसपछि प्रहरीले वाइबालाई नियन्त्रणमा लिएको थियो। उनको साथबाट नक्कली नोट बरामद पनि बरामद भएको थियो। नक्कली नोट प्रयोग गर्दा विशेषगरी थोरै मूल्यको सामान खरिद गरी सक्कली नोट फिर्ता लिने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको परिसरले जनाएको छ।
सोलुखुम्बु: सोलुखुम्बुको सगरमाथा क्षेत्र भ्रमणमा आएका जर्मनीका एक जना नागरिक बेपत्ता भएका छन् । ७६ वर्षका डा.साखर गम पाँच दिनदेखि हराइरहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। काठमाण्डौबाट लुक्ला ओर्लिएका जर्मन नागरिक त्यसपछि सम्पर्कमा नआएका भन्ने परिवारको सूचनाका आधारमा खोजी भइरहेको प्रहरीले जनाएको छ । गम एक्लै सोलुखुम्बु भ्रमणमा गएका उहाँको परिवारले बताएको छ ।
काठमाडौं: उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने सन्दर्भलाई जोडेर गलत प्रचार गरिएको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार महासङ्घको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उपप्रधानमन्त्री खड्काले उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्थाअनुसार मात्रै सहायक रथी अधिकारीलाई तीन वर्ष पदावधि थपिएको स्पष्ट पार्नुभयो । उहाँले अधिकारीलाई प्रधानसेनापति बनाउने प्रपञ्च हुँदैछ भन्नेजस्ता भ्रम नछर्न आग्रह गर्नुभयो । ‘‘अहिले केही सञ्चारमाध्यमबाट गजबको विषय, गलत सूचनामा आधारित झुटो सूचनामा आधारित ठूलो भ्रम सिर्जना गर्ने काम भइरहेको छ । नेपाली सेनाको भावी प्रधानसेनापति बन्ने सन्दर्भलाई जोडेर । गलत सूचनालाई सञ्चारमाध्यममा प्रकाशित गर्दा त्यसले संस्थामा पार्ने नकारात्मक प्रभाव, संस्थाका बारेमा भ्रम र अन्योल हुन्छ । नेपाली सेनाको एक जना सहायक रथीको बढुवाको सन्दर्भ जोडेर, म्याद थपको सन्दर्भ जोडेर ठूलो छलफलको विषय बन्यो ।,’’ उपप्रधानमन्त्री खड्काले भन्नुभयो, ‘‘त्यसलाई स्पष्ट पार्दा पनि केही दिनदेखि भावी सेनापतिको निर्माण सन्दर्भलाई जोडेर पनि समाचार आएको छ । सहायक रथी यमप्रसाद अधिकारी १० वर्षअघि युद्धमा भएको मुलुकलाई शान्तिमा रुपान्तरण गर्ने दलहरुको सहमतिबाट तत्कालीन माओवादीका लडाकुहरुलाई नेपाली सेनामा केही सङ्ख्यामा समायोजन गर्ने सहमति अनुसार तोकिएको मापदण्ड, भएको सहमति, नेपाली सेनाको परम्परा, संस्थागत स्थिति, सम्बन्धित ऐन, नियमलाई प्रतिकूल असर नपर्ने गरी समायोजनको बन्दोबस्त गरियो । उपप्रधानमन्त्री खड्काले नियमावली परिमार्जन गरेर अधिकारीलाई प्रधानसेनापति बनाउने कुरा झुटो रहेको बताउनुभयो । उहाँले नेपाली सेनाको प्रधानसेनापति हुनका लागि निश्चित मापदण्ड रहेको जानकारी दिनुभयो । उहाँले सेनाको विधानबाहिर गएर सरकारले कुनै काम नगर्ने बताउनुभयो । उहाँले यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा सबै गलत भएको दाबी गर्नुभयो । ‘‘सहायक रथीको पदावधि सात वर्षको हुन्छ । नेपाली सेनाको नियम प्रक्रिया अनुसार । चार वर्ष पुग्दा हामी सरकारमा गयौँ । उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्था छ । त्यसका लागि सेनाको एउटा बोर्ड छ । त्यो बोर्डले सम्बन्धित अधिकृतको आफ्नो कार्यकालको भूमिका प्रभावकारिताको मूल्याङ्कन गरी बढुवाको लागि सिफारिस गर्छ । प्रधानसेनापतिले त्यो सिफारिसको आधारमा रक्षा मन्त्रालयमा सिफारिस पठाउनु हुन्छ, रक्षा मन्त्रालयले अध्ययन गर्छ, त्यसपछि मन्त्रिपरिषदमा गएर एक पटकलाई पदावधि थपिने प्रचलन अनुसार यमप्रसाद अधिकारीको पनि अहिले तीन वर्षको लागि म्याद थप गरेको हो ।,’’ उपप्रधानमन्त्री खड्काले भन्नुभयो, ‘‘अहिले सेनाको नियमावली चलाएर केके गरेर यमप्रसाद अधिकारीलाई प्रधानसेनापति बनाउने प्रपञ्च हुँदैछ भन्ने केही सञ्चारमाध्यमले समाचार बनाए । आज पनि एउटा लेख देखेँ, नियमावलीमा यताउति गरेर केही गर्न खोजिँदैछ भन्ने । यी सबै कुरा मिथ्या हुन्, झुटो हो । नेपाली सेनाको प्रधानसेनापति हुनका लागि निश्चित मापदण्ड छ । सैनिक नियमका आधार भन्दा दायाँबायाँ सरकार जाने, रक्षा मन्त्रालय जाने, म जाने कल्पना पनि गर्न सक्दिनँ । त्यसैले यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा सबै गलत हो । झुटो हो, सबै सूचना गलत सूचनाको आधारमा केही सञ्चारमाध्यमले गलत सूचनामा समाचार बनाएर एउटा स्थापित संस्थालाई हामीले गलत सूचनाबाट र त्यसै आधारमा फेसबुक भरिएका छन् ।’’ उपप्रधानमन्त्री खड्काले सरकार सूचना प्रविधिलाई विकास, आर्थिक रुपान्तरण, जनताको जीवनस्तरमा सुधार, लोकतन्त्र र प्रेस स्वतन्त्रताको स्वच्छन्द र सिर्जनात्मक अभ्यासमा उपयोगी बनाउनेतिर आवश्यक नीति, कानुन, योजना बनाउँदै अघि बढ्ने बताउनुभयो ।
काठमाण्डौ: सुदूरपश्चिमका पहाडी जिल्लामा असिना पानीले बालीनालीमा क्षति पुर्याएको छ । दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, अछाम लगायतका जिल्लामा आइतवार राति परेको असिना पानीले धान, भटमास, कोदो र तरकारीमा क्षति पुर्याएको स्थानीयले बताएका छन् । असिनापानीले पाकेको धान, भटमास, कोदो र तरकारी नष्ट गरेको बैतडीको डिलाशैनी–७ का मदन धामीले जानकारी दिनुभयो । पाकेर भित्र्याउन तयारी गरेको बाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन् । धान र भटमासका साथै किसानले आफ्नो खेतमा लगाएको सबै तरकारीसमेत असिनापानीले नष्ट गरेको छ । नेपालबाट हिजो मनसुन बाहिरिए पनि पश्चिमी वायुको प्रभावका कारण पश्चिमी क्षेत्रमा आज र भोलि पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । हिजो बेलुका पश्चिमी क्षेत्र हुँदै पश्चिमी वायु प्रवेश गरेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार यो वायुको प्रभावकै कारण गएराति पश्चिमी क्षेत्रका केही ठाउँमा पानी परेको थियो । विशेषगरी आज र भोलि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै ठाउँमा वर्षाको सम्भावना छ । बाग्मती, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पनि पानी पर्ने अनुमान छ । पर्सि बुधवारदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।
बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापारि भारतको बतन भन्ने ठाउँमा केन्द्रबिन्दु बनाएर आज बिहान ९ बजेर २६ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिनुभयो। भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल(मट्टितेलको मूल्यमा क्रमशः प्रतिलिटर रु ११ र रु ५ घटाएको हो । निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६९ तथा डिजेलको मूल्य प्रतिलिटर रु एक सय ६५ कामय भएको छ । यसैगरी, दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ७१ र डिजेलको मूल्य प्रतिलिटर रु एक सय ६७ तथा काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७२ र डिजेलको मूल्य प्रतिलिटर रु एक सय ६८ तोकिएको छ । यसअघि, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिलटर एक सय ८० तथा डिजेलको मूल्य प्रतिलिटर एक सय ७० रुपैयाँ ५० पैसा, दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ८२ र डिजेलको मूल्य प्रतिलिटर रु एक सय ७२ तथा काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ८३ र डिजेलको मूल्य प्रतिलिटर रु एक सय ७३ थियो । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअुनसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर रु ११।१८ र रु ५।०३ ले घटेर आएकाले पेट्रोलियम पदार्थ मूल्य घटाइएको हो । रासस
दार्चुला: दार्चुलामा भिरबाट खसेको ढुङ्गाले लागेर एक महिलाको ज्यान गएको छ । दार्चुलाको दुहुँ गाउँपालिका–१ बाच्पालीकी जयमती महरको ढुङ्गाले लागेर आइतवार हिजो ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । हिजो दिउँसो घाँस काट्ने क्रममा भिर माथिबाट खसेको ढुङ्गा जयमतीको टाउको लागेर गम्भीर घाइते हुनुभएको थियो । घाइते जयमतीको जिल्ला अस्पताल दार्चुलामा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनु भएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल चीन गएका छन्। चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी हुन उनी गए राति चीन प्रस्थान गरेको नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय विदेश विभाग सचिव शंकर खतिवडाले जानकारी दिए। खतिवडाका अनुसार पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८ मा आयोजना हुने तेस्रो ‘बीआरएफ’ फोरमलाई पनि सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। चीनमा रहँदा नेता खनालले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु साथै सो कार्यक्रमका लागि विभिन्न मुलुकबाट आउने नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । सो कार्यक्रममा सहभागी हुन नेता खनालको साथमा रविलक्ष्मी चित्रकार र प्रा.डा. युवराज सङ्ग्रौला पनि चीन गएका छन्। नेतालगायतको टोली यही अक्टोबर २२ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ।
काठमाण्डाै: सर्वोच्च अदालतले दशैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतले सूचना निकालेर कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत प्रशासन बन्द भए पनि बन्दीको रिट निवेदन सुनुवाइका लागि अदालत खुला रहने जनाएको हो। शनिवार र विजया दशमीका दिनबाहेक अरु दिनमा बन्दीका रिट निवेदन दर्ता तथा सनुवाइ गर्न अदालत खुला रहनेछ । अदालतले ती दिनमा न्याय सम्पादनका लागि न्यायाधीशहरुको पनि व्यवस्था गरिसकेको छ।

